Gangtok, Sikkim,

Editor: Subhash Deepak

 

 

ओकियामा ग्वाइन: डायरीका पृष्ठहरूमा

 

सुवास दीपक

 

कियामा ग्वाइन अब छैनन्। उनको नश्लर शरीर पञ्चतन्त्रमा बिलीन भइसकेछ। ठूला व्यक्तित्वका लेखक, कवि, कलाकारको मृत्युमा हुने स्वाभाविक शोकले मलाई पनि विह्वल तुल्यायो। उनीसित मेरो कुनै घनिष्ठ सम्बन्ध थिएन। हाम्रो भेट दुइपल्ट मात्र भएको थियो। प्रथमपल्ट 14 जून, 1974 - को दिन तथा अन्तिम 1986 - मा। पहिलो भेट मेरो डायरीका पृष्ठहरूमा लिपिबद्ध छ।

 

'सुनचरी' - मा उनको निधनको समाचारले मन नमिठो भयो। पुरानो डायरी निकालें।त्यति बेला म सिक्किमको एउटा जुनियर हाइ स्कूलमा एक शिक्षकको हैसियतमा कार्यरत थिएँ। नेपाली भाषा र साहित्यको एक अनन्य भक्त। एक नवोदित कविको रूपमा मेरा केही कविताहरूको 'कञ्चनजङ्घा' र दार्जिलिङ र नेपालका पत्रिकाहरूमा प्रकाशन हुन थालेको थियो। भारतीय नेपाली कथा साहित्यलाई अनुवाद गर्ने र ठूला हिन्दी पत्रिकाहरूमा प्रकाशित गराएर भारतीय नेपाली साहित्यको छुट्टै चिनारी अन्य भारतीय भाषा - भाषीहरूलाई गराउने दिशामा आफ्नो सामर्थ्यले भियाएअनुसार सङ्घर्षरत थिएँ। यसै बीच मैले टाइम्स अफ् इन्डियाको प्रकाशन 'सारिका' (हिन्दी कथा मासिक) - लाई केही कथाहरू अनुवाद गरी पठाइसकेको थिएँ तर 'सारिका' - ले मेरो दुइ वर्षको कठिन परिश्रम (भारतीय नेपाली साहित्यप्रतिको भ्रामक र पूर्वाग्रहग्रसित दृष्टिकोणले गर्दा) - लाई एक खण्डको रूपमा भारतीय नेपाली कथाहरू प्रकाशित गराउने मेरो विनम्र अनुरोधलाई अस्वीकार गरिदिएको थियो। यहाँसम्म कि पाण्डुलिपि पनि फिर्ता गरेन। म हतोत्साहित र अपमानित अनुभव गरिरहेको बेला पञ्जाब विश्वविद्यालय, चण्डीगढका मेरा साथीहरू- शामलाल मेहन्दीरत्ता 'प्रचण्ड', रमेश बत्तरा र अन्यले भारतीय नेपाली कथा साहित्यलाई शेष भारतीय साहित्य जगतसित परिचित गराउने मेरो विनंम्र अनुरोधलाई स्वीकार गरी 'साहित्य निर्झर' - को एक सम्पूर्ण अङ्क 'भारतीय नेपाली कहानी विशेषांक' - को रूपमा प्रकाशित गर्ने अभिभारा लिए र त्यो ऐतिहासिक कार्य अक्टूबर, 1974 - मा पूरा भयो।

 

 विषयान्तरको कारण यो हो कि 'भारतीय नेपाली कहानी विशेषांक' - का निम्ति कथाहरूको चयन गर्न, अनुवाद गर्न, कथाकार एवम् आलोचकहरूसित विचार - विमर्श गर्न मलाई दार्जिलिङ जानुपर्थ्यो। यसै सिलसिलामा जीवन लाबरको घरमा एक दिन एक्कासि ओकियामा ग्वाइनसित अचानक भेट होला भन्ने कुरा मैले सपनामा पनि चिताएको थिइनँ।

 

डायरीका पृष्टहरू पल्टाउँदै यो संस्मरण लेख्दै छु।

 

...मेघालयका कुनै विद्यार्थीसित ग्वाइनज्यू जीवन लाबरको घरमा आएका थिए। विद्वानहरूको सान्निध्य पाउनु गाह्रो हुन्छ तर कहिले काहीँ उनीहरूसित यति सजिलो भेट भइहाल्छ कि विश्वासै लाग्दैन। कालो परहिरन (कोट - प्यान्ट), साह्रै गोरो पनि होइन तर श्याम वर्ण पनि थिएनन् उनी। बीचको वर्ण। चुच्चो नाक र चश्मा। मेघालयका विद्यार्थीसित उनी कुनै विषयमा अङ्ग्रेजीमा चर्चा गर्दैथिए। विषय सायद असाहित्यिक नै थियो। पछि साहित्यिक चर्चा शुरु भयो। मनोरञ्जनका निम्ति लेखिएको साहित्य, उनको विचारमा साहित्य होइन र जो यस्तो साहित्यको सृजना गर्छन्, उनीहरूको उल्लेख साहित्यिक जगतमा कहिल्यै हुनसक्दैन। अङ्ग्रेजी लेखक पल् ग्यालिकोले, उनी बताउँछन्, एउटा चरीमाथि सम्पूर्ण उपन्यास लेखिदिएका छन्। त्यस उपन्यासमा प्रयोग गरिएको भाषा, शैली - शिल्प र विषय - वस्तुले विश्व - साहित्यमा एक विशिष्ट स्थान ओगटेको छ - भनौं उक्त उपन्यास विश्व साहित्यमा एउटा यस्तो उपन्यास हो जसमा एउटा चरीलाई उपन्यासको विषय - वस्तु बनाइएको छ। उनी बताउँछन्, कसरी चरा - चुरुङ्गी र जनावरहरूको मानवीयकरण गर्न सकिन्छ। पल् ग्यालिकोद्वारा लिखित उपन्यासमा यद्यपि त्यस चरीको मानवीयकरण गरिएको छैन - उनले बताए।

 

यसपछि साहित्य र कलालाई लिएर उनले आफ्नो जुन दृष्टिकोण राख्नुभयो, त्यो मेरो निम्ति नितान्त नयाँ उदघाटनहरू तिए। म 24/25 वर्षको साहित्यिक क्षेत्रमा एक नवोदित, जसको कला र साहित्यबारे कुनै ठोस दृष्टिकोण विकसित भएको थिएन। ग्वाइनज्यूका कैंयन् पुस्तकहरू अङ्ग्रेजी र नेपालीमा मौलिक र अनुवादको रूपमा प्रकाशित भइसकेका थिए। त्यति बेलासम्म मैले उनको कुनै मौलिक पुस्तक (नेपाली र अङ्ग्रेजी) पढ्न पाएको थिइनँ तर अर्नेस्ट हेमिङ्वेको 'ओल्ड म्यान एण्ड दि सी' - को जीवन ज्योति प्रकाशनद्वारा प्रकाशित अनुवाद चाख लगाएर पढेको थिएँ। अनुवाद उत्कृष्ट थियो।

 

 

दार्जिलिङमा त्यसताक आयामिक साहित्यको निकै चर्चा थियो। प्रत्येक नवोदित कवि - कथाकार आयामिक धारासित सम्मोहित थियो। म पनि स्वाभाविक रूपले ईश्वरवल्लभका कविताहरूको 'दीवाना' थिएँ। ओकियामा ग्वाइनज्यूबाट आयामिक साहित्यबारे जान्न उत्सुक थिएँ। उनले इन्द्रबहादुर राईले 'नेपाली उपन्यासका आधारहरू' - मा प्रयोग गरेको भाषालाई 'टेक्निकली' अशुद्ध बताए। ग्वाइनका अनुसार इन्द्रबहादुर राई जस्तो सोच्छन्, त्यसलाई सरल भाषामा व्यक्त गर्न सक्दैनन्। यसकारण उनको लेखनलाई ग्वाइनज्यूले 'असफल' लेखनको संज्ञा दिए। सङ्क्षेपमा उनले इन्द्रबहादुर राईको लेखनलाई जटिल र अस्पष्ट विचारधाराको परिणाम बताए।

 

कलाको विषयमा उनका विचारहरू यस प्रकारका थिए - कलालाई हामीले माथिदेखि तल हिलोमा होइन तर तलदेखि माथि उच्च आसनमा प्रतिष्ठापित गर्नुपर्छ। जनसाधारका लागि लेखिएको साहित्यको कुनै मूल्य छैन किनभने जसको लागि यो लेखिएको हुन्छ त्यसले यसलाई बुझ्नै सक्दैन। उनले आफ्नो विशिष्ट शैलीमा यसो भने - 'Let the common man go to hell.'

 

साम्यवादी साहित्यलाई उनी 'पोलिटिकल प्रोपेगेण्डा' भन्छन् जो, उनको विचारमा, कहिल्यै पनि साहित्यको श्रेणीमा राख्न सकिँदैन। उनको एक - एक वाक्यलाई लिपिबद्ध गर्न असमर्थ छु तर यति अवश्य हो कि यो उनको निजी धारणा हो जसमा उनी दृढ छन्। कसैको व्याख्या सुन्न चाहँदैनन् जबकि यहां वाद - विवादको पूर्ण गुञ्जाइस छ। फनी भन्छन्, 'म लेखनमा आत्म - प्रचारको पक्षधर छुइनँ।' र नै दार्जिलिङको कुनै साहित्यिक संस्थासित सम्बद्ध नरहेको कुरा बताउँछन्।

 

"तपाईं पनि लेख्नुहुन्छ?"  उनले मलाई सोधे।

 

मैले 'साहित्य निर्झर' - का दुइ अङ्क उनलाई दिएँ। एउटा अङ्कमा इन्द्रबहादुर राईको 'इच्छा बाँचिरहन्छ' (कथा) हिन्दीमा 'इच्छा मरती नहीं' शीर्षकमा प्रकाशित थियो र अर्को अङ्कमा प्रकाशोन्मुख 'भारतीय नेपाली कहानी विशेषांक' - को प्रारूप विज्ञापन प्रकाशित थियो। मैले भारतीय नेपाली कथाहरूको एउटा विशेषाङ्क (हिन्दीमा अनूदित)  प्रकाशित गराउने आफ्नो योजनाबारे उनलाई बताएँ। उनले That is very good  दुइपल्ट दोहोऱ्याए।

 

पारसमणि प्रधानको 'नेपाली वाङमयको इतिहास' शीर्षक लेख (प्रस्तावित भारतीय नेपाली कहानी विशेषांकमा प्रकाशित भइरहेको सूचना 'साहित्य निर्झर' - मा दिइएको थियो) - मा वाङमय शब्दलाई लिएर उनले यो शब्द पारसमणि प्रधानले पहिलोपल्ट नेपालीमा प्रयोग गरेका हुन् भनी बताए। उनको भनाइको तात्पर्य म बुझ्न सकिनँ। वाङमय शब्दको अर्थ, ग्वाइनका अनुसार धेरै फिजूल कुरा, यता - उताका बकबाद पनि हुनसक्छ। मैले भनें, हिन्दीमा यो शब्द प्रयोग गरिएको छ जसरी 'गाँधी वाङमय' आदि। उनले हिन्दी भाषालाई एक दूषित भाषाको संज्ञा दिए। एक एक शब्दको व्युत्पत्तिबारे उनको संस्कृत भाषाको ज्ञान अदभुत थियो। श्रीमद्भागवत गीताको शाब्दिक अर्थ स्पष्ट पार्दै उनले मलाई तीन छक्क पारे। उनका अनुसार गीताका रचयिता कृष्ण होइनन्। हिन्दीभन्दा उनले बङ्गला भाषालाई संस्कृतको नजिक बताए र बङ्गला भाषालाई एक अति समृद्ध भाषाको संज्ञा दिए। उनले आफ्नो 'नागबेली' उपन्यासलाई हिन्दीमा अनुवाद गर्ने सुझाव दिए। उक्त उपन्यासमा उनले जुन भाषाको प्रयोग (नेपालीमा) गरेका हुन् त्यो संस्कृतनिष्ट भाषा हो भनी बताए। (इन्द्रबहादुर राईले यस उपन्यासलाई अरविन्दबाट प्रभावित बताएका छन्।

 

मैले उनलाई 'साहित्य निर्झर' - को साहित्यिक परिचर्चा भारतीय नेपाली कथासाहित्य'- मा भाग लिने अनुरोध गरें। उनलाई प्रश्नावली दिएँ तर उनले प्रश्नावली नहेरी मलाई तत्काल फर्काउँदै उक्त अनुरोधलाई अस्वीकार गरिदिए र भने - 'म आत्मप्रचारको भोको छुइनँ।'

 

म केही पनि बुझ्न सकिनँ।

 

1974 - देखि एकै चोटि फेरि उनीसित गान्तोकमा भेट भयो। 1986 - मा 'डा.पारसमणि प्रधान अभिनन्दन समारोह' - मा जो 'सिक्किम साहित्य परिषद्' - द्वारा आयोजित गरिएको थियो। मैले नमस्कार गर्दा उनले चिनेनन् मलाई। मैले नाम बताउँदा चिनेर भने, 'तपाईंले अनुवाद गर्नुभएको इन्द्रबहादुर राईको इच्छा बाँचिरहन्छ कथा साह्रै प्रभावशाली भएको थियो। हिन्दीमा (अनूदित भएर) पढ्दा आनन्द लाग्यो।'

 

 12 वर्ष अघिको कुरा थियो त्यो। मैले ठूलो प्रोत्साहन पाएँ।

 

ओकियामा ग्वाइनको 'नागबेली' - को अनुवाद गर्न सकिनँ तर 'सुनाखरी' - को अनुवाद गरिसकेको छु। उनी काठमाडौमा छन् भनी सुनेको थिएँ। सम्पर्क स्थापित गर्ने ठूलो इच्छा थियो। आज एक्कासि 'सुनचरी' - मा उनको निधनको समाचार पढ्दा अतीतका ती डायरीका पृष्ठहरूसित फेरि एकपल्ट उद्भट विद्वान ओकियामा ग्वाइनसित वार्तालाप गर्न सकें। उनी छैनन् अब। शत् शत् प्रणाम!

(सुनचरी, वर्ष 1, अङ्क 32, 18.08.1993 - बाट)

जनवरी 2012

 

 

केही कथा/केही व्यथा

 

पवन चामलिङ किरण

 

हिंसा, ईर्ष्या, पापले पीडित

असहाय छ जगको व्यथा

ठूला - साना, गरीब - धनी

यस्तै छ यहाँको कथा।।

 

अन्धकार व्याप्त छ उजाड संसार

धरती रुन्छे घर - घरी

कम्पित धरा पीडित सारा

तूफान चल्छ हर घडी

रगतमा रङ्गियो, पापमा पुरियो

कलिको कंगाल कथा

उर चितामा जलिरहेछ

जगको जर - जर व्यथा।।

 

शुष्क हृदयको खोली

कथौं कलिको कविता

लाश बनेको मानव देहमा

घुसाऊ मानवता सजीवता।।

 

जन्मियौ हामी जगतितलमा

सृष्टिको श्रेष्ठ फूलबारीमा

उद्देश्य लेऊ सूर्यसरह

चम्किनै यो काँडा घारीमा।.

 

आऊ बचाऊँ असहाय दीपकलाई

तूफानको वेग रोक

निल्न नदेऊ जगको उज्यालो

मानवको भोक रोक।।

 

जाग है! जगका मानव सारा

हे सृष्टिका श्रेष्ठ प्यारा

कुभावना कुमति छाडी जगमा

बहाऊँ अमृतधारा।।

जन. - मार्च, 1974, प्रगति, गान्तोकमा प्रकाशित

दिसम्बर 2011

 

(पुरानो फाइलबाट लघु कथा)

 

विक्षिप्त जीवन

 

सुवास दीपक

 

गाड़ी यस निर्दोष अवं निस्वार्थ धरतीको जीर्ण छातीमाथि निर्दय झैं अघि बढ़रहेछ रात्रिको निस्तब्धतालाई भंग गर्दै। यात्रीहरू कसैको वास्ता नगरी आ - आफ्नै स्वार्थभित्र अल्झिरहेका छन्।

 

सुरेश पनि गाड़ीको कुनै कम्पार्टमेन्टमा बसिरहेछ खिड़की बाहिरको दृश्यलाई हेरिरहेछ तर गाड़ीको कृत्रिम दासत्वभित्र जड़किएकोलो प्रत्येक दृश्य गाड़ीको गतिअनुसार चलचित्र झैं धमिलो प्रच्छायाको छाप उसको मस्तिष्कमा पछाड़ि प..छाड़ि सरिरहेका छन्। उसले आफ्नो विचारको निरन्तर गतिले बगिरहेको सरिता रूपी इतिहासको प्रथम अध्याय खोलिरहेछ औ खिड़कीबाट आएको मन्द - मन्द समीरको झोंकाहरू उसको विचारधाराको पृष्ठहरूलाई पल्टाइरहेका छन्।

 

उ सोचिरहेछ, आफ्नो अप्रत्याशित यात्रा, अपरिचित संसार, विगत जीवन, सुख - दुख अवं कर्म - कुकर्मले भरिएको - अनि फेरि पथहारा भएर बाटोको सुखो पात झैं लश्क्ष्यविहीन हिंड़िरहेको... आफैलाई पाउँदा - पाउंदै उ विचार ऋँखलालाई अझ लम्काइरहेछ। कहिले गाड़ीको आकस्मिक रुकावट अनि प्रस्थानले उसको विचारधारालाई तोड़िदिन्छ तर सूक्ष्म अवधिलाई मात्र।

 

उ आफ्नो अस्तित्व बादलदेखि बिछोड़िएको एक थोपा पानीजस्तै तुल्याइरहेछ, जस्तो अस्तित्व हावामाथि निर्भर गर्छ। त्यही हावाको झोंकाले त्यसलाई समुद्रको सिपीसम्म पुऱ्याएर अमूल्य मोती पनि बनाइदिन्छ। तर के उसको अस्तित्व यस अपार संसारमा विलीन हुनेछ? के उसको अस्तित्व समुद्रको अमूल्य सिपी बन्ने छ? यसको उत्तर त  भविष्यले मात्र बताउनेछ।

 

कुनै अज्ञात शक्ति उसलाई एउटा अपरिचित पाखातिर तानिरहेथ्यो। उसको हृदयको कुनै कुनामा केही अज्ञात आभास भइरहेथ्यो औ त्यस्तै उ खेलिरहेथ्यो विचारको मैदानमा।

 

----              -----          ----

 

प्राकृतिक सौन्दर्यले ढाकिएको एउटा रमाइलो पाखामा अवस्थित एउटा सेतो बिल्डिंग। त्यस बिल्डिंगको माथिल्लो भागमा हरियो छाना भएको एउटा सानो कोठा। सेतो बिल्डिंगमाथि यो सानो हरियो कोठा निकै राम्रो लाग्छ टाढ़ैदेखि। अचेल उ यसै कोठामा बस्दैछ।

 

साविक गतिमै हिंड्दै भास्करले कति - कति प्रदक्षिणा गरिसकेका होलान्; कति - कति रमाइला दिवसहरू रात्रिहरूमा परिणत भइसकेका होलान्। त्यस्तै उसको जीवन पनि बित्छ, सहृदय मित्रवर्गको संसर्गमा।

 

सबै परिचित भए तापनि उ आफ्नो हृदयदेखि अहिले अपरिचित नै छ। उसको जीवन बहन्छ, युगको प्रवाहमा तर उसको हृदय पवित्र अवं निस्वार्थ छ। सहृदय व्यवहारका फलस्वरूप कतिजना उसको सहृदयताको सट्टामा उसप्रति श्रद्धा एवं स्नेह गर्छन् तर कतिजना प्रत्यक्षमा प्रशंसा औ परोक्षमा निन्दा औ घृणा गर्छन्। जे होस्, उसको हृदय सरिताको जल झैं पवित्र एवं निस्वार्थ छ। उसको हृदयमा कसैप्रति नराम्रो भावना छैन। निस्वार्थ अवं पवित्र स्नेह उ सबैसित गर्छ।

 

------          -----      ------

 

शरदको एक रमाइलो साँझ। दिनभरिको परिश्रमले थाकिसकेको रविले पश्चिमतिर ढल्किएर विश्राम गर्न साधन जुटाउनको निम्ति पारि डाँड़ाको पछिल्लो भागमा आफ्नो प्रदीप्त अनुहार लुकाइरहेछ औ ... त्यस्तै...त्यस्तै कोलाहलमयी धरतीमाथि सर्वत्र अन्धकारको प्रभुत्व जमिन्छ।

(1973 - 74 - मा सैनिक समाचारमा प्रकाशित)                  नोभेम्बर 2011

 

 

पाब्लो नेरुदा

 

सुवास दीपक

 

पाब्लो नेरुदा अब छैनन्। 20 सितम्बर, 1973 - का दिन मेक्सिकोको दैनिकपत्र उलतीमास नोतीसी आस - ले समाचार प्रकाशित गऱ्यो - 'नेरुदा  शिकिस्त बिरामी छन् र जेलभित्र एकान्त जीवन व्यतीत गरिरहेछन्। तिनी ओच्छ्यानदेखि उठ्नसक्दैनन् र तिनलाई हेर्न जान कसैलाई अनुमति छैन। उनको टेलिफोन काटिदिएको छ र सैनिक क्रान्तिका नेता जनरल पीनोचेतले स्वयम् एउटा विशेष सैनिक दल तिनको घरको तालाबन्दीका लागि पठाएको छ। यसभन्दा अघि जनरल पीनोचेतले एकजना जर्मन पत्रकारलाई भनेका थिए, 'नेरुदाको यदि मृत्यु भयो भने सैनिक क्रान्तिको यसमा हात हुने छैन, उनको मृत्यु आफ्नो उमेर र बिरामीले हुनेछ।'

 

मृत्युको एक दिन अघि समाचार आयो, तिनी मूर्छावस्थामा छन्, सैनिक तानाशाहीको आघात तिनले सहन गर्न सकेनन्। त्यसपछि 'रायटर' - ले सान्तियागोदेखि अस्पतालको एकजना प्रवक्ताको माध्यमबाट समाचार दियो - '23 सितम्बर राति क्यान्सरले तिनको मृत्यु भयो। एक सातादेखि उनी सान्तामारिया अस्पतालमा पौरुष ग्रन्थिको उपचारार्थ भर्ना भएका थिए। मृत्युको समयमा तिनकी बहिनी र तेस्री पत्नी मातिल्दे उर्रूतीआ पनि उपस्थित थिए। तिनी गत वर्ष पेरिसदेखि, जहाँ तिनी चिलीका राजदूतको पदमा हुनुहुन्थ्यो, बिरामी अवस्थामा फर्केका थिए। दुइ महिनाअघि एउटा अर्कै अस्पतालमा उनको ठूलो अपरेशन पनि भएको थियो।

 

नेरुदा, साल्वादोर आयेन्देका घनिष्ट मित्र थिए। चिलीको सरकारले तिनलाई दिसम्बर 1970 - मा फ्रान्सका राजदूत नियुक्त गरेको थियो। स्पष्ट छ कि सैनिक क्रान्ति अनि आयेन्देको हत्या वा आत्महत्याको समाचारले तिनी साह्रै विचलित भएका थिए। यसभन्दा बढ्ता तिनी विचलित हुनुको कारण सैनिक शासनले गर्दा गल्ली र सटकहरूमा भइरहेको युद्धस्वरूप बगिरहेको निर्दोषहरूको रगत थियो। तिनी युद्ध र हिंसाका प्रबल विरोधी थिए। मृत्युको यातना तिनका अधिकांश कविताहरूमा पाइन्छ।

 

आर्हेतिनाको एउटा दैनिक 'ला ओपीनियोन' - ले तिनको अन्तिम कविता प्रकाशित गरेको छ। यो कविता तिनले मृत्युभन्दा आठ दिनअघि र सैनिक क्रान्तिभन्दा चार दिनअघि लेखेका थिए। कविताको शीर्षक छ 'तानाशाह'

कविता यस प्रकार छ -

 

निक्सन, फ्रेई र पीनोचेत

आजसम्म

1973 वर्षको यस दु:खद सितम्बर महिनासम्म

बोर्दावेर्री 1, गार्रास्स्तासू 2 र बसोर 3

समेत विजयी ब्वाँसाहरू

हाम्रो इतिहासका घिनलाग्दा मूसाहरू

काटिरहेछन् ती झण्डाहरूलाई,

जसलाई तिनीहरूले जितेर ल्याएका थिए

यति रगत र उत्सर्गको आगो दिएर।

भू - सम्पदामाथि हिज फ्याँक्दै

नारकीय लुटेराहरू

हजारपल्ट बिकिसकेका

जागिरदारीको इच्छाले भोकाएका ती तानाशाहहरू,

विश्वासघाती व्यापारीहरू

न्यूयर्कका स्यालहरूपछि दौडिरहेका,

डलरका मर्नच्याँसे यन्त्रहरू

आफ्ना शहीद जनताका बलिदानहरूका कलङ्कहरू,

वेश्या सौदागरहरू

अमेरिका रोटी र हावाका

हत्याहरूका हिलो, दहहरू

रण्डीपेशा भडुवाहरूका समूह, जससित कुनै नियम कानुन छैन

जनताको निम्ति यातना र भोका कीराहरूबाहेक।

 

मृत्युको समयमा जुन घोर यातनामा तिनी थिए, यस कविताबाट स्पष्ट छ। आफ्ना कवितामा तिनले सदैव तानाशाहीको विरुद्ध आवाज उठाए।

 

कविका रूपमा नेरुदा निराश मानवताका दस्तावेज थिए। वर्डस्वर्थजस्तै सामान्य जनतासम्म तिनी आफ्नो कविता पुऱ्याउन चाहन्थे। मृत्यु र निराशा तिनका कविताको प्रमुख स्वर थियो, यो तिनका कविताको नियति थियो। आफ्ना यस्ता कविताबारे तिनी भन्थे - '...यी कविताहरूलाई मेरो देशका नवयुवकहरू नपढून्, यी निराशामा डुबेका कविता हुन्, यी कवितामा डरलाग्दो निराशा छ। यी जीवनका निम्ति होइनन्, मृत्युको प्रतिनिधित्व गर्छन्।' तर विस्तारै तिनका कविताको संसारमा व्यापक परिवर्तन हुंदै गयो - आन्तरिक अनि बाह्य रूपमा। प्रतीकहरूका मौलिक बिम्बहरूसित विलयले गर्दा काव्यको जुन रहस्यलोकको तिनले निर्माण गरे, त्यो तिनको शिल्पको बेग्लै परिचय भए तापनि कालान्तरमा यथार्थवाद र निजी प्रतीकहरूको बनौटतिर अग्रसर हुँदै जाँदा प्रतीकवाद लुप्त भयो तर तिनले रूढीग्रस्त अतियथार्थवादी शैलीलाई पनि अँगालेनन्। यस युगका कविताहरूमाझ तिनको भिन्दै व्यक्तित्व र मान्यता छ। 'संसार बद्लिसकेको छ र मेरो कविता पनि बद्लिसकेको छ' तिनी भन्थे। तिनी भन्थे, '...म सामान्य व्यक्तिको निम्ति कविता लेख्छु तर त्यसका अज्ञानी आँखाले मेरो कविता पढ्नसक्तैनन्। समय आउने छ जब मेरो एक एक पङ्क्ति, त्यो हावा जसले मलाई हल्लाएको छ, तिनका कानसम्म पुग्नेछ। जब श्रमिकहरूले आफ्ना आँखा उघार्नेछन्, खदानहरूमा काम गर्नेहरू मुस्क्राउने छन्, ठिक त्यसबेला जब तिनीहरू ढुङ्गा काटिरहेको होलान्... र त्यतिबेला तिनीहरूले भन्नेछन्, ऊ एकजना साथी थियो भनेर।'

 

अब त्यो साथी छैनन् तर तिनका कविताहरू छन् अनि जबसम्म धरतीमा गरीबहरू छन्, शोषण, युद्ध र निर्दोषहरूको रगत बग्छ, यी कविताहरू बाँच्नेछन्। नेरुदालाई एउटा लामो अवधिसम्म साहित्यमा सम्भ्रान्तवर्गले अपाङ्कतेय घोषित गरिसकेको थियो। कम्युनिस्ट हुनुमा तिनको पछि एउटा दरिलो राजनीति पनि थियो। सन् 1971 - मा तिनले साहित्यको नोबेल पुरस्कार प्राप्त गरे तर तिनी यसभन्दा अघि नै संसारमा आफ्नो विशिष्ट व्यक्तित्वको जग बसालिसकेको थिए।

 

अडेनका अनुसार नेरुदाको मृत्युले 'संसारको त्यो एकलो सङ्गीत हिउँ बनेर एउटा सितारामा परिणत भइसकेको छ। मृत्युको समयमा तिनको उमेर 69 वर्षको थियो। 1944 - तिर तिनले एउटा कविता 'नयाँ झण्डाहरूमुनि पुनर्मिलन' लेखेका थिए, जसको केही अंश -

 

'...त्यस परित्यक्त अँध्यारोमा

मैले कुन उपकरण हराइसकेको छु

कि मेरो आवाज कसैले सुन्दैन?

होइन

अब समय आइपुगेको छ, भाग

रातका छायाँहरू

सिताराहरूको चिसोपन

मानिसका पाइलाको आहटले तर्सेर

पछि हट्दैछ

औह! मेरा खुट्टाहरूदेखि यी काला

छायाँहरूलाई हटाइदेऊ...

 

-------------

1. बोर्दावेर्री: जसले 1973 को जून 27 - का दिन संसद् भङ्ग गर्ने आदेश दिएका थिए र सैनिक समर्थनमा शाशन गर्दैथिए।

2. मार्रास्तानू: ब्राजीलका राष्ट्रपति।

3. बाँसेर: बोलीबीयाका राष्ट्रपति जसले दक्षिणपन्थी सैनिक क्रान्तिको नेतृत्व गरे।

(सितम्बर 2011)

(द्रष्टव्य - यो लेख 1973 - मा नेरुदाको निधनपछि तयार पारिएको थियो - सुवास दीपक)

 

प्राण - विसर्जन

 

काशीबहादुर श्रेष्ठ

 

देखें मैले -

 

त्यस घरलाई घेरेर

निकै मानिस - हूलका हूल

उभिएका छन्

सबैका अनुहार ओइलाएका छन्

सबका सब उदास, गम्भीर

अनि, आउनेजति उत्सुक

यो जान्न -

त्यो मानिस मऱ्यो आखिर कसरी?

र, कुन?

 

कौतूहलवश

म पनि त्यहाँ पुग्न गएँ

थाहा पाएँ -

एकजना मानिसले घरभित्र

घाँटीमा पासो हाली

आत्महत्या गऱ्यो रे!

त्यो पनि एक्लो कहाँ र?

आफ्नी स्वास्नीसमेत

दुई अबोधहरूलाई पनि

विष खुवाईकन!

जिज्ञासा उत्पन्न भयो

सोधपुछ गर्दा थाहा भयो -

भावी पिंढीको कर्णधार

राष्ट्रिय चेतना र चरित्रको निर्माता

एकजना शिक्षक थियो रे!!

(गोरखापत्र: 2027 आसार 6 (सन्1942) मा प्रकाशित र काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ सन् 1996 मा संकलित)  -                            अगस्त 2011

 

 

 

 

लोकसभामा नेपाली भाषामा शपथ ग्रहण गर्ने प्रथम प्रचेष्टा

 

 

दिल्लीमा लोकसभामा हालैमा निर्वाचित भएका सदस्यहरूद्वारा शपथ ग्रहण 19 मार्च, 1971 - देखि शुरु भयो। 22 मार्चका दिन दार्जिलिङ लोकसभा समष्टिदेखि निर्वाचित उम्मेदवार रतनलाल ब्राह्मणले शपथ ग्रहण शुरु गरे। लोकसभामा कहिले नगुञ्जिएको नेपाली भाषा तिनीबाट सर्वप्रथम मुखरित भयो। त्यहाँ उपस्थित प्रधानमन्त्रीदेखि लिएर सारा सदस्यहरू एक क्षण छक्क परे। लोकसभामा खलबली मच्चियो। शपथ ग्रहण रोकियो। भारतीय संविधानको आठौं अनुसूचीमा यो भाषा छैन यसर्थ यो भाषामा तपाईंले शपथ ग्रहण गर्न पाउनु हुनेछैन भन्ने आदेश तिनले मुख्य संचालकबाट पाए।

 

यसको जवाफमा तिनले भने - "अन्य भाषामा बोल्दा म सत्यता पाउँदिनं, यसर्थ य्सलाई म मान्यता दिन सक्तिनँ। जन्मदेखि नै मैले यो भाषा बोलेर आएको हुँ। यसैमा मात्र म मेरो भाव प्रकट गर्न सक्छु।"

 

प्रतिबन्ध फेरि लगाइयो। एकचोटि फेरि हल्ला मच्चियो। शपथ ग्रहण हुनैपर्छ भन्ने सल्लाह भयो र तिनलाई हिन्दी भाषामा शपथ ग्रहण गर्न बाध्य गराइयो। तिनले केही शब्द नेपालीमै बोलेर शपथ ग्रहण शुरु गरे - "आज मलाई यो दु:ख प्रकट गर्न कर लागेको छ कि भारतमा 50 लाखभन्दा ज्यादामा छरिएका नेपालीहरूको आवाज यस भवनमा बोल्न पाइएन। यो हक यहाँ चाँडोभन्दा चाँडो दियाजावस्।" त्यसपछि हिन्दीमा तिनले शपथ ग्रहण गरे।

(दियालो, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ,  अप्रिल 1971 - बाट साभार) - जुलाई 2011

 

                              एकताको प्रतिमा

प्रिल 8, 1988 - को दिन सिक्किमको इतिहासमा स्वर्ण अक्षरले लेखियो। 13 औं शताब्दीमा सिक्किमका महान आदिपुर्खाहरूले रगतको साइनो गाँसेर साम्प्रदायिक सदभावना, जातीय एकता र शान्तिको जिन बिरूवा रोपेका थिए, त्यो आज एक्काइसौं शताब्दीमा पुग्दापुग्दै एउटा वटवृक्ष भई सिक्किमे सन्ततिहरूलाई आफ्नो शीतल छायाँमा जीवनको सार्थकताको पाठ सिकाइरहेको छ। 13 औं शताब्दीको त्यस ऐतिहासिक घटनाका स्मृतिहरू टी. लाचुङपाको दुइ वर्षको लामो परिश्रम, अनुसन्धान र कल्पनाशीलता साथै सृजनपट्टिको अटूट आग्रहको फलस्वरूप तयार पारिएको त्यस एकताको सृजनामा संलग्न रहेका सिक्किमका महान आदिपुर्खाहरू थेकोङथोक, खे - बुम्सा र न्योकुङ न्गालका चित्रबाट स्थानीय कम्युनिटी भवनमा त्यसबेला आलो हुन पुगे जब सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीले उक्त चित्रको अनावरण गरे।

 

सिक्किमका यी महान आदिपुर्खाको कुनै आधिकारिक चित्र अथवा मूर्ति उपलब्ध नभएको हुनाले पाङल्हाव - सोल संस्था सिक्किमको महान सांस्कृतिक र सामाजिक महत्वका विशेष घटना र व्यक्तिहरूसितै परिचित गराउँदै महान आदि पुर्खाहरूका सागिग निर्माण गर्ने दिशातर्फ उठाएका पाइलाले सिक्किमको आउँदा सन्ततिका निम्ति प्रकाशस्तम्भको भूमिका खेल्नेछ भनी किटेर भन्न सकिन्छ।

 

राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा व्याप्त वैमनस्यता, घृणा, हिंसा, द्वेष, साम्प्रदायिकता र अराजकताको घड़ीमा सिक्किम यी थोकहरूबाट सर्वथा अप्रदूषित रहेर आएको छ - र यस तथ्यसित विश्व अवगत नभएको होइन।

 

सिक्किमका मुख्यमन्त्रीका अनुसार "महान कार्यको प्रशंसा गर्नु अथवा त्यसप्रति सम्मान व्यक्त गर्नु मानवता हो भनी यस्ता कार्यहरूको भत्सर्ना गर्नु पशुत्व हो।"

 

(विचार, वर्ष 7, अंक 88, 14 अप्रिल, 1988)                             - जून 2011

 

संस्मरण

 

एक संत्रस्त स्मृति: शैशवकालक

 

डी.टी. जिम्बा

 

त्यस दिन - कस्तो संयोगको दिन भनौं वा वियोगको दिन, कान्छा सर केही कारणवश पाठशालामा उपस्थित हुन सकेनन्। नागरी फारम प्राथमिक एवं माध्यमिक पाठशालाका जम्मै शिक्षकगण महिनाको पहिलो तारिख आधा दिन छुट्टी गरेर चिया गोदाममा माहवारी आफ्नो - आफ्नो कोटाको चियापत्ती लिन जानपर्ने हुनाले कान्छा सरको भाइको नाताले मलाई गुरुबाबुहरूसित ग्रुपमा सामेल हुन पऱ्यो। तिनताक म तेस्रो श्रेणीको विद्यार्थी थिएँ।

 

पाठशाला र चिया गोदामको फासला लगभग तीन किलोमिटर हुनुपर्छ। यी दुईको मध्यान्तरमा पाँचवटा ठूला - साना पानीका झील छन् जुन मध्येको सबैभन्दा ठूलो सरोवरलाई नाउ पोखरी भनिन्छ, कारण त्यहाँ नाउ खेलिन्छ। सरोवरका वरिपरि तथा सेरोफेरोमा विशेष क्यानुमा, कटुस र चिलाउनेका ठूला - ठूला रूखपात, लतादि भएकाले जंगलमा विशेष बाँदर र चरा - चुरुङ्गीको कमी थिएन। कटुस पाक्दा बथानका बथान रंगीचंगी सुगाले त्यहाँको वातावरण रमाइलो पार्दथ्यो। बिहानीपख ओध्राहरूमा भ्याकुरा, चिचिन्कोटे फिष्टा चराहरूले मन्त्रमुग्ध गीत गाएको सुनिन्थ्यो भने रानी चरी, कोकोले आदि अग्ला - अग्ला ऱूखहरूका टुप्पामा देखिन्थे। झीलको वरिपरि ससाना, बाक्ला झारपात, काँड़ा, बन्सो, कति त पानीभित्रैबाट उम्रेका अनि डिल, कान्लातिर उत्तिस, सौरका रूख, बीच - बीचमा चोयाबाँसका पटेर घारीले गर्दा लामों किरा पनि ठूला - साना प्रशस्तै थिए। सरोवरको चारैतिरको गोरेटो भएर हिँड्दा अरू त होइन लामो किराकै डर हुन्थ्यो।

 

बर्खामाझकै कुरा हो तर बर्खेझरीले भने दुईएक दिनको बिदा लिएको थियो। टन्टलापुर घाम नलागे तापनि दिन भने निन्याउरो थिएन। त्यसै कारण पनि होला, गुरुजनमा एक प्रकारको जोश छँदै थियो। कहिलेकाहीँ होश हराएको जोश जोखिम अँगाल्न पुग्दछ।

 

पाठशालाको ओह्रालै - ओह्रालो, गोरेटो, चिप्लो बाटो, अघि - अघि गुरुजनको एक लाम अनि पुच्छरमा एक पिउसो - म। हेर्दा - हेर्दै एकै क्षणमा हामीले न्यामन्यामे बाजेको गाउँ नाघेर जंगल प्रवेश गरी खसिनी खोला पुग्यौं। यही खोलाको पानी ठाउँ - ठाउँमा हुँदै पञ्चशील बनेको हो। नालीवाल बाजेलाई भनेर एकाध घन्टा नाउ खेल्ने हो र त्यसपछि मात्र गोदाम लाग्नुपर्छ - गुरुजनको सल्लाह मेरो क्षुद्र कानमा पऱ्यो। नाउ मैले सधैं देखिरहेको छु, अरुले चढेको, खेलेको पनि देखेकै हो तर स्वयं मैले त्यतिञ्जेलसम्म नाउ चढी त्यसको आनन्द लिने मौका परेको थिएन। सललल नाउ चलेको मात्र देख्दा बालख हृदय आनन्दविभोर हुन्थ्यो भने चढी व्यावहारिक अनुभव गर्दा दिव्य सुख प्राप्त हुन्थ्यो कि भन्ने ख्याल! 'गुरुहरूले मलाई चढाउने हुन् कि होइनन्, उनीहरू नै जानून्' - मनमनै के के सोच्दै हिंड्दै थिएँ, सामुन्नेमा नालीवाल बाजे देखा परे। एकै क्षण गुरुबाबुहरूसित उभिएर बातचित गरेपश्चात् 'खेल्नुहवस्' भन्ने अनुमति दिई नालीवाल बाजे नालैनाला पानी हेर्दै गोलपोखरीतर्फ लागे। फेक्ट्रीको सोझै आधा किलोमिटर माथि स्थित त्यो गोलपोखरीबाट ठूलो फलामे नालाको पानीले जोडसित चरबाइन मसिनलाई चलाउँदा फेक्ट्रीमा बिजुली उत्पन्न हुन्थ्यो।

 

नालीवालको अनुमति बिना जोसुकैले नाउ खेल्न सक्दैन थिए। त्यो केवल चिया कमानमा मेनेजर र उच्च पदस्थहरूका निमित्त मात्रै थियो। 'कानोलाई आँखो' भने झैं नालीवालको अनुमति पाइसकेकाले हामी सोझै किनारमा बाँधी राखेका नाउतिर लाग्यौं।

 

बर्खाको भेलले झीलको पानीको स्तर बढेर गोरेटाको छेउसम्म कतैकतै आइपुगेको थियो। पानी नीलो सफा नभएर प्राय: धमिलो देखिन्थ्यो। एकाध किलोमिटर वर्गमा फैलिएको नाउ पोखरीको गहिराइ तीस - चालीस फुटभन्दा कम नहोला। यस पोखरीमा पौड़ी खेल्दा धेरैको ज्यान घएको छ। यत्रो ठूलो साबर, मेरो निम्ति एउटा सागर बराबरै थियो।

 

गुरुबाबुहरूमध्येका एकजना खर्साङबासी श्री हल्टुसिंह वाइबा धुरन्धर तैराक थिए। उनले पौडी खेल्ने विचार राखी आफ्नो लुगाफाटा उतारी त्यहीं एकछेउ ओभानो ठाउंमा थुपारे। म लगायत् आठजना नाउमा त पस्य़ौं तर कसलाई के थाहा कि अगि कस्तो संत्रास, कत्रो थर्कमान स्थितिको सामना गर्नुपर्ने हो!

 

नाउ खियाउने दाबिलो दुई गुरुहरूले एकले अघिल्तिर र अर्कोले नाउको पछिल्तिर बसी समातेपछि वाइबा सरले वाहनलाई जोडले पानीमा सललल घचेटी आफू पनि चढे। उनी चड्दा नाउ एकातिर कोल्टे परी घल्चक्क गर्दाको प्रथम त्रास, एक नवीन बाल - अनुभव जीवनभरिको। कताकतै मनमा चिसो पस्यो, ज्यादै कोचिल्टँदा धुपलक्कै पल्टिने त होइन। मैले नाउ घोप्टिएको कहिले देखेको होइन। सोच्दा - नसोच्दा नाउ निकै पर माझतिर पुगिसकेको थियो। नाउको अघिल्तिर खडा भएर वाइबा सरले पानीमा नाकडुबी हाने। केही क्षणका निम्ति उनी पानीभित्र हराएपछि दस - पन्ध्र फुट परतिर फुत्त निस्के। यस्तो दृश्य रमणीय हुन्छ। छापलाङ - छुलुङ गर्दै उनी हाम्रो नगिच आई नाउमा चढे। तबसम्म हामी पोखरीको मध्यभागमा पुगिसकेका थियौं अनि त्यतिञ्जेलसम्म सबकुछ ठिकठाक चल्दै थियो।

 

अब नाउ शनै: शनै: सरोवरको पल्लो किनार सिमेन्टको बाँध नगिच पुग्न आँटेको थियो। एकपल्ट पुन: सरले पानीमा डुब्की हाने। छछल्किएको पानीको काऱण नाउ घुमाउँदा - नघुमाउँदा सिमेन्टमा जोडसित थुर्रिनु पुग्दा मानो नाउको अग्रिम भाग भत्क्यो कि भन्ने भान भयो। अघिल्तिरका सरले आत्तिएर हातको दाबिलो उठाई नाउमा छोडिपठाए। वाइबा सरले हाँस्दै दाबिलो उठाई नाउमा पसे। यो उनको हामीलाई थर्काउने एक प्रयास थियो।

 

हामी अब फर्केर सरोवरको मद्यतिर आइपुगेका थियौं। दिनको दोस्रो प्रहर, सबैको रहर पुगेझैं लाग्यो, अनि मेरो पनि तर वाइबा सरको भने नपुगेको जस्तो लाग्यो। उनले अन्तिमपल्ट माझ पोखरीमा नाकडूबी हाने। केही क्षण उनी पानीभित्र अन्तर्ध्यान भए। पानीको छाल उठेर परपर किनारसम्म लहरले बिथोल्न पुग्यो। मानो 'मलाई जिस्क्याउँछस्' भनेजस्तो गरी किनारको पोथ्राबाट अचानक कमसेकम आठ - नौ फुट लामो 'लामो किरा',  हेर्दा कोब्रा झैं देखिन्थ्यो, पानीदेखि तीन - चार इञ्च माथि टाउको उठाएर सहसा हामीतर्फ बडो वेगले आएको सबैले देखे। मेरो आंग जिरिङ्ग भयो। हेर्दा - हेर्दै त्यसले हाम्रो वाहनलाई अघिल्तिरबाट आक्रमण गरी भित्रै पस्लाझैं गर्न थाल्यो। आवेशमा सरले दाबिलोले जोड - जोडले हिर्काउँदा पनि नटेरी फन पुलाएर नाउभित्रै पस्न खोज्थ्यो। आपत र उद्वेगको बेला सबैले वाइबा सरलाई बिर्से। जसै उनले पानीबाट टाउको उचाले, त्यो खतरनाक दृश्य देखे। 'अब वाइबा सरलाई पो यसले डस्ने हो कि' सायद सबैको मनमा यही चिसो ख्याल, मेरो मनमा झैं उब्जेको होला! तर दाबिलोले हिर्काएको हिर्काएकै गर्दा त्यसको ध्यान सरतिर अवश्यै परेन। तत्क्षण सर पनि पानीभित्रै पौडँदै नाउ अघिल्तिर आई चढे। त्रासको बेला उनी चढ्दा नाउ ज्यादै कोल्टे परी झण्डै उल्टेन। भित्र आधाउधि पानी पसेको थियो। वाइबा सरले एउटा दाबिलो समाती जोड - जोडले त्यसलाई हिर्काउँदा केही चोट लागे झैं माने। त्यसले अझ उग्र रूप धारण गऱ्यो। करिब दस मिनटको मुठभेडपश्चात् अन्तमा त्यो जुन दिशाबाट आएको थियो, त्यसैको झाडीतिर फर्की गयो। सबैले शान्तिको लामों सास फेरे, सबै किनार कति बेला पुगिएला भनी हतारिएका थिए। एक अन्दाज गरिनसक्नुको सन्त्रस्त स्थिति यदि त्यसले नाउभित्र प्रवेश गर्ने मौका पाउँदो हो!

(हाम्रो ध्वनि,शिलाङबाट साभार)                                                            - अप्रैल 2011

 

वास्तवमा

 

पवन चामलिङ किरण

ब जब मलाई

धरतीको भग्नतामा

भ्रष्टता व्याप्त हुँदै गएको आभास हुन्छ

अँधकार पैल्याउंदै गएको थाहा हुन्छ

महासमस्याको बिस्कुन स्थितिको घाममा सुकेको ज्ञात हुन्छ

जब मलाई धरतीलाई टिपेर

आकाशमा चढाऊँ लाग्छ।

किनकि आकाश सुन्दर छ'रे!

स्वच्छ छ 'रे!

नीलाम्बरको च्यादरमा

करोड़ौं जुन - तारा जडित बनाऊँ लाग्छ

तर अफशोस!!

त्यो सुन्दर आकाशको कथा

छि! त्यो मात्र धरतीको व्यथा!

त्यसको अस्तित्व सृजित धरतीबाट

उठेको आकाश धरतीको काखबाट

आकाशको अस्तित्व?

धरतीको सम्पूर्णता -

र आकाशलाई टिपेर लड़ाऊँ जस्तो लाग्छ।

धरती सम्पूर्ण हो

आकाश खोक्रो र बोक्रो सिवाय

अरू केही होइन।

(पश्चिम बंगाल,, मार्च 4 1977, सूचना औ जनसम्पर्क विभाग, पश्चिम बंगाल, दार्जिलिङबाट)

जनवरी 2011

 

तुले उर्फ तुलबहादुर कार्की

 

राम अपतन

बैले उसलाई पागल सम्झन्थे तर उ पागल थिएन। यस गान्तोकको कुनाकाप्ची, गल्ली - गल्ली, घर - घर, देशी - परदेशी सबैसँग उसको परिचय थियो। ठूलो सानो नागरिकका घरमा उ पस्थ्यो। घर वरपरको बाटो घाटो कर - कसिङ्गर पन्साई कल वा धाराको पानीमा हातखुट्टा पखाली कुनाकौसीतिर आफ्नै घरमा बसेझैं मुढा वा पीरा तानेर बसी दिन्थ्यो। कुकुर भुके पनि ख्यालै नगर्ने। घर धनी वा मालकिनीले ढोका निस्केर भन्थे - "ए, तुले पो आएछ।" तर उसँग सबै नानीहरू डराउँथे र भन्थे - सानो छँदा म पनि डराउँथें। आठ - दसका केटाकेटीहरू उसलाई देख्नेबित्तिकै काग कराएझैं हल्ला गर्दै पर - पर भाग्थे। ठूलाबडाहरू हाँस्दै मजा लिन्थे। ठूलेले शायद लुगा फेर्दैनथियो क्यारे, उही जीर्ण दौरासुरुवालमै राष्ट्र घुम्थ्यो। कसैले दया गरेर पुरानो लुगा दिए गुटुमुटु पारे लान्थ्यो र हालको बंसीलाल पेट्रोल पम्पमुनिको सानो मैदानमा जहां हालमा मस्जिद बनिएको छ, त्यहाँ थुपार्थ्यो। त्यति मात्र होइन कतैतिर फ्याँकिएको फलाम, काठ, बोक्रे बाकस, डोको, डोरी जो परित्यक्त वस्तु पाइए, थुपार्थ्यो। घामपानी झरी होस्, कसिङ्गरसँगै बास बसिदिन्थ्यो, भुइँमा बोरा ओच्छ्याएर, तर उसलाई फुर्सत नै थिएन। आफ्नो थुप्रिएको थोत्रे सम्पत्तिको पर्वाह नगरी उ डुली हिँड्थ्यो। कुन बेला कता कहाँ कसैलाई यादै हुँदैन थियो।

तिनताक गान्तोक साह्रै सानो बजार र बस्ती नै थियो, रोडे सडक, चोरबाटो, गोरेटो भएको ठाउँ, घोडाखच्चर, गधाद्वारा यातायात वा तुलेजस्ता कोही नि:शुल्क भरिया भएको। पैसा कसैले माग्दैन थियो। दिनेले बासी भात, जाँडरक्सी वा फलफूल दिएर सघाउँथे। तुले घरघरलाई सजिलो मान्छे थियो। दाउरा ल्याउनु परे, सौदा बोक्नु परे, कुनै भारी बोक्नु परे तुलेले सघाउ पुऱ्याउँथ्यो। ससाना भोजभतेर हुँदा तुले अवश्य हाजिर रहन्थ्यो। मरौपरौमा तुले अवश्य अग्रणी रहन्थ्यो। कसैलाई उसले छुट्याउँदैन थियो न उसलाई कसैले छुट्याउँदैनथियो। जो दिए उसैमा उ खुसी। यति देउ उति दु भनेर हात पसार्दैनथियो। पैसा पाए उसका खुट्टा गड्डीहरूमा पुगी हाल्थ्यो। र त्यहाँ पनि काम सघाए, उसले बोतल वा ढुङ्ग्रोपिप्सिङ लाउन पाइहाल्थ्यो। त्यस बेलामा आमाहरूका नानीहरू बेसी दङ्ग्याए वा रोए "उ तुले आयो" भन्दा नानीहरू चुप भइहाँस्थे।

सुनेको थिएँ हालको तादुङमा तुलेको ठूलो जग्गाजमिन र धाक थियो रे। सायद 1907 - 08 तिर! त्यस बेलाको सडक मास्तिर अर्थात् सडकैमाथि उसले घर बनाएको थियो रे। जो यात्री उसको घरमुनिबाट आउने वा जाने गर्थे, सित्थैमा खुवाएर सत्कार गर्थ्यो रे र बास दिन्थ्यो रे। गाईबस्तु वा पशुपरेवाको कमी नभएको मान्छे थियो तुले, अर्थात् त्यस बेलाको तुलबहादुर कार्की! सिक्किमको तेन्द्रे सडकमा तिनताक गोरुगाडीको चलन थियो अनि गाडीवानहरू उसैको घर छेउछाउ बास बस्थे, आ-आफ्ना गोरुबहरलाई घाँस हाल्थे र मात्र उकालो वा ओरालो जोत्ने तरखर गर्थे। सबै तुलबहादुरकै भर पर्थे। तुलबहादुर कार्की जहान बालबच्चावाला गृहस्थ थिए। उनकी प्रथम पत्नी गरगहनाले लादिएकी जाँगरिली र सुन्दरी थिइन् रे। पूजाआजा, व्रतबेला बेलामा उसको घरमा भइ नै रहन्थ्यो। उनीहरूले सक्दो ब्राह्मण र यजमानहरू घरमा बटुल्थे नै प्रसाद खानेहरूको अभाव नै रहन्थ्यो। निम्तो दिँदा कार्डको चलन थिएन, चलन थियो सुपारी बाँड्ने र पनि पाहुना आउँदैनथिए। जनसङ्ख्याको कमी नै थियो तर खाद्यान्न वा फलफूलको कमी भने थिएन नै। जाति - पाति र छुवाछूतको कठोर चलन थियो। ब्राह्मणहरू भान्से राखिन्थे। कार्कीको घरमा पनि भान्से थियो ब्राह्मण नै जो औधि व्यस्त रहन्थ्यो। तुलबहादुर आफै पनि पवित्र बस्थ्यो र आफै पनि पूजादि गर्थ्यो। उ अनपढ भए पनि सङ्गतले धेरै मन्त्र भजन गर्न जानिसकेको व्यक्ति थियो। त्यो युग नै धार्मिक कथाको युग थियो। त्यस समयका मान्छेहरू भूतप्रेतमा खुवै विश्वास गर्थे। साँझ परेपति बाटो बाटोमा हिँड्ने मान्छे हुँदैनथिए।

तर समय कसैको एक किसिमको रहँदैन। तुलबहादुरको गृहस्थीमा वज्रपात हुन सुरु भयो। उसका नानीहरू कुनै रोगले नाश भएपछि पत्नी पनि रोगाइन् र कालको गांस भइन्। कार्कीको मानसिक सन्तुलनको ह्रास भयो। मानसिक आघातमा पट्टी बाँध्ने कोसिसमा अनेकौंपल्ट पाणिग्रहण गर्दै गृहिणी भित्र्यायो तर कालको खैंजोले उसलाई ऊँभो लाग्नै दिएन। उ गृहत्यागी भएर भगेटियो, सर्वभक्षी भयो, घरथर बिर्सियो। बसाई सर्ने युग नै थियो। मान्छे उही नै स्वार्थी हुन्छन् जहां हुन्छ काम र माम। तुलबहादुरबाट उ तुले हनगयो, पछि लोकमा तुले नामी भयो। उ अति एकल भयो। एक्लै दिउसी खेल्थ्यो। आफै भट्याउंथ्यो, आफै देउसिरे भन्थ्यो। कहाँ, कहाँ, कस्ता - कस्ता कथाहरू भट्याउँदै उ खेल्थ्यो देउसी अनि सुन्नेहरूको भीड जम्मा हुन्थ्यो. जस्तो घर धनी उस्तै देउसी खेल्थ्यो तुले। गुरुज्यू शिवनाथ मिश्रको आगनमा आएर खेलेको देउसीमा वेदवाक्य उद्धृत गर्थ्यो भने कतै रामायण, कतै महाभारतका कथा नै भट्याउँथ्यो उ, तर एक्लै।

कालान्तरमा उ अलिक सन्तुलित भएपछि एउटी अति परित्यक्त कन्यालाई पत्नी बनाएर राख्यो, हाल नामनाम रोडको एउटा सुनसान घरमा। छेउमा सार्वजनिक पानीकल, केही हाँस पनि पालेको थियो। दुइ छोराहरू पनि हुर्केका थिए, सायद एउटा पिउनमा लागेको थियो। नाम बिर्सें सायद कतै अझ छन् कि! अलि अलि स्कूलमा पनि पढाउन पठाएको याद छ। उसको दसौं तर अन्तिम पत्नीले पनि साथ नदिंदा उ पूर्ण पागलजस्तै भएको थियो। शङ्करले सतीलाई अङ्गालेर डुलिहिंडे झैं उ पनि पत्नीको मृत देहसँगै जङ्गल जङ्गल डुलिहिंड्यो, कुन्नि कहाँ बिसायो त्यो लाश कसैले देखेन, कारण उसँग समाज डराउंथ्यो। आफैले पालेका हाँसहरूलाई जिउँदै तानेर रक्तपान गरेको देखी सबैले पूर्ण पागल नै सम्झे, कोही छेउ परेनन्। तै तुले परोपकारी नै थियो। लावारिस लाश कोही फ्याँक्ने नहुँदा उ एक्लै बोकेर दिछेलिङ पुऱ्याएको देखेको छु, बजार वा बजारको गल्लीमा मरेको कुकुर - बिरालोको लाश कसैले नभनी कुन जङ्गल लगी माटो दिएको कुरो सुनी सम्भ्रान्तजन उसित घृणा गर्थे। नाली सफा गर्नुपरे तुलेलाई घीन लाग्दैनथियो। मस्जिद बनिँदा वा पेट्रोल पम्पको परिसर बनिँदा उसले सङ्ग्रह गरेको विपुल सम्पत्ति कता गयो कोनि अनि घर घरको नि:शुल्क सेवक पनि कता बित्यो। कसले गऱ्यो उसको अन्त्येष्टि, सुनिएन पनि तर "तुले" नाम अझ पनि गान्तोकको मानसभूमिमा अवश्य समाधि भएर बसेको छ, नपत्याए सोध्नुहोस् बाजेबज्यूहरूलाई!

(आजको सिक्किम, दैनिक समाचार पत्र, गान्तोक, 6 जून, 2005 बाट साभार) - अक्टूबर 2010

 

नेपाली भाषा

 

नेपाली भाषा भारतको एक करोडभन्दा पनि बेसी भारतीय जनताले बोल्ने भाषा हो। यस भाषालाई साहित्य अकादेमी नयाँ दिल्लीद्वारा मान्यता दिएर प्रत्येक वर्ष यस भाषामा लेखिएका उत्कृष्ट पुस्तकको लेखकलाई अकादेमी पुरस्कार दिइँदैछ भने पश्चिम बंगालमा र सिक्किममा भानु पुरस्कार मानक पुरस्कार दिइने व्यवस्था भएको कुरा सर्वविदित छ। भारतका कतिवटा महाविद्यालयमा एम.ए.-सम्म यो भाषा पढाइन्छ। यस भाषामा डोकाका डोका साहित्य लेखिएका छन् र यो भाषा अरू भारतेली भाषाको दाँजोमा अघि नभए पछि पनि छैन।

यस भाषालाई भारतको अष्टम अनुसूचीमा अन्तर्भुक्त गराउनपर्छ भन्ने माग 1957 सालदेखि भारत सरकारसमक्ष गर्दै आएको हो तर आजसम्म यो भाषाले भारतको अष्टम अनुसूचीमा स्थान पाएको छैन। केन्द्र सरकारले यति समृद्धशाली भाषालाई 'विदेशी भाषा'- को आधारहीन  नाम दिएर मान्यता दिनुमा विलम्ब गर्दै आएको छ।

अब हाम्रो अघि यो प्रश्न खडा भएको छ -

 

1. भारतको स्वतन्त्रता संग्राममा नेताजी सुभाषचन्द्र बोसको अघि-पछि लागेर भारतमाताको मुक्तिका लागि बलिदान हुने मेजर दुर्गा मल्ल, क्याप्टन दलबहादुर थापा, इन्द्रेणी थापा झैं हजारौं-हजारैं शहीदहरू सबै विदेशी हुन्?

 

2.'सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा' - का संगीतकार श्री (क्याप्टन) राम सिंह ठकुरीले बोल्ने भाषा विदेशी हो भने 'सारे जहाँ से अच्छा हिन्दुस्तान हमारा' - को धुन पनि विदेशी हो त?

 

3. नेपालमा नेपाली राज भाषा भएकोले भारतीय नेपाली भाषालाई विदेशी भाषाको नाम दिइन्छ भने बंगलादेशमा बोल्ने भाषा पनि विदेशी हुनुपर्छ, -त्यसो भए बंगला भाषालाई भारतको अष्टम अमुसूचीमा कसरी मान्यता दिइयो?

 

'कसैलाई भाषा र कसैलाई पाखा' भन्ने संविधानमा छैन। तर यस्तो केन्द्रको निम्ति संविधानको मर्यादा र गरिमामा ठूलो कलंक लाग्ने सम्भावना छ।

 

यी सब तथ्यलाई मध्यनजरमा राख्दा केन्द्र सरकारको कार्यवाही संवैधानिक छ भनेर मान्न सकिँदैन।

 

यस विषयमा हामीले एकपल्ट सोच्न र घोरिनपर्ने समय आएको छ।

पवन चामलिङ 'किरण', निर्माण (नेपाली साहित्यिक पत्रिका)-को वर्ष 9,अङ्क 4, मार्च 1988-को सम्पादकीय

 

(व्यक्तित्व एवं कृतित्व)

काशीराज प्रधान

सुवास दीपक

काशीराज प्रधान सिक्किममा शिक्षक पदमा नियुक्त हुने प्रथम सिक्किमे स्नातक थिए। एउटा अन्तर्वार्ता (साक्षात्कार, सम्पादक सुवास दीपक, निर्माण प्रकाशन,1987, पृ. 2-3)-मा उहाँले यस्तो जानकारी यस प्रकार दिनुभएको थियो, -"बीशौं शताब्दीको दोस्रो दशकदेखि गान्तोकमा सिक्किमको प्रथम हाईस्कूलको स्थापना गान्तोकको पुरानो बोर्डिङ स्कूलहरू गाभेर सन् 1928-मा भएको थियो जसमा शिक्षकहरू प्राय: बाहिरबाट झिकाइएका थिए। सन् 1928-मा स्नातक भएर सिक्किमको सेवार्थ सन् 1930 - मा उपरोक्त स्कूलहरूमा अध्यापक भएर देशको सेवामा संलग्न हुने प्रथम सिक्किमे स्नातक शायद म नै हुँला।"

पादरी गंगाप्रसाद प्रधानको प्रकाशन 'गोर्खे खबर कागत' र सिक्किममा नेपाली पत्र-पत्रिकाको पठन-पाठनबारे काशीराज भन्नुहुन्छ, "...सिक्किम र दार्जिलिङको सेरोफेरोमा आरम्भ भएको यो शताब्दिको प्रथम दशकमा नै स्व. गंगाप्रसाद प्रधानको सम्पादनमा दार्जिलिङ मिशन हाउसबाट प्रकाशित 'गोर्खे खबर कागत्' बाल्यकालमा पाक्योङ (पूर्व सिक्किम)-मा बराबर देखेको सम्झना आउँछ। दोस्रो दशकमा डा. पारसमणि प्रधान, रश्मिप्रसाद आले आदिको परिश्रमबाट 'चन्द्रिका' भन्ने पत्रिका आएको सम्झना आउँछ। सिक्किमबाट नेपाली भाषाको मासिक पत्रिकाको रूपमा प्रकाशित हुने श्रेय 15 अगस्त,1957-देखि प्रकाशमा आएको 'कञ्चनजङ्घा'-लाई जान्छ जस्तो लाग्छ।"

सिक्किममा 1950-देखि ठिकादारी प्रथा उठेदेखि केही हदसम्म राजतन्त्रको पासोबाट सिक्किमे जनताले उम्कने अधिकार त पाए तर राजशाहीमा अहिले पनि मानिस अशिक्षा र कुरीति, गरीबी आदि अभिशापबाट मुक्त भइसकेका थिएनन्।

1947-मा स्थापित 'अपतन साहित्य परिषद्' नामक साहित्यिक संस्थाको स्थापना भइसकेको थियो र साहित्यकारहरूले आफ्ना लेखनीद्वारा समाज सुधारको दिशामा शुरुआत गरिसकेका भए तापनि समाचार प्रधान पत्र-पत्रिकाको शुरुआत 1957 सालमा काशीराज प्रधानका सद्प्रयासबाट 'कञ्चनजङ्घा'-को प्रकाशनबाट भएको हो। 15 अगस्त 1957-देखि सिक्किमे इतिहासमा एउटा नयाँ र महत्वपूर्ण अध्याय थपियो। नेपाली भाषामा पठन-पाटन र साहित्यप्रति अभिरुचिको विकास हुनका साथसाथै सामन्तीय उत्पीड़न, अभिव्यक्तिको दमन, थिचोमिचो, शोषण र राजनैतिक अधिकारप्रति आवाज उठुने एउटा सशक्त माध्यमको रूपमा 'कञ्चनजङ्घा'-को आविर्भाव कैंयन् दृष्टिकोणबाट महत्वपूर्ण छ। राजनैतिक, सामाजिक, साहित्यिक, शैक्षिक कुनै दृष्टिकोणबाट यो एउटा युगान्तकारी अध्याय मान्न सकिन्छ। सिक्किममा साहित्यिक अभिव्यक्तिका लागि माध्यमको रूपमा नेपाली भाषाले यति बेलादेखि आफ्नो महत्वपूर्ण भूमिका निर्धारित गरिसकेको थियो।

1898-मा प्रकाशित 'गजेटियर अफ् सिक्किम'-मा उल्लिखित सिक्किमसम्बन्धी सूचना एवं तथ्याङ्कहरूका आधारमा भन्न सकिन्छ कि सिक्किममा नेपाली भाषाको प्रचलन आजभन्दा दुइ सय वर्षभन्दा पनि अधिक समयदेखिनै रहेको थियो। र 1950-सम्म सिक्किममा नेपाली भाषाले जनजिब्रोको माध्यममा मात्र होइन तर साहित्यिक अभिव्यक्तिको रूपमा पनि आफ्नो भूमिका निर्धारित गरिसकेको थियो। 'कञ्चनजङ्घा'-को माध्यमबाट काशीराज प्रधानको भारतीय स्वाधीनतापछि आफ्नो इतिहासको एउटा निर्णायक घुम्तीमा उभिरहेको सिक्किमको सामाजिक एवं राजनैतिक जीवनमा एउटा अतुलनीय भूमिका खेलेका छन् भन्नमा अत्युक्ति हुने छैन। यस उपमहाद्वीपको भू-परिवेष्ठित र अति सानो सीमावर्ती संरक्षित अधिराज्यको प्रजातान्त्रिकरण र शिक्षा प्रचार-प्रसारको एउटा प्रमुख प्रवक्ताको रूपमा 'कञ्चनजङ्घा'-को भूमिका सराहनीय मात्र होइन तर समग्र नेपाली पत्रकारिताको विकासमा यसलाई एउटा प्रमुख दस्तावेजको रूपमा लिन सकिन्छ।

भारतीय नेपाली साहित्यकारहरूको दोस्रो पिँढ़ीलाई 'कञ्चनजङ्घा'-ले दिएको प्रोत्साहन पनि ऐतिहासिक मान्न नसक्ने कुनै कारण छैन किनभने सिक्किमलगायत् दार्जिलिङ, असम आदिका 1957-देखि 1970-सम्मको अवधिमा लेखनकार्यमा प्रवृत्त भएका अधिकांश साहित्यकारका रचनाहरू 'कञ्चनजङ्घा'-मा प्रकाशित भएका हुन्। विशेष गरी सिक्किमका दोस्रो पिंढ़ीका लेखकहरू 'कञ्चनजङ्घा'-कै उपज हुन्।

'कञ्चनजङ्घा'-ले सबै जातीय समुदायका मानिसहरूलाई नेपाली भाषाको माध्यमबाट एक सूत्रमा बाँध्ने प्रयास गऱ्यो। 'कञ्चनजङ्घा'-को प्रथम अङ्कदेखि अन्तिम अङ्कसम्मको समग्र अध्ययन गर्दा के जानकारी पाइन्छ भने केवल नेपाली जातीय समुदायबाट मात्र होइन तर भुटिया, लेप्चा र अन्य राज्यबाट आएर सिक्किममा स्थायी रूपले बसोबासो गर्ने अनेपालीहरूलाई पनि नेपाली भाषामा साहित्य सिर्जनप्रति प्रेरित गऱ्यो। यस कारण यस पत्रिकाको माध्यमबाट स्व. काशीराज प्रधानले जातीय एकता तथा साम्प्रदायिक सद्भावनालाई सुदृढ़ बनाउनमा, प्रजातान्त्रिक मूल्यहरूप्रति मानिसहरूलाई अभिप्रेरित गर्न तथा समग्र मानव हितप्रति सकारात्मक दृष्टिकोण विकसित गर्न ऐतिहासिक योगदान पुऱ्येका छन्।

1957-देखि 1972-सम्म नियमित रूपले प्रकाशित 'कञ्चनजङ्घा' -का सम्पादक एवं प्रकाशक काशीराज प्रधानले यस पत्रिकाको सञ्चालन र सम्पादकीय नीतिमा नितान्त रूपले स्वतन्त्र रहेर त्यस कालमा जनताका विभिन्न समस्याहरूका लागि एउटा मञ्चको काम गरे जति बेला सिक्किममा अभिव्यक्तिको स्वतन्त्रता प्राय: थिएन।

काशीराज प्रधानको निधन 85 वर्षको उमेरमा 31 मार्च,1990-का दिन गान्तोक नामनामस्थित निज निवासस्थानमा भयो. उहाँको निधनमा 2 अप्रिल, 1990-का दिन सिक्किम सरकारले सरकारी विदा घोषित गऱ्यो। वरिष्ठ नागरिक एवं शताब्दी पुरुष चन्द्रदास राईले स्व. प्रधानप्रति सठिक टिप्पणी गर्नुभएको छ -"काशीराज प्रधान सिक्किमका अग्रिम पङ्क्तिका राजनीतिज्ञ हुन् र कुनै पनि निष्पक्ष इतिहासकारले सिक्किमको इतिहास लेख्दा उहाँको नाउँ उल्लेख नगरी सक्दैन।"

कहानी

 

लेखक - चन्द्रबीर राई, गान्टक

 

जेन्द्रबहादुर, शिवलाल महाजनको एक मात्र प्यारो पुत्र। उसलाई सांसारिक सुख सामग्रीको लेश मात्र पनि अभाव छैन। उ हेर्नमा राम्रो छ। आँखीभौंहरू पनि काला काला, उस माथि घुङ्गुरवाले "अंग्रेजी फेसन" को बाल। समय चक्र घुम्दै जाँदा, शनै: शनै: पाठशालामा गएर थोर बहुत शिक्षा पनि अध्ययन गरे, तर.... विद्याको महत्व बुझ्न शकेन। निसन्देह उ, अल्प शिक्षित भयो।

एक दिन, आफ्नो नौकरलाई झपार्दै गजेन्द्रले भन्यो "उल्लु! कस्तो गँवार जान्दैनस् कस्तो हिफाजतसित यी बहूमूल्य सुटहरू? एकै गजको मोल छ, तं बराबर!"

नौकरको हृदयमा आघात पऱ्यो तॉ.सतो मर्म भेदी कुरा। बिचरा त्यसैलाई मात्र अनुभव भयो।

.......                ........           .....

"सानो हजूर, सानो हजूर।" बाहिरबाट आवाज आयो।

"को हो" गजेन्द्रले ढोका खोल्यो।

"ए अटल! मेरा लुगाहरू लॉयाइस" उसले आल्याहादीन स्वरमा भन्यो। "हजूर" त्यस दर्जीले कम्पीत एवं उल्लास स्वरमा जबाब दियो। अटललाई रति रति ज्ञात छ - उसको आनी बानी। अलिक मन मापिक जस्तो भएन भने झट्टै अग्नीशर्मा भई हाल्ने - भने जस्तो भो भने जेला भन्दा अरु बेसी दिन पनि केही झैं न मान्ने।

हुन पनि उसलाई पैसाको के कमी। शिवलालको व्यापार बाट मासिक एक हजार भन्दा कम्ती आमदानी छैन, अरु बेसी नै। अटलले बड़ो चतुराई संग - त्यो कोट, पेन्ट, बेस्टकोट - टेनीस कलरको कमेज जीवमा "फीट" गराई दियो। गजेन्द्रको हर्षको पारावार रहेन। झट्टै गोजी बाट एउटा सानो नोटको बिट्टा निकाली अटलको हातमा राखी दियो।

"सलाम, सानो हजूर" भन्दै हर्षले गद 2 भै अटल आफ्नो बाटो लाग्यो। गजेन्द्रलाई सोह्रै आना पश्चीमे हवाले छोएको छ। आफ्नो जातीय पहिरनको नाम लिन मान्दैन। जातीय पोशाकलाई छि: भन्ने आदतै भै सके छ। केवल सुटबुटलाई टोप लगाई हातमा एउटा छड़ी लिई हिंड्नमा नै उसलाई ठूलो शौक छ। उसको भनाई छ "जून मानिस अंग्रेजी ढाँचा अंग्रेजी बात गरी हिंडडूल गर्छ उसैको हुन्छ कदर। जातीय पहिरण वा मातृभाषाको के कद्दर"

एक दिनको कुरा - आफ्नो कोठामा बसी चारै तिर लटकी रहेका बस्त्रहरूलाई हेर्दै गर्वमा मस्तभै रहेको थियो, कसैले ढोका घच घचायो। दैलो खोलेर हेऱ्यो - एउटा सानो केटा।

"के सानी मैचाले केही पठाइन्" उसले सोध्यो।

"हजूर! चिट्ठी पनि एउटा अखबार पनि" त्यसले जबाब दियो। "खै देऊ त...."

भित्र बैठकमा घएर विचार गर्न थाल्यो "आज कस्तो खुशियाली रात। बाहिर हेर्छु मन हरण गर्छ त्यो निशा नाथ चन्द्रको हिम झैं स्वच्छ रश्मीले अनि यो पत्रले आनन्द अझ बढ़ाउछ दुई गुण। आज सुनमा सुगन्ध मिले कै भै रहेछ।" बिजुलीको छेउमा गई खाम फाड़ेर अवलोकन गर्न थाल्यो - एका एक उसको त्यो अति उज्जवल मोहार, पूर्णचन्द्रलाई कालो बादलले ढाके झैं मलिन हुंदै आयो। उ चित्रलिखित नक्सा झैं भयो। एक क्षण पछि हटात उसको नजर पऱ्यो त्यो अखबारको बाहिरी खोल माथि - "अखिल भारतीय गोर्खालीगको मुख पत्र "गोर्खा" - सुनौला अक्षरमा पत्र हेऱ्यो, फेरि झट्टै पृष्ट पाँच पल्टायो -  लेखशीर्षक 'नेपाली पहिरण"। एक पल्ट सरासर पढयो, फेरि पढ़यो अ.....झै विचार गरेर पढ़यो उहि लेखलाई तत् पश्चात् एक क्षण घोर विचार धाराको श्रोत बग्यो। त्यस बेला आफ्नो बस्त्रहरूलाई कान्तिहिन भै शकेको देख्यो। निरास भएर चूप भयो, किन कि त्यसले कारण बुझ्यो।

अस्फूट स्वरमा आफै भन्यो "मैचा मेरी जीवन संगिनी होइन - मैले ठूलो भूल गरें - तर उनी मेरा ज्ञानरूपी गगनको भास्कर औ ध्रुवतारा झैं पथ प्रदर्शक बनी उज्यालो पथमा लगाउने नेता हुन् - नेता"।।

 

(यो कथा 'कहानी' शीर्षकमा दार्जीलिङबाट प्रकाशित हुने 'गोर्खा' पत्रिकाको 1 अक्टूबर, 1945 - को अङ्कमा प्रकाशित छ। यस कथामा प्रयोग गरिएका हिज्जे यथावत राखिएका छन् -सुवास दीपक) - मई 2010

 

संस्मरण

तपाईं खाँदै गर्नोस्, अब म बोल्छु

                                                                                 उदय ठाकुर

29 नोभेम्बर, 2008-का दिन बिहान दस बजे म हरियाणा राज्यको औद्योगिक नगरी अम्बाला छावनीको गान्धी मेमोरियल नेशनल कलेजको सभागारको प्राङ्गणमा आफना हरियाणाका कवि, लेखक, पत्रकारहरूसित वार्तालापमा व्यस्त थिएँ। हामी यहाँ राइटर्स क्लब (इन्टरन्यासनल)-द्वारा आयोजित दुई दिने सम्मेलनमा भेला भएका थियौं। यस सम्मेलनमा भारतभरि (महाराष्ट्र, आन्ध्र प्रदेश, कर्नाटका, उडीसा, पश्चिम बंगाल)-का अतिरिक्त बांगलादेश, क्रोसिया, मिक्ष, म्याकडोनिया, कनाडा, रोमानिया, सबेरिया, यूके आदिका साहित्यकारहरू पनि आमन्त्रित थिए। सभागारको प्राङ्गणमा हामी एकार्कासित परिचयको साटासाट गर्दै थियौं. त्यति नै बेला पुगनपुग पांच फुट कदका सूटबूट, टाई-क्यापले सुसज्जित एकजना फुर्तिला साहित्यकारले रोमानियाका साहित्कार मार्शल डेडियूलाई आइ एम सुब्बा भनेर आफ्नो परिचय दिँदा सुनेर मेरा कान ठाढा भए। यिनी पक्कै नेपाली हुन्, मेरो हृदयले भन्यो अनि म तिनीतिर लम्कें र हात जोरी नमस्कार गर्दै म उदट ठाकुर हुँ, तपाईंको परिचय। भनी सोधें। मलाई नेपालीमा बोलेको सुनेर उनी उत्साहित भए र मसित हात मिलाएपछि भने - म कर्नल एमएस सुब्बा, दार्जिलिङबाट आएको हुँ। मैले दार्जिलिङका साहित्यकार मित्र मनप्रसाद सुब्बा, कर्ण थामी, भानु छेत्रीको कुशलक्षेम सोधें. उनले समुचित उत्तर दिएपछि धेरै कुराकानी भए। सँगसँगै बसेर सम्मेलनको कार्यवाही हेऱ्यौं, सुन्यौं, टिप्पणी पनि गऱ्यौं।

टी ब्रेकको बेला हामी दुवै कुराकानीमा व्यस्त थियौं कि आन्ध्रप्रदेशका साहित्यकार एनवी रधुवीर प्रताप हामीछेउ आए र हामीलाई नेपालदेखि आएको बुझेर कुराकानी गर्न थाले। सुब्बाजीले जब उनलाई बुझाए कि हामी नेपाली त अवश्यै हौं तर हामी भारतीय नागरिक हौं। तिनले नबुझेजस्तो गरे। हामी दुवैलाई अचम्म लागेन किनभने यस्तो स्थितिमा हामी यसभन्दा पहिले पनि परेकै हौं, भविष्यमा पनि पर्ने नै हौं।

यसै प्रसङ्गमा मेरा एकजना साहित्यिक साथी स्वामी वाहिद काजमीसँगको कुरा। एक बैठकमा गोपालसिंह नेपालीको प्रसङ्ग चल्दा मैले भनें - गोपालसिंह नेपाली मजस्तै नेपाली हुन् भनेर। तर यो कुरा उनलाई बुझाउनु मलाई धेरै कठिन पऱ्यो कि नेपाली एउटा जाति हुन्छ। स्वामी वाहिद काजमीको भन्नु थियो कि गोपालसिंह नेपाली नेपालका होइनन्। नेपाली त उनको तखल्लुस अर्थात् कवि नाम हो। गोपालसिंह नेपाली  जातिसँग सम्बन्ध राख्छन् भन्ने कुरा तिनलाई बुझाउन मलाई साह्रै गाह्रो पऱ्यो। उनी आज पनि मलाई बुद्धु सम्झन्छन्। उनीअनुसार गोपालसिंह नेपाली हिन्दीका नामी कवि हुन्,  नेपाल देश,  नेपाली जातिसँग उनको सम्बन्ध हुसक्दैन, र छैन पनि।

हामी कुराकानी गर्दा पंजाबमा बास गर्ने हिमाचल प्रदेशको एकजना फोटोग्राफर पठानिया हाम्रो छेउ आएर सोध्नथाल्यो - हिमाचल प्रदेश में दाढी गाँव में मेरी बहुत से नेपालियों से पहचान है। आप में, दाढी के नेपालियों में और नेपाल के नेपालियों में क्या अन्तर है। सुब्बाजीले मलाई हेरेर भन्नुभयो -  इनके, मेरो और दाढी के नेपालियों और नेपाल के नेपालियों की रगों में एक ही खून बहता है। त्यो फोटोग्राफरले यसको के अर्थ निकाल्यो,  त्यो त्यही जानोस्।

त्यस दिनको समापनपछि मैले सुब्बाजीसित भोलि भेटौंला भनी बिदा लिएं. दोस्रो दिनको कार्यक्रममा मैले कविता पाठ गर्नु थियो अनि सुब्बाजीले पेपर पढ्नु थियो।

भोलिपल्ट सुब्बाजी मेरो बाटो हेरिरहनुभएको थियो। उनको हातमा एउटा किताब थियो जो उनले मलाई भेट गर्नु थियो। मैले धन्यवाद दिँदै किताब पल्टाएर हेरें। किताब अङ्ग्रेजीमा थियो र जसको शीर्षक थियो मेन एन्ड वीमेन, मङ्गल सिंह सुब्बा। कुरा कुरामा सुब्बाजीले भने, यो मेरो किताब अङ्ग्रेजी लघु कथा सङ्ग्रह हो। म फौजी हुँ। लेफ्टिनेन्ट कर्नलको ओहोदादेखि सेवानिवृत्त भएर लेखनपट्टि ढल्केको हुँ। मेरो रेजिमेन्ट 4-9  हो. म देहरादून 10 वर्षसम्म रहेको हुँ। प्रथम गोर्खाली मेजर जनरल स्व0 ओमकारसिंह भण्डारी मेरा बटालियन कमान्डर थिए।

समारोहको समय भइरहेको थियो। हामीले सभागारमा प्रवेश गऱ्यौं।

भारतीय अनि विदेशी भाषाका कविता पाठ हुँदै थियो। मैले हिन्दीमा एउटा कविता पाठ गरें। सुब्बाजीले मेरो कवितालाई राम्रो, चर्खो भनी बताउनुभयो। लञ्चका लागि म खाने कुरा प्लेटमा लिएर उभिरहेको थिएँ, सुब्बाजी मतिर आउनुभयो र भन्नुभयो, तपाईं खाँदै गर्नोस्, अब म बोल्छु।

सुब्बाजीले सर्वप्रथम आफ्नो गोर्खा दुख निवारक समितिको सहयोगीका रूपमा काम गरेका कुरा बताउनुभएपछि भानु छेत्रीको मुनाल पत्रिकामा पनि सहयोग गरेको बताउनुभयो। उनले नेपाली भाषामा विश्वस्तरका साहित्यकारहरूको अनुपस्थितिको पनि चर्चा गर्नुभयो अनि भाषा मान्यतापछि पनि त्यसको उपयोगिता ठिकै प्रकारले नभएको गुनासो पनि गर्नुभयो। हामी बुद्धिजीवीहरूले राजनीतिलाई छाडेर समाजको भलोको लागि अघि आउने कुरा गर्नुभयो। यस्ता अरू पनि धेरै कुरा भए.। यसैबीचमा भोजनको स्वाद लिँदै म टाउको मात्र हल्लाइरहें। यता मेरो पेट टम्म,  उता सुब्बाजीका कुरा पनि सम्म।

 

संसदमा सिक्किमको प्रतिनिधित्व

 

एस.के. राई

 

श्री ए.के. राई र श्री ल्योनार्ड सोलोमन सारिङ भारतीय संसदमा सिक्किमका प्रतिनिधि हुनुहुनेछ। यस उसले भारतीय संसदको कार्यालयमा भाग लिने वहाँहरू सिक्किमका पहिला व्यक्ति हुनुहुनेछ।

दक्षिण सिक्किम निवासी श्री रामदत्त राईका सुपुत्र उनचालीस वर्षीय सिक्किम कांग्रेसका महासचिव श्री एस.के. राई लोकसभाको सीटमा निर्विरोध निर्वाचित हुनुभयो। श्री एस.के. राई सिक्किमका अग्रगण्य राजनीतिक नेता हुनुहुन्छ।

दार्जीलिङमा शिक्षा ग्रहण गर्नुभएका श्री एस.के. राईले आफ्नो विद्यार्थी जीवनमा राजनीतिमा  क्रियाशील भाग लिनुभयो। पहिलेको सिक्किम स्टेट कांग्रेसको वहाँ कर्मठ सदस्य हुनुहुन्थ्यो र 1970-मा पार्टीका महासचिव हुनुभयो। सिक्किम स्टेट कांग्रेस र जनता पार्टी 1972-मा सम्मिलित भएर जनता कांग्रेसको गठन भएपछि फेरि वहां नयाँ पार्टीका महासचिव चुनिनुभयो।

आफ्नो लोकसभा चुनाउअघि श्री एस.के. राईले चुनाउको अखड़ामा भाग नलिए तापनि वहाँ सिक्किमको लोकतान्त्रिक शक्तिहरूलाई एकसूत्रमा भाँध्ने व्यक्ति हुनुहुन्थ्यो जसले गर्दा अन्तमा सिक्किममा पूर्ण लोकतान्त्रिक प्रणालीको गठन भयो।

8 मई, 1973-को ऐतिहासिक सम्झौतामा सही गर्नेहरूमध्ये श्री एस.के. राई एकजना हुनुहुन्छ।

 

ल्योनार्ड सोलोमन सारिङ

 

राज्यसभाका निम्ति सर्वसम्मतिले निर्वाचित ल्योनार्ड सोलोमन सारिङ मंगन, उत्तर सिक्किमका निवासी हुनुहुन्छ।

12 फरवरी, 1942-मा जन्मिनुभएका श्री सारिङले आफ्नो स्कूले अध्ययन मंगन र गान्तोकमा पुरा गर्नुभयो। दार्जिलिङ सरकारी महाविद्यालयबाट प्रवेशिका परीक्षा पास गरेपछि वहांले 1975-मा बंगलोरको एस.जे. पोलिटेक्निकबाट सिभिल इन्जिनियरिङको डिप्लोमा प्राप्त गर्नुभयो।

वास्तवमा श्री सारिङ एकजना किसान हुनुहुन्छ तथापि वहाँले केही समयका लागि ठेक्काको काम पनि गर्नुभयो। सिङ्गिक ब्लकको गाउँ प्रमुख श्री सारिङ सामाजिक कार्यमा निकै चाख लिनुहुन्छ। 1973-को जनआन्दोलनमा वहांले सक्रिय भूमिका निभाउनुभयो।(सिक्किम हेराल्ड,नेपाली संस्करण, वर्ष 8, अङक 49, 21 अक्टूबर, 1975)

 

कवित

केही कविता: केही व्यथा

 

पवन चामलिङ् किरण

 

हिंसा, ईर्ष्या, पापले पीड़ित - असहाय छ जगको व्यथा

ठूला-साना, गरीब-धनी।

 

अन्धकार व्याप्त छ उजाड़ संसार

धरती रुन्छे घरी घरी

कम्पित धरा पीड़ित सारा

तुफान चल्छ हर घड़ी

रगतमा रंगियो, पापमा पुरियो

कलिको कंगाल कथा

उर चिता जलिरहेछ

जगको जर-जर व्यथा।।

शुष्क हृदयसँगको खेती

कथौं कलिको कविता

लाश बनेको मानव देहमा

घुसाऊ मानवता सजीवता।।

जन्मियौं हामी जगती तलमा

सृष्टिको श्रेष्ठ फुलबारीमा

उद्देश्य लेऊ सूर्यसरह

चम्किनै यो डाँड़ाघारिमा।।

आऊ बचाऔं! असहाय दीपलाई

तुफानको वेग रोक

निभ्न नदेऔं जगको उज्यालो

मानवताको भोक रोक।।

जाग है! जगका मानव सारा

सृष्टिका श्रेष्ठ प्यारा

कुभावना कुमति छाड़ी जगमा

बहाऔं अमृत धारा।।

(जन0 - मार्च, 1974, प्रगति, गान्तोक)