Gangtok, Sikkim,
Editor: Subhash Deepak
 

 

झार्लाङ्गी - ऐतिहासिक खण्डकाव्य

 

डा. उदय छेत्री

 

श्रीङ्करदेव ढकालद्वारा लिखित खण्डकाव्य 'झार्लाङ्गी' सिक्किमको सत्य ऐतिहासित तथ्यमा आधारित छ। सिक्किमको विगत राजसत्तात्मक ठेकेदारी व्यवस्था र सिक्किमको जनान्दोलनको पृष्ठभूमिमा सिर्जित यस खण्डकाव्यमा सिक्किमको इतिहास प्रतिबिम्बित भएको छ। यस खण्डकाव्यमा सर्वप्रथम सिक्किममा ठेकेदार शासनमा पिरोलिएका शोषित जनसमूहको तत्कालीन व्यवस्थाको यथार्थ स्थितिलाई समेटिएको छ। खण्डकाव्यको आयतनले चापागाईंको बाबु पुस्तादेखि नाती पुस्ता भरतसम्मले भोगेको झार्लाङ्गी 'कर तिर्ने' व्यवस्थामा पिल्सिएका सिक्किमे जनजीवनको कथा - व्यथालाई समेटेको छ। चापागाईंमा सन् 1948 पूर्वको झार्लाङ्गी व्यवस्थाबाट शोषित सम्पूर्ण सिक्किमेली जनसमुदाय समीकृत भएको छ। सिक्किम राष्ट्रमा झार्लाङ्गी व्यवस्थाका प्रताडनाबाट पीडित अवस्थाको जीवन चर्चालाई काव्यकारले विषयवस्तुका रूपमा ग्रहण गर्नुभएको छ।

 

दृष्टान्त -

 

गेल खोलादेखि, टिस्टाको फेदी, भरिया ताँतीमा।

गर्छौं छ भारी, ज्याला नै मारी, वेदना छातीमा।

(झार्लाङ्गी, पृ. 20)

 

झार्लाङ्गी अब, शुरु भो जब, अन्याय अत्याचार।

ठिकादार काजी, हुकुम जारी, थिएन सुविचार।

(झार्लाङ्गी, पृ. 42)

 

'झार्लाङ्गी' खण्डकाव्यको विषयवस्तु सिक्किमको विगत इतिहाससँग सम्बन्धित छ जसमध्ये सन् 1642 - को योक्सम दरबारमा भएको त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गर्ने लिम्बू राजा फुसम्बोको प्रसङ्ग, गुरु रिम्पोछे पद्मसम्भवले सिक्किमवासीलाई दिएका ज्ञान र आशीर्वाद, सिक्किम दरबारसँग सम्बन्धित काजीहरूले जनतामाथि गरेको अत्याचार, ठेकेदारीका प्रबन्धक 'कारबारी' - को शोषण, राजाका नाउँमा खजना उठाउने 'सरदार', सिक्किममा उत्पादित सामग्री तथा तिब्बतबाट ल्याएको सामग्री बङ्गालमा बेच्दा 'ब्रिटिश ट्रेड एजेन्सी' (बी.टी.ए) - लाई नगद पैसा बुझाउनुपर्ने तत्कालीन नियमावली, वर्तमानमा तिब्बतमा पर्ने 'छुम्ब' सन् 1774 पूर्व सिक्किमको भूभाग रहेको तथ्याङ्क अनि सन् 1835 - को 1 फरवरीमा सिक्किमका तत्कालीन राजाले अङ्ग्रेजलाई रङ्गीत नदीको दक्षिण भूभाग उपहार दिएको प्रसङ्ग, तिब्बतबाट कालोभारी बोक्ने प्रत्येक घरबाट एक एकजना जानुपर्ने 'घर लौरी' व्यवस्था, भारतको स्वतन्त्रता सङ्ग्राममा महात्मा गान्धीको नेतृत्व, सुभाषचन्द्र बोसले स्वतन्त्रताका निम्ति युवावर्गलाई दिएको प्रेरणा, मदनमोहन मालवीयको दर्शन अनि त्याग र सिक्किमको सन् 1948 - को जन आन्दोलनजस्ता ऐतिहासिक घटनाक्रम आदि सिक्किमको सत्य इतिहाससँग सम्बन्धित छन्। सिक्किमका आदिम जनजाति लेप्चा, भोटिया र नेपालीको सामाजिक तथा सांस्कृतिक जीवनचर्यालाई यस खण्डकाव्यले समेटेको छ। सिक्किमको ऐतिहासिक तथ्यका साथै खण्डकाव्यका काल्पनिक पात्र - पात्रा भरत र शारदाको प्रेम - प्रसङ्ग अनि अन्तमा विधवा शारदालाई जननेता भरतले विवाह गरेको धटनाक्रमबाट 'झार्लाङ्गी' - ले खण्डकाव्यको आकार ग्रहण गरेको छ।

 

सिक्किम राष्ट्रको तत्कालीन व्यवस्थामा निमुखा तथा रैती जनसमूहका पाखुराले कुट्टो - कोदालो चलाएर भस्मे फाँडी गह्रोपाटो बनाई खेत - बारी तयार पारेको उब्जाउ भूमिबाट उब्जनी भएको उन्नतिलाई झार्लाङ्गी तथा करका रूपमा ठेकेदारलाई बुझाउनु पर्ने व्यवस्था तथा श्रमको भुक्तानीबिना तिब्बतबाट कालोभारी बोकेर ल्याउनुपर्ने तत्कालीन व्यवस्थाको ऐतिहासिक तथ्यलाई काव्यले वहन गरेको छ।

 

दृष्टान्त -

 

जेलेप - ला मुनी, छुम्बी फाँट घुमी, याटुङमा पुग्ने छौं।

(झार्लाङ्गी, पृ. 51)

 

प्रस्तुत खम्डकाव्यमा आदिम र मौलिक अधिकार सुरक्षित राख्न चाहने सिक्किमेली जनताको चेतना र मौलिक अधिकारलाई पुलिस बलद्वारा दबाउन सके आफ्नो ठेकेदारीपन सत्तामा टिकिरहनसक्छ भन्ने हैकमपूर्ण सोचाई र शोषण अनि झार्लाङ्गीबाट मुक्ति चाहने रैती तथा जनसमुदायको द्वन्द्वले सन् 1948 -  को जन - आन्दोलनलाई प्रकटीकरण गरेको छ।

 

श्री शङ्करदेव ढकालद्वारा लिखित प्रस्तुत खण्डकाव्य 'झार्लाङ्गी' सिक्किमको यथार्थ इतिहासका आधारमा पहिलो प्रकाशित खण्डकाव्य हो। इतिहासको खोज आत्माको जिज्ञासा हो। इतिहास देश र कालमा घटित घटनाको अविच्छिन्न घटना - प्रवाह हो। इतिहासबोधको अर्थ विगतलाई चिन्नु मात्र होइन, आफुलाई चिन्नु पनि हो। इतिहास अनुभूति एउटा सचेत अखण्ड प्रयत्न हो। आफ्नो माटोको इतिहास अनुभूति गर्ने शक्ति सच्चा माटोप्रेमी देशभक्त तथा कलाकार र साहित्यकारलाई मात्र हुन्छ। सत्य केवल फोटोग्राफी मात्र होइन तर ऐतिहासिक तथ्यबाट कुनै काल विशेष तथा समयका भुक्तभोगी मानवात्माको दर्शन गरी सत्यम्, शिवम् र सुन्दमलाई प्रतिबिम्बित गर्नसक्नु साहित्यकारको सफलता हो। यस कुरामा श्री काल सचेत हुनुहन्छ। सिक्किमको ठेकेदारी शासनसम्बन्धी आजसम्म लेखिएका अङ्ग्रेजी, नेपाली पुस्तकमा तत्काली वस्तुनिष्ठ तथ्य होला तर त्यसलाई मानवीय संवेदनाको जलपले कवितात्मक अभिव्यक्ति दिन 'झार्लाङ्गी' खण्डकाव्य मात्र सफल रहेको छ। इतिहासकार घटित स्थूल घटनामाथि अधिक बद्लिन्छन् भने साहित्यकार मानवीय संवेदनालाई लिएर आफ्नो लेखन कार्य गर्दछन्। यस कुरालाई 'झार्लाङ्गी' - मा चापागाईंको बाबु स्वर्गवास हुँदाको घटनाद्वारा काव्यकारले व्यक्त गर्नुभएको छ।

 

दृष्टान्त -

 

भोक र तिर्खा, गाउँका ठिटा पुगेका सैलुङ्गे।

बाउको चोला, उठेको बेला, बताउन त्याँ पुगे।

(झार्लाङ्गी, पृ. 65)

---

गीताको पाठ, गरे के साथ, बस्ती संघले।

आत्तुरी दान, मोठमा लान पायौ के ढंगले।

(ऐजन)

---

अंजुली तर्पण, पितृलाई अर्पण, दिई डल्ला पगाली।

मुटुको व्यथा, आन्तरिक गाथा, आफैलाई सम्हाली।

(झार्लाङ्गी, पृ.68)

 

इतिहासलाई मानवीय गतिविधि भन्न सकिन्छ भने साहित्य र संस्कृतिलाई त्यस गतिविधि बुझ्न वा त्यसबारे जानकारी प्राप्त गर्ने साधन मान्न सकिन्छ। कलागत सौन्दर्य र साहित्य न त शून्यमा उत्पत्ति हुन्छन् न शून्यमै विकसित हुन्छन्। साहित्यलाई समाजले ऐतिहासिक चेतबाट अलग राखेर छुट्टै रेखाङ्कन गर्नु वा साहित्य सिर्जना गर्नु निरर्थक प्रयास मात्र हुन्छ। इतिहासकारले व्यक्ति वा घटनालाई लिन्छन्, जबकि साहित्यकारले त्यसबाट प्रकट हुने सार्वभौम चेतनालाई लिन्छन्। जुन कुरालाई काव्यद्वारा अन्याय, अत्याचार र शोषणका विरुद्धमा उठेका चेतनशील खण्डकाव्यकारले यसरी प्रक गर्नुभएको छ -

 

अत्याचार सहनु, खटनमा रहनु हुँदैन कसैले।

रोज चाहिँ माग, सब जन जाग, एक आवाज सबैले।

(झार्लाङ्गी, पृ.43)

 

प्रस्तुत खण्डकाव्यमा सिक्किमको विगत इतिहासबाट सामग्री लिएर मानवीय संवेदना तथा सहानुभूति र रमणीय कल्पनाद्वारा त्यसमा रङ्ग भर्दै विशिष्ट ऐतिहासिक सत्यको उद्घाटन गर्न काव्यकार सफल हुनुभएको छ। अमेरिकन समालोचक डब्लू. बी. वर्सफोल्डका मतमा साहित्यमा अभिव्यक्त भएको इतिहास वास्तविक इतिहासभन्दा अझ सत्यको नजिक पुग्न सक्तछ। मानव इतिहासका विगतका पीडा तथा मानवीय संवेदनालाई तिथि - मितिसहितको घटनाक्रमको शृङ्खलाले व्यक्त गर्न सम्भव छैन। ऐतिहासिक तथ्यलाई हार्दिक मानवीय संवेदनाले बुझ्नसक्नु नै मानवता हो। जुन कार्य श्री ढकालको 'झार्लाङ्गी' खण्डकाव्यबाट पूरा भएको छ।

 

प्रस्तुत खण्डकाव्य सिक्किमेली भोटिया, लेप्चा र नेपालीहरूको आर्थिक उत्थान एवम् झार्लाङ्गी व्यवस्थाबाट मुक्तिका निम्ति विगतमा सिक्किमे जनताले गरेको जन - आन्दोलन तथा सङ्घर्षको प्रस्तुति रहेको छ। यस काव्यमा सिक्किमका रैती तथा निम्नवर्गीय निमुखा जनसमुदायको सन् 1948 - पूर्वको सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, शैक्षिक एवम् राजनैतिक परिवेश तथा झार्लाङ्गी व्यवस्थाको दमन र हैकम परम्पराको विरुद्ध उठेको जन - आन्दोलनको ऐतिहासिक चित्रण ध्वनित भएको छ। यस खण्डकाव्यमा सिक्किम मात्र नभएर दोस्रो विश्वयुद्धका परिणामले विश्वभरि साम्राज्यवादी शक्तिका विरुद्ध स्वतन्त्र राष्ट्र र स्वायत्त शासन व्यवस्थाको लहर चलेको परिवेशमा भारतमा महात्मा गान्धीको नेतृत्व र सुभाषचन्द्र बोसको उत्सर्ग वा बलिदानले भारत स्वतन्त्र भएको ऐतिहासिक तथ्यको प्रकटीकरण हुनका साथै विश्व इतिहासको चेतनाले सिक्किमका शिक्षित भरतहरूमा चेतनाको सञ्चार भई सिक्किममा ठेकेदारी शासन विरुद्ध जन - क्रान्ति भएको तथा उद्घाटित भएको छ।

 

प्रस्तुत खण्डकाव्यमा सिक्किम, तिब्बत, कालेबुङ, दार्जिलिङदेखि लिएर वनारससम्मको भौगोलिक प्रकृतिको स्थलगत वर्णन र उल्लेख भएको छ। तत्कालीन सामाजिक व्यवस्थालाई काव्यकारको ज्ञान, अनुभव, अनुभूति र कल्पनाद्वारा कलात्मक ढङ्गले सम्प्रेषण गरिएको यस काव्यको संरचना र शैलीपक्षको अर्कै महत्व रहेको छ वर्तमानसम्म। सिक्किमेली तथा भारतेली हातले लेखिएका छन्दोबद्ध खण्डकाव्यभन्दा श्री ढकालको 'झार्लाङ्गी' खण्डकाव्यले युवा पिँढीलाई सकारात्मक ऊर्जा प्रदान गरेको छ। नेपाली साहित्यमा सर्वाधिक चर्चामा रहेको खण्डकाव्य 'मुनामदन' अन्तमा नायकको हार तथा मृत्युमा पुगेर दु:खान्त परिणतिमा टुङ्गेको छ भने 'झार्लाङ्गी' खण्डकाव्य सुखान्तमा टुङ्गेकाले मानवजीवनलाई आशावादी रही जीवन सङ्घर्षमा निरन्तर लिप्त रहने प्रेरणा दिएको छ। यसरी नै नेपाली साहित्यको इतिहासमा लक्ष्मीप्रसाद देवकोटाले 'मुनामदन' - को माध्यमबाट लोकलय वा झ्याउरे छन्दलाई विगतमा उच्च प्रतिष्ठा दिलाउन सफल हुनुभएको थियो भने वर्तमानमा सिक्किमेली माटोमा श्री शङ्करदेव ढकालको कलमबाट लोकलय तथा झ्याउरे छन्दको पुनरुद्धार तथा पुनरुत्थान भएको छ। सहज, सरल तथा अन्त्यानुप्रासको निर्वाह गरी वैशिष्ठमय झ्याउरे छन्दको अन्वितिपूर्ण साङ्गीतिक प्रवाहले सिक्किमेली लोकजीवनले यस काव्यमा रमणीय रूपमा अभिव्यक्ति प्राप्त गरेको छ।

 

'झार्लाङ्गी' खण्डकाव्यमा पौराणिक (गुरु पद्मसम्भव, वेदका रचनाहरू तथा शिव भगवानको वासस्थानको प्रसङ्ग); ऐतिहासिक (सन् 1948 पूर्वको सिक्किमेली इतिहास); सामाजिक (सन् 1948 पूर्वको सिक्किमेली र तिब्ब्ती समाज); आर्थिक (तत्कालीन जीविकोपार्जनको माध्यम र सिक्किमको अर्थव्यवस्था); सांस्कृतिक (बौद्ध, हिन्दू धर्मको प्रसङ्गका साथै तिब्बती र नेपाली खानपान); प्रकृति (तिब्बत, सिक्किम, दार्जिलिङ, कालेबुङ, वनारसको भौगोलिक सुन्दरता) आदिलाई समेटिएको छ। यस खण्डकाव्यमा चापागाईंको छोरो भरतको जन्मपूर्व आख्यानतत्वको क्षतिपूर्ति प्राकृतिक सौन्दर्यको कलात्मक चित्रणले गरेको छ भने भरतको जन्मपछि भने आख्यापक्ष र कवित्वको समन्वयात्मक प्रस्तुति हुनसकेको छ।

 

साहित्य कुनै पनि कालखण्डको, जीवन - जगतको आत्मा हेर्ने, सामाजिक, सांस्कृतिक र आर्थिक व्यवस्था तथा धर्म, कानुन, रीति - रिवाज, व्यवहार तथा राजनीति बुझ्ने वा चिन्ने माध्यम बन्न सक्नुपर्छ। साहित्य समाजका स्मारक र दस्तावेजहरूको सूचना भण्डार हो जसअन्तर्गत कुनै कालखण्डको समाज प्रतिबिम्बित भएको हुन्छ। जसरी प्राणीका अवशेष र खोलबाट प्राचीन प्राणीको वैज्ञानिक रूपमा अध्ययन गर्न विज्ञान सक्षम भएको छ त्यसरी नै साहित्यको अध्ययनबाट कुनै कालखण्डको मानवजातिको अध्ययन हुन सक्नुपर्छ। प्राचीन अवशेष र साहित्यिक पुस्तक दुवै निर्जीव वस्तु हुन् तर यिनीहरूको अध्ययनबाट कुनै समयका जीवित अस्तित्वको अध्ययन हुनसक्छ। साहित्यका स्रष्टाले त्यही सामाजिक, मानवीय अस्तित्वको पहिचान गरेर त्यसको पुनर्निर्माण गर्नसक्नु साहित्यको मूल मर्म र साहित्यकारको धर्म हो। सन् 1948 पूर्वको सिक्किमेली समाजको ऐतिहासिक तथ्यलाई साहित्यिक अभिव्यक्ति दिएर श्री ढकालले साहित्यको मर्म र धर्मलाई 'झार्लाङ्गी' खण्डकाव्यमा प्रतिबिम्बित गर्नुभएको छ। यस खण्डकाव्यमा सिक्किमेली समाजको सामाजिक, ऐतिहासिक, सांस्कृतिक, शैक्षिक, राजनैतिक तथा आर्थिकपक्ष प्रबल रूपमा रहेकाले यस काव्यको समाजशास्त्रीय अध्ययन र मूल्याङ्कन हुन आवश्यक छ।

(सितम्बर 2011)

 

चाँप - गुराँस प्रकाशनको सिक्किमे व्यक्तित्व विशेषाङ्क

 

शैलेश प्रधान सिक्किमका वरिष्ठ कथाकार, साहित्य सम्पादक एव कवि हुन्। 1960 को दशकदेखि तिनका रचना सिक्किम, दार्जिलिङ र नेपालका पत्र - पत्रिकामा प्रकाशित हुँदै आएका छन्। प्रधानले 1960 कै दशकमा चाँप - गुराँस प्रकाशन शुरु गरेका थिए र यस प्रकाशनबाट तिनले चाँप - गुराँस पत्रिकाका अतिरिक्त आफ्ना केही कृतिको प्रकाशन गरेका छन्। विगतमा चाँप - गुराँस प्रकाशनले नेवारी विशेषाङ्क प्रकाशित गरेर ख्याति अर्जित गरेको छ।

 

गत वर्ष प्रधानले चाँप - गुराँस प्रकाशनबाट सिक्किमे व्यक्तित्व विशेषाङ्क प्रकाशित गरेका छन् जो नेपाली साहित्यिक पत्रकारिताको इतिहासमा एउटा विशिष्ट उपलब्धि मान्न सकिन्छ।

 

प्रस्तुत विशेषाङ्कमा प्रधानले समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुऱ्याउने 40 -जना व्यक्तित्वहरूबारे अनुसन्धानात्मक लेख प्रकाशित गरेर सिक्किमको समग्र इतिहासमा चासो राख्ने सामान्य पाठकलगायत् शोधार्थीहरूका लागि एउटा अमूल्य सामग्री पस्केका छन्।

 

सम्पादक प्रधानले सम्पादकीयमा लेखेका छन् - 'चाँप - गुराँस प्रकाशनले यस विशेषाङ्कमा कतिपय ओझेलमा राखिएका सिक्किमे व्यक्तित्वहरूलाई अघि ल्याउने आँट गरेको छ र यस प्रकारले सिक्किमे बौद्धिक र साहित्यिक - सामाजिक क्षेत्रहरूमा प्रमुखता नदिएर राखिएका विद्वान - लेखक - लेखिकाहरूलाई उहाँहरूका योग्यता र अध्ययनको कदर गर्दै अघि सार्ने पनि गरेको छ। यो अभियानमा चाँप - गुराँस प्रकाशनले सिक्किम र सिक्किमे जनता - जनार्दनलाई कतिसम्मन् सेवा पुऱ्याउन सक्षम भएको छ - त्यो समयले भोलिका दिनमा भन्ने नै छ।'

 

 सङ्कलनमा कतिपय दिवङ्गत प्रतिभा पनि परेका छन्। वर्णक्रमिक रूपमा सङ्कलनमा समावेश गरिएका व्यक्तित्वहरूका नाम यस प्रकार छन् - 

 

अगमसिंह तामाङ, इन्द्रनारायण प्रधान, उत्तम प्रधान, एस.के. गुरुङ काशीराज प्रधान, कृपाशाल्याण राई, केशवचन्द्र प्रधान, कलावती सुब्बा, किपु लेप्चा, डा. कुमार भण्डारी, चन्द्रदास राई, जीवन थिङ, जे.आर. सुब्बा, टाशी छिरिङ, टी.डी. देन्सापा, डेनी डेञ्जोङ्पा,तुलसीराम शर्मा 'कश्यप', तरुणदीप राई, नयन छिरिङ लेप्चा, नरबहादुर भण्डारी, पाल्देन थोन्डुप नामग्याल, पदमसिंह सुब्बा 'अपतन', पवन चामलिङ, फूलमाया तामाङ, बी.बी. गुरुङ, बी.बी. सुब्बा, भाइचुङ भुटिया, मानवीरसिंह रसाइली, रत्नबहादुर प्रधान, डा. रत्नकमल देवान, रश्मिप्रसाद आले, ल्हेन्डुप दोर्जी खाङसार्पा, लालबहादुर बस्नेत, श्यामदास राई, डा. शोभकान्ति थेगिम लेप्चा, सन्तवीर लिम्बू, सानु लामा, सञ्चमान लिम्बू, हरिप्रसाद प्रधान र डा. हेन्द्रिमित लेप्चा।

(सिक्किमे व्यक्तित्व विशेषाङ्क, चाँप - गुराँस प्रकाशन, सुम्बुक, दक्षिण सिक्किम, प्रकाशन वर्ष 2010, पृ.सं.368, मूल्य - 500/- भा.रु.)

अगस्त 2011

 

 

प्वाँखहरू र आकाश - मा राजेन्द्र भण्डारी

 

कर्षक गेटअपमा भारतीय नेपाली कविताको एक चर्चित हस्ताक्षर राजेन्द्र भण्डारीका चुनिन्दा कविताहरूको एउटा सङ्कलन निखिल प्रकाशन, हेटौंडा, नेपालबाट प्रकाशित भएको छ। निमेष निखिलको सम्पादनमा प्रकाशमा आएको यस सङ्कलनमा भण्डारीका नयाँ र पुराना 109 - वटा कविताहरूको समावेश गरिएको छ।

 

कविताका पक्षमा राजेन्द्र भण्डारी शीर्षकमा प्रकाश सायमीले नेपाली कवितामा राजेन्द्र भण्डारीको कवि व्यक्तित्वको सहृदय विश्लेषण गरेका छन्। सायमी लेख्छन्

 

 - 'म के कारणले कवि भएँ त्यसका धेरै कारण छन्। तर म के कारण राम्रो पाठक भएँ, त्यसका पछाड़ि कवि राजेन्द्र भण्डारीको गतिशील भूमिका छ। मलाई राम्रो पाठक बन्नमा उनको सदैव अतुल्य र अमूल्य भूमिका बन्यो तर उनको राम्रो व्यक्तित्वको छवि मैले जीवनभर आफूमा सार्न सकिनँ।'

 

निमेष निखिलले 'कविताको आँखीझ्यालबाट राजेन्द्र भण्डारीलाई चिहाउँदा' मा नेपाली कवितामा भण्डारीको स्थान निर्धारण गरेका छन्। तिनी लेख्छन् -

 

 "- डा. राजेन्द्र भण्डारी नेपाली कविताका सामान्य पाठकका लागि समेत सुपरिचित नाम हो। भारतको सिक्किममा बसेर नेपाली कविताको खेती गरिरहेका भण्डारी नेपाली विषयमा विद्यावारिधि गरी प्राध्यापन पेसामा संलग्न छन्।

 

 - तीसको दशकको आरम्भदेखि कवितालेखनमा लागेका उनका कतिपय कविताहरू प्रयोगकालीन नेपाली कविताका प्रवृत्तिसँग मेल खाने देखिन्छन् भने कतिपय कविताहरूमा समसामयिक नेपाली कविताका प्रवृत्तिहरू पाइन्छन्।

 

 - अझ पछिल्लो चरणका कविताहरूले आधुनिकताको बारलाई भत्काएर उत्तरआधुनिकतालाई संवरण गरेको देखिन्छ। अनन्त गतिशील समयको प्रवाहलाई आत्मसात गर्दै अघि बढिरहेका भम्डारीका कविताहरूमा अनुभव, अनुभूति र अभिव्यक्तिको राम्रो समन्वयन पाइन्छ।

 

 - नेपाली कवितामा डा. रादेन्द्र भण्डारीको स्थान निर्धारण गर्नुपर्दा उनलाई प्रयोगकाल र समसामयिक धाराका सङ्क्रमणकालीन कवि मान्नु उपयुक्त हुने देखिन्छ। पछिल्लो चरणका कविताहरूले भने उनलाई समकालीन उत्तरआधुनिक कविका रूपमा प्रस्तुत गरेका छन्। यसबाट भण्डारी सामयिक रूपमा देखापर्ने साहित्यिक मान्यताहरूबाट प्रेरित र प्रभावित हुँदै काव्यसाधना गर्ने अध्ययनशील र गतिशील कवि हुन् भन्ने स्पष्ट हुन्छ।"

 

निष्कर्षमा निमेष निखिलले टिप्पणी गरेका छन् -

 

"डा. राजेन्द्र भण्डारी वर्तमान समयका एक शक्तिशाली कवि हुन्। उनका कविता नपढी समसामयिक नेपाली कविताको अध्ययन पूरा हुन सक्तैन। उनी हरेक नेपाली मनमुटुले पढ्नै पर्ने कवि हुन्। भारतको सिक्किमबाट नेपाली कविताको झन्डा फरफराइरहेका कविको बलशाली र कालजयी कवित्वलाई हाम्रो पनि सलाम!"

 

(कृति - प्वाँख र आकाश, कृतिकार - रादेन्द्र भण्डारी, सिक्किम, भारत, विधा - कवितासङ्ग्रह, सम्पादक/सुसाङ्ख्य सज्जा - निमेष निखिल, हेटौंडा, नेपाल,

प्रकाशक - निकिल प्रकाशन, हेटौंडा, नेपाल, संस्करण - प्रथम, 2067 (2010), प्रति - 1100, आवरण - रमेश पौडेल, काठमाडौं

सुसाङ्ख्यटङ्कण - अनिचा न्यौपाने, मुद्रक - प्रयास, हेटौंडा, ISBN - 978 - 9937 - 2 - 2295 - 2, मूल्य - व्यक्तिगत - रु. 350/-संस्थागत - रु. 500/-

(रचनाकार डेस्क) - जुलाई 2011

 

 

नवसापकोटाको मदिरा होइन मेरो पसिना

 

वसापकोटा भारतीय नेपाली साहित्यका एक विशिष्ट हस्ताक्षर हुन्। गुवाहाटी (असम) निवासी नवसापकोटाले कविता, नाटक लेखनका साथसाथै अनुवाद क्षेत्रमा पनि विशिष्ट योगदान दिएका छन्। युकलिप्टस:आउने पिँढीलाई आशीर्वाद (1980), काव्यान्तर (1996), मदिरा होइन मेरो पसिना (2008) कविता सङ्ग्रह; मुनामदन (नाटक - 2003), लहर, विष्णुप्रिया मणिपुरी कविताको नेपाली अनुवाद (संयुक्त रूपमा - 2000) प्रकाशित छन् भने शब्दको आकाश (उडिया कविताको नेपाली एनुवाद) प्रकाशनोन्मुख छन्।

 

बहुभाषाविद् नवसापकोटाले विभिन्न साहित्यिक ग्रन्थहरूको सम्पादन पनि गरेका छन् जसमध्ये प्रमुख छन् - हरिभक्त कटुवाल स्मृति - ग्रन्थ (1981), समकालीन नेपाली साहित्य (संयुक्त रूपमा - 1995), आसामेर नेपाली कविता (2004) तथा हरिभक्त कटुवाल रचना सञ्चयन (2007)।

 

विभिन्न सङ्घ - संस्थाबाट अभिनन्दित नवसापकोटालाई कवि पुष्पलाल स्मृति पुरस्कार (2001) - द्वारा पुरस्कृत गरिसकिएको छ।

 

नवसोपकोटाको कविता सङ्ग्रह 'मदिरा होइन मेरो पसिना' - बारे स्वकथनमा कवि लेख्छन् - "(यो) मेरो कवितायात्राको तेस्रो चरण हो।... मेरा कविताले कल्पनाको सुन्दर बगैंचादेखि पर जीवनको शाश्वत पक्षलाई अँगालो मारेर यथार्थको भावभूमिमा रमेका छन् किंवा रम्ने प्रयास गरेका छन्। मेरो दृष्टिमा कवितालाई जीवनसित जोड्नु नै सही रचनाधर्मिता हो।"

 

"कवितालाई जीवनसित जोड्नु नै सही रचनाधर्मिता" मान्ने कवि नवसोपकोटाको यस सङ्ग्रहका अधिकांश कविताले उनको उपरोक्त दृष्टिकोणलाई प्रमाणित गरेका छन्:

 

उहिल्यै, बूढी आमैले

ढाडस दिइथिन् खरानीमा सुत्ने

एउटी सिन्ड्रेलालाई।

यहाँ फोहरमा लतपत धैंसे धुस्रे

हजारौं सिन्ड्रेला खोजिरहेछन्

उनै बूढी आमैलाई

आज,

'युनिसेफ' ले ती आमैका रूपमा

'चाइल्ड इन्फो दुइ' को वाहन

पठाएको छ

ती सिन्ड्रेलाहरूको उद्धारमा।

ठाउँमा पुग्दा नपुग्दै त्यो वाहन तर

नहोस् कतै बीचैमा चकनाचूर

दुर्नीतिको पराकाष्ठा ठोक्किएर

झ्याम्म।  ( काम्य)

 

ओस्सिएको चुल्होको रित्तो भड्डूमा

एक मुठी अन्न बनी

कसैको खाली पेट भरिदिन सके

कस्तो हुंदो हो?

सन्तुष्टि मिल्दो हो कि विषाद!

भन साथी कस्तो हुँदो हो? (कस्तो हुँदो हो)

 

मलामी धेर चाहँदैनन्, अचेल

एकजना भए पुग्छ

सेतो कात्रो र बाँसको अर्थी पनि

चाहँदैन, अब

मृतकको हाड खोड बटुल्न

एक बोरा भए पुग्छ। (अवमूल्यन)

 

भूतको अखेटामा टेकेर

भविष्यको हाँगो समाती

जिउँदछ मानिस शून्यमा

रित्ता क्षणहरू। (जीवाइ)

 

यो किन्किने झरी

हिलो माटोभरि

सिङ्गै जीवनभरि

हिँड्नु मरिमरी। (सङ्घर्ष)

 

राम आए पनि

रहीम आए पनि

केही फरक पर्दैन

दु:खीलाई कसैले

सित्तैंमा हेर्दैन। (यथार्थ)

 

उपरोक्त कवितांशलाई कवि नवसापकोटाको रचनाधर्मिताका प्रत्यक्ष प्रमाणका रूपमा लिन सकिन्छ।

 नवसापकोटाको परिपक्व कलमबाट कविता विधाका साथसाथै अन्य विधामा पनि श्रेष्ठ साहित्य सिर्जनाको अपेक्षा गर्दछौं।

 - सुवास दीपक

पुस्तकको नाम - मदिरा होइन मेरो पसिना, रचनाकार - नवसापकोटा, प्रकाशक - नेपाली साहित्य परिषद्, असम (गुवाहाटी), प्रसाशन वर्ष - सन् 2008, मूल्य - रु.100 (भा.रु.)

(जून 2011)

 

स्पन्दनको  सिक्किम अङ्क

 

भि - जमान स्मृति ट्रस्ट, कुवेत/देहरादून/दुलियाजानका तर्फबाट चर्चित साहित्यिक पत्रिका स्पन्दनको सिक्किम अङ्क प्रकाशित भएको छ। यस पत्रिकाका मूल सम्पादक होमबहादुर छेत्री हुन्, जो कुवेतमा कार्यरत छन्। विदेशमा बसे तापनि छेत्रीले नेपाली साहित्यको सेवा निरन्तर गर्दै आउनुभएको छ र यस पत्रिका को वेब संस्करणका माध्यमबाट विश्वका नेपाली भाषाभाषी साहित्यकारहरूलाई भाषा र साहित्यको माध्यमद्वारा जोडिने महत्वपूर्ण कार्य गरिरहेका छन्।

 

अप्रेल - मईको अङ्कलाई स्पन्दनको सिक्किम अङ्कको रूपमा प्रस्तुत गर्ने अतिथि सम्पादक हुन् सिक्किमका ख्यातिप्राप्त कवि एवं साहित्य सम्पादक स्रष्टाका सम्पादक केदार गुरुङ र युवा कवि पूर्ण योञ्जन

 

प्रस्तुत अङ्कमा प्रकाशकीयमा होमबहादुर छेत्रीले लेखेका छन्, "सिक्किमका स्रष्टाहरूलाई एउटै छत्रछायाँमा ल्याउने हाम्रो यो सानो प्रयासले नेपाली साहित्यमा एउटा राम्रो उदाहरण झल्काउने छ र भौगोलिक दूरत्वको माझमा एउटा पुलको काम गर्ने छ। यो अङ्क www.khasskhass.com मा गाभिने छ समस्त संसारका पाठकवृन्दका लागि। अभि - जमान स्मृति ट्रस्ट, कुवेत/देहरादून/दुलियाजानको सानो गुठी मात्र नभएर सबैको साझा बन्न चाहन्छ। त्यसैले यस गुठीको माझ्यमद्वारा साहित्यकारहरूलाई पुरस्कृत गर्ने काम लगायत विभिन्न साहित्यिक/ नेपाली भाषी क्षेत्रका प्रतिनिधि लेखकहरूलाई लिपिबद्ध गर्ने प्रयास भविष्यमा पनि भइरहनेछ।"

 

अतिथि सम्पादकद्वयले "श्री होमबहादुर छेत्रीज्यूले हामीलाई यस्तो सुनौलो अवसर जुटाइदिनुभएकोमा कोटि - कोटि धन्यवाद चढाउँछौं" भनी उल्लेख गर्दै सम्पादकीयमा सिक्किमको साहित्यिक गतिविधिको छोटो इतिहास पेश गर्दै "अहिलेसम्म सिक्किमबाट 350 - भन्दा बढी साहित्यिक पत्रिकाहरू, 150 जति समाचार पत्रिकाहरूलगायत् 250 जति कविता संग्रह, 50 जति खण्डकाव्य, 6 वटा जति महाकाव्य, 150 जति कथा संग्रह, 40 जति उपन्यास, 25 जति नाटक संग्रह, 6 जति निबन्छ संग्रह, 2 वटा सबबन्ध संग्रह (केदार गुरुंगका मात्र), 7 वटा यात्रा संस्मरण, 15 वटा जीवनी, 5 वटा जति शोध - ग्रन्थ, 4वटा जति समालोचना संग्रह इत्यादि उपलब्ध छन्", भनी उल्लेख गरेका छन्।

 

प्रस्तुत अङ्कमा एउटा नाटक, एउटा निबन्ध,  दशवटा लघु कथा 19 वटा कविता र एउटा प्रलेख (अन्तिम आवरणमा प्रकाशित) प्रकाशित छन्। अङ्कलाई अझ स्तरीय बनाएको भए सिक्किमको समकालीन साहित्य लेखनको प्रतिनिधित्व हुनसक्ने थियो तर सम्पादकहरूको पनि कतिपय समस्या र सीमा हुन्छन्, जसअन्तर्गत प्रयास गर्दा गर्दै पनि अपेक्षित सामग्री प्राप्त हुँदैन।

जे होस्, अन्तर्राष्ट्रिय स्तरमा सिक्किमको समकालीन साहित्यिक परिदृश्यलाई यस पत्रिकामार्फत् प्रस्तुत गरेकोमा अतिथि सम्पादक साथै  स्पन्दनका मूल सम्पादक बधाइका पात्र छन्।

 - सुवास दीपक (मई 2011)

 

 

 

"बाल दर्पण" को बाल कथा विशेषाङ्क

  • बालसाहित्यको श्रीवृद्धिमा अनि विशेष रूपमा बालबालिकाहरूलाई साहित्यसिर्जनाप्रति प्रेरित गर्ने दिशामा भीम प्रधानको योगदान उल्लेखनीय रहेको छ। विगत 11 वर्षदेखि बाल दर्पण पत्रिकाको सम्पादन - प्रकाशन गरी भीम प्रधानले आफ्नो एकल प्रयासद्वारा यस क्षेत्रमा एउटा कीर्तिमान नै स्थापित गरेका छन्। अहिलेसम्म राज्यका विभिन्न पाठशालाहरूका विद्यार्थीहरूका स्वरचित कविता, कथा, निबन्ध आदि प्रकाशित गरेर साथै शिक्षकहरूको सहभागितामा विद्यार्थीहरूमाझ पठनपाठनप्रति जागरूकता उत्पन्न गर्ने कार्यमा जुटेका भीम प्रधानले "बाल दर्पण" को 59 औं अङ्क "बाल कथा विशेषाङ्क" को रूपमा प्रकाशित गरेका छन्। यस विशेषाङ्कको विमोचन 19 सितम्बरका दिन स्थानीय नेपाली साहित्य परिषद्को सभागारमा वरिष्ठ साहित्यकार डा. शान्ति छेत्री, प्रा. रुद्र पौड्याल, कवि कालूसिंह रनपहेंली, हिन्दी पत्रकार तथा "जमाना सदाबहार" (सिक्किमको एकमात्र हिन्दी साप्ताहिक) की सम्पादिका सन्तोष निराश, चर्चित उपन्यासकार एमएस खान आदिको उपस्थितिमा सम्पन्न भयो।

  • यस बालकथा विशेषाङ्कको सम्पादकीयमा सम्पादक भीम प्रधान लेख्छन् - "बाल दर्पणले गत 11 वर्षदेखि हाम्रा स्कूले विद्यार्थीहरूलाई आआफ्ना भाषासाहित्य, कला, संस्कृतिप्रति जागरूक गराउन अनि उनीहरूमा भएका विभिन्न प्रतिभाहरूलाई प्रोत्साहनसहित प्रकाशमा ल्याउँदै भविष्यका चम्किला कलमवीरहरूका बिरूवाहरूलाई स्याहारसुसार गर्न स्कूल स्तरका विद्यार्थीहरूलाई विशेष ध्यान दिँदै विभिन्न पाठशालाहरूका एक्काइस अङ्क विद्यार्थी कलमवीरहरूलाई लिएर, दुइ अङ्क पर्यावरण संरक्षण अनि एउटा अङ्क बाल प्रतिभा अङ्क प्रकाशित गर्दै बाल किशोर पत्रिकाको खाँचो पूरा गर्ने चुच्छ प्रयास भइरहेछ अङ्क 59 सम्म।"

  • सिक्किमबाट प्रकाशित भइरहेको बाल पत्रिका बाल दर्पणमा साहित्यकार एम.एस. खानको प्रशस्त सहयोग र प्रेरणा रहेको छ। बाल दर्पणका सल्लाहकार रहेका खानले विशेषाङ्कमा आफ्ना विचार यस प्रकारले व्यक्त गरेका छन् - "विशेष स्कूले विद्यार्थीहरूद्वारा लेखिएका नेपाली, भोटिया, लेप्चा, हिन्दी, अङ्ग्रेजी रचनाहरू प्रकाशित गरेर भावी कलमवीरहरूलाई टेवा र प्रोत्साहन दिने सराहनीय तथा सकारात्मक पाइला चालिरहेका हुनाले यस पत्रिकालाई बचाइराख्न शिक्षकशिक्षिका, साहित्यप्रेमीहरू तथा साहित्यिक सङ्घसंस्थाहरू अघि आउन जरुरी छ।"

  • यस विशेषाङ्कमा प्रौढहरूले लेखेका बालकथाहरू प्रकाशित छन्। विजय कुमार सुब्बा, कृबु संयमी, बुद्धिमान प्रधान बमप, शिशुपाल शर्मा, कालूसिंह रनपहेंली, भानुप्रकाश मार्मिक, एन.पी. सापकोटा, स्नेहलता राई, चक्रपाणि भट्टराई, कपिलमणि अधिकारी, एन. आर. राई, देवराज शर्मा, पूर्म राई, विनीता पौड्याल, पवन अदिकारी, अमर बानिया लोहोरो, कमल कुमार बुङ्छेन, बी.बी. सुब्बा, दिल कुमार उपहार, कमला तिम्सिना, चन्द्रप्रकाश खालिङ आदित्य र अर्जुन चामलिङ यावाका बालकथाहरू परेका छन्।

  • बालसाहित्यको आवश्यकतामाथि प्रा. रुद्र पौड्यालले लेखेका छन् - "बाल साहित्य भन्नाले म दुइ पक्ष बुझ्ने गर्छु; एउटा हो बालकहरूकै मस्तिष्कको उपज भएको साहित्य अनि अर्को हो बालकहरूका निम्ति, उनीहरूका बौद्धिक खोराक बोकेका ठूलाहरूद्वारा सृजित, लिखित वा सङ्ग्रहीत कृति।...हामीले वर्तमानमा धेरै कुराहरू गरिसके तापनि यही नै र यति नै मात्र अन्त होइन। बालसाहित्यबारे त सांच्चै भन्ने हो र नढाँटी भन्ने हो भने साह्रै कम्ति काम गरेका छौं। अब हामीमध्येका कुनै जाँगरिला व्यक्तिको जाँगरले यस दिशामा काम थाल्नेछ, अगुवा अघि लागेपछि अवश्य पछाडि लाग्नेहरू आउंदै रहनेछन्। आशा गरौं।"

  • बालसाहित्यको क्षेत्रमा भीम प्रधानले अगुवाको काम गरेका छन्। (अक्टूबर 2010)

 

"प्रजातान्त्रिक आन्दोलनको आत्म-सङ्घर्ष" - छोटो चर्चा

 

सुवास दीपक

चिनियाँ लेखक मो यान-ले आफ्नो आत्म-संस्मरणमा लेखेका छन् -

 

'जब कुनै व्यक्तिलाई अत्यन्त खतरनाक स्थितिमा हुत्याइदिइन्छ, त्यति बेला त्यसका लागि आश्चर्यजनक जीवटको प्रदर्शन गर्न अति जरुरी हुन जान्छ। स्वयंलाई परिस्थितिहरूसित सम्झौता गर्ने मान्छेहरू मरेर जान्छन्। रहल मान्छेहरू एउटा विशेष माटोले बनिएका हुन्छन्। तिनीहरूमा परिस्थितिहरूको सामना गर्न अदम्य साहस र आँट हुन्छ। पवन चामलिङसमक्ष शुरुदेखि नै दुर्धर्ष चुनौती आइपरे तर उनले तिनीहरूको डटेर मुकाबिला गर्नुभयो र निरन्तर गर्दै आइरहनुभएको छ।

 

आत्मकथा, संस्मरण होस् अथवा राजनीतिक लेखन - यीमाथि आधारित कुनै विशेष विचारधाराका समर्थनमा, आफ्ना राजनैतिक सङ्घर्षका अवधिमा भोगेका अनुभव होऊन् - लेखकलाई यसो गर्दा कटु सत्य भन्न अति साहस हुनु अत्यन्त जरुरी हुन्छ। नितान्त निष्पक्ष. सत्यनिष्ठ र पारदर्शी भएर आफ्ना कमीकम्जोरीहरूमाथि निर्मम प्रहार गर्नु पनि यस्ता लेखकहरूबाट अपेक्षित हुन्छ र उनीहरूमा त्यसका परिणामले उत्पन्न स्थितिको सामना गर्ने आँट हुनु पनि उत्तिकै जरुरी हुन्छ।

 

नेपालीमा आत्मकथात्मक राजनैतिक साहित्य लेख्ने परम्परा अत्यन्त क्षीण रहेको छ। नेपालमा अग्रिम पंक्तिका प्रजातान्त्रिक योद्धा बीपी कोइरालाले यस दिशामा उल्लेखनीय कार्य गरेका छन् तर यता भारतमा यस दिशामा धेरै कम काम भएको छ। एकाध प्रयास सिक्किमबाट भए पनि त्यो आत्मछविबाट नराम्रो पाराले आक्रान्त भएकोले कुनै विचारधारामा, दृष्टि वा सिद्धान्तको अभावले त्यस्तो लेखनले जनगणमा न त कुनै सार्थक उपस्थिति नै दर्ता गर्नसक्यो न आउने पिँढीका लागि मार्गदर्शक बन्नसक्यो।

 

यस्तो लेखनमा एक प्रकारको आत्मस्वीकृति हुन्छ तर यो कस्तो प्रकारको आत्मस्वीकृति हो, त्यो हेर्नु जरुरी हुन्छ। लेखकमा यो क्षमता हुनुपर्छ कि उसले जे लेख्दछ, मानिसहरू त्यसमाथि विश्वास गरून्। विश्वका सबभन्दा महत्वपूर्ण ती आत्मकथात्मक राजनीतिक लेखनहरू छन् जसले जीवन र सम्पूर्ण समाजमा व्याप्त पाखण्डको पोल खोल्दछन्।

 

पवन चामलिङको राजनीतिक लेखन आत्मकथात्मक भए तापनि व्यक्तिपरक पटक्कै छैन। उनको लेखनमा 'डिटेल्स'- ले पाठकहरूलाई चमत्कृत गर्छन्। यो उनको दृष्टिको धारिलोपनबाट सम्भव हुनसकेको हो। उनको स्मरणशक्ति गजबको छ जसमा सामाजिक अध्ययन एउटा अनिवार्य कारक हो। जीवन र जगतको गहिरो समझ भएको व्यक्तिबाट मात्र यस प्रकारको लेखन सम्भव हुनसक्छ।

 

सिक्किमको प्रजातान्त्रिक इतिहासमा करिब दुइ दशकदेखि शुरु भएको एउटा बेग्लै राजनीतिक सङ्घर्षको यो एउटा इतिवृत्त हो र ती व्यक्तिद्वारा लिपिबद्ध गरिएको छ जो यस सङ्घर्षको केन्द्रिय भूमिकामा थिए।

 

पवन चामलिङले एक ठाउँ भन्नुभएको छ कि आफ्नो दृष्टिकोण, विचारधारा, नीति र सिद्धान्तलाई प्रभावकारी ढङ्गमा जनसाधारणमा पुऱ्याउन सही दिशाबोध भएको राजनैतिक साहित्यको अहम् भूमिका रहन्छ। 'निर्माण' - को प्रकाशन शुरु भएको यो साहित्य लेखनको यात्रा एउटा साहित्यमा मात्र सीमित थिएन तर यो एउटा सामाजिक क्रान्तिका अग्रदूतको आफ्ना मानिसहरूसित सोझै वार्तालाप गर्ने एउटा माध्यम थियो।

 

स्वतन्त्र र सबल नागरिक समाजका पक्षधर पवन चामलिङ भन्नुहुन्छ - 'सबल समाजले मात्र सरकारको नीति, कार्यक्रम तथा कार्यान्वयनमा रहेका कमी-कम्जोरीहरूलाई औंल्याउनसक्छ। यसको अभावमा विभिन्न स्वार्थी मनोवृत्ति भएका समाजविरोधीहरूले चलखेल गर्ने मौका पाउँछन्। राज्यमा जात-पात, धर्म र समुदाय आदिका नाममा साधारण जनतालाई दिग्भ्रमित र विभाजित पार्ने मौका पनि तिनीहरूले यसै कारण पाइरहेका छन्।

 

महेन्द्र पी. लामा भन्नुहुन्छ - 'आज पवन चामलिङ सिक्किमलाई सिक्किमे पेन्टिङद्वारा रङ्गाउन चाहन्छन्, डिजाइन हाल्न चाहन्छन्। कसरी सिक्किम बनाउनु, हराएको र मेटिएको सिक्किमको सुन्दरतालाई कसरी ल्याऔं, सबैलाई कसरी सुखी बनाऔं - यो चिन्ताले उहाँ रातदिन चिन्तित देखिनुहुन्छ।'

 

कवि र राजनीतिज्ञमा कुनै टक्राउ छैन पवन चामलिङमा। उहाँ भन्नुहुन्छ - 'टक्राउको स्थितिमा म आफ्नो लक्ष्यको प्राप्तिका लागि दुवैमाझ समन्वय स्थापित गर्ने चेष्टा गर्छु।'

 

भारतीय नेपाली राजनीतिक साहित्य लेखनको इतिहासमा सम्भवत: आजसम्म कुनै यस्तो दृष्टान्त पाउन असम्भव नभए कठिन अवश्य छ। सन्दर्भ छ पवन चामलिङको मिन्टोग्याङमा प्रवेशको। राजनीतिशास्त्रका अध्येता र इतिहासकारहरूले पछिसम्म पनि यी पंक्तिहरूलाई उद्धृत गर्नेछन् -

 

'सबैलाई खुल्ला राखियो मिन्टोग्याङको फाटक। यो खुल्लापनको सकारात्मक परिणाम के भयो भने आम जनता, जो हिजोसम्म मिन्टोग्याङमा पाइला टेक्न त टाढाको कुरा, त्यसलाई शिर उटाएर हेर्नसमेत धक मान्थे, आज फुस्रै-फुस्रै भएर मिन्टोग्याङ आउन थाले, मुख्यमन्त्रीसित निर्धक्क आफ्ना समस्या र गुनासो विषयमा कुरा गर्न थाले। खाली खुट्टे, रबरजुत्ते, खेत र खलिहानको माटोले धुलोसरी भएका जनताका खुल्ला आवत-जावतले मिन्टोग्याङको भुईंमा ओछ्याइएका मंहगा कार्पेटहरू मोटोसरी भए, यी कार्पेटहरूमा गरीबको खुट्टाको छाप पऱ्यो। मिन्टोग्याङमा गरीबको बोलबाला सुरु भयो। मिन्टोग्याङमा गरीबको झन्डा गाडियो। सिक्किमको इतिहासमा पहिलोचोटि राज्यसत्ताको सर्वोच्च स्थान र जनताको सबैभन्दा निम्न तप्काबीच साँचो एकता र मित्रता कायम भयो।'

 

पवन चामलिङको सोचको क्रमिक विकास एउटा विचारधारात्मक प्रक्रिया हो, जसलाई हामी उहाँको परिपक्व लेखनको माध्यमबाट यस पुस्तकमार्फत् साझा गर्छौं।

 

समन्वय र सामञ्जस्यको नीतिलाई अघि राखेर काम गर्ने पवन चामलिङलाई तर सामन्तीय सोच भएका तत्व हरहमेशा एउटा चुनौती बनिरहेका छन्।

 

यहाँको मनोरचनामा मानवीय दृष्टि र संवेदनशीलताको ठूलो महत्व छ। यहाँको अन्तर्द्वन्द्व वास्तवमा त्यस कविको पनि हो जो स्वयंसित र जगतसित एकैसाथ भिड्न पुग्छ। यही कारण हो, यहाँ व्यक्तिवादी विचारधारालाई ध्वस्त गर्दै मानिसहरूलाई हर-हमेशा समाजोन्मुख दिशातिर अग्रसर गरिरहनुभएको छ।

 

इतिहासको दुरभिसन्धिमा उभिरहेको एउटा नव प्रजातन्त्रको गाडीलाई विकासको पटरीमा कुदाउनु कुनै सजिलो कार्य होइन, यो युगबोध भएका कुनै स्वप्नद्रष्टाले मात्र गर्ने कार्य हो।

आजभन्दा करीब बीस वर्षअघि यस टिप्पणीकारद्वारा पवन चामलिङसित लिइएको एउटा अन्तर्वार्तामा एउटा प्रश्न राखिएको थियो। प्रश्न थियो - 'राजनीतिमा चुर्लुम्म डुबेका पवन चामलिङ र कविते पवन चामलिङ किरणमा के अन्तर छ?'

 

उक्त प्रश्नको उत्तर आज पनि सान्दर्भिक छ - उहाँको उत्तर थियो - 'राजनीतिमा पनि कविते पवन चामलिङलाई नै बचाउने पक्षमा छु। तपाईंले सोचेझैं राजनीति रूखो छैन तर राजनीति गर्ने मानिसहरू (एकाध छोडेर) भने अवश्यै ऱूखा र भोका छन्। रूखा मानिसहरूले गर्ने विषय भएकाले राजनीतिक परिवेश नै मैला र रूखा भएको छ। राजनीति गर्ने मानिसहरूमा वैचारिक परिवर्तन हुनु अति आवश्यक छ तब मात्र राजनीतिक स्तर बढ्नेछ।'

 

'पवन चामलिङको कवि हृदय जसरी कोमल छ, त्यसरी नै राजनीतिक हृदय पनि कोमल नै छ। यसकारण आजको राजनैतिक परवेशमा पनि पवन चामलिङ राजनीति गरिरहेको छैन तर सामाजिक सेवा गर्ने अभिभारा मात्र लिएर अगि बढिरहेको छ। गरीब-दुखी, खालिखुट्टे बहुसङ्ख्य जनताको बाँच्ने पक्षको वकालत गर्नु नै मेरो राजनीतिक सिद्धान्त हो। जसरी फोहोर पोखरीमा पूल फुलेको हुन्छ - शूल फुलेको हुँदैन, त्यसरी नै म पनि राजनीतिक दलदलमा फँसे पनि यो मन पत्तर बनेको छैन। राजनीति र साहित्यको दोभानमा बसेर मान्छेको सुख र शान्तिको निम्ति तपस्या गर्दैछु।

 

आज पच्चीस वर्ष बितेपछि राज्यको राजनीतिक परिदृश्यमा आमूल परिवर्तन भइसकेको छ। उहाँ चारपल्ट राज्यको सर्वोच्च ओहोदोमा आसीन भएर राजनीति र साहित्यको दोभानमा बसेर मान्छेको सुख र शान्तिको लागि तपस्यारत हुनुहुन्छ।

 

पवन चामलिङका लागि जीवन निरन्तर एउटा सङ्घर्ष र चुनौती रहेको छ र प्रत्येक क्षण उहाँ यस चुनौतीको सामना गर्न तत्पर हुनुहुन्छ। जीवनदेखि पराजय त उहाँको शब्दकोशमा नै छैन। उहाँको प्रतिभा र इच्छाशक्ति निरन्तर नयाँ शिखरहरूमा पाइला टेक्न अग्रसर रहेको छ। उहाँको वैचारिकतामा कुनै अन्तरविरोध छैन। मूल्यनिष्ठ र दृष्टिसम्पन्न, नवनिर्माणोन्मुख, परिवर्तनकामी स्वप्नद्रष्टाले नै समाजका लागि एउटा सुखद् सपना रोज्छन्। सपनाविहीनताको स्थिति कुनै समाजका लागि मृत्युसमान हुन्छ। प्रसिद्ध पंजाबी कवि पाशको एउटा कविताको एउटा पंक्ति यहाँ उद्धृत गर्न चाहन्छु -

 

सबसे खतरनाक होता है

हमारे सपनों का मर जाना।

 

आफ्नो राष्ट्रको संस्कृति, जातीयबोध र स्वराष्ट्रहितको गहिरो समझ हुनु प्रत्येक राजनीतिज्ञको अनिवार्य योग्यता हुनुपर्छ। गतिशीलता र कुण्ठामुक्त व्यवहार पवन चामलिङको व्यक्तित्वका यस्ता गुण हुन् जो मानिसहरूका लागि अत्यन्त प्रेरणादायक छन्। राजनीतिक विचारहीनताको वर्तमान परिवेशमा एउटा जनोन्मुखी विचार तथा संस्कृतिसम्पन्नताको तात्विक पहिचानको खोजीमा ग्रामधर्मी चेतनाको विकास एवं विस्तारका सूचक, एक रचनाकार, निरन्तर सृजनशील, आफ्नो सपनाका लागि जीवनलाई पनि बलिबेदीमा राख्न उद्यत हुनुहुन्छ। उहाँको विचारमा अस्थिरता, दृढताको अभाव र जीवनदर्शनमा अवसरवादी पलायन छैन। यही उहाँको व्यक्तित्वको ठोस र मुख्य विशेषता हो। एउटा धारणा र विश्वासलाई चुनेपछि त्यसैमा उहाँ आद्यान्त टिकिरहनुहुन्छ।

 

आफ्नो धारणाप्रति अडिग रहने उहाँको संकल्पको प्रमाण त्यतिबेला पाइएको थियो जब 11 दिसम्बर,1994-का दिन शपथ ग्रहणका लागि नाम्ची पठाइएको मर्सिडीसमा चढ्न उहाँले अस्वीकार गर्नुभएको थियो। उहाँ भन्नुहुन्छ, "राज्यका मुख्यमन्त्रीलाई भव्य, शानदार एवं बहुमूल्य गाडीमा सवार भएको देख्न अभ्यस्त जनता नाम्चीबाट गान्तोकतर्फ आइरहेको मेरो गाडीको लश्करलाई बाटो-बाटोमा अभ्यर्थना जनाउन उभेका थिए। यसै गाडीलाई स्वागतार्थ उभिएका जनसमूह अघिल्तिर रोकिन्थ्यो, हातमा फूलमाला र अक्षता लिएका जनता मर्लिडीसको छेउ झुम्मिन्थे। पछि मात्र मानिसहरू आफ्नो भूल सम्झेर मेरो गाडीतर्फ आउँथे। यस्तो क्रम गान्तोकसम्मै रह्यो। मलाई लाग्छ, राज्यको सर्वोच्च पदमा पुगेको मानिस यति सादगीसम्पन्न र विनम्र पनि हुनसक्छ भन्ने कुरा मान्छेहरूको चेतनामा कतै थिएन। मान्छेको बडप्पन उसको तामझाममा होइन, तर विचारमा हुनुपर्छ भन्ने सन्देश दिनु नै यो मेरो व्यावहारिकता थियो।"

 

विश्वका प्रमुख साहित्यिक कृतिहरूमा एउटा विशेष राजनीतिक, सामाजिक परिवेशको चित्राङ्कन पाइन्छ, जसमा इतिहास र संस्कृतिको पनि समावेश हुन्छ।

 

भारतीय स्वतन्त्रताप्राप्तिकै छेउछाउ सिक्किममा पनि प्रजातन्त्रको हावा चल्यो। 1950-देखि 1975-सम्मको राजनैतिक विकासक्रमका प्रत्यक्षदर्शी मात्र नभएर यस्ता केही बुद्धिजीवी र राजनीतिज्ञ अद्यावधि हामीमाझ छन् जसले त्यस प्रजातान्त्रिक प्रक्रियामा सक्रियतापूर्वक भाग लिएका थिए तर त्यस कालावधिको राजनीतिक इतिहासलाई लिपिबद्ध गर्न व्यक्तिगत प्रयास भएनन् तर पवन चामलिङको पहलमा यस्ता ग्रन्थहरूको लेखन प्रक्रिया शुरु भइसकेको छ।

 

भारतीय नेपालीहरूको राजनैतिक मूलधारालाई केन्द्रमा राखेर, यसका समस्त अन्तर्विरोधहरूको गहन समीक्षा, आत्मावलोकन निष्पक्ष एवं पूर्वाग्रहमुक्त भई विचारधारात्मक राजनैतिक साहित्य लेखनको परम्परा विकसित हुनसकेको छैन। यसका कारण धेरै हुनसक्दछन्। दुर्भाग्य छ, भारतीय नेपाली राजनैतिक परिदृश्यमा अवतरित अधिकांश नेताहरू आत्ममुग्धता (नार्सिसिस्ट कम्पलेक्स)-देखि मुक्त हुनसकेका छैनन्। यही कारण हो, नेताहरू त छन् तर विचारधारा, सिद्धान्त र नीतिमा कङ्गाल छन्।

 

पवन चामलिङ भन्नुहुन्छ, "म मुख्यमन्त्री भएर मिन्टोग्याङ्ग आउँदा हामीले कुनै नयाँ खाले लवाइ-कुवाइ, बानी-व्यवहार र जीवनशैली लिएर आएनौं... हामी जनताको काम गर्न यहाँ आएका थियौँ, कुनै राजसी सुखको अभिप्राप्तिको लिप्साले पसेका थिएनौं। जुन राज्यका 90 प्रतिशत जनता हरितन्नम् गरीबीमा जीवन बिताइरहेका छन्, तिनीहरूलाई आडम्बर र ठाटबाट देखाउनको के अर्थ?"

 

एक दर्जन जति अध्यायहरूमा विभाजित यस पुस्तकको प्रत्येक अध्यायमा लेखकले आफ्नो सिद्धान्त, नीति र विचारधाराको प्रतिपादनका साथसाथै प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरूदेखि सिक्किमे जनमानसलाई मुक्त राख्ने आप्नो सङ्घर्षको उल्लेख गरेका छन्। एउटा गरीबवादी पार्टीलाई जन्माउनदेखि लिएर विभिन्न विघ्नबाधाहरूको सामना गर्दै जनताका कार्य गर्न सक्षम बनाउनेसम्मको कठिन सङ्घर्षमय प्रक्रियामा पार्टी कार्यकर्ताहरूलाई सदैव सही मार्गदर्शन दिन राजनैतिक साहित्यको निर्माण गर्ने दिशामा निरन्तर सक्रिय रहनुभएका पवन चामलिङको जुझारू लेखनीबाट सृजित यस पुस्तकले सिक्किमको राजनैतिक इतिहासमा मात्र होइन तर यस उपमहाद्वीपको समग्र राजनीतिक साहित्य लेखनमा पनि एउटा छुट्टै स्थान ओगट्ने छ भन्ने कुरामा म विश्वस्त छु।

 

भीम दाहाल र सी. बी. कार्कीद्वारा लिखित 'विचार, क्रान्ति र परिवर्तन - कति सुगम कति दुर्लभ' - मा एक ठाउँ लेखिएको छ - 'उनको दृष्टि मिन्टोग्याङ्गतिर दुर्योधन मोह लिएर कहिल्यै फर्किएन तर उनको दृष्टि अर्जुन लक्ष्य लिएर ती गरीबहरूको उत्थानतर्फ फर्कियो जसले गरीबहरूको देश, अस्तित्व, माटो र व्यक्तिपूजनका नाराहरू त पाएका थिए तर उनीहरूको निम्ति छाती खोलेर लड्ने योद्धा पाएका थिएनन्। यसकारण लगभग 20 वर्ष लामो सिक्किमको भारतीय गणतन्त्रको रूपमा रहेको इतिहासमा पवन चामलिङलाई गरीबहरूको पहिले साथी र योद्दा मान्न समयलाई कर लाग्छ, इतिहासलाई कर लाग्छ।'

विपक्षी दलहरूमाथि कटाक्ष गर्दै पवन चामलिङ लेख्नुहुन्छ -

 

'सिक्किममा हुनलाई त थुप्रै पार्टीहरू छन्। झट्ट हेर्दा यिनीहरूबीच पर्याप्त मतभिन्नता देखिन्छ अनि यिनीहरू बेग्ला-बेग्लै सङ्गठनमा पनि छरिएका छन्। प्रकटमा हेर्दा लाग्छ, विपक्षी पार्टीहरूबीच विभिन्न मुद्धामा सहमति छैन। तर वास्तवमा यस्तो छैन। आधारभूत प्रश्न अर्थात् साम्प्रदायिक कुविचार फैलाउने प्रश्नमा, यहाँ अन्यायपूर्ण व्यवस्थाको बहाली गर्ने प्रश्नमा सबै पार्टीहरू एकै छन्। यो कुरा सेप्टेम्बर कान्ड, पञ्चायत चुनाउ, ओबीसी महिला आरक्षण-को विरोधलगायत् असङ्ख्य घटनाहरूमा परिलक्षित हुन्छ। सिक्किमेली राजनीतिको यो स्वरूप र चरित्र शान्तिपूर्ण कालका लक्षणहरू हुन्। जब वर्ग विभाजन चर्किन्छ अनि बेला-बेलामा जब यसले तीक्ष्णता लिन्छ, त्यतिबेला नाना शिविरमा छरिएका शोषकहरू एकै डल्लो पर्छन्।'

 

उहां लेख्नुहुन्छ -

 

'शोषकवर्गको सङ्कटकालीन एकजुटता क्रान्तिकारीहरूका लागि सबै व्यक्ति-शक्तिहरूको वर्ग चरित्र चिन्ने एकमात्र उत्तम क्षण हो। त्यही क्रान्तिकारीहरूले शोषकवर्गलाई शक्तिसम्पन्न बन्ने हिसाबले एकजुट बन्न नदिन आफ्नो सङ्घर्षको धार हर-हमेशा उध्याइरहनुपर्दछ। यो हाम्रो राजनैतिक-सैद्धान्तिक सम्बन्धलाई सही रूपमा बुझ्नु प्रत्येक क्रान्तिकारीका लागि आवश्यक छ।'

'नयाँ प्रजातान्त्रिक आन्दोलनको आत्मसङ्घर्ष' अध्यायमा पवन चामलिङ लेख्नुहुन्छ - 'आन्दोलनलाई भ्रूणमै मासिदिने त्यतिबेलाका सत्तासीन नेताले त घोषणा नै गरे - एसडीएफ पार्टी भनेको मानेको पातको पानी हो। विभिन्न षड्यन्त्रबाट बाँचेर जन्मेको पार्टीले आफ्नो अस्तित्व र जीवनको लागि पनि घोर सङ्घर्ष गर्नुपऱ्यो, आज पनि यो चारैतिरबाट ज्यानमाराहरूबीच घेरिएको छ। तर हाम्रो क्रान्ति टुङ्गिएको छैन।'

यस अध्यायमा पवन चामलिङले केही स्थानीय र राष्ट्रिय स्तरका नेपाली नेताहरूसितको आफ्नो मोहभङ्गलाई पनि स्पष्ट पार्नुभएको छ। उहाँ लेख्नुहुन्छ - 'सिक्किममा प्रजातान्त्रिक आन्दोलनका लागि सहयोग र समर्थन हुन्छ भनेर ठानेको थिएँ तर उहाँहरू आफ्नै स्वार्थको झोली छापेर बसेका रहेछन्।'

 

भाषा र विकाससम्बन्धी कुरा

 

नेपाली भाषाको संवैधानिक मान्यता सम्पूर्ण नेपालीहरूको एकीकृत र दीर्घकालीन प्रयत्नको परिणाम हो भन्दै पवन चामलिङले भाषा आन्दोलनमा संलग्न सम्पूर्ण संस्था, संगठन र महानुभावहरूको यथोचित मूल्याङ्कन नगरी  - गर्ने भने हनुमान पगरी गुँथ्ने ढेंडु भनेजस्तै एउटै व्यक्तिले यसको श्रेय लिन खोज्ने प्रवृत्तिको उहाँले भत्सर्ना गर्नुभएको छ। पवन चामलिङ भन्नुहुन्छ -

'नेपाली भाषा मान्यताको गौरवपूर्ण आन्दोलनको इतिहास भनेको एक व्यक्तिको इतिहास हुनसक्दैन, होइन, हुँदै होइन। इतिहासलाई छोप्ने दु:साहस कसैले पनि नगरे हुन्छ।'

उहाँले भाषा मान्यतापछि गर्नुपर्ने कार्यहरूमाथि प्रकाश पार्नुहुँदै नेपाली भाषा र साहित्यको प्रसार र उन्नतिका लागि एउटा भरोसालाग्दो, विश्वसनीय र राजनैतिक तुच्छ दाउपेचबाट माथि उठेको भारतीय नेपालीहरूको जनस्तरको एउटा अकादेमी स्थापित गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ।

 

'सलाद-थाली-पद्धति' - को एउटा नवीन दृष्टिकोणमार्फत् भारतीय नेपाली संस्कृतिलाई परिभाषित गर्दै पवन चामलिङ भन्नुहुन्छ - 'यहाँ सलाद भन्नाले नेपाली जातिभित्रका तामाङ, गुरुङ, सुनुवार आदि उपजातिसमूह र उनीहरूका संस्कृतिलाई बुझिन्छ अनि थाली-ले सम्पूर्ण नेपाली संस्कृतिको प्रतिनिधित्व गर्दछ। मेरो विचारमा तामाङ, राई, लिम्बू आदि उपजातिहरूले सलाद-थालीमा गाजर, प्याज, टमाटर, शलगम आदि प्रमुख उपादानहरूलाई सङ्केत गर्दछन्, जसलाई एकीकृत गरी सही ढङ्गमा थालीमा राखिएपछि सुन्दर एवं स्वादिष्ट सलाद बन्दछ। मेरो विचारमा यो सलाद-थाली- पद्धति समकालीन भारतीय परिप्रेक्ष्यमा हाम्रो राष्ट्रिय पहिचानलाई संरक्षण गर्ने उत्कृष्ट पद्धति हो। किनभने यस सलाद थालीमा नेपाली जातिको प्रत्येक उपजातिले आ-आफ्नो विशिष्ट पहिचानलाई कायम राखेरै पनि सामूहिक रूपमा ठोस एवं विशिष्ट भारतीय पहिचानको गठन गर्न योगदान पुऱ्याउँदछन्। यदि एउटै मात्र पनि उपादन यस थालीबाट हटाइएमा सलाद अधुरो बन्नजानेछ।"

 

अर्को पद्धति, जसको पवन चामलिङले प्रतिपादन गर्नुभएको छ, त्यो हो Melting Pot Approach। यस पद्धतिअन्तर्गत नेपाली संस्कृति एवं परिचयलाई मेल्टिङ पट्-को रूपमा मानिएको छ। यसको तात्पर्य यस पात्रभित्र जो जति समेटिन्छ, त्यसले आफूलाई गलाइपठाउँछ तर पात्रलाई भने यथावत् राख्दछ। यहाँ पात्र भन्नाले नेपाली संस्कृति हो अनि यसभित्र समेटिने तत्वहरू नेपाली समुदायभित्रका विभिन्न उपादानहरू जस्तै लिम्बू, दमाई, सार्की, गुरुङ आदि।

 

डा. महेन्द्र पी. लामाले पुस्तकको भूमिकामा सठीक टिप्पणी गर्नुभएको छ। उहाँ लेख्नुहुन्छ - 'पवन चामलिङभित्रका कवि र त्योभित्रको पनि राजनैतिक विचारधारा यस पुस्तकमा छर्लङ्ग देखा पर्दछ। कवि अटस-मटस हुँदा, उत्पीडनमा निचोरिँदा र पर्खाल तोडेर बाहिर निस्कन्छु भन्ने भावनामा ओतप्रोत हुँदा एकतन्त्री र सामन्तवादी राजनीतिमा पिसिँदा र सामाजिक परिवर्तनको जग बसाल्छु भन्ने अठोटले व्याकुल हुँदा एउटा जनान्दोलनको एजेन्डाले अघि फ्याँक्दछ। पवन चामलिङको यस पुस्तकको मिठास नै यो आभास र एजेन्डाको समागम हो। उत्तम ढङ्गमा यी दुइ राजनैतिक र काल्पनिक धागाहरूलाई बुनेका छन् यस कृतिमा।

 

सङेक्षेपमा भन्नुपर्दा यस पुस्तकमा पवन चामलिङले जाति, समाज, राष्ट्र र मानवप्रतिको आप्नो गहिरो प्रतिबद्धतालाई उजागर गर्नुभएको छ र आफ्नो प्रतिबद्धतालाई अक्षुण्ण राख्नमा कुनै पनि बलिदान दिन पछि नहट्ने अठोट देखाउनुभएको छ।

समीक्षित पुस्तक

प्रजातान्त्रिक आन्दोलनको आत्म-संघर्ष,

लेखक - पवन चामलिङ, निर्माण प्रकाशन, नाम्ची सिक्किम), संस्करम 2004, मूल्यरु.500.00

(भारतीय नेपाली व्याख्यान श्रृँखला - अन्तर्गत चिन्तन भवन, गान्तोकमा आयोजित सिक्किम सम्मान सम्मिलनमा 15 जुलाई,2004-का दिन प्रस्तुत)

 स्रष्टा

(वर्ष 31, अङ्क 62)

प्रकाशक - पश्चिम सिक्किम साहित्य प्रकाशन, गेजिङ बजार, पश्चिम सिक्किम

प्रधान सम्पादक - केदार गुरुङ

त 31 वर्षदेखि निरन्तर प्रकाशित हुँदै आइरहेको स्तरीय साहित्यिक पत्रिका स्रष्टा-को नेपाली साहित्यिक पत्रकारितामा एउटा विशिष्ट स्थान रहेको छ। भारतीय नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा स्रष्टा-ले जुन उपलब्धि हासिल गरेको छ, त्यो उल्लेखनीय मात्र नभएर ऐतिहासिक पनि छ।

स्र्ष्टा-लाई यस उँचाइसम्म पुऱ्याउने श्रेय यसका सम्पादकमण्डली र साहित्यप्रति समर्पित सहयोगीहरूमाथि जान्छ नै तर यस पत्रिकालाई नेपाली साहित्य जगतमा अन्तराष्ट्रिय स्तरसम्म लैजाने सिङ्गो श्रेय दिनु परे त्यो निस्सन्देह केदार गुरुङलाई नै जान्छ।

स्र्ष्टा-को अङ्क 62-मा प्रकाशित समग्र रचनाहरूको विहङ्गम अवलोकन गर्दा सबै रचनाहरू स्तरीय रहेका छन् र पत्रिकामा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र बाहिर देशका रचनाकारहरूका रचना समावेश गरिएका छन्। स्र्ष्टा परिवारको नेपाली भाषा र साहित्यप्रतिको समर्पण सबैका लागि एउटा जीवन्त उदाहरण बनेको छ।

भुवनेश्वर बरुवा अंशुको 'एउटा अर्कै पृथ्वी'

सिक्किममा नेपाली साहित्यको श्रीवृद्धिमा अनेपालीहरूको योगदानको परम्परा अपतन कालदेखि नै सुरु भएको प्रमाण हामीसमक्ष उपलब्ध छ। बितेको शताब्दीको चालीसको दसकमा अपतनकालीन कविहरूमध्ये राम अपतनको नाम प्रारम्भिक कविहरूमा दर्ता भइसकेको पाउँछौं। यसपछि सत्तरीको दसकमा सुवास दीपकले नेपाली कवितामा प्रशस्त योगदान नदिए तापनि तिनका त्यसकालका कविताहरूको एउटा सङ्गालो आधारशिला  नब्बेको दसकमा प्रकाशित भएको पाउँछौं। यसै क्रममा नेपाली साहित्यमा उल्लेख गर्नु परे भुवनेश्वर बरुवा अंशुको नाम आउँछ। सन् 2002-मा गुलाब शीर्षक कविता सङ्ग्रह लिएर नेपाली कवितामा देखा परेका असमीयाभाषी भुवनेश्वर बरुवा अंशुले त्यही वर्ष अर्को कविता सङ्ग्रह एउटा अचल नाउ  प्रकाशित गरेका छन्। तिनको कविता सङ्ग्रह यौटा अर्कै पृथ्वी यही जनवरी 2009-मा प्रकाशित भएको छ। भूमिकामा अभि मिश्र लेख्छन् - भाषा र साहित्य कुनै जातिको पेवा हुनैसक्तैन। कुनै पनि जाति अन्य बहुभाषिक समूहमा बसोबासो गर्न थालेपछि र त्यस जातिको संस्कार, संस्कृति र साहित्यलाई आत्मसात गरेर समूहमा भिजेपछि त्यस जमातको अभिन्न अङ्ग बन्न पुग्छ।....यसै परिप्रेक्ष्यमा श्री भुवनेश्वर बरुवा अंशु नेपाली संसारमा एक चम्किलो तारा भएको सत्य नेपाली साहित्यानुरागीले बिर्सनु पटक्क हुँदैन। कवि बरुवा असमको माटोमा जन्मिएर र अध्ययन असमीया माध्यममा गरेर पनि नेपाली साहित्यलाई तीनवटा कविता सङ्कलन दिनसक्नु कम महत्वपूर्ण विषय होइन।

यस कविता सङ्ग्रहमा जम्मा बीसवटा कविताहरू छन् जसमध्ये 12-वटा मौलिक र आठवटा असमीया भाषाबाट नेपालीमा अनूदित गरी समावेश गरिएका छन्। कविताको केन्द्रिय विषय सम्पन्न र विपन्नमाझको अन्तराल हो।  कविता सरल र सहज छन्। जटिलता छैन सम्प्रेषणीयतामा।

सङ्ग्रहको मुखपृष्ठ आकर्षक छ। प्रूफप्रति अलिक ध्यान दिनुपर्ने थियो।

कृति - एउटा अर्कै पृथ्वी, लेखक - भुवनेश्वर बरुवा अंशु, विधा - कविता, प्रकाशक - लेखक आफै, संस्करण - प्रथम, 2009, पृष्ठ - 60, मूल्य - पचास रुपियाँ (भा.रु).        - विचार डेस्क

 

(पुस्तक समीक्षा)

 

"आधारशिला" - लाई एक विह्ङ्गम दृष्टिबाट हेर्दा 

 

                                                                               आइ. एल. शर्मा

सिक्किमेली साहित्याकाशमा एक सशक्त लेखक एवं पत्रकारका रूपमा चिनिने श्री सुवास दीपकले अहिलेसम्म दर्जनौं कविता, निबन्ध, नाटक, कथा आदि दिएर नेपाली साहित्य भण्डारलाई समृद्ध तुल्याउन यथेष्ट योगदान दिइसक्नुभएको कुरालाई विज्ञ पाठकवर्गले नकार्न सक्तैनन् भनी किटान गर्न सकिन्छ।

एक अनेपालीभाषी व्यक्तिले नेपाली भाषामा सशक्त रूपले कलम चलाएको विवरण एकदमै विरलै पाइन्छ। छन् केही विख्यात लेखकहरू जस्तै भवानी भिक्षु, ओकियामा ग्वाइन, रामदत्तलाल ठाकुर 'अपतन' आदि।

कहिले कविता, कहिले कथा, कहिले अन्तर्वार्ता, कहिले समीक्षा आदि लिएर सदैव चर्चित रहने श्री सुवास दीपकलाई यसपालि के जङ्गी चल्यो कुन्नि उनी कुल 23-वटा कविताहरूको सङ्गालो 'आधारशिला' लिएर हामीसमक्ष देखाहा परेका छन्। हुन त कुनै साहित्यिकको थाल्नीको कलम कविताबाटै शुरू भएको पाइन्छ र त्यसै भएर होला उनको कुखुरे बैंसको शुरुआतका दिनमा उनले लेखेका कविताहरू प्राय:जसो प्रेममा नै आसक्त भएको पाइयो। कविकै शब्दमा भन्नुपर्दा यी 23-वटा कविताहरू उनले 19-देखि 23 वर्षको उमेरमा लेखिसिद्ध्याएका थिए तर आजपर्यन्त पनि ती कविताहरू सङ्कलित रूपमा आउन नसक्नुमा अवश्यै पनि कुनै गूढ रहस्य रहेको हुनुपर्छ भनी किटान गर्न सकिन्छ, नत्रभने आफ्नै छापाखाना तथा प्रकाशन संस्था हुँदाखेरि ती कृतिहरू यत्रो लामो अवधिसम्म 'डायरी'- का पातामा लुकेर नबस्नुपर्ने हो। जे होस्, ढिलै होस्, छोरै होस् भने झैं आज उनका साहित्यिक जीवनका शैशवकालका कविताहरू पाठकवर्गसमक्ष पुग्ने ध्येयले बाँहकटे हालेर हामी, पाठकवर्गसमक्ष, आउन समर्थ भए। हामीले यसलाई हाम्रो अहोभाग्य ठान्नुपर्छ।

भरभराउँदो बैंसमा जोसुकै पनि प्रेमको आगोमा पिल्सिएकै हुन्छन् र कतिले त्यही पहिलो प्रेममा नै सफलता हासिल गर्छन् र सुखद दाम्पत्य जीवनको प्राङ्गणमा प्रवेश गर्छन् र जीवन सार्थक भएको अनुभव बटुल्छन्. हाम्रा कवि सुवास दीपक यस श्रेणीमा परेनन्। उनको पहिलो प्रेम बृथा गयो। उनी त्यसैले यस पुस्तकमा भएका कवितामा जताततै रोएका छन् - भौंतारिएका छन् आफ्नी प्रेयसीको खोजीमा। उदाहरणका लागि उनको "अस्तित्वहीन जीवन यात्रामा"  शीर्षक कविताका केही पङ्कतिहरू उद्धृत गर्न सकिन्छ -

"संघर्षमय जीवनमा एकलै छु

अभिन्न साथी यहां कोही छैन

उपहार पाएँ केवल निराशाको आंसु

सहारा हार सिवाय अरु केही छैन।

व्यथित स्मृति दोहेऱ्याउँछु

हृदयान्तरबाट व्यथा चिच्च्याउँछ

व्याकुल भएर छट्पटाउँछु

बेमोल आँसु सिवाय अरु केही छैन।

यो संसार मलाई झुटो लाग्छ!  झुटो लाग्छ!!

विवशतामा हारेको मैले यसलाई दोहोऱ्याउने छैन

जग परिधिभित्रको यात्रामा

म झैं हरुवा

अरु कोही छैन! अरु कोही छैन!!"

सायद पहिली प्रेमिकाले धोखा दिएकी हुनाले गर्दाखेरि उनले निरन्तर आँसुको बलिन्द्र धारा बगाएर रातदिन उसकै सुडोल मोहडा आफ्नो मानसपटलमा निरन्तर नचाइरहे होलान्। उनी साहित्यिक जीवनको शैशवकालमै निराश बनेका छन् - उनमा नैराश्यले सशक्त धर गरिसकेको छ र उनी आफुलाई यस विशाल संसारमा नितान्त एकलो अनुभव गर्छन् तथा आफुलाई भाग्य एवं परिस्थितिले ठगेको ठान्छन्।

संघीय भारतको सुदूर पश्चिमाञ्चलमा जन्मिएका कविलाई सिक्किमका हिमाच्छादित टाकुराहरू, सुन्दर एवं मनमोहक हरियाली तथा शान्तिपूर्ण वातावरणले निक्कै लोभ्यायो। जीवनमा डुकु राम ढेंडोको समस्या हल गर्ने हेतुले आजीविकाको खोजीमा पहिलोपल्ट सिक्किम आइपुगेर शिक्षक पेशा अप्नाएपछि  (त्यतिबेला सरकारी नोकरी हिजोआजजस्तो कठिन पर्दैनथ्यो) सर्वप्रथम उनले त्यतिबेलाको स्वतन्त्र सिक्किमको वक्षस्थलबाट नै पवित्र स्नेह, प्रगाढ आत्मीयता एवं मातृत्वको झलक पाएँ भनी "सिक्किम जननी"- प्रति कृतज्ञ रहेका छन् -

"पाएँ पवित्र स्नेह, प्रगाढ आत्मीयता,

एवं मातृत्वको झलक

तिम्रैबाट बारम्बार जननी।"

कवि दीपक  सिक्किमप्रति अति आसक्त भएका छन् भन्ने कुराको पुष्टि तलका पंक्तिहरूले गर्दछन् -

" हे सिक्किम जननी!

कोटि-कोटि प्रणाम एवं भक्ति

युगयुगान्तरसम्म व्यक्त गर्दै रहुँला

लाखौंपल्ट बाँचेर पनि

तिम्रै निम्ति मर्दै रहुँला।"

त्यति मात्र होइन उनी सिक्किमप्रति केही गरेर नै मरूँला भन्ने ठान्छन् र त्यसलाई उनी आफ्नो सौभाग्य सम्झन्छन्।

"यदि यस संघर्षमय जीवनमा

केही तिम्रो सेवामा गर्न सकुँला भने

त्यही हुनेछ मेरो सौभाग्य जननी।"

आफ्नो जीवनलाई सार्थक तुल्याउन तथा प्रगतिको पथमा अघि बढ्नका निम्ति कविले सिक्किम जननीसँग शक्ति र सामर्थ्य मागेका छन्। उनी जिन्दगीमा जस्तै विषम परिस्थिति आइलागे पनि कहिले विचलित नहुने तथा नि:स्वार्थ भावनाले यस संघर्षमय जीवनमा निरन्तर अघि बढ्ने प्रण गर्दछन् र त्यस्तो अदम्य साहसका निम्ति प्रार्थाना गर्दछन्। उनी सिक्किमका निम्ति हाँस्दै-हाँस्दै आफ्नो प्राम विसर्जन गर्न पनि पछि नपर्ने कुराको सङ्केत उनका तलका पंक्तिहरूमार्फत् स्पष्ट पार्ने जमर्को गरेका छन् -

"देऊ मलाई सामर्थ्य एवं शक्ति

दुर्गम पथमा अघि नै बढ्ने जननी

कर्तव्य पालन एवं नि:स्वार्थ सेवामा

छैन कहिले पछि हट्ने जननी।"

सिक्किम भारतीय संघमा विलय नभइकन नै सिक्किम जननीप्रति आभार व्यक्त गरिएको यस कवितामा कविले सिक्किमको अस्मिताप्रति आफ्नो प्रगाढ श्रद्धा व्यक्त गरेका छन्। यसरी एउटा देशको अस्मिताप्रति सजग रहेर अरूलाई आफ्नो सशक्त कलमका माध्यमबाट सन्देश दिने कविलाई सारा सिक्किमे परिप्रेक्ष्यमा हुर्किएका सभ्य भनाउँदाहरूले आभार व्यक्त गर्नैपर्ने स्थिति आइपरेको छ यहाँनेर।

कविले 'मूक अभिव्यक्ति'  शीर्षक कवितामा गतिलो व्यङ्ग्य प्रहार गरेका छन्। ढुङ्गा प्राणहीन भए तापनि त्यसले मूक भाषामा मानव प्राणीलाई 'सबसे भला चुप'  भन्ने सन्देश दिइरहेको हुन्छ जुन सन्देश बुझ्नेहरूको सङ्ख्या हातका औंलामा गन्न सकिन्छ भने नबुझ्ने पटमूर्खहरू लछेप्रै पाइन्छन्। ढुङ्गा मूक भए तापनि विश्वको सबैभन्दा चतुरो ठहरिएको प्राणी मानव जातिका कुकृत्यहरू स्पष्टसँग देखिरहेको छौं भनी दावा गर्छन् कविका शब्दमा। कविले यहाँनेर चेतनशील प्राणीलाई गतिलो व्यङ्ग्य दिन चुकेका छैनन्। जे छ त्यो यथावत् छ र त्यसमा कुनै प्रकारको परिवर्तन आउँदैन तथा अल्पविद्या भयङ्करी भने झैं आफुलाई धुर्त सम्झिने मानव प्राणी ढुङ्गाजस्तो मूढ पदार्थको नजरमा पनि अवहेलित बन्न पुगेको छ।

'बुझ्नेहरू कम छन्, नबुझ्नेहरू धेरै छन्।

भनिरहेका यी ढुङ्गाहरू - "आँखा छैन हाम्रो

तर पनि संसारका घटनाक्रम हेरिरहेका छौं।

कान छैन हाम्रो, तर पनि

करुण-क्रन्दन सुनिरहेका छौं।

साविक गतिमा हिंडिरहो रविलाई हेर्छौं

तर परिवर्तन छैन यसको क्रममा अझसम्म

अविरल गतिमा बग्ने नदीलाई हेर्छौं

वाधा आए तापनि रोकिन्न यो अझसम्म।

यी निष्प्राण ढुङ्गाहरू। साक्षी छन् यस ब्रह्माण्डमा।"

 कविका शब्दमा प्रक्रृति यथावत् छ र सदैव यस्तै रहिरहन्छ तर मानिस परिवर्तनशील छ। उ मौकावादी हो - ताक परे तिवारी नत्र गोतामे। प्राकृतिक वस्तुहरू मूक छन् - बोल्न सक्तैनन् तापनि कुनै नकुनै सन्देश दिइरहेकै हुन्छन् हामीलाई। हिजोआज संसार यति बिध्न स्वार्थी भइसक्यो कि अब त प्रकृतिमा परिवर्तन आउन थाल्यो भन्ने कवि खेद प्रकट गर्दछन्।

'उफयिनीहरू पनि निस्सासिसके

बादलले पनि रुन बिर्सिसक्यो

बिर्सिसके बतास र हुरीले आफ्नो भयानकता

बिर्सिसके खोला र नदीहरूले आफ्नो दैनिक कार्य।"

नैराश्यले जरा गाडेरै होला कविले आफुलाई नितान्त एकलो, असहाय एवं तुच्छ सम्झिन थालेका छन्। उनले आफ्नो अस्तित्व नै नभएको कुराको शंखनाद यसरी गरेका छन् -

"बिर्सिसक्यो दीपकले आफ्नो अस्तित्व

दीप जल्छ, हुरी चल्छ, निभाइदिन्छ यसलाई

तेल भइञ्जेल जलिरहन्छ, तेल सिद्धिएपछि निभ्न लाग्छ।"

मानव जीवन क्षण-भङ्गुर छ भन्ने कुरा त कविले यहाँ स्पष्टसँग व्यक्त गरेका छन्। जति नै नैराश्यले धर गरे तापनि मिति नपुञ्जेलसम्म उसले दु:ख-कष्टको सामना गरिरहनुपर्छ र मिति पुग्दै गएपछि भने शनै:शनै:  उ प्रकृतिको काखमा फर्किन्छ - पञ्चभौतिक तत्वमा विलीन हुन्छ।

यस संकलनमा देखाहा परेका उनका अधिकांश कविताहरूमा कवि प्रेमकै बिरहमा चुर्लुम्म डुबेका छन्। उनको पहिलो प्रेमले उनलाई जीवनको धेरै लामो अवधिसम्म निरन्तर झक्झक्याइरह्यो भन्नमा अत्युक्ति नहोला किनकि कविले 'हृदयरूपी भित्तामा झुन्डिएको विगतरूपी तस्बीर'  शीर्षक कवितामा त्यसको सङ्केत यसरी दिएका छन् -

"यहाँ एउटा गुलाबको कोपिलाको सम्झना आउँछ"

(जुन अब फूल बनिसकेको छ)...

उनले माया-पिर्ती गाँसेकी सानी ठिटी अब सम्पूर्ण रूपले वयस्क भइसकेकी भन्दै कवि आफ्नो मनको वेदना यसरी व्यक्त गर्न पनि चुकेका छैनन् -

"सधैं एउटा कोपिला आउँथ्यो पुष्पवाटिकाबाट

औ त्यसभित्र एउटा हृदय हुन्थ्यो रे

ग्रहण गर्थें औ सुरक्षित राख्थें हृदयभित्रको हृदयमा

अझसम्म पनि सुरक्षित राखेको छु।"

यसरी कविको पहिलो प्रेम शाश्वत बनेको छ। प्रेम गर्नु भनेको दुइ युगल एउटै प्रणयसूत्रमा बाँधिनु नै हो भन्ने केही छैन भनी कविले आफ्नो मनको पिर व्यक्त गर्दै आफुलाई विरहाग्निको रापबाट जोगाउन आफैले आफैलाई सान्त्वना दिने अथक प्रयास गरेका छन्।

नि:सन्देह कवि आफ्नो प्रेममा असफल नै भए तापनि त्यो सुखद घडीलाई, जसले उनलाई कवि बन्ने प्रेरणा प्रदान गऱ्यो, त्यसलाई उनले कहिल्यै बिर्सन सकेनन्। तर स्मृति आलो राख्नुबाहेक उनले के पो गर्न सके र!  त्यसैले कवि यहाँनेर यसरी आफ्नो मनको भावना व्यक्त गरी आफ्नो मनको अव्यक्त वेदनालाई सान्त्वना दिने प्रयास गर्दछन् -

"उफ्! यो विगत!!

काँटीले ठोकेको भित्तामा झुन्डेको

तस्बीर झैं हल्लिरहेछ

तर भित्तादेखि कतै जान सक्तैन

यसरी नै

समस्यारूपी काँटीले ठोकिएको

मेरो हृदयरूपी भित्तामा

विगतरूपी झुन्डिएको तस्बीर

हल्लिनुसक्छ, हल्लिरहेछ

तर कतै फुत्केर जान सक्तैन।"

आफुले हृदयदेखि नै रुचाएकी प्रेयसी अर्काकी भइसकेकीले कवि विक्षिप्त भई यसरी खेद प्रकट गर्छन् -

"तैंले रोजेको फूल कसैको भइसकेको छ।"

कविले आन्तरिक हृदयदेखि नै एउटीलाई रुचाए तर भाग्यको विडम्बनाले गर्दाखेरि उनले जीवन धान्नु पऱ्यो अर्कैसँग र त्यसमा पनि उनले विस्वादै माने क्यार र यहाँ कवि यसरी बिरक्तिएका छन्। सायद जीवन सुखद नभएर विषाक्त ङएर हो कि वा अभावमै जन्मिएर अभावकै जीवनमा पाँच दशक बिताइसक्न लाग्दाखेरि पनि कविलाई प्रथम प्रणयको झझल्को आरहन्छ। उनी विस्मात मान्दै आफ्नी प्रथम प्रेयसीको स्मरणमा भग्न रहन्छन् जो अब अर्कैकी अंकशायिनी भइसकेकी छन्। यो पनि उनको विवशता नै हो क्यारे हामी सबैले ठिठ्याइदिनुपर्ने।

सायद सम्पूर्ण जीवन नै असफलताको चपेटा परेको अनुभव गरेरै होला उनले आफुलाई एउटा असहाय, निर्धो र निकम्मा ठानेका छन्। आफुलाई एउटा गतिलो पर्खालले छेकाबार लाएको ठानेका छन् र उनी त्यसबाट उन्मुक्ति चाहनका साटो निराश भई आफ्नो मनको व्यथा यसरी व्यक्त गर्छन् -

"तँजस्तो मान्छेलाई संसारले गर्नु नै पो के सक्छ र?"

यहाँनेर कवि अति व्याकुल भएर आफ्नो मनको व्यथा यसरी व्यक्त गर्न हिच्किचाएका छैनन्। उनलाई जीवनमा साह्रै ठूलो धोको रह्यो जो आजीवन रहिरहनेछ भन्ने तथ्यलाई उनले मनन गरेका भए तापनि आफुलाई त्यसबाट मुक्ति दिलाउन सकेनन् र नै उनको कलम यसरी कुद्यो -

"अनन्त प्रतीक्षा" शीर्षक कवितामा पनि कविले आफुलाई प्रेमरोगको पिण्डबाट उन्मुक्त राख्न सकेनन् र आफ्नी मायालुका यादमा तड्पिरहेका छन्। निरन्तर लामो अवधिसम्म तड्पिएपछि उनी पुन: आफ्नी प्रेयसीको यादमा मनको व्यथा व्यक्त गर्न यसरी अग्रसर भएका छन् -

"चाँप र गुराँस फुलिसके मायालु!

तर तिमी वसन्तसित फर्केर आइनौ।"

"सुखपछि दु:ख र दिनपछि रात" भनेझैं उनले बिछोडपछि सुखद मिलनको मिठो कल्पनालाई आफ्नो अन्तरहृदयबाट बाहिर निकाल्न सकेनन्। मुटुमा मिठो माया साँचिरहे वास्तविकता जान्दाजान्दै पनि।

उनी अझै आशालु नेत्रले देउरालीमा सुस्ताएर आफ्नी मन परेकी ठिटीको यादमा यसरी भौंतारिएका छन् -

"तिमी आउँछौ कि भनेर

तिम्रो पदचाप सुन्नु सुस्ताइरहेछु देउरालीमा।"

हे पाषाणहृदयी! अब त तिम्रो मनमा कतै दयाको एउटा सानो कण पलायो होला कि भनेर प्रतीक्षा गर्दागर्दै यति लामो अवधि बितिसक्यो भन्दै कवि आलाप र विलाप गर्छन् यसरी -

"एक युग बितिसक्यो पर्खिँदा

कि तिम्रो देश (अन्तर)-बाट कुनै

जहाज आउला कि भनेर

पुऱ्याउन मलाई सुनौलो किनारसम्म।"

मान्छे जब निराशाको चपेटामा पर्छ र त्यसले विह्वल बन्दछ, तब उसले रक्सीलाई नै सर्वोत्तम सहारा सम्झिन्छ। हु त खुसियालीमा पनि मानिसहरू सुरापान गर्ने पर्छन् तर दु:खद परिस्थितिमा त्यसलाई सहारा, आँट र भरोसा ठानेर पिउँछन् - सारा दर्द भुल्न। विस्तारै-विस्तारै त्यसले पिउने व्यक्ति स्वयंलाई खाइदिन्छ, पचाइदिन्छ र अनन्तकालको गर्भमा धकेलिदिन्छ भन्ने तथ्य यहाँनेर टढकारो देखाहा परेको छ उनको कवितामा जुन तलका पंक्तिमा स्पष्टसँग व्यक्त्याउने प्रयास गरेका छन् कवि दीपकले -

"दुर्बल भइरहेछ अङ्ग-प्रत्यङ्ग

त्यसकारण एक सम्बन्ध जोडिदिन्छु रक्सीसित

म पनि रक्सी बनिदिन्छु

तिम्रो यादमा पिइदिन्छ मलाई।"

"मेरो अभियान वर्तमानसित"  शीर्षक कवितामा कविले आफ्नो विगत र वर्तमानलाई दुइ समानान्तर रेखाका रूपमा तुलना गरेका छन्। ती दुइ समानान्तर रूपमा कोरिएका रेखाहरूको मिलन कहिल्यै पनि हुँदैन भन्ने कुरो ध्रुव सत्य हो भनी रेखागणितले उहिले नै प्रमाणित गरिदिइएको कुरालाई कविले आन्तरिक हृदयदेखि नै स्वीकारेका छन्। विगतको मिठो याद र वर्तमानको शाश्वत परिस्थितिबीच सधैँ मेल नकाएको व्यथा कविले यसरी व्यक्त गरेका छन् -

"आपस्तमा ठक्कर खाँदाखाँदै रक्ताम्मे हुन्छन्

औ म भिजिरहन्छु यिनका रगतसित सधैँ।"

यहाँनेर कवि भूतको मिठो याद, वर्तमानको जटिलता एवं भविष्यको सुखद कल्पनामा तल्लीन भएका छन्। उनलाई वर्तमानको जटिलताले गर्दाखेरि सम्पूर्ण जीवन नै कारागारजस्तो लाग्छ। उनलाई विगतको सुखद स्मृतिले कहिल्यै पिछा छोडेन।

त्यसरी नै 'आलो चिहान'   शीर्षक कवितामा कवि दीपकले आफ्नो चिहान आफै खनेको कुराको उल्लेख गरेका छन्। उनले भन्न खोजेको चिहान ढुङ्गा, माटो र बालुवाले बलिएको चिहान होइन तर त्यो आस्था, विश्वास एवं तिरस्कारले बिएको चिहान हो। कविकै शब्दमा भन्नुपर्दा -

"ढुङ्गा, माटो र बालुवाले बनिएको चिहान होइन यो

तर आस्था, विश्वास एवं

तिरस्कारले बनिएको चिहान हो यो।"

सूर्य उदाउँदै-अस्ताउँदै गर्नु प्रकृतिको नियम नै हो भनौं यो एउटा यथावत् दिनचर्या हो विधिको। कविले 'अव्यक्त विवेचना'  शीर्षक कवितामा जसरी सूर्य उदाउँदै गर्छ त्यसरी नै मानवप्राणी पनि यस विश्वमा जन्मंदै-मर्दै गर्छ। यसै क्रममा उनले आफुलाई पनि तेर्स्याएका छन्। उनले बालककाल निश्पाप एवं निष्कलङ्क हुन्छ भन्ने कुरा यसरी स्पष्ट पार्ने प्रयास गरेका छन् -

"मेरो शैशवकालको त्यो काल

अनभिज्ञताको जेलखानामा थुनिएको थियो

अपरिपक्वता! मेरो प्रत्येक अवयवको।"

बालककालमा आमाको न्यानो काख र स्तनपान नै सर्वस्व हुन्छ एउटा शिशुको र उनको पनि आफुलाई त्यसैमा रमाइरेहोको सुखद स्मृति यसरी व्यक्त गरेका छन् -

"मातृत्वको न्यानो औ सुखद काखमा

आमाको दुधे स्तनमा मेरो संसारको अभिव्यञ्जना थियो।"

जसरी रविले दिउँसो प्रखर एवं प्रचन्ड ताप दिनसक्छ त्यसरी नै मानवप्राणी पनि  पूर्णरूपले मात्र युवा भइसक्दा उसमा पनि उदन्डता आउँछ र उ के गरौं तथा कसरी आफ्नो प्रभुत्व फिँजाउँ भनी चिन्तित बन्न थाल्छ। जीवनको यही ऊहापोहमा उसले आफ्नी जीवन सहचरी पनि छान्न पुग्छ। यो एउटा स्वाभाविक प्रकृया हो भन्ने कुरालाई कविले 'अव्यक्त विवेचना'-मा व्यक्त गर्न खोजेका छन् -

"घुम्दै-फिर्दै सम्झें टार" भनेझैं कवि दीपक उनका प्रत्येक कवितामा आफ्नी प्रथम प्रेयसीका कल्पनातीत बाहुपाशबाट मुक्त हुनसकेका छैनन्। यस संगालोमा उनको जीवनको वेदना एवं अन्तर्व्यथा स्पष्टसँग प्रतिबिम्बित भएका उदाहरणहरू लछेप्रै पाइन्छन् 'आधारशिला'-भरि नै।

अब म उनका मनका वेदनाहरूबारे अरु चर्चा गर्न उचित ठान्दिनँ किनभने उनलाई सम्पूर्ण रूपले नङ्ग्याउनु नै मेरो ध्येय होइन। अपितु उनलाई चिन्हाउनु मै मेरो परम कर्तव्य ठान्छु।

सुन्दर आवरणमा सुसज्जित तथा एक सुदक्ष साहित्यिकका सम्पादनमा निस्केको यो 23-वटा कविताहरूको संगालो - 'आधारशिला'-को मूल्य केवल 10 रुपियाँ मात्र राखिएको छ जुन यस मंहगीको जमानामा उचित नै त के सस्तो हो भन्नुपर्छ। 'जान्नेलाई श्रीखण्ड नजान्नेली खुर्पाको बिंड' भनेझैं साहित्यप्रति अबिरुचि भएका पाठकवर्गले त्यसको मूल्याह्कन स्वयं गर्छन्। मैले यहाँ अकबरी सुनलाई कसी लाइरहनुपर्ने कुनै आवश्यकता देखिनँ।

अन्त्यमा नेपाली साहित्य भण्डारले उहाँबाट यस्तै अन्य धेरै उत्कृष्ट कृतिहरूको चाहना राखेको कुरा भन्ने म खुस्रुक्क उहांका कानमा पुऱ्याउन भने पछि पर्दिनँ। उहाँ आफ्नो मार्गमा बिना रोकटोक सदैव अघि बढिरहन सकून् भन्ने शुभकामना व्यक्त गर्दछु। (समीक्षाको रचनाकाल -1993)

किनाराका आवाजहरू - को अङ्रेजी संस्करण

लब्धप्रतिष्ठित कवि मनप्रसाद सुब्बा र भारतीय नेपाली कविता जगत्मा आफ्नै ठाउँ बनाइसकेकी रेमिका थापाका कविताहरूको संयुक्त सङ्कलन किनाराका आवाजहरू-को अङ्रेजी संस्करण सुनचरी प्रकाशनले प्रकाशित गर्दैछ। छापामा गइसकेको यो अंग्रेजी संस्करणमा मनप्रसाद सुब्बाका कविताहरू स्वयं कविले अनुवाद गरेका छन् भने रेमिका थापाका कविताहरूको अनुवाद डा. कुमार प्रधानले गरेका छन्। सुनचरी प्रकाशनको निकट भविष्यमै भोइसिस फ्रम द मार्जिन-को लोकार्पण गर्नेछ। स्मरण रहोस्, किनाराका आवाजहरू-को पहिलो संस्करण श्याम ब्रदर्स, दार्जीलिङबाट नोभेम्बर,2008-मा र दोस्रो संस्करण दिसम्बर 2008-मा उपमा प्रकाशन, कालेबुङले छापेका थिए। (सुनचरी, 13 जुलाई,2009-बाट साभार)

आत्मीय आवाजको अनुभव 'क्षर-अक्षर'

 

रम्परालाई उछिनेर भोटेको जीवनको गति र आधुनिक चेतना मिसाएर कवितासृजनामा सक्रिय रहेका राजेन्द्र भण्डारीको क्षर-अक्षरनामक कवितासङ्ग्रह इ. 1998 को भानुजयन्तीको अवसर पारेर प्रकाशित भएको छ। सिक्किमबाट झुल्किएका कवि भण्डारीमा नेपालबाहिरबाट लेखिने कविताहरूमध्ये सबैभन्दा राम्रो सम्बावना भएको कपरा प्रस्तुत सङ्ग्रहका केही उच्च चेजनायुक्त कविताहरूले देकाएका छन्।

नेपाली कविता अहिले पाठकीय संवेदनाबाट टाढा भाग्न थालेको जस्तो देखिन्छ र यसले जीवनका सार्वजनिक पाटाहरूलाई छाड़ेर कथित गम्भीरताको आवरण ओढिरहेको पाइन्छ। यस्तो परिस्थितिमा कवि भण्डारीले जीवनका सामान्य लाग्ने पक्षहरूलाई पनि अत्यन्तै मिठास र नवीन योजना दिएर कविताका मूच्र्छनाहरूमा बाँधेका छन्। मिथकलाई नयाँ संस्कारमा भिजाएर नौला आस्वादनका व्यञ्जनहरू पस्केका छन्। प्रस्तुत सङ्ग्रहका अठचालीसओटा कवितामध्ये उत्कृष्ट कविताहरूमा यस्तै जीवनबोध र अनौठो स्वाद पाइन्छ।

यस सङ्ग्रहको 'बतासमा उड्दै गएको मेरो पत्कर' कवितामा कविले भूपि शेरचनको 'मेरो चोक' कविताको मनोरम 'क्यारिकेचर' प्रस्तुत गरेका छन्। घरलाई चोकको रूप दिएर गरिएको यस 'क्यारिकेचर' मा कवितात्मक विनिर्माण (पोइटिक डिकन्स्ट्रक्सन) को सौम्य झाँकी आत्मीय रूपमा आएको छ। लोकगीत र संस्कृतको सूक्तिको प्रयोग गरी सामान्य जीवनको चित्रणझैं लाग्ने यस कविताले दार्शनिक गहिराइलाई पनि आफूमा समेटेको छ। गोठालो र मुरलीको प्रसङ्ग कविताको क्रूर सत्य बनेर यसको केन्द्रमा आएको छ -

पारि गाउँमा कुनै गोठालो

मुरलीका सात प्वालहरूमा

आफूलाई सात टुक्रा पारेर फुकिरहेको हुन्छ। (पृ.27)

त्यस्तै, 'कङ्क्रिटको आकाश' शीर्षक कविता भूपिकै 'मेरो देश' कविताको विनिर्माण हो। भूपिको कविताको सुन्दर लाग्ने प्राकृतिक परिवेश यसमा फुङ उडेको र विसङ्गत छ। उत्तरआधुनिकतावादी (पोस्ट मर्डिनिस्ट) चेतनासहित लेखिएको यस कवितामा ईश्वरले प्रत्येक बिहान मानिसको आरती गरेको विपर्यासमूलक संरचना पाउन सकिन्छ। बुलेटका आरुबखडा, ग्रिनेडका मुटु, सिल्कन शिष्टाचारहरू, छातीको ओदान आदि बिम्बहरूले यह अवस्थालाई प्रकट गर्दछन्। 'विभक्ति' शीर्षकको छोटो कविता यस सङ्ग्रहको उत्कृष्ट कविता हो। शब्दको खेलमा एउटा विभक्तिले कति ठूलो अर्थ वहन गर्दोरहेछ भन्ने कुरालाई यसले देकाएको छ। तिमी र मेराबीच विभक्तिको अभावले सम्बन्धलाई खल्लो, आत्मीयतालाई रित्तो र विश्वासलाई फिक्का बनाएको प्रसङ्ग यसमा पाइन्छ। नेपाली जातित्वलाई टुक्र्याउने राजनीतिक सीमा विभक्ति बन्न नसकेको पीडा पनि यसमा छ र एउटा बृहद् काव्यका रूपमा शक्तिपुञ्ज बन्ने आशा पनि यसले देखाउँछ।

'इस् पढ्छु तेरो कविता' मा कविले आधुनिक संवेदनशीलता र यान्त्रिक व्यावसायिकताको खिल्ली उडाएका छन्। पैसाको सती जाँदै गर्दा मान्छेको जीवन विधवाको सिउँदो उडाडिए झैं उजाड बन्दो छ भन्ने भाव कवि यसरी देखाउँछन् -

के-को कविता न सविता?

सो स्याड्, मेरो पप्पीले बिहानदेखि सु गरेको छैन

को-को कविता न सविता।

कविताले बिल्डिङ बनिन्छ? (पृ. 61)

'पर्खाइको एउटा गीत' ले जातित्व र भ्रातृत्वको मुलायम शङ्खघोष गरेको छ। अगमसिंह गिरीको ढाँचामा नेपाली जीवनशैलीप्रति अनन्य भक्ति देखाउँदै खोक्रो आडम्बरले अर्काको दास भएको कुरालाई व्यङ्ग्य गर्ने यस्तो कविता नेपालीमा आउनु साह्रै खुसीको कुरा हो। सभ्यताको यात्रामा जुटेका नेपालीहरूमा गरिएको यस आह्वानका लागि कवि भण्डारीलाई म हार्दिक अभिवादन गर्दछु।

यस सङ्ग्रहको अन्तिम कविता 'तारमा हल्लिरहेको छ आमाको फरिया'  अत्यन्त ओजिलो र जीवनलाई अन्तरबाट छाम्नसक्ने रचना हो। आजका धर्तीमा इडिपसका नयाँ संस्करणहरू जन्मिरहेका बेलामा आमाको वेदना बुझेर मार्मिक सत्यलाई यति नजिकबाट उप्काउनसक्नु कविको क्षमता हो। अन्तर्राष्ट्रिय युद्ध र मानवतावादका भाषण छाँट्ने तथा विसङ्गतिमै नाच्ने आजका कथित 'महान'  कवि भनिनेहरूले यस्ता कवितामाथि दृष्टि दिन सके आफ्नै छायाँको पीडा उज्यालामा ल्याउन सके हाम्रो कविता कति सुन्दर र स्वच्छ हुने थियो होला! उनको 'बजार गरेर'  कविताले पनि अभावको गहिरो संवेदना उदघाटन गरेको छ।

यी केही महत्वपूर्ण कविताका छायाँमा परेर हो कि किन हो भण्डारीका अन्य कविताहरूमा सशक्तता भेटिन्न। केही सामान्य लाग्ने कविताहरू जस्तै - 'गोरेटो', 'शब्दचित्र','खिडकी', 'साँझपख हिजो','मसिना खुसीहरू'  आदिमा कविले जीवनलाई दार्शनिक रङ्ग दिएका छन् तर तिनको शैलीमा प्रक्षेपणको मीठोपन थेग्रिन सकेको छैन। अन्य कविताहरूमा सामान्य भाव भेटिन्छ तर भण्डारीका केही प्रतिनिधि कविताहरूले मात्रै पनि उनलाई नेपाली कविताका क्षेत्रमा स्मरणीय बनाउने क्षमता हासिल गरेका छन्। अनेपाली वाक्यविन्यास शब्दलाई त्यागेर नेपाली पानी भरिएका कवितासृजना गर्ने कविको ,योजनशक्ति अझै प्रभावकारी बनोस् भन्ने शुभाकाङ्क्षाका साथ, अक्षरपर्वमा सामेल भएका कवि राजेन्द्र भण्डारीलाई म हृदयत:  बधाई ज्ञापन गर्दछु।

 

कृति - क्षर/अक्षर (कवितासङ्ग्रह),कवि - राजेन्द्र भण्डारी, प्रकाशक - जनपक्ष प्रकाशन (सिक्किम), संस्करण - प्रथम (इ.1998), मूल्य - रु.55/-पृष्ठ - 86

- नेत्र एटम

(गरिमा असार 2056, साझा प्रकाशन, ललितपुर,नेपाल-बाट साभार)