|
विनिर्मित कथा

दोलखे दाइको नातिले छक्कै
पाऱ्यो
कालूसिंह रनपहेंली
एक साँझको कुरा हो। म कुखुरलाई लिस्नु लगाएर तिनीहरू खोरमा
चढेपछि गोठ धन्धातिर जानलाई पर्खिरहेको
थिएँ। सिकुवामा एक
अल्लारे युवा देखा पऱ्यो। मैले चिनिनँ उसलाई र सोधें,
"हन नानी को हुनुहुन्छ?
यो साँझमा यहाँ किन आउनुभयो?"
युवाले सोध्यो, "आइ.के. बाजेको घर
यही हो?"
"अँ हो अनि त्यो आइ.के. सिंह भन्ने
मान्छे पनि म नै हुँ। किन के काम पऱ्यो मसित?"
अल्लारेले मेरो छेउमा आएर शिर निहुराउँदै भन्यो,
"ढोग छ है बाजे!
म तपाईंको नाति! तपाईंहरूलाई नै
भेट्न टाढोबाट आएको!
"हन कताबाट तिमी मेरो नाति?
कुरा खोलेर भनन अनि पो पत्याउँला!"
"हाम्रो बाजे दोलखे एकपल्ट
तपाईंकहाँ आएर हप्तादिन बसेर गएका थिए 'रे।
बाजेले नै गएर तपाईंलाई भेट्नु भन्नुभएको थियो र सोद्धै र
खोज्दै बल्ल -
तल्ल यहाँसम्म आइपुगें।"
"ए तिमी दोलखे दाइको नाति?
कस्ता छन् मेरा दोलखे दाइ हँ?"
आगन्तुकले मेरो प्रश्नको केही उत्तर दिएन। केही अन्कनाएर उसले
सोध्यो, "अन्त बोज्यू कता हुनुहुन्छ?"
"बोज्यू भित्रै छिन् चुल्हामा
भान्सा तयार गर्दैछिन्। जाऊ त भित्रै। म गोठधन्धा सकेर
आइहाल्छु। इ हेरन! तिमीलाई देखेर
कुखुराको माऊ लिस्नुमा चढ्नु नै सकेको छैन।"
"हन यो लिस्नु
भनेको के हो नी बाजे?"
"अरे बाबा लिस्नु पनि चिन्दैनौ तिमी?
यो कुखुरा चढेर ऊँभो खोरतिर जाने सिँढीलाई लिस्नु भनिन्छ,
बुझ्यौ? यति पनि नचिन्ने तिमी मेरा
दोलखे दाइकै नाति हौ के त?"
"ए... हाम्रा बाजेहरूले दोलखाको घरबारी कहिले
बेचेर काठमाडौमा नै एउटा फल्याट लिएर बसेका 'रे
अनि मेरो जन्म पनि त्यहीं भएको अरे! अब
फल्याटमा कहाँ कुखुरा पाल्नु र के अरे लिस्नु कि ठिस्नु पनि के
जान्नु? ल त म भित्र बोजूलाई भेटूँ है
त!"
मैले आँगनबाटै कराएर भनें,
"आरती!
दोलखे दाइका नाति आएछन्। म गोठधन्धा सिध्याएर आउँछु भित्र
बसाएर बात गर्दै गर है!"
नाति केटो भित्र पस्यो। कुखुरा पसिसकेपछि
खोरको दैलो थुनेर चुक्कुल लगाइवरी गबुवा बोकी म गोठतिरै लागें।
गाई भर्खर बियाएकोले दूध दिन मानेन र पछाडिपट्टि खुट्टे डोरी
बाँधेर दूध दुहेपछि बाछो छोडिदिएँ। गाईलाई दुई
अँगालो घाँस
लगाएर म गबुवा झुण्ड्याएर घरभित्र पसें।
नाति बोजूलाई भन्दैरहेछ,
"बाजे
बितेको पनि दुई साल भइसक्यो नी बज्यू!
बाजेले बित्ने बेलामा मलाई बोलाएर 'हेर
नाति, हाम्रा एकजना भाइ खरसाङमा छन्। उनी रेडियोमा ठूलो हाकिम
छन्। उनलाई एक दिन गएर भेट्नू। बहुत दिलदार मान्छे छन्। हाम्रो
सन्तानमा उनी नै सिनेमामा खेल्ने एकैजना र नामी मानिस हुन्।
एकपल्ट कसै गरेर भेटेस् है! खरसाङ
रेलको स्टेशनबाट सिधै सडकै - सडक जानू र माथ्लो सिरुबारी भन्ने
ठाउँमा उनको घर छ। त्यहाँ कसैलाई सोधे पनि घर बताइदिन्छ',भन्नुभएको
हुँदा म सोद्धै र खोज्दै त्यहाँसम्म पुगें। त्यहाँ पुगेर
देख्छु त आधा किलोको ताला दैलोमा!
गाउँघरमा सोध्दा थाहा लाग्यो, तपाईंहरू यता रोहिणीमा पनि
बस्तीबारी लिएर बस्नुभएको छ भन्ने। लगत्तै
फर्केर मोटर स्ट्याण्डमा पुगें अनि रोहिणी भएर सिलगढी जाने
एउटा गाडी पक्रेपछि यो बस्तीको मुखसम्म आइपुगें। त्यहाँदेखि
फेरि सोधीखोजी गर्दै आइपुगेको हुँ बज्यै।"
मैले भनें, "हन दाज्यू बितेको त
हामीले पत्तो पनि पाएनौं। थाहा पाएको भए कमसेकम हामी बार्ने
थियौं र चोखिने पनि त थियौं यहीं भए पनि।"
"अन्त बाजेको मोबाइल नम्बर थाहा
भएको भए त म एसएमएस गरिहाल्थें नी!
यो घर खोज्नु त कस्तो धौ - धौ!"
"बिचरा दाइ!
बडो जानकार मान्छे थिए। उनले कतिकति कुराहरू हामीलाई
सिकाइराखे। उनकै प्रेरणाले भनौं मैले पनि अवकाश प्राप्तिपछि
पाइएको ग्यार्चुटीको पैसाले यहाँ रोहिणीमा पनि अलिक खेतबारी
लिएँ। यहाँ बस्ती खेतमा आजकल हामी आफै धान रोप्छौं, अन्न
फलाउँछौं र आफ्नै पसिनालाई अघिपट्टि पस्केर खान्छौं। यता
बस्तीमा मैले हाम्रो आफ्नो चिनारीका केही सर सामग्रीहरू जोडेको
पनि छु। हामीले नै हाम्रा चीजबीजहरू नचिने कसले आएर
चिनाइदिन्छन् र होइन नाति?"
"हो नी बाजे हो!
हाम्रा हजूरबालाई के के थाहा थियो थियो!
म त बुझ्दिनँ पनि थिएँ उनका कति कुराहरू त!"
बस्तीको घरमा चकटी ओछ्याएर नाति पनि बस्यो अगेनाको छेउमा। मैले
गबुवाको दूध ठूलो कुँडेमा खन्याएर आरतीलाई भनें,
"यो गाईले दूध दिनै मान्दैन। भर्खर
बियाएको गाई फकाई - फकाई यति दुहें। अब दूध उमाल र यो नातिलाई
बिगौती खुवाऊ।"
नाति छक्क परेर भन्यो, "हन बाजे यो
बिगौती भनेको चैं के हो?"
मैले भनें, "ए नातिलाई थाहा छैन?
गाई बियाएको छ। यो बेला दुहेको दूधचाहिँ बाक्लो न बाक्लो
हुन्छ। तताएर राख्दा त्यो तरल दूध ढेकाढेका हुन्छ, त्यसैलाई
बिगौती भनिन्छ। बिगौती एकदम तागतदार हुन्छ। नातिलाई चाख्नु
दिइहाल त आरती!"
दूध उम्लेर सेलाएपछि बिगौती एउटा कटौरामा हालेर आरतीले नातिलाई
दिई। नाति छक्क परेर भन्यो," हन यो
हलुवाजस्तो दूधलाई नै बिगौती भनिन्छ? टेस्ट
पनि साह्रै राम्रो हुँदो रहेछ त!"
"अब अघि त हामी पनि क्यै
जान्दैनथ्यौं। यो बस्तीमा खेत लिएर गाईलाई पालेर बस्नु थालेपछि
यस्ता कुराहरू जान्ने भएका छौं।"
"हो नी बाजे।
हिजोआज त हामी उता गाईको दूध पनि चलाउँदैनौं। घरमा पाउडर दूध
ल्याइराख्छौं, चिया कफी पिउँदा
त्यै पाउडर दूध पानीमा फिट्यो र
बनायो, भइगयो।"
"अब भो! कस्तो जमाना
आयो। शहर - बजारमा ताजा र शुद्ध चीजबीजहरू पाउने पनि कहाँ हो र
नाति?"
बेलुकी घरका दुई गोठालाहरूले ठेकीको दहीलाई
मझेरीको खाँबोछेउ राखेर मही पार्नलागे। नाति केटाले छक्क पर्दै
भन्यो,
"हन बाजे तपाईंहरू घरमा हातैले
इलेक्ट्रिक जेनेरेट गर्नुहुन्छ कि कसो?"
"किन नाति?" मैले
सोधें।
नातिले प्रश्न गऱ्यो,"यी
दुई भाइले के गरेका हुन्?"
"ए नाति तिमी त आफ्नो पुऱ्ख्यौली सर - सामान
पनि नचिन्ने भएछौ। कहाँका ती दोलखे दाइ, कहाँको उनको यो नाति!
यो चाहिँ तिनीहरूले घिउ बनाउँदैछन्। त्यो दही भएको भाँडो हो
दारको ठोकी। त्यो ठेकीभित्र हालेर घुमाउँदै गरिएको औजारलाई
मदानी भनिन्छ। प्राय: बाँसको वा काठको
चारैतिर छेडिएको च्याप्टा चारपाटा पोरा राखी यसलाई बनाइन्छ।
त्यसलाई फन्को मारेर ओहोर - दोहोर गर्दै तान्ने डोरीलाई नेती
भनिन्छ। त्यसैले घोलेर मही पारेर नौनी निकालिन्छ। त्यो घोलिएर
घिउ निस्केपछि ठेकीको तरललाई मही भनिन्छ। पर्ख है बनिसकोस्
तिमीलाई पनि मही चखाउँला। भातमा नौनीको डल्ला हालेर मुछ्दै
खानु ख्याल मजा हुन्छ र?"
उसले भन्यो,
"दहीलाई
एउटा ठूलो बट्टामा हालेर मारसित हल्लाउँदा पनि घिउ बन्दो हो नी
बाजे?"
मैले भनें,
" खै त्यसो
गरेर त मैले हेरेको छैन तर तोलङमा पनि मही पारेर घिउ
निकालिन्छ। तोलङ भनेको बाँसको धिरीजस्तो लामो ढुङ्ग्रो हो।
ठूलो घेरो भएको विशेष भालू बाँसको मास्तिरको एउटा वा दुईवटा
आँख्लालाई खोलेर फेदको आँख्ला राखेर त्यसलाई बनाइन्छ। जमाएको
दही र तरहरू
त्यसमा हालेर घोलेपछि नौनी बनिन्छ। त्यस्तो तोलङमा
हातले समाएर तलदेखि माथि र माथिदेखि तलसम्म घोल्ने मदानीजस्तै
एउटा औजार हुन्छ, त्यसलाई शरो भनिन्छ। यहाँ हाम्रो घरमा पनि
भित्र कोठामा त्यस्ता तोलङ र शरोहरू छन्। यी गोठालाहरू कहिले
तोलङमा मही पर्छन् त कहिले यसरी ठेकीमै मदानी घुमाउँछन्।"
बेलुकी खानपीन सकेपछि नातिलाई आरतीले बाहिरको कोठामा भएको
पलङमा ओछ्यान लगाइदिई। अलिक मच्छर लाग्छ यता। नातिको
पलङमा पनि मैले एउटा मच्छरदानी टाँसिदिएँ अनि उसलाई ओछ्यान देखाएर
भनें, "लू अब मच्छरदानीभित्र पसेर
आराम गर नाति।"
नातिले भन्यो,"हन आजकल कहाँ
मान्छेले मच्छरदानी लगाउँछन् र?
इलेक्ट्रिकल पावर पोइन्ट छ भने त आजकल अल आउट कि मस्किटो म्याट
लगाए भइहाल्यो नी! यो नेटभित्र त
मलाई सफोकेशन भएजस्तो लाग्छ। ठीकै छ अब बस्तीमा कता पावर
पोइन्ट र कता अल आउट?" नातिले फेरि
भन्यो, "राती टोयलेट बाथरूम
जानुपर्ला टर्च लाइट छ भने दिइराख्नोस् है बाजे?"
मैले हिजो मात्रै मसला फेरेको टर्च लाइट नातिलाई दिएर भनें,
"त्यो लेम्पचाहिँ सुत्दा सानो
बनाउनु है नाति! कि त निभाइदिँदा
पनि भयो।"
नातिले भन्यो, "हुन्छ बाजे, गुड
नाइट!"
असारको महिना छ। हामी बस्तीवालाहरूको धान रोपाइँको यो बेला।
हतार छ काम सक्नु। पर्सि आफ्नो खेतमा धान रोपाइँ छ। भोलि
अन्तिम तयारी गर्नु छ खेतको। खेतालाहरू गाउँभरिबाट आउनेछन्।
घरमा दुई भतिजाहरू र दुई भाइ गोठालाहरू पनि छन्। उनीहरूले
रोजगारीहरूसित मिलेर खेत तयार पारिसकेका छन्।
नातिलाई पनि हामीले लग्यौं धान रोपाइँमा। शहरका अल्लारे ठिटो
धान रोपाइँको दृश्यले ऊ उल्लसित भएको छ। बीउ काड्नेहरू बियाड
उखेल्दै बिटा पार्दै लश्कर बनाउँदैछन्, ओसार्नेहरूले धमाधम
ओसार्दैछन्। नातिले दाँदे लगाएको देखेर सोध्यो,
"हन बाजे त्यो गोरूलाई धपाउँदै त्यो
मान्छे हलोमा चढेर किन ओहोर - दोहोर गर्दैछन्?"
मैले बताएँ, "ए तिनी त हली हुन् र
तिनले दाँदे लगाउँदैछन्। त्यो गोरूले तानेको जोत्ने हलो होइन
त्यसमा काठको हिलो सम्याउने औजार कसिएको छ। त्यसको मुनिपट्टि छ:
वा आठवटा दाँत लगाइएको हुन्छ। त्यसैलाई गोरूले तानिरहेको छ।
त्यसलाई दाँदे भनिन्छ। त्यसमा हलीले समात्ने दुईवटा अनौ हुन्छ।
त्यो हातमा हिलो सम्याएर फ्याउरी लिएर गरिरहेका मान्छेलाई
चाहिँ बाउसे भनिन्छ। उसले दाँदेले हिल्याएको हिलो माटोलाई अझ
मिलाउँदै आउँछ।"
"अन्त बाजे, हलो पनि दुई थरीको
हुन्छ?" नातिको जिज्ञासा छ।
म बताउँछु, "हलो मात्रै भनेर कहाँ
हुन्छ नाति! बाँझो बारी जोत्ने हलो
भिन्दै हुन्छ र यो खेतमा हिल्याउने हलो भिन्दै हुन्छ। बाँझो
खेत तथा जोत्ने हलोलाई बाँझे हलो भनिन्छ तर त्यही हलो जोत्दा -
जोत्दा खिएर सानो भएपछि हिले हलो बनाएर चलाइन्छ तर हलो उस्तै
हुन्छ। त्यो हलो देख्दैछौ? त्यसमा
गोरूको काँधमा तेर्सो पारेर कसिएको काठलाई जुवा भनिन्छ। जुवा
दुई गोरूको काँधमा ख्याप्प पस्नलाई चारवटा काठका सोइला लगाइएका
हुन्छन्। ती सोइलामा पसेको गोरूका काँधहरूमा जुवा नहल्लियोस्
भनेर डोरीले कसिन्छ र त्यो कस्ने डोरीलाई जोतारो भनिन्छ। त्यो
जुवालाई हलोसित जोड्ने लामो काठ हो हरिस, त्यसलाई जुवामा
जोड्ने त्यो बटारिएको छालाको मोटो बरियोलाई हल्लुँड भनिन्छ।
पानी परेन भने कृषकहरूले हल्लुँड सिमसारमा गाड्ने चलन पनि छ।
त्यसो गर्दा पानी पर्छ भन्ने कृषकहरूको लोक विश्वास छ। अब त्यो
हरिस गएर हलोको जोत्ने फेदमा एउटा फेसा ठोकिन्छ, त्यो फेसालाई
भनिन्छ पाटी। बारी जोत्ने हलोको फेदमा भूमि जोत्नलाई
खन्तीजस्तो फलामको टुक्करा ठोकिन्छ। हलीले पक्रने लट्ठीजस्तो
भागचाहिँ भनिहालें त्यो अनौ हो। बुझ्यौ नाति?
पर हेर त रोपाँरहरू धान रोप्न लागे।"
"अब फेरि यो रोपाँर भनेको को हो बाजे?"
नातिको प्रश्न हरिसजस्तै तेर्सिन्छ मअघि। म बताउँछु,
"हेर त त्यता!
ती धान रोप्ने ठिटी, युवती र महिलाहरू छन् नी!
तिनीहरूलाई रोपाँर भनिन्छ। हेर त दाँदे लाउने जेठा मगरले त
लोकगीत गाउन पनि थाले! नाति कान थाप
है! यहाँ हाम्रो संस्कृतिको साँचो
गुञ्जन पाइन्छ।"
नातिले कान ठाडो पाऱ्यो, हावाले गीतका शब्दहरू ल्याएर कानमा
थुपाऱ्यो -
ए... आलीमा ताछी नी
दाँदेमा लगाई नी
तयारी गैरी खेत
रोपांर रानी असारे गाइदेऊ
कहाँ होला फेरि भेट...
नाति मक्खै छ। मैले भनें, "नाति आज
त असार पन्ध्र पनि हो। दिउँसो दही चिउरा पनि खानुपर्छ है!"
"हन आज किन दही चिउरा खाने बाजे?"
नातिको जिज्ञासाको अन्त्य छैन।
म उसलाई बताउँछु, "हेर नाति, हाम्रो
हरेक चाडपर्वमा विशेष खानेकुरा पाक्छ, जस्तै तिहारको भाइटीकामा
हामी सेलरोटी पोल्छौं र खान्छौं, बिहेमा कसार बाटिन्छ, तीजमा
दर र ढकने खाइन्छ, माघे संक्रान्तिमा बन - तरूलको टीक लगाएपछि
कन्दमूल अर्थात् तरूलहरू उसिनेर खाइन्छ, दशैंमा मासु भारमा
सिला पारेर राख्दै मनग्गे खाइन्छ, त्यस्तै यो असार पन्ध्रमा
दही चिउरा खाइन्छ। कतिजनाले भन्छन्, असार पन्ध्रमा दही चिउरा
खाएको कारण
चाँहिँ हो समय बचाएको! घरका
सबैजना र गाउँ - घरका खेतालाहरू धान रोपाइँको काममा व्यस्त
हुन्छन्। हुन पनि यति बेला नै हो मानु खाएर मुरी
उब्जाउने समय!
तर हिजोआज शहर - बजारकाहरू पनि बिहान साँडे नौ बजे उठेर असार
पन्ध्रमा किनेर ल्याइएको दही चिउरा खान्छन्।"
मैले हाँस्दै कटाक्ष पनि ठोकिहालें।
नातिले के - के सोचेर मलाई पनि काम सघाउन
दिएको छैन। हुन त म बूढा मान्छे यसो देखरेख गर्नु मात्रै हो।
नातिले प्रश्न गऱ्यो,
"हन बाजे यो
खेतका भित्ताहरू चाहिँ किन ताछेको?
फेरि खेतको डिलचाहिँ किन अग्लो पारिएको?"
"ए नाति त्यो खेतको भित्तालाई कान्ला भनिन्छ।
त्यो गराको छेउमा उठाइएको डिलचाहिँ खेतमा पानी लगाउँदा त्यसलाई
बाहिर बग्नुदेखि रोक्नु अनि खेतमा प्रशस्त पानी लगाउनु हो। यो
डिललाई आली भनिन्छ। त्यही आली अलिक होच्याएर सानो
गल्छेंडोजस्तो बनाइएको छ नी! त्यसलाई
समाहा भनिन्छ। त्यो गरामा चाहिएको पानी भरिएपछि त्यसबाट बगेर
अर्को गरामा जाँदछ।"
"अन्त यो पानीचाहिँ कताबाट बगेर आउँदैछ खेतमा
बाजे?"
"यो पानीचाहिँ उ त्यो परको खोल्सामा बग्दै
गरेको खोलाबाट कुलो काटेर यहाँ ल्याइएको छ। त्यो पानीकै भरमा त
यत्रो खेतलाई सिञ्चन गर्नु छ नी नाति!"
रोपाँरहरू गीत गाउँदै हिलो छेपाछेप गर्दै धान
रोप्न लागे। पल्लो घर माइलाले शुरु गरेपछि त सबै रोपाँरहरू पनि
मच्ची - मच्ची गाउन लागे -
हे...नौमती बाजा नी घनक्क घन्क्यो
नी बाबैको बारीमा
हाँसखेल गरौं नी रामरौसै
गरौं अहिलेको भेटैमा
पानी है पऱ्यो भेलबाढी बढ्यो असारलाई ढाकेर
रोपौं है धान मङसिरमा खान देउतालाई भाकेर
असारको रोपाइँ मङसिरको दाइँ
भेटमा हुन्छ कहिलेमा काहीं
छुइयामा हा हा!
हा हा!
छुइयामा हा!
नातिलाई साह्रै रमाइलो लागेछ। ऊ हेरेको हेरेकै भयो। उसलाई मैले
बताएँ, "अघिअघि धान रोपाइँमा बेठी
लगाउने चलन थियो। बेठी भनेको रोपाइँमा पञ्चै बाजा बजाई भोज
खुवाउने काम हो। ठूला मण्डलहरूको बेठीमा त झन् नौमती
बजाइन्थ्यो।"
"हन यो नौमती र पञ्चै बाजा भनेको
चाहिँ के हो नी फेरि बाजे?"
"अब तिमीहरू शहरेले पञ्चैबाजा र
नौमतीलाई अजायबघरतिर हेर्न जाने बेला भयो। नौमती बाजा हाम्रो
एकदम ठेट बाजा हो। यसमा नौवटा बाजाको समूह एकैचोटि बजाइन्छ। यी
नौवटा बाजाहरू हुन् - दुइवटा सनई, दमाहा, ट्याम्को, ढोलक,
बाउँताल, झ्याम्टा, नरसिङ्गा र कर्णाल।
पञ्जै बाजामा चाहिँ यी
नौवटा बाजाबाट पाँचवटा मात्र बज्छ। उहिले - उहिले बिहेबटुलमा
नौमती नभई नहुने बाजा थियो।"
"आजकल त डेक र माइकबिना बिहे हुँदैन
त बाजे।"
"ठीकै हो। संस्कृति पोलिखाएपछि
मान्छे मरेको र बाँचेको एकै हुन्छ नाति!
हामीले बिस्तारी सभ्य हुने नाममा हाम्रा
ठेट कुराहरू लत्याउँदै
र मास्दै जाँदैछौं।"
दिनभरि खेतमा लखतरान भएर हामी साँझमा घर पुग्यौं। आरतीले
लालटीन जलाइसकेकी रहिछ। हामी पुगेपछि तातो चिया बनाएर वान
गिलासमा दिई। नातिले भन्यो,"हन यो
कस्तो बर्तन हौ चिया पिउने?"
मैले चियाको चुस्की लिँदै भनें, "नाति
यो चिया पिउँदै गरेको गिलासचाहिँ हाम्रो ठेट वान गिलास हो।
उहिले अङ्ग्रेजहरूले यस्तै प्रकारका बर्तनमा रक्सी सारेर
पिउँदा वाइन ग्लास भनेका थिए। हाम्राहरूले त्यस्तै पक्का
काँसाको वान गिलास बनाएर आफ्नो संस्कृतिमा थपेका हुन्, बुझ्यौ?"
नातिले टाउको हल्लायो।
चिया पिएर म गोठतिर लागें। नाति पनि पछि पछि आयो। मैले गाईलाई
खुट्टा बाँधेर दूध दुहेको हेरेर उसले भन्यो,
"बाजे म पनि दूध दुहुनु ट्राइ गरौं?"
मैले भनें, "परालको आगो कथामा
चामेलाई भैंसीको लात्तीले गबुवासितै पल्टाइदिएजस्तो
पल्टाइमाग्नु छ?"
नाति जोडले हाँस्यो। उसले के बुझ्यो थाहा भएन।
भोलिपल्ट खेतको आली - आलीमा दाल रोप्नु थियो। नाति पनि तयार
भइहाल्यो। हिजोसम्म रौनक आज खेतबारीमा थिएन। मात्र ठूलाठूला
गराहरूमा धानका बिरूवाहरू पानी - पानी भएको खेतमा दरिने चेष्टा
गरिरहेका थिए। खेतको डिल - डिलमा दालका दानाहरू हामीले
रोप्यौं। फिलुङ्गेका दानाहरू पनि मैले दालसँग छरें। यही मौकामा
मैले केही फलफूल र रूखपातका बिरूवाहरू वन विभागबाट मागेर
ल्याएको थिएँ तिनीहरूलाई पानी र नपुग्ने र खेतबारी नहुने
ढाडपाखाहरूमा रोप्ने काम गऱ्यौं। नातिले भतिजाहरूसित मिलेर बडो
उत्साहसित फलफूल र ऱूखपातका बिरूवाहरू रोप्यो। साँझमा हामी घर
फऱ्क्यौं। गोठाला केटाहरू खेतको पानीका लागि तैनाथ थिए।
राती हामी खाना - खानु चुल्हाछेउ भुइँमा राडी ओछ्याएर बस्यौं।
आरतीले कसुँडीमा गलाएको कालो दाल, दाउराको आगोमा पकाइएको अट्टे
चामलको भात घरमै ढालिएको कुखुराको तरकारी झर्का थाल र काँसका
बटुकाहरूमा पस्केर अघिपट्टि टक्राई। मैले भनें,
"यो हामी बसेको राडी मैले जोरथाङको
माघे मेलाबाट ल्याएको हुँ। ल्याउन लगाउने प्रेरणा तिम्रै
हजुरबा मेरा श्रद्धेय दोलखे दाइ हुन्!
लू नाति हात छोडौं।"
नातिले स्वाद मानेर खानेकुरा खान लाग्यो। पिलुङ्गेको अचार
चाखेर उसले भन्यो, "यो कालो अचार त
सांच्चै मीठो
हुँदोरहेछ।"
"यो फिलुङ्गेको अचार हो नाति। यसलाई
हामीले आफ्नै बारीमा छरेर उमारेका र फलाएका हौं। यो
फिलुङ्गेलाई दालसितै छरिन्छ। आज मैले फिलुङ्गेका दानाहरू पनि
दाल रोप्दा छरेको तिमीले देखिहाल्यौ होइन?
पछि उठाउँदा भने दाल पहिले उठाइन्छ। त्यतिबेला फिलुङ्गे फुल्दै
गरेको हुन्छ। बाइस - पच्चीस दिनपछि त्यो पाक्छ र त्यसलाई
उठाइन्छ। यी खानेकुराहरू मीठो भएको कारण यसमा हाम्रो आफ्नो
पसिना छ, मिहनेत र परिश्रम छ।"
"खै बाजे हामीलाई त आजकल बोतलका
पिक्कलहरू खाने बानी बसेको छ। त्यस्तै अचारहरू खान्छौं। पिसेर
खानुपऱ्यो भने मिक्सीमा हाल्यो सबैथोक अनि घ्यार्ररररर पाऱ्यो
खायो।"
"नाति.
त्यो सिलौटो र लोहोरोले आप्नै पाखुरीको बलद्वारा पिसेर बनाइएको
यो अचार हो। त्यसै कारण यो स्वादिष्ट लाग्छ।"
भोलिपल्ट नाति धेरै अबेर गरेर उठ्यो। म
आँगनमा बिस्कुन सुकाउँदै थिएँ, ऊ सिकुवामा हाइ काढ्दै आयो।
उसको अनुहार फुङ्ग थियो। नातिको पहेंलो अनुहार देखेर मैले
उसलाई सोधें, "नाति तिम्रो अनुहार
किन पहेंलो? सञ्चो भएन कि कसो?"
नातिले सिकुवाको कुनामा रहेको जाँतोछेउ भएको
बेतको मुढा तानेर आँगनमा बस्दै छेवैको ओखली मुस्ली मुसार्दै
अहिले आत्मसमर्पणको भावमा बोल्यो, "बाजे,
हामी शहरे र सभ्य भन्छौं आफूलाई। तर गाउँ - बस्तीको ताजा र
आफ्नै हातले उप्जाएका अन्न फलफूल खाने हाम्रो सौभाग्य छैन।
मैले यहाँ बसिञ्जेलको अवधिमा थाहा पाएँ, शहरको प्रदूषित
वातावरणले नै पहिले त हामीलाई अस्वस्थ बनाउँदो रहेछ। अर्को
कुरा आजकल फलफूल र सागसब्जीहरू पनि कृत्रिम मल र अप्राकृतिक
तवरले उप्जाएका हुन्छन्। सुनेको छु एउटा इन्जेक्शन हानेपछि
एउटा गट्ठा रातभरिमा ठूलो फर्सी हुन्छ अरे। कुनै रसायन हालेपछि
हरियो र काँचा केराहरू अर्को दिन पाकेर पहेंले हुन्छन्
अरे। कीटनाशक औषधिहरू सागसब्जीहरूसित कति खाइन्छ - खाइन्छ!
दिउँसो घरमा आएर खाना खाने फुर्सद छैन हामीलाई। क्यान्टिनका
फास्टफूडहरू खायो र सन्तोक गऱ्यो। यसरी फास्टफूडहरू खाँदाखाँदा
मेरो पेटको बिमारी शुरु भएथ्यो त्यो घरीघरी बल्झिरहन्छ।
त्यसैले पनि म पहेंलो भएको होला बाजे!
आज रातिदेखि फेरि भुँडी दुख्नु बल्झिएको छ। अब म घर फर्कन्छु।
उतै काठमाडौको डाक्टर देखाउँछु। डाक्टरले ओपरेशन गर्नुपर्छ
भन्थ्यो। गएर फेरि देखाउनुपऱ्यो बाजे!"
मैले भनें, "ठीकै
छ। डाक्टर देखाउनु छ भने म रोक्दिनँ। तर नाति हेर यो बस्तीमा
यो ठूलो घरमा दुई भतिज र गोठालाहरूसित हामी दुई बुढा - बुढी
मात्रै छौं। छोरा सरकारी नोकरी गर्नु नैनीतालमा छ। तिमी डाक्टर
देखाएर आफ्नो इलाज राम्ररी गरेर निको भएर बरु फर्केर यहीं आई
हामीसित बसिदियौ भने हामीलाई पनि कस्तो राम्रो हुनेथियो।"
नातिले मेरो कुरा स्वीकार गऱ्यो। एकै छिनपछि
ऊ आफ्ना सामानहरू पोको पारेर आँगनमा आयो। म कुखुरालाई चारो
हाल्दै थिएँ नातिले भन्यो, "बाजे, म
अब घर जान्छु। घरमा गएपछि उपचार गराएर स्वस्थ भएपछि अवश्य
फर्केर यहाँ आउनेछु र तपाईंहरूसितै बस्नेछु।"
बाटो खर्ची केही रुपियाँ गोजीमा हालिदिएर
मैले नातिलाई बिदा दिएँ। हिँड्ने बेलामा उसले मलाई र आरतीलाई
ढोगेर आँखाभरि आँसु पारेर बाटो लाग्यो।
अब नाति फर्केर आएपछि हामीसित बस्नेछन्। यो
बुढेसकालमा दुई बुढा - बुढीलाई साथ दिन अर्को एक सन्तान पनि
आफूसित हुने भयो। म ढुक्क भएँ। यी दोलखे दाइले लगाएका गुण
तिर्ने एउटा मौका पाएँ भन्ने पनि सोचें।
नाति आउने प्रतीक्षामा छ:
महिना बित्यो तर ऊ फर्केन। नाति घएको आठ महिना बाह्र दिनपछि
मेरो नाममा एउटा चिट्ठी आयो। आँखामा पावरवाला चश्मा चढाएर मैले
पत्र खोलें। त्यो चिट्ठी नातिकै थियो। म पत्र पढ्न लागें -
बीर अस्पताल,
काठमाडौ
20 गते फागुन, 2063
पूज्यवर,
बाजे - बोजूमा सेवाढोग।
म काठमाडौले नाति तपाईंहरूमा यो पत्र
पठाइरहेछु। मनभरि इच्छा रहेर पनि म फर्केर उता तपाईंहरूको
बस्तीमा आउन सकिनँ। यहाँ आएर मेरो पेटको व्यथा झन् झन् बढ्न
लाग्यो। कति दबाइ - पानी गरें अहँ केही फरक परेन। अन्त्यमा
डाक्टरहरूले मेरो पेटमा क्यान्सर भएको डायोग्नाइज गरे। अङिले म
बीर अस्पतालमा जीवनको अन्तिम क्षणको प्रतीक्षामा छु। पेट घरी
घरी असाध्य दुख्दैछ। म जान्दछु यसको अब कुनै उपचार छैन। यसैले
अब म कहिल्यै त्यो रमाइलो बस्तीमा फर्कन सक्दिनँ। मैले जीवनमा
साँचो खुशी के हो र त्यो कहाँ बस्दोरहेछ भन्ने कुरो तपाईंहरूको
प्रिय बस्तीमा आएर बुझ्न सकें। यसको निम्ति कृतज्ञता व्यक्त
गर्न जति नै शब्दहरू भए पनि ती कम पर्नेछन्।
बाजे, मैले रोपिराखेका बिरूवाहरू अवश्य
रूखहरू हुनेछन्। तिनीहरूमा नै मलाई हरियो भइरहेको देख्नुहोला।
मैले रोपिराखेका फलफूलहरूका बोटहरूमा फूल फुल्दा म हाँसिरहेको
सम्झनु होला अनि तिनीहरूमा फलफूलका बोटहरूमा फूल फुल्दा म
हाँसिरहेको सम्झनु होला। अनि तिनीहरूमा फल लाग्दा म तपाईंहरूको
सेवा गर्न आइपुगेको सोच्नुहोला। मैले दिएको वचन पूरा गर्न
सकिनँ, मलाई माफ गरिदिनुहोला।
ईश्वरले मेरो उमेर पनि तपाईं मेरा बाजे -
बोजूलाई नै जोडिदिऊन् यही प्रार्थना छ।
बस् अलविदा!
नाति -
राजमान सिंह
मेरा हातहरू काँपे। आँखामा नातिको तस्वीर
आएर नाच्यो। फेरि त्यो धमिलो भयो। म बरबर आँसु झारेर रोइरहेको
थिएँ।
ती दोलखे दाइको त्यो काठमाडौले नातिले फेरि
मलाई अर्कै तरिकाले छक्कै पाऱ्यो!
(रचनाकाल - 03.01.2010)
कार्यक्रम निष्पादक, आकाशवाणी
गान्तोक - 737101, सिक्किम।
जनवरी 2012
ममता
बेनसिंह राई
तेन्नामको धेरै माथि जङ्गल फाँडेर ताङ्गेदारहरूले बसाएको सानो
गाउँ - जुरेथाम; गाउँ के भनौं खेती
गरिखाने जमिन बनाएको छ। ताङ्गेदारहरू सबै बस्तीको आफ्नै घरमा
बसोबासो गर्छन्। जुरेथाम देउनिगालीधापको मुनि झण्डै तीन
किलोमिटर टाढा पर्छ। यहाँको वातावरण रमाइलो र एकान्तमय छ र
स्वास्थ्यप्रद पनि भनिन्छ राजाको पालामा वन विभागले यहाँ भएको
जङ्गल फाँडेर ताञ्जे बस्ती बसाएको रे तर अहिले यहाँ
ताङ्गेदारहरूले आफ्नो - आफ्नो भागमा परेको जमिनमा खेती मात्र
लाउँछन्।
हिउँदोमा आलु, गहुँ, जौको खेती लाउंछन्। त्.स बेला हरियो लहलह
भएको गहुँ, जौ हेर्न साह्रो रहरलाग्दा हुन्छन् र म-गहरू यी
गहुँ, जौ चिपी खान बारीको छेउसम्मै आउँछन्। यस मौसममा माथि
जङ्गलमा हुकुस कराएको सुनिम्छ कि त राती मृग कराएको सुनिन्छ
नभए वातावरण शून्यप्राय: हुन्छ र
जेठा राको कुकुर भुक्दा वातावरण एक क्षण खलबल हुन्छ - फेरि
शान्त। यहाँ शहर - बजारमा झैं मानिसहरूको अचाहिँदा हो - हल्ला
छैन - कानको जाली फुट्ने कर्कष आवाज छैन तर यहाँ चरीहरूको मधुर
सङ्गीत सुन्न पाइन्छ।
जुरेथामको सिरानदेखि ठूलो जङ्गलको ऋँखला सुरु हुन्छ। यो
जङ्गल पश्टिम बङ्गाल र नेपालको सिमानासम्मै फैलिएर गएको छ। यही
जङ्गलको छेउमा वन विभागले रूखका बिरूवा उमार्ने नर्सरी बनाएको
छ। त्यस नर्सरीमा काम गर्ने मजदूरहरू तल बस्तीबाट आउँछन् तर
मजदूरहरूका मुखिया जेठा राई मात्र नर्सरीकै छेउमा डेरा हालेर
आफ्नो परिवारको साथ बस्छन्।
त्यस नर्सरीमा विभिन्न जातका रूखहरू बिजन जङ्गलबाट खोजी
ल्याई पलङमा उमारिन्छ र पछि डेढ फिटदेखि दुइ अथवा तीन फिट
अग्लो भएपछि जेठ - असारमा अर्को ठाउँमा लगेर रोपिन्छ। यही
नर्सरीको छेउमा एउटा ठूलो बान्टेको रूख छ। र त्यही रूखको
टोडकामा एक जोडा लोथरके गुँड बनाएर बस्छन्। तिनीहरू कहिले
रूखका माथि - तल खेदा - खेद गर्छन्, कहिले जङ्गलभित्र फलका
दानाहरू खोज्न जान्छन् कि त रूखमा बसेर नर्सरीमा मजदूरहरूले
काम गरेको रमिता हेर्छन्।
'कान्छी!
ती मजदूरहरूले के रोप्दैछन् हेर त!'
एक दिन लोथरकेले तल नर्सरीमा मजदूरहरूले पलङ - पलङ बनाएर रूखका
बिजनहरू रोप्दै गरेको देखेर भन्यो - 'सायद
फलका दानाहरू रोप्दै होलान्।'
'देख नपर है!'
टोडकाभित्रबाट लोथरकेनीले लोथरकेलाई सावधान पार्छे -
'मानिसहरू साह्रै निर्दयी हुन्छन्।
देख्यो भने ढुङ्गाले हानेर मार्छन् नि!'
'भरै मजदूरहरू गएपछि हेर्नुपर्छ
के रोपेका रहेछन्', लोथरकेले भन्छ -
'मालागिरी, काउला, बान्टेको दाना हो
भने त ल्याउनुपर्छ।'
मजदूरहरू छुट्टि भएर घर गएपछि लोथरके
रूखबाट झरेर नर्सरीमा अघि रोपेको बिजन हेर्न जान्छ। त्यहाँ
मजदूरहरूले पलङमा दाना लहरै रोपेको उसले कोट्याएर हेर्छ र खुशी
हुँदै एउटा मुखमा च्यापेर ल्याउँछ। उ हतार हतार रूखमा चढ्छ र
टोडकाको बाहिरबाटै कराउँछ - 'कान्छी, ई
हेर त! बान्टेको दाना रहेछ।'
लोथरकेनी टोडकाभित्र गुँडमा बसेर लोथरकेको
निम्ति हिउँदोमा लाउनका लागि सुइटर बुन्दै थिई। उसका आँखाहरू
छिटो - छिटो चल्दै थिए र ऊ मनमनै सोच्दै थिई - हिउँद लाग्नै
लाग्यो जाडोमा लाउनका लागि लोथरकेको भने जस्तो एउटासम्म सुइटर
छैन। जाडोमा कसरी बाहिर निस्केर चारो खोज्ने हो। यत्तिकैमा
लोथरकेको स्वर सुनी र भनी - 'भित्रै
ल्याउन।'
लोथरके र लोथरकेनी दिनभरि दाना कहिले
जङ्गलभित्र जान्छन् कहिवे नर्सरीतिर। हिउँदोमा खानको लागि
अहिवेदेखि नै दानाहरू जोहो गर्न लागेका छन्। बान्टे, काउला
मालागिरीका दानाहरू खोजेर आफ्नो गुँडमा जम्मा गर्छन्। कहिले
बान्टेको रूखमा तल - माथि दगुर्छन् - खेदा - खेद गर्छन्। फेरि
टोडकाभित्र पसेर विश्राम गर्छन्। नर्सरीका मजदूरहरू छिट्टी भएर
घर गएपछि दुवै लोथरके र लोथरकेनी मजदूरहरूले बिजनको दल राखन्
बनाएको पलङतिर, बारतिर दगुरिहिँड्छन्। साँझ झमक्क परेपछि माथि
जङ्गलमा कोइली बाल्छ कुक ..कुक.. अनि दुवै आफ्नो गुँडमा
फर्कन्छन्। लोथरकेनी हतार - हतार खाना पकाउंछे र दिउँसो
ओसारेको फलका दानाहरू मिलाएर एक कुनामा थन्याउन लाग्छ।
खाना खाइसकेपछि लोथरके ओछ्यानमा ढल्कन्छ -
उपरखुट्टि लाएर र हात टाउको पछिल्तिर सिरानी पारेर अडाएर
भविष्यका योजनाहरू भन्छ। लोथरकेनी उसकै छेउमा बसेर सुइटर
बुन्दै लोथरकेको कुरा सुनिरहन्छे।
'यसपालिको हिउँदको लागि लासन - पानी अब धेर
नखोजे पनि हुन्छ' - लेथरके भन्दै गरेको
हुन्छ - 'तर हिउँद सकिनासाथ रासन -
पानी पनि सकिने होला र काम निकै बढ्ने भयो। रासन - पानीको
बन्दोबस्त कहाँ हो र हाम्रा बच्चाहरू पनि आउँछन् - तिनीहरूको
लागि नरम भसभुसे झार पनि खोज्नु पर्ला - होइन कान्छी?'
'लाज पनि नभाको' -
लोथरकेनी लाजले राती भई अनि भनी - 'अहिले
नै तपाईंलाई के को हतार पऱ्यो?'
'तिमी त थलिएर ओच्छ्यान पऱ्छ्यौ'
- लोथरके मुसुक्क मुस्काउँदै भन्छ - 'मेरो
पो बिजोग हुन्छ त। त्यस बेला सबै काम म एउटैले भियाउनु पर्छ।
कामको लछारो पर्छ मलाई।'
'हाम्रो यो ओछ्यान पनि अलिक भएको छैन',
- लोथरकेनीले आफ्ना लोग्नेलाई खै गरी - 'सुकेको
पाकहरू ल्याएर अलिक बाक्लो बनाउनु पर्छ नभए हिउँदमा जाडो
छेल्दैन।'
'हिउं त पर्छै पर्छ, यसपालि जाडो पनि निकै
हुन्छ होला' - लोथरके भन्छ - 'हन,
मेरो सुइटर कहिले बुनिसक्छौ?'
अनि दुवै डुल्किएर सुत्छन् सुकेको पातको डनलपमाथि।
भोलिपल्ट दुवै जना बिहान सखारै उठेर टोड्कादेखि बाहिर
निस्कन्छन् र बान्टेको रूखमा तल - माथि दगुर्छन्। एक क्षणमा
घाम तिरिरि झुल्केपछि दुवै जना घाम ताप्दै हात - मुख धुन्छन्।
आज दुवै सुकेको पात ओसार्दै गुंड बनाउन व्यस्त छन्। एउटा
लाटकोसेरो उडेर आएर त्यही बान्टेको रूखको हाँगामा बस्यो। उसले
लोथरकेलाई मुखमा पात च्यापेर रूखमा चढ्दै गरेको देखेर घिच्रो
लामो तन्काएर राम्ररी हेऱ्यो। लेथरके आप्नै धुनमा व्यस्त थियो।
'लोथरके भाइ, साह्रै व्यस्त पो
छौ त?' लाटकोसेरोले सोध्यो,
'के को लागि पात ओसाऱ्यौ त?'
लाटकोसेरोको स्वर सुनेर लोथरके एक क्षण टक्क अडिएर
राम्ररी हेऱ्यो र भन्यो - 'ए दाइ पो
रहेछ। हिउंदको लागि पो जोहो गर्दैछौं यति नगरे हिउंदोमा जाडोले
मरिन्छ।'
'हो भाइ, हिउंदो लाग्नै लाग्यो',
लाटकोसेरोले भन्यो, 'घले गुरुङले
भेडीचोक पनि बेसीतिर झारिसक्यो।'
अनि लाटकोसेरो 'लहै लहै है भाइ'
भन्दै उडेर पारिको जङ्गलतिर गयो।
पात ओसार्ने काम गर्दा थाकेपछि एकक्षण बिसाउँदा पनि
लोथरकेनी सुइटर बुन्थी लोथरके चाहिँ रूखको टुप्पामा गएर हावा
खांदै तल नर्सरीमा मजदूरहरूले काम गरेको रमिता हेरिबस्थ्यो।
साँझ परेपछि दुवै गुँडभित्र पस्छन्। खाना खाइसकेपछि लोथरके
ओछ्यानमा ढल्कन्छ र लोथरकेनी सुइटर बुन्न थाल्छे। उसलाई कहिले
बुनिसकेर लोथरकेलाई लाइदिउँ भन्ने हतार छ।
'कान्छी, बुनाइ राख।'
लोथरके भन्छ:, 'आऊ सुतौं।'
'सुत्दै गर न'
लोथरकेनी भन्छे, 'एक काँटा
बुनिहाल्छु।'
नीलो निर्मल आकाशमा असङ्ख्य ताराहरू टिमतिमाइरहेका छन् र
पूर्णिमाको जून टहटह लागेको छ। जङ्गलमा कुनै हो - हल्ला छैन -
केवल मसिना किरा - फट्याङ्ग्राको मधुरो आवाज मात्र सुनिन्छ
किरिरि...टक...टक... टक... चिरिप्प...चिरिप्प....। पोथ्रा र
झाडीभित्र जुनकिरीहरू झिमिक्क झिमिक्क चम्कँदैछन्। एउटा
लाटकोसेरो उडेर आई त्यही बान्टेको रूखको हांगामा बसेर करायो -
कुकु...कुकु...कुकु...कुचिल्याक्क। रात धेरै बितेको थाहा पाएर
लोथरकेनी बुनाइ राखेर सुत्न ओछ्यान पसी र लोथरकेलाई अंलालो
मारी सुती।
पुषको ठिहिऱ्याउने याम लाग्नुभन्दा अघि नै लोथरकेनीले सुइटर
र गलबन्द बुनिसकी। लोथरके पुषको जाडोमा सुइटर र गलबन्द
लाएर बान्टेको रूखमा तल - माथि दगुर्छ, कहिले नर्सरीको छेउ -
छाउसम्म घुम्न जान्छ कि त ढाँडभित्र - बाहिर गर्छ। कहिले
लोथरकेनीसँग माथि जङ्गलभित्र घुम्न जान्छ। दुवै खुशी छन् -
दुवै स्वतन्त्र छन्। तिनीहरूको जीवन आनन्दमय छ। बान्टोको
रूखको टोडकामा बनाएको गुंडमा तिनीहरू सुबिस्तासित बस्छन्।
तिनीहरूलाई ठूला - ठूला बिल्डिङहरू बनाउन सकिएन भनेर कुनै
गुनासो छैन धन कमाउन सकिएन भनेर कुनै अफशोच छैन। जीवन धान्नको
निम्ति आलिशान भवन र आरामदायक ओछ्यान र छत्तीस व्यञ्जनले युक्त
भोजन र बोतलको डेढ दुइ हजार रुपियाँ पर्ने शराबको लागि अरूलाई
शोषण गरेर धन कमाउँदैनन्। आफ्नो ऐश - आराम र छोरा - छोरीको
लागि भनेर बजेटको घनराशि हडप गरेर
धन कमाउने लालसा तिनीहरू
गर्दैनन्। जीवनको परिभाषा तिनीहरू बुझ्छन् र सत्य कर्ममा
तिनीहरू विश्वास गर्छन्। लोग्ने - स्वास्नी एकार्कामा मिलेर
बस्नु र विश्वास गर्नु साथै सहयोगी बन्नु नै दाम्पत्य - जीवनको
सफलता हो भन्नमा तिनीहरूको दृढ विश्वास छ। तिनीहरूको दाम्पत्य
- जीवन निर्मल छ.कोमल र मधुर छ। उनीहरूका बीचमा
आँखा लगाई छैन,
दन्तबजाइ छैन र छैन अरूको निन्दा, आह्रिस र चुक्ली।
पुषको ठिहिऱ्याउने ढुस्से दिन। दुवै लोथरके र लोथरकेनी
बेसीजस्तो गुँडभित्र बस्छन्, कहिले काहीँ बाहिर निस्कन्छन् र
बान्टोको रूखमा तल - माथि खेदा - खेद गर्छन्।'
'अहो! कान्छी, लौ
बज्रथामतिर हिउँ पर्न थालेछ' - एक दिन
लोथरके टोड्काबाट टाउको मात्र निकालेर रमिता हेर्दा माथि
लङ्गुर हिउँ परिरहेको देखेर भन्छ - 'अब
कुन दिन यता पनि झर्छ।'
'त्यसो र त निकै जाडो लाग्दो रहेछ'
- लोथरकेनी पनि लोथरकेकै छेउमा आएर टोड्काबाट टाउको
निकालेर भन्छे - 'औ हेर त
कालीझारतिर
पनि पर्न थाल्यो।'
'आज राती पक्कै यतातिर पनि हिउँ पर्ने रहेछ'
- लोथरकेले अन्दाज लगाउँदै भन्यो - 'हिउँ
परे भोलि त बाहिर निस्कन पनि सकिँदैन।'
'हिउँ पर्न थालेपछि मृगहरू पनि
ऊँधो - ऊँधो
बस्तीतिर झर्छन् नी।'
लोथरकेनीले लोग्नेलाई सोध्छे - 'तिनीहरूलाई
पनि जाडो लाग्दो हो। बिचराहरूको बस्ने घर हाम्रो जस्तो छैन।'
'हो। हिउँ पर्न थालेपछि मृगहरू लेकको जङ्गल
छैडेर औलको ढुस्सेनी झारीभित्र गएर बस्छन्'
- लोथरकेले भन्यो, 'फेरि घाम लाग्न
थालेपछि उँभै जङ्गलतिर फर्कन्छन्। यसरी हिउँ पर्न थालेपछि
मृगहरू उँधो झर्छन् भनेर शिकारीहरू जान्छन् र यस बेला शिकार
खेल्नेहरू थुप्रै हुन्छन्।'
'मानिसहरू शिकार किन खेल्छन्?'
- लोथरकेनी लोग्नेलाई प्रश्न गर्छे, 'तिनीहरूको
पेट पाल्ने कुनै साधन छैन? तिनीहरू
त्यति गरिब छन् र पेट भर्न शिकार खेल्नु पर्छ?'
'मानिसहरू कहाँ गरिब छन् र?
- लोथरके स्वास्नीलाई बुझाउँछ, 'परमेश्वरले
तिनीहरूलाई हात - खुट्टा काम गरिखानलाई दिएको छ - विवेक,
बुद्धि दिएको छ। तर तिनीहरूको बुद्धिमा, विवेकमा शैतान पसेको
छ। आफुलाई धर्मात्मा सम्झन्छन् तर तिनीहरूको धर्म मन्दिर,
गुम्बा, गिर्जा र मस्जिदभित्र सीमित हुन्छ। मन्दिर, गुम्बा,
गिर्जा र मस्जिदभित्र यिनीहरू साह्रै दीन, नम्र, दयावान र
क्षमावान हुन्छन्, पापको प्रायश्चित गर्छन् र फेरि नराम्रो काम
गर्दिनँ भनेर दृढ संकल्प गर्छन् तर धर्मालयको सङ्घार काटेर
बाहिर निस्केपछि यिनीहरू कठोर, लोभी,
छलि, कपटी भइहल्छन्।
मानिसको निम्ति परमेश्वर मन्दिर, गुम्बा, गिर्जा र मस्जिदभित्र
मात्र हुन्छन् - बाहिर
हुँदैन। मानिसहरू पेटको निम्ति शिकार
खेल्दैनन् तर मनोरञ्जनको निम्ति खेल्छन्। हामी जङ्गली पशु -
पंछीको प्राणसँग यिनीहरू मनोरञ्जन गर्छन्। आफ्नो मनुष्य
जातिप्रति त यिनीहरूको
प्रेमभाव हुँदैन, दया - माया हुँदैन भने
हामी पशु - पंछीप्रति त कहाँ दया देखाउँछ।'
हिउँदका चिसा र लामा रातहरू
अनि छोटो र ढुस्से दिनहरू बितेर गए।
न्यानो दिनको शुरुआत
भइसकेको थियो। एक दिन बिहानको भुकभुको उज्यालो हुँदै लाटकोसेरो
जेठा राईको बारीको रूखमा बसेर
कु..लु...लु...लु... कराएको
लोथरके र लोथरकेनीले टोड्काभित्रबाट सुने।
'लौ
कान्छी! वर - बिजन छर्ने याम आएछ'
- लोथरकेले भन्यो, -'लाटकोसेरोले
भाका फेरेछ।'
माथि जङ्गलमा पनि बिउछर र
कुकु चरीहरू गाएको सुनियो। बाहिर निस्केर हेर्दा शिशिरले
नाङ्गो पारेका रूखहरूमा हरिया मुनाहरू पिरिरि पलाएको देखियो
साथै बारीमा पनि झारका पिपिराहरू फुटेर हरियो भएर आएको देखियो।
लोथरकेनी नसक्ने जिउकी भएकी
थिई। फागुन जाँदो नै थलिने सम्भावना भएको हुनाले लोथरके नरम
भुसभुसे घाँस खोज्दै गुँडमा ओसार्दै थियो र लोथरकेनी रूखमाथि
हाँगामा बसेर बान्टेको दाना खाँदै थिई। कुकुर भुकेको सुनेर
लोथरकेनीले लोथरकेलाई बोलाई। लोथरके पनि घाँस फ्याँकेर हतार
हतार रूखमाथि चढ्यो अनि दुवैले तल हेर्न थाले। एउटा मृग त्यही
बान्टोको रूखको छेउबाट दगुरेर पल्लोपट्टिको जङ्गलतिर गई। सायद
गाभिनी थिई। पछि पछि दुइवटा कुकुरहरू पनि भुक्दै त्यतै गए र एक
क्षणपछि मानिसहरू पनि बन्दुक बोकेर उतै दगुरे गए। मानिसहरू
दगुरेको देखेर दुवै लोथरके र लोथरकेनी टोड्काभित्र पसे।
एकक्षणपछि पल्लो जङ्गलभित्र बन्दुक पड्केको आवाज सुनियो।
'बिचरी
प्राण बचाउनको निम्ति कुदी' -
लोथरकेनीले मन नै नमिठो पारे भनी - 'गाभिनी
थिई, कति कुद्न सक्थी र! आफ्नो
भन्दा पनि पेटभित्र भएको बच्चाको कति साह्रो माया लाग्यो होला।
मानिसहरूले बिचरीलाई मारिछाडे।'
यस घटनाको केही दिनपछि नै
लोथरकेनी पनि थलिई। दुइवटा ससाना बच्चाहरू पाई। नाङ्गा
बच्चाहरू देखेर लोथरके औधी खुशी भयो।
'कान्छी,
यो बान्टोको दाना खाऊ' - लोथरके
जङ्गलभित्रबाट बान्टेको दाना खोजिल्याएर लोथरकेनीलाई दिंदै
भन्छ - 'तिमी कमजोर भएकी छौ, यो
खायौ भने तागत लाग्छ - यो दाना पोषिलो छ। यो खाए तिमी छिट्टै
तङ्ग्रिनेछौ।'
दानाहरू खोज्न उसलाई हतार
छ। आज उसलाई कामको लछारो परेको छ। उ घरि जङ्गलभित्र दगुरेर
जान्छ र दाना खोजेर ल्याउँछ, घरि नर्सरीतिर दगुरेर जान्छ र
दाना खोज्छ। यसरी दाना खोज्न नर्सरीमा जाँदा नर्सरीमा काम
गरिरहेका मजदूरहरूले देख्छन्। एउटाले ढुङ्गाले हानेर मार्छ।
लोथरके निकै बेर नफर्किँदा
लोथरकेनीलाई मनमा डर लाग्छ। उ सकी - नसकी उठेर टोड्काको
मुखसम्म आउँछे र तलतिर हेर्छे। तल मजदूरहरू काम गरिरहेको देखेर
गुँडमा फर्कीआएर सुत्छे। रात पर्छ लोथरके आउँदैन। उसलाई भोक
लाग्छ तर उठेर यता - उता गर्ने तराण छैन। त्यस रात उ भोकै
सुती।
भोलिपल्ट घाम तिरिरि
झुल्कोपछि लोथरकेनी सकिनसकी उठेर विस्तारै बान्टेको रूखबाट तल
झरेर लोथरकेको खोजीमी यताउता हेर्दै नर्सरीतिर गई। त्यहाँ
नर्सरीको बारमा लोथरके झुण्डिरहेको देखी। हिजै नर्सरीका
मजदूरहरूले मारेर उसैले बुनिदिएको गलबन्दले बाँधेर नर्सरीको
बारमा तुर्लुङ्ग झुण्डाएको रहेछ। लोग्ने मरेको देखेर लोथरकेनी
एकपल्ट मूर्छा परी - रोई। अब उ आफू सुत्केरीबाट कसरी
तङ्ग्रिने, नानीहरूको स्याहार - सुसार कसरी गर्ने, उसको मनमा
चिन्ता पऱ्यो। उसलाई पनि नर्सरीका मजदूरहरूले मारेर
फ्याँकिदिओस् जस्तो लाग्यो तर हिजो जन्मेका नानीहरूको मायाले उ
आफू मर्न पनि सकिन र आँखाभरि आँसु पारेर बारमा झुण्डिरहेको मृत
लोग्नेलाई अन्तिम दर्शन गरी रुँदा रुँदा बान्टेको रूखको
टोड्कामा भएको आफ्नो गुँडतिर साना नानीहरूलाई भेट्न विस्तारै
फर्की।
(दिसम्बर 2011)
निद्रा
डिल्लीराम खनाल
(शोणितपुर, असम)
अन्धकार मध्यरात्रिको
निस्तब्धतालाई चिर्दै एउटा स्वामीभक्त कुकुर एकोहोरो भुकिरहेको
छ। एउटा जाग्रत प्रहरी त्यो कुकुर घर वरिपरि घुमी घुमी झन
साह्रो ठूलो आवाजमा भुकि नै रहेको छ। तर, उसको स्वामी घरपति
चैं निदाइरहेको छ - घरभित्र।
कुकुरको त्यो अविराम
भुकाइले पनि उसको निद्रामा बाधा पुऱ्याउन सकेको छैन। यसो बाहिर
निस्किएर कहाँ के भयो, के देखेर चाहिं त्यो कुकुर भुक्यो?
त्यसको खोजीनिधी केही गर्न खोज्दैन - घरपति। ढुक्कको मिठो
निद्रा नै उसलाई प्यारो छ। सिरकभित्र गुटुमुटु निदाइरहन्छ।
यता भुकेर उसलाई सजग बनाउन
बाहेक अरू के गर्न सक्छ र त्यस स्वामीभक्त कुकुरले - घरमालिक
नै नब्यूँझिएपछि?
यसो हुंदा - हुँदा उसका
बारीका दाउरापात, फलपुल र बारेको बार नै चोरले लगिसकेर उसका
घरभित्रका भाँडा - बटुका, थाल, लोहोटा, गाग्री, लुगाफाटा,
गहनागुरिया एक एक गर्दै लटिपटी पारेर चोरले उसलाई नाङ्गेझार
पारिसक्दा पनि उसको निद्रा खुलेको छैन... उ मस्मसी निदाइरहेको
छ...अझसम्म। उसको त्यो स्वामीभक्त कुकुर घर वरिपरि घुमेर
विरामहीन भुकिरहेको छ...भुकिरहेको छ...अझै पनि...।
(पानस, वर्ष 20, सं. 7,
2011 - बाट साभार)
नोभेम्बर 2011
लोक कथा
सयपत्री
मटिल्डा राई
परापूर्वकालमा
एउटा पहाडी गाउँमा सयजना छोराहरूपछि एउटा परिवारमा एउटी
सुन्दरी कन्याको जन्म भयो। आमा - बाबुले नाम राखे सयपत्री।
सयपत्रीको केश सुनौलो रङ्गको अनि सयपत्री
फूलका पत्रदलजस्तै घुम्रिएको थियो। चन्द्रमाजस्तो गोलो
अनुहारमा घुस्रिएको केश खुबै सुहाउँदिलो देखिन्थ्यो। दाज्यूहरू
पहिले त खुबै खुशी देखिन्थे तर दिनदिनै आमा - बाबु र
छिमेकीहरूको आकर्षणको केन्द्र सयपत्री मात्र भएको देखेर रिस
गर्नथाले। तर सयपत्री सबै दाज्यूहरूलाई माया गर्थी। उसको हृदय
पनि पहाडी झरना झैं निर्मल थियो।
सयपत्री केवल सात वर्षकी हुँदा उसको बाबुको
जङ्गलमा शिकार खेल्न जाँदा बाघको मुखमा परी मृत्यु भयो।
सयपत्री खुबै रोई किनभने दाज्यूहरूको कटुवचन
र अत्याचारबाट बाबुले उसको रक्षा गर्थे। बाबुको मृत्युको केही
महीनापछि आमा पनि हिँडिन्। अब सयपत्री आफूलाई साँच्चै टुहुरी
पाई। दाज्यूहरूको निष्ठुर व्यवहारले दु:खी
हुँदा जहिले पनि आमाको काखमा रुन्थी। आमालाई पनि सयपत्रीको
यस्तो अवस्था देखी साह्रै चिन्ता लाग्थ्यो।
म हुँदा त यिनीहरूले यस्तो हेला गर्छन् भने
म पनि नरहे मेरी छोरीको के अवस्था हुनेछ सम्झी रुन्थी।
मृत्युपछि छोराहरू सबैलाई बोलाएर सयपत्रीको
राम्रो हेरचाह गर्ने र उसलाई कष्ट नपुऱ्याउने वचन छोराहरूबाट
लिइन् तर आमाको अघि वचन दिए तापनि मनमा बहिनीप्रति साँचो प्रेम
भने तिनीहरूमा थिएन। आमाको परलोकगमनपछि दाज्यूहरूले सयपत्रीको
पनि हत्या गरिदिए अनि उसको लाश जङ्गलको माझमा गाडिदिए।
छिमेकीहरूले सोध्दा दिउँसो खाल्न गएकी थिई
फर्केर आइन भनी देखावटी आँसु खसाल्नथाले।
त्यसै राज्यका राजा खुबै विद्वान् र दयालु
थिए। एक दिन आमासित बिछोडिएको शावकलाई घोर जङ्गलमा छाड्न गए।
जङ्गलको माझमा ठूलो हरियो चउर तिनले देखे र त्यतैतिर तिनले
घोडा बढाए।
मैदानको माझमा एउटा
सयपत्री भएको सुनौलो
आभा भएको फूल फुलिरहेको देखेर तिनी अचम्भित भए। यस्तो प्रकारको
फूल तिनले आफ्नो जीवनमा कहिल्यै देखेका थिएनन्। फूलको चारैतिर
रङ्गी - बिरङ्गी ठूल्ठूला पुतलीहरू उडिरहेका थिए। त्यसैको
छेउछाउका रूखहरूबाट चराहरू फूलको प्रशंसामा गीत गाइरहेका थिए।
फूलको छेउमा राजा पुग्नासाथ पुतलीहरू पनि उडेर कता गए कता गए
अनि चराहरू पनि चूप लागे।
राजाले फूल टिप्न भनी हात बढाउँदा मधुरो
आवाज आयो, "हे राजन!
मलाई टिप्नअघि मेरो करुण कथा त सुनिबक्सियोस्।"
राजाको हात
जहाँ थियो त्यही अड्यो।
विस्मयमाथि विस्मय बढ्यो।
"तिमी को
है?" भनी राजाले
प्रश्न गरे।
"मेरो नाम
सयपत्री हो, मेरा सय दाज्यू यसै राज्यमा छन्। म बिना - कसुर
मारिएँ। मेरा दाज्यूहरूले मलाई हेलाँ मात्र होइन तर मेरो हत्या
पनि गरे अनि यहीं गाडिदिए। दाज्यूहरूको माया पाउने तृष्णा
नपुगेकोले मेरो आत्मा अतृप्त थियो यसैले फेरि एकपल्ट फूलको
रूपमा जन्म लिएँ। तपाईं न्यायी अनि दयालु हुनुहुन्छ, मेरो पनि
न्याय गरिबक्सियोस् हजुर!" आवाज
मधुरो तर स्पष्ट थियो।
राजाका सिपाहीहरू पनि त्यतिञ्जेल आइपुगे।
तिनीहरूलाई राजाले सयपत्रीका सयजना दाज्यूहरूलाई त्यहाँ
ल्याउने आज्ञा दिए। त्यस राज्यमा सय दाज्यूबाइहरूलाई सबैले
चिन्थे। कतिले त तिनीहरूलाई कौरव पनि भन्ने गर्थे। यसैले
सैनिकहरूले ती दाज्यूभाइहरूलाई पक्री जङ्गल पुऱ्याए।
जङ्गलको माझमा पुग्दा तिनीहरूले आफ्नो भेद
खुलेछ भनी राजाको अघि हात जोडी रुंदै माफ माग्नथाले।
राजाले रिसाएर आफ्ना सिपाहीहरूलाई ती सबैलाई
यहाँ वध गर्ने आज्ञा दिए।
त्यति नै बेला त्यस फूलबाट झिनो आवाज आयो -
"राजन, म मेरा दाज्यूहरूलाई साह्रै
माया गर्छु, यसैले यिनीहरूलाई माफ गरिबक्सियोस्।"
राजा छक्क परे। 'मलाई
सबैले दयालु भन्छन् तर
तिम्रोअघि म तुच्छ रहेछु। हे सयपत्री म
तिम्रो माया देखेर प्रसन्न भई तिम्रा दाज्यूहरूलाई मुक्त
गर्दछु तर तिमीप्रति न्याय पनि अवश्य गर्छु।'
तिनले एक छिन घोरिएर घोषणा गरे -
'जबसम्म यो संसार छ, एउटा विशेष
दिनमा सबै दाज्यूभाइहरूले बहिनीको हातबाट ग्रहण गरी तिमीलाई
ठूलो इज्जत र मायासाथ शिरमा र गलामा धारण गर्नेछन्। तिम्रो
मायाको अबदेखि अवहेलना हुनेछैन।'
यो कुरा सुनी सयपत्रीले भनी,
'त्यसो हो भने राजन, मलाई
चुँडाई
मेरा पत्रदलहरू माटोमा छरिबक्सियोस् जसमा म संसारभरि फैलिन
सकूँ। शरद् ऋतुमा फुलेर प्रत्येक दाज्यूभाइहरूलाई
आफ्नो सम्झना
दिलाउन सकूँ।'
राजाले त्यसै गरे।
त्यसै दिन सयपत्री फूलको बिऊ छरियो अनि
भाइटीकाको दिनदेखि त्यस गाउँकाहरूले ग्रहण गर्नथाले।
कालान्तरमा त्यस पहाडी गाउँका मानिसहरू जाति विशेषको रूपमा
चिनिन थालिए। जता जता नेपालीहरू फैलिए, त्यता त्यता सयपत्रीको
इज्जत र सुवास पनि छरियो।
(अक्टूबर 2011)
समृद्धि
पुराण
डॉ. शान्ति
थापा
चन्द्रकलाको बिहे रे।
भर्खर -
भर्खर शहरको हावाले छोएको गाउँ। नक्कल - झक्कलमा शहरी भए पनि
व्यवहारमा गाउँलेपन नै छ यहाँ। र नै बिहेबटुलोभन्दा त्यो
व्यक्तिगत भई रहँदैन। सघाउ पुऱ्याउन 'खै'
गर्दै गाउँका बुढापाका, तरुणी - तन्नेरी, आईमाई, लालाबाला सबै
आआफ्नो सीप लिएर उपस्थित भइहाल्छन्। तर सन्तेका अर्थात
सन्तमानका रवाफले गर्दा बिहे घरको छाँटकाँट नै भिन्नै देखेर
तीन छक्क परेका छन् गाउँलेहरू।
गाउँघरमा
यस्तो खाले आयोजन हुँदा चुलैनिम्तो गर्ने चलन छ। तक सन्तमानले
धाक् देखाउन कार्ड बाँडी निम्तो गऱ्यो। को को जाने बिहेमा -
घरका मुखिया कि सबै? अल्मलिएका
छन् उनीहरू। यता चन्द्रकलाको नाउँ कार्डमा कलामा फेरिइएको छ।
आखिर नफेर्नु पनि किन? जसले समयसित
पाइला मिलाउन सक्दैन उसको हार निश्चित छ।
गुवाहाटीमा
उच्च शिक्षा प्राप्त गर्न घएको सन्ते फर्केर आउँदा निकै
समृद्धि लिई फर्की आएको छ। हुन पनि दुई वर्ष लाग्ने ठाउँमा
सन्तेले निकै वर्ष खर्च गऱ्यो नि पढ्नवर्नमा। निकै सभासमितिमा
पनि भाषण दिँदै हिढ्थ्यो रे भनेर सँगै पढ्न भनी गएका अनि
जसोतसो पढाइ इतिश्री गरी मास्टरी गरिरहेका बीरभद्रहरू भन्ने
गर्छन् कहिलेकाहीँ।
आयको स्रोत
के हो कसैलाई सुइँकोसम्म छैन। तर सन्तमानको घरको चालचलन भने
फेरिइएको छ। ढल्न आँटेको खरको छानाका ठाउँमा अहिले आँखाका
ज्योति मार्ने टलक लिएका टिनका छाना हालिएका छन्। पहिलेका
भकारी, ढिकी, जाँतो, गोठहरू कता अल्पिए कता। कोठेबारीमा...
लहलह देखिने सागपात छैनन्, त्यहाँ त मौसमी फूल हाँसेका छन्।
सन्तेका
रवाफको गर्मी भाइ ठण्डे र बाबुमा परेको देखिन्छ। आमाचाहिंलाई
तर सन्तेका समृद्धिले फेर्न त कता हो कता छुन समेत सकेको छैन।
के गर्ने कोही - कोही त खै कुन धातुले
बनेका हुन्छन् कुन्नि!?
ठण्डे सारै
चनाखो अनि निकै झिल्के छ, पढ्नवर्नमा पनि आफ्नो नमालाई सार्थक
बनाउन सफल बनेको छ। उ पढ्नवर्नमा सिपालु नभएर के भयो र
दाजुचाहिँ ऐश्वर्यको भोग गर्न सकैभन्दा पछि छैन -
गुर्रर्र
गर्दै कानका पर्दा च्यात्ने गरी मोटर साइकल कुदाउँदै हिँड्छ -
उ आउँदा घरका आमैहरूले छोरी - बुहारीलाई आँखाका इशाराले
घरभित्र लखेटिपठाउँछन्। अनि फखेटेवा'लाई
त बेस्मारी नै फेरेको च। अहिले उनी पखेटे बा हैनन् हर्कमान बा
कहलाउँछन् गाउँघरमा।
उनको लवाइ
- खुवाइ, व्यवहार सबै फेरिएका छन्, उपाय छैन। उहिल्यै
सत्यनारायण पूजा लाउँदा जाग्राम बस्ने चलन थियो। राति जाग्राम
बस्दा भजन - कीर्तन गरी बस्दथे। 'खै
बाटो खनेको स्वर्ग जाने भनेको" गीतको
तालमा खैंजडी, मुजुरा र मादल बज्दा हर्कमानले आफूलाई थाम्न
नसकी दुवै हात चराले
प्वाँख फिजाएझैं फिजाई
घुँडासम्म कछाड कसी
बाजा र गीतका तालमा एकोहोरो फन्फन्ती रिङ्गने गर्थे -
उनी नाच्दा चराले
प्वाँख फिंजाएर उडेझैं लाग्दथ्यो... सायद
त्यही दृश्य देखेर होला उनी पखेटेबा कहिल्याएका हुन्।
सन्तेकी
आमा मनमाया सारै सोझी खालकी हुन्। एकोहोरो बिहानदेखि
बेलुकीसम्म घरधन्धा छिन्नमा लागिरहन्छिन्।
छोराको समृद्धि भोग्ने उनको उछारै छैन। जहिले
सुकै कुनै न कुनै काममा अल्झिरहेकी हुन्थिन्। सन्तेले उनलाई
सम्झाइ - सम्झाइ हरेस खाइसकेको छ। के गर्ने गधा घोटी गाई बनाउन
नसक्ने पऱ्यो उ। बेला बेला सन्तेको प्रयास दोहोरिन्छ... तर
मनमायाको झ्वाँक् देखेर उ सह्रै तर्सिन्छ। कते समृद्धिको रहस्य
त खोलिदिने हैन आमाको फत्फताइले? र नै
चुपचाप सम्झौता गर्न बाध्य भएको हुन्छ उ...
'बिहेका
अघिल्ला दिन जनैसुपारी रे' पल्ला घरका
बडाबाबुकी बुहारी बुद्धिमायाले ससुराचाहींलाई भनेकी हुँदा,
ससुरा थर्कमान आफ्नो निकै वर्षको अनुभवको पोको बोकी सन्तेका
आँगनमा देखा पर्छन्।
'लौ बडाबा
आउनुभएछ, खै बस्न देऊ', सन्तेले
अह्राउँछ। थर्कमानले बिहेघरको रङ्ग - ढङ्ग देखेर आफ्नो अनुभवको
पोको फुकाउने आँटै गरेनन्। दाउ -छुरी - कटारी उद्याएर आएका
गाउँलेहरू एकातिर बसी ट्वाल्ल परिरहेछन्...
मङ्सिर
महिनामा पानी नपर्ने हुँदा गाउँमा यसो तिरपाल टाँगेर बिहेघर
बनाइन्थ्यो जसमा गाउँलेहरू आफै लागीमेली गरिदिन्थे।
तर...यहाँको त कुरै ना भिन्नै छ। शामियाना शहरदेखि मगाइएको छ
ट्रक ट्रकमा... अनि शामियाना बनाउने मानिस पनि ल्याइएका छन्
उतैतिरदेखि। रङ्गी - चङ्गी लुगा टाँगेर ठूलो सभा गर्ने थलोझैं
बनाइएको... थरी - थरीका रङ्गीन बल्ब र नियोन लाइटले झिलिलिलि
पारिएको... कुर्सी - मेच... खाने, पकाउने, बस्ने बेग्ला -
बेग्लै घर!!!
भान्साघरदेखि चलेको मगमग
बासनाले गाउँलेहरूको नाकै बसाएको छ। 'निकै
जोडदार आयोजन छ आजै, भोलि झन् कस्तो होला हौ'
भन्दै ठूलो घरमा बसेका आइमाईहरू साउती गर्छन्।
घुइँङ्ङ्... घुइँती गाडीको
लाम आएर सन्तेका दैला अघि रेकियो। 'लौ
अइपुग्यो' भन्दै सन्ते तर्खरियो।
बेहुलो पक्षका मानिस पचास - साठीजना जति ग्वार्ग्वार्ती
बिहेघरमा पसे.... 'बिजातलाई दिएछन्
कि क्या हो छोरी, खै नेपालीजस्ता त देखिंदैनन् त!'
भन्दै छेवैमा बसेकी एकजना आइमाईले बुद्धिमायाका
कानमा सोधी।
'हैन,
हैन, यो केटो त हाम्रै जातका हुन्, अँ आउनेहरूमा चाहीं धेर जसो
अरू जातका छन् रे, बेहुलाका घरका छेउछाउ त्यति नेपाली छैनन्
रे।' बुद्धिमायाले उसको मनको
भुट्भुटी मेटिदिंदै भनी।
'अनि
बेहुलाले के काम गर्छन् नि?'
'खै,
हाम्रो नानीसँग व्यवहार छ रे भनेको सुन्थें। के कस्तो उत्ति
जान्दिनँ हौ म पनि...',
बुद्धिमायाको कुरा ढाक्ने असफल प्रयास!
'ए'
भन्दै सोध्ने आइमाईले अर्कीलाई आँखा सन्काई।
जनै सुपारीमा गरिने
रीतिथिति भन्दा खानपीनतिर पो आउनेहरूको मन धेरै आकर्षित थियो।
बल्ल - बल्ल रीतिथिति गरिसिध्याएर उनीहरू खानपीन गर्न लागे।
पाहुनाहरूको पहिरन देखेर गाउँकाहरू तीन छक्क परेका छन्।
पिठ्यूँ मात्रै अलिकति छोपिएको ब्लाउज अनि दामी सारी अनि
गहनाले झपक्क, गहनाका गर्मीले होला त्यस्तो ब्लाउज लाएका।
अनुहारभरि पनि के के जाती पोतेका, नङ्ग्राहरू पनि... कोही फेरि
त्यो के भन्छ क्या त पञ्जाबीले लाउने सुरवाल लाएका। छोरा मानिस
फेरि घाँटीसम्मको बन्द सूटमा।
'हन
क्या हो यस्तो, बिहेबटुलामा यस्तो के लाएर आएका हुन्?'
आइमाईहरूले कुरा गर्न
सजिलो विषय भेट्याए। बूढी पाकी एकजनाले अलिक हपार्ने पाराले
'चुप लाग् मोरीहरू'
भन्दा पनि गुन्गुन कुरा चलिरह्यो।
बेलुका कसार बटार्ने भनेर
आइमाईहरूलाई मनमायाले भनेको
हुँदा धेरजस्तो घर फर्केनन्। अनि
कसार बटार्ने आयोजन... निकै हांसो ठट्टा चल्यो घरै उचाल्ने
गरी। सन्तेले आएर आमाचाहिंलाई सोध्यो ..'के
हो?' थाहा आएपछि भन्यो,
'धेर नबनाऊ, कसले खाने त्यो,
उताकाले यी सब खाँदैनन्।'
'हन
कस्तो कुरा गरेको तैंले, दही चिउरा र कसारै त हाम्रो सगुन हो',
आमाचाहिं झ्वाक्किँदै फत्फताउन थालिन्। कुरा बिग्रिन बेर छैन
सोची सन्तेले त्यहाँदेखि सुइँकुच्चा ठोक्यो। नत्र ...
बुद्धिमायाले काकी सासूलाई फकाउँदै सुत्ने कोठामा लगिन् र चुप
लगाइन्, नत्र भने आज त पक्कै पनि कुरा नराम्रो हुने थियो।
जसोजसो कसार बटारीवरी बुद्धिमायाले थान्कोमान्को लगाइन् अनि
चिया - चमेना गराएर सबैलाई बिदा गरी आफू पनि घरतिर लागिन्।
घरको बरन्डामा चौकी हालेर
ससुराबा धुम्धुम्ती बसेका। बुद्धिमायाले धेर लेखपढ गर्न नपाए
पनि बुद्धिमा तर नामकै अनुरूप छिन्। उनलाई बुझ्न बाँकी रहेन -
भाइका घरमा नपुछेकाले ससुराबालाई नराम्रो लागेको छ। के गर्ने,
अंशबन्डा छुट्याएपछि, धुरी छुट्टिएपछि मान्छेको मन पनि त
फेरिइन्छ। तर ससुरा बालाई के भनी सम्झाउने?
बुढेसकालमा मान्छे यसै पनि धेर भावुक हुन्छ।
'चिया पिउनुहुन्छ बा?'
बुद्धिमायाले उनको मन अन्तैतिर फर्काउने प्रयास गरिन्।
'ले
न त।' ससुराबाले भनेपछि हतार - हतार
चियाको बटुको ल्याएर ससुरालाई दिइन् र आफू पनि एक बटुको चिया
लिएर टुसुक्क पिंढीमा बसिन्। न ससुराबाले केही भने न बुहारीले
नै केही बोली। मात्र सुरुप्प ...सुरुप्पको आवाज आइरह्यो। सायद
ससुराबाले
सानो भाइको घरमा पाएको अपमान चियाको घुट्कोसितै
निल्ने प्रयास गरिरहेका थिए।
बिहेका दिन बिहानबिहानै एक
अर्को दृश्य देखियो। बेहुलीलाई नुहाउन भाउज्यूको खोजी हुँदा
बुद्धिमायालाई बोलाइयो। हतार - हतार घरधन्धा सकेर उनी हाजिर
भइन्। तर, त्यहाँको दृश्य देखेर उनी अचकच्च परिन्। बुकुवा दल्न
भनी सँगीहरू तँछाड - मछाड गरिरहेका। 'हैन
हैन धेर नदल्नुहोस्, भरे मेकअप गर्दा अप्ठ्यारो हुनेछ'
भन्दै शहरबाट झिकाइएको एउटा बुच्ची केटी चिच्च्याइरहेकी।
साँझ झमक्क परिसक्दा पनि
जन्ती आइनपुगेकोले बुढापाकाहरूमाझ कुरा हुन थाल्यो। फेरि बडाबा
पनि देखिएका छैनन्। चतुर सन्तेले भाउज्यूचाहिंलाई लिएर आउन
भन्यो।
के गर्नु?
अपमानित भए पनि समृधिका सामु
घुँडा टेक्नै पर्ने। लौरोका भर
पर्दै बुढा मान्छे बिहेघरमा उपस्थित भए।
राति दस बजेतिर जन्ती
आइपुग्यो। साथमा एउटा हस्को पनि त्यहाँ बस्नेहरूका नाकमा
ठोक्किन आइपुग्यो। लौ है चाला माला निको छैन। बुढा -
पाकीहरूका मनमा चिसो पसिहाल्यो। चम्किरहेका बत्तीस पुतलीहरूलाई
आमाचाहिंहरूले सावधान गराए। तर भर्खर बैंसको लाली चढेका
कुखुराको सुली बाङ्गो देख्दा हाँसी हाल्नेहरू यहाँ त्यसै के
बस्न सकून् -
'ए,
बिहे बटुलामा हाँसो ठट्ठा नगरे कहिले गर्नु हौ, जे सुकै होस्'
भन्दै एक हूल बत्तीस पुतलीहरू खित्का छोड्दै त्यहाँदेखि भागे।
वरमाला लाउञ्जेलसम्म त
जन्तीका खुट्टा बटारिसकेका थिए। यता बेहुला - बेहुली वरमाला
लाउने उता साथी भाइहरू खुसी मनाउने। उनीहरू पटेका पड्काउन
ताले। अनि फेरि सोमरसले छोपिसकेको हुँदा झ्वाँकमा अर्को थोक
पनि पड्काइदिए - गुडुम्म!
कता फेरि कुन चाहिंले
मातेको सुरमा मौका छोपी एउटी बत्तीस पुतलीका कुठाउँमा
चिमोटिदिएछ - 'मरें नि'
को चित्कार। कतै बोतल फुटालेको आवाज!!
आवाज सुन्नेबित्तिकै
यतिञ्जेल रमिता हेरी
मक्ख परिरहेका गाउँलेहरू ज्यान जोगाउन
जतातिर पायो उतैतिर उम्किए। आइमाईहरू एकातिर आ - आफ्ना
लालाबालालाई घिसार्दै अर्कातिर सारीका फुर्का समाउँदै दगुरे।
बत्तीस पुतली लाएका लुगा
घुँडासम्म उचाली पछिल्तिरका
कोठेबारीको बारसार सम्याउँदै बेतौडसँग दगुरे। छोरा मानिसहरू त
पहिल्यै छुमन्तर भइसकेका थिए। बुद्धिमायाले पनि ससुराबा
चाहिंलाई लगभग घिस्याउँदै घरका आगनमा ल्याइपुऱ्याइन् र हतार -
हतार स्वाँ - स्वाँ फ्वाँ - फ्वाँ गर्दै घरभित्र पसेर दैला
थुनिन् अनि बाँसले बुनेको दैलाका प्वालदेखि बिहेघरतिर चियाउन
थालिन्।
गोडा दशेक गाडीका इञ्जिन
स्टार्ट गरिएको आवाज सुनियो। अनि एकै छिनमा बिहेघरका अघिल्तिर
शोभायमान धेरजसो गाडी गायब भए।
अघि भर्खरसम्म मानिसको
घुइँचोले भरिएको बिहेघर अहिले चकमन्न छ। सन्तमान कानमा मोबाइल
लिएर कुरा गर्न व्यस्त छ। बेहुलो एकतिर खरायो झैं आँखा पारी
उभिएको छ। बेहुली डल्लो परेकी छे। पुरेबा भित्रभित्रै कामेर
होला हल्लिइ - हल्लिइ केही पढ्ने प्रयास गरिरहेझैं देखिएका
छन्। कुरा गरिसिध्याएपछि सन्तेले पुरेतबालाई एउटा कुनातिर
हातका इशाराले डाक्यो र कुन्नि के भन्यो - जवाफमा पुरेतबाले
मुन्टो मात्र हल्लाएको देखिन् बुद्धिमायाले।
आ... जे सुकै गरून्... बा'लाई
सुत्ने व्यवस्था गरिदिनुपऱ्यो भन्दै प्वालदेखि आँखा झिकिन्।
ओछ्यानमा जिउ छोडेपछि यसो आँखा झपक्क मात्र भएथ्यो होला
सुस्तरी दैला ढकढकाएको आवाज कानमा पऱ्यो। बुद्धिमायाले
बिरालाका चालले ढोकानिर पुगेर सुस्तरी सोधिन् -
'को हो?'
'भाउज्यू
बडाबालाई लिएर हिंड्नुछ। दिदीलाई राति नै बिदा गर्ने रे, बा'लाई
त होसै छैन - ओछ्यान लागेका छन्।'
ठण्डेले सुस्तरी भन्यो।
ठण्डे र बुद्धिमायाका
अँगालाको भर पर्दै थर्कमान बुढा लगभग घिस्रिंदै बिहेघरमा
आइपुगे। बेहुला - बेहुलीका छेउमा मनमाया अक्षता मुछिवरी
पर्खिरहेकीले मिलेर बल्लबल्ल बुढालाई बसाले... सन्तेले
आमाचाहिंलाई आँखालाई आँखाले इशारा गऱ्यो।
बुढाले हात कमाउँदै कुनै
सुरत अक्षता टिपेर बेहुला - बेहुलीका निधारमा टाँसे...
मुखभित्रै बडबडाएझैं भने - 'आयुद्रोणे...
नारायणे...' हैन बा'लाई
के भा'को?
सरस्वती बास गर्ने गला... आज किन भूल आशीष दिइरहेका छन् -
बुद्धिमायाले सोची...
दोस्रो पटक अक्षता टिप्दा
नटिप्दा बुढा मान्छे घुप्लुक्क अक्षताको दुनामा घोप्टिन पुगे -
कुरा बुझ्न बाँकी रहेन
सन्तेलाई - उसले -'भयो भयो'
भन्दै बेहुला बेहुलीलाई हतार - हतार बाहिर गाडीतिर लिएर गयो -
बुद्धिमाया ससुराबा'को
सुसारमा लागिन्...!!
(आवर्त्तन
- 2007 बाट साभार) -
अगस्त 2011
त्यो जून अनि त्यो घाम
पूर्ण राई
किशोरी वसन्तको आगमनको मृदुल आभास
दिंदै, चैते हुरीको उग्रतालाई सम्हाल्दै फक्रन थालेका वर,
काब्रा र आरूका ती ङ्याल्डुङ पालुवाहरू वैशाखको सुरुआतसँगसँगै
केही फक्रिएका, केही मौलाएका छन्। जागरूकता, मृदुलता,
उष्णताको स्पर्श दिने पालुवा डांडाहरू, चिलाउने पाखा र माथि -
माथिका जङ्गलबीच कोइली बास्न सुरु भइसकेको यो क्षणलाई
तुवाँलोको धूमिल, पारदर्शी तप्कोभित्र लपेटिएर हल्का छरिएका ती
पर - परका उदास - उदास पाखाहरू, माथि आकाश र गाउँ - बस्तीहरू -
अहो! यहाँ यसरी नै, यहीं नै
यिनीहरूमाझमै आफू आत्मसात हुँदा सांच्चै तिम्रा यी, यस्ता
वाक्यहरू पनि प्रेरणा भएर आउँछन् -
मलाई भुल तिम्रो निम्ति घाम लाग्छ,
मलाई बिर्स तिम्रो निम्ति जून खस्छ,
मलाई नसम्झ हावा - बतास तिम्रै
निम्ति बहन्छ,
कोइलीले तिम्रै निम्ति वसन्त डाक्ने
गर्छ..।
... तर फेरि माया, स्नेह, प्यार र
आडका आकाशीय इच्छा अनि रहरहरू माया,
स्नेह, प्यार र आडकै सीमानाहरूभित्र लथालिङ, भताभुङ
हुँदा,
प्रेम र सौहार्दको अनन्त भण्डारभित्र मान्छेलाई दिनुपर्ने,
पाउनुपर्ने माया र प्रेमको वीभत्स अनिकाल देख्दा, माया र आडको
भोक र तिर्खाले मान्छे जिउँदो लाश बनेको थाहा पाउँदा अनि
प्रेरणाहरू मृगतृष्णा, अहो! कति
विकराल अनुभूति, कति भयावह यी क्षणहरू!
यसैले कहिले - काहिँ फेरि यस्तो लाग्छ -
तिमीले भनेको त्यो घाम मेरो निम्ति
होइन,
तिमीले भनेको जून मेरो निम्ति होइन
कोइलीको गीत र वसन्तको आगमन मेरो
निम्ति कतई -
कतई होइन - होइनन्। होइनन् केही - कोही मेरो
निम्ति होइनन्, कोही कसैका निम्ति होइनन्। तर फेरि संसारको
आकाशमा घाम लाग्छ, जून हाँस्छ, कोइली गाउँछ, यो अर्को विडम्बना
सायद! यस्तै - यस्तै र यही
विडम्बनाहरू नै मान्छेका निम्ति रहर र करहरूको एउटा हास्यास्पद
कसी होला - यसैले म बाँचिरहेछु यो क्षणलाई - हिजजस्तै। मेरो
कमजोर मान्छे, मेरो दृढ मान्छे, मेरो भावुक मान्छे सधैँ एकलो
उदास भएर पनि मान्छेसँगै बाँचेने इच्छा गर्छ, कति अचम्म्!!!
भूल बिर्स, नसम्झ भन्ने ती कोमल तर विषालु शब्द - शब्दभित्र
तिमी मान्छेसँग मेरो मान्छे बोल्छ, हाँस्छ, पीर पोखाउँछ तिमी
मान्छेअघि...।
ऐ,साँई, लिऊ (लेघ्रो तानेर)
ह - जु - र....(लेघ्रे तानेर)
परखेव, परखेव, एउटी पाठी खोल्सोतिर
लागिछ।
प्रस्तुत गाउँले वार्तालाप विष्ट
बुढा र उनकी सानी छोरीबीचको हो, विष्ट बुढा आँगनमा हलो
ताछ्दैछन्, साइँली खेत - खोल्सातिर गाई - बस्तु चराउँदैछ, म
बसेको घरमनिको अर्को घरमा मकै गोड्ने कुरा हुंदैछ। आज बिदाका
दिन, म छु - कहाँ भनूँ, घरमा/
परदेशमा? म छु यहीं, छु, जे होस्।
तल्लो घरको
आँगनको डिलमा उभेका
लिम्बू बाजेले 'खेताला आउनैपर्छ'
भनेर जोड गर्दैछन्, केही तलको बारीमा गहुँका बालाहरू परस्पर
अँगालो मारामार गर्दैछन्, पल्लो घरको लखपते टुकुल - टुकुल
हिँड्नथालेको आफ्नो टुकुले छोरोलाई कटुवा सल्काउन
'आगो ले ले, आगो ले ले'
भन्दैछ, घाम, जून, कोइली, बतास सबैलाई
भुल्दै तिम्रै सम्झनामा
म यो कथा कोर्दैछु ... किन त्यो जाज्वल्यमान सूर्यले तिम्रो
सम्झनालाई भस्म बनाउँछ, किन त्यो मायालु जूनले तिम्रो मायालाई
धूमिल पार्दैन, किन यो बतासले तिम्रो प्रेमलाई कतै टाढो
क्षितिजतिर उडाई लाँदैन, किन मान्छेले मान्छेलाई चाहेर पनि
भुल्न सक्तैन?
लिम्बू बाजेले किन
'खेताला आउनैपर्छ'
भनेका होलान्, लखपते दाइले छोरालाई किन 'आगो
ले ले, आगो ले ले' भन्नपरेको होला,
घाम, जून, आकाश, बतासबीच पनि मैले तिमीलाई किन याद गर्नु परेको
होला!!! हुँला!!!
छक्क पर्छु - यहाँ आएको पनि धेरै दिन
भइसकेछ, छक्क पर्छु - उत्तरतिर गएको एउटा सडक, अजङ्ग पहाडको
हत्केलाभरि हाम्रा झुप्राहरू, उदासे डाँडाहरू, गाई - बस्तु
चराइहिँड्ने गोठाला - गोठाल्नी केटा - केटीहरू, पाठशालाका
धुलेमैले मेरा नानीहरू, देवराली डाँडा, खेतखला, खोला - नालाहरू
जो जस्ताको तस्तै छन्, म उस्तै, तिमी उस्तै!
तर कति अविश्वास 'हामी उस्तै छौं
भन्ने' यो घोषणा!
यहाँ पनि छक्क पर्नु सिवाय अरू केही रहेन, प्रत्येक क्षण हरपल
छक्क पर्नुपर्ने हामीलाई सधैँ एउटा न एउटा विडम्बनाले
पछारिरहेकै अनुभव गर्छु र प्रत्येक छक्क पर्ने
स्थितिहरूसंगसंगै फेरि मैले तिमीलाई याद गर्नु, मान्छेले
मान्छेको माया खोज्नु, मान्छेले मान्छेकै माया सम्झिरहनु,
सम्झिरहनु, छक्क पर्नु त हो, होइन र?
भोलि सधैँ झैं त्यही फलैंचाडाँडा भएर
म पाठशाला पुग्छु, त्यही परको बरडाँडा भएर पाठशाला पुग्छु,
त्यही पँधेरा काटेर पाठशाला पुग्छु र खोज्छु - मेरै मनमिल्ने
साथीहरू, मलाई मनपर्ने केटाकेटीहरू र मलाई मनपरेको त्यही
धुप्पीको फेद। यी सब - सब छक्कपर्ने कुराहरू नै हुन्, यी सब
विवशताका कथाहरू नै हुन्। जीवन के पो रहेछ र, छक्क पर्नु र
विवशता सिवाय!
छि:
विवशता सम्झेर पनि छक्क पर्छु र मेरो निम्ति लागिदिने त्यो
घाम, जून, तारा, मेरो निम्ति बगिदिने हावा - बतास र मेरै
निम्ति संगीत भरिदिने कोइली चरीसम्मलाई विवशताले विवश तुल्याए
झैं लाग्छ।
सुन त - तिम्रो सभ्यताको अभिनयजस्तो,
मेरो सभ्यताको ढोगजस्तो मान्छेको ईर्ष्या, स्वार्थ र
लोभहरूजस्तो मान्छेको घना बस्तीबीच एकलो उदास र अनेकौं हामी
मान्छेहरू सबै - सबै विवश तर यो कस्तो रहर हो मान्छेको - रुने,
हाँस्ने, माया गर्ने, माया खोज्ने, माया दिने -
संसारमा घाम नउदाए पनि
संसारमा जून नउदाए पनि
कोइलीले वसन्त नडाके पनि...
'ऐ,
तिमीहरू के गर्दैछौ?" केही दिनअघि
मात्र हो दिउंसो क्लास नहुँदा यसो फलैंचा डाँडातिर आउँदै थिएँ,
बाटोमाथिको सानो काब्राको रूखको फेदमा एउटा दृश्य देखें -
बाल उद्यान कक्षाका साना - साना दुइ
नानी,
किताब
बोक्ने झोला आफूभन्दा लामो,
काब्राको फेदमा संसार भुलेर झरिरहेका
काब्राका अमिला
टुसाहरू खोज्दैछन्, कुटु - कुट्
टोक्दैछन्, घुम्छन्,
हेर्दैछन् काब्राको सानो रूख वरिपरि,
तलमाथि
माडेर केही विष्ट बुढाका गहुंबारी,
लुकिएर फेरि कताकता
गहुँबारीभित्र नाचिरहेछन् झुम्दै
गहुँका बालाहरू
झुकेर, झुमेर...।
मैले अनायासै सोधें -
'ऐ, तिमीहरू के गर्दैछौ?"
"गुड
मर्निङ सर..."
"नमस्ते
सर..."
सुन्यौ, एक
क्षण आँखा बन्द गरी यहाँ
आएर यी दृश्यहरूलाई आफ्नो मानसपटमा सजाऊ त, कस्तो लाग्दो रहेछ?
अँ! ती दुइ नानीका अप्रत्याशित,
कल्पनातीत उत्तर सुनेर तिमीलाईसम्म भुलिपठाएँ अनि ती दुइ
नानीहरूको संसारमा
आफू पनि आत्मसात् हुने रहरले सायद एउटा
राम्री लाग्ने नानीलाई प्यारो गरेर सोधें -
'तिम्रो
घर कता हो?'
'उ
तेता।'
डाँडापारि देखाई।
'घरमा
को को छन्?'
'आमा,
पापा, नाना।'
'म
तिम्रोमा आउँछु ल?'
बुझ्यौ, थाहा छ?
यो वाक्य आफूले भन्नासाथ मलाई त्यो नानीको प्रत्युत्तरको चाहना
भइहल्यो! मलाई उसले स्वीकृति दिन्छे
नै, अहा! तर मेरा असीम रहर र मीठा -
मीठा कल्पनालाई भस्मीभूत बनाउँदै त्यो नानीले अर्कैतिर मुख
फर्काई, म मर्माहत भएँ, म हारें,
खण्डित भएँ। मान्छेको सानो
रहरको पूर्णता पनि संसारमा नहुनु!
के भनूं आफैमा चकनाचुर भएको फेरि चकनाचुर भएँ, हराएँ,
बिलाएँ...(त्यो नानीको
जवाफ त आएन!)
तर म भाग्यमानी रहेछु मेरो त्यो
अन्धकार क्षितिजमा आशातीत सूर्य उदायो, जून हाँस्दै आई अनि
कोइली बासी। अचम्म, मैले ध्यान दिएर माया गर्दै बोलाएको नानीको
सट्टामा अर्की नानीले पो हाँस्दै भनी, 'सर,
हाम्रोमा पनि आऊ ल?'
पत्याउँछौ?
विश्वास गर्छौ? म यहाँनेर अवाक्
भएँ, अवाक् भएको छु आनन्द, माया र सहानुभूतिले, संसारको
प्रत्येक खुशी भएको छु प्रेरणाले, अब मलाई विश्वास भएको छ,
साँच्चि यहाँ घाम लाग्दो रहेछ, जून हाँस्दी रहिछ, कोइली गाउँदी
रहिछ, साँच्चै यहाँ घाम लाग्नु पर्दोरहेछ, जून हाँस्नु
पर्दोरहेछ...।
अहो!
बिच्चाका कुराहरू गरें। समय पनि त निकै भइसकेछ, म के
भाको छि:! म त आज त्यो नानीको घरमा
जानैपर्छ - जानैपर्छ।
'सर,
हाम्रोमा पनि आऊ ल?' उसले मलाई
बोलाएकी बोलाएकै छ। म जान्छु ल? लौ
त बिदा चाहें। तर अहो! मलाई त्यो
नानीको घर पो थाहा छैन। तर मलाई विश्वास छ - संसारको प्रत्येक
डाँडा - काँडा, खेतखला, सागर - मरुभूमि सबै - सबै नाघेर पनि म
त्यो नानीको घरमा पुग्छु नै।
लाग्छ - त्यो नानी अहिले
हाम्रै बाटो हेरिरहेकी होली, घाम, जून, तारा, कोइली र बादलसँग
खेल्दै होली, जहीं भए तापनि म उसलाई भेट्छु नै।
तिमी अहिले के गर्दिछौ,
मलाई थाहा छैन, सम्भव छ - सम्झन नहुने मान्छेलाई
सम्झी - सम्झी पिरोलिँदै छौ सायद... होस्।
नसम्झ, याद नगर, नपिरोलेऊ,
तिमीलाई पनि तातो दिने घाम छ, माया र आड दिने जून छ, तिम्रो
निम्ति संगीत भर्ने कोइली चरी सधैँ सधैँलाई छ - बाटो
देखाउने हावा र बतास छ। विश्वास भयो मलाई साँच्चै -
तिमीले मेरो भनेको घाम
तिम्रो पनि हो
तिमीले मेरो भनेको जून
तिम्रो पनि हो
तिमीले मेरो भनेको कोइली
तिम्रो पनि हो - घाम, जून, तारा, बतास हामी सबैका हुन्, हामी
सबैका हुन् ...ठीक छ। अब तिम्रै आश्वासनलाई स्वीकार्दै उही
घामलाई हेर्दै बाँचुला, उही जूनको छायाँमुनि गीत गाउँला, हावा
- बताससँग बाँचुला अनि कोइली चरीको कुक्कु कुक्कुसँग सधैं -
सधैँ म तिम्रै नजीक रहुंला....।
(स्व. पूर्ण राईको यस कथाको
रचनाकाल 1988 हो।)
-
जुलाई 2011
द्वन्द्व
गुप्त प्रधान
आइतबारको दिन, राधाकी आमाले झोलाभरि
बजार सौदा गरेर आउँदा साथमा एक किलो मासु पनि लिएर आई। घरमा
पुगेर सौदा बिसाएपछि ठूली छोरी राधालाई चिया बनाउन लगाई अनि
आफू चाहिँ झोलाका सौदाहरू एक एक गर्दै थन्काउन लागी। सौदाहरू
थन्काइसकेपछि त्यो मासुको पोकालाई छेउको ताकको स्टीलको थाल
तानेर त्यसैमा हाली।
राधाले चिया बनाएर ल्याई। यसै बेला
तल्लो घरकी जसमतिकी छ - सात वर्षकी कान्छी छोरी सीता पनि
खेल्दै त्यहाँ आइपुगी। चिया पिइसकेपछि राधाकी आमाले त्यस
मासुलाई कागजबाट निकाल्न लागी। तर कागज भने मासुमा ठाउँ ठाउँमा
टालिएर रहेको थियो। उसले ती टालिएका कागजका टुक्राहरूलाई एक एक
गर्दै सामुबाट उप्काउन लागी। यो देखेर सीता त्यहीं छेउमा
टुक्रुक्क बसी अनि नाकभरिको सिँगानलाई एकापट्टिको बाहुलाले
सोहोरेर पुछ्दै राधाकी आमालाई सोध्न लागी,
"फुपू, यो केको मासु हो?"
"तँलाई केको
जस्तो लाग्यो?"
राधाकी आमाले उल्टो सीतालाई नै
सोधी।
"सुङ्गुरको
होला। तपाईंहरू त सुङ्गुरको मासु पनि खानुहुन्छ, नि?"
सीताको अबोधपन बोल्यो।
"सुङ्गुरको
मासु? कसले भन्यो तँलाई?"
"आमाले....।"
उसले सहज उत्तर दिई।
"हो,
सुङ्गुरकै मासु हो। अहिले मरमसलाहरू हालेर मीठो बनाएर पकाउँछु
र तँलाई पनि दिन्छु। खानुपर्छ है, ल?"
"अहँ खाँदिनँ। हामीले सुङ्गुरको मासु खानु
हुँदैन।"
सीताले भनी।
"कसले भन्यो
तिमीहरूले सुङ्गुरको मासु खानु हुँदैन भनेर?"
"आमाले...।"
"तिमीहरूले
खायौ भने के हुन्छ अरे?" फेरि
राधाकी आमाले सोधी।
"आमाले
भनेको, हामीले सुङ्गुरको मासु खायो भने जात जान्छ। जात गएपछि
मान्छे मर्छ अरे।"
"धत्, झुटो
कुरा! कहिले मान्छेको जात पनि आउने
र जाने गर्छ? ढाँटको नि
त्यसै
बित्थामा।" फेरि राधाकी आमाले भनी।
"हो त, आमाले
मात्तै होइन, बाबाले पनि भनेको।"
सीताले आफ्नो भनाइलाई जोर दिँदै भनी।
"तिमीहरू नि, के केको
मासु खान्छौ?"
"हामी त खसीको मात्तै
खान्छौं। ... फुपू, ऊ: यो ठूलो
डल्लो मासु के हो?...कलेजो हो?
त्यो तान्नुहोस् त, हेरूँ।"
सीताले त्यही मासुमा
नजर गाड़ेर हेर्दै भनी।
"कुन, यो?"
राधाकी आमाले मासुसित चेपिएर बसेको कलेजोको टुक्रालाई
त्यहाँबाट निकालेर देखाउँदै सोधी।
"हो, त्यही नै।"
"हो, कलेजो नै हो। मासु
किन्दा सानो टुक्रा कलेजो पनि हालिमागेकी थिएँ।"
मासुबाट कागजका सबै
टुक्राहरू निकालिसकेपछि छातीमा खुकुरीको बींड़लाई अडाएर ठाडो
पारी अहिले राधाकी आमा मासु काट्न लागिरहेकी थिई। यसरी काट्दै
गरेको मासुबाट दृष्टि हटाएर सीतालाई हेर्दै उसले सोधी,
"आज तिमीहरूको घरबाट बजार गर्नु को गयो?"
"आमा नै गा'को
छ।" सीताले भनी।
"उसो भए आमाले पनि
बजारबाट मासु लिएर आउँछ होला।"
"अहँ, ल्याउँदैन। अघि
बिहानै आमाले भनेको - बाबा बिमार भएर काममा मगएकोले आमासित
पैसा छैन अरे। अब बाबा जाती भएर काममा गएर पैसा ल्याएपछि
मात्तै आमाले बजारबाट मासु किनेर ल्याउने अरे।"
"तँलाई मासु कत्तिको
मनपर्छ?"
के मन आएर हो,
राधाकी आमाले सोधी।
"मलाई खसीको कलेजो
कस्तो मन पर्छ। घरमा आमाले मासु पकाउँदा कलेजो जति मलाई नै
दिन्छ। तर बाबा बिमार भएदेखि आमाले मासु नै ल्याएको छैन।"
"कति भयो आमाले मासु
नल्याएको?" राधाकी आमाले सीतालाई
हेर्दै सोधी।
"कति भयो कति। एक
महीना, दुइ महीमा जति भइसक्यो नि।"
सीताले ठीक हिसाब लगाउन नसकेर भनी।
"उसो भए यो कलेजो पकाएर
तँलाई दिन्छु, खा ल?" राधाकी आमाले
भनी।
"अहँ, खान्न यस्तो
सुङ्गुरको कलेजो।" सीताले विरोध जनाई।
"उसो भए के खान्छस् त?"
"केही पनि खाँदिनँ।"
फेरि सीताले बाहुलाले सिंगान सोहोरेर पुछ्दै भनी।
"उसो भए यो मासु
पाकेपछि हामी योसित भात खान्छौं। तंलाई चाहिँ यसको सट्टा
दूधसँग भात दिन्छु, खा ल?"
राधाकी आमाले
टिठ्याउँदै भनी।
"अहँ, खाँदिनँ त्यस्तो
दूध र भात।... पछि बाबा जाती भएपछि आमाले नै बजारबाट खसीको
मासु र कलेजो किनेर ल्याएर पकाइहाल्छ नि। तेति बेला नै खसीको
कलेजोसँग भात खान्छु।...तपाईंहरूकोमा त सुङ्गुरको मासु पो
पकाउने रहेछ।... होस् बरू आफ्नै घरमा जान्छु।"
अनि उ त्यस घरबाट
निस्केर ओह्रालो लागी।
(जून 2011)
ओसिस
नवसापकोटा
-
कला
गोष्टीमा रमेशले केही दिनअघि आफूले पढेको अङ्ग्रेजी लेखकको
एउटा मरुभूमिको निकै राम्रो कथा राम्ररी वर्णन गऱ्यो।
श्रोताहरूमध्ये मनोजले साह्रै चाख लिएर सुनेको थियो। अन्तमा
उसले त्यस कला वर्णनमाथि केही जिज्ञासा पनि राखेको थियो।
यथार्थमा त्यस कथाले उसलाई प्रभावित पारेको थियो। अरू
श्रोताहरूले त्यस कुराको लख काटेका थिए।
-
मनोज आप्नै कामले बीकानेर
गएको थियो। त्यहाँ उसले एउटा होटेलको कोठा लियो। कोठामा चाहिने
सबै कुराको समुचित व्यवस्था थियो। कोठासित जोडिएको कौसीमा
थरिथरिका फूलहरू फक्रेर वातावरणलाई निकै मोहक पारेका थिए।
भित्र भित्तामा दुइवटा चित्र थिए। एउटा मरुभूमिमा हिँडिरहेको
ऊँटको र अर्को एउटी सुन्दर अर्धनग्न नारीको। दुवै चित्र आकर्षक
थिए। अर्को भित्तामा ए.सी. बाक्स थियो जो त्यस कोठाको प्राण
केन्द्र थियो। बिस्तराको छेउमा एउटा टेबल र कुर्सी थिए। छेउमा
एउटा सोफा। पल्लापट्टि वार्डरब र ठूलो ड्रेसिङ टेबल। टेबलमाथि
एउटा अङ्ग्रेजी किताब राखेको थियो। उसले हातमा लिएर हेऱ्यो।
कला सङ्र्ग्रह रहेछ। सूची पत्र हेर्न थाल्यो। एउटा शीर्षक
भेट्यो - ओसिस। कताकता यस शीर्षकले उसको मन छोयो। ओसिस नामैले
उसको सुकेको मन तर्सियो। शुष्क मरुभूमिमा हुने हरियो चिस्यान
वनखण्डको नाम ओसिस हो। हामी त्यसलाई नखलीस्थान भन्छौं।
उसले त्यही कथा पढ्न
थाल्यो। पढ्दै गयो। झन झन रुचि बढ्दै गयो। उसले यो कथा अघि पनि
कतै पढेको जस्तो लागिरह्यो। अन्त्यमा ठिम्यायो यो त्यही कथा
थियो रमेशले कथा गोष्ठीमा पढेको। अब मनोजले झन चाख लिएर त्यो
कथा पढ्न शाल्यो। कथा पढ्न पाएकोमा आफैलाई धन्य मान्यो। कथा
रसिलो थियो। उ त्यस कथाभित्र पस्दै गयो। भासिँदै गयो। कथाको
नायक आर्थरसित उ आफै एकात्म भयो। कथाकी नायिकाको न रूप
चिन्दथ्यो न नामै जान्न सकेको थियो आर्थरले। त्यसैमा उसको
छटपटी र भुटभुटीसाथ कथा अघि बढिरहेको थियो। मनोज पनि
भित्रभित्र घरि तर्सिँदै र घरि पिरोलिँदै थियो। कोठाको
भित्तामा टाँगिराखेको चित्रकी तरुणीलाई मनोजले मनमनै यस कथाकी
नायिकाको रूप सम्झन थाल्यो।
मनोज ओसिस कथाको नायक
आर्थरको विवश दशामा रुमल्लिइरहेको थियो निरन्तर।
कोठाको ढोकामा कसैले सङ्केत
दियो। उसलाई झट्ट उठेर उघार्न मन लागेन। एकछिनपछि ढोकामा फेरि
सुस्त सङ्केत भयो - टक टक। मानौं कसैले उसलाई गुपचुप
भेट्न खोज्दैछ। उसले उठेर ढोका उघाऱ्यो सुस्तरी। ढोका बाहिर
राम्रो बान्की परेकी तरुणी मान्छे थिई उभिएकी।
ऊ मुसुक्क हाँसी। उसले
चिनेन र त्यस चित्रसित मिलाउन खोज्यो। मिल्दो - जुल्दो लाग्यो
उसलाई।
यस म्याम?
भन्यो उसले। उसले आकर्षक भङ्गिमामा मे आई प्लिज भन्दै
हातले भित्र पस्ने इशारा गरी। ओ स्योर, प्लिज गेट इन भन्दै
उसले भित्र लग्यो। उसलाई बस्ने सङ्केत गऱ्यो। ऊ सोफामा बसी। तर
उसका आँखा मनोजका आँखामा पनि अचानक चकमकाए। दुवैका आँखामा आँका
अडिए. त्यहीं स्थिर भए। दुई आँखामा झिकमिक थिएन। विस्फारित
नेत्रहरू विस्तारै मादकतामा झुम्न थाले। मुख दुवै मूक भए। आँखा
बोले। बले धपक्क। अनि निदाए भमक्क। बिहानपख उ ढिलोसम्म
निदाइरह्यो। उसकी पत्नी रानी रातो चियाको कप हातमा लिएर भित्र
पस्छे। मस्त निदाइरहेको देखी उठाउँछे - ढिलो भइसक्यो उठ्नोस्,
चिया ल्याएकी छु। ऊ झल्मालाउँदै सुस्तरी 'नान्सी!'
भनेरै आँखा उघार्छ।
अघिल्तिर रानी मुस्कराउँदै
उभिइरहेकी देखेर मुस्कराउँछ। चियाको कप हातमा थमाएर रानी
बाहिरिन्छे।
चियाको सुर्को लिँदै उसले
सोच्न थाल्यो - यो नान्सी को हो?
आर्थरकी नायिका?
चित्रकी तरुणी?
कि उसलाई राती भेट्न आउने
स्त्री?
को?
(पानस,
नेपाली साहित्य परिषद् असम, शोणितपुरको मुशपत्र, अप्रिल 2010 -
बाट साभार)
(फरवरी 2010)
असमकी मोहनी
हरीश मोक्तान 'अल्लरे'
(आमुख:
उहिले बज्यैले भन्थिन् - असमिया केटीको पछि नलाग्नू, तिनीहरूको
मोहनीमा फस्यौं भने कुकुर - बिरालो, खसी - बाख्रा भई बिताउन
पर्ला नी! हाम्रा यताकाहरू धेरै नै
घर फर्किआएनन्... तै - उतै बिलाए भन्छन्। असमकी केटीको मोहनी
बहुत खराब हुन्छ 'रे।)
साँच्चै म असम गएको थिइनँ।
केटौले उमेर छँदा सुनेको बज्यैको अर्ती - उपदेश यो मनमा बढो
अमेट छाप बसिसकेको म अझै पनि कल्पना र अनुबोध गर्न सक्छु।
हाम्री बज्यैले पनि कहिल्यै असम
देखिनन् तर उनलाई भने असमको
जादु - टोटका, टुना - मुना, वशीकरण र सम्मोहन सम्बन्धी धेरथोर
ज्ञात थियो - सायद! हुनसक्छ, ती
कुराहरू सत्य पनि थिए होलान्।
... समयान्तरमा मेरो
जुँघाका रेखी र कलिलो दाह्रीको सकसले मेरो जवानीलाई लैजान
थालेको थियो। उच्चतर माध्यमिक पाठशाला छिचोल्दै गरेको युवा
उमेरमा पनि मेरो मनलाई वैंशले मताउन लागेको बेलासम्म कहिल्यै
असमिया केटीको बारेमा ख्याल नै आएन। वैंशको घोर्ले भएको स्वर र
तनमनमा जवानीको रङ्ग चढ्दै गयो - यी आँखाबाट थुप्रै राम्री -
राम्री दौंतरी तरुणीहरू पनि सिनेमाको पर्दामा फिलिक् - फिलिक्
चिप्लने चित्रावलीजस्तै चिप्टेर गए तर त्यहाँ कुनै पनि असमिया
केटीको छवि देखाहा परेन, परेको थिएन।... युवा मन मेरो आकाशमा
यत्रतत्र छरपस्टिएर उडिहिंड्ने बादलका टुक्राजस्तै यताउता
गरिबस्थ्यो। : बज्यैका ती अर्ती -
उपदेशसमेत भुलिसकेको थिएँ। एक ता पढ्नुपर्ने बाध्यता अनि अर्को
भने कुनै युवतीलाई समेत प्रीतिका चिट्ठी लेख्ने फुर्सद पनि
रहेन, रहेको थिएन। विज्ञान विषयको विद्यार्थी भएकोले यो मदमस्त
तन्देरीपनलाई धरि प्रयोगशालाको अन्वेषणात्मक क्रियाकलापले अथवा
केमिस्ट्री र फिजिक्सका फर्मुलाहरू धोक्दैमा समय बित्दै थियो।
फेरि भएन, हामी पहाडेका छोरा - छोरीलाई गणितले जति गिजोल्छ,
त्यसका कुरा गरेर कुनै साध्य छैन। कसेक, ट्यान, थिटाले
उधिनिएको ट्रिग्नोमेट्रीले यो मगजलाई जुन अवस्थामा
पुऱ्याउँथ्यो, त्यसको कुनै हिसाब नै छैन, थिएन। म प्योर -
साइन्स - सबजेक्टको विद्यार्थी। केमिस्ट्रीमा जुन जादुगरी छ,
त्यस्तो फिजिक्समा छैन। बोटनीमा जुन प्राकृतिक रोमाञ्च थियो,
त्यस्तै रोमाञ्च जुलोजी क्लासमा उत्तानोचित्त काटिएर ल्याङ -
फ्याङ भएको भ्यागुताको सर्जरीमा पनि थियो। म यीनै विषयवस्तुमा
जिज्ञासु थिएँ। म डाक्टर बन्न चाहन्थें - खुब मिहिनेत गरी गरी
पढ्दथें। यस्तो बेलामा मलाई कुनै दौंतरी युवतीले पर्गेल्न
सकेकी थिइन अनि मैले आफ्नो वैंशलाई समेत डिसेक्शन - बक्सको
औजारसितै बन्द गरिदिएको थिएँ।... तर मसित भने एउटा अर्कै चस्का
लागेको थियो, त्यो थियो
- साहित्यको चस्का!
हाम्रो एउटा समूह थियो।
साहित्यानुरागीहरूको त्यहाँ जमघट थियो। हाम्रो समूहको नाम थियो
- भत्केको गाडी। कोही कविता लेख्थे, कोही कथा - कहानी। हाम्रो
समूह बडो उदेकको थियो। हामीहरू छुट्टीको दिन अथवा सरकारी
विदाको दिन कुनै एक चियाको दोकानको एउटा कुनाको टेबल वरिपरि
झुरुम्म बसेर कथा - कविताहरू बाँच्ने गऱ्थ्यौं। कहिले कुनै
आजिलाको दोकानमा मोमो र थुक्पा खाँदै अनि तोङ्बा पनि नार्दै
आ-आफना रचना पाठ गऱ्थ्यौं। कहिले कुनै साथी - भाइको घरमा कि त
लाइब्रेरीमा हुन्छ, त्यहाँ कोठे गोष्ठी गर्ने गऱ्थ्यौं। भनें
नि, मैले आप्नो वैंशालु जीवनलाई उफ्री - पाफ्री गरेको अनुबोध
कहिल्यै गर्न भ्याएको थिइनँ भने तरुणी ठिटीको कुनै ख्याल नै
रहेको थिएन।
... एक दिन मरो सहपाठी
मेकेनले मलाई एउटा लभ - लेटर लेखिदिने आग्रह गऱ्यो। मैले
त्यस्तो दुस्साहस कहिल्यै गरेको थिइनँ तर साथीको गन्गन् र
ढिपीले गर्दा उसको मन राख्नलाई एउटा खुबै गहकिलो प्रेम -
भावोद्गारपूर्ण लभ - लेटर लेखिदिएको थिएँ। साथी मेकेनको
ह्यान्डराइटिङ खुबै राम्रो थियो, उसको मेरो कुखुराले
खोस्रेजस्तो लेखनी भएको त्यो पत्रलाई आफ्नो सुन्दर अक्षरमा
सारेर आफ्नी प्रेमिकाकहाँ पठाएको थियो।... दुइ दिनसम्म त्यो
पत्रको कुनै पत्रोत्तर आएन। साथी मेकेन जवाबी पत्रको
प्रतीक्षामा गजक्क परेर बसेको थियो। मलाई कुनै चिन्ता नै थिएन।
एक आइतबारको दिन। म
नुहाउनलाई बाथरूम पसेको थिएँ। साथी मेकेन आफ्नो कोठामा कुनै
ठूलो ठूलो घोर्ले स्वर गरेर कुनै हिन्दी फिल्मको गीत
गुनगुनाउँदै थियो:
'मेरे मितवा... मेरे गीत
'रे, आजा तुझको पुकारे मेरे गीत
'रे...ओ मेरे मितवा...।'
म बाथरूमबाट नै साथीको गीत
सुन्दै नुहाउँदै थिएँ। एक्कासि साथी मेकेनको ...आय्या... मरें
नी..., सरी...सरी...' भन्दै
रोएजस्तो स्वर मैले बाथरूमभित्रै सुनें। यस्तो आभास भयो:
साथी मेकेनलाई कसैले कुट्दैछ। त्यही अवधिमा -
'तँ मेरो बहिनीलाई चिट्ठी लेख्छस्,
तेरो हात - कुट्टा नै भाँचिदिन्छु, बुझिस्!'
- भन्दै रिसाएको ठूलो आवाज पनि बाहिरबाट नै थुरिएर बाथरूम
हुँदै मेरो कानमा परिहाल्यो। मैले कलको पानीलाई ठूलो धारामा
झररर... खोलिदिएँ। पानी ठूलो आवाजले बग्न थाल्यो। मलाई डर
थियो, यदि साथी मेकेनले चिट्ठी लेख्ने चाहीँ यही हो भनेर
देखाइदियो भने मेरो पनि उसको जस्तै हालत हुनेछ। म बाथरूमभित्रै
लुगलुगी काम्दै कलको ठूलो धारामन्तिर बसेर नुहाउन लागें।...
केही क्षणमा बाहिरबाट कुनै आवाज आएन... थिएन। केही बेर
पर्खेपश्चात् म बाथरूमबाट निस्केर आफ्नो कोठाभित्र पसें,
त्यहाँ साथी मेकेन डम्मा - डम्मी फुलिएको थियो। उसको नाथ्री
पनि फुटेछ, उसले रूमालले नाक पुछ्दै थियो, आँखा पनि रसिएका
थिए। मैले विस्तारै बुझ पचाउँदै भनिदिएँ:
- ए, के भो?...
कसले तँलाई कुट्यो?
- ...। त्यो
केही बोलेन, नियास्रो मुख पारेर आफ्नो गाला र नाक
सुम्सुमाइरह्यो।
- ए, के भो...भन् त।
- के हुन्थ्यो,
पेडेनको दाजु - भाइले मलाई चुट्यो नी, ... हेर् त।
- पेडेनसित तेरो केको
सम्बन्ध?
- अस्ति तैंले
लेखिदिएको लभ - लेटर मैले उसैलाई नै पटाएको थिएँ नी... दाजुले
हात पारेछ।
- ए, जे पनि भयो,
राम्रो चाहीँ भएन। तँ कहाँको छेत्री... भोटेनी केटीलाई किन
चिट्ठी पठाउनु पऱ्यो... तेरो जात मिल्छ न धर्म नै..।
- मन परेपछि के गर्नु
त।
- खा बाबै केरा जस्तै
भयो नी अहिले हैन र! कसो असमिया
केटी भेटिनस् तैंले...।
अनायासै मेरो मुखबाट
बज्यैले छाडिगएको असमिया केटीको मोहनी सम्झना फुत्त आएको थियो।
म स्वयं पनि झसङ्ग भएको थिएँ। हेर, यदि पेडेन भन्ने केटी चाहीँ
असमिया केटी भएकी भए यो साथी मेकेनको के कस्तो हाल हुने थियो -
म आफैसित ङिच्च परेको थिएँ। त्यति नै बेला कालो बिरालो म्याउ
गर्दै हाम्रो पलङ्गमन्तिरबाट निस्केर कोठादेखि बाहिर गयो:
मैले साथी मेकेनलाई त्यही बिरालोमा परिणत भइसक
|