Gangtok, Sikkim,
Editor: Subhash Deepak
 

 

के निमुखाहरु बोल्न सक्छन्?

के बोल्न सकेपछि ती निमुखा रहन्छन्?

भीम ठटाल

निमुखाहरू नबोल्ने होइनन्

नबोलेका पनि होइनन्

निमुखाहरुका आवाजहरू सुनिने तरङ्गसम्म नपुग्नाले

नसुनिनाले तरङ्ग नामिल्नेका आवाजहरू

जब तरङ्गको प्रतिनिधित्व गर्छन्

तब निशब्द निरीह स्वरहरू

भन्न पर्ने कुराहरूबाट किनारीकृत हुन्छन्!

  कोहि कसैको अधिनस्थ कैल्यै छैन

अधिनस्थ हुनु आवाज हुनेहरूको स्वभाव पनि होइन

आवाज गरी गरी चिच्च्याई चिच्च्याई

आफु थिचिएको कुरा गर्नसक्नु अनि कुरा गर्नु

थिचिनुबाट उठिसकेको प्रमाण भएपछि

निमुखा हुने त कुरै आएन!

मेरो गाउँ ऐले पुरै टेक्निकल भैसकेको छ

मेरा गीतहरू अंकित भैसकेका छन्

मेरा कविताहरू अनलाइन भैसकेका छन्

मेरा तरङ्ग विश्वका हरेक तक्निकिसँग एकाकार

 भैसकेका छन्

मजस्ताहरुको हाम्रो गाउँ

ऐले एवेरेस्टजस्तो अग्लो र मरियानाजस्तो गहिरो

 भैसकेको छ!

तेसैले, मलाई अत्ति नै गर्यो

मलाई गर्नु नगर्नु गर्यो

मेरो केहि चलेन, म त लौ

भन्दै सिरकभित्र मुख लुकाई रोए पनि केहि क्षणमै

जुरुक्क उठेर स्वाभिमानको रक्षार्थ जाइलाग्ने

मेरो समुदाय अमेरिकी चिया श्रमिकभन्दा निम्न

 थिएन

पौरुषताका लागि नेपोलियनले पनि बोलेको हाम्रा

 मर्दहरुको अवस्था

रूसमा क्रान्तिका समय रोटीको लाइनमा उभिनेको

 भन्दा खस्केको कैले थिएन

हातका घाउ माटोले लिपेर जाति पर्ने हाम्रा बाबुहरूको

 स्तर

अफ्रिकी मजदूरको भन्दा तल थिएन!

   हामी बोलिरहेका छौँ

मागिरहेका छौँ

उठिरहेका छौँ

हावामै भए पनि मुट्ठी उठाइरहेका छौँ

हामी त आन्दोलन गर्छौं

आफु अनि आफ्ना ससाना स्कूले नानीहरूसमेत

भोक हड्तालमा बस्छौं !

बोले पछि हाम्रो आवाज अरुले नसुन्ने पक्कै होइन

पहरा,खहरा, मरु, समुद्र, धर्तीको वल्लो छेउदेखि पल्लो

 छेउसम्म

जब मेरो आवाज पुग्छ, जब म मेरालागि मै बोल्छु

निमुखा त म हुँदै होइन!

प्रिय बन्धु हो!

म त खोलामा गीत गाउने होइन

म त किनारमा बसेर रुने होइन

अनि अन्यपुरुष सर्वनाम मेरो आवाज हुन पनि

 सक्दैन

मेरो रोजाइको बँचाइ र म हुनु नहुनुको तर्क चडेर

कोहि मलाई निमुखा, किनारीकृत भन्छ भने

मेरो त क्रान्ति त्यहींबाट सुरु हुन्छ ठुलो स्वरैमा! 

दुई कविता

 

प्रेमका आद्याक्षर

 

सुधा एम. राई

 

 

 

वृद्धा सुर्पणखाले

आफ्नो अर्धनग्न तन

ड्रेसिङ ऐनासामु हेरिन्

ताछिएको नाक,

ओंठ र

छाती तब

सुम्सुमाउँदै मुसुक्क हाँसिन्।

 

प्रेम पात्र!

को हौं ठूला?

कर्तव्यको पहाड उक्लिने शब्दशिखर

राम या

प्रेमको यातनामा लत्पत् वर्णाक्षर

सूर्पणखा??

कारण यतिखेर पनि

त्यही विकीर्ण मायाको ओजस्वी फैलावटमा

अजस्र र असीमित छु।

 

पक्कै पनि

तिमीले

कहिल्यै दत्तचित्त भई नियालेनौ या

फक्रँदै गरेको फूल र

त्यसको सुगन्ध,

ठिटोको घोर्ले स्वर र

उसको कुखुरे बैंस,

गालामा गुलाबी रङ्ग घट्दै गएकी ठिटी

उसको लज्जा र मुस्कान,

आग्रही पृथ्वीको नग्न छाती

मायाको सान्निध्यमा नुहेको आकाश

अनि ऋतुहरू।

 

दशरथ पुत्र!

तिमीले

प्रेमोत्कर्षको जीवन पलबाट पलायन हुन

कमलको फूल टिप्न

हनुमानलाई हुकुम छाँटेका थियौ

सुनको मृग पक्रन

आफ्ना भाइलाई अह्राएका थियौ

तर तिम्रा यही चूकले

म सोच्छु कहिले

सीताका रक्षक भएर

अहर्निश लक्ष्मण

कतै अज्ञात प्रेमकै प्रयुक्ति त थिएनन् के

त्यो निकटतम दूरी?

 

अहो होस्।

यी घाउखत त हजुरकै हुन्

यसर्थ

दशरथ पुत्र!

बाँचिरहुँला सुम्सुम्याएर

प्रेमका

यी आद्याक्षर।

 

पलायन

 

च्चाटलाग्दो ठिहीबाट बाँच्न

दुई - तीन सर्को बिंडी तानेर

मनले

'लेऊ, तिमी पनि

जाडो कम हुन्छ।'

छेउमा अडेसिएको अक्षरको हातमा थमायो।

 

गाउँ, जसले

म कहिल्यै सद्दाम चिन्यो, न जर्ज बुश

न बिन लादेन, न ट्रेड सेन्टर

न अल - कायदा, न देशद्रोही

न प्रधानमन्त्री, न आफ्नै क्षेत्रका विधायक।

 

गाउँ,

आखिर कति निश्चल छ।

 

अचानक एक दिन

प्राकृतिक प्रकोपमा

ध्वस्त हुन्छ

कोमल र शान्त गाउँ।

 

अनि, रातारात

टी.भी. च्यानल, रेडियो र पत्र - पत्रिकाका

सचेत अक्षरहरू तैंछाड - मैंछाड गर्दै

यो गाउँमा घुसेर

गाउँका वीभत्स फोटो खिँच्छन् अनि

गाउँका खबर

देश - विदेश पुऱ्याउँछन्।

 

सुदूर राजधानी देशको

संसदमा गाउँकै निम्ति

आकस्मिक बैठक डाकेर अतिरिक्त बजेट पास गर्छ

गाउँ, जसले कहिल्यै नदेखेको - देख्छ

कहिल्यै नखाएको - खान्छ

कहिल्यै नलाएको - लाउँछ

कहिल्यै नचढेको - चढ्छ

कहिल्यै नगरेको - गर्छ।

 

गाउँ, आजकल

कति व्यस्त छ।

 

यसरी, समयका सचेत अक्षरहरू

विवेकका पाउहरूद्वारा

यो गाउँमा ठम् - ठम् ङिँड्न थालेपछि

त्यो स्वप्निल युगलप्रेमी अपहृत बन्छ।

 

तब, अक्षरले मनको छातीमा अढेसिएर

हिक्का छाड्दै रुन्छ -

सम्वेदना, सहनशीलता, सौहार्द,

विश्वास, शान्ति, प्रेम, मुस्कान, साइनो,

संस्कृति, परम्परा, परोपकार, धर्म,

नीति यस्ता कति मित्रहरू गुमायौं।

अब के रह्यो र

हाम्रो यो गाउँमा?

 

मनले धैर्यता हरायो र

अक्षरलाई साथमा लिएर

आफ्नै गाउँबाट पलायन हुन्छ।

 

भन्छन् कोही,

एकरात शहरमा

आफ्नै गाउँको सहयोगार्थ

लगाइएको विशाल होर्डिङमुनि

खाली सिरिञ्ज, बोतल, बट्टा, पोलिथिन,

कन्डोम, फाटेका लुगा र मैलाका थुप्रामाथि

आश्रित थिए रे।

 

थाहा छैन

त्यहाँदेखि कता गए

ती द्वय।

(जनवरी 2012)

 

(दुई कविता)

 

रियालिटी शोसँग साक्षात्कार

 

भीम ठटाल

 

रोग अनि भोकग्रस्त नानीहरू सडकछेऊ मर्दैछन्

सिने स्टार अनि सुपर स्टारका यिनीहरूलाई बचाउने च्यारिटी कसमसँगै

रोग अनि भोकग्रस्त सडकछेऊ मर्दैछन्।

समयले सबै कुराहरूको खेती गरेको छ।

आफ्नो भविष्य सुरक्षित पार्न हाम्रा सन्तानहरूले

इज्ज्त, सम्मान अनि हुनुका अर्थबोधहरू

आफ्ना संस्कारको बारीबाट गोडेर फ्याँकिसकेका छन्।

टि.भि. - का सेलिब्रेटीहरू गरीब उत्थानका कसम खान्छन्

अनि आफ्ना मीडिया आँखाका विज्ञापन आँसुहरू नसुक्दै

तिनका कर्तव्यबोधका गोहीहरू रैम्पमा फेसन शो गर्छन्

अनि गरीबीका गोहीहरू भने

दिंउँसै गल्लीमा हाम्रा बच्चाहरू निल्छन्।

 

समानता मदिरा हो भने यसलाई पिउन हाम्रा पिंढीहरू

आमा - बाबुहरू तल कतै तलसम्म पनि नदेखिने गरी उठ्न सक्छन्

आफुले आवेदनपत्र दिएर होइन अपितु हाम्रै रहरले जन्मेका हुनाले

यिनीहरूका कतिपय प्रश्न होलान् जस्तै:

किन बच्चाहरू बार नबिराई खाडलमा खस्छन्?

किन भ्रूणहरू डस्टबिनमा फ्याँकिन्छन्?

 किन नानीका हड्डीहरू नालीमा भेटिन्छन्?

किन दिन नबिराई रेल पल्टिन्छन्?

किन शिक्षा र विवेक व्यापार बन्छन्?

किन मन्त्रीहरू विभागसँग असन्तुष्ट हुव्छन्?

किन रियालिटी शोहरू अनरियल?

 

 

दुख्छ सधैँ आफ्नो ए पोजिटिभ रगत

देशको राजधानीको ठूलो अस्पतालमा

एस.एम.एस. गरेर पठाउन नसक्दा

अनि रगतले जर्जर युद्धले आक्रान्त रक्ताम्मै सहरमा

रगत नपाएर एउटा बालक मर्दा।

 

लाग्छ सायद अति नै भयो

कुनै मोर्चाको दवाबमा पानीमाथि राजनीति र म्युनिसिप्यालिटीको आग्रह

स्वतन्त्रता समारोहमा आत्मघाती हमला

अति भयो।

भवनको बन्दकीमा आँसुको व्यापारका शोहरू

अन्तराष्ट्रिय वार्ताहरूमा छिनो - फानो हुन नसकेका हाम्रा मुद्धाहरूको

टि.भि. - ले कति सरल समाधान निकालिदिन्छन्।

अनि कति सफलतापूर्वक जनमानसको विश्वास जित्छन्

र थाँतीमा आवश्यकता थन्यक्याएर युवतीहरू

कैल्यै नदेखे निर्णायकलाई बिहेको प्रस्ताव दिन्छन्।

सायद समय आएको हो अब

विद्वानहरूले वनवास जानुपर्ने

विवेकहरूले वनवास जानुपर्ने।।

 

ब्यूरोक्रेसी र कविता

 

कागहरू सभामा बसेका छन्

बनिँदै एको अटव्य भवनका छडहरूमा

आफु बसेको छड हल्लाउँदै

कुनै ठोस मुद्धाबिनै

आ - आफ्नै मात्र नाम उच्चारण गर्दै

कागहरू सभामा बसेका छन्।

 

तल गल्लीबाट मेरो बाबु लौरो टेक्दै जाँदैछ्

उसले आफु गलेको बेला आमासँग सम्भोग गरेर छोरो जन्मायो

अनि जीवनमा आफ्ना अङ्गहरू नतङ्ग्रिकन त्यो अहिले बूढो भयो।

जस्तै असम्भवबाट पनि सहजै '' निकालिदिनसक्ने

आफ्नो ब्यूरोक्र्याट छोरोभन्दा

आफ्नै हातमा जतिनै बेला पनि समाइने

लौरो उसलाई धेर भरिलो छ।

उसले आज पनि कपाल कटाएन।

 

प्रकृति पर्याप्त छ

काँचुली फेर्न नपाएको अनि अघाउँजी खाना नपाएको

मैले तामाङ खोलाको प्रकोप

पैह्रोको सन्त्रास, हरेक वर्ष घर बगाइमाग्नु

तर पनि उसका लागि प्रशासनमा राहत रकमसम्म नहुनु पुग्छ

मन्त्रीका घरमा फूलबारीको देवल लगाउन

राहत रकम डाइवर्ट भएजस्तो

तेत्रो फराकिलो मैदान हुँदा हुँदै पनि खोलाको पानी

मैते तामाङकै बारीतिर डाइवर्ट भएपछि

ब्युरोक्रेसीमा कविताभन्दै अरू केको विकास हुन्छ र!

कार्यालय त्यही हो

नमस्ते गर्दा टाउको कन्याउँदै

आफैले तिरेको करले रकमबाट तलब खाने अमिन र आर.ओ. - अघि

जिन्दगीभरिको कमाइको एक चौथाई घूस र तीन चौताई दाम हालेर

मेरो लुलो बाबुले जमिन पञ्जीकृत गरेको भन्छन्।

परिवर्तन हुन्छ पक्का हो

योभन्दा अकाट्य सत्य अर्को छैन।

त्यही कार्यालयको सर्वोच्च ओहोदामा मा पनि बसेकै हो

अशिक्षितहरू आज पनि छन्

अज्ञानीहरू आज पनि छन्

निमुखाहरू आज पनि छन्

अशिक्षितहरू, अज्ञानीहरू, लुलाहरू, निमुखाहरू

आज पनि जिन्दगीभरिको कमाइको एक चौथाई घूस र तीन चौथाई दाम हालेर

विद्युत, दवाई, भिआइपी साइटलाई बाँडेर उबेको

बाँदर अडिन नसक्ने जमिन पञ्जीकृत गर्न आउने गर्छन्।

छेउमा एउटा मान्छे आफ्नो घर भत्काउँदैछ

सरकारी सडकको नाली भत्केर छिरेको पानीले घर भत्केको हो उसको

जिल्ला प्रशासनले समयमै घर लड़ादिएन।

 

एस.डी.एम. - लाई उजुर पनि गरेको हो

तर प्रशासनभन्दा पैह्रो नै पैले आउला

अनि थिचिएर सपना र साँपे छोरी मर्ली भनेर

घर आफै भत्काउँदैछ।

 

 

कागहरू सभामा बसेका छन्

बनिँदै गरेको अटव्य भवनका छडहरू

आफु बसेको छड हल्लाउँदै

कुनै ठोस मुद्धाबिनै

आ - आफ्नै मात्र नाम उच्चारण गर्दै

कागहरू सभामा बसेका छन्।

सायद कुनै फसेला हुन्छ

अनि त्यो मेरो बाबुले यो हप्ता कपाल कटाउँछ

अनि एस.डी.एम. - ले भित्रको मान्छे जगाएर

उसको उजुरमाथि विचार गर्छ

सायद मान्छेहरूले नयाँ घर बनाउँछन्।

(दिसम्बर 2011)

 

 

घर, भूकम्प अनि राजनीति

 

भीम ठटाल

 

भूकम्प अति सत्य हो

अनि भूकम्प आउनु झन सत्य हो - मृत्युजस्तै।

भूमिले जब आफूभित्र अतिशय ताप अनि आक्रोश बोकेको हुन्छ

फुटेर सुन्दर फूल फुलेजस्तै

भूगर्भमा हुने रति - क्रीडापछि

आनन्दको तरङ्ग निस्कनैपर्छ

अनि हरेक प्राकृतिक क्रीडापछि भूकम्प त आउँछै आउँछ।

 

घरहरू जो तरङ्ग सहन सक्छन्

कस्तै परे पनि उभिरहन्छन्

जो सक्दैनन् ती हल्का हावामा पनि ढल्छन्।

घर सरकारको रकमले बनिन्न

घर मन्त्रीको कसमले बनिन्न

घर भाषणको आश्वासनले बनिन्न।

घरले पो सरकार बनाउँछ

घरमा पो कसमहरू हालिन्छन्

घर कैले पनि राजनीतिको आयतनभित्र समेटिन सकेको छैन

राजनीतिमा राम हुँ भन्नेले पनि समेट्न सक्दैन

कसैले पनि समेट्न सक्दैन।

घरभित्र मतदाता बस्छन्

मत, विचार, राजनीति र झण्डा

समयमा अँटाएर बसेका हुन्छन्।

भवनहरू बनिनुपर्छ

अनि भवनहरूमा बिहे भएपछि

सन्तान जन्मिपछि

कति दशैं र तिहार सँगै मनाएपछि

कति प्रियजनका लाशलाई आँसुले धोएर बिदा गरेपछि

त्यो भवन कतै गएर घर बनिन्छ।

 

भवनहरू घर हुनलाई भवनले

मान्छेका आवश्यकताभन्दा माथि उठ्नु हुँदैन

लोभले होइन श्रमले बनेका भवनहरू घर भनिन्छन्।

घर लड्नुको राजनीतिसँग के सम्बन्ध हुन्छ?

घरहरू समाजमा राजनीति स्थापित हुनुभन्दा पैले पनि लडेकै हुन्

पछि पनि लडेकै हुन्।

अनि पछि पनि लड्ने नै हुन्।

घरहरू लडेर पनि बनिन्छन्, बनेकै हुन्।

घरहरू मिलेर कत्रो राजनीति लडाउँछ

तर राजनीतिले घर लडाउंदैन।

घर मात्र एउटा यस्तो आश्रय हो

जसको लागि मान्छेले राजनीतिमा आश्रित हुनु परेको छैन।

 

यस्तै घर मेरो पनि गाउँमा थियो।

यसरी नै त्यो पनि लड्यो

तर त्यहाँ राजनीति र भाषणभन्दा पैले छिमेकीहरू पुगे।

घरहरू आफै बनिनुपर्छ,

अनिमात्र घर आफ्नो हुने हुन्छ।

घर लडेको खण्डहरमा राजनीतिज्ञहरूको नजर पर्दैन

राजनीति त जिउँदो, कलकलाउँदो, लह लह हुर्कोका घरहरूमा हुन्छ

घरहरूमा हुन्छ

घरहरूको हुन्छ

घरहरू लिएर हुन्छ

घरहरूको लागि हुन्छ।

 

घरहरू अग्लो होइन

तर राजनीति र भाषण, राहत रकम र आश्वासन

यी सबैभन्दा अग्लो हुनुपर्छ अनि पो जस्तै भूकम्पमा पनि

अटव्य, गौरवशाली, अविच्छिन्न, अटूट खडा रहन्छन्।

 

घर भुइँमा सुरु भएर आकाशतर्फ होइन मनसम्म उठ्नुपर्छ

अनि मन चाहिँ राहत, भाषण, राजनीति र प्रशासनभन्दा

माथि माथि उठ्नुपर्छ।

घरहरू लडेछन् तर लड्दैमा बनाउन छोड्नुहुन्न

भवनहरू थौरै अनि घरहरू धेरै बनिरहनुपर्छ।

(नोभेम्बर 2011)

खाँडो जगाउने

।। कवित्त।।

 

।। श्री गणेशाय नम:।।

 

अथ

खाँडो जगाउने

प्रारम्भ:

 

श्री 3 प्रतापी महाराजा मन्त्री सर जंगबहादुर के फौज के फौज यो भोट के निकट में कोशी के तीर में सब लस्कर चले जी धन्य धन्य मन्त्री संग्राम में बहादुर श्री राणा जी के वंश के रत्न श्री समशेर धर्म शरीर भक्त, वीर के प्रताप से, पूर्व, पश्चिम, उत्तर, दक्षिण, भोट, मोगलान, दिल्ली किल्ला, कांगडा, लङ्का, पलङ्गा, शिलाङ का, नागा, घोरमुखा का देश में चलते हैं। कौन कौन पल्टन चले? आगे श्रीनाथ तले, राजदल चले, कैम्प तले, देवीदत्त चले, वज्रबहादुर, काली बहादुर, श्री महीन्द्र दल, रामदल, भैरवनाथ, जगन्नाथ दल, श्री काली दल। ऐसे ऐसे पल्टन चले, जर्णेल कर्णेल चले, कप्तान चले, सुवेदार, जमादार, हवल्दार, हुद्दा सिपाही चले। रैफल पल्टन भये तयारी, तासा, गुर्जा, नगरा, निशान, भेरी आदि गर्जन लागे। फेरि दिशा विदिशा, पृथ्वी कम्प करते भये बड़ी तयारी से चले हैं। श्री 3 महाराज मन्त्री सर जङ्ग बहादुर के सवारी होने का बखत है। ताजी, तुर्की, बैल, अबलख, तुरङ्ग, सुरङ्ग, मुस्की, चिनियाँ भोटे, टागन्। ऐसे घोड़ा चलते हैं। धरती धकेल, पहरा ठेल, वैरी के निकट पहुँचे। रख काँधे बन्दूक, पोस्तान झलकते थे। कहे कबीर सुनो भाई साधु श्री श्री श्री मल्ल महाराज की सवारी दूत रानी के डोला में चलते हैं। मुलुक मुलुक थरकन लागे हैं। कामदारी काजी, पीपा, खलासी, केटी, सुमारे बैठके चलते हैं। रामदारी, जामदारी, कृशोदरी, अल्लन परी, हुश्न परी, सूर्यमती, चन्द्रावती, विष्णुमाया, शिवमाया, बागमती, सरस्वती, लालवदना, श्यामवदना, राम -वदना, कृष्णवदना, अनङ्गवदना, भीमवदना, रत्नवदना, मदनवदना, चन्द्रवदना, विशालवदना, कमल - शोभा ऐसी ऐसी चलती हैं। लाल झपनीका फुँदा लरकन लारे। हीरा - मोती झलकन लागे। मूगा, पुष्पराज र नवरत्न टल्कन लागे। झम्का गढीका भोटे थर्कन लागे। गोर्खाली जती सर्कन लागे। चीन, कोचीन, महाचीन, लालचीन, लाहोर, दिल्ली देश पेशावर थर्कन लागे। शीशा गोला, बम् गोला ऊपर वर्षन लागे हैं। कौन कौन तोप चले? - - लाली तोप, काली तोप, भैरव तोप, फलामे आठ फन्नी, दस फन्नी बाह्र फन्नी ऐसे ऐले तोप चले हैं। श्री 3 मन्त्री महाराज सर जङ्गबहादुर ने लखनऊ, लाहोर, दिल्ली में देश विदेश में आप्ना सिपाही फिराउन लागे। पर्रा गोली, छुरी कटारी, चुप्पी, च्यापसा, खुँडा, ढाल, तरवार, खुकुरी वर्षन लागे। शत्रुको सेना तर्सन लागे। श्री पशुपतिनाथ र श्री गुह्यकालीसँग जीतबाजी मागे। उँधो गङ्गाको साँध लगाई उँभो महाचीन मारी तिष्ठा माँग नमोन्नम। खाँडो पशाली लोहासुर पारस गोत्रमा शिव क्षेत्री श्री 5 महाराजाधिराज सुरेन्द्रवीर विक्रम शाह बहादुर देवानाम् सदा समर विजयीनाम - को खांडो जाग्यो। श्री 5 मन् महाराजाधिराजका सिपाही शूरा औ लड़नका पूरा उँभो मध्येश, काशी का कूच विहार लाहोर दिल्ली वेलायतको साँध लगाई 12 हजार वैरीको टाउकामा खुँडाले ठ्याक् ठ्याक्। उत्तर चीन, कोचीन, महाचीन, पेचीन। दक्षिण रोम, श्याम। पूर्व वत्तल बखान। यो चार दिशा सात द्वीप नवखण्ड सिह्रान तथा सिक्ख नवाब आदि र गाउँ दिशा विदिशा अरू घोरमुखा का देश में तलते हैं और फेरि नेपाल देश जाई श्रीपशुपति श्री गुह्येश्वरी तथा गोरखनाथ र मत्येन्द्रनाथ तथा भैरवनाथ दक्षिण कालिका, वज्र योगिनी, चारु नारायण, नवदुर्गा नारायण, नवदुर्गा भवानीका शरण पाई है। माना सुरसानी खुकुरी, छुरा, कटारी, पत्थर गोली, तीर कमानी, खूबतलब, पेस्तबल, मार्तवल, वज्र बाण, वायु बाण, पर्वत बाण लगाते। वैरी न छाडे प्राण बल जल बाण फर्सा बाण अर्नि ढाल तलवार देखे झिलिक झिलिक भागे। सारी मुसलमान कम्बर तोसदान। टोडे पगडी बाँधे मिलिक तोडा बाज्ये बिगुल खोले घोडा मारे कोडा, ज्यान की आस छोडा खाता है सत्तू थोडा कौन पूछे जोडा दमकी दम दम नगरा बाजे। फौज समाज साजे। श्री पशुपतिनाथ श्री गुह्येश्वरी श्री दुर्गा भवानी देवी से विजय मागे। श्री 3 महाराजाधिराज श्री सुरेन्द्र वीर विक्रम शाह बहादुर देवनाम सदा समर विजयी नाम। श्री 3 महाराज मन्त्री सर जङ्गबहादुर राणाका प्रताप से भोट र लखनऊका वैरी भागे। सात द्वीप नवखण्डमा यश गाउन लागे। चर चोरी पहरा सब भारी भयो। देश झारी फत्ये फत्ये। स्वस्ति श्री गिरिराज चक्रचूडामणि नर नारायण इत्यादि विविध विरुदावली विराजमान मानोन्नत श्री श्री श्री श्री श्री श्रीमन् महाराजाधिराज श्री पृथ्वीनारायण शाह सिंह प्रताप शाह रणबहादुर शाह गीर्वाण युद्धविक्रम शाह राजेन्द्र विक्रम शाह सुरेन्द्र विक्रम शाह त्रैलोक्य विक्रम शाह पृथ्वी वीरविक्रम शाह त्रिभुवन वीर विक्रम प्रतापी पञ्यायत पद्धति द्वारा शासन गर्ने पूँजीपतिको विलासता र गरीबको गरीबी हर्ने शिक्षा प्रचारक उच्च विचारक अत्याचारका नाशक छत्तीस सय ग्राम - पञ्चायत र पचहत्तर विकास जिल्ला - मेची, कोशी, सगरमाथा, जनकपुर, वाग्मती, गण्डकी, नारायणी, धौलागिरि, राप्ती, लुम्बिनी, कर्नाली, भेरी, सेती, महाकाली - यी चौध अञ्चलका विभक्ता, आदर्श शासनकर्ता देश - विदेश सर्वत्र भ्रमण गरेका समस्त राष्ट्रसँग मित्रताको गाँठा जोडेका महाप्रतापी शान्तिका अग्रदूत, देशद्रेहीको लागि भयंकर भूत, सारा प्रजालाई शिक्षा दिलाउन मरिमेट्ने सयकडौं पाठशाला कैम्पस स्थापना गर्ने अति ओजस्वी श्री महेन्द्र वीरविक्रम शाह देवका सुपुत्र श्री वीरेन्द्र वीरविक्रम शाह देवको खाँडो जाग्यो, वैरीका थाप्लामा तरवारको मार लाग्यो।।

।।समाप्त।।

नोभेम्बर 2011

 

फुर्सत छ: फुर्सत छैन

 

गोपीनारायण प्रधान

 

मान्छेलाई अर्कालाई खिसी गर्ने; निन्दा गर्ने फुर्सत छ

 

मान्छेलाई अर्काको खुट्टा तान्ने फुर्सत छ

अर्कालाई बेइज्जत गर्ने फुर्सत छ

बाटोमा काँडा राख्ने, अर्काको घरमा

आगो लगाउने फुर्सत छ

नराम्रो कामका लागि जहिले पनि फुर्सत छ

 

यहाँ मान्छेलाई गर्नैपर्ने काम गर्ने फुर्सत छैन

राम्रो काम गर्ने फुर्सत छैन

कसैलाई मदत गरूँ भन्ने फुर्सत छैन

घुम्न जाने फुर्सत छ: रोगीलाई हेर्नु फुर्सत छैन

बिहेमा जाने फुर्सत छ: मरेकोमा जाने फुर्सत छैन

पार्टीमा जाने फुर्सत छ: मलामी जाने फुर्सत छैन।

(अक्टूबर 2011)

 

अनुभव

 

लोकनाथ उपाध्याय चापागाईं

 

तिम्रो दिव्य पुरस्कारको रूपमा

यो पृथ्वीमा

मैले सबैथोक पाएँ

यदि गुमाउनु नै पाउनु हो भने।

 

यो संसारको विचित्रतामा

एक छिन त म

त्यसै अल्मलिएँ,

लक्ष्य नै थाहा नभए के गर्नु।

 

दैवको कुटिल चक्रमा ठगिएर

म आजसम्म

त्यसै भौंतारिएँ,

परिश्रमको सार्थक फल नपाउँदा।

 

आफन्तहरूको वियोगमा

मैले धेरै - धेरै आँसु खसाएँ

तर आफन्तहरूमा नै

आत्मीयता नभए के लाग्छ र!

 

तर त्यो सबै तिम्रै परीक्षा त हैन,

किनभने

मेरो हृदयको अनुभव यही नै छ

मैले यसरी नै चित्त बुझाउनु छ।।

सितम्बर 2011

 

तीन कविता

 

मैले रोएको मन

 

पूर्ण योञ्जन

 

धेरै मृत्युमध्ये

मेरो आत्मीयको मृत्यु

मैले काखभरि ठिम्याएको छु।

आँखाभरि सुन्म्याएको छु।

छामेकोछु रित्तै चिस्याइहरू मुटुभरि।

भोगेकोछु यही जन्ममा

तीता आस्थाहीन मृत्युहरू।

 

रात र दिन: क्यालेण्डरमा अङ्कित अङ्कहरू

कतै पहिरोले भत्कायो कि!

कालको गति अञ्जुलिबाट

रित्याएर मृगतृष्णा चुहायो कि!

मन मैले रोएको छु।।

 

अन्तिम अध्याय

 

मेरो यो अन्तिम अध्याय

आफ्नोपनको आफ्नो सबै

सतर्क सम्पूर्ण इन्द्रियहरू

उफ्रन खोज्छन् बुरुक्क - बुरुक्क

हताशा र हतारहरू

लड्न खोज्छन् एकै सासमा

आकाश छुने अट्टहासहरू

प्रलयजस्तै आँधीको प्रहारबीच छु म।

 

बिना रङ्गका सपनाहरू तुहाएर

हतारिन्छु परिचय बाँट्न अन्तरिक्षमा म

रित्तो आस्थाको ऐंठन पर्छु म।

अधुरो कथाको भूमिका

गाँस्दा - गाँस्दै

जीवन गीतको अन्तरा

गाउँदा - गाउँदै

स्वीकार्दछु मेरो यो अन्तिम अध्याय।।

 

निमुखा

मन्दिरमा गजुर छँदैछ हजुर

मलिन मुहार माग्छन् पैंचो गुहार।।

 

जमाना

सिंढीले सङ्गीत जगतमा अवतार लिएपछि

बाक्कै बसेछ बिचरा टेपरिकार्डर।।

 

दृष्टि

कसैलाई सेतो परेवा

कसैलाई खैरो काग

सुकेको हाँगा बुढो रूखको।।

सितम्बर 2011

 

काँड़ाहरू मासिदिएर के बिराएँ

 

वीरभद्र कार्कीढोली

 

मैले काँडाहरू मासिदिएर के बिराएँ

काँड़ाहरू विषालु हुंदैनन् भनेर

कसले भन्नसक्छ। फेरि

 

रिसाएका छन्। धेर फूलहरू मसित

भन काँड़ाहरूको संरक्षणमा जीवित फूलहरू

कुन कुन काँड़ाहरूले

कुन कुन फूलको सुरक्षा गर्न सकेको छ?

 

विषालु छैनन्। हत्केलाहरू औंलाहरू यी

मैले काँड़ाहरू मासिदिएर के बिराएँ?

ऋतुहरू मासिदिएको छैन।

डालाहरू पनि यौटै भाँचिएको छैन।

फूलहरू कोपिलैमा चुँड़िएका छैनन्। कुन्नै

 

मैले काँड़ाहरू मासिदिएर के बिराएँ?

काँड़ाहरू फेरि नपलाउने पनि होइन

काँड़ाहरू मास्दा फूलहरू मासिने पनि होइन।

काँड़ाहरू मास्दा ती फूलहरू

छोइपठाएँ त के बिराएँ?

हत्केलाहरू यी मेरा

दूषित, दुर्गन्धित पनि छैनन्।

यी औंलाहरू काँड़ाहरू झैं ती

घातक र विषालु पनि छैनन्।

 

काँड़ाहरू काँड़ाहरू नै हुन्

कुन काँड़ाले कुन फूलको!

कुन फलको!!

सुरक्षा गर्नसकेको प्रमाण

खै कहाँ छ देखाऊ मलाई

अनि दुनियाँको कुनै बागले

फूलले, मालीले र ऋतुले

काँड़ाहरू मास्ने हातहरूलाई

अपराधी घोषित गरेको पनि छैन।

 

भन काँड़ा संरक्षित फूलहरू, फलहरू

मैले काँड़ाहरू मासिदिएर के बिराएँ?

सितम्बर 2011

 

बीज

 

सञ्जय बान्तवा

 

यो चित्रमा

एक वृक्षले भन्यो -

हे ईश्वर! मलाई एउटा मात्र एउटा,

प्रत्येक समयमा बीज देऊ

म आफ्नो फेदमा धरतीलाई

रोमाञ्च दिनेछु।

 

प्रत्येक क्षण बद्लिहिंड्ने अन्तरिक्षको चित्रमा

अमोल कलाको रङ्ग दिनेछु,

मात्र मलाई मेरो एउटा बीज देऊ

मलाई धरतीको कोमल अङ्गमा

एक एकपल स्पर्शको भ्रूण अनुभव गर्नदेऊ।

 

मात्र बीज चाहन्छु म।

(शब्ददाह 2002 बाट)      - अगस्त 2011

 

 

जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु

 

सुकान्त राई नामदुंग (1983 - 2011)

 

ब अन्तहीन आकाशमा मरुभूमि पाउँछु

लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई

नयाँ हरियो साडी र कंगन दिइरहेछु

जब कालो बादल, घृणाले होइन

जीवनको मेघदूत सम्झन्छु

फेरि आफैले वर्तमानलाई पराकाष्ठामा पुऱ्याए

झैं लाग्छ

जब बाहिर हाँसेर, भित्र रुन्छु

आफूले आफूलाई ढाँटे झैं लाग्छ

यसैले म मौन रहन्छु, चुप लाग्छु।

 

मेरो मौनताको सागरभित्र

के लुकेको छ

सल्किरहेको आगो, मुटुको ढुकढुकी होइन

वेगले बगिरहेको पानी जसले दिमागमा

भुँवरीको जाल बुन्छ

विचार र भावनाको द्वन्द्वमा म सधैँ

पराजित हुन्छु।

 

आदत लागे झैं लाग्छ

यी सबैको, रिसलाई श्वासको क्षणिकताले शान्त गर्छु

तर होइन, म फेरि पराजित हुन्छु।

 

काँडाले भरिएको जीवनमा

रगतले रङ्रिएका पाइलाहरू

सधैँ यो बाटोमा घिसारी

एउटा जिउँदो मानिसको परिभाषा

आफूलाई प्रदान गरी

फेरि त्यही पापी संसारमा

रुमलिन पुग्छु

आँधी - बेह्री सहेर फेरि

मेरो अस्ताचलमा सूर्य र शशि हाँसिदिन्छन्

तर फेरि यसको उपरान्त

त्यही सागरमा आफूलाई होमिदिन्छु।

(अक्षय स्मृति - सुकान्त राई नामदुंग स्मृति ग्रन्थ,2011 - बाट साभार) - जुलाई 2011

 

कोही कोही आएको छैन ऐलेसम्म

 

वीरभद्र कार्कीढोली

 

त्मीयताको अँगालो लिएर अँगाल्न

अहँ! कोही कोही आएकै छोन। ऐलेसम्म

प्रेमका एक थुङ्गा फूल!

दिनु पनि कोही आएको छैन।

जाड़ोले थर्थराइरहेका छ!

जाडोले बजिरहेको दाँतको आवाज

कसले बुझ्ने, बिरानो भीडमा

थुक्नु हुने थिएन तर

क्रोधले जाडो नामको अनुहारमा

हुन त अति डाडो मानिरहेको तिम्रो

दुब्लो - पात्लो शरीरमा

म भित्रको गंजी उतारेर ओढाउन सक्नुपर्थ्यो।

 

मैले

के सोचें होला,

शीतहरू, तुषारोहरूले! त्यति बेला

फुलोस् भनेरै रोपेको हुँ।

उचित याममा रोपिने छु।

उर्वर उर्वर माटो नभएको होइन। प्रशस्त मसित

एक छिटा पानी पर्खिनुपर्ने

ठाउँमा रोपेछु। उफ!

एकैनाशको जाडो नआउंदो रहेछ। सालैपिछे

त्यै याममा त्यसरी हिउँ!

नखस्दो रहेछ। सालैपिछे।

यो साल, हिउँ! नखसी आरू फुल्न थाल्यो।

जाडो, यामको अवस्था सम्झिएर

काम्दै सम्झिरहेछु। तिम्रो कम्जोरीलाई पनि

आरू फुलोको देखेर यस्तो लाग्छ,

प्रेम। त्यस्तरी नगर्नुपर्ने सबैमा

किनकि, जुरेली डाँडाको जुरेली चउरमा

अँगालो लिएर अँगाल्न

कोही कोही आएको छैन। ऐलेसम्म

यी डाँडा पाखा नै फूल फुल्ने पाखा डाँडा हुन्

प्रेमको एक थुंङ्गा फूल दिन

कोही कोही आएको छैन। ऐलेसम्म...

(जून 2011)

 

तिम्रा हिजहरूका वर्तमान

 

भूपेन्द्र अधिकारी

 

तिम्रा सुनौला हिजहरू

तिम्रा मात्रै भएर बाँचेका वर्तमानहरू

आज हुन सकेनन्

तिमी आफैले

आफ्नै पैतालाले कुल्चिएर

तिम्रो वर्तमानको

निर्मम हत्या गऱ्यौ

तिम्रा सबै आजहरू

नदीको बगरै - बगर लम्तन्न लम्पसार भएर

आकाशको बाक्लो चिसो च्यादर ओढेर

निर्धक्क निदाए

तिम्रा सबै आशा बोकेका आजहरू

सल्लाघारीमा भस्मे फाँडेर

हाँगा - हाँगामा नानीका थाङ्ना भोटाहरू

लहरै सुकाएर

तिम्रो वर्तमान बेपत्ता भयो

तिम्रो वर्तमान भविष्य खोज्दै

त्यतै कतै निस्सासिएर/मुर्छित भएर

दानमा पाएको औशधीका

दुइ दाना गोलीहरूमा निको भयो

तिम्रा राता कौडे भालेहरूले

सधैं झैं तिम्रो आगनमा

बिहानी बोलाएन

तल्लाघरे माइलाको आगनमा

थुप्रै - थुप्रै फुलबट्टे चल्ला चर्दथे माउसित

तिम्रो घरको दलानमा भाले पोथी गौंथलीले

यस वर्ष गुँड़ लगाएन

खलेगरामा तिम्रा दाहानले सधैँ

काँधमा बोकिल्याएको धानका बिटाहरू

यस वर्ष खई कुनुउ देखा परेन

माथिल्लो घरको राई बुढाले

हाम्रो पनि उज्यालो भोलि ल्याइदिनू है भनेको

मलाई हिजैजस्तो लाग्छ

तर तिनका हिजहरू आज भएनन्

तिम्रा वर्तमानहरू भविष्य बनिएनन्

मुर्दा सुत्यो तिम्रा इच्छा - आकाङ्क्षाहरू

तिमी तिमीहरू मिलेर

आ - आफ्ना मरेका हिजहरूका

सधैँ उठेर मलामी गयौ

अनि साँझ फेरि मर्न लागेको

भोलिको अर्धमृत शरीर रुँघेर

लाम लाग्यौ

दक्षिण बग्ने नदीको बगरै - बगर

adhikari.ddn@gmail.com, mobile 09807273741

(मई 2011)

 

बालुवामाथि

 

डा. बैद्यनाथ उपाध्याय

 

पहाडमा हिउँजमेसरी

जमेको छ दु:ख।

मेरो आशाको सूर्य

भर्खरै डुबेको छ

क्षितिजपारी

छाएको छ निस्पट्ट अँध्यारो...

 

चारैतिर

धडकिरहेछन् छातीमा

महाकालका गतिहरू

छानामाथिबाट सर्र सर्र

लम्कँदै छ

युग

विनाशको हुरी चलेको

मेरो समयमा

संत्रस्त छु

कसरी बाँच्लान्

यी पदचिह्नहरू

बालुवामाथि।।

 

शब्ददाह

 

सञ्जय बान्त्वा

 

विताको मूल चोकमा

वैरागी काईँलाको 'वसीयत' जस्तै

एक जोर चश्मा

अनि मफ्लर जस्तै

आँखाहरू उभिरहन्छन्

फर्केर मपट्टि।

 

गलाभित्र चिसा गीतहरू छन्,

ईश्वरवल्लभका सारा रातझै।

मलाई हेरेर उभिरहन्छन् ती

गलाबाहिरका ठन्डा सिरेटोझैं।

चोकमा, हाट - बजारमा

ती एक जोर नयन सधैँपछि - पछि आइरहन्छन्

बिर्सन नसकेको एउटा गीतझैं

सम्झन खोजिरहेको मिठो कविताझैं।

मलाई माया गर्नलाई नै अरे

उसले वसीयत आफै च्याती

आफ्नो यौवनको;

कविताको मेरो साझा पुस्तक पसलअघि

उनी सधैँ मलाई पर्खिन्छिन्

त्यही पर्खिरहन्छिन्।

 

हिज सोधैँ मैले उसकी साथीलाई

कि साँच्चै उसले मलाई कति माया गरेकी छिन्।

वैरागी काईँलाको चश्मा जस्तो

बाक्लो निश्वास छोडेर भनिन् -

तपाईंले नपढेर उसको यौवनको वसीयत

त्यो वसीयतभित्रका अक्षरहरू,

उभित्रका कुमारीहरूले

अचेत आत्मदाह गर्नथालेका छन्।

उङिरहें म आफैपट्टि फर्किएर

अझै भनिराखेर गइन् उनी -

'बुझ्नुभयो दाजु।

तपाईंकै शब्दका आगोहरू।'

(शब्ददाह बाट, 2002)

फरवरी 2011

 

अर्चना

 

सन्तोष आले

तिम्रो चोखो प्रेम - जलले

मनको तृष्णा मेटाएको छु

तिम्रो दिव्य सौन्दर्यले

मेरो संसार सजाएको छु।

 

प्रेमको झरी बर्सिरहनू तिमी

आनन्द मानेर भिजिरहन्छु म

पूर्णेको जून हाँसिरहनू तिमी

जुनेली पिएर झुमिरहन्छु म।

 

पतझड़ग्रस्त रुग्ण याममा

वासन्ती न्यानो भइदिनू तिमी

रित्तो मनको आकाशमा

शारदीय गौंथली उड़िदिनू तिमी।।

कऱ्याङकुरुङको आकाश बाट साभार

नोभेम्बर 2010

 

ईश वन्दना

 

शरद् छेत्री

 

निरन्तर छ फन्क्याइमाझ

विचित्रको अजिरा लट्टू एउटा

प्रत्येक हत्केलोमा।

 

कुनै स्वार्थको डोरीले

सङ्कीर्णता कसेपछि

वेगसित हुत्याएर

कति आक्रामक पारिएको

हुङ्कारयुक्त दर्पी लट्टू त्यो,

 - जसको तिर्खाले लगातार उग्र बनेर

हाम्रो कोमल हत्केलोलाई घोचिरहन्छ,

जसको घुमाइले मस्तकलाई टोकेर

विचारको सभ्यतालाई अस्तव्यस्त पारिरहन्छ!...

 

यद्यपि, सबैलाई थाहा छ,

स्थिरता नै एकमात्र ईश हुन्,

 - जसको स्थिर बाहुले मात्र पो

रोकिनेछ छन्दोभ्रष्ट फन्क्याइ त्यो!...

 

अत:

वन्दना गरिन्छ, अनुपम स्थिरताको,

उही प्रशान्तरूपी, सर्वप्रिय ईशको, -

ओम् नम:!...नम: ओम्!...!

नम:!...नम:!...नम:!...

ओम्!...

(अक्टूबर 2010)

 

तथास्तु

 

गोपालबहादुर नेपाली

 

ब्रह्मपुत्रको छेउमा बसी

म टाढासम्म हेर्छु

नाउहरू जाँदैछन् - आउँदैछन्

नदीका छालहरू - अनुभव गर्दछु

कहाँसम्म पुग्दछन्

गुवाहाटीदेखि बंगोप सागरसम्म

अझै कहाँसम्म?

 

लाश-लाशहरूको आगमन

दु:खी मन-चिन्तित मानिसहरू

चर्चा गर्छन् - शोकसभा गर्छन्

मलामी भएर आएका मानिसहरू सोच्दछन्

त्यसले के के गऱ्यो

उसका राम्रा कुराहरूबारे पनि चर्चा गर्छन्।

 

म अन्तरदेखि सम्झन्छु

मरेपछि त्यो मान्छे पञ्चतत्वमा विलाएर जान्छ

सम्झना मात्र रहन्छ

कसैले राम्रो गरेको छ भने

त्यसको बारेमा राम्रो सोच्दछन्

यदि केही नराम्रो गरेको छ भने

त्यो मऱ्यो - राम्रो भयो

भन्ने पनि हुँदछन्।

 

मानिस एक दिन मर्नु नै पर्छ

यदि हामीले राम्रो गरेका छौं भने

संसारले राम्रो भन्दछ

अथवा उसको चर्चा हुँदैन। (सितम्बर)

 

हलाहल मदिरा महल

 

कालूसिंह रनपहेंली

 

दिराका प्यालाहरू छचल्किरहेका मेनुकाहरूले

आँखा बन्द गरिदिन्छन् सज्जनहरूको!

तै पनि त्यो डोरीमा सेरिएर मर्न

तयार छन् ती लतका गुलामहरू।

 

कति कति गिलासहरू झरेर फुट्छन् हातबाट

टेबलमा कति कति मदिराहरू नग्न पोखिन्छन्।

तै पनि एउटा सोचको क्षितिजबाट

झुल्कन सकेको छैन त्यो समझको घाम।

 

तुवाँलोका सर्पहरूले डस्दैछन् नीलोलाई

बादल भनेर झुक्किनेका आँखाहरू भ्रमित छन्।

 

घरको एउटा परिभाषा च्यात्दै

फ्याँक्छन् मदिराका दासहरू

भट्टी पसल कारागारको भित्र बाहिर।

 

आदर्शलाई पूजा गर्ने हातहरूमा

मदिराको असर सञ्चार भएपछि

च्यात्न तम्सिन तिनलाई नै निर्मम।

 

रित्तो गिलासमा खोज्दै हुन्छन्

भरिएको फाथी जति खुशीहरू

ती मदका चाकरहरू सेवक हातहरूले।

 

घर बर्बाद गरेर मदिराले मान्छेलाई

खसाइरहेछ तल...तल...तल...।

 

विष पिउन तर

ती ओठहरू किन त्यसरी लालायित छन्? (अगस्त)

 

मेरो मन

मोहन प्रधान नीरज

 

हिजाज यस्तो लाग्छ मलाई

तिमीसित व्यर्थै प्रीति जोड़ें,

फेरि यस्तो पनि लाग्छ मलाई

तिमीलाई व्यर्थै घृणा गरें।

 

दुई मुक्तक

 

एक                                                          यादव भट्टराई

भोलि के हुने हो आजै भेटेसम्म लपेट्दैछन्

हिजोआज मान्छेहरू मान्छेलाई लखेट्दैछन्

स्वार्थनिम्ति समाजमा आगो झोस्न खोज्नेहरू

आफ्नो ठाउँ जोगाउन भित्ता पनि घचेट्दैछन्।

दुई

लुटपाट, अराजकता शान्त कल्ले बनाउँछ?

सरिरहने साँधकिल्ला ठाउँमा कल्ले पुऱ्याउंछ?

जाति, भाषा, धर्म अरू नमिलेका कति के छन् -

धरापको राष्ट्रियता भन कल्ले बचाउँछ?

(मितेरी,2066 असार, काठमाडौबाट साभार)

 

मन

 

पूर्ण योञ्जन

जोश, उमङ्ग, विचारहरू

आवेशमा मथ्ङ्गलका चाकाहरू

बन्न खोज्छन् तरल मनका आवाजहरूसित।

 

युवा मन

आतुरिन्छ टेक्न शिखर सिर्जनाको।

मान्दैन फुल्न मन

पाकेको तनमा।

 

कदाचिच, बुढ़ो हुन्न मन।

युवा त हरियो मन पो हुँदोरहेछ सधैँ

 - एकान्तमा पनि छन्।

 

ती तैंतीस कोटि अङ्ग-प्रत्यङ्ग

सल्बलाउँछन् हृदयतन्तुसित,

 सल्बलाउँछ द्वन्द्व तिम्रो

हरेक धुकधुकीसित।

 

बैंशालु मादक तिम्रा नयनद्वय

बसन्तमा फुलेका गुराँस झैं

मदहोश ती अधरहरू

चुम्बन हरेक तपकाहरू!

 

अस्थि अस्ताउने छिन् अमृता

मीना सुब्बा

 

 

डकको अन्तिम माइलखुट्टीमा

ढल्न लागेछ एउटा अदभुत रूख

बस्, हावाको एक झोंका पर्खिरहेछ।

 

जीवनका सबै असार, मङ्सिर र भदौहरू

ठप्प छन्, अन्नत विश्रामको प्रतीक्षा छ।

 

धपक्क बल्ने प्रीतम खोज्दै

आतुरताले पुगेकी थिएँ म रमाइसो दर्शनमा

विस्फारित छन् मेरा नयनद्वय तर

समुद्रको छाल रोक्ने रङ्ग-रूपको त्यो मोहकता

कप्टेरै - कप्टेरा पारेछ संयको निर्मम घातले

क्षत-विक्षत थियो आँखाको सौन्दर्य सबै,

ड्यम्मै कुइरोले छेकेका छन् प्रीतमका रहरहरू

उनका अनेकन इच्छा र आकाङ्क्षाहरू,

केवल भित्ताभरि इमरोजका प्रेममय चित्रहरूबाट

कोठाभरिका सम्मान र पदकहरूमा

उदीप्त छन् ता अन्तरका सौन्दर्यहरू,

कोठामा एक थुप्रो लागिन् त के भयो र?

जब एउटै आत्मोत्सर्गले विश्वलाई पुगेको थियो

एउटै अनमोल आर्जनले हिमालको उच्चाइ छोएको थियो।

गुलाफको पत्रदल झऱ्यो त के भयो र?

पत्रदलमाझको परागमा असङ्ख्य प्रीतमहरूको प्रस्फुटन थियो।

प्रीतम, तिमी एउटा सुगन्धमय फूल भयौ र मीठो फल भयौ

रस बांड्यौ र सुगन्ध बाँड्यौ।

 

तिम्रो कोठामा मुटुको एक चोइटा छोड़ी नि:शब्द फर्किरहेछु म।

इमरोजको प्रत्येक चित्रबाट चिच्च्याउँदै भनिरहिछौ तिमी

कि मान्छेले केवल अस्थि अस्ताउनुपर्छ

हेर त मेरो पनि अस्थि विसर्जनको तयारी छ

स्थिर तलावमा पानीको फोका प्याट्ट फुट्न बाँकी छ,

एक मुट्ठी खरानी यताउता छरिनलाई

बस् एक झोंका हावा आउन बाँकी छ।

(दिल्लीमा प्रसिद्ध लेखिका अमृता प्रीतमको निवासमा उनलाई अत्यन्त अशक्त अवस्थामा भेटेपछि रचिएको कविता)

 

बाल कविता

पुड्केको बल्छी

 - भविलाल लामिछाने

 

छप्ल्याङ्ग छपनी पानीमाथि छाल

अल्छीलाई बल्छी माछाको काल

 

पानी भयो धमिलो माछा डुल्न थाले

बल्छीको चारोमा माछा झुल्न थाले

 

बल्छीको डोरीलाई कुन्नि के'ले तान्यो

माछो पऱ्यो ठूलो भन्ने पुड्केले ठान्यो

 

डोरी छिन्ने डरले नगरेर ढिलो

पुड्के ओर्ल्यो पनीमा घुँडाघुँडा हिलो

 

रूख ढली पोखरीमा तेर्सिएको मुढो

चिप्लिएर लड्यो भने फुक्लिजान्छ घुँडो

 

ठूलो माछो पऱ्यो भने स्वाद मानी खान्छु

अलिकति यहीं पोली बाँकी घर लान्छु

 

डोरीसँग हिंड्न थाल्यो माछो छोप्नलाई

बल्छी गई अल्झिएछ मुढाभित्र हाइ!

 

अल्छीलाई हुन्न कवै पुर्पुराको साथ

जीवनमा खाने गर्छ उसले सधैँ मात।

(बादलपारिको देशबाट साभार)

 

सुर्ता र शुभेच्छा

 

अमर बानियाँ लोहोरो

 

के गर्छौ र! माली

भित्रभित्रै कीट लागिसकेको

कमिलाले जरा काट्दै गरेको

फूलहरूमा मल हाली...

 

के सप्रिएला र! माली

बाहिर गोडमेल गरेर

केवल पानी हारेर

तिम्रो मनको फूलबारी...!

 

मेरो पनि चाहना छ माली

प्रकृतिले साथ दिऊन्

बोटहरू फेरि सप्रिऊन्

परिवेश पुन: झलमल पारी...

 

यही शुभेच्छा छ साथी

आउँदा सांस्कृतिक वसन्तमा

साझा हृदयका शरदमा

हाँसून् फूलहरू मनदीप बाली...!

 

मुक्तक

 

आँखा उघार्दा तिम्रो मिठो मुस्कान होस्

आँखा बन्द हुँदा तिम्रो मिठो सपना होस्

मृत्युसंग म डराउँदिनँ प्रियो!

मलाई कात्रो तिम्रो पछ्यौरीको होस्।

 

 - नवराज छेत्री, नाहोलिया, दुलियाजान।

 

जीवन

 

मोहन ठकुरी

यो जीवन आफ्नै दुक्ख-सुखको एउटा सरिता हो

यो जीवन आफूले आफैलाई हेर्नपर्ने एउटा रमिता हो

अझ, मलाई त हिजआज यस्तो लाग्छ

यो जीवन आफूले आफैलाई सुनाउन पर्ने एउटा कविता हो।

 

कठै यो मोहन ठकुरी

विपनाहरू उसका कहिले आफ्नो भएनन्

अपुग सपनाहरू अँगालोंमा बाँधिएर

बसेको हो यो मोहन ठकुरी

गमलाको क्याक्टसजस्तो

न फुल्नसक्छ, न फैलिनसक्छ।

 

उसका हाँसोहरू कृत्रिम छन्

अव्यक्त व्यथा-वेदनाहरूमा बाँधिएर

बसेको यो मोहन ठकुरी

न कसैको मनमा माया भएर जम्नसक्छ

न कसैको आँखामा आँसु भएर छछल्किनसक्छ।

खाली खुट्टे म

मंगलसिंह सुब्बा

मैले भुलेको छुइनँ

हिउंमा खाली खुट्टा हिंड्दा ठिहिऱ्याएको,

काँडा, बोतलका टुक्रा वा

चुच्चो ढुङ्गाले बिजाएको

घाम लाग्दा सिमेन्टको भुइँ

तातो ढुङ्गा वा बालुवाले पोलेको,

पानी पर्दा बगुवा पानीमाथि हिंड्दा

एक तमाशको आनन्द आएको, दुनियाँ भुलेको,

बर्खामासमा फुटबल खेल्दा

गोली जिप्टिएको वा

मैदानी भेलमा भारी भएको

फेरि मच्चिएर गोली हान्दा

खुट्टा मडारिएको

कत्तिपल्ट बुढी औंली रग्ताम्मे भएको

तर म, कुन्नि किन, बिर्लै सक्दिनँ -

शरदमा यथोष्ट पत्करमाथि सऱ्याप्प सऱ्याप्प गर्दा हिँड्दा

मंगल भएको।।

पागल

लक्ष्मी प्रसाद देवकोटा

रुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !

समय र सपनाको हिच्चा

 

पवन चामलिङ किरण

 

हुनसक्छ तिमीले बिर्सिसक्यो

तर पनि याद होला

एउटा सभामा हाम्रो भेट भएको;

तिमीलाई भेटेर मलाई रमाइलो लागेको थियो

मान्छेले मान्छेलाई भेट्दा रमाइलो लाग्नु

आनन्द अनुभूति हुनु

न्यानो र आफ्नो लाग्नु

आजकल अचम्मैको कुरा हुन्छ

मान्छेले मान्छेलाई मान्छेको साइनोमा अप्नाउनु

या त सम्मान गर्नु, सदभावना राख्नु

आजकल अपत्यारो लाग्छ

मान्छेलाई विश्वास गर्नु पनि अपत्यारो लाग्छ

मलाई आफैसँग

शङ्का लाग्छ।

 

जङ्गल हुनुपर्छ मान्छेको

आफैलाई एक्लो पाएर त्यहाँ

मलाई रुनु मन लाग्छ।

 

सायद त्यो हाम्रो पहिलो भेट थिएन

तर पहिलो भेटजस्तै लागेको थियो,

मैले त तर सधैं

कल्पना र सपनाका अदृश्य सड़कहरूमा

तिमीलाई भेटेको थिएँ

मैले त सधैँ तिमीलाई मेरो मनको आंखाले देखेको थिएँ।

 

हुनसक्छ, मेरो मनको खिड़की

तिम्रो घरतिर फर्किएको होला

कहिले-कहिलेदेखि

यो आँखाले तिमीलाई नियाल्दै थियो यो मनको घड़ेरीमा

तिम्रो घर निर्माण भइसकेको थियो।

 

कहिले-काहीँ असामान्य कुराहरू पनि सामान्य

लाग्नसक्छन्,

तब त्यो आफ्नै मनको भ्रम पो हो कि भन्ने लाग्छ

तर त्यो भ्रम लाग्ने स्थितिलाई नाघेर

त्यो असामान्य भीड़को हो-हल्लालाई चिरेर

तिम्रो कानसम्म शब्दको सहारामा पुगेको थिएँ

सपनाको बैशाखी टेकेर

तिम्रो छेऊमा केही क्षण उभिने हिम्मत गरेको थिएँ

अचानक मनको दैलो खोलेर

तिम्रो मनको घरमा पुगेको थिएँ।

 

मेरा मायालाग्दा सपनाका बालकहरू त्यतिखेर

कसरी रमाउँदै विपना नाच्दै थिए

कसरी मेरा विपना खुशीले एक्लै

संसार थर्काएर हाँस्दै थिए

मेरा सपनाका बालकहरू

विश्वासको सिँढ़ी चढ़ेर

कसरी आफैबाट उक्लिनसकेका थिए

कल्पनाको बाटो निरन्तर हिंड़ेर

कति युगपछि हुनसक्छ

कति यूनीपछि हुनसक्छ

तिम्रो विपनाको नजिक आएर

तिम्रो मनलाई शीतल स्पर्श गर्नसकेको थियो

एउटा सुखद अनुभव हुनसकेको थियो।

 

युग-युगदेखि तड्पिरहेको सपना

स्वयं व्यक्त भएको थियो

तिम्रो जिन्दगीको स्पर्श पाएर

सपनाले थकान मार्ने चौतारी पाएको थियो।

 

तिम्रो मनको हातले पकाएको

मायाको तातो चिया पिएर

क्षमभर नै भए पनि

सँगै जीवन बिताउन चाहन्थें

क्षणभर नै भए पनि जीवनलाई हँसाउन चाहन्थें।

 

दिनभरि परिस्थितिको गोता खाएर

हैरान भएको मनमा

जब तिम्रो सम्झना आउँछ

अनायासै अपार उमङ्ग भरिएर आउँछ

धूपीका हरिया रूखहरूजस्तै

लहलह इच्छाहरू जागेर आउँछन्

तिमीसँगसँगै

जिन्दगीका सुन्दर सड़कहरूमा

मिठा सपनाका कुरा गर्दै

सुन्दर कल्पनालाई आकार दिंदै

समयलाई गति र दिशा दिन चाहन्थें

भविष्यको संसारलाई तिमीसँग मिलेर निर्माण गर्न चाहन्थें

धूप्पीका हरिया रूखहरूजस्तै

इच्छाहरू सँगालेर

जिन्दगीका थकानहरू मेट्न चाहन्थें

तिमीसँग भेट्न चाहन्थें

विगत भुलेर तिमीसँग बाँच्न चाहन्थें

जीवनको सत्य

तिम्रो मनको सुन्दरतामा खोज्न चाहन्थें।

 

मैले थाहा पाएँ तिम्रा विचारका सुन्दरताबाट

मैले थाहा पाएँ जीवनका उमङ्ग र तरङ्गहरूबाट

तिम्रा मनका भाव र गहिराइबाट

कि मनको माटोमा

सत्यहरू कसरी फूल्दारहेछन्।

 

सत्यहरू फूलेपछि

मन कति रमाइलो छ

अनन्त खुशीले मनलाई कसरी समाएको छ

म अव्यक्त भएको छु यसरी आफैमा

म आवाजहीन, शब्दहीन भएको छु आफैमा।

 

 

मेरो मनले कसरी एक दिन सुटुक्कै भनेको थियो तिम्रो मनलाई

म तिमीलाई भेट्न आउँछु

भेटेर भूत, वर्तमान र भविष्यका कुराहरू भन्छु

जीवनका कथा, व्यथा र सपनाहरू बताउँछु

मनलाई उदाङ्गो पारेर तिम्रो सामु राखिदिन्छु

यही मेरो इच्छा थियो,

र तिमीसँग गरेको वाचा पनि थियो,

तर अहिलेसम्म पनि सपनाहरू सपनै रहे

मैले चाहेरै पनि तिमीलाई भेट्नसकिनँ

तिम्रो मनमा पक्कै पनि

एउटा शक्तिशाली मान्छेको रूप स्थापित हुनुपर्छ

जे पनि गर्नसक्ने

चाहेको सबै पाउनसक्ने

त्यो शक्तिरूप स्थापित हुनुपर्छ।

 

म डाँड़ोमा बस्छु

अग्लो डाँड़ोमाथिको घरमा बस्छु

यो घर सबैले देख्नसक्छन्

सहजै कसैले पनि देख्नसक्छन्, तर त्यस घरभित्र

म कमजोर कैदीजस्तै भएको छु

फरक यति छ

कैदी जेलमा कि बेलमा हुन्छ

म एक्लो जिन्दगीको जेलमा छु।

 

आफू भएर पनि आफू नहुनुको

वेदना र व्यथामा

एक्लो तड़पिरहेको छु।

 

प्रसव वेदनाजस्तै

समयको एउटा कालखण्डले मलाई

हाम्रो भविष्यलाई आकार दिनू

अनि त्यो आकारलाई जीवन दिनू

भनेर अह्राएको छ..

म विगतलाई प्रेम गरेथें भने

आफैबाट पलायन भइसकेको हुनेथिएँ

म वर्तमानलाई प्रेम गर्ने भए

स्व-केन्द्रित भएर

दुनियाँलाई बिर्सिसकेको हुनेथिएँ

म अनागतलाई प्रेम गर्छु

र नै म कैदी हूँ...

समयको चाबुक खाएर

हाम्रो विगतको हिच्चा इतिहासभरि दुखिरहन्छ

मनभरि रोइरहन्छ

वर्तमान रोगी नभए पनि हाम्रो सञ्चो पनि छैन

हिजो लागेको चोट

र घाउका दागहरू

मेरो जीवनदेखि मेटिएर गएको छैन

हाम्रो मनदेकि मेटिएर गएको छैन

यस व्यथाले हाम्रो वर्तमानलाई सताइरहन्छ

हाम्रो जीवनलाई घरिघरि ऐंठन पारिरहन्छ

आफैलाई इतिहासमा हराएर

वर्तमानमा आफैलाई खोजिरहेछु

मेरो जीवनको यस सत्यदेखि

तिमी पनि अनभिज्ञ छौ

अरू पनि अन्जान छन्

आजकल मान्छेको मनमा करुणा र सम्वेदना कुहेको लाश गह्नाउँछ

के भएको छ अचेल

मान्छे भीड़मा मात्र होइन, आफैसँग हराउँछ

त्यसैले हो सायद

डाँड़ाको यस घरलाई

कतिले ईर्ष्याले आँखा तर्छन्

अनेक आँखाहरूले घोच्छन्

म तिम्रो नजरमा चाहेजस्तो नदेखिनु

तिम्रो मनमा भनेजस्तो नउभिनु

त्यो मेरो कारण होइन

म प्रत्येक दिन हजारौं मनहरूबाट फ्याँकिनु

त्यो मेरो अपराध पनि होइन

त्यो विडम्बना हो विचारको

यही विडम्बना भोगेर म पीड़ित छु

विचार र मनका चट्टानहरूमा ठोक्किँदै

मुर्छित बाँचेको छु

मलाई छटपटी हुन्छ

असह्य हुन्छ

उकुसमुकुस हुन्छ

म जमिएको स्विमिङपूलको पानीजस्तै भएको छु

मानिसहरू पौड़ी खेलेर पानी धमिल्याएर जान्छन्

र भन्छन् पोखरीको पानी सफा थिएन

म त स्वतन्त्रतासँग बग्ने खोला र नदीको पानीजस्तो

जिन्दगी बग्न चाहन्छु।

 

यो मेरो चाहना हो

जबकि म त्यसो गर्न पनि नसक्ने

अशक्त भएको छु।

 

म आफ्नै घरको मर्यादा र पवित्रताको

गोठाला भएको छु

म त्यसैमा कैद भएको छु।

 

अन्यथा यो घर फेरि बन्दकी पर्नसक्छ

विश्वास र आस्थाको यो घरबाट

मान्छेका सपनाहरू मर्नसक्छन्।

 

डाँड़ोको यस घरले

सधैँ आँधी-तुफान सामना गरेको छ

ठिही र हिउँले पनि

यही घरलाई ज्यादा प्रभाव पार्छ

यस घरभित्र मेरो

शरीर मात्र होइन, मन पनि कठ्याङ्ग्रिन्छ

जिन्दगीका सुन्दर सपनाका आग्रहहरू पनि

फ्रीज भएर जमिन्छन्।

 

दैलोबाहिरको अदृश्य लक्ष्मण रेखालाई

पार गर्न पनि सक्तिनँ

चाहेर तिमीलाई भेट्न आउन पनि सक्तिनँ

म यही चार दिवारभित्र रहेर

भविष्यलाई परिखिरहेको छु

तिम्रो लागि नयाँ संसार निर्माण गरिरहेको छु

निरोगी भविष्यका सपनाहरू गोड़िरहेको छु।

 

 

मलाई माफ गर मेरो जिन्दगी

मैले तिमीसँग बाँच्न सकिनँ

तिम्रो लागि समय दिनसकिनँ

आजभोलि तिम्रो माया असाध्यै लागेर आउँछ

आफैलाई अँगालोमा

बेस्सरी कसेर माया गर्न मन लाग्छ

एक्लै चिच्च्याई-चिच्च्याई कराएर

माया गर्छु आफैलाई भन्न मन लाग्छ

आफ्नै छाती सुमसुम्याएर

आफैलाई माया गरिरहुँ लाग्छ

 आफ्नै लागि जिन्दगी बेस्सरी बाँचु लाग्छ

किनकि म आफ्नो जिन्दगीदेखि विच्छेद भएर

आफैबाट निर्वासित भएको छु

म त आफैबाट सत्ताच्यूत भएको छु।

 

गाउँनोमिक्स

 

प्रवीण राई जुमेली

भाव आँशु र परिश्रमहरू गाउँमा फुल्छन्

यसैले हाम्रा आमा-बाबुहरू पनि गाउँमै बस्छन्

सुखत शहरको फँडानीभित्र पर्छ ' रे

गाउँमा उनीहरू यसैले त भुक्तभोगी छन्

 

जुन हिउँदमा महकिन्छ फलेदोको फूल

त्यसबेला अदुवा, सुन्तला र साग-सब्जीहरू लिई

जुन बर्का अरसल्ल हुन्छ ढिस्कनाहरू भत्केर बाटो

त्यसै समय त अनिकालको सतबिउ बटुली

हाटहरू धाएर बिहान-बेलुकी हात-मुख जोड्ने कथाका

गाउँले पात्रहरू अथाह नमुनाहरू हुन् व्यथाका

 

भुटुन् नभएर पनि तिहुनको स्वाद हराउँदैन गाउँमा

तर चराहरू नगाउने र पानीधाराहरू नबज्ने स्वर्गहरूमा

 

सुखको जोहो गर्न जाँदैन गाउँ

हाम्रा बाबु-आमाको बजारे सूचीमा कर्नफ्लेक्स र ससेजहरू चढ्दैनन्

कहिले-काहीँ सौदा गरिसकेर उब्रिहाले केही रुपियाँ

नातीहरूको लागि बोएज चकलेट किनिदिने रहर जाग्दो हो

कठै शहरको कुनै अङ्ग्रेजी स्कूलमा पढ्छन् उनका नातीहरू

अब कसले भनिदिने कि अचेल

क्याड्बरिजहरूले बोएज चकलेटहरूलाई चिन्दैनन्

डायबिटिजमाथि पसिनाको जीत हुन्छ गाउँमा

राँटोको थकाइअघि स्लिपिङ् ट्याबलेटहरू हार्छ गाउँमा

दशैं र सङ्क्रान्तिहरूसितै बगेर आउने

मसिना खुसीका तिर्सनाहरू ना कति मीठो

ठूलो के कल्पिनु छ र

सपनाहरूकै रगरगी छ गाउँमा

 

अझै पनि फुटेका ठेलाहरू त्यसै सुक्छन् गाउँमा

कुनै मलमको नाम छुटेकै छ उसको बजारे सूचीबाट

अझै पनि फरियाहरू चिथ्रिन्छन् त्यसरी नै गाउँमा

एउटा सिफोनको सारी कहिले जोडिएला त्यो सूचीमा।।

:

खुलेको एउटा नयाँ परिचय-पत्र

 

केदार गुरुङ

एकचोटि मरेर दाह-संस्कारपछि पनि

कोही बौह्रिएर फर्किआउँछ भने त्यो

अवश्य भूत मात्र हुनसक्छ।

 

जसरी कसैले एकपल्ट चोरेर

हजारपल्ट साधु हुने कसम खाने गर्छ

अनि मुक्तिपछि मुसाले बाघ भएर खान खोज्छ।

 

त्यसैले हामी चोर र भूतलाई

एउटै शब्दले मात्र परिचय दिने गर्छौं -

"एकपल्टको चोर सधैँ - सधैँको चोर" नै हुन्छ!

एकपल्ट मरिसकेको मान्छे र बितिसकेको समय पनि

त्यसरी नै सधैँ - सधैँको निम्ति "भूत" मात्र हुनसक्छ।

 

गजल

कर्ण थामी

जीवन आज मेरो सधैँ झैं मायालु बनी रोइउठे

साँची प्रतीक्षा हृदयभरि तिम्रो यादमा तड्पिरहें।

 

रात अँध्यारो यो चक्कमन्न कोठा

लड़िरहेछु म यहाँ असहाय बनी

कस्तो आस्था रहेको यो तिमीमा

तिमी मकहाँ आउँथ्यौ भनी।

 

खट्खटाउँछ कसैले जब ढोका मेरो

आए छौ तिमी भनी मन खुसी हुन्छ

जब ढोका खोलिदिन्छु उफ् निष्ठुर

अरू कसैको आकृति आँखाअघि पर्छ।।

 

त्यताको रात

 

भूपेन्द्र अधिकारी

 

त्यतातिर  रात प्रदैन क्या हो

मानिस जहिले पनि

बिउँझिएका छन्

आँगनभरि बारूदका बिस्कुन सुकाएर

तेसरिएर बन्दुकका नाल

किनेका परिक्षम र पसीना बेचेर

चढाइ र लडाइ गर्ने

मुटुभरि रहर बोकेर

दया, माया, शान्तिलाई

ताकमा सजाएर

दुन रात एक गरेर

जितुँला र सौख गरूँला भनेर

निर्धक्क बसेका छन्

मौका पर्खेर।

(360 गढ़ी, देहरादून केन्ट - 3, उत्तराखण्ड)

स्वीकृति

मीना सुब्बा

ब म पी.टी. उषा सपनाको

रंगीन छाता ओढ़ी लजाउने दुल्ही कल्पनाको

कति साँझ बार-बार फर्किआएँ

कति बिहान बार-बार घुमिआएँ

तर मावला खान गएको मेरो यौवन फर्किआएन

नाला-पानी, भोक र थोकको व्यथाले

मेरो यौवन मुर्झाएको छ

तीतो, टर्रो, उकालो ओह्रालोले

मेरो स्फुरण खोरोन्डिएको छ।

कलेटी पल्टेको फलेदोले फेरि पाखै रातो बनाएछ

डामै-डाम बोकेको पैह्रोलाई हरियालीले छोपिदिएछ

समय, तिमी धेरैको निम्ति र म तिम्रो निम्ति भइदिन सकिनँ

संघर्षमा नै मेरो उमेर चुहेर गइसक्यो

तिम्रै प्रबल प्राङ्गणभरि मेरा अभिलाषाहरू वलात्कृत भए

आज घुँड़ाको शिथिलतालाई यसरी सम्झौतामा डोहोऱ्याउँदैछु

आँखामुनि झुण्डिएको लोतीलाई स्वीकृतिमा पाल्दैछु

तर पनि तिम्रो अथक प्रवाहलाई

भन म कसरी पक्षपात भनूँ?

समय, तिम्रो अपार थपेड़ालाई

भन म कसरी कमजोर भनूँ?    

                 ( कविता सङ्ग्रह स्पृहा-बाट)

मेरो शब्द (?)

मनप्रसाद सुब्बा

फूलको पराग यौटा अक्षर पाएँ।

एक छेउका ढुङ्गा र एक चिम्टी माटो पनि मेरो हातमा आएर

अक्षरहरू नै भइदिए। अनि ती अक्षरहरूलाई

एक थोपा पसिना र एक थोपा आँसुले मुछेर

यौटा शब्दको आकृति दिए

र मेरो सासको गन्ध हालेर

मेरो स्वरको तरङ्गसित छोड़िदिएँ।

 

मबाट छुटेपछि,  त्यो शब्द पुरै डुलन्ते भयो।

जता गयो त्यतैको भयो। जोसित बस्यो उसैको भयो।

तर अड़िएर कतै बस्न सकेन।

अचेल त्योसित मेरो कतै भेट भइहाले तापनि

त्यसले कहिले काहीँ बोलाउँछ मलाई। म रामर्री चिन्दिनँ त्यसलाई।

त्यसले कहिले काहीं बोलाउँछ मलाई। तर त्यसको स्वर

निकै भिन्दै भएको छ। भिन्दै भइरहन्छ।

 

एकपल्ट सोधें त्यसलाई -

" तँ किन यसरी बद्लिरहन्छस् हँ, मेरो शब्द?"

त्यसले ठाड़ै जबवाब दियो -

"अरे! तिमी चैं किन बद्लिन चाहँदैनौ?

के तिमीले आफूलाई कहिले नबद्लिने भगवान सम्झेको?

बद्लिरहनुमा आनन्द छ। बद्लिरहनुमा त

गति छ अनि जीवन छ। बुझ्यौ?"

 

(सृजन - समय-2008 - बाट साभार)

 

गजल

 

के.वी. राण

 

1.पहिलो बारीमा रोप्यो फूल अनि आँगनमा

भएन गमलामा सजायो फूल

मान्छे किन यति निष्ठुरी गुच्छा - गुलदस्ता बाँध्न सिकायो।

 

2. नाम राख्यो गणेश, महेश, रुद्र, इन्द्र र देवी देवता

हरे राम, हरे कृष्ण

मान्छेको मन अघाएन अझै - तस्बीर बनाई फ्रेमभित्र टाँसिदियो।

 

3.वैंशमा रमायो, उड़ायो, दगुऱ्यायो सग्लो जीवन

भएन कुनै सृजनाको काम

गए अनमोल दिन गरिएछ ठूलो भूल मुटुमा चस्किँदै छ शूल।

 

त्यो अविज्ञापित एकान्त

 

राजेन्द्र भण्डारी

 

यति धेरै सामानहरू विज्ञापित छन्।

चाहिएको सामान नै

कता लुक्छ कता।

 

फिँज पखालिसक्दा पनि

शरीरमै टाँसिरहन्छ साबुनको विज्ञापन।

 

कस्तो गह्रौं

विज्ञापन अनुहारका क्लिष्ट आत्मीयताहरू

जतासुकै पछ्याइरहने।

 

ढुङ्गामाथि निक्खुर हाँसिरहेको

त्यो अविज्ञापित सुनाखरी

विरोधको अहो कति राम्रो स्वर!

दिनभरी अनुहारमा खिलेर हिंडेको

सिन्थेटिक मुस्कानको विज्ञापन

खोलेर हुत्याइदिन्छ साँझमा

र फर्किन्छु त्यही अविज्ञापित निर्जन चप्लेटीमा

आफैभित्रको।

एकाकार हुन्छु सधैँ

त्यस अप्रतिहत नीरवतासित।

 

त्यो अक्षत आदिम सङ्गीत

मैले नुहाउनेगरेको पानी

त्यो अविज्ञापित एकान्त।

(भानु-दीप-बाट साभार)

 

गीत-गजल

 

जहाँ बग्छ टिस्टा रंगीत

 

सानु लामा

 

जहाँ बग्छ टिस्टा रंगीत.

जहाँ कञ्चनजंघा असीम-

यही हो हाम्रो धानको देश

तपोवन हो प्यारो सिक्किम।

 

फुल्छन् यहाँ आँगनैमा,

चाँप गुराँस सुनाखरी।

स्वर्गसरी सुन्दर देशका,

हाम्रा प्यारा राजा-रानी।

 

बतासले बोल्छ यहाँ,

तथागतका अमर वाणी।

श्रद्धा-भक्ति गर्छौं सधैँ,

 यही माटोका फूल हौं हामी।

 

             बुद्धं शरणं गच्छामि

             धर्मं शरणं गच्छामि

             संघं शरणं गच्छामि।।

   (रचनाकार - सानु लामाको 'जहाँ बग्छ टिस्टा रंगीत' (स्वरचित गीति काव्य संकलन)-बाट साभार)

 

क्षति

 

चन्द्रकला नेवार

 

सुनसानको बाहुपासमा आबद्ध

वातावरण -

जम्दै गएको साँझ

धिप-धिप मैनबत्ती

कालो हिउँ

फेरि पग्लन्छ।

केके अल्झिन्छ

केके डुब्छ

उही क्रम दोहोरिन्छ

विश्वास

अनुगामी बन्छ।

सुनसान पछ्यौरी

मौनताको चित्कारले

धुजाधुजा पार्छ

शब्दहीन विस्फोटले

कता हो कता पुऱ्याउँछ

थाहा नै हुँदैन।

छाती चिरेर देखाउन सक्दी हुँ

भन्ने थिएँ,

हेर, विस्फोटले कस्तो क्षति पुऱ्याउँछ!

(चक्रव्यूह, कविता सङ्ग्रहबाट)

 

खड़ेरीको अक्षर

मनोज बोगटी

भिज्न दिनू आँखालाई
आँखा भिज्दा
मन मलिलो हुन्छ।
जहॉं उम्रन्छ
हॉंस्ने आकांक्षा।
तिमीलाई थाहा छ
मनको आगो जब आँखाबाट निस्कन्छ
कसरी जल्छ मर्यादा
कसरी डढ्छ स्वर्ग।
भिज्न दिनू आँखालाई
आँखा भिज्दा नै जीवन भरिलो हुन्छ
जहॉं फुल्छबॉंच्ने भरोसा।
पीड़ाको कुनै आकार हुँदैन
तरै पनि मनको कत्रो पाखा ओगट्‌छ यसले
पीड़ा फुट्‌दा त्यही पाखामा पैह्रो जान्छ।
पैह्रो गएको पाखामा
खड़ेरी मात्र उम्रन्छ।
अहो!
आँखामा खड़ेरी लाग्नु कत्रो अनिकाल हुन्छ।


 

   

 

(गजल)

तिरस्कारको चोट नसोध मलाई

 

सुकराज दियाली

 

तिरस्कारको चोट नस&#