|
हिन्दी साहित्यमा
महावीर द्विवेदीको योगदान
सुवास दीपक
सन्
1857 - देखि भारतीय साहित्यको आधुनिक युग प्रारम्भ भएको
मानिएको छ र आधुनिक भारतीय साहित्यको प्रारम्भ पनि प्राय:
यसै कालको छेउछाउ हुन्छ। आधुनिक हिन्दी साहित्यलाई
इतिहासकारहरूले चारवटा खण्डमा विभाजित गरेका छन्। सुरुका
11 वर्ष एक प्रकारले परिवर्तनको भूमिकाको रूपमा मानिएका
छन्। 1. भारतेन्दु
अथवा पुनर्जागरण युग (1868 - 1893), 2.
द्विवेदी युग (1893 - 1918), 3. छायावाद युग (1918 - 1937)
तथा 4. समसामयिक काल 1937 - देखि।
उत्तर - मध्यकालमा जीवनका मूल स्रोतबाट
हिन्दी कविताको सम्बन्ध विच्छिन्न भएको थियो र त्यो एक
प्रकारले विलासको साधन बन्न पुगेको थियो। भारतेन्दु
हरिश्चन्द्र (1849 - 1882) - को दृष्टि, जो हिन्दी
प्रदेशमा पुनर्जागरण आन्दोलनको नेतृत्व गरिरहेका थिए,
यसतर्फ गयो र तिनले कवितालाई विलासको परिधिदेखि निकालेर
सामाजिक - राष्ट्रिय जीवनको मुक्त वातावरणमा
ल्याइपुऱ्याइदिए। भारतेन्दुले हिन्दी साहित्यमा आधुनिक
दृष्टिको उन्मेष गरे र यसैकारण आधुनिक युगको प्रवर्तकको
श्रेय़ उनैलाई जान्छ।
यस आधुनिक दृष्टिको उन्मेषलाई निरन्तरता
दिए आचार्य महावीर प्रसाद द्विवेदीले।
द्विवेदी युगमा खड़ी बोली आफ्नो विकासको
प्रारम्भिक चरणमा थियो। हिन्दी गद्यको वास्तविक सूत्रपात
19 औं शताब्दिमा भयो। 19 औं शताब्दिको प्रथम चरणमा भारतमा
अङ्ग्रेजहरूको आधिपत्य स्थापित भइसकेको थियो। यस शताब्दीमा
अङ्ग्रेजहरूसित सम्पर्क स्थापित हुँदा भारतवासीहरू
तिनीहरूका राजनैतिक, सामाजिक, धार्मिक विचारहरूसित परिचित
भए र तिनीहरूमा राजनैतिक, सामाजिक तथा धार्मिक सुधारहरूको
चेतना जागृत भयो।
आचार्य महावीर प्रसाद द्विवेदी एकजना
यस्ता रचनाकार हुन् जसले हिन्दी भाषा र साहित्यलाई
तद्युगीन अराजकतादेखि निकालेर निश्चित दिशा र व्यवस्था
प्रदान गरे। तिनले हिन्दी
त्यसलाई परिष्कृत गर्नका साथसाथै
खड़ी बोली हिन्दीलाई कविताको क्षेत्रमा प्रतिष्ठित गरे।
लेखक, भाषा - शिक्षक, सुधारक, हिन्दी भाषा प्रचारक,
सम्पादक, आलोचक, निबन्धकार आदि अनेकौं भूमिकाको एकैसाथ
निर्वहन गर्ने
द्विवेदीले हिन्दी भाषा र साहित्यको उन्नयन
गरे।
आचार्य द्विवेदीको जन्म सन 1864 - मा
उत्तर प्रदेशको रायबरेली जिल्लाको दौलतपुर गाउंमा भएको
थियो। 21 दिसम्बर 1938 - का दिन रायबरेलीमै तिनको चोला
उठ्यो। कर्मठता, अनुशासनप्रियता आदि गुणहरूले तिनका
व्यक्तित्वलाई विशिष्टता प्रदान गरे। यी
गुण तिनका
रचनाहरूमा विद्यमान छन्।
साहित्यिक जीवनमा द्विवेदीको प्रवेश सन्
1903 - मा 'सरस्वती'
पत्रिकाका सम्पादकको रूपमा भयो। आचार्य द्विवेदीको भाषा
संस्कारसम्बन्धी अभियानलाई पूरा गर्नमा यस पत्रिकाले
महत्वपूर्ण भूमिका खेल्यो। सन् 1920 - सम्म
'सरस्वती'
पत्रिकाको प्रकाशन गरेर आचार्य द्विवेदीले सम्पादन कलाको
आदर्श उपस्थित गरे।
सन् 1900 - मा 'सरस्वती'
- का सम्पादकको रूपमा तिनी आलोचना क्षेत्रमा अवतरित
हुन्छन्। तिनी कवि तथा लेखकहरूका सामान्य त्रुटिको पनि
आलोचना गरिदिन्थे। तिनको उद्देश्य हिन्दी भाषा र साहित्यका
समस्त विधाहरूलाई सशक्त बनाउनु थियो। यसका साथसाथै तिनको
चेतना आदर्श - समन्वित राष्ट्रियताले पनि अनुप्राणित थियो।
तिनी श्रृँगारी रसिकताका विरोधी थिए। आलोचकका रूपमा तिनको
कुन दृष्टिले बढ़ी महत्व छ भने तिनले हिन्दी काव्यलाई
ऋँगार - रसिकताको पासोबाट मुक्त गरेर त्यसलाई जातीय
आदर्श एवं राष्ट्रियताका मार्गमा हिँड्न बाध्य गरिदिए।
यसको परिणामस्वरूप हिन्दी साहित्यले एउटा नयाँ दिशाबोध
ग्रहण गऱ्यो।
आचार्य द्विवेदीद्वारा रचित मौलिक
साहित्यको विशाल भण्डार उपलब्ध छ। साहित्यिक उपलब्धिहरूका
रूपमा तिनका मौलिक र अनूदित प्रकाशित रचनाहरूको सङ्ख्या 80
- भन्दा अधिक छ। ती हुन् -
पद्य (मौलिक)
देवी - स्तुति शतक, कान्यकुब्जावलीव्रतम, समाचार पत्र सम्पादक स्तव:,
नागरी, कान्यकुब्ज - अबला - विलाप, काव्यमंजूषा, सुमन,
द्विवेदी काव्य माला., कविता - कलाप।
अनूदित
विनय विनोद,
विहारवाटिका, स्नेहमाला,
श्रीमहिम्न स्त्रोत, गंगालहरी,
ऋतुतरंगिणी, कुमारसम्भव - सार। भासिनी
विलास, अमृत लहरी, बेकन - विचार - रत्नावली, शिक्षा,
स्वाधीनता, जल - चिकित्सा, हिन्दी महाभारत, रघुवंश, वेणी
संहार, कुमार संभव,
मेघदूत, किरातार्जुन, प्राचीन पंडित और
कवि, आख्यायिका सप्तक।
गद्य (मौलिक)
हिन्दी शिक्षावली तृतीय भाग की समीक्षा,
वैज्ञानिक कोश, नाट्यशास्त्र, विक्रमांकदेव चरित चर्चा,
हिन्दी भाषा की उत्पत्ति, सम्पत्ति शास्त्र, कौटिल्य
कुठार, कालिदास की निरंकुशता, वनिता विलाप, औद्योगिकी,
रसज्ञ रंजन, कालिदास और उनकी कविता, सुकवि संकीर्तन, अतीत
स्मृति, साहित्य संदर्भ, अदभुत आलाप, महिलामोद,
आध्यात्मिकी, वैचित्र्य चित्रण, साहित्यालाप, विज्ञ विनोद,
कोविद कीर्तन, विदेशी विद्वान्, प्राचीन चिह्न, चरित
चर्चा, पुरावृत्त, दृश्य दर्शन, आलोचनांजलि, समालोचना
समुच्चय, लेखांजलि, चरित्र - चित्रण, संकलन।
सम्पादक, निबन्धकार आलोचकका रूपमा
आचार्य द्विवेदीलाई अपार ख्याति प्राप्त भयो। रचनात्मक
साहित्यको अपेक्षा भाषा र साहित्यका लागि गरिएको आचार्य
द्विवेदीको रचनात्मक कार्य बढ़ी ऐतिहासिक महत्वको छ।
वास्तवमा भन्ने हो भने आचार्य
द्विवेदीको आचार्य तथा मार्ग निदेशक
रूप नै हिन्दी
साहित्यमा तिनको वास्तविक चिनारी हो। साहित्य साधनाको
अपेक्षा तिनी युग निर्माणप्रति बढी प्रयत्नशील रहे। तिनले
समसामयिक लेखकहरूलाई भाषा संस्कारका साथसाथै अभिनव विषय र
हिन्दी साहित्यका विभिन्न विधाहरूको ज्ञान प्रदान गरेर
तिनीहरूको मार्गनिदेशन गरे। राष्ट्रकवि मैथिलीशरण गुप्त,
डा. गोपालशरण सिंह, पं. अयोध्या सिंह उपाध्याय, श्रीधर
पाठक स्नेही, सत्यनारायण कविरत्न आदि अनेक कवि र
गद्यकारहरूले द्विवेदीबाट भाषागत प्रेरण र शिक्षा पएर
आफ्ना रचनाहरूलाई सशक्त र व्यवस्थित रूप प्रदान गरे।
आचार्य महावीर प्रसाद द्विवेदी हिन्दीका
यस्ता कर्मयोगी थिए जसले आफ्नै कठोर परिश्रम तथा सजग
प्रयासहरूद्वारा खड़ी बोलीलाई शक्ति - सम्पन्न बनाए।
साहित्यलाई विविधता र अभिनवतातिर अग्रसर गरे। पत्रकारिताको
मार्ग प्रशस्त गरे।
द्विवेदी प्रकृति र व्यवहार दुवैले
सुधारवादी थिए। तिनले अत्यन्त सतर्क भावले काव्यको विषय -
वस्तु तथा माध्यम भाषाको परिमार्जनको प्रयत्न गरे।
परिणामस्वरूप हिन्दी कविताको नैतिक स्वर गम्भीर हुन थाल्यो
र भाषाको स्वरूप स्वच्छ, शुद्ध तथा परिनिष्ठित बन्दै गयो।
तिनले ब्रज भाषा बनाम खड़ी बोलीको विवादलाई समाप्त गरेर
कविता र गद्यको भाषाको अस्वाभाविक भेदलाई मेटाइदिए।
भारतेन्दु कालमा हिन्दीको प्रचार र
प्रचारका साथसाथै साहित्यका विविध विधाहरू पनि प्रचलित भएर
सम्पन्न बन्नसके तर गद्य अझै पनि अपरिमार्जित र अशुद्ध नै
थियो। यस अभावपट्टि सर्वप्रथम महावीर प्रसाद द्विवेदीको
दृष्टि पऱ्यो। भाषा परिष्कारका लागि तिनका समक्ष अनेक
समस्याहरू थिए। भाषासम्बन्धी अराजकता अत्यधिक विषम थियो।
हिन्दीका अनेक रूप थिए - पूर्वी बोली, ब्रज, अवधी,
बुनदेलखण्डी आदि। यी सबै बोलीहरूका शब्दहरू नि:संकोच
प्रयुक्त हुन्थे। यसले गर्दा अराजकता उत्पन्न भइरहेको
थियो। द्विवेदीले यसलाई हटाइदिए। अर्को समस्या व्याकरणको
थियो। द्विवेदीले 'सरस्वती'
पत्रिकाको माध्यमद्वारा यस समस्याको पनि सशक्त ढङ्गले
समाधान निकाले।
आचार्य द्विवेदीले प्राय:
सबै विधामा लेखे। तिनको विशिष्ट योगदान गद्य विधाको
परिष्कारमा देखिएको छ। तिनले भाषालाई संस्कार प्रदान गरे र
त्यसलाई भावाभिव्यञ्जनको शक्तिले समन्वित गरे र आफ्नो
समयका लेखकहरूलाई शिष्ट, संस्कृत एवं व्याकरणसम्मत भाषामा
विचारलाई व्यक्त गर्ने प्रेरणा दिए। तिनी निबन्धलाई आदर्श
मान्ने गर्थे। यसै कारण तिनले निबन्ध लेखनमा बेकनको
आदर्शलाई प्रमुखता दिए। तिनले बेकन विचार रत्नावली लेखेर
बेकनका निबन्धहरूको अनुवाद पनि गरे। आलोचनात्मक साहित्यिक
निबन्धको सूत्रपात द्विवेदीका निबन्धबाट नै हुन्छ। कविता,
कवि और कविता, कवि कर्तव्य, उपन्यास, नाटक, कवियों की
उर्मिला विषयक उदासीनता - प्रभृत्ति साहित्यिक निबन्धहरूमा
पनि तिनले अत्यन्त साधारण एवं सरल शैली अवलम्बन गरेका छन्।
तिनले केही यस्ता निबन्ध पनि लेखेका छन् जसमा सरसता,
रोचकता र भावमयताका साथसाथै आत्मीयता पनि झल्किन्छ।
हिन्दी भाषाको शब्द -
ढिकुटीलाई समृद्ध तुल्याउन आचार्य द्विवेदीको योगदान
ऐतिहासिक महत्वको छ। त्यसताका हिन्दीको शब्द- भण्डार
यति न्यून थियो कि त्यसद्वारा सबै भावहरूको अभिव्यक्ति
हुनसक्तैनथियो। शब्द - भण्डारलाई सम्पन्न बनाउन तिनले
अङ्ग्रेजी, बंगला, मराठी आदि भाषाहरूको सहयोग प्राप्त गरे।
विज्ञान, समाजशास्त्र, मनोविज्ञान, व्यापार आदिबाट
सम्बन्धित लेखहरूका लागि तिनी अङ्ग्रेजी शब्दहरूको
हिन्दीमा अनुवाद गर्थे अथवा नयाँ शब्द अङ्ग्रेजी शब्द अथवा
वाक्यहरूका आधारमा निर्माण गर्थे। बंगला, संस्कृत,
मराठीबाट पनि तिनले शब्द पैंचो लिएर हिन्दीको शब्द -
भण्डारलाई सम्पन्न बनाए। उर्दू, अरबी, फारसीका अनेकौं शब्द
पनि हिन्दीमा शामिल गरिए।
आज हिन्दीको जुन मानक
स्वरूप गत एक शताब्दिदेखि विकसित भयो, त्यसको निर्माणमा
आचार्य महावीर प्रसाद द्विवेदीको स्मरणीय योगदान रहेको छ।
हिन्दी आज एउटा अन्तर्राष्ट्रिय भाषाको रूपमा विकसित
भइसकेको भाषा हो। विश्व - साहित्यमा जुन - जुन नवीन
विधाहरूको सिर्जना हुँदै आएको छ. त्यसलाई हिन्दीले सहजताका
साथ आत्मसात गरेको छ।
(दिसम्बर 2011)
च्याखुङ
स्कूल - मेरा पुराना संस्मरणहरू
बी.बी. गुरुङ
गिरिराज हिमालयको काखमा अवस्थित
सुन्दर एवं शान्त सिक्किम राज्यको पश्चिम जिल्लामा एउटा
श्यामल गाउँ छ, जसको नाम हो च्याखुङ। त्यही गाउँमा मेरो
जन्म भएको थियो, आजभन्दा 75 वर्षअघि।
च्याखुङ शब्दको अर्थ मलाई थाहा छैन,
तर यस शब्दको यी शब्दमा अर्थ लगाउँछु - त्यो गाउँ, जहाँ
लेप्चा, भोटिया तथा नेपाली समुदाय बिहेका जन्ती र मर्दाका
मलामी भएर नङ र मासु झैं मिलेर बसेका छन्।
यस गाउँमा साम्प्रदायिक सद्भावना,
भाइचारा एवं धार्मिक सहिष्णुता शिखर छोएको छ। गुम्बा छन्,
मन्दिर छन्, गिर्जा घरहरू यहाँ समग्र सिक्किमको नै विशेषता
रहेको छ, सर्वधर्म समवाय।
मेरो गाउँलाई म एक ओजस्वी गाउँ भनी
दाबी गर्न हिच्किचाउँदिनँ, किनभने यस गाउँले सिक्किमको
इतिहासलाई महिमामय बनाउने अनेक विभूतिहरू जन्माएको छ।
सिक्किमले पाएका पाँच मुख्यमन्त्रीमध्ये दुइजना यसै गाउँका
उत्पादन हुन्। सिक्किमका प्रथम मुख्यमन्त्री काजी
ल्हेन्डुप दोर्जी खाङ्गसार्पा तथा यी पङ्क्तिका लेखक बी.
बी. गुरुङ त्यस पदबाट विभूषित भएका छन्। यहाँ अनेक
बुद्धिजीवी, विद्वान, राजनीतिज्ञ, शिक्षाप्रेमी, समाजसेवी,
धर्मगुरु, दक्ष राजनीतिज्ञ, डाक्टर इञ्जिनियर, कृषि
अधिकारी, वन अधिकारी, प्रहरी अधिकारी आदिको प्रादुर्भाव
भएको छ। अनेक यस्ता बुद्धिजीवीहरू राज्यको सेवामा
तत्परतापूर्वक सेवा प्रदान गरिरहेका छन्।
यो गाउँ आज एउटा गाउँको रूपमा सीमित
छ, तर पहिले यो एक स्वतम इस्टेट थियो। इस्टेटको शासन
व्यवस्था एक उच्चपदस्थ अधिकारीले सम्हाल्ने गर्थ्यो।
अड्डा, अदालत, प्रशासन कर्मचारी, मण्डल, कारवारी आदि
इस्टेटको व्यवस्था सम्हाल्थे त्यस इस्टेटको सीमा जूमदेखि
लिई सोरेङसम्म फैलिएको थियो।
सिक्किम एक राजतान्त्रिक देश थियो।
प्राचीनकालका राजतन्त्र अनुदार हुन्थे। यहाँ त झन
राजतन्त्रबाहेक अर्को अझ बड़ी अनुदार तन्त्र थियो, जसको
सिक्किमको वास्तविक सत्ता सम्हाल्यो, त्यस सत्तालाई काजी -
ठिकादारीतन्त्र भनिन्थ्यो। देशमा 52 काजी ठिकादार थिए।
तिनीहरूलाई
जमिन्दार भन्दा हुन्छ। उत्तर सिक्किमलाई छोडी
अन्य जिल्लामा त्यो अनुदार तन्त्रले आफ्नो जमिन्दारीभित्र
आफ्नै शासन चलाउँथे। उनीहरू अड्डा - अदालत, प्रहरी,
मण्डली, कारवारी आदि थिए। उनीहरूका एकाधलाई छोडी ती काजी -
ठिकादार पूर्णतया सामन्तवादी थिए। पुराना जमिन्दारहरू
आफ्ना रैती शिक्षित हुन् टाठा - बाठा भई आफ्नो देशलाई
समयोचित विकासले परिपूर्ण पार्ने काममा सहयोही बनून्,
सुखा, समृद्धशाली बनून् भनी चिताउँदैनथे। उनीहरूको एउटै
लक्ष्य हुन्थ्यो रैतीहरूको जमेर शोषण, दोहन गर्नु, शिक्षा
प्रचार नगर्नु इत्यादि। रैती शिक्षित बने आफ्नो मनपरी
तन्त्रका जरा मक्किएर त्यो तन्त्र ढल्छ भन्ने मन्त्र
उनीहरूले बुझेका थिए। त्यही नीतिलाई काममा लगाउनाले आफ्नो
साँधसीमानाको दार्जिलिङ जिल्ला शिक्षाको आलोकले झल्लमल्ल
भइसक्दा यहाँ भने जनतामा
अन्धकार व्याप्त थियो।
ठूला -
ठालूहरू आफ्ना छोरा - छोरीलाई बाहिर लगी पढाउँथे आफ्नै
देशभित्र शिक्षालय खोले रैतीका सन्तान शिक्षित हुन्छन् र
ती शिक्षित भए कुनै दिन हामीमाथि आपतको वज्र खस्नेछ भनी
शिक्षा प्रचारको क्षेत्रमा उनीहरू मौन भई
बसेका थिए।
साना मानिसले चाहेर पनि आफ्ना
छोराछोरीहरूलाई सिक्किमबाहिर पढाउने काम गर्दैनथे। त्यसको
पनि कारण थियो। छोराछोरीलाई बाहिर लगेर पढाएर ती
अभिभावकहरूलाई काजी - ठिकादारहरूले उठी सुख न बसी सुख
गराउँथे। त्यति निहुँमा कतिले त देश नै छोडी भाग्नु परेका
अनेक कथा पनि छन्।
सिक्किममा सरकारले खोलेको प्रथम
स्कूल हो सर टी.एन हाइ स्कूल - 1925। यस तथ्यले बताउँछ.
यहाँका अनुदार शासकहरूको शिक्षाप्रति कतिसम्म प्रेम
थियो। छिमेकी दार्जिलिङ जिल्लामा सन्तपाल, सन्त जोसेफ,
सन्त माइकल र दार्जिलिङ, एस.यू.एम.आइ, सन्त जोसेफ र कन्या
पाठशाला, सन्त अगस्टिन कालिम्पोङभरि र सन्त
जर्जेस
पेदोङजस्ता प्रसिद्ध
शिक्षालय खुलिसकेका थिए।
सरकार शिक्षा प्रचारको लोभमा अनुदार
भए पनि देशभित्र पसी शिक्षालय खोल्छु भनी आउने कतिपय इसाई
मिशनरीहरूलाई भने परमांगी दिएको पाइन्छ। ती मिशनरीहरूमध्ये
सर्वप्रथम शिक्षालय खोलेको इतिहास सन् 1880 - मा शुरु
हुन्छ जब एक फिनिश (फिनल्याण्डको) मिशनले
मंगन, खाम्दोङ र साङमा गरी तीनवटा प्राथमिक पाठशाला खोली
अनुदार शासकहरूलाई खबरदार रहने चेतावनी दिएको थियो।
त्यसको लगत्तै चार वर्षपछि दार्जिलिङ जिल्ला शिक्षाको
उज्यालो स्कटिश मिशन सिक्किम पस्छ र एकै सालभित्र 10 वटा
प्राथमिक पाठशाला खोलिदिन्छन् रिनाक, पाचेखानी, पाकिम,
नामथाङ, सदाम, तुरुक, दामथाङ, वक, च्याखुङ र सोमबारेमा।
सरकारी स्कूल खोल्ने प्रक्रिया त सन् 1950 - पछि शुरु
हुन्छ।
मिशनेरीहरू शिक्षा प्रचारका साथै धर्म प्रचारमा पनि
लगिपरेका थिए। त्यही देखेर हुनसक्छ, गाउँ च्याखुङका एकजना
बौद्ध धर्मगुरु सिक्किममा विद्याको उज्यालो भर्ने संकल्प
लिई मैदानमा उत्रिन्छन्।
ती सन्तको नाम थियो - काजी फाग छिरिङ। ती थिए सिक्किमका
दुई इतिहास पुरुष फुदेङ लामा जो देवानका वंशज अथवा
सिक्किमका प्रथम मुख्यमन्त्री एल.डी. काजी खाङसार्पाका
जेठा दाजु थिए। काजी फाग छिरिङ सुपठित थिए। तिनी धर्मपरायण
व्यक्ति थिए। जवानीमा नै तिनी सिलोन (वर्तमान श्रीलङ्का)
गई बौद्ध धर्मको गहन अध्ययन गरी त्यहींको बौद्ध
सम्प्रदायका धर्मगुरु बनी फर्केका थिए। फर्केर आएपछि तिनले
सर्वप्रथम दार्जिलिङको भोटे बस्तीमी वाई.एम.बी.ए. (Youngmen
Buddhist Association) खोली एउटा प्राथमिक पाठशाला
साथै एउटा छात्रावास पनि बनाइदिएका थिए। त्यस छात्रावासमा
बसी दार्जिलिङका विविध स्कूलमा अध्ययन गर्ने
विद्यार्थीहरूलाई नि:शुल्क बस्न
दिइन्थ्यो।
श्रीलङ्काबाट फर्केपछि उनले आफ्नो नाम परिवर्तन गरी अर्को
नाम राखेका थिए - एस. के. जेनिरोसा। त्यसपछि उनको त्यही
नाम चवन चल्तीमा आएको थियो।
च्याखुङ इस्टेटमा
स्कटिश मिशनले 1884 - मा एउटा प्राथमिक
पाठशाला खोली विद्याको प्रचार गर्न थालेको कुरो पहिल्यै
निवेदन भइसकेको छ। त्यो स्कूल सन् 1884 - देखि 1933 - सम्म
चलेको थियो। त्यसपछाडि, किन हो, मिशनले त्यस स्कूललाई अरू
नचलाउने निर्णय गरी बन्द गर्न सुरसार गर्छन्। यस कुराले
शिक्षीप्रेमी जेनिरोसालाई दुखित तुल्याउँछ। उनी मिशनका
हर्ताकर्तासँग भेट गरी त्यस स्कूलको व्यवस्थालाई यथावत्
राख्ने प्रबन्ध मिलाउँछन्। त्यसै स्कूलको बिगोलाई मासिन
नदिई त्यसको स्वामित्व आफ्ना हातमा लिन्छन्। स्कूलको
रेकर्ड हातमा लिई स्कूल मात्र आफ्नो घरमा सारी चलाउन
थाल्छन्। यसरी च्याखुङ स्कूलको इतिहास आजको मितिमा 129
वर्ष पुगेको देखिन्छ।
सन्त जेनिरोसा एक सुपठित विद्वान मात्र थिएनन्,
सङ्गठनात्मक काममा पनि माहिर थिए। उनले च्याखुङ स्कूलको
विकासका निम्ति जसरी सङ्गठन जुटाई काम गरेका छन्, उनले
आफ्नै हस्ताक्षरमा राखिछाडेको एक मोटो र बलियो रेजिस्टरको अध्ययन गर्दा थाहा लाग्छ। त्यस रेजिस्टरमा 1924 - देखि
1974 - सम्मका स्कूलको कार्यकारिणी समितिका सभा विवरण
(मनट) अङ्कित छन्।
त्यस मिनट बहीमा पाइने प्रथम विवरण सभा विवरण नभई स्कूलको
संक्षिप्त विवरण अङ्कित छ। त्यस विवरणलाई जस्ताको तस्तै
यहाँ दिइन्छ। विवरण यस किसिम छ -
The Chakung village school was opened
by me in 1934 for the benefit of giving primary
education to the village boys and girls of Chakung
estate. Master Norgey Tshering was appointed the
incharge of the school at the monthly pay of Rs. 25/-
and the expenses was borne by me from my own pocket. A
general subscription was started to meet the expenses of
the school by Babu Ram Prasad Ram, the then mulstiar of
the estate, who has subsequently realized a few hundred
of rupees from the genera; public. But it was
regrettable that nothing is paid to me from the fund
till now to meet the expenses and it is said that the
money is kept in deposit with the manager Rai Sahib
Rhenock Kazi, who has not yet paid the amount of the
school. From the last February 1935, since the school
was reopened, the teacher's pay had been paid by me from
the fund of the Young Men's Buddhist Association with
the head office at Bhutia Busty, Darjeeling from the
months of June 1935. Master Norgey Tshering's had been
increased to Rs. 30/- per month as he had to arrange his
own fooding mess which upyo May he was getting free from
me in addition to Rs. 25/- per month. An Assistant
teacher also had to be appointed to felicitate the
speedy progress of the children and accordingly Mr.
Chandra Nahadur Gurung was appointed as assistant
teacher from March, 1935 to 31st July at the monthly pay
of Rs. 19/- but for want of fund his service had to be
disposed with. And thanks is due to mandal Deoprasad
Girung who did not accept the full pay of the service
rendered as assistant teacher. The number of the
children are now about 30, both boys and girls and the
class ranks from standard VI to Infant classes and the
progress of the children also going on smoothly
but now the difficulty to meet the expenses of this
school, therefore, I appeal to the Durbar for grant of
an aid and to the general public, all the mondals,
karbaris and all others of the estate to enroll
themselves as members of the school and subscribe
monthly Rs. 14/- by each member to up keep the school
and to meet further establishment charges. An account
will be opened in a bank for the school fund and a
cashbook account will be kept for the receipts and
expenditures. A printed receipt will be issued for
receipts.
S.K. Jinarosa
(Kazi Phag Tshering)
Chakung, the 2nd September, 1935
प्रस्तुत विवरणले च्याखुङ स्कूलको नयाँ व्यवस्थापना 1934 -
देखि शुरु भएको र बीचमा स्कूलको व्यवस्थालाई सुदृढ गराउन
नियोजित ढङ्गले धेरै काम भइसकेको कुरो स्पष्ट गराएको छ।
स्कूलमा विद्यार्थीहरूको सङ्ख्या 30 मात्र किन नहोस्,
क्लास भने छैटौं कक्षासम्म थिए। यसले स्पष्ट हुन्छ, स्कूल
शुरुदेखि नै मिडल स्कूल थियो। प्राप्त सभा बही (मिनट बुक)
- मा स्कूलको व्यवस्था मिलाउन प्रथम सभा बसेको छ भने 3
सेप्टेम्बर, 1935 - का दिन बसेको विवरण अंकित छ। तर
जहाँसम्म लाग्छ, त्यसभन्दा एक वर्ष पूर्व नै स्कूल चल्न
थालेको हुनाले त्यस्ता सभा पहिले पनि धेरै भइसकेको
हुनुपर्छ। पहिले भएका सभा विवरण उक्त बहीमा परेको छैन।
3 सेप्टेम्बरको सभा ए. के. जेनिरोसाको सभापतित्वमा बसेको छ
र पारित प्रस्तावमध्ये प्रथम प्रस्ताव उदारमना सन्तले
आफ्नो गाउँका छोरा - छोरीको कल्याणको कामना गरी
मिशेनरीहरूले अलपत्र छाडी हिंडेको
स्कूललाई मर्न नदिई
जीवनदान गरेकोमा आभार व्यक्त गरिएको छ।
नम्बर 2 प्रस्ताव: यस
प्रस्तावले इस्टेटका जम्मै मण्डल, कारबारी तथा आमजनतालाई
स्कूल सञ्चालन समितिका सदस्य बनी प्रति महिना 4 आनाको दरले
सदस्य शुल्क भुक्तान गरिदिन आह्वान गरिएको छ।
प्रस्ताव नं. 3: यस प्रस्तावमा
स्कूलको उचित व्यवस्था मिलाउन राजदरबारको सहयोग मभई नहुने
ठम्याई कतिपय विषयलाई लिई राजदरबारसँग कुरा गर्न जाने
निर्णय गरिएको छ। ती कुरा छन् (1)
स्कूल सञ्चालन गर्न
अनुदान माग्ने, (2) स्कूल भवन निर्माण गर्न धडेरी माग्ने,
(2) स्कूल भवन निर्माण गर्न चाहने रकमका लागि अनुरोध गर्ने
र (4) विद्यार्थीहरूको कृषि फार्म
बनाउन 15 - देखि लिई 29
ऐकर जमीन माग्ने।
प्रस्ताव नं. 4 : यस प्रस्तावमा
स्कूलको सञ्चालन गर्न कार्यकारिणी समिति गठन गरिएको छ।
सभापति बनाइएका छन् इस्टेटका मेनेजर राय साहिब रिनाक काजी,
उपसभापति एस. के. जेनिरोसा, सचिव एस. के. जेनिरोसा नै,
सहसचिन बिर्खबहादुर गुरुङ र मास्टर एन. जी. छिरिङ छन्।
सदस्यहरू तीनजना मात्र छानिएका छन्। ती छन् - रामसिंह,
धनपतराय र कर्मा छिरिङ। यहाँ एउटा अनौठो कुरो के छ भने
एस.के. जेनिरोसा उपसभापति हुनका साथै सचिव पनि बनाइएका
छन्।
अन्य प्रस्तावमा प्रमुख छन् स्कूल फण्ड ब्याङ्कमा राख्ने,
क्याश बुक राखी हिसाब - किताब राम्ररी भर्ने, रसिद बुक
छाप्ने, तीन - तीन महीनाको अवधिमा सञ्चालन समितिको बैठक
राख्ने आदि विषय छन्।
अर्को एउटा प्रस्तावमा समितिको संविधान तय गरिएको छ।
अन्तिम प्रस्ताव छ पूजाको बिदाभित्र एउटा आम सभा डाकी
स्कूलको द्रुत विकासका योजनाहरू तय गर्ने निर्णय लिइएको छ।
सभा विवरण बहीका पृष्ठ 7 र 8 - मा जम्मा 63 जना मानिस
मानिसको हस्ताक्षर उपलब्ध छन्, तर त्यो काम कुन विषयमा
गरिएको छ, विवरण उपलब्ध छैन। ती नामहरूमा सभापति र सचिवका
हस्ताक्षर परेका छैनन्।
गाउँमा स्कूल भर्खरै मात्र खोलिएको भए पनि 64 जनामध्ये
सबैले हातले हस्ताक्षर दिएका छन्, बुढीऔंलाको छाप कसैले
लगाएका छैनन्, भलै अक्षर टेडामेडा किन नहुन्, 7.9. 1935 -
का दिन बसेको स्कूलको कार्यकारिणी समितिले श्रेणी -
श्रेणीका विद्यार्थीहरूले तिर्नुपर्ने शुल्क तय गरिएको छ।
शिशु श्रेणीका निम्ति शुल्क मिनाह गरिएको छ।
शुल्कको दर
हेर्दा समितिले ज्यादै उदारतापूर्वक निर्णय लिएको स्पष्ट
हुन्छ। प्रथम श्रेणीलाई एक पैसादेखि लिएर षष्टम श्रेणीमा
पुग्दा शुल्क 8 आना पुरेको छ।
22.12.1935 - को दिन समितिको अर्को बैठक बसेको छ, जसको
सञ्चालन गर्न उपसभापति अनुपस्थित रहेकोमा अर्कै एक
सदस्यलाई सभापति बनाई काम चलाइएको विवरण दिइएको पनि सभापति
बनाइएको थियो त्यसको बयान छुटेको छ। त्यस दिनको बैठकको किन
आवश्यकता पऱ्यो भन्ने कुरो विचारणीय छ। एस.के. जेनिरोसा त्यस
समय कलकत्तामा हुन्छन्। उनले त्यहाँबाट हिसाब - किताब
राम्ररी राख्ने आदेश दिई निकै कडा पत्र लेखेका हुन्छन्।
समितिले सभा डाकी हिसाब - किताबको फाँटवारी तयार पारी एउटा
लामो पत्रमा त्यस विवरणलाई हाली कलकत्तामा पठाउने काम भएको
छ। पत्रको समाप्तिमा लेखिएको छ - Your
most obedient servants - यसले बुझिन्छ, एस. के.
जेनिरोसाको प्रभाव कतिसम्म प्रखर थियो।
त्यस सभामा सञ्चालन समितिमा रामजीवन र लालसिंहलाई समितिको
सदस्यका रूपमा चुनिएको पाइन्छ।
24.4.1936 - मा एस. के. जेनिरोसाको सभापतित्वमा बसेको
सभामा एउटा विशेष
शुभ सन्देश दिएको पाइन्छ। त्यो के छ भने
मार्च, 1936 - देखि च्याखुङ मिडल स्कूललाई दरबारद्वारा
मान्यता दिई च्याखुङ इस्टेटलाई जिम्मा दिइएको छ।
त्यस सभाबाट स्कूलले सप्तम श्रेणी पनि शुरु गरेको सूचना
पाइन्छ र त्यस श्रेणीको
शुल्क प्रति महिना 1 रुपियाँ ठहर
गरिएको छ। शिशु श्रेणीलाई पहिला निशुल्क शिक्षा प्रदान
गर्ने प्रावधान भए पनि त्यस सभाले शुल्क लगाउने निधो गरेको
छ।
अर्को प्रस्तावअनुसार एकजना थप शिक्षकको
खाँचो परेको कुरो
बताई इस्टेटका मेनेजरलाई थप 20 रुपियाँको निम्ति निवेदन
गरिएको छ। अर्को एक प्रस्ताव सञ्चालन समितिलाई थप सदस्यहरू
भर्ना गरी व्यापक बनाइएको छ। थप सदस्यहरूको नामावली यहाँ
प्रस्तुत गरिएको छ -
काजी ल्हेन्डुप दोर्जी, मालचन्द, शेरबहादुर, रामबहादुर,
रामजीवन प्रसाद, अजबसिंह छेत्री, मण्डल त्रिलोक सिंह,
लालमान, कनैलाल, केशर बहादुर र अंगबीर सुब्बा।
प्रत्येक सदस्यलाई एक - एकवटा रसीद बुक दिई नयाँ
सदस्यहरूलाई सदस्य शुल्क उटाउने आदेश दिइएको छ।
14.10 1936 - को सभाले मिम्छो लेप्चालाई सह शिक्षकको रूपमा
15 रुपियाँको मासिक वेतनमा नियुक्ति दिन्छ। 31.1.1938 - को
सभाले मिम्छो लेप्चाको वेतन रु. 20
गराइन्छ।
प्राय:
प्रत्येक बैठकमा समितिले स्कूल भवन निर्माण गर्न तथा
अनुदान बढाइमाग्न राजदरबारमा अनुरोध गर्ने प्रस्ताव लिएको
पाइन्छ। त्यसै दिनको सभाले प्रत्येक तीन महिनामा स्कूल
फण्डका निम्ति सोरेङ बजारमा चिट्ठा उडाउने निर्णय लिएको
पाइन्छ। यसका अतिरिक्त सभामा सञ्चालन समितिमा थप सातजना
सदस्यलाई नियुक्ति दिइएको पाइन्छ। ती सदस्य छन् - (1)
काजीलाल प्रधान, (2) मनोरथ, (3) देवदत्त ब्राह्मण, (4)
राइटर लेण्डुप दोर्जी, (5) कारबारी जैबीर, (6) कारबारी
निमछिरिङ, (7) कारबारी अगमसिंह।
7.8. 1938 - को सञ्चालन
समितिको बैठकले वाई.एम. बी. ए. दार्जिलिङलाई अनुदान बहाल
गरिदिन अनुरोध गर्ने निर्णय लिएको देखिन्छ। स्मरणीय छ
च्याखुङ स्कूल र वाई. एम. बी. ए. - का सचिव एस. के.
जेनिरोसा नै थिए। स्कूलमा जब जब आर्थिक संकट आइलाग्छ त्यो
संकट वाई.एम.बी.ए. - ले टारिदिन्छ।
बीचमा फण्डको अभावले
सञ्चालन समितिलाई आपद परेको देखिन्छ। वाई.एम. बी.ए. - ले
अनुदान रोकिदिनु तथा दरबारबाट पाउनु पर्ने अनुदान
नआइपुगेकाले दरबारबाट सहयोग राशि नपाइञ्जेल शिक्षकलाई
बढाइदिएको रु. 5 काटी पुरानै दरबन्दी मात्र दिने निर्णय
लिएको पाइन्छ।
26 जुलाई, 1940 - मा
बसेको समितिको बैठकमा तेस्रा शिक्षकको रूपमा डुकसिंह
लेप्चालाई रु. 15 प्रति महिनाको वेतनमा मियुक्त गरेको
पाइन्छ।
30.10.1941 - को
समितिको बैठकमा चौथो शिक्षक थप गर्नु पर्ने स्थिति आएकोमा
वाई.एम. बी. ए. - का सचिवलाई थप अनुदान मागी पठाउन एउटा
पत्र तयार पारी पठाइएको छ। 20. 2. 1942 - को सभामा चौथो
शिक्षक रु. 5 - को दरबन्दीमा नियुक्त गरेको बखान प्राप्त
छ।
यहाँ एउटा स्मरणीय कुरा
के देखिन्छ भने प्रत्येक सभामा फण्डको अभाव रहेको कुरो
उल्लेख गरिएको भए तापनि 28 फरवरी 1942 - देखि मेम्बर शुल्क
नलिने निर्णय लिइएको पाइन्छ।
जुलाई 42 - देखि प्रधान
अध्यापकको रूपमा मैकबहादुर गुरुङको नियुक्ति भएको पाइन्छ।
पुराना प्रधान अद्यापकलाई कहिलेदेखि बिदा दिइयो, कतै
उल्लेख भएको छैन।
27 जुलाई, 1942 - का
दिन बसेको जेनरल मिटिङमा नयाँ स्कूल सञ्चालन समिति गठन
भएको छ। सभामा सहमतिले निम्न रूपमा सभासदहरू चुनिएका छन् -
सभापति छितेन टाशी
मेनेजर च्याखुङ इस्टेट, उपसभापति सुबेदार मेजर नैनसिंह
लामा, सचिव काजी ल्हेन्डुप दोर्जी, सह सचिव बिर्खबहादुर
गुरुङ।
शिक्षक प्रतिनिध
मैनबहादुर गुरुङ (प्रधान अध्यापक), सहस्यवर्ग रणबहादुर
राई, अंगबीर खेरा, टाशी छिरिङ भोटे, बाघसिंह राई र टी.बी.
बस्नेत।
6 जुलाई, 1947 - को
सभाले स्कूल भवन निर्माण समिति निम्न प्रकारले गठन गरेकोछ
-
सभापति - शेरबहादुर
गुरुङ, सचिव - एम.जी. गुरुङ, सदस्य सचिव - चन्द्रबहादुर
गुरुङ, नरबीर पिर्थवार, टी.एस. जोगे लामा।
मई, 1948 - मा स्कूलमा
कार्यरत शिक्षकहरूको नामावली यस प्रकार छ -
1. मैकबहादुर गुरुङ, 2.
मेहरमान गुरुङ, 3. निम्छो छिरिङ लेप्चा, 4. कृष्ण बहादुर
गुरुङ र 5. जगत बहादुर राई।
25 अप्रेल, 1949 - का
दिन स्कूल समितिको वार्षिक अधिवेशनमा नयाँ समिति यसरी
बनाइन्छ -
सभापति - काजी
ल्हेन्डुप दोर्जी, उपसभापति - बी.बी. गुरुङ, प्रधानमन्त्री
- एस. बी. गुरुङ, उप मन्त्री - एल. सी. लामा, एन.बी.
पिर्थवार, एम.एम. गुरुङ, कोषाध्यक्ष - पोकरमल शिवनारायण।
कार्यकारिणी सदस्यवृन्द - 1. रणबहादुर राई, 2. साङ्गे
लामा, 3. मल्लबहादुर गुरुङ, 4. कर्मा छिरिङ भोटे, 5.
दिलबहादुर छेत्री, 6. बाकसिंह राई, 7. मकरध्वज राई, 8.
मानधोज गुरुङ, 9. डिल्लीराम उपाध्याय, 10. पञ्च बहादुर राई
र 11. छविलाल चुहान।
26 दिसम्बर, 1952 - को
सभाले पारित गरेका प्रस्तावमध्ये उल्लेखनीय छ धेरै
वर्षसम्म प्रधान अध्यापकका रूपमा खटेर सेवा पुऱ्याउने
मैतबहादुर गुरुङको सेवामुक्ति(Dismissal)।
धेरै वर्षसम्म स्कूलमा उपस्थित नरहनु तथा अनुरोध पत्र
पाउँदा पनि उत्तर नदिनु जस्तो नियमविरुद्ध काम गर्नाले
उनलाई सेवामुक्त गरिदिएको थियो।
14 फरवरी, 1954 - को
सभाले स्कूलको प्रधान अध्यापकको रिक्त स्थानलाई भर्न मलाई
नियुक्ति दिएको भए पनि म अन्यत्र काम गरिरहेको हुँदा सो
अभिभारा लिन नियुक्ति पति - पत्नी दुवैलाई दिइएको थियो।
मेरी श्रीमती शहदले भने नियुक्ति स्वीकार गरी स्कूललाई
आफ्नो सेवा प्रदान गरेकी थिइन्।
मैले सो पद अस्वीकार
गरेपछि अर्का एक सज्जन राजेन्द्र राईलाई त्यस पदका निम्ति
नियुक्ति दिने निर्णय लिइएको थियो। कार्यकारिणी समितिको
मिति 14.4.1954 - को सभाले तर तिनले पनि सो पद स्वीकार
नगरेकोले त्यो दिइएको थियो भने आफ्नै गाउँले विद्वान्
रघुबीर मुखियालाई। तिनले डेढ महिना मात्र स्कूलको सेवा
गरेको देखिन्छ। उनको पछाडि कृष्णसिंह मोक्तान त्यस पदमा
बहाल हुन्छन्। तर तिनी पनि 7 महिनासम्म सेवा दिई राजीनामा
दिएको देखिन्छ। अर्को राजीनामाबाट रिक्त बनेको पदलाई भर्न
आउँछन् बद्रीनारायण प्रधान।
मोक्तान दार्जिलिङका
थिए भने बद्रीनारायण थिए कालिम्पोङका। उनी विद्यार्थीकालमा
कम्युनिस्ट पार्टी अफ् इन्डियाका युवा नेता भएका हुँदा सो
तथ्य थाहा पाई उनको जागिर खोसिएको थियो।
च्याखुङ स्कूल एक
पुण्यात्मा सन्तले स्थापित गरेका हुँदा उनको पुण्यको फलले
हुनसक्छ त्यस पाठशालामा काम गर्ने कति प्रधान अध्यापक एवं
शिक्षक उनीहरूको भावी जीवनमा ठूला मानिस बनेका छन्।
कृष्णसिंह मोक्तान यताबाट फर्किएपछि बंगाल सरकारको जेल
विभागमा काम गर्न थालेका थिए। पछि उनको पद वृद्धि हुँदै गई
जेल विभागका सर्वोच्च अधिकारी बनी सेवानिवृत्त भएका थिए।
त्यस पदबाट मर्यादित हुने प्रथम अथवा एक मात्र नेपाली उनै
हुन्। नेपाली साहित्यका एक वरिष्ठ कथाकार एवं उपन्यासकारका
रूपमा पनि उनको प्रसिद्धि छ।
बद्रीनारायण प्रधान पनि
नेपाली साहित्यका ओजस्वी साहित्यकार हुन्। उनी कम्युनिस्य
पार्टीका एक खारिएका नेता हुनाले उनको सरकारले उनलाई
राज्यसभाको सदस्य (एम.पी.) - का रूपमा मनोनीत गरेको थियो।
केही काल स्कूलको
कार्यकारिणी समितिका सह सचिवका साथै शिक्षक भई सेवा प्रदान
गर्ने नरबहादुर भण्डारी सिक्किमका मुख्यमन्त्रीसम्म
बन्नपुगेका थिए।
च्याखुङ स्कूल
स्थापनाकालदेखि नै एक मिडल स्कूल (कक्षा 6 सम्मको) थियो।
1951 - देखि यो निम्न माध्यमिक स्तर ग्रहण गर्छ। यो स्कूल
1979 - देखि हाई स्कूल र 2003 - देखि सिनियर सेकेन्डरी
बन्छ। स्कूलको वर्तमान प्राचार्य छन् श्रीमती एस. सुब्बा।
मैले पनि साउँ अक्षर सिकी हुर्किएको मेरो प्यारो च्याखुङ
स्कूलको उत्तरोत्तर उन्नतिको हार्दिक कामना गर्दै स्कूलका
संस्थापक सन्त एस. के. जेनिरोसाप्रति हार्दिक श्रद्धाञ्जलि
व्यक्त गर्दै मेरो लेखनीलाई यहीं थाम्छु।
(रचनाकाल - 2004)
नोभेम्बर 2011)
नेपाली कथा - उपन्यासमा
नारीवादी चिन्तन
सुवास दीपक
स्त्री - पुरुष सम्बन्ध अनादिकालदेखि साहित्यको एउटा
प्रिय विषय रहेर आएको छ। यसलाई केन्द्रमा राखेर यस्ता
रचनाहरूको सिर्जना गरियो जो कालजयी बन्न पुगे। साहित्य
संसारमा मात्र होइन, चित्रकला, मूर्तिकलादेखि लिएर
फिल्महरूसम्म यो प्रमुख विषय रहेको छ। बौद्धिक जगतको
'स्त्री विमर्श'
आज एउटा गम्भीर विषय बन्न गएको छ। यी विमर्शहरू स्त्री -
मनोविज्ञान र त्यसको भूगोलदेखि लिएर विवाह - पूर्व प्रेम,
विवाहको प्रासङ्किगता, विवाहेत्तर यौन - सम्बन्धका औचित्य
- अनौचित्य आदिलाई लिएर भइरहेको हामी पाउँछौं।
आदर्श, मूल्य र कर्तव्यपरायणताका नाममा स्त्रीको शोषण
आज होइन तर रामायण र महाभारतकालदेखि हुँदै आइरहेको छ।
स्त्रीलाई वस्तुको रूपमा पुरुष आफ्ना वासना एवम्
महत्वाकाङ्क्षाका पूर्तिका लागि प्रयोग गर्ने गर्छ। पुरुष
सदैव अहंकारी र आत्मकेन्द्रित रहेको छ। पिता, पति, गुरु,
प्रेमी प्रत्येक रूपमा त्यो नारीलाई आफ्नो मनोरथको निमित्त
बनाउँदै आएको छ। स्त्रीलाई जीवन - सङ्गिनी र सहधर्मिणी
मानिन्छ। प्राचीन भारतमा स्वयम्बरको परम्परा पनि थियो जसले
नारीलाई जीवनसाथीको चुनाउको अधिकार प्राप्त थियो तर
स्वतन्त्र भारतको आजको परिप्रेक्ष्यमा हामी के पाउँछौं भने
संविधानमा नारीलाई पुरुषसरह अधिकारको प्रत्याभूति दिए
तापनि 21 औं शताब्दीमा पाइला टेकिसकेको हाम्रो राष्ट्रमा
नारीहरूको दशा र दिशामा कुनै ठूलो परिवर्तन आएको देखा
पर्दैन। समाज आज पनि आदिमकालीन सामन्तीय प्रवृत्तिहरूको
परिधिदेखि बाहिर आउनसकेको छैन। शिक्षित एवम् सम्पन्न
भारतीय समाजमा नारीको हैसियत आज पनि 'भोग्या'
- देखि माथि उठ्नसकेको छैन। शिक्षित नारीलाई पनि
आत्मनिर्णयको स्वतन्त्रता पूर्ण रूपले प्राप्त हुनसकेको
छैन।
भारत मात्र होइन, पश्चिमका सभ्य राष्ट्रमा पनि
नारीप्रतिको मानसिकतामा परिवर्तन छैन। विभिन्नकालमा
चिन्तकहरूले यस सम्बन्धमा चर्चा गरे, माग गरे तर जान
स्टुअर्ट मिलले प्रथमपल्ट रोजगारका क्षेत्रमा नारीहरूलाई
पुरुष समान अधिकार हुनुपर्छ भन्ने कुराको वकालत गरे।
संयुक्त राष्ट्र सङ्घको 1980 - को प्रतिवेदनमा स्पष्ट
रूपमा उल्लेख गरियो कि महिलाहरू विश्वको जनसङ्ख्याको आधी
हिस्सा हुन्, तिनीहरू विश्वको दुई - तिहाई काम गर्छन् तर
विश्वको आम्दानीको केवल दशौं हिस्सा मात्र पाउँछन्।
तिनीहरू विश्व - सम्पदाको शतप्रतिशत हिस्साका मालिक हुन्।
साहित्यमा नारीवादी चिन्तन
फ्रेञ्च लेखिका सीमोन द बौउवारले गहिरो चिन्तन र मनन
गरेर 'द सेकेन्ड सेक्स'
- को लेखन 1947 - मा सुरु गरिन्। यो पुस्तक 1948 - मा
प्रकाशित भयो। नारीको नियति के हो?
ऊ परतन्त्र किन छे? उसलाई कसले
परतन्त्र बनाएको छ? यी समस्त
प्रश्नहरूको 'दि सेकेन्ड सेक्स'
- मा विशद् चर्चा गरिएको छ। विश्वभरिका नारी लेखिकाहरूका
लागि यो पुस्तक नारी - मुक्तिको एउटा आधार बन्न गयो।
पुस्तकको प्रकाशनपछि सीमोन द बौउवारले प्राप्त गरेका
प्रतिक्रियाबाट तिनलाई, जसले स्वयम् नारीको वास्तविक र
बुनियादी अधिकारका समर्थक मानेकी थिइनन्, के बोध भयो भने
नारी जातिलाई कतै पनि मुक्ति छैन। यो आजभन्दा अर्ध -
शताब्दिभन्दा पनि अधिक समयको कुरो हो र यो स्थापना भारतीय
उपमहाद्वीपका नारीहरूको नभएर युरोपका नारीहरूको थियो जसबाट
सम्भवत: विश्वभरिका नारीहरूले
एकजुट भई उठ्ने प्रेरणा प्राप्त गरे।
नारी जीवनको नियति, विडम्बना, एकलोपन र पीडालाई जति
सशक्त ढङ्गमा नारी लेखिकाहरूले व्यक्त गर्न सक्छन्, त्यति
पुरुष लेखकले गर्न सक्तैनन्। नारी मुक्तिलाई लिएर आज एउटा
स्वतन्त्र निर्णय लिने शक्तिले तिनीहरूभित्र जन्म लिइसकेको
छ तर कतै न कतै कुनै कुनामा कट्टरपन्थीहरूको विरोध तथा
तिनीहरूबाट पराजित हुने भयबोध पनि तिनीहरूमा लुकेर बसेको
छ। यस मानसिक द्वन्द्वसित सङ्घर्षरत नारीलाई रचनाकारहरूले
आफ्ना कथा र उपन्यासमा जुन सजीवताका साथ चित्राङ्कित गरेका
छन्, त्यो निश्चित रूपमा तिनीहरूको संवेदनशीलता र
अभिव्यक्ति - कौशलको परिचायक हो।
नारी - मुक्तिका लागि आजीवन सङ्घर्षरत सीमोन द बौउवारको
के विचार छ भने नारी विषयक जटिलताहरूलाई एक पुरुष आफ्नो
सम्पूर्ण उदारताका साथ पनि बुझ्न सक्दैन।
आज भूमण्डलीकरण तथा प्रौद्योगिकीको विकासका कारण
विचारहरूको आदान - प्रदानमा तीव्रता आएको छ। परिणामस्वरूप
साहित्यमा प्रगतिशील विचारहरूको अनुशीलन सम्भव भयो। नारी
लेखनमा यस प्रगतिशील दृष्टिलाई नारी - विमर्शको संज्ञा
दिइएको छ। साहित्यमा यस दृष्टिलाई अथवा नारी - मुक्तिको
आन्दोलनलाई पुरुषविरोधी नमानेर सम्पूर्ण मानव - मुक्तिको
पर्यायको रूपमा अवलम्बन गरिएको छ।
नेपाली साहित्यमा विशेष गरी कथा एवम् उपन्यासमा नारी
हस्ताक्षरहरूले नारीको आन्तरिक शक्ति, क्षमता र दृढता तथा
चेतना अनि सङ्घर्षशीलताले अभिव्यक्तिका मार्ग प्रशस्त गरे।
अन्य भारतीय समाजहरूका तुलनामा नेपाली नारीको पारिवारिक र
सामाजिक हैसियत धैरे पक्षमा राम्रो रहेको भए तापनि समग्र
रूपमा विभिन्न सामाजिक, आर्थिक, पारिवारिक तथा राजनैतिक
विसङ्गतिहरूदेखि आज पनि मुक्त छैन।
कथा तथा उपन्यासहरूमा नारी चैतन्यले सम्पन्न सबै नारी
पात्र जीवनका विभिन्न क्षेत्र र अनुभवसित जुडेर नारीहरू
जागरूकताका उदाहरण प्रस्तुत गरिरहेका छन्। सङ्घर्षशील नारी
व्यक्तित्वहरू नारी समाजको सङ्घर्ष तथा अस्मिताको खोजीमा
दिशा - निदेशन गरिरहेका छन्।
नेपाली समाज सम्पन्न तथा विपन्न दुवै वर्गमा विभाजित छ।
सम्पन्न वर्गका नारीहरू शिक्षाका माध्यमबाट समाजमा आफ्नो
सम्मानजनक ठाउँ बनाउन सक्षम भए तापनि विपन्न वर्गको विशाल
सङ्ख्यामा नारी आज शोषित छन् र विसङ्गतिपूर्ण जीवन भोग्न
विवश बनेका छन्।
नेपाली कथ र उपन्यासमा नारी चित्रण
रूपमती (रुद्रराज पाण्डे), सन् 1934 - मा
प्रकाशित भयो। यो एउटा आदर्शवादी उपन्यास हो जसमा सहनशील
एवम् सुशील नारीको दयनीय अवस्था, पुरुषहरूबाट गरिने नारी
दमन र शोषणका विभिन्न दुर्दशाको चित्राङ्कन गरिएको छ
(समकालीन साहित्य, दधिराज सुवेदी, 2002)। रूपमती
नेपाली उपन्यासका प्रारम्भिक प्रयास हुन् तर सन्
1936 - मा प्रकाशित रूपनारायण सिंहको भ्रमर - बाट
नै आधुनिक नेपाली उपन्यासको प्राण - प्रतिष्ठा भएको
मानिन्छ। दधिराज सुबेदीका अनुसार विजय मल्लका
"अनुराधा (विसं 2018) तथा
कुमारी शोभा (2039) दुई उपन्यासमा उपन्यासकारले
नारी अन्त:करणका भावनात्मक
उतारचढावहरूलाई नै आधार बनाएका छन्। उच्चता ग्रन्थि, हीनता
ग्रन्थि, पितृरति ग्रन्थि, मातृरति ग्रन्थि, स्वपीडन
ग्रन्थि र परपीडन ग्रन्थिजस्ता मनोवृत्तिहरूलाई अनुराधा
र कुमारी शोभा - जस्ता उपन्यासहरूमा अतिरोचक रूपमा
सजाइएको र त्यसको कारण सहित दर्शाइएको छ भने त्यस्ता
मनोवृत्तिहरूको प्रभाव व्यक्ति र समाजमा कसरी परिरहेको
हुन्छ भन्ने तथ्यमाथि उत्तिकै विचार पुऱ्याइएको च। नारी
अवचेतनालाई समाजमा उतार्ने जुन प्रयास यी उपन्यासहरूमा
गरियो त्यो नै उक्त कृतिहरूभित्रको मूल कथ्य र सारांश पनि
हो। कतिपय विद्वानहरूले अनुराधा उपन्यासलाई
नारीवादी र त्यसभित्रको क्रियाकलाप एक किसिमको नारीवाद हो
पनि भनेका छन्।"
नारी मानसिकताका प्रसङ्गमा अनिरुद्ध तिमसिना
(साहित्यकार देवकुमारी थापा, व्यक्तित्व र कृतित्व, सं.
लक्ष्मी उप्रेति, पृ. 22) - का अनुसार
'नेपाली नारी मानसिकताको चित्रणमा यथार्थता र
सजीवताको उदय देवकुमारी थापाकै कथाहरूबाट भएको हो भनेर
मानिएको छ। नेपाली नारीको मनभित्र पसेर मर्म स्पर्श गर्ने
नेपाली कथाकारहरूमा उनी अग्रगण्य मानिएका छन्। उनका प्राय:
जसो कथाहरूमा नारी पत्रको मनोदशालाई स्पष्ट रूपले पारदर्शी
ढङ्गले प्रस्तुत गर्ने चेष्टा गरिएको पाइन्छ। उनले नारीलाई
सबल, सक्षम र अस्तित्वशाली एवम् मर्यादित बनाउने र
तुल्याउने काम गरेकी छिन्।
आधुनिक नेपाली कथा लेखन सन् 1938 - मा नेपाली साहित्य
सम्मेलन दार्जिलिङद्वारा प्रकाशित र सूर्यविक्रम
ज्ञवालीद्वारा सम्पादित कथा सङ्ग्रह कथा कुसुम
- को प्रकाशनदेखि भएको मानिन्छ यसपछि केही पत्रिका जस्तै
गोर्खा (1945), भारती (1949), हाम्रो कथा
(1949) - मा चन्द्रकान्ता दर्नाल, देवकुमारी सिंह (पछि
थापा), चन्द्रकला गुरुङ र लक्खीदेवी सुन्दासका कथामा नारी
चिन्तनको सूत्रपात हुन्छ। धेरैअघि सन् 1929 - मा
देहरादूनदेखि प्रकाशित गोर्खा संसार - मा प्रकाशित
रूपनारायण सिंहको कथा अन्नापूर्णा - ले कथाका माध्यमबाट
नारीवादी चिन्तनको थालनी गरिसकेका थिए।
साठीको दशकमा नेपाली साहित्यमा प्रतिबद्ध लेखनको प्रवेश
हुन्छ। प्रतिबद्ध नारी लेखिका पारिजातको नेपाली साहित्यमा
आगमनले एउटा नयाँ आयाम थपियो। विसं. 2021 - मा रचना
पत्रिकामा प्रकाशित
मैले नजन्माएको छोरो - पछि पारिजातको
औपचारिक कथाकार व्यक्तित्वको थालनी भएको मानिन्छ। नारी
जीवन चेतना, नारी हुनुको बाध्यता, विवशता र समाजले
नारीप्रति राखेका मान्यताहरूको विद्रोहात्मक प्रस्तुति
उनका कथामा पाइन्छ। पारिजातले आफ्ना कथामा नारी यौन
मनोविश्लेषणको गहिरो चित्राङ्कन गरेकी छन्। पारिजातले नै
नेपाली उपन्यासलाई विश्वसाहित्यमा परिचित गराउने सफलता
पाएकी छन्। वि.सं. 2022 - मा शिरीषको फूल - ले मदन
पुरस्कार प्राप्त गऱ्यो। पवन चामलिङ किरणले एक ठाउँ भनेका
छन् - 'पारिजातको नारी पक्षधरता
नारी - मुक्ति, त्यसैले सम्पूर्ण मिहिनेती जनताको मुक्तिको
दर्शन र सिद्धान्तमाथि आधारित छ। नारीलाई भोग्या र कमारी
मात्र ठान्नेहरूप्रति उनको तीव्र आक्रोशभित्र केही
नारीवादी लेखिकाको जस्तो पुरुषविरोधी भाव छैन।'
यसै सन्दर्भमा स्वयम् पारिजातको कथन विचारणीय छ,
'महिलाहरूले आफ्नो मुक्ति -
युद्ध आफै लड्नुपर्छ। तथापि महिलाहरूको युद्ध पुरुषवर्गको
विरुद्ध होइन तर पुरुषवर्गलाई छूट दिने क्रूर व्यवस्थाको
विरुद्ध हो।'
स्वतन्त्रता - प्राप्तिपछि दार्जिलिङ जिल्लामा नारी
शिक्षाले प्रोत्साहन प्राप्त गरेको परिणामस्वरूप साहित्यमा
नारी हस्ताक्षर देखा पर्न थाले। यस कालका नारी हस्ताक्षर
नारी मानसिकता अथवा नारी अस्मिताप्रति सचेत भइसकेका
पाइन्छन्। भारती पत्रिका - का माध्यमबाट नारी
हस्ताक्षरहरूले समाजलाई विभिन्न पक्षमा जागृत गराउने
चिन्तनलाई अघि सारे। यस कालका प्रमुख नारी हस्ताक्षरहरू
हुन् - मायादेवी छेत्री, देवकुमारी सिंह, राधिका राया,
सानुमति राई, लक्खीदेवी सुन्दास आदि। लक्खीदेवी सुन्दासका
प्रकाशित कथाहरूमा नारीवादी चिन्तन प्रशस्त रूपमा पाइन्छ।
परवर्ती कालका नारीवादी चिन्तनलाई निरन्तरता दिने नारी
हस्ताक्षर हुन् - चन्द्रकला नेवार, माया ठकुरी, आशारानी
राई, डा. सूर्यकला थापा, कलावती सुब्बा, गीता शर्मा, डा.
शान्ति छेत्री, मटिल्डा राई, सम्पूर्णा राई, खिरोदा खडका,
शोभाकान्ति थेगिम, मैना थापा, डा. शान्ति थापा, लक्ष्मी
मिनु आदि।
दार्जिलिङबाट कथा र
उपन्यास विधामा नारी चिन्तनलाई विशिष्ट आयाम प्रदान गर्ने
सक्षम नारी हस्ताक्षर हुन् विन्द्या सुब्बा। तिनले आफ्ना
कथाहरूमा नारीका विभिन्न पक्षहरूलाई यथार्थ धरातलमा
उभ्याइदिएकी छन्। नारी अस्मितामा तिनको लेखनले एउटा बैग्लै
आयाम थपेको छ। यिनका कथामा नारी मन:स्थितिका
जटिल तथा सूक्ष्म पक्षलाई राम्ररी केलाइएको हुन्छ। अकादेमी
पुरस्कारप्राप्त उपन्यास अथाह - मा बहुआयामिक रूपमा
नारीमाथि भएका विविध अत्याचार, यौन शोषणदेकि लिएर एक अबोध
ठिटीमाथि गरिएको बलात्कारको चरम त्रासदीको जुन जीवन्त र
भयावह चित्राङ्कन विन्द्या सुब्बाले अथाह - मा
गरेकी छन्, त्यो नेपाली उपन्यासमा बिरलै पाइएला।
भारतीय नेपाली नारी
साहित्यिक मञ्च बसुधा (स्थापित 2000) सिर्जनशील
नारीहरूको सहभागितामा स्थापित एउटा साझा मञ्च हो। यसमा डा.
लक्खीदेवी सुन्दास, विन्द्या सुब्बा र इन्द्रमणि दर्नाल
आदिको सहयोग रहेको छ।
दार्जिलिङका प्रेम
प्रधानले आप्नो उपन्यास कालो सर्प - मा नारी -
पुरुषको मनोविश्लेषणलाई प्रमुखता दिएका छन्। यस सन्दर्भमा
डा. शान्ति छेत्रीको भनाइ यस प्रकार छ -
'यस उपन्यासमा कमला, रूबी,
श्रुति, गंगाजस्ता स्त्री पात्रहरू कोही कल्पना र कोही
खुलस्त रूपमा पुरुषसित झाम्मिएका छन्। यस्तो हुनुहुँदैन
भन्ने आदर्शवादी समाजमा पनि यस्तो भइरहेको छ - यहाँ पुरुष
मात्र दोषी होइनन् - स्त्री पात्र पनि साहसी भइरहेको सत्य
उदघाटन गरेर प्रधानले नेपाली कथा साहितयलाई विश्व
साहित्यकै हाराहारीमा उभ्याउन खोजेका छन्।'
सिक्किमबाट डा. शान्ति
छेत्री नारी अधिकारिता तथा नारीवादी चिन्तनलाई आफ्ना कथाका
मुख्य कथा - वस्तु बनाउने एकजना विशिष्ट लेखिका हुन्। उनको
माया जाल (कथा सङ्ग्रह, 2006) - मा नारी चिन्तनले
एउटा बेग्लै दृष्टिकोण लिएको पाइन्छ। डा. छेत्रीको
रामायणका नारी पात्र: एक चिन्तन
पुस्तक यस सन्दर्भमा एउटा महत्वपूर्ण कृति हो।
नारीवादी चिन्तनलाई
निरन्तरता दिने अर्की सशक्त नारी हस्ताक्षर हुन् - गीता
शर्मा। तिनी गत चार दशकदेखि आफ्ना कथा र उपन्यासहरूमा
भारतीय नेपाली नारीका सकारात्मक पक्षलाई अभिव्यक्ति दिँदै
आइरहेकी छन्। तिनले खुशबू (1992) उपन्यासमा यस
सोचलाई निरन्तरता
दिएकी छन्। तिनको विशेष कृति भारतीय नेपाली नारीहरू भारतीय
नेपाली नारी साहित्यकारहरूका व्यक्तित्व र कृतित्वमाथि
अनुसन्धान गरिएको सम्भवत: पहिलो
कृति हो।
कमला आँसुले आफ्ना
कथाहरूमा नारीवादी चिन्तनलाई प्रमुखता दिएकी छन्। 1995 -
मा प्रकाशित तिनको कथा सङ्ग्रह सेतो गुलाफ - मा
नारीवर्गले खप्न परेका प्रहार, भोग्न परेका अनेकौं
समस्याहरूबाट नपुणतापूर्वक बुनिएका कथामा कथाकारले आमा
- को पात्रलाई विविध आयाममा प्रस्तुत गरेकी छन्।
सिक्किमका बुद्धिमाया
सिंह, कलावती सुब्बा, सुधा एम. राई, सरला राई, इन्दिरा
स्टिफन, इन्दिरा राई आदि लेखिकाहरूले आफ्ना कथाहरूमा
नारीवादी चिन्तनलाई प्रमुखता दिएका छन्। सिक्किमबाट नै
गीता शर्मा, बिन्दु प्रधान तथा शान्ति छेत्रीका प्रयासमा
एउटा पत्रिका स्पर्श - ले पनि नारीवादी चिन्तनलाई
प्रमुखता दिएको पाइन्छ।
1987 - तिर लेखिएको तर
2005 - मा प्रकाशित गंगा कप्तानको उपन्यास इन्दु -
मा नारी मुख्य मात्र (चरित्र) - लाई उभ्याएर उपन्यासकारले
नारीप्रति नेपाली समाजको रूढिवादी व्यवहार र दृष्टिकोणमाथि
प्रहार गरेका छन्। उपन्यासमा नारी चरित्रको वर्तमान जागरूक
पक्षलाई उज्यालोपट्टि फर्काउने प्रयास उपन्यासकारले गरेका
छन्।
भीम दाहलको उपन्यास
अभीष्टको खोज (1993) - को केन्द्रिय कथ्यमा
रूढिवादी समाजबाट एउटी नारीको उन्मुक्तिको सङ्घर्षलाई
प्रमुखता दिइएको छ।
चक्रपाणि भट्टराईको
उपन्यास शक्तिको खोज (1998) नारी उत्पीडनको
धरातलमा उभिएको उपन्यास हो।
नेपाली कथा र उपन्यासमा
नारीवादी चिन्तनलाई प्रमुखता दिने प्रयासमा निरन्तर बृद्धि
भइरहेको पाइन्छ। पुरुष तथा नारी दुवै रचनाकारहरूले यस
दिशामा आफ्ना योगदान दिइरहेका छन्। नेपाली समाजमा नारीको
स्थितिमा निरन्तर सुधारका सङ्केत देखा परिरहेका छन्। यो
नारी अस्मिताप्रति समाजको दृष्टिकोणमा भइरहेको परिवर्तनले
सम्भव हुनसकेको हो। मदनमणि दीक्षितले हाम्रा प्राचीन
नारीहरू - मा लेखेका छन् - 'आजको
समाजले आफ्ना संस्कृतिको रक्षा गर्ने हो भने आधुनिक
परिवेशभित्र, आजका मानवीय आवश्यकताका निरन्तरतालाई
अक्षुण्ण राखी तिनका आधारमा नारी व्यक्तित्वका सम्मान र
गरिमाको सम्वर्धन गर्दै समाजहरूले आफ्ना संस्कृतिको
संरक्षण र सम्वर्धन गर्नु आवश्यक छ।'
(रचनाकाल 2006)
अक्टूबर 2011
वर्तमान भारतीय नेपाली कविताका स्वरहरू
डा. राजेन्द्र भण्डारी
1.लोकलयास्रितता
भारतीय नेपाली कविताको इतिहास डेढ सय वर्ष पुरानो मात्र
हो। भारतको सतलजदेछेउको कलहूर भन्ने ठाउँका बासिन्दा
रघुनाथ भाटले सन् 1844 तिरै लेखेको एउटा कविता प्राप्त छ।
यिनले आफ्ना कवितामा पृथ्वीनारायण शाहको गुणगान गरेका छन्।
योगी नरहरिनाथले सम्पादन गरेको 'गोरखा
- वंशावली' - मा यिनलाई रघुनाथ
राई भनेका छन्। प्राथमिककालीन भारतीय नेपाली कवितामा कोही
वर्तमान भारतीय क्षेत्रमा जन्मेका, कोही गढवाल - कुमाऊँ वा
तत्कालीन नेपाल वर्तमान भारतमा जन्मिएका र कोही काशीवास
गर्न भारत आएका कविहरू पर्दछन्। यीमध्ये कुमाऊँका
प्रेमनिधि पन्त, लोकराज वा गुमानी पन्त, वीरशाली पन्त,
काशीवासमा आएका शक्तिवल्लभ अर्याल तथा पतञ्जलि अनि भारतलाई
कर्मथलो बनाउने सन्त ज्ञानदिल दासलाई
खाँटी भारतीय नेपाली
कवि मान्न सकिन्छ यद्यपि मोतीराम भट्ट, पहलमानसिंह स्वाँर
आदिले पनि भारतभूमिमा धेरै रचनाकर्म गरेका छन्। रघुनाथ
भाट, गुमानी पन्त आदिका कविताबाट भारतीय नेपाली कविताको
स्रोत वीररस नै रहेको थाहा लाग्दछ। यसै गरी ज्ञानदिल दास र
सिङ्गेल कमानका बाबरानी गुरुङ, मणिपुरका तुलाचन आले,
शिलाङका धनवीर भण्डारीका लोकलयास्रित कविता हेर्दा भारतीय
नेपाली कविता नेपालको झैं शास्त्रीय छन्दमुखी नभएर
लोकलयमुखी भएको पाइन्छ।
2. झ्याउरे र सवाई
प्राथमिककालीन भारतीय नेपाली कवितामा झ्याउरे र सवाईको
ठूलो महत्व देखिन्छ। डाकमान राईको '56
सालको पैराको सवाई',
दार्जिलिङको मिलिनगञ्जमा जन्मिएका प्रतिमानसिंह लामाको
'राजा भरथरीको सवाई',
ज्ञानदिल दासको 'झ्याउरे भजन',
'टुङना भजन'
आदि यस प्रवृत्तिका ज्वलन्त उदाहरण छन्। मणिपुरका तुलाचन
आलेको 'मणिपुरको सवाई',
मणिराज शाहीको 'चरीको सवाई'
- जस्ता सवाई र बहादुरसिंह बराल तथा मित्रसेन थापाका
लोकभाकाका गीतहरूमा भारतीय गोर्खाका सङ्घर्षपूर्ण जीवन र
पलटनियाँ जीवनशैलीका उदगार पाइन्छन्। यी प्रवृत्तिहरू
अद्यावधि भारतीय नेपाली कवितामा प्रकारान्तरले रहिरहेकै
छन्।
3. अस्तित्वबोध, जातीय असुरक्षाबोध
भारतीय नेपाली समाज भन्नाले सिक्किम, दार्जिलिङ,
डुवर्स, देहरादून, दिल्ली र देशका विभिन्न ठाउँमा छरिएर
बसेका रैथाने भारतीय गोर्खा बुभिन्छ। 'नेपाली'
शब्द नेपाल राष्ट्रबोधक र नेपालका रैतीबोधक द्विअर्थी शब्द
भएकाले आफ्नो भारतीयतालाई निक्खरो बनाउन वा प्रष्ट्याउन
दार्जिलिङवासीले आफूलाई गोर्खा भनिन रुचाउँछन् र यसैबाट
प्रेरित भई राजनैतिक सुरक्षाका लागि गोर्खाल्याण्ड राज्यको
माग पनि राखेका हुन्। भारतीय नेपाली कविताको एउटा ठूलो
भङ्गालो यही राजनैतिक आत्मनिर्णयको अधिकारद्वारा प्रेरित
छ। दार्जिलिङका जम्मैजसो कविहरूले केही न केही मात्रामा
कुनै न कुनै प्रत्यक्षाप्रत्यक्ष रूपमा जातीय चिन्हारीको
भावबोधका कविता लेखेका छन्। यीमध्ये अग्रणी हुन् अगमसिंह
गिरी, नरेन्द्रप्रसाद कुमाईं आदि। यीबाहेक मदन ओझा, खडगसिंह
काँडा, टेकध्वज जिम्बा, नोर्जाङ स्याङ्देन, मनप्रसाद
सुब्बा, राजेन्द्र भण्डारी, ज्ञानेन्द्र खतिवडा, मोहन
ठकुरीका कतिपय कवितामा राजनैतिक असुरक्षाबोधका भाव
पाइन्छन्। केन्द्रिय प्रशासनमा रहेका उच्चपदस्थ अधिकारी र
सर्वोच्च् सत्तामा आसीन व्यक्तिले पनि कहिलेकाहीँ भारतीय
गोर्खा समुदायलाई विदेशी भनी लाञ्छित गर्नेगरेका उदहरण
पाइएका हुनाले कविहरूको जातीय स्वाभिमान कवितामा मुखरित
हुनु स्वाभाविकै हो।
4. आर्थिक विसङ्गति
वर्तमान भारतीय नेपाली कविताको एउटा ठूलो भङ्गालो
आर्थिक विसह्गतिजन्य कष्टबोध र असहायपनका अभिव्यक्तिले
ओतप्रोत छ। सन् 1920 - को दशकदेखि नै धरणीधर, पारसमणि
प्रधान, गोपालसिंह नेपाली, ध्रुव, रामचन्द्र गिरी,
हरिप्रसाद गोर्खा राईहरूले यस प्रकारको लेखनको उठान गरेका
थिए जो अद्यावथि प्रचलनमा
छँदैछ। मणिपुर, मेघालय,
नागाल्याण्डमा भएका नेपाली - उच्छेद क्रियाकलाप,
दार्जिलिङका चियाकमानहरूको मृतप्राय:
स्थिति, बेरोजगारी समस्या, डुवर्सको जातीय उत्पीडन -
प्रक्रियाजस्ता समस्याले गोर्खा जाति सधैँभरि गाँस र वासको
डोहोडोहोमा पर्नुपरिरहेछ। असमका हरिभक्त कटुवाल,
दार्जिलिङका बी. योञ्जन, नरेश खाती, सुरेन्द्र थीङ, दलसिंह
अकेला, सकुरा थुलुङ, शरद् छेत्री, नोर्देन रुम्बा आदिले
विभिन्न परिस्थितिका चेपारोमा परेका भारतीय नेपाली
गोर्खाका दीनदैन्यबारे प्रशस्त कविता लेखेका छन्।
5. युगबोध
भारतीय नेपाली कवितामा युगीन विसङ्गतिको टडकालो चित्रण
पनि पाइन्छ। वर्तमान भौतिक प्रवाहमा वेगवान रहेको विश्व,
यान्त्रिक जीवन शैली, इलेक्ट्रोनिक प्रसारमाध्यमले ल्याएका
चौतर्फी हस्तक्षेप र प्रभावबाट पारस्परिक एकरसयुक्त
जीवनशैलीमा आमूलचूल परिवर्तन ल्याएको छ। भारतीय नेपाली
साहित्यमा पनि विश्वबजारीकरणका अक्टोपसी हातहरू घुसिसकेका
छन्। यौन, भ्रातृत्व, प्रेम, मित्रता, दूरत्वबोध,
भावावेगयुक्त जीवनदृष्टि आदि अब नयाँ ढाँचासाँचामा
देखिनथालेका छन्। पुराना मूल्यमान्यता धराशायी भइरहेछन्।
पवन चामलिङ 'किरण',
राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा, केवलचन्द्र लामा, उदय
तुलुङ, शोभित राई, सुरेन्द्र थीङ, किशोर छेत्री,
कालुसिंह रनपहेंली, राजा पुनियानीहरूले आफ्ना प्रायश:
कवितामा युगीन विसङ्गति - परिवर्तनलाई अङ्कित गरेको
पाइन्छ।
6. दार्शनिकता र रहस्यात्मकता
दार्जिलिङमा सन् 1960 को प्रथमार्ध दशकमा इन्द्रबहादुर
राई, बैरागी काइँला र ईश्वरवल्लभका संयुक्त प्रयासमा
'तेस्रो आयाम'
नामक साहित्यिक आन्दोलनको सूत्रपात भयो। यस आन्दोलनले
साहित्यमा घनत्व र दार्शनिकताको आह्वान गऱ्यो। यसका अघि र
पछि पनि वीरेन्द्र सुब्बा र ओकिउयामा ग्वाइनले गहन
दार्शनिक भावभङ्गीका कविता लेखे। यिनीहरूबाट उठान गरिएको
मानिसको सम्पूर्णताको खोजी, गुह्य जीवनतत्वको उदघाटन,
रहस्यात्मकताको आकर्षण परवर्ती कविहरूमा पनि रह्यो जसको
प्रत्यक्षाप्रत्यक्ष प्रभाव राजेन्द्र भण्डारी केवलचन्द्र
लामा, नोर्जाङ् ,स्याङ्देन, अविनाश श्रेष्ठ, मनप्रसाद
सुब्बाका धेरै कविताहरूमा देख्नपाइन्छ।
7. भारतीय नेपाली कविताको केन्द्रिय रूपक
राजनैतिक - आर्थिक असुरक्षाबोधबाट उत्पन्न सङ्कटापन्न
मनोबिम्ब अनि यसको मूर्त्त - अमूर्त्त अभिव्यक्ति नै
वर्तमान भारतीय नेपाली कविताको केन्द्रिय रूपक हो भन्न
सकिन्छ। भारतीय नेपाली कविता सपाट (वक्तव्यपरक छैन, भएन)
बरू रोमान्टिकता - नवरोमान्टिकताका रङ्ग - रोगनमा भने
रुमल्लिई नै रह्यो, यसैले, छिन्नमूलता र आर्थिक विकटावस्था
विभिन्न वाग्भङ्गिमा र काव्यबिम्बमा अभिव्यक्त छन्। तेस्रो
आयाम आन्दोलन नितान्त कलावादी र शुद्ध - कवितावादी आन्दोलन
भएकाले यो जनमानसमा भिज्नसकेन यद्यपि यसले छोडेका
उच्चसौन्दर्यबोध, शिल्प र कलात्मक वैशिष्यट्यहरू भने
परवर्तीकालका प्रायश:
कविताहरूमा रिक्थका रूपमा रहिरहेका देखिन्छन्।
सञ्चारसुविधाहरू जतासुकै उपलब्ध हुथालेपछि अनि नेपाली
भाषामा आधा दर्जन दैनिक समाचारपत्रहरू प्रकाशित हुनथालेपछि
भारतीय नेपाली कवितामा गीत, गजल, हाइकु, हास्य, चुटकिलापरक
व्यङ्ग्य तथा अन्यान्य नौला बान्कीका कविताहरू पनि
प्रशस्तै देखिनथालेका छन्। अब नेपाली कविता पाठकमुखी, सरल
र व्यङ्ग्यधर्मी बन्दै गइरहेको पाइन्छ, यसलाई एउटा सुखद
मोड मान्न सकिन्छ।
(सितम्बर 2011)
संस्मरण
सर टाशी नामग्याल हाइ स्कूल, गान्तोक
एम. शर्मा
1953
साल।
एसयुएमआई कलेज, कालिम्पोङबाट आइ.ए.को फाइनल परीक्षा
दिइसकेर म गान्तोकको सर टाशी नामग्याल हाइस्कूलमा शिक्षकको
काम गर्न पुगें। त्यो स्कूल आजको टी.एन. एकेडमी हो, तर
त्यतिबेला त्यहाँ आजका जति पाठशाला भवन थिएनन्। ग्राउण्डको
डिलमा सानो अफिस र त्यसको छेउमा लाइब्रेरी - कम - स्टाफ
रूम थियो। यी दुइ भवन अझ पनि त्यहीं भए जस्तो लाग्छ। ती
भवनमुनिपट्टि दुइवटा ठूल्ठूला पाठशाला भवन र त्यसको
उत्तरतर्फ होस्टेलको भान्साघर थियो। उत्तरपट्टिको स्कूल
भवनको माथिल्लो तला होस्टेलको लागि छुट्याइएको थियो।
नियुक्तिपत्र लिएर म स्कूलमा
दाखिल भएँ। हेडमास्टर रहेछन् के.एल. कपूर - ज्यादै सरल र
सोझा व्यक्ति। मलाई साह्रे सानो र दुब्लो - पतला देखेर उनी
पहिले त निकै चिन्तित भए। तर पत्र - पत्रिकातिर कथा -
कविता छपाइसकेको मलाई चिन्नेहरू त्यही स्कूलमा पनि धेरै
थिए। आले सर (स्व. रश्मिप्रसाद आले) त्यहीं हुनुहुन्थ्यो।
उहाँले बढाइ - चढाइकन मेरो उस्तादी बखानिदिनुभयो। कपूर
साहेबले ढुक्क भएर एम. ए. सर (तिनताक एम.ए. पढ्ने मानिस
दुर्लभै पाइने हुँदा र एकजना यस्ता शिक्षक स्कूलमा आइदिँदा
उनको नाउँ नै एम.ए. सर भएको रहेछ। उहाँ अहिले यस संसारमा
हुनुहुन्न) - लाई रुटिन दिन अह्राए। अनि ममाथि अत्याचार
खनियो। दुवै बुढाले आफ्नो भारी घटाउने मौका निकाले। मलाई
पञ्चम श्रेणीदेखि लिएर नवम श्रेणीसम्मको नेपाली र एम.ए.
सरका कतिपय अंग्रेजी पिरियड दिइयो। एकाएक म सिनियर टिचर
भएँ। मलाई दिनभरिमा एक पिरियड पनि विश्राम थिएन। मेरो
नियुक्ति, सम्भवत:, तुलसीबहादुर
छेत्रीको स्थानमा भएको थियो, किनभने उहाँ त्यही समयमा
दार्जिलिङ सरकारी कलेजमा प्राध्यापक भएर जानुभएको थियो।
शिक्षकहरूमध्ये आले सर, एम.ए. सर
(नाम भुलें), शिवनाथ मिश्र (नेपाली कवि), मेनन, चक्रवर्ती,
पदमसिंह सुब्बाको अझ मलाई सम्झना छ। टिबेटन पढाउने लोबे
रिङ्जिङ हुनुहुन्थ्यो। प्राइमेरी सेक्शनमा यू नारायण
प्रधान, रामलाल दत्त ठाकुर (नेपाली कवि), लक्ष्मण छेत्री,
रघुनाथ परियारको अझ पनि सम्झना आउँछ।
होस्टेलमा त्यतिबेला अनौठो चलन
थियो। नेपाली र लाप्चे - भोटेको भान्सा फरक फरक थियो।
आ-आफ्ना भान्से थिए। एउटाको अर्कोसित खानपानसम्बन्धी कुनै
सम्बन्ध थिएन। सौदापात नै अलग - अलग गरिन्थ्यो। त्यसबाहेक
नेपाली र लाप्चे - भोटेका बस्ने कोठा पनि अलग - अलग थिए।
एकजनाले कुनै दिन अर्को कोठामा गएर सुत्न पाउंदैनथ्यो।
यसमा छूट केवल निमचुङ भुटियालाई थियो, त्यो पनि जब
मध्यरातमा जसै बाहिर स्याल कराउँथ्यो, उनी आफ्नो पलङबाट
निद्रावस्थामा नै उठेर नेपाली कक्षका धनसिंह लिम्बूको
सिरकभित्र पस्थे। उनी होस्टलका सबैभन्दा सानो उमेरका
विद्यार्थी थिए। धनसिंह उनका गाउँले दाजु। नेपाली र भोटे -
लाप्चेका बीचमा हुनुपर्ने सदभावना पनि साह्रै थिएन। भान्सा
अलग भएको कुराले मलाई उस्तो
दुक्ख लागेन, तर सुत्ने कोठै
अलग हुनुमा भने मैले केही कारण देखिनँ। यस किसिमको उठाइ -
बसाइले एकै दाजु - भाइमा केही फाइदा हुन्छ भन्ने कुरो मैले
पटक्कै सम्झन सकिनँ।
मलाई होस्टेल क्याप्टन बस्ने
साइड - रूम दिइएको थियो, तर मैले नेपाली कोठाको बीचको पलङ
रोजें। साँच्चै भन्नु हो भने तिनताक त्यस स्कूलमा मभन्दा
धेरै जेठा विद्यार्थीहरू अध्ययन गर्थे। होस्टेलमा पनि
त्यस्ता विद्यार्थी धेरै थिए। तिनीहरूलाई म हरतरहले सहायता
गर्थें। पढाइ सम्बन्धी, स्वास्थ्य सम्बन्धी, खेलकुद
सम्बन्धी तथा साधारण ज्ञान सम्बन्धी। मैले जाने जति कुरा
तिनीहरूलाई खन्याइदिन्थें। शिक्षक र शिक्षार्थीको बीचमा
रहने पार्थक्यलाई कति ध्यान नदिई म तिनीहरूसित मित्रवत्
व्यवहार गर्थें।
होस्टेल हेर्ने काम स्वयं
हेमास्टर गर्थे। तर म होस्टेलमा बस्न थालेपछि त्यहाँ
निरन्तर भइरहने झैं - झगडा, कुटपिट एकाएक घटेर गयो। शिक्षक
साथीहरूसित मेरो उठबस कहिल्यै भएन। बदमास कहिल्याइने
ठूल्ठूला छात्रहरूसित आफ्नो धेरैजसो समय बिताउँथें।
घुम्नु, खानु, खेल्नु सधैं तिनीहरूसितै हुन्थ्यो। मेरो
कारणले यसरी होस्टेलको वातावरणमा असाधारण सुधार आएकोमा
कपूर साहेब खुसी थिए। नेपाली र लाप्चे - भोटे बीचको
असौहार्दपूर्ण सम्बन्धमा शनै:
शनै: सुधार हुनथाल्यो। लाप्चे,
भोटे, नेपालीहरूका बीचमा एकताको नितान्त आवश्यकता
छ र यसको अभावमा सिक्किममा कल्याण छैन - मध्यरातसम्म म
उनीहरूलाई एकता - पुराण सुनाउँथें। पढाइसम्बन्धी पनि म
तिनीहरूलाई रात - बिहान सहयोग दिइरहन्थें। होस्टेलमा ठूला
विद्यार्थीहरूले साना विद्यार्थीमाथि अत्याचार गर्ने प्रथा
हराएर गयो। यसरी त्यस होस्टेल (हिमालयन होस्टेल) मा म
विद्यार्थीहरूको शिक्षकभन्दा पनि एक मित्रका रूपमा
प्रतिष्ठित भएँ।
मैले देखें, लाप्चे - भोटे
कोठामा विद्यार्थी संख्या बढ्ता भएर पलङले
खुट्टा हाल्ने
ठाउँ छैन। पलङहरू उत्तर - दक्षिण, पूर्व - पश्चिम गरेर
कोठामा खचाखच भरिएका छन्। एउटै पलङमा दुइ - तीनजना पनि
सुत्ने गर्छन्। यता नेपाली कोठामा भने आधै ठाउँ खाली थियो,
तर लाप्चे - भोटेले त्यहाँ गएर बस्नु हुँदैनथ्यो। तिनीहरू
लूतो र घाउले डल्लिएका थिए।
एक दिन मैले दुवै वर्गका होस्टेल
क्याप्टेन - बुद्धिमान राई र सोनाम पिन्चोसित सल्लाह गरेर
दुइतर्फका जम्मै पलङ गनेर ती पलङलाई दुवैतिर बराबर गरी
बांडिदिएँ अनि होस्टेलको प्रारम्भिककालदेखि चलिआएको
अनेकताको त्यस तुच्छ जालोलाई सफा गरिदिएँ। नेपाली कोठामा
लाप्चे - भोटेहरूको प्रवेश भयो।
तर यो कुरा कपूर साहेबका कानमा
पुगेछ र एक दिन बेलुका तिनी अग्निशर्मा भएर होस्टेलमा
बज्रिए। 'यो के गरेको?'
भन्ने प्रश्नको उत्तरमा मैले सहजै भनें,
'यी विद्यार्थी न त लाप्चे, न
भोटे, न नेपाली, केही पनि होइनन्, तर तिनीहरू सिक्किमे
हुन्। यिनीहरूलाई सानै उमेरदेखि पारस्परिक एकताको सूत्रमा
बाँध्ने शिक्षा दिनुपर्छ, न कि अनेकताको। मैले यिनीहरूकै
आग्रहमा यो काम गर्न लगाएको हुँ।'
कपूर साहेबले मेरो कुरा खाएनन्।
पलङ पहिले जुन ठाउँमा थिए, त्यहीं पुऱ्याए। त्यसपछि जाने
बेलामा उनले मलाई राम्ररी सम्झाए, 'यो
सिक्किम सरकारको नीति हो। यसका विपरीत
गएर आफैलाई र मलाई
झंझटमा नफँसाऊ।' हो, होइन, मैले
केही भनिनँ, तर उनी एक कोठाबाट बाहिर मात्र के निस्केका
थिए, बोर्डरहरूले ती पलङ मैले केही भन्नुभन्दा पहिले नै
पुरानै स्थानमा ल्याएर राखे। भोलिपल्ट कपूर साहेब मसित
बोलेनन्। तीन - चार दिन नबोलीकनै बित्यो। त्यसपछि यस
कुरालाई सबैले बिर्सिदिए।
+ +
एक दिनको कुरो हो। त्यो दिन
ह्वाइट हल रिक्रिएशन क्लबको वार्षिक सभा रहेछ। हेडमास्टर
त्यस क्लबका मन्त्री रहेछन् र सिक्किम राज्यका उच्च
ओहोदामा रहेका जम्मै अधिकारीवर्ग त्यसका अन्य पदाधिकारी
एवं सदस्य रहेछन्। त्यहाँ गएपछि मलाई यस कुराको ज्ञान
हुँदा महान ग्लानिको अनुभव भयो कि हामी शिक्षक त्यहाँ
आमन्त्रित भएर हैन, तर चिया - चमेना बांड्न लगिएका थियौं।
'हामी शिक्षकको पनि इज्जत
हुन्छ, हामी कसैका जुठा भाँडा उठाउने र मोल्ने चाकर होइनौं'
भनी मैले विद्रोह गरें। आले सर र पदमसिंह सुब्बा सरलाई
कराएं - 'तपाईंहरू यस्तो
अपमानित कामका लागि कसरी यहां आउनुभएको छ' भने। सबै
स्तम्भित भए। तर कपूर साहेबको नाजुक स्थितिलाई हेरे बीचमा
सम्झौता भयो। त्यस दिनको काम कतिपय जुनियर टिचरहरूले
चलाइदिने, तर भविष्यमा भने यस्तो काम कहिल्यै नलगाइने -
कुरा मिल्यो।
अर्को दिनको याद आउँछ। त्यो दिन
महाराजाको जन्मदिन थियो र स्कूलमा स्वयं महाराजा साहेबको
सवारी भएको थियो (सर टाशी नामग्याल त्यस समयमा सिक्किमका
महाराजा होइबक्सिन्थ्यो)। तिनताकका कुमार साहेब (पी.टी.
नामग्याल), देवान जे.एस. लाल तथा अनेक उच्च पदाधिकारीहरूको
उपस्थिति थियो। स्कूल मैदानमा अनेक कार्यक्रम संचालित
गरिँदैथ्यो। कार्यक्रम चल्दै गएर विद्यार्थीहरूलाई मिठाइ
वितरण गर्ने अध्याय आएछ। शहरका एक धनी व्यापारीले
विद्यार्थीहरूका लामका अघाडि आएर टफीका टिनहरू खोलेर
अंजुलिले मिठाइ आकाशतिर फकाफक
फ्याँक्न थाल्यो।
केटाकेटीहरूको जात, मिठाइ भनेपछि हुरुक्कै -
तँछाड र
मैंछाड गर्दै अघि कुदे। यस घटनाले मेरो अन्तर्मनमा चोट
पुऱ्याएछ। अगाडि गई विद्यार्थीहरूलाई छेकेर पछाडि धकेल्दै
म कराएछु - 'कोही पनि अगाडि
बढ्दैन, भुइंको मिठाइ टिपेर खांदैन। तिमीहरू कुकुर होइनौ
ताकि भुइँमा मिल्काइएको कुरा खान्छौ।'
विद्यार्थीहरू आ - आफ्ना लहरमा
फर्किए। ज - जसले मिटाइ टिपिसकेका थिए, तिनीहरूले त्यो
भुइँमा मिल्काइदिए। त्यहाँ चकमन्नता छायो। पछि हाताहातमा
मिठाइ बाँडियो।
त्यति बेलाका
विद्यार्थीहरूमध्ये वर्तमान कानून सचिव श्री भीमराज
प्रधान, सोनाप्रसाद, रामस्वरूप, थोम छिरिङ आदि कक्षा 10 का
विद्यार्थी थिए। धेरैका नाम बिर्सिएर गयो। 1954 साल भनेको
धेरै पुरानो हो। पहलमान सुब्बा (हाल एम.पी.), पाल्देन
छिरिङ (हाल कलकत्तामा एस.टी.सी.एस. का प्रतिनिधि), प्रेम
खत्री (हाल जिल्ला शिक्षा अधिकारी, निम्चुङ भुटिया (हाल वन
विभागमा), लालबहादुर छेत्री (हाल चिफ इन्जिनियर),
सुरेन्द्र बस्नेत (हाल कृषि अधिकारी) को सम्झना आउँछ।
यीबाहेक डा. डी.पी. शर्मा, डा. डी.पी. खरेल, बी.बी. छेत्री
(हाल इन्जिनियर), गोपाल नेउपाने, गंगा नेउपाने, भानु
बस्नेत, हस्तसिंह लिम्बू,, केवल नेउपाने, इच्छाराम
पौड्यालको सम्झना आलै छ। यी सबैसित 1977 मा म फेरि सिक्किम
पसेपछि भेटघाट भयो। तर तिनताकका नेपाली विभागका होस्टेल
क्याप्टेन बुद्धिमान राईसित भने अझै भेट हुनसकेको छैन। खान
बस्दा उनी स्वयं अघि बढी मलाई दालको थिग्रो दिन ढाडु
घुमाउँथे, तर पानीसरहको दालमा थिग्रै पाइँदैनथ्यो। मेरा
ज्यादै प्यारा छात्रहरूमध्येका एक, दुर्गाप्रसादको गाड़ी
दुर्घटनामा मृत्यु भएछ - जानेर ज्यादै दिक्दारी लाग्यो।
फुटबलर ठाकुर लेप्चा, गर्जमान गुरुङ, गोरा गुरुङ,
कालिम्पोङमा फुटबल खेल्न आइरहने र पछिसम्म भेट भइरह्यो।
उत्तर सिक्किम, याटुङ, ल्हासातिरका धेरै छात्रहरू थिए - ती
कता पुगे, के भए होलान्?
मेरो वेतन रु.69/
- थियो। होस्टेल चार्ज तिर्दा रु. 49/-
मात्र बाँच्थ्यो। होस्टेलको खाना ज्यादै निकृष्ट
थियो। यसैले मेरो स्वास्थ्य बिग्रिन थाल्यो र इच्छा
हुँदाहुँदै पनि करीब चार महीना जति काम गरेर म घर फिरें।
आज ती दिनलाई फर्केर हेर्दा रमाइलो लाग्छ।
(15 अगस्त 1982 मा
आकाशदीपमा
प्रकाशित यो संस्मरण वरिष्ट लेखक
महानन्द पौड्यालको
हो।)
अगस्त 2011
रामचन्द्र शर्माका
प्रारम्भिक गद्यलेखन
सुवास दीपक
नेपाली साहित्यमा मेरो
पहिलो रचना 'कञ्चनजङ्घा'
पत्रिकामा 1968 - मा प्रकाशित भयो। अति उत्साहित भएँ आफ्नो
नाम पत्रिकामा छापिएको देख्ता। त्यसबेला सिक्किमबाट
कञ्चनजङ्घा, हिमालय सन्देश, प्रगतिजस्ता पत्रिकाहरू नियमित
रूपले प्रकाशित हुन्थे भने दार्जिलिङबाट दीयो, दियालो,
धुवाँ, जनदूत आदि। यी सबै पत्रिकाहरू सिंगतामको त्रिवेदी
स्टोर्सबाट किन्थें र पढ्थें। स्व. गंगा कप्तानको निजी
पुस्तकालयमा उपन्यास, कविता आदि पढ्थें। त्यही दिन थिए जब
एक दिन कप्तानकै निजी
पुस्तकालयमा कञ्चनजङ्घा पत्रिकाको पुरानो अङ्कमा प्रकाशित
एउटा लेखमाथि मेरो नजर पऱ्यो। 1 जुलाई 1964 - को
कञ्चनजङ्घाको अङ्कमा 'जब म
मरेको थिएँ" शीर्षकमा एउटा
निबन्ध थियो, लेखक थिए रामचन्द्र शर्मा, बी.ए., पाचेखानी,
पाक्योङ, पूर्व सिक्किम। यो एउटा सत्य घटनामा आधारित रचना
थियो, मैले चाख लाएर पढ़ें। सिक्किममा परिष्कृत गद्य
लेखनको यो एउटा उल्लेखनीय रचना हो। नेपाली गद्यलेखनमा
रामचन्द्र शर्माको रचना - क्षमता यसै लेखबाट प्रमाणित
हुन्छ। यो एउटा ध्रुव सत्य हो कि कञ्चनजङ्घा पत्रिकाले
सिक्किम, दार्जिलिङ, डुवर्स, असमबाट धेरै लेखकहरू जन्माएका
छन्। तीमध्ये रामचन्द्र शर्मा एकजना हुन् तर दुर्भाग्यको
कुरा समीक्षकहरूबाट तिनी अहिलेसम्म ओझेल नै परेका छन्।
यसै पत्रिकामा तिनको
अर्को लेख 15 फरवरी 1966 मा प्रकाशित छ, जसको शीर्षक हो
'शिक्षा'।
सिक्किमजस्तो एउटा पछौटे तत्कालीन अधिराज्यमा शिक्षाको
प्रचार - प्रसार प्रक्रिया शुरु भइसकेको भए तापनि समग्र
रूपमा यसको व्यापक आवश्यकताको अनुभव रामचन्द्र शर्माले
स्वयं एक शिक्षकको रूपमा काम गर्दै गरेका हुनाले शिक्षाको
उद्देश्यबारे तिनी लेखमा लेख्छन् -
"शिक्षाको
उद्देश्यलाई स्पष्ट गर्नका निम्ति उसका प्रमुख दुई
पक्षहरूको उल्लेख गर्नु आवश्यक छ। शिक्षाका दुई पक्ष हुन्
- आध्यात्मिक पक्ष र भौतिक पक्ष। ईश्वर र आत्माको
ज्ञान, सांसारिक अनित्यताको ज्ञान, धर्म, अर्थ, काम,
मोक्षसम्बन्धी ज्ञान, सङ्कीर्ण परिधिबाट माथि उठेर व्यापक
रूपले सोच्ने, विचार्ने शक्तिको प्रादुर्भाव आदि शिक्षाका
आध्यात्मिक पक्ष हुन्। यसबाहेक आफ्नो देश र समाजको हितका
निम्ति मरिमेट्न तम्सिने भावना, अन्धकार र अज्ञानमा बसेका
आफ्ना देशवासीहरूलाई ज्ञान वा उज्यालोपट्टि प्रेरित
गर्नसक्ने क्षमता, असत्य र अन्यायप्रति घृणा र सत्य एवं
न्यायप्रति आस्था राख्दै सन्तोषपूर्ण ढङ्गले जीवनयापन
गर्ने कला आदि शिक्षाका भौतिक वा व्यावहारिक पक्ष हुन्।
जबसम्म शिक्षाका यी दुवै पक्षहरूलाई सम्हाल्नसक्ने वा
अपनाउनसक्ने शक्तिको प्रादुर्भाव हुँदैन तबसम्म शिक्षा
अस्थायी र अधुरो नै रहन्छ। अत:
शिक्षाको सही उद्देश्य भयो आध्यात्मिक र भौतिक ज्ञानको
प्राप्ति। भौतिक ज्ञानले यस जीवनमा आर्थिक लाभ गराउनेछ भने
आध्यात्मिक ज्ञानले जीवन संग्राममा विजयी हुने शक्ति
प्रदान गर्नका साथै परलोकलाई समेत सुधार्ने प्रकाश दिन्छ।"
रामचन्द्र शर्माका
परवर्ती लेखनमा शैक्षिक, राजनैतिक, सामाजिक, आर्थिक
परिवर्तनद्वारा निमुखा, शोषित अनि दलित सिक्किमे जनतालाई
जगाउने उद्देश्य स्पष्ट रूपले उजागर भएको देखिन्छ।
शिक्षासम्बन्धी शर्माको
अर्को लेख कञ्चनजङ्घा पत्रिकाकै 1 मई 1970 को अङ्कमा
प्रकाशित भएको पाउँछौं। यस लेखको शीर्षक हो -
'वर्तमान सिक्किम र हाम्रो
शिक्षा'। सिक्किमको भारतमा विलय
हुनुभन्दा अघि समर्पित शिक्षकको हैसियतमा शर्माले शिक्षामा
सुधारलाई लिएर केही महत्वपूर्ण सुझाउ दिएका छन्। तिनी
लेख्छन् -
'जहाँसम्म
हाम्रो सिक्किममा प्राथमिक शिक्षाको सम्बन्ध छ, विगत बीस
वर्षमा प्रशंसनीय पर्गति भएको छ र यो देशको सामाजिक अवस्था
सुहाउँदो पनि छ।... तर माध्यमिक र उच्चमाध्यमिक शिक्षाले
भने सीधै शिक्षार्थी र देशको भविष्यसँग सम्बन्ध राख्ने
हुनाले यसलाई हेरफेर गरी समयानुकूल बनाउने खाँचो देखा
पर्दैछ। कारण के हो भने सामान्यतया हाम्रा देशवासीहरूको
आर्थिक अवस्था सन्तोषजनक नभएकोले धेरैजसो आमाबाबुले आफ्ना
नानीहरूलाई त्योभन्दा अधिक शिक्षा दिन सक्दैनन्। कुनै
प्रकारले एघार क्लाससम्म पास गराएर उनीहरू आफ्ना भारी
बिसाउन चाहन्छन् र छोराले कमाओस् र खाउँला भन्ने ठूलो आशा
राख्छन्। तर बिचरा छोराले भने के गरेर कमाउने?
जबकि उसले नोकरीबाहेक अरू स्रोतबाट कमाउने खालको विद्या नै
पढेको छैन। त्यसकारण चालू माध्यमिक, उच्चमाध्यमिक शिक्षाको
क्षेत्रमा काम लाग्ने खालका केही नयाँ व्यावहारिक
विषयहरूको पनि समावेश गरिनुपर्ने र ती विषयहरूलाई
पढाउनेयोग्य प्रशिक्षणार्थीहरूको नियुक्ति गर्नुपर्ने
आवश्यकता छ। हामीलाई वैज्ञानिक र प्राविधिक शिक्षा पनि
चाहिएको छ तर सिक्किममा ठूल्ठूला उद्योग - धन्दा र कल -
कारखानाहरूको कमी हुनाले धेरै मात्रामा यी विषयहरूमा
डिप्लोमा हासिल गर्ने शिक्षार्थीहरूको खपत हुने ठाउँ छैन।
यस्ता उद्योग - धन्दाका लागि चाहिने प्राकृतिक स्रोतकै
यहाँ कमी छ। यस अवस्थामा सबभन्दा ठूलो स्कूल चल्दैछन् र
नयाँ चलू गरिनेवाला छन्, ती सबैलाई यथाशीघ्र बहुद्देश्य
(मल्टिपर्पस) स्कूलहरूमा परिणत गरियोस् र त्यसमा हाम्रो
देशका भावी कर्णधारहरूलाई काम लाग्ने खालका , हाम्रो देश र
परिस्थिति सुहाउँदा व्यावसायिक विषयहरू जस्तै वैज्ञानिक
तरीकाले खेती गर्ने शिक्षा, पशु - पालन, कुखुरापालन आदिको
शिक्षा, लौह कला, धातु कला शिक्षा, हस्त कला (थुम्से,
डोको, डालो र नाम्लो आदि), चित्रकला, सङ्गीत र व्यायामको
शिक्षा, चिकित्साशास्त्रको शिक्षा आदि व्यवसायिक विषयहरू
अनिवार्य रूपले पाठ्यक्रममा समावेश गरियोस्। फलस्वरूप एघार
क्लाससम्म मात्र पढ्नसक्ने विद्यार्थीहरूलाई नोकरी नपाएको
खण्डमा पनि जीविका उपार्जन गर्न सजिलो परोस् र देशको निकट
भविष्यमा नै आइलाग्ने शिक्षित बेकारीको सामना पनि गर्न
नपरोस्।'
रामचन्द्र शर्मा समाजमा
साम्प्रदायिक सौहार्दका प्रबल समर्थक थिए। सिक्किम विभिन्न
जात - जाति, धार्मिक आस्था राख्ने मानिसहरूको एउटा सुन्दर
बघैंचा हो, सबै मानिसहरू यहाँ शताब्दियौंदेखि मेलमिलापसित
बस्दै आएका छन्। शर्माले कञ्चनजङ्घा पत्रिकाको जनवरी 1970
को अङ्कमा 'हाम्रो देश सिक्किम
र यसको संस्कृति' शीर्षक लेखमा
यसै विचारलाई महत्व दिएको पाइन्छ। लेशमा शर्मा लेख्छन् -
'जस्तो
कि हाम्रो देश सिक्किम तीनवटा अक्षरले बनेको छ, त्यस्तै
हाम्रो देशको संस्कृतिमा पनि गंगा, जमुना र सरस्वतीको
सङ्गमझैं तीनवटाको मेल छ, त्यो हो तिब्बती, लेप्चा र
नेपाली संस्कृतिको सङ्गम अथवा त्रिवेणी। सयकडौं वर्षदेखि
हाम्रो देशले यी तीन संस्कृतिलाई आफ्नो काखमा हुर्काएको छ।
यति मात्र होइन, हाम्रो देशले यी तीनवटा संस्कृतिलाई मेल -
मिलापका साथ विकसित पार्दै पारस्परिक, सामाजिक एवं
राजनैतिक उन्नति गरेर संसारका सामु एउटा नयाँ उदाहरण पेश
गरेको छ। यी तीनै जातिले आफ्नो बेग्ला - बेग्लै धर्म,
भाषा, सभ्यता एवं परम्परागत ऐतिहासिक मान्यता हुँदाहुँदै
पनि आजसम्मको इतिहासमा हाम्रो यो सानो पहाड़ी राज्यमा
धार्मिक झगडा कहिल्यै भएको छैन। यो हामी देशवासीको निम्ति
कम गौरवको कुरा होइन!'
रामचन्द्र शर्माको नाम
यस भेकका एकजना प्रखर राजनीतिक व्यङ्ग्यकारको रूपमा
लिइन्छ। तिनका कृतिहरूको निष्पक्ष समीक्षा हुन आवश्यक छ
किनभने तिनले समाजलाई सही दिशा दिने आह्वान आफ्ना शुरूका र
परवर्ती रचनाहरूमा गरेका छन् र तिखो व्यङ्ग्यप्रहारद्वारा
समाजमा रहेका विसङ्गति, आडम्बर र पाखण्डको पर्दाफास गरेका
छन्।
यस लेखमा मैले केवल
कञ्चनजङ्घा पत्रिकामा प्रकाशित शर्माका लेखहरूको
सङ्क्षेपमा चर्चा गर्न सकें। पछिका दिनहरूमा तिनका सबै
प्रकाशित कृतिहरू उपलब्ध भए, विस्तृत चर्चा गर्ने विचार
राख्दछु।
(आर. सी.
शर्मा स्मृति ग्रन्थ 2009 - मा प्रकाशित)
- जुलाई 2011
सामयिक चर्चा
गोर्खाल्याण्डबारे केही
विचारहरू
गोपालबहादुर नेपाली
आज
भारतका विभिन्न राज्यमा बसेका गोर्खा - नेपालीभाषी जनताहरू
गोर्खाल्याण्ड आन्दोलनबारे धेरै चिन्तित छन्।
गोर्खाल्याण्ड आन्दोलनमा देखा परेका विसङ्गतिहरूबारे धेरै
ठाउँमा चर्चा - परिचर्चा भइरहेको छ। हुन त यो आन्दोलन सय
वर्षभन्दा धेरै वर्षसम्म लामो भए तापनि यसको परिचालन अझै
पनि सही रूपमा हुन सकेको छैन। हाल पनि यो आन्दोलनलाई
व्यापकता दिने काम भएको छैन।
यस आन्दोलनलाई व्यापकता
दिन धेरै जरुरी छ। जहाँसम्म हामीलाई लाग्दछ - यो आन्दोलन
एउटा संगठन या दलको मात्र हुनु ठीक भएको छैन। यसभन्दा
पहिले पनि यो आन्दोलन यसै कतिवटा कारणले गर्दा सफल भएन।
सुवास घिसिङको नेतृत्वमा भएको आन्दोलनमा सबै भारतीय गोर्खा
- नेपालीहरूले सहयोग गरे तापनि उनले सबैका भावनालाई
बुझ्नसकेनन्। गोर्खा र नेपाली भाषाको आन्दोलनमा उनले
जनताको विचार बुझ्न सकेनन्। अहिलेपनि यो आन्दोलन एउटा दल
वा पार्टीको मात्र हुन पुगेको छ।
आज आन्दोलनका समर्थकहरू
मदन तामाङको हत्या हुनु एउटा ठूलो दुक्खदायी कुरा भएको छ।
यो भारतका सबैलाई दुक्ख लाग्ने कुरा हो। हामीले सोचेका
थियौं - कुनै समयमा केही सामान्य तार्किक विसङ्गतिहरू रहे
चापनि सबैमाझ एउटा स्वस्थ परिवेश बन्ला तर त्यस्तो
हुनसकेन। सबैले सोचेका थिए - सबैमाझ एउटा राम्रो स्थिति
आउला, सबै कार्यकर्ता, दल र बुद्धिजीवीहरूको चेष्टामा काम
हुनेछ तर त्यस्तो हुन सकेन। हामी सबैले चाहेअनुरूप यो काम
हुन सकेको छैन। यस आम्दोलनलाई सक्षम बनाउन धेरै जरुरी छ।
हामीले यस आन्दोलनबारे
केही विचार - सुझाउ हाम्रा दार्जिलिङका वरिष्ठ साहित्यिक -
कार्यकर्ताहरूमाझ चर्चा होला भनेर राखेका थियौं। हामी अझै
पनि चाहन्छौं यो आन्दोलन - एउटा दल या संगठनको नहोस्, यसमा
गोर्खा लीग, क्रामाकपा, हिल कांग्रेस, भाजपा, गोरामुमो अनि
सबै साहित्यिक संगठन - ट्रेड युनियन - शिक्षक - भागोप तथा
विद्यार्थीहरूको पनि पूर्णता समर्थन हुनुपर्दछ।
आज कुन प्रसंगमा यो
कुरा भन्न चाहन्छु कि असममा सुरु भएको विश्वविद्यालय
आन्दोलन एक दिनमा सफल भएको होइन। मंगलदैकोबाट सुरु भएको
आन्दोलन - एउटा पार्चीले सुरु गरे तापनि यसलाई स्थानीय
राजनैतिक दल र असमको छात्र संगठन 'अखिल
असम छात्र संघ' - ले एउटा
व्यापक आन्दोलन गराउनसक्यो - महिनौं - वर्षौंसम्म आन्दोलन
चल्यो - यसमा सबै दल र विद्यार्थीहरूले स्कूल, कलेज,
विश्वविद्यालय आदि छाडी बाटोमा निस्की आन्दोलन गर्न थाले।
यसले गर्दा यो आन्दोलन व्यापक हुन गयो। असमभित्र रहेका सबै
स्कूल - कलेज, विश्वविद्यालय, अफिस बन्द भएका थिए। तबसम्म
राज्य सरकार र केन्द्र सरकारले यसमाथि 1979 - देखि शुरु
भएको आन्दोलन 1984 - 85 - मा असम सम्झौता हुन सक्यो। त्यति
बेला असममा विभिन्न संगठनहरूको एउटा संयुक्त आम्दोलन भएको
थियो। 'अखिल असम गण परिषद्'
जन्मेको थियो - त्यसै किसिमको एफटा संगठन यहाँ पनि
हुनुपर्ने हो।
यस आन्दोलनलाई व्यापकता
दिन भारतीय गोर्खा परिसङ्घले आफ्ना धेरैवटा कार्यक्रममा
यसबारे चर्चा गऱ्यो। दिल्लीमा सेमिनार आदि गऱ्यो। ठीक
त्यहीअनुरूप दार्जिलिङमा पनि संयुक्त मंच गठन गरी यसबारे
दिल्ली - दार्जिलिङ - सिक्किमतिर कार्यक्रमहरू गर्नु परे
राम्रो हुने थियो। भारतका विभिन्न ठाउँमा भोक हड़ताल गर्न
सबै छात्र - साहित्यिक संगठन र भारतीय गोर्खा परिसङ्घका
कार्यकर्ताहरूलाई लिई एउटा मंच बनाउने, केन्द्र सरकारलाई
स्मारक पत्र प्रदान गर्ने साथै भारतका सबै राजनैतिक दललाई
स्मारक पत्र पठाउने आदि आवश्यकता छ। यसका साथै उदारवादी
बंगाली विद्वानहरूको पनि सहयोग लिने चेष्टा हुनुपर्दछ।
यसका निम्ति हामीलाई
लाग्छ विमल गुरुङ तथा रोशन गिरीमा जुन योग्यता छ - त्यसलाई
अझ व्यापकता दिने, उदार बन्ने र अरूलाई पनि बनाउने चेष्टा
गर्नुपर्दछ। बिना संयुक्त मंचको यो आन्दोलन अति चाँडै सफल
होला लागेको छैन - यसलाई व्यापकता दिनु जरुरी छ। यसको
सुरुआत दार्जिलिङबाट होस् र यसको व्यापकता भारतभरि हुने नै
छ।
तब मात्र हामीले चाहेको
स्वस्थ दार्जिलिङ राज्य सफल बन्ला भन्ने हाम्रो चाहना छ।
यसको इच्छा हामी भारतका गोर्खा - नेपालीभाषीहरूले चाहेका
छौं।
(जून 2011)
सुक्खिममा आधुनिक शिक्षाको सूत्रपात तथा प्रसार
रश्मिप्रसाद आले,
सभापति, सिक्किम साहित्यकार सम्पर्क समिति।
स्वर्गीय
महाराजा सर थोतुब
नामग्याल, के. सी. एम. आई. अत्यन्त
प्रगतिशील शासक होइबक्सनाले देशको उन्नतिमा तथा प्रजाका
कल्याणमा निरन्तर दत्तचित्त होइरहन्थे। गान्तोकस्थित
" सर थोतुब नामग्याल मेमोरियल
हस्पिटल" उहाँकै पुण्यस्मृतिमा
निर्माण गरिएको हो। आधुनिक शिक्षाको उपकारिता उहाँले पूरै
हृदयङ्गम गरेर युग सुहाउँदो शिक्षाको प्रवर्त्तन तथा
प्रचार राज्यमा हुनु नितान्त वाञ्छनीय छ भनीठानेर आफ्ना
सुयोग्य परामर्शदाता च्याकुंका मालिक श्री शिव देवानसँग
सर्वप्रथम यस विषयमा चर्चा गर्नुभयो।
भारतमा सम्राट्
विक्रमादित्यको पालाझैं महाकवि कालिदास वररुचि आदि
नवरत्नका जमघट हुन नसके तापनि सुक्खिमको सौभाग्यले त्यस
बेला यहाँ दूरदर्शी, उदारचेत्ता त्रिरत्नका समागम दैवात्
हुनगएको थियो। स्वनामधन्य मिस्टर जे. सी. ह्वाइट त्यस समय
त्यहाँका पोलिटिकल अफिसर हुनुहुन्थ्यो। उहाँले प्रजाका
उन्नति कल्पना अनेक जनहितकर कार्यहरू गरेका हुनाले उहाँकै
गुणग्राही प्रजावर्गले पनि राजधानी गान्तोकमा
"ह्वाइट मेमोरियल हल"
नामक एक भव्य स्मारक बनाइदिएर उहाँको कीर्ति अमर तुल्याएका
छन्। सुक्खिमका सच्चा हित चिन्तक हुनाले महाराजा साहेबका
विचारधाराले ह्वाइट साहेबको पूर्ण समर्थन पाउँदथे। आफ्ना
प्रजालाई शिक्षित तथा सभ्य पार्न महाराजाको आग्रहलाई
हार्दिक समर्थन गर्दै उहाँले भारतबाट श्री रामधन पाण्डे
नामधारी जनैक बिहारी महोदयलाई प्रधान अध्यापक पदमा तुरन्त
झिकाइदिनुभयो औ 1894 सालमा "हिन्दी
स्कूल" नामक एक सानो पाठशालाको
गान्तोकमा सर्वप्रथम उद्घाटन भो। काशी बाबु (काशीराज
प्रधान) सहायक शिक्षक नियुक्त हुनुभो। यो शुरूको पाठशाला
वर्तमान जेल र इञ्चे गुम्बा जाने दोबाटोको छेवैमा एक सानो
कटेरामा सर्वश्री ग्यालछेन काजी, आपत काजी, डुग्दा काजी,
शेराब (तुम्लो) काजी औ साक्योंग काजी नाम भएका पाँचजना
विद्यार्थीहरू लिएर खोलियो। स्कूल जनप्रिय हुँदै गयो औ
छात्र संख्या क्रमश:
बढ्नथाल्यो।
प्राय:
तीन वर्षपछि उक्त पाठशाला वर्तमान टी. एन. एकादेमी मनि
भएको मूलबाटाको मास्तिर सऱ्यो। त्यसपछि हालको पुरानो
बजारमाथि पिन्छो नेडुपको (हाल अविद्यमान) घरको एउटा सानो
कोठा किरायामा लिई त्यसै चल्न थाल्यो।
शुभ साल 1897 -
मा स्कूलको लागि बल्ल एउटा स्थायी घर दरबारमा बनाइदिएर
"हिन्दी स्कूल"
- को नाम परिवर्तन गरी " स्टेट
स्कूल" राखिदिएर सम्भवत:
त्यसै वर्ष मात्र यो स्कूल सरकारद्वारा स्वीकृत भयो। स्कूल
हाल लाल बजार बनिएको ठाउँमा थियो। पहिले यो स्कूल खोल्दा
अनुमानित पच्चीस, तीसजना विद्यार्थी थिए औ सर्वश्री
हर्कध्वज प्रधान, बाक्सिंग कार्थक र श्रीदल शिक्षक
हुनुहुन्थ्यो। विद्याको मोल प्रजाले बुझिल्याउँदा टाढा
टाढाबाट पनि मानिसले आफ्ना बालकहरू गान्तोकमा पढ्न
पठाउन थाले औ दिनदिन यसरी छात्र संख्या बढ्दैगयो।
1902 सालमा
"स्टेट स्कूल"
विभक्त भएर "नेपाली
बोर्डिंग स्कूल" र
"भोटिया बोर्डिंग स्कूल"
बनिए। पहिलो स्कूल चाहिं आफ्नै पुरानो ठाउँमा रह्यो औ
पछिल्लोको लागि शहरदेखि प्राय:
दुइ माइल उत्तरमा नयाँ घरहरू बनिए। अब दुइ भिन्न भिन्न
स्कूलका लागि पृथक् पृथक् शिक्षकवर्गको आवश्यक पर्नाले
राजशाही विभागका कमिश्नरका दोभाषे तिब्बते र अंग्रेजीका
धुरन्धर विद्वान काजी दावा साम्डुपज्यू भोटिया बोर्डिंग
स्कूलका हेडमास्टर पदमा
नियुक्त हुनुभो। जातका डुक्पा भए
तापनि उहाँलाई टिबेटन भाषाको विलक्षण ज्ञान थियो।
लब्धप्रतिष्ठित तिब्बत पर्यटक राय बहादुर शरच्चन्द्रदास,
सी. आई. ई. - का सहयोगले अमूल्य "अंग्रेजी
- टिबेटन कोश"
पनि उहाँले अथक परिश्रम गरी बनाउनुभो। स्थानीय
पोलिटिकल अफिसर आदि अनेकौं नामी अंग्रेजहरू टिबेटन भाषा
सिक्न उहाँका चेला बन्न आउँथे।
उहाँका सहायक
शिक्षकहरू सर्वश्री ग्यालछेन छिरिंग, दोर्जी वांगदी,
चेलनाम छिरिंग, लामा ढोण्डुप, छिरिंग ढोण्डुप, हर्कध्वज
राई, फुर्बा वांगदी इत्यादि हुनुहुन्थ्यो। शुरूमा 20/25
जनामात्र विद्यार्थी थिए। पछि प्रधान अध्यापकको सुख्याति
देशव्यापी फैलिंदा छात्र संख्या बढ़ेर धेरै भएको थियो।
तीक्ष्ण
मेधासम्पन्न स्वर्गीय महाराजकुमार शिट्क्योंग टुल्कुले तथा
सद्य दिवंगत सर्वश्री महाराजा सर टाशी नामग्याल, के. सी.
आई ई., के. सी. एस. आई. धरि छात्र बनिदिएर यस स्कूललाई
गौरवान्वित पारिबक्सिएको थियो। जसरी नेपालबाट सर्वप्रथम
बिलायतको सफरमा जाने श्रेय महाराजा चन्द्रशमसेरलाई छ,
त्यसरी नै सुक्खिमबाट बिलायत जाने अग्रणी पुरुष
महाराजकुमार शिट्क्योंग टुल्कु नै होइबक्सिन्छ (1907 -
1908)।
पानसको मन्तिर
अन्धकार रहे तापनि प्रदीपको उज्जवल प्रकाश दूर दूरसम्म
पुग्दछ भन्ने बात स्वयंसिद्ध छ। तदरूप हाम्रा प्रसिद्ध
काजी दावा साम्डुपको गुण यस देशका अधिकारीवर्गले कदर गर्न
नजाने तापनि उहाँको सुख्याति देश - देशान्तरव्यापी
फैलिँदैगो। जौहरीले हीराको मोल बुझेझैं कलकत्ता
विश्वविद्यालयले उहाँको गुणको कदर गरी उहाँलाई 1919 सालमा
टिबेटनको लेक्चरर पदमा सादर अभ्यर्थना गरेर लगे।
सुक्खिमलाई तिमिराच्छन्न विशेषत:
स्कूललाई सद्दे अनाथ पारी सदाको लागि उहांले
गान्तोकबाट प्रस्थान गर्नुभयो। सेकेण्ड मास्टर बाबु दोर्जी
वांगदीको निरीक्षणमा येनतेन प्रकारेण स्कूल सन् 1924 सम्म
चलिरह्यो। अन्त्यमा 1925 सालको प्रारम्भमा यो स्कूल
"नेपाली बोर्डिंग स्कूल"
साथै " सर टाशी नामग्याल
बोर्डिंग स्कूल"
- सँग विलीन भयो।
माथि उल्लेख
गरेअनुसार 1902 सालमा नेपाली बोर्डिंग स्कूल प्रथम स्थापित
हुँदा श्री हर्कध्वज प्रधान हेडमास्टर हुनुहुन्थ्यो। दीगो
गरिबस्ने योग्य प्रधान अध्यापकको अभावले स्कूल सुचारू
रूपले चल्न सकेको थिएन। सुयोग पर्नासाथ अन्यत्र फालहाल्ने
खुट्किलोस्वरूप गरेर भए तापनि सर्वश्री बुद्धिमान प्रधान,
ऐतसिंह, हर्षलाल दीक्षित, भीमबहादुर प्रधान (राय साहेब),
काजी सोनाम तोपदेन (राय बहादुर) इत्यादि महोदयहरूले
अस्थायी हेडमास्टर बनिदिएर यो स्कूलको सञ्चालनमा अपूर्व
सहायता गर्नुभएको थियो।
त्यस समयमा सारा
सुक्खिममा विश्वविद्यालयको शिक्षा प्राप्त गर्ने स्थानीय
सज्जन दुष्प्राप्य हुनाले विज्ञापनको माध्यमले 1920 सालको
प्रारम्भमा खर्सांगबाट लेखकलाई विशेष प्रोमोशन देखाएर
हेडमास्टर पदमा झिकाउन बाहेक सुक्खिम सरकारले गत्यान्तर
देखेन। अयाचित प्रशंसापत्रहरूका निम्न उद्धरणहरूबाट
शिक्षित मानिस तदानीम् कतिका दुर्लभ थिए, त्यो स्पष्ट
झल्कन्छ।
स्वर्गीय बी. के. प्रधान, सिक्किम स्टेट काउन्सिलर तथा
जमान्दार ता0 24.03.1922 - मा लेख्नुहुन्छ -
"I find no man in Sikkim more
qualified than Mr. R.P. Alley in Education among the
hillmen." ता0 23 मई, 1922 सालमा तदानीन्तन
जुडिसियल सेक्रेटरी उन्नतमना श्री कुमार डब्ल्यू0 पोल्देन,
जसद्वारा शिक्षा विभाग पनि सञ्चालित भऐ रहेको थियो, उहाँले
लेखकको विषयमा भन्नुहुन्छ - "I have
found in him the best Headmaster we have had for several
years. The school has improved wonderfully since he took
charge of it." आत्मश्लाघाको दोष नछोए यहाँ यति
भन्न सकिन्छ, लेखकको नेतृत्वमा चल्न थालेको नेपाली
बोर्डिंग स्कूल सर्वप्रिय हुंदैगयो। राष्ट्रभरको गण्यमान्य
काजी जमिन्दार सम्पूर्णले आफ्ना सन्तानको भविष्य
सुधार्नलाई किञ्चित् द्विधाबोध नगरी सहर्ष आफ्ना नानीहरू
नेपाली स्कूलमा भर्ना गरिदिएर निश्चिन्त भएर रहनथाले।
भोटिया स्कूल रित्तिन थाल्यो। विद्यार्थी संख्या घटेर 40/50
पुग्यो। पक्षान्तरमा नेपाली स्कूलका छात्र बढ़ेर डेढ
सयभन्दा अधिक भए।
अंग्रेज सरकारको
कुटिल भेदनीति अपनाएर सानो गान्तोक शहरमा पनि जातीय भेदभाव
स्पष्टै झल्काएर वर्गीय स्तरमा पवित्र जन - शिक्षा
विभागलाई पनि कलुषित पार्दै समकक्षका भोटिया बोर्डिंग र
नेपाली बोर्डिंग स्कूल खोलेकोले राष्ट्रिय एकतामा ठूलो
विघ्न पर्ने शंकाले तथा आर्थिक दृष्टिकोणले हेर्दा पनि एकै
स्तरका दुइ भिन्न स्कूलका सञ्चालनमा लागेका खर्चले एक हाई
स्कूल चलाउन सकिने सम्भावना हुँदा हेडमास्टरले दिनुपर्ने
वार्षिक रिपोर्टहरूमा मैले (लेखकले) यी दुइ स्कूल मिलाएर
एक हाई स्कूल बनाउने सत् परामर्श अधिकारीलाई निरन्तर
पर्सनल एसिस्टेन्ट मिस्टर एफ. पी. बाक्यर एक पाका
बहुदर्शी सज्जन हुनाले लेखकसंग व्यक्तिगत आलोचना गरी
उत्थापित प्रस्ताव अनुमोदन गरेर नेपाली तथा भोटिया
बोर्डिंग स्कूलहरू मिलाएर प्राय:
दुइ सय विद्यार्थीले "सर
टाशी नामग्याल हाई स्कूल"
उदघाटन गर्ने सिद्धान्तमा उपनीत हुनुभो। त्यसबेला शिक्षा
विभागमा वार्षिक प्राय: नौ हजार
रुपैया मात्र खर्च हुन्थ्यो। अब भावी स्कूलको लागि उपयुक्त
घर तथा शिक्षकवर्गको प्रबन्ध मिलाउने जटिल समस्या आइपऱ्यो।
गान्तोकस्थित भारतका सैन्य ग्यान्सी (तिब्बत) - मा अपसारित
गरिएका हुनाले यहाँ पल्टन बस्ने ब्यारेकहरू अव्यवहृ.
भऐरहेका थिए। ती घरहरू बाह्र हजार रुपैयामा सुक्खिम
दरबारले किन्ने बन्दोबस्त भयो। पछि हालको पोष्ट आफिस
मास्तिर भएको "मेस घर"
तथा स्कूल मनिको एसिस्टेन्ट पोलिटिकल अपिसरहरू बस्ने गरेको
कोठी भारत सरकारलाई नै प्रयोजन हुँदा साँड़े तीन हजार
रुपैया घटाएर सौदा चुक्त्तभो। मूल सेना निवास ढुंगाका दुइ
ठूला तले घरले बनिएको थियो। एउटालाई छात्रावासमा परिणत
गरियो औ दोस्रोलाई कोठा कोठामा बाग गरेर विद्यार्थी पढाउने
कमरायोग्य बनाइयो। यी जम्मै कामको भार लेखकमै व्यस्त
हुनाले दिउँसो पढाउँदै बिहान बेलुकी दुइ पटक पी.
डब्ल्यू.डी. - का कर्मचारीहरूलाई निर्देश दिँदै काम हेर्न
माथि ब्यारेकमा आउनुपऱ्थ्यो। यथा समयमा ब्यारेक पाठसाला
योग्य बनाइयो।
त्यसपछि रह्यो
शिक्षकको बन्दोबस्त गर्ने दुरूह व्यापार। स्थानीय
प्रभावशाली अभिजात सम्प्रदायमा अंग्रेज हेडमास्टर ल्याए
आफ्ना वंशधरलाई शुद्ध उच्चारण, अंग्रेजी रहन - सहन, रीति -
रिवाज जस्तै दिवा अथवा नैश भोजमा कस्ता पोशाकमा डटिनु
पर्छ, टाई कसरी बाँध्नु पर्छ, काँटा - चम्चा कसरी चलाउनु
पर्छ, बल डान्समा पाउ कसरी चाल्नु पर्छ, इत्यादि इत्यादि
सिकाउने छन् भन्ने धारणा त्यस बेला बद्धमूल हुँदैगएको थियो
र तदानीन पोलिटिकल अफिसर कर्नेल एफ. ए. बेइलीको सौजन्यले
डब्लिन युनिभर्सिटीका जनैक स्नातक मिस्टर सी. ई. डाडलीलाई
हेडमास्टर पदमा झिकाइयो। हिन्दुस्थानका स्कूलहरू चलाइने
प्रणालीका अनभिज्ञ हुनाले कतिपय यहाँ अप्रचलित तथा असंगत
पद्धति प्रवर्त्तन गर्दा शिक्षकमण्डलीमा अशान्ति तथा
गण्डगोल मच्चियो। अत: स्कूल
परिचालन कार्यमा लेखकको परामर्श उपेक्षा गर्न नसकिने
ठहरियो। पछि यहाँसम्म भयो - एसिस्टेन्ट हेडमास्टर नै
स्कूलका सर्वेसर्वा हुन् भन्ने अवधारणा समेत मानिसमा पैदा
हुनगयो। कालक्रममा सबैका सहयोगले स्कूल सन्तोषजनक रूपले
चल्न थाल्यो। चार वर्षसम्म नवम् औ दशम् श्रेणीका
पाठ्यपुस्तकहरू दार्जीलिंग हाई स्कूलमा पढेर यहाँका
विद्यार्थीहरूले म्याट्रिक परीक्षा दिन थाले।
1928 सालतिर
बंगाल प्रदेशका डी.पी.आई. (मि.बटम्ली) - लाई स्कूल
परिदर्शन गरिदिने अनुरोध गरियो औ उहाँ गान्तोक आएर
शिक्षकवर्गका लागि प्रोभिडेन्ट फण्ड खोलिदिने अनिवार्य
सर्त पूरा भएपछि कलकत्ता विश्वविद्यालयले स्कूललाई
स्वीकृति दिने सुपारिस गरिदिनुभयो। 1929 सालमा शिक्षकका
तलबको रुपैयामा दुइ पैसा दरबारले थपिदिएर प्रोभिडेन्ट फण्ड
खोलेपछि युनिभर्सिटीद्वारा स्कूल स्वीकृत भयो। अब
छात्रहरूलाई म्याट्रिक पढ्न दार्जीलिंग पठाउने काम हरायो।
यहाँ परीक्षाको केन्द्र नखोलिएसम्म केवल अन्तिम परीक्षा
दिने विद्यार्थीहरूलाई दार्जीलिंग पठाउनु पऱ्थ्यो।
परीक्षाफल अत्यन्त प्रशंसनीय हुन्थे। कोही वर्ष ता साराका
सारा परीक्षार्थी प्रथम विभागमा उत्तीर्ण हुन्थे।
दार्जीलिंग हाई स्कूलका वर्तमान उप - प्रधान शिक्षक श्री
एस. लामाले ता विशेष सम्मान चिह्न सहित म्याट्रिक पास
गरिदिएर पछिपरेकी सुक्खिम माताको मुख प्रोज्जवल पारिदिएका
थिए।
'सेक्रेटीश!
सेक्रेटीश! सेक्रेटीश!"
दिनरात यो नाम सुन्दा वाक्क लागिसक्यो भनेर सुप्रसिद्ध
ग्रीक दार्शनिक सक्रेटीशलाई विष पान गर्न लगाई मारे झैं
मि. डाडली महाराजा साहेबका स्नेहभाजन भएर उहाँलाई जेनेरल
सेकेरेटरीको थप काम समेत अर्पित हुँदा तथा अन्यान्य कतिपय
कारणले क्षमताका लोलुप परश्रीकातर स्थानीय अधिकारीवर्गले
उनीप्रति विद्वेषभाव पोषण गर्न थाले। सेक्रेटेरियटका
अफिसरहरू राष्ट्रपिताका निकटतम संस्पर्शमा रहनाले राजकाजमा
उहाँहरूको ठूलो हात हुनु स्वाभाविकै हो। जघन्य कूटनीतिमा
अनभिज्ञ शिक्षकले यस्ता परिस्थितिमा पश्चाद्पद हुनु कुनै
अलौकिक घटना थिएन। हेडमास्टर साथै अन्य कतिपय शिक्षक पनि
आग्नेय - गिरिका थाप्लीमा बसेझैं हुनगए।
फलत: विगत विश्वव्यापी
महायुद्धमा मि. डाडली तथा अरू केही अनुभवी शिक्षकले
सैन्यमा योगदान गरे। अन्य कोही प्रवीण शिक्षकलाई
स्थानान्तरित गर्नाले स्कूलको अपरिमित क्षति भयो। पछि
स्कूलमा प्रशस्त खर्च गरी निकै भव्य अट्टालिका निर्माण
भएपछि स्कूलको बाह्यिक रमक - झमक धेरै बढेको छ।
प्रौढ अवस्थामा
पुग्नलाई बयालिस वर्षको उमेरैमा सर टाशी नामग्याल हाई
स्कूलले 1966 सालको प्रारम्भमा दुइ खण्डमा विभक्त
हुनुपऱ्यो। मुख्य अंगको निमित्त गृहहरू निर्माण गरी
" टी.एन. हायर सेकेन्डरी स्कूल"
नाम राखेर यसलाई गान्तोकै पायोनियर रिजार्भमा सारिएको छ।
बाँकी अंगले "टी.एन. एकाडेमी"
नाम धारण गरी पब्लिक स्कूलको ढाँचामा ढालिएर शहरको माझमा
आफ्नो पुरानै ठाउँका सुरम्य हर्म्यहरू ओगटेर डटी बसेको छ;
यद्यपि हाम्रा प्रतिवेशी दार्जीलिंग जिल्ला तथा अन्यान्य
ठाउँका पब्लिक स्कूलहरूले नगरदेखि निकै टाढाका शान्त
वातावरणमा रहन अधिकतर रुचाउँछन्।
राष्ट्रको जुन सर्वप्रथम हाई स्कूल निर्माण पसिनाका
अजस्रधारा बहाएर तथा जसको सेवा प्राय:
तीस वर्ष निष्कपट भावले गरियो औ जुन पाठसालाको स्थापन तथा
उदघाटन हाम्रा सर्वप्रिय स
|