गाइने गुरुङको
आयो गोर्खाली
उदय ठाकुर
वीर पूजा सभ्यताको एउटा अङ्ग हो। वीरहरूको विविध ढङ्गले
स्मरण गरिन्छ। तर इतिहासको दौडमा पछि परेका हाम्रा बीचमा
वीरहरूका गौरव - गाथा वन, पर्वत, खोला - नाला, गौचरहरूमा त्यसै
विलीन भएर गइरहेका छन्।
इतिहासले जनाउँछ
कि जब गोर्खालीहरूलाई टिस्टा नदीमा आएर खुँडा
खुकुरी पखालेको देखेर नेपालीहरूले पनि खुकुरी टल्काउने
'जय गोरखनाथ'
भनेको देखेर गोर्खालीहरू पनि छक्क परेका थिए'रे।
पछि खोजतलास गर्दा ती पनि गोर्खाली नै भएकाले सिलिगुडी किल्ला
बनाएर एक भएर बसेका थिए। त्यस बेला गोर्खाली फौजले दुश्मनमाथि
जाई लाग्दा 'जय गोरखनाथ'
- को थर्काउने आवाज गर्दै दुश्मनहरूको मुटुलाई चीसो पार्दै
थिए। पछि नालापानीमा सेनापति अमर सिंह थापाको नेतृत्वमा अनि
वीर बलभद्र कुंवरको बहादुरीमा अङ्ग्रेजहरूसित भएको युद्धमा
गोर्खालीहरू 'जय महाकाली'
भन्दै बैरीमाथि जाइलाग्थे। वीर बलभद्रका सैनिकहरू कालीका उपासक
थिए। उनीहरूले बनाएको
osहरीदूनको डाटको काली अनि संगोता देवीमा
कालीको थान अहिले पनि यथावत् छन्।
विश्वमा पहिलो विश्वयुद्धको वातावरण बन्दै गइरहेको थियो।
खाइलाग्दा गोर्खाली केटाहरू अङ्ग्रेजी सेनामा भर्ना हुन थालेका
थिए। अङ्ग्रेजहरूले भर्नाको निम्ति नयाँ - नयाँ डिपोहरू खोल्न
थाले। त्यस्तैमा एक डिपोमा नेपालको एक गाउँदेखि आएर गाइने
गुरुङले सैनिक सेवामा प्रवेश गऱ्यो। यो सम्भवत:
1914 - को कुरा हो। यो प्रथम
विश्वयुद्धको एउटा घातलाग्दो घटना हो।
विदेशको एक ठाउँमा
जर्मनहरूसँग भीषण युद्ध हुँदै थियो, दुश्मनको सङ्ख्या धेरै
थियो। यो ठाउँ घनघोर जङ्गलमा थियो। जमिन पनि उकालो - ओरालो
थियो। दुवैतर्फदेखि ठूलो फायरिङ सुरु भयो। गाइने गुरुङका धेरै
साथीहरू हताहत भए। अङ्ग्रेज फौज लगभग समाप्तिको स्थितिमा थियो
तर पनि गोर्खालीहरू ज्यानको बाजी लगाएर लडेका थिए। त्यहाँ
गाइने गुरुङ पनि एक हाते राइफलको भरमा शत्रुको धुआँधार
आक्रमणको जवाफ फर्काइरहेका थिए। गाइने गुरुङ जोसमा साथीहरूलाई
छोडेर अघि निस्किसकेका थिए। तिनी छातीको बल सर्किँदैथिए कि
पिठ्यूँमा बोकेको प्याकमा राखेका ग्रिनेडमा आगो लाग्ने डरले
तिनले झट्टै त्यस प्याकलाई फ्याँकिदिए। यस क्रियामा अब उनको
आँगमा माटो मात्र थियो। तिनलाई साह्रै रिस उठ्यो र त्यस बेला
तिनले दुश्मनबाहेक अरू कोही देखेनन्। गाइने गुरुङ जोशमा खुकुरी
चम्काउँदै चिच्च्याए - 'गाइने गुरुङ
आयो गोर्खाली' अनि असीम शौर्य र
वीरता प्रदर्शित गर्दै जर्मनहरूका टाउका काट्न थाले। गाइने
गुरुङको यस्तो अदम्य साहस देखेर छक्क परेका अङ्ग्रेजहरूले पछि
युद्ध समाप्तिपश्चात् गाइने गुरुङले चिच्चाएको
'आयो गोर्खाली'
- लाई भारतीय सेनामा गोर्खाली सेनाको उद्घोष घोषित गरे। पछि यो
आवाज विश्वका लागि परिचित बन्यो। गाइने गुरुङजस्ता
गोर्खालीहरूको बीरता देखेर नै जर्मनीका तत्कालीन चान्सलर कैजर
विलियमले भनेका थिए -
I do
not feel afraid of sending my dear soldiers against
any forces in this world but the moment, hear of Gorkha
soldiers my heart start trembling.
(जनवरी 2012)
बिर्सन सकिँदैन रहेछ
डा. शान्ति छेत्री
मेट्रो
रेलबाट हामी टावर ब्रेजसम्म पुगेका थियौं। टिकट काटेर भित्र
पस्न लाग्दा हावा - हुन्डरी आइरहेको थियो। भित्र हेरे फर्किँदा
घनघोर वर्षा भएर भर्खर थमिएको रहेछ तर आकाशबाट कालो बादल फेरि
चुहुला झैं थियो। हामी हता हतार फेरि मेट्रो रेलमै पस्यौं - 10
मिनटमा होटल छेउ पुऱ्याइदिन्छ रे।
बिहान आउँदा कम यात्रु थिए।
बस्न ठाउँ पाइएको थियो, अहिले ठाउँ थिएन तापनि एक भद्र
व्यक्तिले उठेर ततालाई बस्नुहोस् भने। अर्को ठाउँ खोज्न लागे -
एउटी अधबेंसे महिला अलिक पर सरिन् - म छेउमा अप्ठ्यारो गरेर
बसें। मेरो हातमा रेक्सिनको ठूलो बाकस थियो र बाकसभित्र थिए
लण्डनका कोसेलीहरू। तताले 'अहिले
कति बेसी मान्छे नि?' भन्नुभयो।
मैले 'अफिस छुट्टी भएछ र बाहिर पानी
पर्ला जस्तै छ' भनें।
दुइ तीन ठाउँमा रेल रोकिँदै
अघि बढ्दै गर्न लाग्यो। कोही बोल्दैन रहेछन् - सोधी -
खोजी पनि गर्दैन रहेछन् - सिग्रेट पनि नपिउँदा रहेछन्। कस्तो
रफ्तारमा कुदेको यो भुइँमनि चल्ने रेल। स्टेशन आइपुगेछ। हामी
ढोकातिर लट्कियौं - मेरो छेउमा बस्ने महिलाले पछिल्तिरबाट
पाखुरामा समाएर सीटमा लगिन् र मेरो ब्याग देखाइदिइन्। मैले
'थ्यांक्स गड!'
मात्र भन्न सकें। हजार जोडा आँखाहरू उत्सुकतामा चम्किरहेका
थिए। ब्याग टिपेर ढोकातिर लम्कें। पछि फर्केर हेर्न समय पनि
थिएन। धन्यवाद भन्ने होश पनि रहेन। बाहिर उभिएपछि स्याँ स्याँ
भएकी रहिछु। तताले के भयो?
भन्नुभयो। यो
ब्यागभित्र हामी दुवैका पासपोर्ट र पैसाहरू रसीदहरू थिए। रेलमा
ब्याग छोडेकी भए?
'कति
राम्रा नी यहाँका मानिसहरू! कस्तो
इमान्दार पनि!' उहाँले उदगार
पोख्नुभयो। रेल कता पुग्यो कता! तर
मेरा आँखा अघि ती भद्र महिलाको नि:स्वार्थ
नीला आँखा र मझौले कद आजसम्म नाचिरहन्छन्। सभ्य देशका सभ्य र
सुसंस्कृत नागरिकको चलन सम्झेर हृदय गद् गद् हुन्छ। यस्तो
घटनालाई चाहेर पनि बिर्सन सकिँदैन रहेछ।
(दिसम्बर 2011)
हिमाली बेलालाई फर्केर हेर्दा
सुवास दीपक
सिक्किमबाट प्रकाशित हुने नेपाली पत्र - पत्रिकाहरूमध्ये
हिमाली बेलाको एउटा छुट्टै इतिहास छ। भारतमा सिक्किमको
विलयपूर्व सिक्किम हेरल्ड (नेपालीमा मार्च 1959 - देखि पत्रिका
आकारमा प्रकाशित) - को प्रकाशनभन्दा अघि 15 अगस्त, 1957 - देखि
काशीराज प्रधानद्वारा सम्पादित र प्रकाशित कञ्चनजङ्घा पत्रिका
(पाक्षिक) - को प्रकाशनले सिक्किममा पत्रकारिताको घडेरी
खनिसकेको थियो। स्व. कैजरबहादुर थापाद्वारा सम्पादित सिक्किम
(अङ्ग्रेजी र पछि नेपाली साप्ताहिक) - को नाम पनि उल्लेखनीय छ।
विलयसम्म यी पत्र - पत्रिकाहरूको प्रकाशन लगभग बन्द भइसकेको
थियो। स्व. काशीराज प्रधानले कञ्चनजङ्घा - को पुन:
प्रकाशन गर्ने इच्छा राख्नुभए तापनि तिनको त्यो इच्छा पूरा
भएन। यस लेखकसितको अन्तरवार्तामा प्रधानले यसो भनेका थिए -
"कञ्चनजङ्घाला फेरि चालू गर्ने -
गराउने विषयमा आरम्भदेखि नै मैले चिताएको थिएँ तर कार्यान्वित
गर्न नसकेकोले मनको धोको थियो - छ त्यो धोको हो -
कञ्चनजङेघालाई एउटा प्राइभेट
लिमिटेड कम्पनीमा परिणत गरेर भाषा
र साहित्यप्रेमीहरूलाई हिस्सेदार बनाउने, यसलाई पुनर्जीवित
गराएर भाषा, देश र जातिको सेवा गर्नमा म पनि केही हिस्सा लिएर
अनि प्रधान सम्पादकको रूपमा आफ्नो परिश्रम पनि यथाशक्ति योगदान
गर्नसक्ने थिएँ हुँला जस्तो लाग्छ। यस विचारमा समान
विचारधाराका नवयुवक साहित्यिकहरू बसेर सर - सल्लाह गर्न पाए
हुन्थ्यो।
मैले 1967 - देखि तत्कालीन छोग्याल शासनमा एउटा शिक्षकको रूपमा
आफ्नो जीवन - यात्रा शुरु गरें।
1972 - देखि रम्फू स्कूलमा स्थानान्तरित भएँ
र पुन: सिंगताम स्कूलमा 1978 - मा
स्थानान्तरित भएँ। भारतसित सिक्किमको विलय भएपछिको तीन
वर्षभित्रै गान्तोकदेखि समाचारपत्रहरूको प्रकाशनको सिलसिला
शुरु भयो। विलयको एक वर्ष बित्दा - नबित्दै राम पात्रो र
आर.के. सिंघलले संयुक्त प्रयासमा गान्तोकबाट प्रथम अङ्ग्रेजी
साप्ताहिक 'सिक्किम एक्सप्रेस'
- को प्रकाशन शुरु भयो जसलाई कैंयौं दृष्टिले
ऐतिहासिक मान्न
सकिन्छ। राजशाहीको
निस्सासिँदो परिवेशबाट खुल्ला प्रजातान्त्रिक परिवेशमा जनताले
सास फेर्ने मौका पाएका थिए र त्यस समय सबै वर्गका जनता,
प्रशासक, राजनेता, बुद्धिजीवी एवं साहित्यकारहरूका लागि एउटा
सशक्त माध्यमको रूपमा 'सिक्किम
एक्सप्रेस' - ले आफ्नो छवि विकसित
गरिसकेको थियो। सिक्किमबाट मात्र होइन तर छिमेकी दार्जिलिङका
बुद्धिजीवी, पत्रकार, लेखक एवं राजानीतिज्ञहरूमाझ
'सिक्किम एक्सप्रेस'
- को प्रभावी पहुँच थियो। म यी सबै घटनाक्रमसित व्यक्तिगत
रूपमै परिचित थिएँ। लेखवप्रति मेरो रुचिलाई गान्तोकबाट यसरी
पत्र - पत्रिकाको प्रकाशनले प्रोत्साहित गरिरहेको थियो। र
मभित्र एउटा स्वतन्त्र लेखक वा पत्रकार बन्ने इच्छा प्रबल
हुँदै गइरहेको थियो। गान्तोकमा 'यूएनआई',
'पीटीआई','हिन्दुस्तान
समाचार' - जस्ता न्यूज एजेन्सीहरूको
स्थापना साथै गान्तोकबाट विनोद अग्रवालद्वारा सम्पादित मासिक
नेपाली पत्रिका 'सुधा'
- को प्रकाशन अप्रेल 1978 - देखि शुरु भइसकेको थियो। यस
पत्रिकाका कार्यकारी सम्पादक थिए जीवन थिङ। जीवन थिङ उत्तर
बङ्ग विश्वविद्यालयमा राजनीतिशास्त्र लिएर अध्ययनरत थिए। आफ्नो
उच्च अध्ययन जारी राख्न परेकोले जीवन थिङले दोस्रो अङ्कदेखि
'सुधा' -
को सम्पादन गर्न सकेनन्। उनले मलाई पत्र लेखेर 1 मई, 1978 -
देखि 'सुधा'
- को सम्पादनकार्य छोड्ने सूचना दिए। पूर्णकालीन पत्रकारिता र
भाषा तथा साहित्यको सेवा गर्ने प्रबल इच्छासमक्ष म आफ्नो 11
वर्षको स्थायी र सुरक्षित सरकारी सेवाबाट त्याग - पत्र दिई
'सुधा' -
को सम्पादक बन्न पुगें। एउटा अनिश्चित भविष्यको खोजीमा यो मेरो
नितान्त निजी निर्णय थियो - मेरो अन्तरहृदयबाट निस्किएको
स्वतन्त्रताको अनवरत खोजीको निर्णय। त्यतिबेला मैले अनिश्चित
भविष्यको वास्ता गरिनँ - केवल एउटा कल्पनाशील मानसिकता थियो
जसले मलाई निरन्तर प्रेरित गरिरहेको थियो। जून 1978 - देखि
मैले 'सुधा'
- को कार्यकारी सम्पादकको पदभार सम्हालें र 9 - 10 वटा
अङ्कहरूको सम्पादन गरें।
सिक्किम एक्सप्रेस - को प्रकाशन 1976 - देखि शुरु गरेर राम
पात्रो नेपालीमा पनि एउटा साप्ताहिक पत्रिकाको प्रकाशन गर्न
चाहव्थे र 1977 - देखि आइ.एन.
प्रधानको सम्पादनमा
'हिमाली बेला'
नामक सिक्किमबाट प्रथम नेपाली साप्ताहिक पत्रिकाको प्रकाशन राम
पात्रो र उनका सहयोगीहरूको क्रियाशीलतामा स्थापित
'हिमालइन्डिया पब्लिकेशन्स'
- द्वारा शुरु भयो।
एक वर्षको प्रकाशनपछि आइ.एन. प्रधानले हिमाली बेला छाडेर आफ्नो
छापाखाना पाइन्स प्रिन्टर्स शुरु गरे। हिमाली बेलामा एकजना
स्थायी उप - सम्पादकको पद रिक्त भएकोले राम पात्रोले मलाई
हिमाली बेलामा आउने आग्रह गरे। सुधा मासिक पत्रिका हुनाकारणले
मसित प्रशस्त समय थियो। र विनोद अग्रवालसित सर - सल्लाह गरेर
मैले हिमाली बेलामा जाने निर्णय गरें। नियुक्ति पत्र पाएँ 31
अगस्त, 1978 - मा, जो यस प्रकार थियो -
Consequent upon discussions, Mr. Subash
Deepak, writer and journalist, had with the undersigned it
has been decided to avail of Mr. Deepak's services for the
editorial department of Himali Bela. He will be expected to
join effective from 01.09.1978 at a consolidated salary of
Rs. 650/- per month from the date of joining. He will be
required to look after the news desk in the daily production
of the paper and function in close co - ordination and
guidance of consulting editor whose say will be final in all
matters. This arrangement will be for a probation period of
two months after which the option will be open for both
sides for regularising it.
- Ram Patro, Chairman - 31.08. 1978
हिमाली बेला आज दैनिक भएर प्रकाशित भइरहेको छ, तर पाठकहरूलाई
यो जानकारी छैन कि सेप्टेम्बर 1978 - देखि हिमाली बेला डिमाई
आकारमा चार - पाँच वर्षसम्म दैनिक रूपमा प्रकाशित भएको थियो,
जसमा सम्पादकको कार्यभार श्रीमती माला राणा पात्रोले वहन
गर्नुभएको थियो भने सह - सम्पादक म थिएँ। मैले मई 1981 - सम्म
हिमाली बेलामा काम गरें। त्यति बेला सिक्किम एक्सप्रेसका सह -
सम्पादक थिए नवीन सी. गुरुङ। हिमाली बेलामा केही महिनाका लागि
शिव प्रधान पनि सम्पादकीय सहायकको रूपमा रहेका थिए। यो समय
मेरो निम्ति पत्रकारितामा प्रशिक्षणको अवधि थियो। राम पात्रो
एकजना प्रशिक्षित पत्रकार थिए - पीटीआई - का ब्यूरो चीफ भएर
काठमाडौबाट स्थानान्तरित भएर आएका। उनकै संसर्गमा मैले
पत्रकारिताका विविध पक्षहरूबारे साथै पत्रिका प्रकाशनसम्बन्धी
विविध प्राविधिक जानकारी जस्तै ले आउट आदिबारे
प्रशिक्षण पाएँ।
स्व. राम पात्रो 'परफेक्शन'
- का आग्रही थिए। उनको निर्देशनमा मेन लिड - को हेडिङ - का
लागि कैंयौंपल्ट टाइपफेसमा परिवर्तन ल्याउन पऱ्थ्यो। त्यतिबेला
आजको जस्तो कम्प्यूटरमा टाइप गर्ने व्यवस्था थिएन। लेटर प्रेस
थियो। र यसरी हामीलाई कतिको असुविधा हुन्थ्यो, त्यसको अनुमान
सहजै लगाउन सकिन्छ। तर यस मामिलामा उनको आदेशको पालन गर्न
सिवाय हामीसित कुनै अर्को विकल्प थिए। यस हिमाली क्षेत्रबाट
प्रकाशित हुने एकमात्र नेपाली साप्ताहिकदेखि एकै वर्षभित्र 1
सेप्टेम्बर 1978 - देखि दैनिक हुनपुगेको हिमाली बेलामा स्थायी
स्तम्भहरूमा वातुङ भाइ, पहाडे जासूस, अरनि - जस्ता पेन नेम -
मा विभिन्न समसामयिक विषयहरूमाथि गम्भीर लेख र समीक्षाहरू
प्रकाशित हुन्थे। त्यस अवधिको हिमाली बेलाको फाइल पल्टाउँदा
राजनीति, साहित्य, खेलकुद, स्थानीय र राष्ट्रिय राजनैतिक
घटनाक्रममाथि गम्भीर सम्पादकीयहरू प्रकाशित भएका पाइन्छन्।
हिमाली बेलामा अन्य स्थानीय स्तम्भहरू थिए - यस्तो पनि हुँदो
रहेछ, फुर्बाको डायरी, कालेबुङ डायरी, गान्तोक डायरी, राज - को
दार्जीलिङ डायरी र प्रत्येक आइतबारको अङ्कमा साहित्यिक पातो
हुन्थ्यो, जसमा लघु कथा, कविता, समीक्षाका साथसाथै समसामयिक
घटनाक्रममाथि विशेषज्ञहरूका टिप्पणी छापिन्थे। भाषा आन्दोलनमा
पनि हिमाली बेला - को विशेष योगदान रहेकोछ।
नोभेम्बर 2011
जफर रंगूनबाट भारत
आउनसक्छन्, हजरत होइन
उदय ठाकुर
भारतमा
अङ्ग्रेजी शासनकालमा दुई स्वतन्त्रता सेनानीलाई देश निकाला
भएको थियो। ती थिए - अन्तिम मुगल बादशाह बहादुरशाह जफर अनि
बेगम हजरत महल। जफरलाई अति अपमानित गरेर बर्मा (अहिलेको
म्यामाँ) को राजधानी रंगूनमा बन्दी बनाइएको थियो भने बेगम हजरत
महल वीरतापूर्वक युद्ध गर्दै नेपाल पसेकी थिइन्। दुवैको
पराजयमा गोर्खालीहरूको हात थियो। हिमाचल प्रदेशको कसौलीको
नसीरी बटालियनका गोर्खा फौजी आफ्नै हिन्दुस्तानीहरूको मदत
नपाएर असहाय भएपछि दिल्लीमा तैनाथ गोर्खालीहरूलाई विवशतावश
अङ्ग्रेजहरूको हुकुम मान्नु परेको थियो। गोर्खाली मात्र होइन
भारतका अन्य जातिले पनि अङ्ग्रेजहरूको साथ दिँदै थिए। जफर
गोर्खालीहरूलाई मन पराउँदैनथे। उनको एक शे'र
छ -
लश्करे आदा इलाही आज
सारा कत्ल हो
गोरखा गूजर से लेकर ता
नसारा कत्ल हो
आज का दिन ईद - ए -
कर्बां का जभी जानेंगे हम
ऐ जफर तहे तेग जब कातिल
तुम्हारा कत्ल हो।
1857 को मारकाटमा दिल्लीमा
गोर्खाली फौजीहरूलाई परि प्राण गुमाउनु परेको थियो। प्राण
गुमाउने सहै फौजीहरूका नाम देहरादून क्याण्टस्थित शहीद स्मारक
'लालगेट'
को भित्तामा खोपिएका छन् जसलाई आज पनि अवलोकन गर्न सकिन्छ।
दिल्ली पतन वा 1857 को
विफसताको एक ठूलो कारण पनि जफर नै थिए। देशवासीहरूलाई
नेतृत्व दिन एक नायकको आवश्यकता थियो। उनीहरूले जफरलाई
नेतृत्वमा अघि आउने अनुरोध गरे। वास्तवमा जफर वैभवपूर्ण
जीवनलाई छाडी आफूलाई विपतमा पार्नु चाहँदैनथिए, उनी एकजना
एसहाय वृद्ध थिए। रोगी थिए, दुर्बल थिए। ज्ञात रहोस्, जफरलाई
तिनका जेठा छोराले भान्छेसित मिलेर मार्ने प्रयास गरेको थियो।
जफरको खानामा बाघको जुङ्घा काटेर मिलाएकोले त्यो खानाले तिनका
आन्द्रा - भुँडी क्षतिग्रस्त भएको थियो। जफर जीवनभरि तरल
पदार्थको भरमा थिए। तिनी ठोस खाना खान सक्दैनथिए। यस्तो
अवस्थामा जफर अङ्ग्रेजको विरुद्ध बगावत गर्न असमर्थ थिए, जसको
कारण दिल्लीको पतन भयो। अङ्ग्रेजहरूले तिनलाई देश निकाला दिएर
रंगून जेलमा थुनिदिए, जहाँ तिनले एउटा शे'र
लेखेका थिए -
कितना बदनसीब है जफर
दफ्न के लिए दो गज जमीन न
मिली कू - ए - यार में।
यसै शे'रलाई
जफरको अन्तिम इच्छा मानेर भारत सरकारले रंगूनबाट तिनको अस्तु
दिल्ली ल्याएर सम्मानपूर्वक तिनको अभिलाषा पूरा गऱ्यो।
उता बेगम हजरत महल
वैभवपूर्ण जीवन त्यागी स्वयम् तलवार हातमा लिएर अङ्ग्रेजहरूको
विरुद्ध युद्धरत भइन् जबकि तिनका पति वाजिद अली शाह कलकत्तामा
विलासपूर्ण जीवनको आनन्द लुटिरहेका थिए। वाजिद अली शाहको
परिवारका अन्य सदस्यहरू पनि अङ्ग्रेजसँग मिलेर बेलायतमा शाही
जीवन बिताउँदै थिए। हजरत महलले जति बेला ताँत्या टोपे,
नानाजीसँग मिलेर अङ्ग्रेजहरूको स्थिति कमजोर पारिदिएकी थिइन्,
त्यति बेला जङ्गबहादुर गोर्खाली फौजका साथ लखनऊमा
अङ्ग्रेजहरूको मदतका लागि आइपुगेका थिए अनि हजरत महललाई
पराजयको सामना गर्नु परेको थियो।
यहाँ नेपालबाट यदि गोर्खाली फौज नआएको भए अङ्ग्रेजहरूको पराजय
अवश्यंभावी थियो। बेगम हजरत विवशतामा नेपाल पसिन्। हजरत महलका
बारेमा तिनको जाति वा जन्मका बारेमा दुइ मत छन्। नेपालका अनि
भारतका इतिहासकारहरूले तिनलाई नेपाली चेली बताउँछन्। केही
वर्षअघि चण्डीगढबाट प्रकाशित हिन्दी ट्रिब्यून दैनिकमा एकजना
लेखकले तिनी 'नेपालन'
भनी लेखेका थिए। कैयौं नेपाली लेखकहरूले पनि तिनी नेपाली चेली
हुन् भनेका छन्। तर मुस्लिम इतिहासकारहरूका अनुसार तिनी
मुस्लिम चेली हुन् भनी बताएका छन्।
10 मार्च 1858 - मा
जङ्गबहादुर फौजसँग नखनऊ पुगेपछि 23 मार्च 1858- का दिन
सम्पूर्ण लखनऊमाथि अङ्ग्रेजहरूको नियन्त्रण भयो। उपनिवेशवादी
अङ्ग्रेजका पक्षमा लागेर जङ्गबहादुर अनि गोर्खाली सिपाहीहरूले
लखनऊ लुटेको कार्ल मार्क्सले आलोचना गरेको कुरा त्यति बेलाका
न्यू यर्क टाइम्स - मा छापिएको थियो।
जङ्गबहादुर, जसले लखनऊ
लुटेका थिए तर तिनले आफ्नो देश नेपालमा आएकी हजरत महललगायत्
भारतको प्रथम स्वतन्त्रता सङ्ग्राम 1857 - का स्वतन्त्रता
सेनानीहरूलाई शरण दिएका थिए। तिनलाई अङ्ग्रेजहरूले बहादुर शाह
जफरजस्तै निर्ममताका साथ मार्न खोजेका थिए तर जङ्गबहादुरले
हाम्रो धर्म - संस्कृतिमा शरणागतलाई पनि आश्रय दिने परम्परा
रहेको बताउँदै हजरत महलको ज्यान बाँचेको थियो।
बेगम हजरत महल नेपालमा
शरणागत अवस्थामा नै यस संसारबाट बिदा भइन्। तिनको मकबरा
काठमाडौको घण्टाघर नजिक छ। यहाँ नै मुसलमानहरूको सबभन्दा ठूलो
मस्जिद छ तर ती महान वीराङ्गनाको मकबरामा कुनै भारतीय,
पाकिस्तानी वा बङ्गलादेशी नेताहरू नेपाल आऊँदा कसैले एक
थुङ्गा फूल चढाएको थाहा छैन।
के जफर झैं तिनको अस्तु
सम्मानपूर्वक भारत सरकारले ल्याउनुसक्दैन?
के तिनलाई आफ्नो मातृभूमि प्यारो थिएन जसको स्वतन्त्रताका लागि
तिनले विलासिताको जीवन त्यागेर कटङ्कमय जीवन रोजेकी थिइन?
(सितम्बर 2011)
भ्रमण वृतान्त
भारतमा सम्पूर्ण स्वच्छता
सुवास दीपक
भारतमा सम्पूर्ण स्वच्छता
एउटा कल्पना मात्र हो भन्ने कुरा ग्रामीण साथै शहरी
क्षेत्रहरूमा विद्यमान फोहोर - मैलाको उचित प्रबन्धनको अभावले
उजागर गर्छ। फोहोर - मैलाको प्रबन्धनको दिशामा यद्यपि केही
पर्वतीय राज्य जस्तै हिमाचल प्रदेश र सिक्किमले पथ -
प्रदर्शकको काम गरेका छन्। सिक्किमले त यस दिशामा उल्लेखनीय
उपलब्धि हासिल गरिसकेको छ र केन्द्र सरकारबाट यस उपलब्धिका
लागि सिक्किमलाई पुरस्कृत पनि गरिएको छ। सिक्किमले पोलिथिनमाथि
प्रतिबन्ध लगाएर र शहरी क्षेत्रको फोहोर - मैलाको उचित
प्रबन्धन गरेर राजधानी गान्तोक र केही ससाना शहर - बजारहरूलाई
सफा - सुग्घर राख्ने निरन्तर व्यवस्था भइरहे तापनि यस दिशामा र
विशेष गरी साना शहरी क्षेत्रमा निरन्तर निगरानी राख्ने
आवश्यकता छ। राजधानी गान्तोकको सुपर मार्किटमा मासु - माछा
बिक्री स्थलहरूको स्वच्छतामाथि उचित ध्यान नदिइएका समाचार
स्थानीय छापामा आइरहन्छन् तर सम्बन्धित विभागबाट यस दिशामा
कुनै कार्यवाही नगरिएकोले प्रशासनको हेलचेक्राइँ स्पष्ट
देखिन्छ। स्वास्थ्य विभागले यस दिशामा गम्भीरतापूर्वक कदम
चाल्न जरुरी भएको छ।
तुलनात्मक रूपमा सिक्किमको
स्थिति स्वच्छताको दृष्टिले सन्तोषजनक रहेको छ तर अन्य पर्वतीय
क्षेत्रहरूको - छेवैको दार्जिलिङ शहरको स्थिति शोचनीय रहेको
कुरा कसैबाट लुकेको छैन। प्रशासन उदासीन रहेकै छ तर नागरिक
समाजको उदासीनता पनि कम जिम्मावार छैन यस स्थितिलाई यथावत्
राख्न। दार्जिलिङ जिल्लाका कालेबुङ, खरसान, मिरिकजस्ता एक
जमानाका जगत प्रसिद्ध पर्यटक स्थलहरूको प्राचीन सौन्दर्य र
स्वच्छता फर्काउनमा नागरिक समाजको पहल नै एकमात्र विकल्प
देखिन्छ।
राष्ट्रिय परिप्रेक्ष्यको
स्थिति अति शोचनीय छ। देशमा रेलहरूको सञ्जाल फैलिएको छ जसमा
करोडौं यात्रीहरू दिनहौं यात्रा गर्छन्। साधारण दर्जादेखि लिएर
उच्च दर्जामा यात्रा गर्ने यात्रीहरूका न्यूनतम सुविधाहरूप्रति
रेल प्रशासन पूर्ण रूपले उदासीन छ। प्लेटफार्महरू फोहोर - मैला
छन्, खाने कुराको शुद्धताका लागि कुनै कसौटी छैन, यात्रीहरू
विवश छन्। लामो दूरीका ट्रेनहरूमा प्रसाधनको अव्यवस्था, पानीको
अभाव, प्रथम श्रेणीको वातानुकूलित कक्षहरूमा स्वच्छताको अभाव,
सर्वत्र अराजकता। यस पङ्क्तिकारले गत वर्ष करिब 2500
किलोमिटरको यात्रा साधारण श्रेणीमा गर्दा रेलहरूमा यात्रीले
उठाउन पर्ने यातना स्वयं भोग्नुपऱ्यो। त्यसको कथा बेग्लै छ तर
यहाँ स्वच्छताकै कुरा गरौं। विशेष गरेर पूर्वोत्तरदेखि
पश्चिमोत्तरसम्मका लामा दूरीका ट्रेनहरूभित्र र बाहिर
प्लेटफार्महरूको स्वच्छताप्रति सम्बन्धित निकायले जुन उदासीनता
प्रदर्शित गर्दै आएको छ, त्यो देशवासीप्रति गम्भीर अपराधको
श्रेणीमा आउँछ।
17 नोभेम्बरको मेरो रेल
आरक्षण थियो। एसी थ्रीमा। गान्तोकदेखि न्यूजलपाइगुडी पुग्न
पुगनपुग, ट्रेफिक जाम अथवा अन्य व्यवधानको अनुपस्थितिमा यस्तै
साढै तीन घण्टाभन्दा समय लाग्दैन। मैले कुनै रिजर्भ ट्याक्सी
गरिनँ किनभने अचेल राष्ट्रिय राजमार्गमा कुनै व्यवधान छैन -
सिन्डिकेटको ट्याक्सीभन्दा बसमै जाने निर्णय गरें -
राष्ट्रियकृत परिवहन - सिक्किमको प्रथम परिवहन निकाय -
सङ्क्षेपमा एस.एन.टी. - बाट टिकट काटेर सिलिगुडी पुगेर
त्यहाँदेखि न्यूजलपाइगुडी (एन.जे.पी.) - बाट बेलुकी 9 बजेको
ट्रेन चढ्ने निर्णय गरें। टिकट काट्न भाइ देनराजलाई पठाएँ तर
सिलिगुडी जाने बस उपलब्ध नहुँदा देवरालीस्थित ट्याक्सी
स्ट्यान्डमा टिकट काट्न पटाएँ। देवराजबाट निजी बस हिंड्नमा आधी
घन्टा छ, झट्टै ट्याक्सी स्ट्यान्डमा आइपुग्नुपऱ्यो भनी सूचना
पाएँ। हतारमा नामनामदेखि ट्याक्सी गरेर देवराली ट्याक्सी
स्ट्यान्ड पुगें - सामुन्ने बंगाल स्टेट ट्राँसपोर्टको बसको
फ्रन्ट सीटमा बसें। यसो हेर्दा केही सम्भ्रान्त अनुहार पनि
देखा परे तर मसित अपरिचित। पस्दा अधिकांश सीट खाली थिए। बस
हिंड्न अजै आधी घन्टा जतिको समय थियो। म तुरन्तै सीटमा
बसिहालें र आफ्नो वरिपरिको त्यस क्षणको परिवेशलाई अवलोकन गर्न
थालें। ट्याक्सी स्ट्यान्डमा सिजनमा जति भीड र अराजकता हुन्छ,
त्यो थिएन तर पनि राजधानीदेखि सिलिगुडी तथा भूटान, नेपाल
आदितिर जाने एकमात्र परिवहन केन्द्रको सीमित र साँगुरो ठाउँमा
प्राय: भीड मानिसभन्दा गाडीहरूकै
देखिन्छ।
विस्तारै चाल पाउँदै गएँ - बसमा सीटभन्दा बढी मानिसहरूलाई बस
हिंड्नभन्दा अघि नै दलालहरूले भित्र्याइसकेको रहेछ। सीटको मुनि
प्यासेजमा बोरा, ट्रन्क, बेडिङ, सब्जी र अन्य सर - सामानका
बोरादेखि लिएर कुन्नि के - के हालिसकेको रहेछ - म फ्रन्ट सीटमा
थिएँ - त्यसले मलाई कुनै असुविधा नभए तापनि म लगातार आफ्नो
एकमात्र अट्याची, जो म बसेको सीटको पछिको सीटको मुनि राखिएको
थियो र एउटा सानो ह्यान्ड ब्यागमाथि सामान राख्ने ठाउँमा
राखिएको थियो - गाडी गुड्नभन्दा अघि यसो फर्केर हेरिरहन पऱ्यो।
बस हिंड्नभन्दा अघि सीटभन्दा अधिक यात्रीहरू र सरसामान
भित्र्याइसकिएको थियो। पाइला टेक्ने ठाउँ पनि थिएन बसभित्र।
चालकले आफ्नो सीटमा बसेपछि एक नजर पछि फर्काएर हेरेर केही
अन्तिम निदेश र आफ्नो सीटकै सानो कुनामा एउटा यात्रीलाई बस्ने
ठाउँ दिएर बस स्टार्ट गऱ्यो र बस देवरालीको ट्याक्सी
स्ट्यान्डको ओरालो लागेर राष्ट्रिय राजमार्गमा आफ्नो पाइला
टोकेर साविक गतिमा
सिलिगुडीतिर गुड्न थाल्यो।
पूर्ण
स्वच्छताको अस्तित्व एउटा परिकल्पना मात्र हो। हामी हाम्रा
वरिपरि, हाम्रो परिवेशमा, हाम्रा पारिवारिक व्यवहारमा, हाम्रा
खान - पानमा, बाँच्नका लागि जैविक क्षुधा (भोक) मेटाउन भोजनमा
आवश्यक शुद्धता एवम् स्वच्छताको अपेक्षा गर्छौं तर यसमा हामीले
भनेजस्तो सफलता प्राप्त गर्न असमर्थ छौं। लत - कुलतका रूपमा
सेवन गरिने विभिन्न मादक पदार्थ जस्तै सुर्ती, बिंडी, खैनी,
चुरोट, रक्सी, जर्दा, पानका साथसाथै केही दशकयता लागू पदार्थको
सेवनमा अत्यधिक वृद्धि भइरहेको हामी पाउँछौं।
स्वच्छताप्रति आम
नागरिकदेखि तथाकथित शिक्षित र सम्भ्रान्त वर्गको आचरण र
व्यवहार निराशाजनक छ। देशभरिमा हामी दिनहौं छापामा अथवा दृश्य
- श्रव्य माध्यमबाट खाद्य सामग्रीमा मिलावटका खबरहरू पढ्छौं,
सिन्छौं, देख्छौं।
यी सबै कुराहरूको उल्लेख
गर्नुको उद्देश्य व्यापक रूपमा हाम्रा वरिपरि स्वच्छतासम्बन्धी
जुन अराजकता छ, त्यसको सूक्ष्म अवलोकन गर्नु हो। हालैको लामो
रेल यात्रामा मैले देखेको, सुनेको र भोगेको यथार्थलाई माथि
उल्लेख गरिएका सन्दर्भहरूमा बताउने कोशिश गरेको हुँ। यसका
अतिरिक्त हाम्रा वरिपरिका फोहोर - मैलाको प्रदूषणका साथ - साथै
जुन चारित्रिक प्रदूषण व्याप्त छ र यो चारित्रिक प्रदूषण नै
मेरो विचारमा अन्य सबै प्रदूषणको मूल हो, मुहान हो - त्यसबारे
पनि टिप्पणी गरेको हुँ। प्रसङ्गवश कुरा यसैमा आइपुग्यो।
गान्तोक शहरको देवराली ट्याक्सी स्ट्याण्डबाट फुटकर यात्री
ओसार्ने सिलसिला जारी थियो। बत्तीस नम्बरमा अचानक बस रोकिन्छ।
चालकले मूल सडकदेखि अलिक छेउ गरेर सहायकलाई टायरमा ढुङ्गा
राख्नु भन्यो र आफू दगुरेर पछाडिपट्टि सडकछेउ उभिरहेको टिकट
चेकरको छेउ उभ्यो। करिब दस मिनटपछि चालक बस
स्टार्ट गर्छ।
कसैले नसोधे पनि चालकले आफै
सबै कथा भनेछ र के भनेछ - त्यसलाई यहाँ उल्लेख गर्न मनासिब
ठानिनँ किनभने यो कथा हाम्रो - तपाईं सबैलाई थाहा छ, हामी -
तपाईं यस कथाका पात्र - पात्रा हौं, नायक - नायिका, खलनायक,
सूत्रधार छौं। यो एउटा सर्वव्यापक, सार्वकालिक, सर्वशक्तिमान
सत्ता हो जसले सबैलाई प्रभावित गरेको छ, गरिरहेछ र भविष्यमा यो
चारित्रिक प्रदूषण कम होला भन्ने कहीं - कतै पनि कुनै सम्भावना
छैन।
विविध समस्याहरूसित
जुद्धिरहेको हाम्रो महान भारतमा यी समस्याहरूमध्ये एउटा प्रमुश
समस्या स्वच्छताको रहेको छ। भारतजस्तो देश जहाँ हजारौं
वर्षदेखि ऋषि - मुनिहरूले स्वच्छताका मानदण्डहरू निर्धारित गरे
- मनुष्य र प्रकृतिसितको सम्मबन्धमा असन्तुलन नहोस् भन्ने कुरा
सुनिष्चित गर्न मानव - जातिलाई निश्चित दिशा - निदेश दिए,
त्यही देशमा आज सबथोक असन्तुलित छ। यहाँसम्म कि हाम्रा विचार,
चिन्तन, हाम्रा नीति र सिद्धान्त सबथोक प्रदूषित र असङ्गत छन्।
यसको अनुभव एउटा संवेदनशील व्यक्तिले पाइला - पाइलामा गर्छ,
गरिरहेछ तर केही गर्न सक्दैन - विवश छ। बाँच्नका लागि हावा -
प्राणवायु प्रदूषित छन्, तिर्खा मेटाउने पानी, पेय पदार्थ
प्रदूषित छन्, क्षुधा मेटाउन खाद्यान्न प्रदूषित छन्।
यजुर्वेदमा स्वस्थ र दीर्घायुको विषयमा एउटा मन्त्रमा सय
वर्षसम्म बाँच्ने कल्पना गरिएको छ तर यसका साथ स्वस्थ, सुखी र
दीर्घायुका लागि आवश्यक वातावरणको निर्माणमा भारतका परवर्ती
पिँढीहरूले उचित प्रयास गर्न सकेनन्। सबै धर्मशास्त्रहरूमा
स्वच्छताबारे दिशा - निदेश दिएका छन्।
स्यामुलका अनुसार -
'मानिस आफ्नो भौतिक पर्यावरणको उपज
हो।' भौतिक पर्यावरण मानिसका
क्रियाकलाप तथा जीवनलाई केवल प्रभावित गर्दैन अपितु नियन्त्रित
पनि गर्छ। अर्कोपट्टि मानिस आफ्नो पर्यावरणमाथि स्वयम् प्रभाव
पार्छ। यसकारण मानिस र पर्यावरणका पारस्पारिक समबन्धहरूमा
परिवर्तन भइरहन्छ। मानिस र प्रकृतिको एकार्कासित गहिरो सम्बन्ध
छ तर मानिस भौतिकवादको आकर्षणमा पर्यावरणप्रति उदासीन छ। आज
मानिसले पर्यावरणलाई प्रदूषित गर्नमा कम्मर कसेजस्तो लाग्छ
जसको परिणाम उजागर भइरहेछ - मानिस विभिन्न रोगहरूको शिकार
भइरहेछ र वर्तमानमा विश्वमा पर्यावरण प्रदूषणको यही
स्थिति कायम रहन्छ र यसमाथि नियन्त्रणका लागि प्रभावशाली पाइला
नउठाइए मानव सभ्यता नै सङ्कटमा पर्न जानेछ।
मानव स्वास्थ्यमाथि पर्ने
सबभन्दा ठूला प्रभावहरूमध्ये धूम्रपान एउटा प्रमुख प्रभाव हो।
यो प्रभाव नभनौं दुष्प्रभाव हो र यसको सेवन गर्ने मानिसहरू त
लाखौंको सङ्ख्यामा विभिन्न रोगले मर्छन् मर्छन्, यसको सेवन
नगर्नेहरू पनि परोक्ष प्रभाव अर्थात् 'प्यसिभ
स्मोकिङ' - को दुष्पर्भावले
प्रत्येक वर्ष 6 लाख मानिस अकाल मृत्युको शिकार हुन्छन्।
ब्रिट्श मेडिकल जर्नल ल्यानसेट - मा प्रकाशित एउटा रिपोर्ट
पढेको थिएँ, जसमा भनिएको छ , धूम्रपान गर्ने व्यक्तिका
वरिपरिका पारिवारिक सदस्य, पत्नी, छोरा - छोरी, सहकर्मी
आदिमाथि दुष्प्रभाव पर्दा 6 लाख मानिस प्रत्येक वर्ष मर्छन्।
यात्रावधिमा, यात्राको वाहन
चाहे रेल होस्,वा बस, सबैमा धूम्रपान निषेध हुँदाहुंदै पनि
मानिसहरू धूम्रपान गर्छन्। हाम्रो सिक्किममा सार्वजनिक
स्थलहरूमा धूम्रपानको मनाही भए तापनि मानिसहरूले सार्वजनिक
स्थलहरूमा धूम्रपान गर्न छाडेका छैनन्। मानिसहरू धुवाँ
उडाइरहेकै पाइन्छन्। कहिले - काहीँ सम्बन्धित विभागका
अधिकारीहरूले कार्यवाही गर्छन् तर त्यो केवल देखावटी हुन्छ।
कानुन बनाएपछि यो सुनिश्चित गर्नु पनि जरुरी हुन्छ कि त्यसको
पालन भइरहेको छ कि छैन र कानुको उल्लङ्घन गर्नेहरूविरुद्ध
निरन्तर निगरानी राक्नु अत्यावश्यक हुन्छ। अर्को प्रश्न यहाँ
यो पनि उठ्छ कि विश्व स्वास्थ्य सङ्गठन तथा अन्य विश्व स्तरका
निकायहरूले विश्वभरिमा यस्ता दुष्प्रभावहरूबारे शोध, सर्वेक्षण
र अध्ययन गर्छन् र आँकडाहरू सार्वजनिक गर्छन् तर ती
निकायहरूले बहुराष्ट्रिय कम्पनीहरू - जसले तमाखु उत्पाद र
विरतणद्वारा विश्वभरिमा आफ्ना व्यापार - धन्धा चलाइरहेका छन्,
तीमाथि यस्ता उत्पादन बन्द गर्न आफ्नो अधिकारको प्रयोग
गर्दैनन्। गरून् पनि कसरी? अर्बौं
रुपियाँको धन्धा छ र तमाखु लबीको शक्तिले यस्ता सङ्गठनहरूको
पनि कुनै दाल गल्दैन।
चिया - चमेनाका लागि
राष्ट्रिय राजमार्गमा बस एक ठाउँ बिसाएको छ। म आफ्नो सिटबाट
हेरिरहेछु पान गुम्टीमा बिँडी, सिग्रेट, खैनी - सुपारी, जर्दा
किन्नेहरूको घुइँचो छ। बसबाट ओह्रलिनेबित्तिकै मेरो बगलमा
बसेको एउटा युवकले सिग्रेट सल्काइसकेको छ - उसको उमेर 18 - 19
वर्षको छ र म अनुमान लगाउंछु हाम्रो देशको मोठ जनसङ्ख्यामा
किशोर - किशोरीहरूको 25 - 25 करोड त होला नै (आँकडा
सच्याउने अहिले मसित कुनै साधन छैन) र मोटामोटी अनुमानबाट 10 -
15 करोड किशोर - किशोरीहरूले धूम्रपान गरिरहेको अनुमान
लगाउँछु।
बस स्टार्ट भएपछि यात्रीहरू
आ - आफ्ना सीटमा बस्छन्। बसमा क्षमताभन्दा अधिक यात्रीहरू छन्,
खुट्टा टेक्ने ठाउँ पनि छैन। हामीले दिनहौं यस्ता प्रकारका
विसङ्गतिहरू भोग्नैपर्छ, अर्को विकल्प छैन जन साधारणका लागि।
यो समस्त व्यवस्थाको जग एक प्रकारले एउटा अनैतिक तन्त्रमाथि
बसेको छ र यो यति बलियो छ कि यसलाई भत्काउनु वर्तमान
शासनव्यवस्थामा असम्भव छ।
तमाखु सेवनका अनेक विधिहरू
मानिसले विकसित गरेका छन्। धेरै यस्ता वनस्पतिहरूमध्ये तमाखु
पनि एउटा यस्तो झार - पात हो जसको भारतीय उपमहाद्वीपमा
उपस्थिति अति प्राचीनकालदेखि रहेको भए तापनि यसलाई हुक्काको
रूपमा प्रयोग गर्ने प्रचलन मोगलहरूको आगमनसितै भएको हुनसक्छ
किनभने हुक्का शब्द अरबी भाषाको शब्द हो। (हुक्का नेपाली
भाषाको पनि प्रचलित शब्द हो जसलाई नरिवल, धातु आदिका भाँडामा
सुमेरु घुसारिएको, धुँवा पानीमा छानिएर आउने खालको, तमाखु खाने
साधन भनिएको छ - नेपाली बृहत् शब्दकोश, नेपाल राजकीय
प्रज्ञा प्रतिष्ठान) पौराणिक आख्यानहरूमा द्रव्य (मादक प्रभाव
उत्पन्न गर्ने) पदार्थहरूमध्ये धतुराको उल्लेख पाइन्छ।
धतुरालाई संस्कृतमा कनक, कैतव, धत्तूरक, मंदार, महशठ,
शिवप्रिय, शैव, सिद्ध, सुवर्णाख्य आदि भनी उल्लेख गरिएको
छ। संस्कृतमा तमाखुलाई तमाकु,तमाखु, ताम्रकूट, धूम्रपत्र
भनिएको छ। हुक्काको माध्यमद्वारा तमाखुको सेवनले भारतीय समाजमा
विभिन्न सामाजिक आचार - व्यवहारहरूको समावेश भयो जस्तै
'हुक्का - पानी'
जो सामाजिक शिष्टाचारको मानक बन्न पुग्यो। यसले जाति -
पातिमाझका सम्बन्धहरूलाई परिभाषित गर्ने उखानहरूलाई पनि
जन्माएको हामी पाउँछौं। जाति वहिष्कार गर्नका लागि प्रयोग
गरिने शब्द 'हुक्का - पानी बन्द
गर्नु' भनिन्छ भारतीय समाजमा।
यस प्रकारले यो स्पष्ट हुन
जान्छ कि देशको अर्थ व्यवस्थामा प्रत्यक्ष रूपले ठोस योगदान
दिने तमाखु उद्योगलाई बढावा जारी राख्नु सरकारी रणनीति हो।
स्वास्थ्यमा पर्ने हानिप्रति सरकार उदासीन छ - देशको मानव
संसाधनको क्षतिप्रतिको यस प्रकारको संवोदनहीनता एउटा अक्षम्य
अपराध हो। सरकारमा बसेका नीति - निर्माता, अर्थविद् र
योजनाकारहरूले यस विषयमा गम्भीरतापूर्वक विचार गर्मुपर्ने
आवश्यकता छ तर तिनीहरूले गरून् पनि कसरी... तिनीहरूले केही
गुमाउनु छैन, गुमाउनुपर्ने त देशको निरीह जनसाधारणले छ जसका
रगतमा निकोटिन र अल्कोहलको डोजमा कमी नहोस् भन्ने कुरा
सुनिश्चित गर्न सरकारी तन्त्रले यी जिनिसहरू यत्र - तत्र -
सर्वत्र उपलब्ध गराइदिएका छन्।
एकजना विचारक स्वेट्
मार्डेनले कतै भनेका थिए, सम्झना गर्दैछु -
"मनले नै जीवनको मार्ग निर्धारित गर्छ।"
व्यक्तिको मन र बुद्धिको सञ्चालन मनले गर्छ। मन शान्त, स्थिर र
हर्षले भरिएको छ भने सबै थोक सहज र स्वाभाविक ढङ्गले पूर्ण
हुँदै जान्छ तर मन स्थिर छैन भने, बुद्धिले नियन्त्रण हराउँछ,
पथभ्रष्ट हुन्छ र सबथोक लथालिङ भएर जान्छ। आज विश्वमा यस्तै
भइरहेछ। धेरजसो राम्रो भए तापनि केही प्रतिशत असङ्गत छ - र यो
असङ्गति यस पृथ्वीलोकमा "आम",
"सर्वसाधारण"
भनिने मानिसहरूले भोग्नपर्छ भन्ने किटान गरेर भन्न सकिँदैन
किनभने समानता, असमानता, भेद - अभेद र सङ्गति - असङ्गतिको
परिदृश्यमा समस्त मानवनिर्मित सिद्धान्त, अवधारणा र मत -
मतान्तर अर्थहीन सिद्ध भइरहेछन्। किनभने मानव भनिने
प्राणीलाई नाना, माना र छाना प्रदान गर्दै आएको धरतीको सनातन
व्यवस्था एवम् तन्त्र - प्रणालीमा निरन्तर परिवर्तन देखा
परिरहेको छ।
आफ्ना दैनिक यान्त्रिक जीवन
- चर्यामा हामीमाथि आरोपित कर्तव्यबाट केही समयका लागि अन्य
कार्यका लागि 'डेपुटेशन'
- मा पठाइएजस्तै केही उन्मुक्त अवकाश पाउँदा नै हामी जीवनको
पक्ष - विपक्ष, सङ्गत र असङ्गतबारे सोच्न थाल्छौं र स्वयंलाई
तिनीहरूसित 'एडजस्ट'
गर्ने कोसिश गर्छौं तर मूलभूत रूपमा मानिसले कतै पनि मुक्ति
पाउँदैन।
तिब्बतीहरूका सर्वोच्च
धर्मगुरु दलाई लामाले मीनव निर्मित सिद्धान्तको खण्डन - मण्डन
गर्नुभन्दा अघि त्यसको पूर्व पक्षलाई बुझ्नु आवश्यक रहेको
बताएका छन्। भारतीय मनीषीहरूले जीवनलाई 'माया'
भनेका छन् जसलाई अङ्ग्रेजीमा illusion,
नेपालीमा भ्रम, भ्रान्ति, मिथ्या विचार वा धारणा भनिएको
पाउँछौं। दलाई लामाले स्वीकार गरेका छन् कि
'माया' - लाई बुझ्नु अति
कठिन कार्य हो। त्यसको वशीभूत भएर मानिसहरू अनेक अशुभ कार्य
गरिरहन्छन्। संसारका समस्त वस्तुहरू एकार्काको सापेक्ष छन्,
कसैको आफ्नो कुनै स्वतन्त्र सत्ता छैन, सबै एकार्कामाथि निर्भर
छन्।
यात्रा - भ्रमणले हामीलाई,
हाम्रो वरिपरिको परिवेशप्रति, त्यसलाई बुझ्न सिकाउँछन्। म पनि
गत वर्ष नोभेम्बरमा दुइ साताको भ्रमणमा हिँडें। सिलिगुडीतिर
बसमा फ्रन्ट सिटमा बसेर आफ्नो वरिपरिको परिवेश, परिवेशले
जन्माएका सङ्गत - असङ्गत कुराहरूबारे सोच्दा - विचार्दा अनुभूत
विचारहरूलाई कलमबद्ध गरें - 'विचार'
- का पाँच किस्तीमा प्रकाशित यी संस्मरणहरू मुख्यत:
'स्वच्छता'
- माथि केन्द्रित थिए र आगामी संसमरमहरूमा पनि यसै विषयलाई
केन्द्रमा राखी आफ्ना अनुभवहरू लेख्नेछु। 'स्वच्छता'
- लाई मैले बहुआयामीय दृष्टिले हेर्ने र विचार्ने प्रयास गरेको
छु।
आदिकालदेखि मानिसले अनेक
भीर - भञ्ज्याङ नाघ्दै, मरुभूमि, नही, सागर, पहाड र अनेक बिघ्न
- बाधाहरूसित जुध्दै एक्काइसौं शताब्दीमा आइपुगेर आफ्ना
जीवनलाई सुखी बनाउन आफ्ना पराक्रम, बुद्धि, र ज्ञानले अनेक
साधन - सुविधाको निर्माण गरेर पनि सन्तुष्ट छैन। आदिमकालमा
मानिस अकृत्रिम जीवन बिताउँथ्यो, प्रकृतिमा सबथोक शुद्ध थियो,
तर मानवले नै यस शुद्ध, पवित्र प्रकृतिलाई यति दूषित गरिदिएको
छ कि पृथिवीमा मानिस कृत्रिम जीवन बिताउन अभिशप्त छ। हावा -
पानी दूषित छन्, खाने कुराहरूमा मिलावट छ, फल - सब्जीहरूमा
रसायनहरू छन्। हाम्रा शास्त्रहरूमा व्यक्तिलाई सबभन्दा प्रथम
आफ्नो शरीरको रक्षा गर्ने निदेश दिइएको छ।
'चरक संहिता' - मा भनिएको छ
- सर्वमन्यत् परितज्य शरीर मनुपालयेत् तद्भावे ही भावानां
सर्वाभाव: शरीरिणाम्।
अर्थात् सबै काम छाडेर,
सबभन्दा प्रथम शरीरको हेरचाहमाथि ध्यान दिएर, शरीरको रक्षा
गर्नु पर्दछ किनभने शरीर छ भने सबथोक छ, शरीर छैन भने केही
रहँदैन। शरीरलाई पूर्ण रूपले स्वस्थ बनाइराख्न आजको परिवेशमा
अति कठिन अभ्यास हो। हामीले अनेक उपाय गर्दा पनि यात्रावधिमा
बाटोमा क्षुधा मेटाउन केही न केही खानै पर्छ। यस्ता पसल, होटेल
र रेस्तुराँहरूका भान्सा घरहरूमा स्वच्छताका कति मानदण्डहरूको
पालन गरिएको छ, खाद्य सामग्रीको शुद्धताको जाँच कसले गर्ने?
कसमाथि यस जाँचको दायित्व छ, तिनीहरूले आफ्नो दायित्व निर्वहन
कसरी र कति मात्रामा गरिरहेछन्, भनिरहन पर्दैन।
मानवले आफ्ना पराक्रमले
अनेक सुविधा जुटाएर आफ्ना जीवनलाई एकातिर सुखमय बनाइरहेछन् भने
अर्कोतिर आफ्नै अविवेकले अनेक विसङ्गतिहरूलाई पनि
निम्त्याइरहेछन्। आज माटो, जल, अग्नि, इन्धन, वायु, वनस्पति,
ध्वनि आदि हर किसिमको प्रदूषणमा वृद्धि भइरहेछ। तर मलाई लाग्छ
सबभन्दा बढी प्रदूषण त मानसिक प्रदूषण हो किनभने मानवको मन र
बुद्धि नै असन्तुलित छन् र यसै असन्तुलनले नै प्रकृतिको सनातन
पर्यावरणमा असन्तुलन उत्पन्न भएर महाविनाशको पूर्व अभ्यास
भइरहेछ। आज अरूलाई दु:ख दिएर मानिस
आफ्नो सुख खोजिरहेछ। मनमा द्वेषको भावनाले पीडित दृष्टिकोण आज
सर्वत्र नकारात्मकता उत्पन्न भइरहेछ। यस्तो होइन कि यो आधुनिक
युगको देन हो। मानवसित जुन मन छ त्यसको विकास अर्बौं वर्षदेखि
हुँदै आएको छ। इतिहास मनका आक्रामकताले भरिएको छ। आदिमकालदेखि
युद्धहरूमा संलग्न रहेको मानवका मनमा आक्रामकता हावी रह्यो र
आजको तारिखसम्म यस आक्रामकतामा कुनै कमी आएको छैन बरू यो अझ
बढेर गएको प्रतीत हुन्छ। आत्मकेन्द्रिताले गर्दा मनको युद्ध आज
प्रत्येक स्तरमा - पारिवारिक, सामाजिक, जातीय, सामुदायिक,
राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा निरन्तर जारी छ। यस
आक्रामकताका बाह्य स्वरूपमा देखिने कारण भिन्दा - भिन्दै
हुन्छन्, तापनि मनोविज्ञानले यस भावनालाई एउटा व्यक्तिको अर्को
व्यक्तिको द्वेषको भावनाको रूपमा अर्थ लगाउँछ। आक्रामकताको यस
भावनाको विस्तार एउटा व्यक्तिको विरोधमा अर्को व्यक्तिदेखि
लिएर एउटा समूहको विरुद्ध अर्को समूह, एउटा समाजको अर्को समाज,
एउटा जातिको विरुद्ध अर्को जाति, एउटा धर्मको विरुद्ध
अर्को धर्म, यहाँसम्म कि एउटा देशको विरुद्ध अर्को देश हुन्छ।
यी सबै स्तरमा देखिने आक्रामकतामा जुन एक समान कुरा पाइन्छ
त्यो हो द्वेषको भावना। अनुचित ढङ्गले बढ्दै गइरहेको
जनसङ्ख्याको परिणामस्वरूप बेरोजगारी, बेकारी, गरीबी, दुर्दशा
तथा यस्तै प्रकारले राजनीतिक अस्थिरता एवम् मानवीय मूल्यहरूको
ह्रासको परिणामस्वरूप व्यक्तिगत, सामूहिक एवम् सामाजिक स्तरमा
व्यापक मात्रामा द्वेष भावनाले प्रवेश पाइरहेको छ जसको परिणति
आन्तरिक विद्रोह, सामूहिक मारपिट, हत्या, जातीय उपद्रव, लूटपाट
र युद्धहरूमा भइरहेछ। द्वेषकै कारण आज सहिषणुताको भावनामा कमी
आउँदै गएको छ, मानवीय संवेदनशीलतामा ह्रासका कारण मानव र
प्रकृतिको सनातन सम्बन्धमा आएको असन्तुलनले नै पर्यावरणीय
समस्याहरू जन्माएको छ।
संयुक्त राष्ट्र सङ्घ
(यू.एन.ओ) - ले वर्ष 2009 - मा विश्व स्वास्थ्य वर्ष घोषित
गरेको थियो। प्रख्यात शिक्षाविद् एवम् लेखक कृष्ण कुमारले यस
घोषणालाई लिएर यस प्रकारले टिप्पणी गरेका थिए - कुनै
वर्षलाई कुनै समस्यासित मात्र जोड्नाले कति फरक पर्छ भन्ने
कुराको अनुमान लगाउनु कठिन छ तर यस परम्पराअन्तर्गत वर्ष 2008
- को नामाङ्कन अर्थहीन भन्न सकिँदैन। क्यान्सर, एड्स, पर्यावरण
र साक्षरताजस्ता चर्चिक सन्दर्भको स्थानमा यसपल्ट संयुक्त
राष्ट्रले स्वच्छताजस्तो पुरानो, वास्तवमा विलुप्तप्राय:
विषय चुनेको छ। वर्षको शुरुआत भर्खरै भएको हुनाले स्वच्छताको
चिन्ताको परिधिमा कुन - कुन कुरा समेटिएको छ, कुन - कुन
विषयलाई अदृश्य अथवा अमूर्त मानेर नजरअन्दाज गरिनेछ भन्ने
कुराको अनुमान लगाउन कठिन छ। अस्वच्छता अखवा
'फोहोर'
- को चिन्ता केवल गरीबहरूको सन्दर्भमा गरिने अथवा धनीको
अस्वच्छतामाथि पनि यत्किञ्चित विचार गरिनेछ?
अस्वच्छताको यस वैश्विक वर्ग - विधानको खुलासा गर्नभन्दा अघि
एउटा लघु राष्ट्रिय तलाशी गर्नु उचित होला। राष्ट्रपिता भनिने
व्यक्तित्वद्वारा अनुशंसित भए तापनि स्वच्छता भारतको राष्ट्रिय
प्राथमिकतामा सामेल हुनसकेको छैन।
स्वच्छता केवल व्यक्तिगत
स्वच्छता नभएर परिवेशको स्वच्छता पनि हो। गान्धीले सरल, सादा
जीवनमाथि महत्व दिए र यस्तो जीवन - पद्धति अपनाउने कुरामाथि
जोड दिए जसले प्राकृतिक संसाधनहरूमाथि कमभन्दा कम चाप परोस्।
तर यस वर्तमान युगमा गान्धी कहां छन्?
गान्धीले मानवको समग्र चिन्तन, व्यवहार र आचरणलाई स्वच्छ,
द्वन्द्वमुक्त, शान्त, अरूप्रति हिंसाको भावनाले मुक्त हुने/
बन्ने गरेका थिए र जीवनपर्यन्त आफ्नो यस विचारलाई व्यावहारिक
रूपमा अनाएर विश्वलाई देखाइदिएका थिए।
महात्मा गान्धी एकजना यस्ता व्यक्ति थिए, जसको एउटा आह्वानले
देशका करोडौं जनता आफ्ना ज्यान दिन तम्त्यार हुन्थे तर आज किन
गान्धीको समग्र दर्शनलाई लत्याएर सर्वत्र मानसिक दुर्गन्ध छ,
अहिंसा छ, प्रकृतिप्रति संवेदनशून्यता छ। तपाईं, हामी
सबैलाई जीवनको हर क्षण यस्ता परिस्थितिहरूको सामना गर्नपर्छ
जहाँ स्वयम केवल असहाय एवं मूक दर्शक बनिरहनु बाहेक अर्थोक
केही गर्न सक्दैनौं। भारतजस्तो विशाल - विकराल भनौं, देशमा
यात्रावधिमा हामी पाइला - पाइलामा नचाहे पनि यो सबथोक हेर्छौं,
स्वयं यस्ता काम कुरा गर्छौं, बिगार्नमा सहयोग गर्छौं किनभने
तपाईंले कल्पना गरेको स्वच्छताको लोक केवल तपाईंको कल्पनामा
मात्र छ। हाम्रो प्रत्येक कार्य - कलाप प्रकृति विरुद्ध छ।
एकसय वर्षमा मानव जीवनलाई सुखद एवं स्वस्थ बनाउने साक्षी रहेका
वैज्ञानिक प्रौद्योगिकी र त्यसको काखबाट उब्जेको उपलब्धि आज
प्रकृति र मानवका लागि खतरा बनिसकेका छन्। गान्धीजी स्थानीय
स्तरमा सूक्ष्म र लघु उद्योगहरूका समर्थक थिए तर गान्धीपछि
तिनैका तथाकथित अनुयायीहरू बहुराष्ट्रिय कम्पनीहरूका दलाल हुन
पुगे र देशलाई तथाकथित 'विकास'
- को 'पथ'
- मा डोर्याउन देशकै संसाधनहरूमाथि कब्जा गर्न ती कम्पनीहरूलाई
एकाधिकार प्रदान गर्न थाले। आज देशको कुनै भागमा जानुहोस्,
चारैतिर विभिन्न प्रकारका 'कचरा'
- ले देशलाई ढाक्न थालेको छ। यहाँसम्म कि देश विश्वभरिको हर
किसिमको कचराको 'डम्पिङ ग्राउण्ड'
बन्दै गइरहेको छ।
हर किसिमको
प्रदूषणको हामी
चारैतिर सामना गरिरहेका छौं, हर पल, हर क्षण, हर ठाउँ।
गान्तोकदेखि सिलिगुडीसम्मको करिब 115 किलोमिटरको राष्ट्रिय
राजमार्गमा आज दिनहौं हजारौं वाहनहरू गुड्छन्। गत दुई दशकदेखि
सिक्किममा वाहनहरूको अत्यधिक वृद्धि भएर गएको छ। विकासको
आधारभूत आवश्यकता रहे तापनि वाहनहरूको वायु प्रदूषण बढाउनमा
अहम् भूमिका हुन्छ। यो एक प्रकारले आजको 'नेसेसरी
इभिल' हो आवागमनको आवश्यक साधन
हुनाकारण विकास र गति एकार्काका पर्याय हुन्, यसको अस्तित्व
आधुनिक विकासको एउटा अविभाज्य अङ्ग बनिसकेको छ। गान्तोकदेखि
सिलिगुडीसम्मको राष्ट्रिय राजमार्ग 31 - ए मा दिनहौं गुड्ने
विभिन्न प्रकारका वाहनहरूमा प्रयोग गरिने डिजेल र पेट्रोलबाट
हुने प्रदूषणबाट वातावरण कति प्रदूषित भइरहेछ, र त्यस
प्रदूषणले प्रकृति र मानव स्वास्थ्यमाथि कति प्रतिकूल प्रभाव
पारिरहेछ, त्यसको आकलन त यस क्षेत्रको कुनै शोध संस्थानले नै
गर्नसक्छ तर आम नागरिकको हैसियतमा यस्ता प्रश्नहरूले हामीलाई
पिरोलिरहेका हुन्छन्।
बसको फ्रन्ट सीटमा बसेको
छु। मेरो मथिङ्गल यी कुराहरूलाई लिएर उद्वेलित छ। सिक्किमको
सन्दर्भमा यस पर्वतीय तथा अपेक्षाकृत धेरै कम प्रदूषित राज्यमा
स्वास्थ्य र स्वास्थ्यसित अविच्छिन्न रूपले जुडेको
स्वच्छताप्रति सरकारी प्रयासको राष्ट्रिय एवम् अन्तराष्ट्रिय
स्तरमा प्रशंसा भएको छ। यसका लागि सिक्किमको वर्तमान
नेतृत्वलाई श्रेय जान्छ तर यतिमै यो भन्न सकिँदैन कि यो स्थिति
भविष्यमा पनि कायम रहनेछ किनभने बढ्दो जनसङ्ख्या,
'फ्लोटिङ्ग पपुलेशन',
पर्यटन क्षेत्रमा बढोत्तरी आदिलाई मध्यनजरमा राखेर राज्यलाई
प्रदूषणमुक्त राख्ने सरकारी, गैर - सरकारी र निजी स्तरमा
प्रयासमा निरन्तरता आजको अनिवार्यता बन्न गएको छ। सिक्किममा
वाहनहरूको बढ्दो सङ्ख्याकै परिप्रेक्ष्यमा यो प्रश्न उठ्नु
स्वाभाविक हुन जान्छ कि वाहनहरूमा प्रयोग हुने डिजेल र पेट्रोल
मिलावटी त छैन - यसबारे जाँच गर्ने कुनै पाइला सरकारी
तन्त्रबाट उठाइएको थाहा छैन। यो यस कारण किनभने मिलावटले बढी
प्रदूषण फैलाउंछ। हालैको छापामा डिजेल र पेट्रोलमा देशभरि
मिलावट गर्ने एउटा शक्तिशाली नेटवर्क सक्रिय रहेको खबर पढ्नमा
आएको थियो।
परमात्माले पृथ्वीमा
प्राणीभन्दा पहिले प्रकृतिलाई बढ्न, फल्न - फुल्नमा सहायता
गरे, सम्भवत: यसैकारण ताकि
प्रकृतिको भरमा प्राणी मात्र प्रगति गर्न समर्थ हुनसकोस्। यसै
कारण भारतीय संस्कारमा प्रकृतिलाई 'माता'
भनिएको छ। प्राकृतिक तत्व रूख - पात, नदी तथा सागर सबैलाई
ईश्वरीय शक्तिसम्पन्न जीवनधारा मानेर पूज्यनीय मानिएको छ।
म अहिले न्यू जलपाइगुडी
रेलवे स्टोशनको अप्पर क्लास वेटिङ रूममा बसेको छु। रेलको
आविष्कार प्रौद्योगिकीको अद्भुत र क्रान्तिकारी आविष्कार हो।
भारतजस्तो विशाल र विकासशील देशलाई गत एक शताब्दीदेखि त्यसको
विकासलाई गति प्रदान गर्ने दिशामा रेलले महत्वपूर्ण भूमिका
खेल्दै आएको छ। प्रतिदन करोडौं सङ्ख्यामा मानिसहरू रेलद्वारा
यात्रा गर्छन्। सार्वजनिक उपक्रमको यस विशालतम जनसेवाको
प्रबन्ध - व्यवस्था पनि एउटा जटिल तन्त्र हो जसमा प्रतिदिन
रेलका कम्पार्टमेन्ट र प्लेटफार्महरूको सर - सफाइ र स्वच्छताको
प्रबन्ध - व्यवस्था एउटा निरन्तर जारी रहने प्रक्रिया हो तर
उच्च श्रेमीका कम्पार्टमेन्टहरू होऊन् अथवा अन्य श्रेणीका-
तीभित्र सर - सफाइको व्यवस्था के कस्तो छ, त्यसबारे रेलमा
यात्रा गर्ने यात्रीहरूलाई तिनीहरूले भोगेका यन्त्रणाबाट अवगत
भएकै कुरा हो।
गत केही वर्षदेखि एनजेपी -
को यस वेटिङ रूममा ट्रेनको प्रतीक्षा गर्दा बस्ने सौभाग्य अथवा
दुर्भाग्य मजस्तै असङ्ख्य मानिसहरूलाई प्राप्त भएकै हो। उच्च
श्रेणीको यस प्रीक्षीलयमा रहेको शौचालयको दुरावस्थामा गत केही
वर्षदेखि कुनै सुधार देखा परेको छैन। तीनचार वर्षअघि यस सानो
कोठामा दुइवटा टेबल थिए जो अब गायब छन्। केही चौकीहरू भत्किएका
छन्।
अन्य रेलवे जंकशनहरूमा पनि
प्राय: यस्तै स्थिति छ। जिज्ञासावश
यस विषयमा सोधपुछ गर्दा के थाहा भयो भने भोजन, सर - सफाइ आदिको
व्यवस्था ठिकामा दिइने प्रचलन रहेछ। स्पष्ट छ सार्वजनिक
स्वास्थ्यप्रति यस्ता नाफाखोर ठिकादारहरू कतिसम्म संवेदनशील
होलान्। एसी कोचहरूमा पनि फोहोर - मैला मानिसहरूलाई चिया -
चमेना बेच्ने अनुमति कसले दिन्छ??
जबकि यसको व्यवस्था तथाकथित ठिकादारले गरेको हुनुपर्ने!
सोधपुछ गर्दा यसमा पनि निम्न स्तरदेखि उच्च स्तरसम्मको
तन्त्रको 'शेयर'
हुन्छ। यात्रीहरूलाई बेचिने खानेकुराको गुणवत्ता र
शुद्धताप्रति रेल प्रशासन उदासीन छ। विदेशका रेलहरूमा कुन्नि
कस्तो व्यवस्था छ, मलाई थाहा छैन तर भारतमा रेल दिनहौं लाखौं
टन मानव मल लाखौं किलोमिटरमा बिछाइएका रेल ट्रेकहरूमा
फ्याँकिरहेछ किनभने रेलवे टयलटहरूबाट मानव मल सोझै ट्रेकमा
खस्छ। हाम्रो देशका वैज्ञानिकहरूले यस बुँदामाथि गम्भीर चिन्तन
गर्नुपर्ने आवश्यकता छ। सायद 'सुलभ'
- ले सोचेको होला। तपाईं पनि सोच्नुहोला!
म गत नौ सातादेखि भारतमा
स्वच्छतालाई लिएर गम्भीर चिन्तनमा व्यस्त रहें। घरदेखि बाहिर
यात्रामा हुँदा म प्राय: यस्ता
कुरामाथि सोच्न थाल्छु किनभने यात्रा गर्दा सहयात्री नहुँदा
अपरिचितहरूसित हत्तपत्त परिचय साट्ने मेरो स्वभाव छैन। म मौन
बसेर नै काट्छु यात्राको समय।
उत्तरपूर्व भारतदेखि उत्तर
- पश्चिमको नोभेमबर महिना सन् 2010 - को रेल यात्राले
स्वच्छतासम्बन्धी यस्ता विसङ्गतिहरूसित म सम्मुखिन पुगें।
लेख्ने प्रयास गरें। भारत एउटा यस्तो देश हो जसमा कतिपय
क्षेत्र - प्रदेशहरू सफा - सुग्घर छन्। सिक्किम र हिमाचल
प्रदेशजस्ता राज्यहरूका सरकारहरूले पोलिथिन र प्लास्टिकजस्ता
जैविक रूपमा नष्ट नहुने पदार्थहरूमाथि वर्षौंअघि प्रतिबन्ध
लगाएर बुद्धिमत्ताको परिचय दिएका थन्। त्यहाँका शासन -
व्यवस्थाहरू र नेतृत्व दिने राजनेताहरूका प्रयासले परिवेशलाई
प्रदूषममुक्त राख्ने प्रशंसनीय कार्य भएका छन् र त्यसलाई
निरन्तरता दिइरहेका छन् तर कतिपय राज्यहरूमा शासन - व्यवस्था
यस दिशामा उदासीन छ।
यो एउटा अति जटिल विषय
बन्दै गयो जति - जति म रेल यात्रावधिमा जनसाधारणका
स्वास्थ्यप्रति गरिएको हेलचेक्राईंको पराकाष्ठासित सम्मुखिन
पुगें, एक प्रकारको निराशाले पनि मलाई अँठ्याउन थाल्यो। हामी
हाम्रो देशबाट यस्ता प्रकारका अवहेलना कहिलेसम्म सहन गर्ने हो,
यस प्रश्नले हामीलाई पिरोलिरहेको छ।
फर्केपछि आफ्ना अनुभव
कलमबद्ध गर्ने कोशिश गरें। अब यात्रा वृतान्तलाई जारी राख्न
सकिनँ किनभने फोहोर - मैलाले निस्सासिन थालेकोछु - स्वच्छ
हावामा सास फेर्न चाहन्छु। (अक्टूबर 2011)
मलबाँसे:
एक अवलोकन
गहर उदासी
वरिपरिबाट
अग्ला - अग्ला पहाडहरूले घेरिएको छ। यी पहाडहरू टाढाबाट हरिया
कुञ्जझैं देखिन्छन्। एउटा कलाकारले रङ्ग पोतेको क्यानभास हो
यो। यी पहाड हरिया चुचुरातिर यसका वक्षस्थलभरि रहेका शान्त र
बाक्ला जंगलभित्र लुप्तप्राय: भएर
बसेका छन् - च्याखुङ डाकबंगला (अङग्रेजहरूको निसानी), च्याखुङ
गुम्बा - युगौं - युगौं पुरानो इतिहासको निसानी, रूपसाङ
प्राथमिक पाठशाला - एक दशकअघि मात्र स्थापित एउटा विद्या
मन्दिर।
यी वनभित्र ऋतुअनुसार अग्ला
- अग्ला रूखका हाँगामा रङ्गविरङ्गी सुनाखरीहरू बैंसले लच्किने
गर्छन्। आरू, पैंयुँ, चाँप, गुराँसहरू पराग बोकेर हाँस्ने
गर्छन्। प्रत्येक दिन एवं साँझ - बिहान बिउछर, गोठाले चराहरू
परिस्थिति, परिश्रम र समस्याहरूले थकित शरीर एवं आत्माहरूमा
शीतलता दिएर पुन: शक्ति प्रदान
गर्दै वन र गाउँको शून्यता चिर्ने गर्छन्। ढुकुरहरू आफ्नै
भाषामा बैंशालु गीत गाउने गर्छन्। न्याहुल आफ्नै गीतमा हृदयका
पीरहरू पोखाउने गर्छे। कुक्कु बारीको रहल - पहल अन्नहरू
टिपिखाएर यही वनभित्र लुकेर जिस्कन्छे - कुक्कु - कुक्कु...।
ग्रामीण युवायुवतीहरूले सुरिलो भाकामा वनै गुञ्जिने गरी
ग्रामीण गीत गाएको प्रत्येक दिन सुनिन्छ। हो, यही कलापूर्ण
पहाडको फेदीमा अवस्थित एउटा शून्य र शान्त गाउँ हो मलबाँसे।
वरिपरिबाट प्रकृतिले सुरक्षा दिएर राखेको गाउँ हो यो।
यस स्वर्गिक बस्तीको
स्थापना हुँदा यहाँ प्रशस्त मलिबाँस पाइँदा हुनन् र यो नामकरण
नेपाली समुदायले नै गरेका हुनन्। यसैले यो मलबाँसे भयो। यहाँ
अझ पनि नेपाली समुदाय नै बस्छन्। अहिले त यहां नाम दिन योग्य
त्यति प्रशस्त मलबाँस देखिएन सायद बड्दो जनसङ्ख्याले मासियो
होला।
पूर्वमा एउटा शान्त गाउँ
पक्कीगाउँलाई पहाडले नै छुट्याएर राखेको छ। पश्चिममा पश्चिम
सिक्किमको महकुमा अवं प्रगतिशील सोरेङलाई पनि एउटा अग्लो
पहाडले नै छुट्याएर राखेको छ। उत्तरमा पुराना काजी
ठिकादारहरूको अड्डा, एउटा ऐतिहासिक गाउँ - च्याखुङलाई पनि
अग्लो पहाडले नै छुट्याएर राखेको छ। दक्षिणमा सिक्किम र पश्चिम
बंगालको सिमाना भएर राम्भाङ खोला अनन्त गतिमा बगिरहन्छ। यो
सोरेङ निर्वाचन क्षेत्रभित्र पर्ने एउटा क्षेत्र हो।
गाउँको प्राय:
आधाजस्तो भाग छेत्रीहरू (विशेष भण्डारी, बस्नेत, चुहान र
कार्की) - ले ओगटेकाछन् भने आधाजस्तो भाग लिम्बूहरू (विशेष
खेवा, खजुम,हुक्पा आदि) - ले ओगटेका छन्। अँ, बीच - बीचमा राई,
मगर, बाहुन, दर्जी आदि जाति पनि सम्मिलित भएर बसेका छन्। तर ती
औंलामा गनिनसकिने सङ्ख्यामा छन्।
एक दशकअघिसम्म मलबाँसे
नचिनिने र नदेखिने एउटा बस्ती थियो। राजहठ, बालहठ र स्त्रीहठ
यी तीन हठहरूलाई टार्न सकिन्न रे। त्यसैले सरकारद्वारा मौवा
भीरजस्तो हेर्दा पनि रिङ्गटा चल्ने सोरेङ र मलबाँसे बीचको
भीरलाई तोडेर चौडादार सडक निर्माण गरिएपछि यो सडक मलबाँसे
गाउँलाई बीचबाट चिरेर जोरथाङतिर गएको छ। यसको छातीमाथि अब बस,
टाटा, जीप निर्धक्कसँग प्रत्येक दिन हिंड्ने गर्छन्। डाँडामाथि
उभिएर अवलोकन गर्दा यो सडक गाउँबीच सर्प हिंडेको आकारमा
देखिन्छ।
केही वर्षअघि यहाँका
नानीहरूले सोरेङ, च्याखुङ, पक्किगाउँ आदि पाठशालाहरू आएर साउँ
अक्षर सिक्नुपऱ्थ्यो तर अब यहाँ नै प्राथमिक पाठशाला स्थापित
भएको छ - मध्य गाउँमा यहाँका अभिभावकहरूले यो पाठशाला स्थापित
गर्न आर्थिक र शारीरिक सहयोग दिएको देख्दा मलबाँसेका
बासिन्दाहरूले विद्याको महत्व पूर्ण रूपले बुझेको प्रमाण
लाग्छ।
कृषि विभागद्वारा निर्मित
कृषि भवन यहाँको एउटा गहना हो। यहाँबाट किसानहरूले लाभ
उठाइरहेका छन्।
पञ्चायत घर यहाँको अर्को
उपलब्धि हो। सिलाइ - बुनाइ कारखाना पनि यहाँ स्थापित भएको छ।
रङ्गी - बिरङ्गी दरीहरू बुनेर कतिजनाले यहाँट जीवन निर्वाह
गरिरहेका छन्।
तीन हजारदेखि पांच हजारसम्म
उंचाइ भएको यो गाउँको बेंसीतिर धान, मकै, कोदो आदि प्रशस्त
मात्रामा उब्जन्छन् र लेकतिर गहुँ, जौ, फापर, कोदो, मकै आदि
अन्नहरू उब्जन्छन्। सुन्ताला, केरा, अन्बक, उखु, मेवा आदि
फलफूलहरू ऋतुअनुसार यहाँ प्रशस्त पाइन्छन्। सुन्ताला र अदुआ
यहाँबाट निकासी गरिन्छ र नून, तेल, दाल, कपडाहरू पैठारी
गरिन्छ। यहाँ गरीबहरू धेरै मात्रामा छन् भनूँ भने पनि कुल्ली
काम गर्न पर्ने बाध्यतामा पनि कोही छैनन्।
यहाँ मरौ - परौमा, बिहे -
बटुलामा एवं पूजा - आजा आफ्ना - आफ्नै जातीय रीति -
रिवाजअनुसार गरिए तापनि दशैं - तिहार, चैते दशैं, माघे
संक्रान्ती आदि महान पर्वहरू जनसाधारण रूपमा मनाइन्छन्। यसैले
यहाँ जातीय संस्कृतिको वैभिन्यतामा पनि आत्मीय एकता छ।
यहाँबाट प्रशस्त पढा -
लेखाहरू सरकारी नोकरी गर्दैछन्। यदि मैले भूल गरिनँ भने प्रथम
टोलीका सिक्षित र नोकरीदारहरू हुन् सर्वश्री नरबहादुर भण्डारी
(सिक्किमका वर्तमान मुख्यमन्त्री), एस.आर. सुब्बा (डि.ई.),
तीर्थबहादुर सुब्बा (ओ.एस.) र धनध्वज सुब्बा (हेड एकान्टेन्ट)।
यहाँका सामाजिक
संस्थाहरूमध्ये 'लिम्बू समाज'
र 'नारी समाज'
नै सामाजिक कार्यहरूमा संलग्न छन्।
सिक्किमका दुइ - दुइपल्ट
मुख्यमन्त्री चुनिएका व्यक्ति श्री नरबहादुर भण्डारी मलबाँसे
गाउँमै जन्मिएका हुन्। प्रथम लोकसभामा पुग्ने नेपाली नारी यसै
गाउँकी बुहारी हुन् - श्रीमती दिलकुमारी भण्डारी। सम्पूर्ण
सिक्किममा भोटे - लाप्चे - नेपालीलाई एक सूत्रमा बाँध्ने
सिक्किमका एकमात्र रक्षक श्री नरबहादुर भण्डारी मलबाँसेका
आफ्नै छोरा हुन्। त्यसर्थ, मलबाँसेले सारा सिक्किमलाई केही
दिएन? सबकुछ दियो। धन्य मलबाँसे।
सिक्किमका अन्य गाउँहरूले तिमीले झैं छोराहरू जन्माऊन्।
(अर्चना
जून 1990 - बाट साभार, सम्पादक - नरबहादुर भण्डारी, सिक्किम)
अगस्त 2011
हामी लाहुरेका सन्तान -
'लाहुरे'
कसरी?
महानन्द पौड्याल
लाहुरेको रेलीमाई फैसनै राम्रो
रातो रुमाल रेलीमाई खुकुरी भिरेको
अथवा
हामीलाई देख्दा झस्किन्छे
लाहुरेलाई देख्दा मस्किन्छे -
भनी अमर गायक मित्रसेन अथवा तामाङ
सेलोका राजा कुमार बस्नेतका उपर्युक्त गीतमा प्रयुक्त
'लाहुरे'
शब्दको व्युत्पत्ति के हो, त्यो थोरैलाई मात्र थाहा छ।
वास्तवमा हाम्रो नेपाली जातिलाई विश्वका धेर जसो राष्ट्रले
प्रसिद्ध गोर्खा फौजको नाताबाट चिन्दछन्। अरू त हामीले
कुनचाहिँ वीरता प्रदर्शन गरेका छौं र त्यसको सम्पूर्ण विश्वमा
तारीफ होस्। अँ, विश्वको सर्वोच्च पर्वत शिखरमा सर्वप्रथम
पुग्ने श्रेय़ पनि एक नेपाली सपूतलाई प्राप्त भए तापनि हामी
विशेष गरी गोर्खा सैन्यकै नाउँले विश्वमा प्रख्यात छौं। गोर्खा
सैन्यका ती जवानहरू 'लाहुरे'
नाउंले पुकारिन्छन्, आफ्नो देश र जातिका बीचमा।
साधारण अर्थमा नेपालबाट ब्रिटिश सेना वा
भारतीय फौजमा गई भरना हुने जवानहरूलाई 'लाहुरे'
भन्ने चलन छ। यो शब्द कसरी नेपाली शब्दकोशभित्र पस्यो, त्यसको
कथा रोचक छ।
अठाह्रौं शताब्दीको द्वियार्ध तथा
उन्नाइसौं शताब्दीका प्रथम डेढ शतकतिर नेपाल आफ्नो सामरिक
शक्तिको पराकाष्ठामा पुगेको थियो। यसले आफ्ना सीमाना पूर्वमा
टिस्टा र पश्चिममा सतलज नदीसम्म बढाएका थिए। गंगाको समतल
भूमिको ठूलो क्षेत्र पनि यसको अधिकारमा थियो। पाहाड खण्डमा
यसरी नेपालको दबदबा थियो भने मधेसतर्फ अङ्ग्रेजी शक्ति उर्लेको
थियो। सम्पूर्ण भारतवर्षमाथि कब्जा जमाउने उसको लक्ष्य पूर्ति
हुनै लागेको थियो। हुँदा - हुँदा यस्तो पनि दिन आइपुग्यो, जब
यी दुई शक्तिहरू आपस्तमा भिडिन पुगे। यो भिडन्त 1814 ईस्वीमा
शुरू भएर 1816 मा समाप्त भयो। यस युद्धमा नेपाली सैन्यले पूर्ण
पराक्रमसित युद्ध गरेर अङ्ग्रेजी शक्तिको एकपटक पूरै जग
हल्लाइदियो, तापनि सङ्ख्या र साधनको धनी अङ्ग्रेजी शक्तिको
सामुन्ने नेपालको शक्ति टिक्नसकेन। मार्च 3, 1816 मा दुवै
देशका बीचमा सुगौलीको अपमानपूर्ण सन्धि भयो, जसमा नेपाली
शक्तिको पूर्ण रूपमा हत्या गरियो। यसले जितेका क्षेत्रहरू
फिर्ता दिनुपऱ्यो अनि मेचीदेखि महाकालीसम्मको बीचको वर्तमान
सीमानाभित्र सीमित भएर रहनुपऱ्यो।
वास्तवमा सुगौली सन्धि काठमाडौबाट
लादिएको थियो र युद्ध क्षेत्रमा प्राणोपनले युद्ध गर्ने
सेनापतिहरूसित परामर्श गरिएको थिएन। यसो हुँदा वीर सेनानी
अमरसिंह थापा, बलभद्र थापा, रणजोर थापाजस्ता स्वाभिमानी
पुरुषहरूका हृदयमा ठूलो वज्रपात भयो। अमरसिंह थापाले विषपान
गरेर त्यस सन्धिको विरोध गरे। बलभद्र चाहिँ आफ्नो प्राणभन्दा
प्यारो जन्मभूमिलाई सधैँका लागि त्यागी पञ्जाबका काना राजा
रणजीत सिंहको फौजमा सेनापति बन्न लाहौर पुगे। तिनताक लाहौर
पञ्जाबको राजधानी थियो। उनकै जस्तो स्वाभिमान भएका धेरै
सिपाहीले पनि उनको पिछा गरी सिख सेनामा भरना भए। यसरी बलभद्र
थापाले लाहौरमा गई विदेशी फौजमा भरना भएपछि यो क्रम चलिरह्यो।
लाहौरमा यसरी धेरै गोर्खा सिपाहीहरू गई भरना भई नै रहे। पछि त
नेपालबाट गएर भारतको जुनै पनि भरती केन्द्रमा भरती भए पनि ती
'लाहुरे'
नाउँले नै प्रचलित हुन थाले। यसरी पल्टनमा भरना हुनलाई जानुलाई
लाहौर जानु र भरना भएकाहरूलाई लाहुरे भन्ने चलन बस्यो। धरानको
घोपा ब्रिटिश भरती केन्द्रमा भरती भई मलाया र फकल्याण्ड जाने
सिपाही होस् तथा दार्जिलिङको कटपहाड, जलपहाडमा भरती भई लद्दाख
र नेफामा गई नेपाली (गोर्खा) सिपाही, सबै नै
'लाहुरे'
नै कहलाइन्छन्। सम्पूर्ण नेपाली जाति नै लाहुरेको जाति।
(आकाशदीप, 15 अगस्ट 1982 - बाट
साभार) - जुलाई 2011
एकांकी
गुरु गोरखनाथका तीन चामल
उदय ठाकुर
पात्र
राजमाता:
7 वर्षकी तेजस्विनी राजमाता
गोपीचन्द्र:
50 वर्ष, राजा
( सुन्दर वैभवपूर्ण बौठक कक्ष,
भित्ताहरूमा देवी - देवताहरूका चित्र टाँगिएका छन्। एक स्थानमा
गुरु गोरखनाथको तपस्यामा लीन ठूलो चित्र छ। राजमाता कक्षमा
बसेर माला हातमा लिएर जप गर्दै हुनुहुन्छ। एक छिनपछि राजा
गोपीचन्द्रको बैठक कक्षमा प्रवेश हुन्छ)
राजा गोपीचन्द्र - (हात
जोडेर) पूजनीया मुमा हजुर दर्शन पाऊँ। हजुरले मलाई के
प्रयोजनले याद गरिबक्सियो। आज्ञा होस्। म हाजिर छु।
राजमाता - (आशीर्वादको
मुद्रामा हात माथि उठाएर गम्भीर स्वरमा) छोरा सिद्ध महात्मा
गुरु गोरखनाथ भ्रमण गर्दै हाम्रो राज्यलाई पवित्र गर्न आएका
हुन्। मैले उनीसँग भेट गरें अनि उनीसँग धर्मका उपदेश स्मरण
गरें। छोरा! सिद्ध महात्मा लोक
कल्याण व्रत लिएर घुम्दै छन्। तिमीले पनि उनको यस कल्याणकारी
काममा सहयोग दिनु आवश्यक छ।
राजा गोपीचन्द्र -
(क्षद्धाले टाउको निहुराएर) मुमा मेरो लागि के आज्ञा छ?
राजमाता - छोरा!
देश र समाजको कल्याणको निम्ति तिमी परम पूज्यनीय गुरु
गोरखनाथलाई आफ्नो पथ - प्रदर्शक मानेर राजपाठ त्यागेर सन्यासी
जीवन बिताऊ। नि:स्वार्थ भावले लोक
सेवा गरेर आफ्नो मानव जीवनलाई सार्थक बनाऊ। यही नै मेरो
तिमीप्रति कामना छ।
(मुमाको कामना शिरोधार्य गरी
राजा गेपीचन्द्र साधु भए, राजसी वस्त्रको सट्टा गेरुआ वस्त्र
धारण गरे अनि गुरु गोरखनाथसित दीक्षा लिएर राजमहलमा भिक्षाका
निम्ति आए)
गोपीचन्द्र - (साधु
वेषमा) गुरु गोरखनाथको जय होस्। मुमा भिक्षा पाऊँ।
(गोपीचन्द्रले भिक्षापात्र
राजमाताको सम्मुख गरे)
राजमाता -
(भिक्षापात्रमा तीन चामलका दाना हालेपछि मर्जी भयो) छोरा, तिमी
नयाँ संसारमा प्रवेश गर्दैछौ, यसका लागि मेरा तीन शिक्षाहरू
गाँठो पारिलेऊ। मैले यसै कारण तिमीलाई यी तीन चामलका दाना
दिएकी हुँ।
राजा गोपीचन्द्र - मुमा
हजुरको शिक्षा मेरो निम्ति आशीष बराबर छ। यसलाई म जन्मभरि पालन
गर्नेछु। नि:संकोच होइबक्सियोस्।
राजमाता - छोरा!
पहिलो चामलको अभिप्राय यो छ कि तिमी शत्रुहरूबाट
सुरक्षाको निम्ति दुर्गमा निवास गर्नू।
राजा गोपीचन्द्र -
(आश्चर्यचकित भएर) मुमा म त दुर्ग त्यागेर कुटीमा निवास गर्न
जाँदैछु, सन्यासीले कहाँ दुर्गमा निवास गर्छ?
राजमाता - छोरा,
तत्वलाई बुझ। तिमीले आफ्नो आत्मालाई नै काम, रिस, मोह, लोभ
भन्ने शत्रुबाट रक्षा गर्नु छ। यसका निम्ति उत्म विचार, संयम,
सदाचार अनि अनुशासनको शस्त्र नै काम आउने छ। मनको दुर्ग बलियो
भए मात्र चारवटा शत्रुहरू भित्र पस्ने प्रयास निष्फल हुन्छ।
राजा गोपीचन्द्र -
मुमा, हजुरले दिनुभएको यो भिक्षा मैले मुटुमा बसालें। अब
दोस्रो चामलको रहस्य पनि बुझाइबक्स्ने अनुरोध छ।
राजमाता - (खुशी भएर)
छोरा! दोस्रो चामलको दानाको रहस्य
सुन। तिमी पहिले जस्तै नै स्वादिष्ट भोजन गर्नू।
राजा गोपीचन्द्र -
(अचम्म मानेर) अलिक विस्तारले बुझाइबक्सियोस् मुमा।
राजमाता - (मुसुक्क
हाँसेर) मेरो भन्नुको अभिप्राय यो छ कि नित्य परिश्रम गरेपछि
नै भोजन गर्न बस्नू। यस दशामा साधारण भोजन पनि राम्रो अनि
स्वादिष्ट लाग्छ।
राजा गोपीचन्द्र -
(निश्चित भएर) मुमा! मैले हजुरको
दोस्रो भिक्षालाई पनि आन्तरिक मनले स्वीकार गरें। अब तोस्रो
चामलको दानाको रहस्य पनि बुझाएर कृतार्थ गरिबक्सियोस्।
राजमाता - छोरा!
सधैँ कोमल अनि सुखदायक ओछ्यानमा मिठो निद्रा सुत्नू।
राजा गोपीचन्द्र -
(हक्क न बक्क परेर) मुमा, म राजवैभवदेखि टाढा जाँदैछु।
एक सन्यासीलाई यस्तो ओछ्यानको के आवश्यकता?
हजुरको यस ज्ञानमा कुनै ठूलो रहस्य लुकेको छ कि?
राजमाता - तिमी वन वा
गाउँ जतासुकै रहे पनि सधैँ आफ्नो नित्य कर्म राम्रो गरी
सम्पन्न गर्नू। यसले तिमीलाई थकाइदिनेछ। थाके मात्र सुत्ने काम
गर्नू। यसले तिमीलाई अति मिठो निद्रा आउनेछ अनि ढुङ्गा हो, वा
भुईँ सबै कोमल अनि सुखदायक लाग्नेछन्।
राजा गोपीचन्द्र -
(तीनै चामलका दाना लुगामा गाँठो पारेर राखेपछि) मुमा, अब म
जीवनको नयाँपथमा जाँदैछु। आशीर्वाद पाऊँ।
राजमाता - मेरो
आशीर्वाद तिमीसँग सधैँ रहनेछ, छोरा।
(राजा गोपीचन्द्र
'जय गुरु गोरखनाथ'
भन्दै फर्कन्छन्)
पटाक्षेप
(जून 2011)
स्पन्दन
भानुप्रकाश मार्मिक
स्पर्श
नै जिन्दगी। धन्य स्पर्श स्मृतिपटलभरि यसरी
कसरी धानिरहेछु कि?
कसो?
नत्र!
अन्यथा जीवनी जीवन्त म को हुँ र?
कहाँ छु र?
कसरी हुँ।
अन्यथा जीवन धान्नु नै सर्वेसर्वा
ठानिनु पर्ने हो कि?
जीवनी:
रसे: रूपे:
गन्धे: स्पर्शे:
योगिनी।
अखण्ड अखण्ड गृहवासिनी।
न त म कालीमाटी भएर मेटिन सकें, न त
म स्पन्दन
यही माटो स्वाभिमान खोज्न सकें।
किनकि, म त फगत:
त्यही रबिन्सन क्रूसो न
ठहरिन्छु - (?)
कालातीत दुर्घटनाग्रस्त कुनै टापुमा
बाँच्न बाध्य थिएँ।
फगत: म
भूपरिवेष्ठित टापुमा कुन्नि कसरी जीवन
धान्न विवशित बाँचिरहने रबिन्सन
क्रूसो मात्र न हुँ।
(मई 2011) - स्पन्दन,
सिक्किम विशेषाङ्क 2011 बाट साभार)
विश्वका डेढ अर्ब मानिस
हिंसाले प्रभावित
विश्वका
डेढ अर्ब मानिसहरू ती देशहरूमा बसोबासो गर्छन् जहाँ हिंसाको
दुष्चक्र चलिरन्छ। यो खुलासा विश्व ब्याङ्कले आफ्नो एउटा
हालैको सर्वेक्षणमा गरेको छ। यसको परिणामस्वरूप ती देशहरूमा
भोकमरीको दर अन्य देशका तुलनामा 20 प्रतिशत बढी हुन्छ भनी
सर्वेक्षणमा बताइएको छ।
"विश्व
विकास प्रतिवेदन - 2011 - सङ्घर्ष, सुरक्षा र विकास"
नाउंले तयार पारिएको विश्व ब्याङ्कको यस प्रतिवेदनमा
भनिएको छ कि आर्थिक, राजनीतिक र सुरक्षाजस्ता समस्याहरू
विकासको गतिमा अवरोध उत्पन्न गर्छन्। नागरिकहरूको सुरक्षा,
न्याय र जीविकालाई सुदृढ बनाउन र शासन व्यवस्थामा सुधारजस्ता
कार्यहरू यी समस्याहरूका समाधान हुनसक्तछन्। प्रतिवेदनमा मुख्य
रूपले के बताउने प्रयास गरिएको छ भने सङ्घर्ष र हिंसा कसरी
कुनै देशको आर्थिक विकासमाथि प्रभाव पार्छन् र विभिन्न देशहरू
कसरी यी समस्याहरूका समाधान गर्नमा सफल अथवा असफल हुन्छन्।
विश्व ब्याङ्कले विकास
कार्य गर्ने संस्थाहरूलाई हिंसाको स्तर अधिक रहेका देशका
मानिसहरूको सुरक्षामा बढी ध्यान दिने आग्रह गरेको छ। विश्व
ब्याङ्कका अध्यक्ष रबर्ट बी. जोएलिकले वाशिन्गटनमा 11 अप्रिलका
दिन प्रतिवेदन सार्वजनिक गरेपछि भने, "
हामी यदि हिंसाको दुष्चक्रलाई समाप्त गर्छौं र यसका
कारणहरूमाथि नियन्त्रण गर्छौं भने देशहरूलाई बढी वैध,
उत्तरदायी र सक्षम राष्ट्रिय संस्थाहरूको विकास गर्नुपर्नेछ
जसले नागरिकहरूलाई सुरक्षा, न्याय र जीविका उपलब्ध गराऊन्।
जोएलिकले भने, "हिंसाले प्रभावित
देशहरूमा जति बालबालिकाहरू छन्, तिनीहरूको अल्पपोषण हुने र
स्कूल जानु अक्षम हुने प्रबल सम्भावना हुन्छ। एउटा देशको हिंसा
छिमेकी देशमा पनि फैलनसक्छ र त्यस्तै विश्वका अन्य भागहरूमा
पनि। यस कारण हिंसाले प्रभावित देशका साथसाथै समस्त क्षेत्रका
आर्थिक क्रियाकलाप प्रभावित हुन सक्छन्, जोएलिकले बताए।
21 औं शताब्दीको संगठित
हिंसा युवा बेरोजगारी, आम्दानीमा कमी, नस्ली समूहभित्र
तनाउजस्ता घरेलु र अन्तर्राष्ट्रिय कारणहरूको उपज हो। विश्व
ब्याङ्कले भनेको छ, प्रतिवेदनका लागि गरिएको नागरिक
सर्वेक्षणबाट के पत्तो लागेको छ भने सामूहिक र विद्रोही
गतिविधिहरूमा मानिसहरू सामेल हुने सबभन्दा ठूलो कारण बेरोजगारी
हो। (अप्रिल 2011)
प्रत्येक पाँचौं प्रजाति विलुप्तिको
सङ्घारमा
प्रकृति
संरक्षणको अन्तराष्ट्रिय सङ्घले प्रत्ये पाँचौं प्रजाति
विलुप्तिको सङ्कटमा गरेको दावी गरेको छ। विश्वको हर पाँचमध्ये
एउटा प्रजाति अस्तित्वको सङ्कटसित जुद्धिरहेको छ। यी
प्रजातिहरूमा स्तनधारी, चरा - चुरुङ्गी, सरीसृप, उभयचर सबै
सामेल छन् जो प्रत्येक वर्ष विलुप्तिको सङ्घारमा छन्।
वैज्ञानिकहरूका अनुसार पर्वतीय गुरिल्ला र बङ्गालका टाइगर त
चर्चामा छन् तर लाखौं अन्य प्रजातिहरू पनि विलुप्तिको सङ्कट
झेलिरहेका छन् र यसमाथि कसैको ध्यान घएको छैन। एउटा अध्ययनबाट
के पत्तो लागेको छ भने रातो सूचीमा सामेल 25,000 - भन्दा अधिक
प्रजातिहरूको हालैमा जाँच गरियो। प्रकृति संरक्षणको
अन्तराष्ट्रिय सङ्घ यस्तो रातो सूची जारी गर्छ जसमा विलुप्तिको
सङ्कट झेलिरहेका जनावरहरूको आँकडा हुन्छ।
अध्ययनका अनुसार, विश्वमा
पाइने मेरुदन्ड भएका 20 प्रतिशत जनावर, 15 प्रतिशत
चराचुरुङ्गी, 22 प्रतिशत सरीसृप र 41 प्रतिशत उभयचर छन्।
अध्ययनमा पाइएको छ कि शार्कसहित मुलाय हड्डी भएका माछाहरूमध्ये
33 प्रतिशत अस्तित्वको सङ्कटमा छन्।
इन्टरन्यासनल जर्नल अफ्
साइन्समा प्रकाशित अध्ययनमा वैज्ञानिक जोनाथन ब्यालीले
मेरुदन्ड भएका जनावरहरूका पाँचौं भागको अर्थ 11,000 प्रजातिहरू
र यसको अर्थ धरतीमा चरा - चुरुङ्गीहरूको प्रत्येक प्रजातिलाई
आसन्न खतरा छ भनी बताएका छन्। (अप्रिल 2011)
अनुवाद कला - केही आधारगत कुरा
डा. हरेराम पाठक
मानव सभ्यताको
इतिहास जति नै पुरानो छ अनुवादको इतिहास, यसको रेङ्खाकन 3000
ई. पू. भनेर विद्ववानहरूले गरेका छन्, मिस्रको प्राचीन
राजधानीस्थित सम्बद्ध अलीफेंटाइना नामक द्वीपमा दुई भिन्न
भाषामा खोपिएका शिलालेख यसका साक्षी हुन्, यी सिला लगभग 3000
ई.पू. का मानिएका छन्। निचोरमा भन्न सकिन्छ कि यस संसारमा
जहिलेबाट भाषा - साहित्यको विकास हुन थाल्यो, तहिलेबाटै अनुवाद
परम्पराको तालनी हुँदै आएको हो।
वर्तमान शताब्दीमा विश्व साहित्यको विकसित
अवधारणाका लागि अनुवादको विशिष्ट महत्व छ, त्यसैले बीसौं
शताब्दीलाई अनुवादको युग भनिएको होला। पाल एन्जिलले भनेका छन्
- As the world shrinks, the need for translation
expands, it seems likely that, for the rest of the twentieth
century each country will have, not one but two literatures,
the one produced by its own writers, and the other
translated from the world's languages.
अर्थात् जसैजसै विभिन्न मानव समुदायहरूमाझको
फाँट सांघुरिंदैछ
तसैसतै अनुवादको आवश्यकतामा विकास सिर्जन भइरहेछ। यस्तो लाग्दछ
निकट भविष्यमा प्रत्येक राष्ट्रमा दुई प्रकार को साहित्य रहने
छ - एक त भयो मूल साहित्य, जो त्यसै राष्ट्रका
रचनाकारहरूद्वारा सिर्जना गरिनेछ, र अर्को चाहिँ भयो विश्वका
अन्यान्य भाषाबाट अनूदित साहित्य। त्यसर्थ, पाल एन्जिलको
उपरोक्त भनाइमा यथार्थ भेटिन्छ।
तापनि
अनुवाद एउटा कष्टमय कार्य हो, साँच्चै भन्नु हो भने त
सिर्जनात्मक साहित्यको अनुवादमा झनै अप्ठ्याराहरू छन्, ती
अफ्ठ्याराहरूमध्ये स्रोत भाषाका सांस्कृतिक सन्दर्भहरूको
लक्ष्य भाषामा अनुवाद गर्नु मूल हो। विचार र अवधारणाहरूको
अनुवाद गर्न त सजिलो छ, तर ती विचार - अवधारणा वा
भावानुभूतिहरूसित सम्बद्ध सांस्कृतिक सन्दर्भहरूको अनुवाद एउटा
जटिल समस्या हो। असल गुदो कुरो के भने प्रत्येक भाषा र
साहित्यमा आफ्ना यस्ता शब्दहरू छन् जसलाई व्यवहार गर्दा
उनीहरूको संस्कृति, पर्यावरण, भौगोलिक प्रतिबद्धता, लोक -
जीवनका आचार - व्यवहार, परम्परा आदि प्रतिबिम्बित हुन्छन्। ती
शब्दहरू लोक - वैभव हुन्, त्यसैले लोकमै रचेर स्थायित्व लिएका
छन्। यस्ता शब्दहरूको अनुवाद लक्ष्य भाषामा गर्न पर्दा साह्रै
अप्ठ्यारो पर्न आउँछ। हिन्दीका केही शब्द जस्तै घरौंदा, बसेरा,
झुग्गी, दही - बड़ा, चपाती आदिको अङ्ग्रेजी अनुवाद साह्रो छ।
ठीक त्यसरी नै अङ्ग्रेजीका कति शब्दहरूका उपयुक्त हिन्दी -
नेपाली शब्द भेटिन्नन्। यस्तो स्थितिमा अनुवादकले ती शब्दहरूको
भावानुवाद गर्न पर्ने हुन्छ। भावानुवाद पनि गर्न नसकिने
स्थितिमा अनुवादकले पाद - टिप्पणी दिएर त्यस शब्दको स्पष्ट
अर्थ लेखेर स्रोत भाषाको शब्दलाई दुरुस्तै लक्ष्य भाषामा
लिखिदिँदा हुन्छ।
समस्या
आइपरेपछि समाधानको उपाय पक्कै निस्कन्छ। त्यसेले अनुवादजनित
समस्याहरूबाट पार पाउनका लागि अनुवादको दुवै भाषामा गहिरो
ज्ञान हुन अति आवश्यक छ। अर्थात् साहित्यिक कृति अनुवाद गर्न
पर्दा कुनै एक भाषाको मात्र जानकारी नभएर दुवै भाषाका
संस्कृति, परम्परा, आचार - विचार, परिवेश, तकनीकी विकास
आदिबारे पनि पर्याप्त जानकारी हुनुपर्दछ - यसो भएनछ भने अनुवाद
स्वादिलो हुंदैन।
कता,
उपन्यास, नाटक आदिमा कथा - वस्तु र त्यसका पात्र भावनाप्रधान
हुने पर्छन्, त्यसैले प्रत्येक पात्रको चरित्रलाई जीवन्त
पार्दै अनुवाद गर्नुपर्छ, यस किसिमको अनुवाद कार्यमा अनुवादले
भावना र आफ्नो अनुभूतिलाई जाग्रत पारेर मात्रै अनुवाद
गर्नुपर्ने हुन्छ।
अनुवाद
कार्यलाई सांस्कृतिक - सेतुको कार्य हो भनिएको छ। साँच्चै
भन्नु हो भने टाड्टाडा सिमानाहरूमा बाँडिएको मानव जातिलाई एउटै
मालामा गुँथ्ने सम्पूर्ण श्रेय जान्छ अनुवाद साहित्यलाई।
रोमनले ग्रीक र अरबीले भारतीय ग्रन्थहरूको अनुवाद गरेर एक
अर्काको सांस्कृतिक हकलाई जोड्ने बौद्धिक प्रचेष्टा चलाएको
साक्षी त इतिहास छँदैछ। यसरी नै त वसुधैव कुटुम्बकमको धारणा
साकार भएको हो।
आज अनुवाद
कार्यलाई प्रयोजनमूलक भाषा रूपमा लिइँदैछ। अनुवाद माध्यमबाट
हामी एकार्काको साहित्य एवम् संस्कृतिको चिन्हारी लिन सकौं
भनेरै आजभन्दा केही वर्षअघि अनुवाद कार्यलाई प्रश्रय दिइएको
थियो। आज अवस्था भिन्दै छ। आज यसको उद्देश्यलाई जागिरसित साइनो
लाइएको छ। बैंक, रेल विभाग, सरकारी - अर्धसरकारी कार्यालय,
कम्पनी र सरकारी संस्थानहरूमा अनुवादकका लागि जागिरको औसर
खुलेको छ।
जसरी
प्रयोजनमूलक हिन्दीको क्षेत्रविशेषद्वारा जागिरका औसर प्रदान
गर्ने कार्य भइरहेछ, ठिक त्यसरी नै नेपाली, बङ्गला, असमीया,
उडिया तथा अन्य भारतीय भाषाहरूमा पनि यस्ता प्रचेष्टामूलक
अनुवाद - कार्यको विकास तीव्र गतिले हुने सम्भावना देखिन्छ।
त्यसैले अब अनुवादकले कुनै एउटा भाषामा मात्रै आबद्ध नभएर
अन्यान्य भाषाको छानो व्यापक पार्ने प्रचेष्टा गरेको उचित
होला।
(मूल
हिन्दी लेखको खडगराज
गिरीद्वारा नेपालीमा
अनुवाद। साहित्यिक
परिचर्चाका
केही बुँदाहरू,
बोधकुमारी स्मृति प्रकाशन, डिगबोई, असम, 2010 - बाट साभार)
मातृ पूजाको परम्परा
मित्रदेव शर्मा
दक्ष्यकन्या
सती देवीको कुण्डमा दहेको देह शोक विरहोन्माद महादेवले बोकेर
विश्व परिभ्रमण गर्दा शवदेहका गलित अङ्गहरू टुक्रिँदै पृथ्वीमा
झर्नथाल्छन्। अङ्ग आभूषण स्खलन भएका स्थानहरू भारतका चारकुनामा
चार शक्तिपीठ तथा धेरै अरू स्थान भैरव तीर्थ रूपमा
श्रद्धालुहरूका आकर्षण केन्द्र बन्दछन्। पूर्वको कामाक्ष्या,
दक्षिणको मीनाक्षी, पश्चिम क्षेत्रको हिङ्गलाज तथा उत्तर
क्षेत्रको ज्वालामुखीको ख्याति तथा इतिहास, यही परिघटनासित
गाँसिएका छन्। मातृ पूजाको आदि शक्तिपीठ हिङ्गलाज तीर्थ
पाकिस्तानको बिलूचिस्थान प्रदेशको लालबेला क्षेत्रमा पर्छ। अरू
तीन भारतवर्षमा छन्।
खृस्टीय षष्ट शताब्दीअघिका
ऐतिहासिक दशी दुष्प्राप्य भए तापनि पौराणिक शिलालेख, चारण र
हरबोला (मध्य पश्चिम भारतमा गीत रचेर गाइहिँडेने जनगोष्ठी)
समाजमा मुखमुखै चलिआएका जनश्रुति र दन्त्यकथा नौ दुर्गा
भवानीको देशका सबै कुनामा मातृ पूजा र आराधना गर्ने परम्परा
आदिमकालदेखि नै भएको थाहा लाग्छ। नारी रूपमा सृष्टिकर्ताको
आविर्भाव हुने कुरा समय समय विश्वास चारणहरूका गीत र पूर्वमा
रचना गरेका साहित्यमा पाइन्छ। विश्वासअनुसार नौ लाख दुर्गाका
अवतार भइसकेका छन्, नारी शक्तिकै माध्यमबाट। तीमध्ये 84 अवतार
त चारण सम्प्रदायबाटै भएको उल्लेख र देवी भवानीका लीलाहरू तथा
असाधारण महाशक्तिका वृतान्त पाइन्छन्।
देशका सबै कुनामा पाए जसरी
उत्तर - पूर्वाञ्चलमा पनि शक्ति पूजा गरिने बिन्दु धेरै विकसित
भएको इतिहास प्राचीनकालदेखि नै पाइन्छ। असममा सदिया भेकका
कँसाइखाती गोखाँनी, तामेश्वरी (सदिया), देउपानी (कार्बि
आङलाङ), महामाया (धुबुरी), भैरवी माइथान (तेजपुर), कल्याणी
(गहपुर) जस्ता धेरै माताका प्राचीनकालदेखि विभिन्न नाउँले मातृ
पूजा भइआएको इतिहास छ। काली, चन्द्रघण्टा, पिङ्ला, महामाया,
बाघेश्वरी तथा अरू धेरै नाउँले माताको आराधना हुन्छ।
पौराणिककालदेखि किराँत समाजमा चलिआएका पूजाहरूमा पनि माताकै
प्राधान्य पाइन्थ्यो। नेपालीहरूका संसारी पूजा, नौला,
बुडीबज्यू आदि मातृ पूजाकै प्रतीक हुन्।
राजकीय पृष्ठपोषकतामा मातृ
पूजा शत्रु विनाश गर्न रावणले गरेको तथा अज्ञातवासको कालमा
पञ्च पाण्डवले गरेको उल्लेख रामायण र महाभारतमा पाइन्छ। सरकार
र राजकीय तत्वावधानमा जयपुर (राजस्थान) को जीनमाता तथा
जैसलमेरको प्राचीन राजधानी लोघ्रपुरका दुवटा स्थानमा नियमित
देवी भवानीको पूजा हुन्छ तथा शताब्दी अघिदेखि चलिआएको छ।
राजस्थान राज्यको बीकानेरदेखि 30 किमिको दूरीमा देशनोकमा
करणीमाता को 600 वर्ष पुरानो मन्दिर छ। मुसा (स्थानीय बोलीमा
काँबा) को मन्दिर स्वचश्क्षु दर्शन गर्ने सौभाग्य 2006 मा यो
पंक्तिकारलाई मिल्छ। यो मन्दिर र स्थानीय मानिस, साहित्य तथा
संग्रहालयबाट प्राप्त तथ्य रोचक लागेकोले पाठकवृन्दको निमित्त
उल्लेख गरें।
वि. सं. 1444 (सन् 1387)
जोधपुर अञ्चलका सुवाप गाउँमा श्री मेहोजी र श्रीमती देवलबाईकी
षष्ट कन्या भएर अलौकिक गुणयुक्ता रिद्धबाईको जन्म हुन्छ। देव
हिङ्गलाजको पूजा आराधनाले जन्मेकी रिद्धबाई मातृगर्भमा
सम्पूर्ण 21 महिना बस्छिन्। जन्मेको मुहूर्त्तदेखि नै अलौकिक
कार्यसम्पन्न गरेको देखेर उनकी करणीमाताको नाउँ चारैतिर
फैलिन्छ। चारणकन्या करणीको 27 वर्षको उमेरमा पितामाताले विवाह
गरिदिने साथै सन्तान जन्माउने जैविक सुख दिन असमर्थ उनले आफ्नै
बहिनीसित लोग्नेको विवाह गरी दिन्छन्। 140 वर्ष 6 महिना
बाँचेकी करणीमाताका अलौकिक कार्यहरू सङ्ग्रहालयमा राखेका
तथ्यचित्र र पुस्तकहरूमा पाइन्छन्। कुलदेवी मानेर भक्तिको साथ
राजधरानाहरू उनको पूजा जीवनकालमै गर्न थाल्छन्।
1894 सालको दुर्गा
पूजाको नवमीमा करणीमाताको देहावसान हुन्छ। डुल्न गएको कालमा
जैसलमेर क्षेत्रमा एकजना 'वन्नु
खाती' नाउँका विश्वकर्माले
करणीमाताको प्रस्तरमूर्ति निर्माण गरेर वर्तमान स्थानमा
करणीमाताको मृत्युको 4 दिनपछि स्थापना गर्छन्। खाती नेपाली
हुरुक्क विश्वकर्मा समुदायमा पनि छन्। उनै राजस्थानी खाती
बसाइँ सर्दै आएर नेपाली बनेका हुनसक्छन्। करणीमाताको मन्दिरमा
गरेको भाकल पुग्छ भन्ने विश्वास रहेछ। यात्रीहरू दूध,
अन्न आदि लगेर मुसालाई खान दिन्छन्। मुसाहरूका जुठा ल्याएर
प्रसाद भनेर खान्छन्। सेता रङ्गका मुसा अति भाग्यवानले मात्र
देख्छन् अरे। ( तर यो अभागीको नजरमा पनि परो) मन्दिरका बेरा,
सिंडी, छाना, भुइँमा कालै मुसैमुसा देखिन्छन्। खुट्टा घिसारेर
हिँड्नु पर्छ। कुल्चेर मुसो मरेकोमा मुसाकै वजन समानको चाँदीको
मुसो बनाई दिने प्रायश्चितको विधि छ। देशविदेशका पर्यटकको
आकर्षण स्थल देशनोकमा यति विशाल मुसा रहे तापनि मुसा कसैले
देख्तैनन् तथा मुसाबाट हुने प्लेग आजसम्म त्यो भेकमा भएको नजिर
छैन।
विभिन्न नाउँले भारतवर्षका
विभिन्न स्थानमा दुर्गा भवानीको पूजा प्राचीनकालदेखि चलिआए
तापनि मृण्मय प्रतिमा बनाएर पूजा गर्ने परम्परा बङ्गालीहरू तथा
मैथिलीहरूमा देखिन्छ। नेपाली, असमियाहरूले परवर्ती कालमा
मृण्मय प्रतिमापूजन थालेका हुन्। वर्षमा दुइखेप माताको पूजा
हुन्छ। रामनवमीमा समाप्त गरिने पूजालाई वासन्ती पूजा भनेर पनि
जानिन्छ। त्यही दिन नयाँ सालको शुरुआत मान्नेहरू पनि छन्। शरद्
कालको दुर्गा पूजालाई शारदीय उत्सव, नवरात्र, बडा दशैं आदि
स्थान विशेषमा भिन्नाभिन्नै नाउँले पूजा आराधना हुन्छ। अन्याय.
अधर्म, दुराचार, हिंसा आदि अवगुण हृदयभित्रबाट जरैसित उखेलेर
पन्साउन मातासँग सम्मिलित भएर प्रार्थना सबैले गर्छन्।
या देवी सर्वभूतेषु
शक्तिरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै
नमस्तस्यै नमो नम:।।
(नोभेम्बर 2010)
रेडियो
हास्य नाटक
साहूजीकी लाटी स्वास्नी
सुवास दीपक
मि. लुइँटेल
(आफै) - चैने कुन्नि मलाई किन
बोलाउनुभयो होला?
अँ, उहाँ त यसपालि चैने
जानुभएको थियो, चैने बिहे गरेर पो आउनुभयो
'रे! पुर्खालभनेकोकुरा
उहाँले चैने उहाँले ठिकै
पुऱ्याउनुभएको रहेछ - पशुपतिनाथको यात्रा पनि, सिद्राको
व्यापार पनि! (उठ्छ र टेबुलमा गएर
रक्सीको बोतल सुँघेर अनुहार बिगारेर जोरले भन्छ) चिटिक्क
परेकी, गोरी, राम्ररी दुल्ही पो छ तर अलिक चैने गरीबकी छोरी
'रे। यस्ता बुढा धनीले किन चैने
गरीबकी छोरी भित्र्याएको होला, फेरि दुल्ही अलिक कम उमेरकी छे'रे।
यस्ता धनी बुढाले चैने किन गरिबकी छोरी भित्र्याएको होला?
फेरि उमेर पनि साह्रै कम छ दुल्हीको। यो त त्यति राम्रो कुरा
लागेन मलाई पनि। चालिस वर्षे योबन पो लागेछ बुढालाई, थुक्क!
तर मलाई केको खसखस! चैने खाने
मुखलाई जुँगाले के छेक्न सक्थ्यो र?
(साहूजीको प्रवेश - मि.
लुइँटेल उठ्छ)
मि. लुइँटेल -
नमस्कार साहूजी!
साहू -
ए, तपाईं आउनुभयो?
बस्नुहोस्, किन उभिरहनुभएको?
(दुवै बस्छन्)
मि. लुइँटेल
- अन्त भन्नुहोस्
साहूज्यू, जाति नै हुनुहुन्छ?
साहू
- अरे, अलि अलि बिरामी त भइ नै रहन्छु!
अँ, (अलिक लजाएर) तपाईंले...तपाईंले मेरो बिहेको खबरत
सुन्नुभयो होला?
मि. लुइँटेल
(खुसी हुँदै) - यस्तो कुरा चैने कहाँ लुक्ने हो र?
बधाइ छ है!
साहू - बधाइका लागि धन्यवाद!
(केही क्षण बिसाएर) - अन्त चैने, भन्नुहोस् न कस्तो सर-सल्लाह
होला?
साहू
(अड्किँदै) - त लुइँटेलज्यू, खास कुरो त यो हो कि... मेरो
विचार यो छ कि... मेरो जम्मै धन-सम्पत्ति, आफ्नी स्वास्नीको
नाममा गर्ने विचार गरेको छु!
मि. लुइँटेल
(अचम्ममान्दै) - हन कस्ता कुरा गर्नुहुँदैछ साहूज्यू तपाईंले?
जम्मै धन-सम्पत्ति? चैने
तपाईंले आफ्नो वसीयतनामा लेख्ने विचार गर्नुभयो कि कसो?
साहू
- हो, वसीयतनामा नै बुझ्नुहोस्!
मि. लुइँटेल
- तर साहूज्यू, चैने वसीयतनामा कुनै खेलाञ्ची कुरा होइन।
यो त राम्ररी सोचेर-विचारेर गर्नुपर्ने काम हो, होइन?
तपाईं एकजना ठूला व्यापारी हुनुहुन्छ। समाजमा तपाईंको नाम छ,
सम्मान छ। एकै चोटि बिहे गर्नेबित्तिकै स्वास्नीका नाममा आफ्नो
जम्मै धन-सम्पत्ति गरिदिँदा चैने तपाईंको बिजिनेसमा चैने र
तपाईंको सामाजिक स्थितिमा चैने पनि त प्रभाव पर्नसक्छ!
मान्छेहरूले के भन्लान्? अहिले केको
हतार? चैने एक-दुइजना भुरा-भुरी
भएपछि....अनि विस्तारै गरौंला नि, के भने तपाईंको वसीयतनामा
लेख्ने काम! हतार नगर्नुहोला
साहूज्यू।
साहू
- यो सब कुरा त ठिकै हो
लुइँटेलज्यू... तर मैले पनि सबैतिर सोच-विचार गरेर नै यो फसेला
गरेको हुँ। सायद तपाईंलाई थाहा छैन कि मेरी श्रीमती लाटी छिन्।
मि. लुइँटेल
(अचम्म मान्दै) - के भन्नुहुँदै छ साहूज्यू तपाईंले?
तपाईंकी श्रीमती लाटी छिन्?
साहू
(आरामसँग) - लाटी, जन्मैदेखि लाटी!
तर कस्ती लाटी भने, अरू सबै ठिकै छ, उनको बोली मात्र छैन।
सुन्नु त पुरै सुन्छिन् नि!
मि. लुइँटेल
- अँ, चैने त्यसो भए... उनको बोली मात्र छैन, बाठी त बाठी नै
हुन् नि!
साहू
- ज्यू, र त्यही कारणले मैले यो निर्णय लिएको हुँ
(दुवै मदिरा
पिउँछन्)
मि. लुइँटेल
- तर मैले चैने तपाईंको यस्तो निरणयको अर्थ बुज्न सकिनँ। लाटी
स्वास्नीको नाममा आफ्ना धन-सम्पत्ति गरिदिँदा चैने पछि झन्
अपठेरो पर्दैन? जस्तै भए लाटीका
हातमा परेको लम्पत्ति बर्बाद पनि त हुनसक्छ, होइन र?
साहू
(बात
काट्दै) -यहाँ
एउटा रहस्य छ। तपाईंले मेरो योजना बुझ्नुभएकै छैन। वास्तवमा
कुरा के छ भने उनको नाउँमा वसीयतनामा गरिदिँदा मलाई कुनै
नोक्सानी छैन, किन भन्नुहुन्छ भने आजकल तपाईंलाई थाहै छ
बिजिनेस गर्नु कति मुस्किल छ! फेरि
इन्कमट्याक्स माग्ने, सेल्स ट्याक्स माग्ने, वाटर ट्याक्स,
यताको ट्याक्स, उताको ट्याक्स माग्नेहरूले वाक्कै पारिसक्यो।
लाटी स्वास्नीले ट्याक्स अफिसरहरूलाई केही भन्ने होइन। म भने
कङ्गाल, मलाई उनीहरूले के सोध्लान्!
अब आजैको कुरा लिऊँ; आज मैले
श्रीमतीलाई मेरो पैसाको बेगै दिएर हाट बजार पठाएको छु। उनलाई
चाहिने जति चीजबीज मेरै दोकानमा मात्र पाइन्छन्। त घरको पैसा
घरमै रहेन? साँप पनि मर्ने, लट्ठी
पनि नभाँच्ने, कस्तो लाग्यो मेरो बुद्धि?
मि. लुइँटेल (ट्वाँ
परेर हेर्दै) -
अँ... चैने अब पो बुझें म त!
उकिल म नभएर तपाईं पो हुनुपर्ने थियो। चैने कस्तो बुद्धि
लडाउनुभएको?
साहू -
लौ त अब लेख्न सुरु गरौं, होइन?
(मि.
लुइँटेल आफ्ना कागजपत्र र पेन निकालेर लेख्न टिकटाक गर्छ।
त्यति नै बेला दैलो ढकढक गर्छ। साहूले दैलो खोल्छ। नेप्टी र
श्रीमती धनमायाको प्रवेश। धनमाया डराएकी जस्ती देखिन्छिन्।
साहू मि. लुइँटेलसित तिनको परिचय गराउँछ)
साहू -
मि. लुइँटेल, यिनी नै मेरी श्रीमती
हुन्, (श्रीमतीतिर फर्केर) अनि सुन्यौ, यहाँ हाम्रा उकिल मि.
लुइंटेल हुनुहुन्छ।
(दुवै नमस्कार गर्छन्, श्रीमती
जान्छिन्)
साहू (श्रीमतीलाई)
- तिम्रो अनुहार किन यति
डराएको जस्तो देख्छु म, के भयो?
(नेप्टीलाई हेर्छ)
नेप्टी (झस्कँदै) - होइन
मालिक, आज हाट बजारमा हामीले सुन्यौं कि एकजना ठूला डागदर साब
आएका र'छन् र तिनले चीरफाड गरेर
नबोल्ने मान्छेको पनि बोली फुटाउनसक्छन्। र चिरफाडको डरले
माल्किनी डराउनुभएको छ।
साहू (अचम्म मान्दै र खुसी हुँदै) - हन के
भन्छस् तँ नेप्टी? यस्ता डागदर आएका
छन् 'रे!
मि. लुइँटेल
- हो साहूज्यू, चैने मैले पनि त यो कुरा
सुनेको छु।
साहू
- तपाईंले मलाई भन्नुभएन त?
मि. लुइँटेल
- चैने मौका नै त परेन ज्यू!
साहू - ए नेप्टी, तँ गएर
च्याँठेलाई पठा...
(नेप्टी जान्छे)
साहू
(मि, लुइँटेलसित) - अन्त,
उकिलज्यू, के त्यो डाक्टररले साँच्चै अपरेसन गरेर नबोल्नेलाई
बोल्ने बनाउँछ? मलाई त विश्वासै
लागेको छैन!
मि. लुइँटेल - चैने किन
विश्वास नगर्नुभएको? मैले त चैने
यस्तो अपरेशन गर्दैगरेको आफ्नै आँखाले देखेको छु।
(च्याँठेको
प्रवेश)
च्याँठे
- (साहूसित) - मालिकले बोलाउनुभयो?
साहू
- हो, तँलाईं नै बोलाएको हुँ,
जा दगुरेर त्यो डाक्टर (मि. लुइँटेलसित) त्यस डाक्टरको के नाम
होला/
मि. लुइँटेल
(च्याँठेलाई) - च्याँठे, जा डा. हमाललाई बोलाएर ले, भन्नू,
साहूजीको अर्जेन्ट काम छ।
च्याँठे
- हवस् हजुर, म गएँ।
साहू (खुसीसित) - अहो!
म कति भाग्यमानी!
(स्वास्नीतिर
फर्केर) सुन्यौ धनमाया? तिमी पनि
कति भाग्यमानी रहिछौ! ईश्वरले
साँच्चै नै यस रूप र यौवनको कदर गरेछन्। तिम्रो र मेरो मिलन
हुनु नै एउटा सत्य प्रेमको उज्जवल उदाहरण हुनेछ। अहो!
त्यो दिन कस्तो रमाइलो होला जब तिमीले मलाई प्यारसित बोलाउन
सक्नेछौ। तिमीले कुनै सुर्ता गर्नुपर्दैन। उनी नामी डाक्टर
हुन्। कि कसो मि. लुइँटेलज्यू?
मि. लुइँटेल
(धनमायातिर फर्केर) - हो हो , चैने तपाईंले कुनै सुर्ता
गर्नुपर्दैन। थाहै नभइकन चैने उनले अपरेसन गरेर जाती
पार्नेछन्। मैले त, चैने आफ्नै आँखाले देखेको।
साहू
(धनमायाको हात समाउँदै) - धनमाया अब तिमी बोल्नसक्नेछौ। तिमी
ईश्वरले पठाएको मेरो निम्ति एउटा सुन्दर उपहार हुनेछौ।
मि. लुइँटेल
(साहूसित) - क्षमा गर्नुहोला साहूज्यू।
साहू
(लुइँटेलतिर फर्केर) - अँ,
भन्नुहोस्!
मि. लुइँटेल
- चैने जस्तै भए पनि यहाँको
अपरेशन हुनु जाँदै छ र चैने म तपाईंको उकिल हुनाकारण चैने मैले
तपाईंलाई सल्लाह पनि त दिनुपऱ्यो, होइन?
चैने एउटा अकरनामा त तयार गर्नै पर्ला, किनभने डाक्टरले यसको
डिमान्ड गर्लान्...।
साहू
- ए त्यसो भए, तपाईंले उनीहरू आउनुभन्दा अघि नै एउटा तयार
पारिदिनुपऱ्यो। मेरो केही भन्नु छैन। म अपरेशनको जिम्मा
लिन्छु। धनमायालाई पनि कुनै आपत्ति छैन होला। (धनमाया
हल्लाउँछिन्)
(लुइँटेल अकरनामा लेख्न
थाल्छन्। नेपथ्यबाट
हो - हल्ला सुनिन्छ)
कम्पान्डर
- कृपया बाटो छाडिदिनोस्... कृपया बाटो छोडिदिनोस्...
साहू
- अँ, सायद डाक्टर आउनुहुँदैछ!
मि. लुइँटेल (लेख्दै गर्दा) - हो, यो कम्पान्डरकै आवाज हो।
(धनमाया डराएर खुम्चिन
थाल्छिन्)
साहू (धनमायासित) - अरे तिमी किन
डराएकी? केही हुंदैन, नडराऊ!
कम्पान्डर, जसको नाम सुन्दर हो
बाहिरबाट आवाज लगाउँछ -
- साहू कुलबहादुरको घर
यही हो?
(साहू दैलो उघार्छन्।
कम्पान्डर सुन्दरको प्रवेश, तिनको पछि पछि डा. हमालको प्रवेश)
डा. हमाल
- साहू कुलबहादुर को हुनुहुन्छ?
साहू
(उसको छेउमा आएर) - म हुँ, कुलबहादुर डा. साहब, नमस्कार।
पाल्नुहोस्।
(सबैजना बसेपछि डा. बोल्छन्)
डा. हमाल
- म तपाईंका सेवा उपस्थित डा. हमाल हुँ र यिनी हुन् मेरा
सहायक मि. सुन्दर जो एक सिपालु सर्जन पनि हुन्।
(मि. सुन्दरले सबैलाई
'नमस्कार'
गर्छन्)
साहू
- हजुरहरूको स्वागत गर्दा मलाई साह्रै आनन्द लागिरहेको छ र म
आफुलाई भाग्यमानी ठानिरहेको छु।
डा. हमाल
(साहूसित) - साहूजी, हामीलाई सेवा गर्ने मौका दिनुहोस्।
भन्नुहोस्, कस्को अपरेशन गर्नु छ?
साहू
- अपरेशन त मेरी श्रीमतीको गर्मुछ तर हतार किन, पहिले
चिया-खाजा लिनुहोस् र त्यसपछि अपरेशन गर्नुहोस्, हुन्न?
ए च्याँठे!
च्याँठेलाई बोलाउँछन्)
डा. हमाल (रोक्दै) -
होइन, कष्ट नगर्नुहोस्, हामी आप्नो काम गर्छौं पहिले र पछि
मात्र यसबारे विचार गर्छौं। सुन्नुभयो
(श्रीमती कुलबहादुरतिर फर्केर)
तपाईं यता आउनुपऱ्यो। भन्नुहोस्, तपाईंलाई के भएको छ, के रोग
लागेको छ?
साहू
- डा. साहब, मेरी श्रीमती...
डा. हमाल
(रोक्दै) - साहूजी, तपाईं चूप लागेर बस्नुपऱ्यो। इट इज अवर जोब
। (सुन्दरपट्टि फर्केर)
मेरो चस्मा!
(सुन्दर चस्मा दिन्छन्)
मि. सुन्दर, यहाँको नाडी छाम्नुहोस्।
(सुन्दरले नाड़ी छाम्छन्)
होइन, तपाई