Gangtok, Sikkim,
Editor: Subhash Deepak

 

 

 

बुल्गारियाली कविता

 

विश्वास

निकोला वापसरोभ

यो म हुँ सलीब

सास लिँदै गरेको

परिश्रम गर्दै गरेको

र कविता कोर्दै गरेको आफ्नो सर्वोत्तम उनलाई दिँदै

जीवन र म

एकार्कालाई उज्ज्वल बनाउँछौं

जीवनसित म

सङ्घर्ष गर्छु

आफ्नो समस्त शक्तिका साथ।

 

जीवनसित म झगडा गर्छु।

तर घृणाले होइन

तर यसको विपरीत

यद्यपि म एक दिन यस संघर्षदेखि विदा लिनेछु

जीवनको गहिरो रहर

मभित्र जीवित रहनेछ, जीवित रहनेछ।

 

मानिलेऊ

मेरो घाँटी वरिपरि तिनीहरूले

जोडले फँदा कसिदेऊन्

र मलाई सोधून्

के तिमी एक घण्टा अझ जिउन चाहन्छौ।

 

म एक्कासि चिच्च्याउने छु

खोल, खोल

शैतानहरू हो, झट्टै आएर फँदा फुकाल।

जीवनको निम्ति

म आकाशमा उड्नेछु

आदिम वायुयानद्वारा

म गर्जिंदै गरेको रकेटमा

चढ्नेछु...एक्लै

वायुमण्डलमा खोज्नका निम्ति

टाढा टाढा ग्रहहरू।

 

तब पनि

म अनुभव गर्नेछु

एउटा प्रसन्नताले भरिभराउ रोमाञ्च

निलो आकाशतिर हेर्दै

तर, मानिलेऊ

तिमी खोसिलिन्छौ - कति

मात्र एक थोपा

मेरो यस विश्वासको

म रिसले चूर हुनेछु

व्यथाले

अग्निशर्मा हुनेछु

एउटा चितुवाजस्तो

जसको मुटु घाइते भएको हुन्छ।

 

मभित्र के बाँच्नेछ

यस चोरीपछि।

तिमी यो अपेक्षा गर्न सक्छौ

कि नष्ट गर्नसक्छौ मेरो विश्लास

खुसियाली भरिएका दिनहरूमा

यो विश्वास

कि भोलि जीवन बढी सुन्दर हुनेछ

बढी विवेकपूर्ण हुनेछ

भन तिमी यसलाई कसरी नष्ट गर्नसक्छौ

गोलीहरूद्वारा।

होइन, व्यर्थ छ

पर्ख, यो विचारयोग्य छैन

मेरो विश्वाससँग

दरिलो कवच छ

मेरो बलियो मुटुको

र गोलीहरू

जसले मेरो विश्वासलाई छिन्नभिन्न पार्न सकून्

उपलब्ध छैनन्

छैनन्।

जनवरी 2011

 

 

हिन्दी कविता

 

मेरो माटो

 

विष्णु नागर

नेपाली अनुवाद - सुवास दीपक

मैले भनें यो मेरो माटो हो

यद्यपि त्यो मेरो दह थियो

म त्यसमा उभ्न सकिरहेको थिइनँ

त्यसमा भासिँदै गइरहेको थिएँ

जसको अर्थ मैले मानिसहरूलाई के भनेर बुझाएछु भने

म माटोसित जुड्दै गइरहेको छु भन्ने

अब मलाई कसैले जनताबाट छुट्याउन सक्दैन।

 

घमण्ड नगर्ने घमण्ड

मण्ड नगर्ने घमण्ड

त्यसलाई धेरै छ

यसमा अचम्म केही छैन

घमण्ड नगर्ने घमण्ड पनि हुन्छ नै।

 

प्रभाव

माथि न सत्यको प्रभाव पऱ्यो

न असत्यको

ममाथि भुँडीमा बन्दै गइरहेको

ग्यासको प्रभाव पऱ्यो।

 

प्रेम

प्रेमीले सोच्छ

त्यसका आँखाको भाषा उसैले पढिरहेको छ

त्यसका सङ्केतलाई केवल त्यही बुझिरहेको छ

यस प्रकारको भ्रम प्रेमिकालाई पनि हुन्छ

भ्रमबिना भन्नोस् प्रेम कसरी होला।

 

त्यस घरमा

त्यागिदिए त्यस घरलाई मानिसहरूले

तर घामले छाडेन

छायाँ पनि आइरह्यो

जून टल्किरह्यो

लोथर्के दगुरिरह्यो

अनि एक दिन त्यस घरमा

मानिसहरूलाई पनि आउन पऱ्यो।

 

मर्नु र अमर हुनु

कुनै मानिस अमर तब मात्र हुनसक्छ

जब त्यो मर्छ

प्राय:  जति ढिलो मर्छ

त्यति नै ढिलो अमर हुनुमा हुन्छ।

 दिसम्बर 2011

 

रगत र बीऊ

 

अगस्तिनो नेतो

 

नेपाली अनुवाद - पवन चामलिङ किरण

हे

यो हाम्रो त्यो हात हो

जो तमाम मनुष्यजातिको

भाइचाराको निम्ति फैलिएको छ।

जुन नित्य नै जुटेको छ

मान्छेको भविष्यको निम्ति

उसको अधिकारको निम्ति

उसको शान्ति र मित्रताको निम्ति।

 

हाम्रा औंला पहलाउँछन् गुलाफ

जहाँ सुगन्धित बन्छ

जहाँ जायरा नदी झैं तीष्णता

अनि माइओवेको रूखको जस्तो भव्यता

हामीहरूको भविष्यमा छ

त्यो मित्रताको जुन रहस्य

 - अफ्रिकाको निम्ति हो

- सम्पूर्ण दुनियाको निम्ति हो

हाम्रो जीवन रगतभरि आँखामा घुम्छ।

 

दुनियाँभरको निम्ति

प्रेमको सङ्केत गर्ने हातभरि

जुन हातले भविष्यमा

टाढा टाढासम्म फैलिएर

मानवतामा अफ्रिकाको

देशको

ठूलो त्यागमा हाम्रो अवस्थालाई प्रेरित गर्नेछ।

जुन आशाको घाम पुन: प्रवाहित छ

आजादीको चाहनाबाट उठेका

भाइचारामा अनुबन्धितलाई

शान्तिको लोकबाट रगत र बीऊ

भविष्यको निम्ति

लेऊ यो हो हाम्रो आँखा

शान्तिको निम्ति हाम्रो स्वर

शान्तिको निम्ति हाम्रो हात

हाम्रो समस्त अफ्रिकाको निम्ति

प्रेममा जुटेका संगठित हात।

विचार, वर्ष 11, अङ्क 45, 24 नोभेम्बर, 1991 बाट साभार

नोभेम्बर 2011

 

 

हिन्दी कविता

 

कतै त होला

 

इब्बार रब्बी

 

अनुवाद : सुवास दीपक

 

तै त होला त्यो द्वीप

जहाँ नहोला अन्याय

नहोला हेला - होंचो न होलान् व्बाँसाहरू

कतै त होला त्यो आकाश

इन्द्रेणी लागेको

कतै त होला त्यो सागर

जलयान आउँदै गरेको

कतै त होला त्यो लोक

आक्रमण समर्थन छैन त्यहाँ

पराजित र विजित

सेनाहरू नियन्त्रण रेखारहित

न होला बर्लिनको दीवाल, चीनको दीवाल

हिटलर र मुसोलिनीरहित

मन्दिर र मस्जिदमा राइफल

गुरुद्वारामा बम

जहाँ धर्म होइन, ईश्वर होइन

प्रेम मात्र होला

कतै त होलान् ती सुन्दरीहरू

जो होलान् प्रसन्न

 

कतै त होलान् ती नारीहरू

प्रेम गर्ने

कतै त होलान् ती आमा

बहिनी र स्वास्नीहरू

जीवनले भरिएका

सपना सजाउँदै गरेका

रातभरि

लामा - लामा पत्र लेख्दै गरेका

सुस्केरा लिँदै गरेका

प्रतीक्षा गर्दै गरेका

दाल पकाउँदै हराउँदै गरेका होलान् अतीतमा

कहिले ताक्दै होलान् भविष्यमा

बाटो झ्यालबाट

कतै त होलान् ती नारीहरू

धुकधुकीले भरिएका हृदयधारी

नुहाउँदै गरेका पसिनामा

अनिन्द्रामा सुत्दै गरेका

तर्सेर उठ्दै गरेका रातमा

रित्तो कोठरीमा खोज्दै गरेका

किताब चिट्ठीहरू

कतै त होलान् कहिले त होलान् ती।

      - सितम्बर 2011                                    (वाक् - 1, 2007 - बाट)

 

 

 

पंजाबी कविता

 

डर लाग्छ मलाई कविताबाट

 

डॉ. हरभजन सिंह

 

अनुवाद - सुवास दीपक

 

मैले कहिले सिंह भनेकै थिइनँ

कि शङ्कर प्रकट भए र बोले

म अति प्रसन्न छु तिमीसित

आफ्नो मनको इच्छा भन

 

म अहिले के मागौं भनी सोचिरहेकै थिएँ

तिनले आफ्नो नाग

आफ्नो घाँटीबाट उतारेर मेरो घाँटीमा पहिऱ्याइदिए

र भने

यसले तिम्रो सदैव रक्षा गर्नेछ

नचाहिँदा तत्वबाट तिम्रो रक्षा गर्नेछ

यसलाई तिम्रो छेउ पर्न दिने छैन

तिमीले संसारलाई केही दिनसक्नेछौ

र सट्टामा केही केही लिने विवशताबाट बाँच्नेछौ।

 

म अहिले नागको फुत्कारले तर्सेको मात्र थिएँ

तिनी गायब थिए

मलाई इच्छा भयो

म शिवबाट तिनको चन्द्रमा मागौं कि

तर शिव त  त्यहाँबाट अन्तर्ध्यान भइसकेका थिए

यो सबथोक त भ्रम थियो मेरो।

 

तैपनि

चन्द्रमाजस्तो सुन्दर कविता

कोर्ने रहर अझै आलो छ मेरो।

 

चन्द्रमाभन्दा शुरुमा

जे सुकै थोक जो मेरो छ

मानिसहरू त्यसलाई सुन्छन्

प्रशंसा पनि गरिदिन्छन् कहिले - काहीँ

तर मभन्दा टाढै बस्छन्।

 

समस्त संसारमा एकलो

मलाई धेरैपल्ट लाग्छ

कि एउटा सर्प सधैँ मसित हिंड्छ

र म आफ्नै कविताबाट भयभीत हुन थाल्छु।

 

अगस्त 2011

 

 

हिन्दी कविता

 

परिभाषा प्रेमका

 

कुलभूषण कालड़ा

 

 

मनको ढोकाबाट

अनधिकार प्रवेश गर्दै पक्रा पर्नु।

 

प्रत्येक अवसरमा

अव्यक्त कुरा

आँखाका भाषामा

गर्दै जानु।

 

समर्पणका हार

पहिऱ्याउने हेतु

प्रत्येक क्षण

प्रत्येक पल

सधैँ उत्सुक रहनु।

 

अनुवाद - सुवास दीपक

जुलाई 2011

मेरो देश

नाजिम हिकमत

तिमी मेरो खेत हौ

र म ट्राक्टर।

तिमी यदि कागज हौ भने

म छाप्ने मसिन।

तिमी मेरी स्वास्नी हौ

आमा मेरो छोराको।

 

तिमी कुनै गीत हौ

र म त्यसको वाद्य - यन्त्र।

म एउटा निस्सासिने साँझ हुँ

आँधीले निमोठेको

र तिमी एउटी नारी बन्दरगाहको

टाढो किनारमा डुलिरहेकी

अर्को किनारको उज्यालोलाई हेरिरहेकी।

 

म पानीसरह हुँ र तिमी

तिर्खाएको घाँटी

म हिंड्न थाल्छु सटकहरूमाथि

र तिमी हात हल्लाउँछौ झ्यालदेखि।

तिमी मदतका लागि एउटा गुहार हौ

तिमी मेरो देश हौ

र तिमीसम्म तिमीलाई

अँगाल्न दौडिरहेका

पाइलाहरू मेरा हुन्।

(प्रस्तोता - सुवास दीपक)                                                  - जून 2011

 

 

सपना

मूल: डा. सुशीला टाकभोरे

अनुवाद: वीभद्र कार्कीढोली

धेरै थोक पाउनु छ, उमेर गइसक्यो बितेर

सपना देख्दै - देख्दै

भागिरहेको समयसित बेखबर जिन्दगी।

पल समात्नु जान्नै नपाई

उमेर काटेर पनि

मनको अबोधपनले छोड्नै सकेन।

कस्तो होला हिसाब जीवनको

कसरी बाँचिरहेछु के भनेर?

के हराएं, के पाएँ?

ज्ञानदेखि अनभिज्ञ, वास्तविकतादेखि टाढा

जान्नै पाइनँ कहिले

आफ्नो अवस्थाको कारण

किन हो, यति बिघ्न लाचार, बाध्यता, अभावग्रस्त

श्रापित जीवन जिउनुको खातिर

बाध्यता!

राख्नु पर्नेरहेछ, आफ्नो निम्ति पनि आफूलाई

मनको अबोधपन त्यागेर पनि

जुझ्नै पर्नेरहेछ यथार्थसित

तब मात्र पाइनेरहेछ, लक्ष्य

पूरा हुनेरहेछ सपना!

(बिन्दु, अङ्क 116 - 117 - जून - सितम्बर 2010) - बाट साभार) - जनवरी 2011

  गोपाल सिंह नेपालीको प्रसिद्ध खण्ड - काव्य 'पंछी' (हिन्दी) - को नेपाली अनुवाद

 

चरी

 

अनुवाद - कुमार घिसिङ

 

:1:

वन - रानी

(1)

जस्तो थियो त्यो नन्दन वन जब अघिका यस जगमा।

त्यस्तै थियो फेरि नन्दन वन कहाँ अघिका यस जगमा।।

त्यस्तै छ फेरि नन्दन वन कहाँ अब, अबका यस जगमा।

त्यस्तै होला नन्दन वन कहाँ, फेरि कहिलेका कुन जगमा।।

(2)

ती सुन्दर थिइ, ती अनुपम थिइ, तनकी छवि मायालु थिइ,

स्वयं शोभा थिइ तिनका शोभा, छटा मनोहर थिइ,

तिनका ती अभिराम सजावट जगतीमा अलग थिइ,

अमर - लोकका नन्दन वन - जस्तै एउटा - एउटा कान्ला थिइ,

(3)

त्यस विशाल विस्तृत काननमा रम्य अनेक वन थिए।

हरा - भरा तरुवरहरू त्यस काननका धन थिए।।

रची - रची घर नीड़, बसाई दुनियाँ खग आनन्द मगन थिए।

थिए निर्झर, थिए ती - सरिताहरू, फैल्थिए सरस सुमन थिए।।

(4)

यस काननका मध्य भागमा सुन्दर 'पल्लववन ' थियो।

काननभरिमा यहीं नै एउटा पल्लवको उपवन थियो।।

थरी - थरीका पल्लव थिए, अति कोमल जसको तर थियो।

क्षण - क्षण उड़ी त्यसमा गएर टाँस्सिरहने मन थियो।।

(5)

चारैतिर घेरा थिए ती वन सरिताहरूका जसले।

हुन्थे मुखरित सारा वन जलका मृदु कलकलले।।

फुटेको छ अमृत - धारा मीठा पृथ्वीको तलले।

यस्तो सोची त्यहाँ आउँथे चरी तरुवर, दलले।।

(6)

ठाउँ - ठाउँ थिए झील सरोवर त्यसमा निर्मल जल थियो।

त्यहाँ नुहाउने, पानी पिउने वनको चरी - दल थियो।।

कान्ला - कान्लामा त्यस्तै जलको नलागेका न थियो।

तैपनि किन हो त्यसमा जल बग्नु चञ्चल थियो।।

(7)

यसै विपिनको एक वृक्षमा बस्दथिइ 'वन - रानी'

आफ्नो अनुपम सुन्दरताकी थिइ कोकिल अभिमानी।।

भर्खर - भर्खर मात्र खिलेको थियो तिनको जवानी।

"पल्लव - वन" की रानी थिइ उनी, त्यहीं खगहरूकी रानी।।

(8)

सबदेखि अग्लो घना वृक्षमा उसको सानु घर थियो।

जुन अति कोमल घरपातहरूले बनेको सुन्दर थियो।।

जुन पल्लव - छायाँमा तरुको हाँगामाथि निर्भर थियो।

भित्र ओछ्याउने गद्दी जस्तो चरीको नै प्वाँख थियो।।

(9)

यस्तै चंचु निर्मित गुँड़मा त्यो सुखले सुत्दथिइ।

मन लाग्दा केही गाउँदथिइ, मन दुख्दा रुँदी थिइ।।

कहिले हृदयमा मस्ती आउँथे, कहिले व्याथा छाउँदथिइ।

कहिले - कहिले ता गाउँदा - रुँदा सुध-बुध पनि हराउँदथिइ।।

(10)

थिइ "वनरानी" श्याम - सलोनी कोकिल, काली - काली।

मीठा स्वरले गीत गाउने, यौवनकी मतवाली।।

उसलाई जान्दथिइ, परिचित जसरी वनको डाली -  डाली।

ती "पल्लववन" की रानी थिइ, चम्किली प्वाँखवाली।।

(11)

आफ्नो अरू थिएन कोही, थिइ कोकिल एकाकी।

तर सबले गुण - गाथा गाउँदथे उसका सुन्दरताको।।

कतिका हृदय गदगद पार्दथे, उसको मुखको ज्योति।

सुर - बालासित नै तुलना हुने मूल्य उसको कति।।

(12)

तरुण हृदयको दान माग्नलाई कति नै भिक्षुक आए।

प्राण - प्राणले योग मिलाउन कति नै इच्छुक आए।।

कतिले जीवनको निधि लिएर चरणमा झुक्न आए।

कोही चाँडो आए, कोही पथमा नै अड़ी - अड़ी आए।।

(13)

किन्तु, यस निर्मम "वनरानी" ले सबलाई धपायो।

रोएर, मरेर सबै कुरो गरेर, न धन कसैले पायो।।

प्रेम भिखारीका झोलीलाई रोएर नै फर्कायो।

सारा सागरमा सानु घाट पनि नभर्न पायो।।

(14)

यसै गरी मधुमास बित्दथे उसको एकाकी।

आउन नपाउँथे सुमनमा भँवराहरू लिनलाई सुरुचि सुधाकी।।

पिउन नपाउँथे कोही कसैले प्याला भरि सुराको।

यस ढंगले राख्दथिइ यौवनकी मदमाती झाँकी।।

------

वनराजा

 

(15)

सरिताका त्यस पार, कुसुम सुन्दर फूलहरूथे।

जहाँ पुगी सौन्दर्य विश्वको निज पथ झुलिरहेथ।।

डाला - डालामा कुसुम मनोहर हाँसी - हाँसी झुलिरहेथ।

आफ्नो नवयौवनका अघि जगलाई भुलाइरहेथ।।

(16)

थरी - थरीका सुमन खिलिरहेथे, फुटिरहेथे कोपिलाहरू।

मगमगी रहिथी, सौरभ - सुरभित वनका गलीहरू।।

सुमन - कोपिलाहरूमा भँवराका हुन्थे चहलपहलहरू।

मानों त्यहाँ कसैले राखेका थिए मिश्रीका डालीहरू।।

(17)

भँवराहरूका मृदु गुंजहरूले वन मुखरित हुन्छ।

चंचल निर्मल जलका स्रोत यताउति बहन्छ।।

जो पनि आउँछ, मोहित हुन्छ, सुधबुध आफ्नो भुलाउँछ।

कतै गाइरहिछ मंजुल मैना, कतै सुगा बोल्दछ।।

(18)

ठाउँ - ठाउँ जलका फोहराहरू रत्न छरिरहेछ।

त्यसलाई ध्यानले आँखा लगाई चरी हेरिरहेछ।।

किन हो फेरि के विचार गरी मनमनै गमिरहेछ।

आफ्नो कोमल सुन्दर तनमा चुच्चो फेरिरहेछ।।

(19)

यसै विपिनको एउटा वृक्षमा 'वनराजा' बस्दछे।

कुनै सुन्दरी कोकिलको उनले पर्वाह कहिले गर्दैनथे।।

आफ्नो मनको राजा थिए पिक, सुख - निधिमा बहन्थे।

कोही मलाई चाहिँदैन, गर्वसित भन्दछे।

(20)

धपक्क बलेको उसको य़ौवन भर्खर - भर्खरको ताजा।

ती सुन्दर थिए, मस्ताना थिए, ती थिए वनका राजा।।

यति मीठो बजाउँदथे, तीजस्ता मीठा बाजा।

उसका सुमदुर पंचम स्वरको कसले गर्ने अन्दाजा।।

(21)

गर्दथे उपभोग नीड़मा एकाकी जीवनको।

यस जगमा आनन्द लुट्दथे ती आफ्नोपनको।।

हीराका ती थिएनन् बनेका, न थिए जीव कंचनको।

नजाने किन आराध्य बनेथ्यो कोकिलका मनको।।

(22)

नित्य उषादेखि लिएर, सन्ध्यासम्म राही आउँथे।

खान्थे फल, पिउँथे निर्झर जल, कपड़ा खोली नुहाउँथे।।

हेर्दा - हेर्दै शोभा सुन्दर वनको अघाउँदैनथे।

मधुर गीत ती 'वनराजा' को सुनिरहन्थे।।

(23)

कति आउँथे जान्थे, कति ता रहन्थे वनमा।

केही पनि अन्तर पर्देनथियो उसको यस जीवनमा।।

ती मदमस्त थिए, आफ्नो मतवाला यौवनमा।

कोही कसरी पस्न सक्थे, उसको भित्री मनमा।।

(24)

जहाँ उ, देखेकी थिइ उसले अघि बालकपनमा।

त्यहाँ दिनको घाम लाग्थ्यो, यौवन आँगनमा।।

जहाँ जूनसित खेल्दथे ती नील गगनमा।

त्यहाँ देख्दथे निज यौवन ताराहरूको यौवनमा।।

(25)

यसै गरी हाँसिरहेको यौवनमा उसको अब द्रुतगति थियो।

यौवन नै बस, चिर सँगी थियो, यौवनको संगति थियो।।

न थिए केही लाभ उसलाई, न केही क्षति नै थियो।

जता बगोस् जीवनको धारा, न धन्दा उसलाई थियो।।

---

आलिङ्गन

 

(26)

तरुहरूको छायाँमा लुकी - चोरी खेल्दै अब सन्ध्या आउँदथिइ।

उफ्री - उफ्री मृदु कल - कल गर्दै नदी बगिरहन्थिइ।।

'पल्लववन'का मंजुल शोभाले सबको मनकन खिंच्दथे।

जुन विरागमा पनि उमंग आई - आई उसकाउँथे।।

(27)

यत्तिकै बेला आयो बादल, सत्वर नील गगनमा।

मच्चियो कम्पन पात - पातमा, शीतल मन्द पवनमा।।

चरी भागी पंख खोली, आफ्नो पर्ण सदनमा।

थोपा तप - तप खस्न थाले वनमा, कुंज सघनमा।।

(28)

कोकिल एउटा कतैबाट वनमा उड्दै आयो।

एउटा डालमा बसी त्यहीं केही क्षण सुस्तायो।।

यता नीड़को पनि कोकिल केही जर्मरायो।

चुच्चो खोली धीमा लयमा मधुर कड़ी यो गायो।।

(29)

आएको छ मदु - बेला चरी, चुच्चो ता खोलिदेऊ।

कहिलेदेखिको हाम्रो प्राण आतुर, मधुर बोली ता देऊ।।

यस मधु - ऋतुमा तरुको भित्र कता लुकेछ चरी।

आएर यस कानमा प्यारा, सुधा घोली ता देऊ परी।।

(30)

बन्द भए जब गीत सुरीला, दृग जल भरी आयो।

टाढा भए थकान तुरन्त नै ताजा भए सानु काया।।

ती को हुन् जसले यति मीठो गीत गायो।

नाची उफ्र्यो मानसमा यसको मनोमोहिनी माया।।

(31)

जुन मनबाट निकले यी गीत, मन कस्तो होला।

जुन तनमा हाँस्तछ यो मन, त्यो तन कस्तो होला।।

जुन वनमा रहन्छ यो तन, त्यो वन कस्तो होला।

जुन घनबाट झर्दछन् बूँदहरू, त्यो घन कस्तो होला।।

(32)

यस विचारले जाग्यो हृदयमा लुकिरहेको अभिलाषा।

गरूँ, के गरूँ, भनूँ, के भनूँ, सोच्न लागे भाषा।।

अवसर पाई नयाँ ज्योति लिइ आए झट आशा।

सन्ध्याको झिलमिल ताराजस्तै, हाँसी अरुण उषा।।

(33)

भनी - 'भन ता कसरी गाऊँ, कुन लयमा गाऊँ नि।

कसरी मनको सबै कुरा मुखमा ल्याउनु नि।।

छ रित्तो गाग्री मानसको मेरो तनमा।

कहाँ पाउँ सुधा कसरी जुन तिमीलाई मन पर्छ नि।।

(34)

बन्द भयो बाँसुरी वृक्षमा छायो नीरवता जस्तै।

आँखा दुवैका चार भए, नेह नीरका प्यासा जस्तै।।

नानी उठे लोचनमा माया लाज, ममता जस्तै।

देखे दुवैले केही अलिकता चित्रहरूमा समता जस्तै।।

(35)

बोले चरी मौन भंग गरी लजाई - लजाई।

यस नीरव सन्ध्यामा ए पिक! भन कहाँबाट आउने।।

के गर्छौ, उडी - उडी तिमी कता - कता घुमिरहने।

छ, निवास फेरि कता तिम्रो, कुन देशतिर जाने।।

(36)

बोले पिक - म 'वनराजा' हुँ, बस्दछु कुसुमको वनमा।

हुँ स्वामी त्यस वनको म नै, एकाकी जीवनमा।।

गएथें, आज घुम्न म, रसालका वनमा।

फर्किरहेथें उडेर आफ्नो त्यस उपवनमा।।

(37)

तर पथमा नै कालो घनले आई मलाई घेऱ्यो।

भिज्न थाल्यो पानीले यो सानु तन मेरो।।

आउँदा - आउँदा रात भयो, छायो पूर्ण अँध्यारो।

आज जान पाउंदिनँ घरमा, लिन्छु यहाँ बसेरो।।

(38)

यसै समयमा खसे पखेटामा छिटाहरू माथिबाट।

ठूलो शब्द गरी गर्जन भए चम्के बिजुली नभबाट।।

डराए पिक, कराए पिक, एक - पटक अन्तरबाट।

बोले चरी...किन हो यसै समय, बसें कहाँबाट।।

(39)

बोले पिक - चरी भन ता के यो 'पल्लववन' हो?

के तिमी नै हौ 'वनरानी', किन एकाकी जीवन हो?

सुनेको थिएँ मैले अघि, यस्तो व्रत - पालन छ।

व्रत - पालनको कारण बुझ्ने यस्तो मन छ।।

(40)

भनी रानीले 'म नै हुँ वनरानी', यो 'पल्लववन' हो।

एक एक पल्लव यस वनको, रम्य प्रकृतिको धन हो।।

पाइनँ त्यो वस्तु अझसम्म मनले चाहेको।

यसैले नै अभागिनीको एकाकी जीवन हो।।

(41)

"खोज्यो तिमीले पात - पातमा, तर त्यो वस्तु पाएनौ।

तरै पनि उडेर ए रानी, तिमी कुसुम वनमा आएनौ।।

त्यहाँ आई खोज्दी हौ ता देख्थ्यौ पनि।

किन्तु चरी, मनमा तिमीले यस्तो कुरा सोचेनौ।।

(42)

"किन आउनु, जब यहाँ नै नीडमा आई दर्शन दिन्छन् तिनले।

किन जानु, जब घरमा नै आएर स्वयं मेरो थाहा लिन्छन् तिनले।।

किन भन्नु, जब स्वयंले मेरो नाउ कियाउँछन् तिनले।

के गर्नु, जब यसै गरी मलाई धन्य गराउँछन् तिनले।।"

(43)

"भएँ धन्य म, धन्य नीड यो, धन्य - धन्य" जीवन छ।

को जान्दथे पल्लवभित्र लुकिरहेको सुमन छ।।

भयो पूर्ण एकाकीपन अब, भाग्यवान यौवन छ।

यस धनको तल केको बनी आज नाच्न मन छ।।

(44)

यति भनी तिनी उठिन्, नीड़बाट रची - रची नीड़ सजाइन्।

गरी चुम्बन आफ्ना प्रियतमलाई आफ्नो घर लिई आइन्।।

भनिन् - "तिमी मेरो मन परेको, मलाई तिमीले मन परायौ?

भने पिकले - "हे प्रिये, हाम्रो मधु - ऋतु हास्तै आयो।।"

(45)

"हेर त त्यहाँ प्रिये, गगनमा फाटिरहेको घन छ।

वनभित्रबाट नव शशिको हाँस्तै आइरहेको मन छ।।

कति सुन्दर लाग्छ, त्यो चाँदीको यौवन छ।

भनी रानीले - " के त्योभन्दा कम तिम्रो मन छ।।"

---

गगन पथबाट

 

हाँस्तै आउँथे, हँसाई जान्थे जीवनका घड़ीहरू।

छुटिरहेथे 'पल्लववन' मा मस्तीका कुन झड़ीहरू।।

दुई कण्ठहरूबाट निक्लिरहेथे मधुर प्रणयका कड़ीहरू।

खिल्यो हासमा सुमन, अश्रुमा खेलिरहेथे मणिहरू।।

(47)

जगमा जीवनमा, यौवनमा यो अवसर आउँदछ।

पलकमा नै आफ्नो रित्तो प्याला मधुले भर्दछ।।

जब लाटो पनि आफ्नो गीत विहँस - विहँस गाउँछ।

हृदय - हृदयले, प्राण - प्राणले लाग्दछ चिर नाता छ।

(48)

एक दिवस वनराजाले भने - "हिँड़ प्रिये! त्यस घरमा।

ङिँड़ हाम्रो घर पनि हेर, कस्तो छ तरुवरमा।।

कस्तो युगल मराल - मराली खेल्दछन् निर्मल सरमा।

उनीहरू जस्ता को होलान् सुखी, काननमा जगभरमा।।"

(49)

खुले चराका अति कोमल पखेटाहरू शीतल मंद पवनमा।

उड़े नीड़बाट दुवै चरी माथि नील गगनमा।।

बोले पिक आफ्नो मनको सारा प्रणय लिई नयनमा।

"जानु छ त्यस पार, थकान त लाग्दैन तनमा।।

(50)

"म पनि त तरुणी, यस्तो तिमी किन विचार्छौ।

"हेर ती गुँड़हरूबाट सुगाहरू हामीलाई हेरिरहेछन्।।

"हो - हो, चुच्चोले गुँड़हरू सजाइरहेछन्।

भर्खर - भर्खर उठेर आफ्ना घरहरू बढारिरहेछन्।।"

(51)

"हेर त हे प्रियो, तल कति निर्मल जल छ।

आज हामी सँगसँगे बग्नलाई त्यो पनि चंचल छ।।

जलमा, थलमा, नभ - मण्डलमा भन; कहाँ मंगल छ।

जहाँ प्रेमको अघि आफ्नो शीश झुकाउने बल छ।।"

(52)

"हेर प्रिये! नदीको तटमा, त्यहाँ के के हुँदछ।

अझ अलिक उज्ज्वल हुनुलाई बकुलाले प्वाँख धुँधछ।।

हाँस पौड़न्छ, घरि घरि जलमा गोता लाउँदछ।

यताउति लहरहरू हल्लिरहन्छन्, सुगाहरूले जल पिइरहेछ।।

(53)

"संगमका त्यस पार देखिने हेर, वन कदलीको।

यहाँ हेर, यो हरियो बल वन, त्यो नारंगीको।।

तिमीलाई कुन फल मीठो लाग्दछ, कुन फल फिको।

"म के भनूँ, मलाई लाग्दछ मीठो त्यही तिम्रो जीउको।।

(54)

हेर प्रिये, कुसुम वन मेरो, हेर त्यो आइरहेछ।

यस नन्दनवनभरिमा जुन अति सुन्दर छ।।

यही नै एक उपवन जगमा मेरो मन रमाउँदछ।

"किन मन, नरमाउनु, त्यससित तिम्रो चिर नाता छ।।

(55)

"हेर प्रिये, हाम्रो वन, यो निरम्ल जलको स्रोत छ।

विहँसिरहेछ, कुसुम डालमा हरा - भरा तरुवर छ।।

"तर प्रियतम, भँवराहरूको यति यहाँ भन, किन घर छन्।

"जान्दैनौ तिमी, जहाँ सुमनहरू हुन्छन्, त्यहाँ - त्यहाँ भँवराहरू हुन्छन्।।

---

क्रीड़ा

 

(56)

"यदि वनरानी अभिमानी त, वनराजा पनि अभिमानी।

आज यही नै भन्नु मैले पनि मनमा ठानी।।

त्यहीं पर्खेर सुन पहिले चुपचाप मेरो बानी।

कहाँ लुक्दछु, के गर्दछु, मलाई कोजिलेऊ रानी।।

(57)

"त्यति टाढा लुकेछौ राजा, कसरी खोज लगाऊँ।

यतिको वृक्ष सघन छ वनमा, कुन डालामा जाऊँ।.

कुन पल्लवको भित्र खोजूँ, कहाँ - कहां घुमिरहूँ।

कहाँ लुकेछौ, के गर्दछौ, कसरी तिमीलाई पाऊँ।.

(58)

"चारैतिर चाँदनी छरिएको छ, रजनीको बेला।

छु म त्यहाँ, जहाँ हमी दुई खेल्दछौं नित्य खेला।।

यो वर वृक्ष, यो मेल, अनि बेल, यो रसाल यो पीपल।

आऊ रानी, खोज मलाई बसेको छु, यहाँ अकेला।।"

(59)

लुक्यौ कमलमा मधुकर मधुकर बनी नाथ, कसरी पाउनु।

बस्यौ कण्ठमा मृदु स्वर बनी कसरी हात लाउनु।।

के जानुँ रस बनी, कुनभित्र बसेका छौ।

सरस सुमनको सौरभ हौ, अब लुकी किन बस्दछौ।।

(60)

"अरे, उडी मलाई खोज, आऊ यस तरुवरमा।

हेर कसरी आत्मसमर्पण गर्दछु, क्षमभरिमा।।

"तिमी नै आई, खोज मलाई, बसेको छु यस घरमा।

हेर अदिक समर्पणको गुण नारीमा कि नरमा।।"

(61)

"खोज्न नसक्ने आई मलाई, हाँक भने पिट्दी छौ।

यति बोलिरहेछु, तैपनि अलिकति टेर्दै टेर्दिनौ।।

के यस्तो चाँदनी रातमा पनि यसरी डराउँदी छौ।

आफ्नो घरदेखि बाहिर एक पाइला पनि सार्दिनौ।।

(62)

जब बसेका छौ, मेरो मनमा, किन खोज्नु वन - वनमा।

जब तिमी बूँद बनी बर्सिन्छौ, किन खोज्नु घन - घनमा।।

किन नडराऊँ, जब तिमी यतिको हठ गर्दछौ मनमा।

जब तिमी छौ आफ्नो यौवनमा, म किन हुन्छु बालकपनमा।।

(63)

यसै समय सानु घन - मण्डल नभमा उड्दै आयो।

झट्टै त्यस घन - मण्डलमा शशिको उज्ज्वल काया हरायो।।

नन्दनवनका पल्लव - वनमा तरु - तरुमा तम छायो।

शशिको मायामा चरीले असल अवसर पायो।।

(64)

उडेर नीडबाट जब वनरानी विस्तार - विस्तार आइन्।

एउटा डालामा उसले आफ्नो लुकेको निधि पाइन्।।

नाची - उठे मन - मोर खुशीमा, मधुर - मधुर मुस्काइन्।

बसी पल्लवभित्र ठीक, जसरी चोर बस्दछन्।।

(65)

भन - "अब बोल वनराजा, कुरा बनाउँदछु खालि।

या केही गुम पनि राख्नेवाली हुँ, बल राख्नेवाली।।

"होइन, होइन, यो ठीक भएन, रजनी एकदम काली।

"जब के मैले नै बनाएँ ता, यो रजनी काली।।"

---

अधीरता

 

(66)

भर्खर - भर्खर पूर्वीय क्षितिजमा अरुण उषा मुस्कायो।

नदी, सरोवरमा, निर्झरमा आफ्नो छवि देखायो।।

वन - तरुवरका पात - पातमा मंजुल मर्मर गाउँदछ।

मन्द - मन्द वायु विपिनमा पल - पल बहन्छ।

(67)

खुल्यो आँखा वनरानीको शरीर मर्कायो।

तरुमा नदेख्दा वनराजालाई मन अति डरायो।।

खोजी पात - पातमा, तैपनि नदेखी।

कता गए होलान्, यस बेला चोर जस्तो भई।

(68)

उठी नीड़बाट मन बारी गरी, गई तरुवरमा।

ध्यान लगाई सुन्न लागे, रानीले पल्लवको मर्मरमा।।

अड़की - अड़की जाँदथे चरी सुनी केही सर - सर।

ध्यान लगाई सुन्न लागी ऊ, चराहरूको मृदु स्वर।।

(69)

"निर्मल निर्झर, मेरो राजा जल पिउन आएथे।

बसी यहाँ आज तिनले मधुर गीत गाएथे।।

ए तरुवर, फल छानी - छानी प्रियतमले खाएथे।

अरू दिन जस्तै तिनले आज पनि मृदु फल देखाएथे।।

(70)

ए सर - सरिता आज मेरो प्रियतमको तिमीले दर्शन पायौ।

ए सर - सरिता, आज परेथे, तिमीमा उनको छाया।।

ए पल्लव, जानु अघि केही तिमीलाई सुनायो।

मलाई छोड़ी कहाँ गए हरे; त्यो मेरो मनको माया।।

(71)

"ए मालिन, प्रात: बेलादेखि यहाँ सुमन चान्दी थियौ।

"तिमी त वन - चरी दलको मधुर गीत सुन्दी थियौ।।

या मग्न बनी चिन्तामा मन - मनै गुनिरहन्थ्यौ।

या तिमी पनि कुनै ठाउँमा बसी, शीर समाई रुँदी थियौ।।

(72)

कता गए, कहाँ हिंड़े, त्यो उपवनका राजा।

मन मारी किन, ए मेरो मालिन, मेरो मनको राजा।।

छाड़ी गए मलाई एकाकी, किन यस तनको राजा।

त्यागी गए किन, सारा वैभव यत्रो धनको राजा।।

(73)

फुट्यो हृदयको बाँध अब त थाल्यो अश्रु - दल बग्न।

कोमल प्वाँखका सबै पखेटाहरू चुँड़ाई - चुँड़ाई थाल्यो पाल्न।।

हिक्क - हिक्क गर्दै; आँसु खसाली भन्न लागे एक्लै...।

"कसका लागि यो जगतमा यी सब पापिनी पहिरिनु।।

(74)

त्तिकैमा आइपुगे राजा, उसित सोधे "के भयो?"

"फुटेको भाग्य लिई बसेकी छु, अर्को के हुन्थ्यो।।"

"गएको थिएँ फेरि आइहाल्दथें, यसरी रुनुपन के थियो।"

"नभनी यकुनै प्रणय काखबाट यसरी हराउनुपर्ने के थियो।।"

---

:2:

 

वियोग

 

(75)

चढ़ी आएथ्यो दिन माथिसम्म, थियो बेला दिन पहरको।

तप्त पारिरहिथी वसुधालाई खुप तेज किरण दिनकरको।।

आई बसी थिई मृदु शीतलता छायामा तरुवरको।

लिन्थ्यो विश्राम त्यहीमाथि चराहरू कानन - भरमा।।

(76)

शीतल तरु - छायाका तला सुन्दर पल्लव - वनमा।

बासिरहेथे दुवै चरी बसी पर्ण - सदनमा।।

अन्तस्थललाई छुने गरी उठ्दथे बोली पवनमा।

भर्दथे मृदु उल्लास प्रेममा, मंजुल मदनमा।

(77)

यस्तैमा पश्चिम क्षितिजबाट धुलो उड्यो गगनमा।

गयो पश्चिमी पवन बेगसित उड्दा - उड्दै नन्दनवनमा।।

हाहाकार मच्चियो वसुधामा, वनमा सबको मनमा।

अरे, कस्तो आपद आउँदैछ अब यस जीवनमा।।

(78)

जरा हल्लिए, वन - तरुवरको, यस्तो आँधी आयो।

वसुधाको कुना - कुनामा घोर कालिमा छायो।।

कता - कता उड़ी गए पातहरू, केही देख्न नै पायौ।

डालाहरू भाँचिई खसे घरामा, खिलेको कली मुर्झायो।।

(79)

थिएन ठाउँ केही पनि तरुको सानु हाँगामा।

तैपनि बसी वनरानी कुनै सूरत त्यस घरमा।।

बस्न सकेनन् तर वनराजा त्यस पर्ण - हीन तरुवरमा।

आँधी आई लगे उड़ाई त्यसलाई हाय, पल - भरमा।।

(80)

पवनले उड़ाई जता लगे बेगले, उतै उड़े चरी पनि।

पवन गए जतातिर मुड़े रूख उतै, उतै मुड़े चरी पनि।।

पवनले पार गरी गए, बाटिका, प - पर भए चरी पनि।

पवन लागे परदेश, साथ तयार भए चरी पनि।।

---

चित्कार

 

(81)

रोई - रोई रजनी बित्यो, रोएर दिन आयो।

उसको सानु काया, रोई शिथिल भयो।।

गले करुण दु:खहरूले दृगमा जल भरी आयो।

रात - रात - भर जागी जल आँखैमा सुक्यो।।

(82)

जुन आँखाले यस जीवनमा 'नन्दनवन' लाई देखेथ्यो।

जुन आँखाले बालकपनदेखि नै, 'पल्लववन' देखेथ्यो।।

जुन आँखाले खिलेको कमल जस्तो हाँसिरहेको मन देखेथ्यो।

जुन आँखाले पात - पातमा मृदु जीवन देखेथ्यो।।

(83)

त्यसै आँखाले हेरे उसले, जगत शून्य भएको।

हाँसी इत्री गर्ने कलीहरू, पल - भरमा मुर्झाएको।।

कलित कण्ठको मधुर बोलीहरू क्रन्दनमा डुबेको।

सुख दु:खमा मिलेको;दु:ख सुखमा हराएको।।

(84)

चित्कार गरी रुन्थी रामी, वन सारा रुँदथे।

लोचन रुन्थे, मन रुन्थे, तन सारा रुन्दथे।।

झरिरहेथे आँसु, दृगको प्यारा घन रुन्दथे।

गोली - गोली आँसु लोचनको तारा बनी रुन्दछे।।

(85)

गुञ्जिरहेथ्यो लहर - लहरमा, करुणाजनक रोदन नै।

आज नित्यको गायक निर्झर, भन्दथे क्रन्दन नै।।

रुन्दथे जल -थल अझ बढ़ेर, चिन्तित नील गगन नै।

सुँक्क - सुँक्क जग नै किन नरोओस् जब रुंदछ जीवन नै।।

(86)

आश्वासनको मृदु आशामा, गई उ तुरन्त उ सरमा।

युगल मराल - मराली ल्याइदेऊ - केही सुख अन्तरमा।।

किन्तु, के सरमा, के निर्झरमा, के अग्लो तरुवरमा।

जगत सबमा छाएथे, चिन्ता उजाड़ कानन - भरमा।.

(87)

बसी सर - तटमा रोइरहेथे मराल - मराली।

दल - हाँसहरूले भरेको सरोवर देखिँदथे काली।।

भरेका थिए, जलमाथि पातहरू आँधीको।

हुँदैनथे अलिकति पनि क्रीड़ा मतवाली हाँसहरूको।।

(88)

हेर्दा - हेर्दा आज यो दुर्दशा 'नन्दनवन'को सरको।

हेर्दा - हेर्दा यो करुण अवस्था आफ्नो उजाड़ घरको।।

सुनी - सुनी क्रन्दन - ध्वनि चरीको जल - थलको अम्बरको।

अघिभन्दा अझ बढ़े व्याकुलता अन्तरको।।

(89)

रोई रानी आँसु भरी - भरी दुई सुनिएका लोचनमा।

आज बोली मञ्जुलको बदला, काँड़ा बिज्यो मनमा।।

लाग्यो व्यथाको आगो देहमा, जाग्यो वेदना तनमा।

कराई - कराई रुँदथी रानी, पीड़ाले क्षण - क्षणमा।।

---

विदा

 

(90)

दिन आयो पहाड़ बनी, आई रजनी भई भारी।

झिल्का बनी निक्ल्यो जगमा, तारा 'गगन' विहारी।।

उजाड़ थिए नन्दनवन, उजाड़ थिए उसको फुलबारी।

तैपनि आशा लगाई बसेकी थिई, मिलनलाई बिचारी।।

(91)

भाँचेका डालाहरूमा प्रभातलाई ऊ हेर्दथी।

कति दिन बितेर गएछन्, ऊ लेखा गर्दथी।।

सोचमा परी पद - नखले तरुमा रेखा कोर्दथी।

आशाका आँखाले पूरबमा निहार्दथी।।

(92)

तैपनि आउँदैनथे वनराजा कुनै दिशाबाट वनमा।

सुनिँदैनथिए बोली उसको कहिले पनि कुनै क्षणमा।।

बसी - बसी दु:खी भएर भन्दथी ऊ मनमा।

"के साँच्चै पाउँदिनँ मेरो राजा, अब यस जीवनमा।।"

(93)

सुन्दर नन्दनवनका शोभा अब बितेका थिए।

हाँस्दथे न अब कली नै वनमा, न चराहरू नै गाउँदथिए।।

फूल - फूलमा अब न मधुकरी नै, उड्दै - उड्दै घुम्दथिए।

हेरी - हेरी अब यिनीहरूलाई रानीको हृदय दु:खित थिए।।

(94)

बितेर गए लामा क्षणहरू, तैपनि आएनन् प्यारा।

रात - भरी गनिसकें गगनका चम्किला तारा।।

रोई - रोई खोजिसकें राजालाई वनबीच किनारा।

खर - खरमा, निर्झरमा, सरमा, वन - तरुवरमा सारा।।

(95)

भयो विराग हृदयमा उसको, आर्त्त विरहको दु:खले।

हुन्थे कुशल, यदि अहिले ता रहन्थे किन वञ्चित सुखले।।

बसी - बसी गर्दथे आह - व्यथाको अभागिनीको मुखले।

जति टाढा थिए सुखले, उति नै समीप थिए दु:खले।।

(96)

"जगतीका कुना - कुनामा अब सत्वर जानेछु।

बनाई सँगमा राजालाई अनि यहाँ आउनेछु।।

खोज्नेछु वन - वनमा, जीवनभरि आशा छ, पाउनेछु।

जबसम्म पाउँदिनँ उनलाई लोक - लोकमा आउनेछु।।

(97)

यस्तै सोची विदा भए, वनबाट आफ्नो त्यो काननबाट।

जहाँ एक दिन जुटेका थिए, नाता मृदु जीवनबाट।.

जहाँ सदा हाँस्नु, रुनु सक्दथे सुख - दु:खमा निज वनबाट।

थिए परिचित जसका कण - कणदेखि ती आफ्नो बालकपनबाट।।

(98)

जसै उड़े गगनमा चरी सारा वन रुँदथे।

निर्झर - भूमा शिर ठोकाई सारा घन रुँदथे।।

आगो लागेथ्यो उसको मनमा, सारा तन जल्दथे।

उड्दै जान्थी 'वनरानी' प्यारा मन रुँदथे।।।

---

विलाप

 

(99)

मरुस्थल थियो फैलेको अघाड़ि, नभ थियो माथि नीलो।

मद्धिम थियो चाँदनी रातमा, शशि थिय़ो पहेंलो - पहेंलो।।

लिई भिजेका लोचनमा आँसु, गीला - गीला।

हेरिरहिथी 'वनरानी' रेतीमा रजनी - लीला।।

(100)

क्षुद्र ज्योतिले रजकण लाग्दथे चाँदी - कण जस्तै।

धवल चाँदनीका टुक्रा जस्तै, धन - कुबेरका धन जस्तै।।

मानों ती झर्दथे भू - मा नभको उज्ज्वल धन जस्तै।

घरि - घरि चम्किन्थे तिनी कीराहरूको तन जस्तै।।

(101)

धेरै टाढा विस्तृत सागर जस्तै चम्किने रेती थिए।

जहाँ घोर नीरवता जगका नींदमा मस्त थिए।।

स्वाइँ - स्वाइँ गरी आफ्नो नैया हावामा खियाउँदैथिए।

यहाँ - वहाँदेखि बालुवा यताउति पार्दथिए।।

(102)

सुतेका व्यथा जगाए मनमा, अब त्यस नीरवताले।

दु:खी भइन् रानी रजनीमा, दु:ख सुनाउन थाले।।

चिरियो नीरवताका तन, करुण रोदनको तानले।

रोई रेती सुँक्क - सुँक्क गरी, क्रन्दन गरे निशाले।।

(103)

"छ अनन्तसम्म विस्तृत रेती अनि अनन्त गगन छ।

माथि चाए घोर सून्यता, तल बालुवा - कण छ।।

क्षण - क्षण आउँदछ जगतीमा मेरो यो क्रन्दन छ।

न होला यहाँ राजा, यो रेती निर्जन छ।।

(104)

"तैपनि अब यी दुइ प्वाँखहरूले कता - कता घुमिरहूँ।

कुन देश छ, अर्को कहाँ, जहाँ म खोज्न जाऊँ।।

हाय!  लुटिएं म अभागिनी कसको शरण अब जाऊँ।

होला कहाँ भट्किँदै राजा, कसरी पता लगाऊँ।।"

(105)

मेरो हितको द्वार बन्द गरी सुते दशै दिशाहरू।

अब पथ कसले देखाउने, लुकिसकेछन् बाटाहरू।।

कहाँ बस्यो खग कुलको ललना, किन यहाँ आउँदैन।

तल माथि, दायाँ बायाँ सहायक देखिँदैन।।

(106)

खोजिसकें मैले सारा दुनियाँ गिरि, वन पर्वत माला।

भटकी घुमें कुना - कुनामा यो मेरो तन काला।।

नाघिसकें मैले आज अनेक निर्झर, सर, नदी, नाला।

हाय! मैले पाइनँ कुसुम वनका राजा, अब कता होला।।

(107)

जानु कता, गरूँ के, राजा कहाँ छ, भन कता।

आफ्नो दु:खका कुराहरू कसलाई भन्नु भन कता।।

आज एक्लै आफ्नो पीड़ा सहनु भन कता।

निराधार भई कुन सागरमा बगिरहनु भन कता।।

(108)

यस्तै घोर नीरवतामा के वनराजा सुतेको छ।

यो बालुवामा उज्याला कण किन पखालिएको छ।।

के म जस्तै नै जगले पनि यसरी वैभव हराएको छ।

किन मलाई पनि लिँदैनै मुखमा आज यस्तै समय त छ।।

---

आश्वासन

 

(109)

यस सुन्दर झिलमिल रजनीमा,सखी किन रुँदछौ।

यस्तो के व्यथा हुँदछ, तिमी व्याकुल हुँदछ्यौ।।

यो सुन्दर रंगलाई किन आँसुले धुँदछ्यौ।

भन! भन! ए कोकिल रानी, किन जीवन हराउँदछ्यौ।।

(110)

नरौ सखी! यस रजनीमा, हेर चम्किने तारा।

भन्दछ कथा मधुर जीवनको, हर्दछ दु:ख सारा।।

नील गगनका मंजुल मोती लाग्दछ कति प्यारा।

कुन देशबाट आयौ रानी, जगको आज किनारा।।

(111)

दु:खी भइरहिछ्यौ धेर बेरदेखि किन रेतीमा सखी।

खसाई - खसाई आँसुको मोती किन पार्दछ्यौ निधि खाली।।

सुनेर रोदन व्यथा हुँदछ, लाग्दछ रजनी काली।

नरौ, नरौ, चुप लाग सखी, बिहान खुल्दछ लाली।।

(112)

सुनेर कुरा यो बुलबुलको रानी उससित बोली।

यति दिनपछि चुच्चो अब उसले सुखसित खोली।।

व्यथा कथाको सुनाउनलाई पहिले केही रोई।

सुँक्क! सुँक्क! गरी रोइसकेर केही हलुङ्गो भई।।

(113)

बितेको कथा सुनाई उसले, दु:खले मन भरी रहेथे।

निक्लिरहेर आँखाबाट व्यथा बहिरहेथे।।

सुनेर त्यसलाई चुलवुली बुलबुलले, सुखको बाटो भुलिरहेथे।

दुवै अब गला मिलाई रोई रोई रहेथे।।

(114)

भनी बुलबुलले - नरौ रानी, राजा तिमीले पाउनेछौ।

धीरज धर कहिले ता तिम्रो सुखमा सुमन खेल्नेछ।।

मलयानिलका मृदु स्पर्शले तिम्रो पात हल्लिनेछ।

मधुर प्रेमसित राजा आई तिमीलाई चुम्बन गर्नेछ।

(115)

फेरि तिम्रो दिन पनि आउनेछ, यो मन हाँस्नेछ।

उजाड भएको जगतका नन्दन काननमा बस्नेछ।।

फेरि पनि अघिको प्रमोदमय जीवन मस्त हुनेछ।

फेरि पनि मदपूर्ण यौवनमा नन्दनवन हाँस्नेछ।

(116)

हिंड रानी, मेरो घर जाऊँ, केही विश्राम हुनेछ।

एक दिन तिम्रो संसार फेरि हरा - भरा हुनेछ।।

नगर सोच केही दिनलाई तिम्रो हित हुनेछ।

तिम्रो राजाको रखवारी वसुन्धराले गर्नेछ।

(117)

हामी दुवै मिलेर खोज्नेछौं, आफ्नो निधि पाउनेछौं।।

यसै जगतमा फेरि हरदम हामी मधुर गीत गाउनेछौं।

प्रेम रसका मीठा फल छानी - छानी खानेछौं।।

जीवनमा बितेका घड़ीहरू फेरि यहीं बोलाउनेछौं।

---

 

चिरप्रेमी

 

(118)

 

 रात भइरहेथे, घर - घर सुतिरहेथे।

चाँदीको जलले वनको आँचल निर्झर धोइरहेथे।।

तरु - पल्लव - दलको मृदु घरि - घरि मर्मर हुँदते।

आज पपीहा आफ्नो सुध-बुध गाई - गाई हराउँदथे।।

(119)

चाँदी गरेर गिरिदेखि सरितामा जाँदथे।

सट्टामा गिरि वनकुञ्जलाई कल -कल दिँदथे।।

उफ्री - उफ्रा, कुदी - कुदी सागरमा जाँदथे।

धेरै दिनदेखि छुट्टिएको तटिनी अब घर पुग्दथे।।

(120)

पर्वतको अग्लो शिखरमा पीपलको तरुवर थियो।

मधुर स्वप्नमा लीन जहाँ चरी दलको घर थियो।।

तर कुनामा अझ पनि जागिरहेको एउटा पोथ्रा थियो।

जहाँ जीर्ण तनको एउटा खग, अन्तिम सासमा थियो।।

(121)

भरी आएथ्यो अश्रु नयन पुलकित - प्रमुदित खग थिए।

क्षण - भरका निम्ति अब उसको हितमा यो जग थियो।।

त्यस दुनियाँमा अब तुरन्त हिँड्नलाई पयर थिए।

जहाँ प्रेम थिए अमर, सदा नै जग त्यसले जगमग थियो।।

(122)

सँगमा थिए बुलबुल रानी, बसेकी थिइ वनरानी।

दुवैका नीला आँखामा भरिएका थिए अश्रु - पानी।।

खुले अनुहार पाई राजालाई, हाँसिन् तब रानी।

यतिका दिनका ती तपस्विनी भई आज फेरि रानी।।

(123)

भनी रानीले - "मेरो राजा, जाऊँ न नन्दनवनमा।

जहाँ प्रेमले क्रीडा गर्दथ्यो बितेका जीवनमा।।

तरुवरका अगला महलहरूमा, पातहरूका आँगनमा।

कस्ता थिए ती दिन, सोच त प्रिय! आफ्नो मनमा।।

(124)

तिमी छौ जहाँ - तहाँ रुँदछ नन्दनवन भई बियोगी।

छ त्यहाँ 'धन' तर यहाँ तिमी छौ सारा धनको भोगी।।

त्यस उजाड वनको अब फेरि सुन्दर रचना होला।

जाउँ न बुलबुल तिमी पनि मसँग केही दिन सँगै बसौंला।।

(125)

किन नजानु है रानी, यो जनम - जनमकी दासी।

हुनेछ सुखले रेत - निवासी नन्दनवनका वासी।।

पात - पातमा छटा मनोहर जहाँ स्वर्ग - सुषमा जस्तै।

म ता स्वयं प्यासी छु, यस्तै जगको वन जस्तै।।

(126)

सुनेर दुवैको मृदु वाणी, झरे सिन्धु नयनमा।

देखेर मीठो झलक स्वप्नका तरुको पर्ण - शयनमा।।

देख्न लागे गत मृदु जीवनका तस्वीरहरू क्षम - क्षणमा।

जागी उठे उद्गार देहमा पुलकित तन - तनमा।।

(127)

भने राजाले - "यहाँ हाम्रो सुरभित नन्दनवन छ।

तथापि जीर्ण छ, सारा तन, तैपनि हाँसिरहेको मन छ।।

प्रिये! जहाँ तिमी बसेकी छौ, त्यहीं स्वर्गको धन छ।

जहाँ प्रेम छ, त्यहीं सदन छ, प्रेमी त्यहीं मगन छ।।"

(128)

"जब थिएँ अन्ततिर, तब छटपट लाग्दथिए।

यस जीवनको एक - एक पल वर्षहरू झैं लाग्दथिए।।

पीड़ाले यो तन जीर्ण थियो, मनमा दु:ख थिए।

रुनु नै थियो जीवन मेरो, आँसु हरदम झर्दथे।।

(129)

तर अब ता हाँस्दछ यो मन, सदा हाँसिरहनेछ।

आशा छ, अब फेरि वियोग झैं दर्द न आउनेछ।।

सुनी - सुनी प्रेम - चरी मृदु वाणीमा आफ्नो कुरा भन्नेछ।

वनमा पाखुरा बाँधी नेहका निधिमा सदा बग्नेछ।।

(130)

जान सक्तिनँ त्यहाँ अब रानी, म भएँ तनको रोगी।

जानेछ असली नन्दनवनका, नन्दनवनको भोगी।।

जानु छ अब योग साधन, प्रेम योगको योगी म।

गला मिलाऊ अब रानी, भेट हुनेछु त्यहाँ नै म।।

(131)

"यति भनी आँखा चिम्ली, गए स्वदेश बटुवा त्यो।

कराई उठी रानी घायल भई - "छोड़ी गए मलाई पनि।।

कहाँ गयो ए मेरो राजा, जीवनधन, मन - मोही।

"के अपराध गरें मैले, यसरी गयौ निठुरी तिमी।।

(132)

बोल्न नसकी अट्क्यो कण्ठ, बन्यो जलको धारा।

गला मिलाई त्यहीं सुत्यो, बोलेन फेरि मुखद्वारा।।

बुलबुलले देखे आँखाले, छोड़िगएको जग यो सारा।

रहनेछ त्यहाँ सदा चिर - प्रेमी, जहाँ हुनेछ प्रेम प्यारा।।

---

चहक

 

(133)

"घुमी - फिरी उमेरभरि सखी! रेतीमा काननमा।

लागिरह्यो बस एक नेहको खेती क्षम - क्षणमा।।

तर देखें दृश्य यस्तो यस जगतीमा जीवनमा।

देखेन यस्तो वैभव, हीरा मोतीमा काँचनमा।।"

(134)

हाँसिदेऊ मृदु चिर हाँसो मिलन होस् जगमा रोई - रोई।

मिलोस् निदि अमित स्वर्गको निज धन हराई - हराई।।

हओस् हिराको टुक्रा, बालुवा धुँदा - धुँदा।

झरोस् मृदु उल्लास घाउको पीड़ा हुँदा - हुँदा।।

(135)

बग्यो बतास मन्द मृदु शीतल, पातहरू हल्ले।

बोली उठे कोयल निशामा, मीठा बोली बोले।।

क्रीड़ा गरे तारिका बाला, नभको खिड़की खोले।

पछि छरिए धवल चांदनी, तम भागे पहिले।।

(136)

तल पर्वतको आँचल होस्, माथि नील गगन होस्।

मृदु छलछलमा, मृदु कलकलमा निर्झर नदी मगन होस्।।

वन - तरुवरको एक डालामा मंजुल प्रेम सदन होस्।

छरिरहेका मुक्ता - फलहरू रसले तृप्त मदन होस्।।

(137)

"रोई - रोई, हाँसी - हाँसी, तिर - प्रेमी सुत्दछ।

जगका निधिभन्दा ठूलो दुई मूल्यवान मणिहरू हराउँदछ।.

आफ्नो एक नेह सानुबाट मेरो मन धुँदछ।

मेरो रेतीमा आई प्रेमको बिउ लगाउँदछ।।

(138)

"अब बुझें मैले यही स्वर्ग हो, यही हो मुक्ति धन।

अन्य जगतमा सब बन्धन हो, यही एक जीवन।।

यही नै 'पारस' हो, जसले बन्दछ तन कंचन।

सरस - सुधा छर्ने, यही नै बस, एक धन।।

(139)

"म पनि पाउँछु यस्तै धन, ए सखी, भन त।

केवल यस्तै नै मंजुल जीवन,ए सखी, भन त।।

हुनेछ जगमा कंचनको तन, ए सखी, भन त।

कहिले झर्नेछ बालुवाका रेतीमा घन, ए सखी, भन त।।"

(पाइन प्रकाशन, सोनादा, दार्जीलिङबाट 1997 मा प्रकाशित )

 

बुवाका आँखा

पवन करण

क दिन पनि ढिलो गरिनँ मैले चिकित्सककहाँ

आफ्नो छोराका आँखा जाँच गराउनमा

चिकित्सकले मसित भने

राम्रो बुवा हुनुहुन्छ तपाईं ढिलो नगरी आइपुग्नुभयो

तर मेरा बुवाले यो अवसर

पैंसठी वर्षपछि मद्वारा त्यति बेला पाए

जब तिनी जीवनको अन्तिम चरणमा उभेका थिए

 

बुवाका आँखा जाँच गर्दै चिकित्सकले मलाई

सोधे

कहिलेदेखि दिक्क छ यिनलाई, मैले भनें

यस्तै छ-आठ महिनादेखि होला

के यिनी सानैदेखि चश्मा लगाउंथे, मैले भनें

होइन

केही बेर चूप लागेर पिताका आँखामा

हेर्दै रहे तिनी फेरि

आफ्नो चौकीमा बस्दै गम्भीरतासित

सोधे तिनले, अँ, भन्नुहोस् त यिनी कति पढे-

लेखेका छन्

झस्केर मैले चिकिस्कलाई सोधें, किन

किन जान्न चाहनुहुन्छ यो तपाईं

तिनले भने बताउनु जरुरी छ

अन्त मैले भनें केही पढ़ेका छैनन्, निरक्षर छन्

यतिसम्म कि सही गर्न पनि यिनलाई साह्रो पर्छ

हो, म यति जानन् चाहन्थें, तपाईंलाई थाहा छ

यिनकाी आँखामा बालखपनदेखि यो रोग छ

टाढ़ाको नजर बालखपनदेखि नै खराब छ यिनको

यस्ता बालबालिकाहरूलाई ब्ल्याकबोर्डमा लेखिएको स्पष्ट देखा पर्दैन

अनि यसै कारणले पनि

धेरै बालबालिकाहरू पढ़ाइ छोड़ेर जान्छन्

सम्भव छ तिम्रा पिताले

पढ्न नपाउनुको कारण पनि यही रहेको छ

 

फेरि मैले चिकित्सकसित सोध्न सकिनँ केही पनि

बुवाका आँखामा धेरै बेरसम्म हेर्दै रहें म

सोचिरहें, काश बुवाका आँखाका बारेमा

बालखपनदेखि नै कसैलाई थाहा भइसकेको हुँदो हो

त केवल यसै कारण निरक्षर रहने थिएनन् उनी

पढ़े-लेखेका हुँदा हुन् त अलिक बाठो हुन्थे

केवल सोझो मात्र होइन अलिक दुष्ट पनि हुन्थे

कि दुष्ट्याइँको सानो अंश तिनीभित्र पसेको भए

निराशालाई पन्साउने थिए तिनले हिंड्दा-डुल्दा

सक्थे लड्न तिनी आफ्नो भागको लड़ाञी

तब हुनसक्थ्यो उनी पनि गर्थे नियतिलाई स्वीकार

साँच्थे तिनी पनि केही सपना र महत्वाकाङ्क्षा

 

प्रत्येक अवसरमा कुर्ता-पाइजामामा देखा पर्ने बुवा

डर्ने थिएनन् पुग्न कुने बिहे-बटुलमा टाइ-सूट लगाएर

र खाने थिए त्यहाँ तिनले सबैमाझ उभेर भोज-भतेर

न कि बस्थे भुइँमा लिएर खानाको प्लेट

भलै तिनी चपरासीमा भएका हुन् भर्ती

तर अलिक पढ़ेर-लेकेर अनि पछि बन्ने थिए बाबू

अनि तिनी कतै मजदूर भएका भए रहने थिए

जीवनभरि केवल मजदूर नै, आफ्नो काम बद्लिहाल्थे

र बिना आरक्षण ट्रेनमा लामो यात्रा गर्ने थिएनन्

 

आफ्नी सुन्दर स्वास्नीलाई छिटो गर्न दिने थिएनन् रोगले

पढ्न सक्थे दवाइका पर्चीहरू, गर्नसक्थे चिकित्सकसित बहस

गरीबीले तर्सेर पठाउने थिएनन् तिनलाई टाढ़ा

सघाउको नाममा एकलो गर्न चाकरी

र जब बयालिस वर्षको उमेरमा विधुर भई नै हाले

रहने थिएनन् जीवनभरि स्वास्नीमान्छेबिना

घरमा न सही बाहिर नै कुनै स्वास्नीमान्छे अवश्यै राख्थे

जसले गर्थी तिनको मनको खै मायाले

 

पढ़े-लेखेका हँदा हुन् त प्रत्येक कामका लागि देख्ने थिएनन्

मेरो मुखतिर प्रत्येक निर्णयमा राख्ने थिएनन्

मेरो निर्णय सबभन्दा माथि, पर्ने थिएनन् भर

मैले लगाइसकेका लुगा-फाटामाथि

प्रत्येक वर्ष सिलाउँथे आफ्नै रुचिका लुगा-फाटा

पेन्शन थाप्न मलाई लाने थिएनन्

प्रत्येक महिना ब्याङ्कमा आफ्नोसँग, आफ्ना नाता-नातीलाई

अह्राउने थिएनन् राशिफल पढ़ेर सुनाउन

अनि सधैँ बिहान बड़ो सञ्चोसित

घाममा बसेर पढ्ने थिए अखबार

 

पढ़े-लेखेका हुंदा हुन् त जीवनमा हिसाब-किताबका नाममा

कसैले तिनलाई ठगिरहेका हुने थिएन

बरु तिनले अरु कसैलाई ठगिरहेका हुन्थे।।

                                                             (हिन्दीबाट अनुवाद - सुवास दीपक)

 

हो चि मिन्हका दुइ कविता

 

बिहान:

बिहान उठ्नेबित्तिकै

हामीमध्ये प्रत्येकले जुम्रा मार्ने अभियान थालेको हुन्छ।

ठीक आठ बजे घण्टा-ध्वनिले

बिहानको खाजाको सूचना दिन्छ।

आऊ! आऊ!!

हामी सबै अघाउञ्जेल खाजा खाऊँ

हामीजस्ता पीड़ितहरूका निम्ति

कहिले त सुखको बेला आउनेछ।

 

मध्याह्न:

कारागारमा

कति राम्रो लाग्छ मध्याह्नमा सुत्नु

घण्टौंसम्म हामी भुसुक्कै निदाएका हुन्छौं

म सपना देख्छु -

पखेटा भएको साँपमाथि चढ़ेर

आकाशमा उड़्दै गरेको।

अनि जब म ब्यूँझन्छु

एकचोटि तर्सेर आफुलाई

त्यही अन्ध्यारो कोठामा

थुनिएको पाउँछु।

मेरो देश

नाजिम हिकमत

तिमी खेत हौ

र म ट्र्याक्टर।

तिमी यदि कागज हौ भने

म छाप्ने मसिन।

तिमी मेरी स्वास्नी हौ

आमा मेरी छोरीकी।

तिमी कुनै गीत हौ

र म उसको वाद्य-यन्त्र।

म एउटा निस्सासिने सांझ हूँ

आँधीले निमोठेको

र तिमी एउटी नारी बंदरगाहको

टाढ़ो किनारमा डुलिरहेकी

अर्को किनारको उज्यालोलाई हेरिरहेकी।

म पानीसरह हुँ र तिमी

तिर्खाएको घांटी

म हिंड़्न थाल्छु सटकहरूमाथि

र तिमी हात हल्लाउँछौ झ्यालदेकि।

तिमी मेरो देश हौ

र तिमीसम्म तिमीलाई

अँगाल्न दौड़िरहेका

पाइला मेरा हुन्। (अनुवाद सुवास दीपक)