|
लेखन मलाई स्वत्वको साधना हो - इन्द्रबहादुर
राई
वार्ताकार: सुवास
दीपक
(.... म त रूखदेखि खसेको थिएँ, बाबुले
भन्नुभएको। मेरो एउटा भाइलाई बाबुले खोलामा पाएर ल्याउनुभएको रहेछ,
अर्को भाइ जोगीलाई दिइराखेको र बहिनीलाई बाँदरले लाँदै गरेकोबाट
आमाले खोसेर ल्याउनुभएको। आप्नो आगमनको यस्तो वृतान्त र इतिहासहरू
सुनेर सानामा हामी दु:खित हुन्थ्यौं...
हाम्रो संसारमा
दिनहुँ नयाँ शिशुहरू त्यसरी आइरहेका थिए,
संयोग र एक - एकवटा कथा पारेर। बिना कथा केही नहुनु कल्पना हो,
बिना कारण केही नहुनु भौतिक सत्यता...)
म उहाँको ड्राइङ रूममा बसेको छु, दार्जिलिङको
तुङसुङ बस्ती कुइरोभित्र डुबुल्की लगाइरहेछ। उपरोक्त पङ्क्तिहरू म
मभित्रै दोहोऱ्याउँछु। उनी घरमा छैनन्, बजारदेखि अहिले फर्केका
छैनन्। उनकी सुपुत्रीले ल्याइदिनुभएको चिया सेलाइसकेको छ, खान
भुतुक्कै बिर्सेछु। म उनको अन्तर्वार्ता लिन आएको, पूर्व परिचय
छैन।
म दार्जिलिङका एकजना प्रबुद्ध लेखक, आयामिक
विधाका रचनाकार, आज रमिता छ र विपना कतिपय तथा टिपेका टिप्पणीहरू
का लेखक श्री इन्द्रबहादुर राईको अन्तर्वार्ता लिन पुगेको छु, उनकै
निवासस्थानमा। आफ्नो अल्पज्ञान मलाई विदितै छ, मुटुको ढुकढुकी
बढ्दैछ, आफ्नो कम्जोरी लुकाउँदै म सहज हुन खोज्छु।
उनी आउँछन्। प्रथम भेटघाटमै उनको सहृदयता र
विशालताले मलाई छुन्छ, मेरो सारा भय र संकोच पखेटा लगाई उडिसकेको
हुन्छ र म पाउँछु, उनी मेरा पूर्व परिचित हुन् क्यार!
म आफ्नो योजनाबारे भन्छु। उनी सहर्ष स्वीकार गर्छन्। म आफ्नो
पोर्टफोलियो ब्याग खोल्छु। यतिकैमा फेरि चिया आइसकेको हुन्छ र चिया
सिप गर्दै उहाँलाई प्रश्न राख्छु -
तपाईं किन लेख्नुहुन्छ?
मैले गरिरहेको जम्मै काम - कृषिकार्य,
प्रशासन, अध्ययन - अरूले पनि गर्न सक्छन्। केवल मेरो लेखनकार्य
मबाट मात्र हुनसक्छ, मैले
लेख्ने मैले मात्र लेख्नसक्छु। लेखन मलाई
स्वत्वको साधना हो।
नेपाली कथा - साहित्यको केही परिचय
दिनुहुन्छ कि?
अग्रगत नेपाली कथाहरू सामाजिक विषयमा
लेखिएका थिए, पछि मनोविज्ञानका आधारमा लेखिए, अचेल दार्शनिक वा
बौद्धिक खोजमा लेखिँदैछन्।
मलाई लाग्छ, उनको सङ्क्षिप्त उत्तर कति
सारगर्भित छ। मलाई नेपाली कथाका अघिइँदा धाराहरू - का पङ्क्तिहरूको
सम्झना आउँछ - 'आज नेपाली साहित्य र
साहित्यकारहरू आफ्नै मात्र परम्परालाई रुङेर बसिरहेका छैनन्।
परम्परालाई राखेरै मात्र लेखन सकिन्छ तर अन्य साहित्य र अन्य
कलाहरूमा के गरिइँदैछ - आजका साहित्यकारहरू विशेष
चँख त्यसतर्फ
छन्। शुरुमा नेपाली साहित्य अरू अन्य भारतीय भाषा झैं वेदानुगत
विचार र संस्कृतिको धारामा हेलिँदै, हुर्कँदै आएको छ, जीवनलाई
परमार्थको निम्ति बुझिएको छ, त्यसकाललाई त्यै प्रगतिशीलता र युग
समीचीनता थियो। अब आफू बढेर अन्य धारालाई समेत त यसले लिनु छ र
पचाउनुपर्छ...'
आफ्नो परिवेशलाई लिएर तपाईंभित्र कस्तो
प्रतिक्रिया हुन्छ? यस प्रतिक्तियाले
तपाईंको रचनात्मक अन्तर्जगतलाई कतिसम्म प्रभावित गरेको छ?
परिवेश - असंलग्न मान्छे बाँचेको हुँदैन, तर
परिवेश - अप्रभावित लेखन सकिन्छ। मेरो लेखनमा म परिवेशलाई
ओसार्दिनँ, निस्सन्देह परोक्ष प्रभावपात होलान्।
आउने नेपाली कथाको तपाईंका
विचारमा कस्तो रूप होला?
अगुवा नेपाली कथाहरूको
गीतात्मकता, मनोविश्लेषण,
क्रान्तिवाद, अस्तित्ववाद पछि छाडिसकेका
छन्। अभिव्य़ञ्जनावादी र सौन्दर्यवादी (एस्थेटिकल) आउँदा नेपाली
कथाहरू हुने होलान्।
बंगलादेशको नर - संहार र
मानव - मूल्यको सङ्घर्षमा तपाईंको प्रतिक्रिया?
बंगलादेशको मुक्ति -
संग्रामले मानव समग्रकै समर्थन र सहानुभूति पाएको हो। पूर्व
बंगालमा गएका युद्धक गोर्खाली सैन्यलाई हामी सबैबाट खदा र
प्रोत्साहन थियो।
म सेलाइसकेको चिया एकै
घुट्कोमा निल्छु। उनी संयत भावमा सोफामा बसेका छन्। आँगनभरि कुइरो
छ, चिसो हावा खिड्कीबाट दैलोभित्र पस्दैछ। एक्कासी मलाई लाग्छ,
युद्धक गोर्खालीहरूको आयो गोर्खाली आवाज मेरा कानमा पसेछ, नतमस्तक
हुन्छु र अज्ञात हातले उनलाई खदा चढाइरहेछु। म केही क्षण घोरिन
थाल्छु - अनेक कथाहरू - उप - कथाहरू मेरो मस्तिष्कमा दगुर्न
थाल्छन्...।
नेपाली साहित्यमा
आयामिक साहित्यको कस्तो देन छ?
नेपाली साहित्यमा आयामिक
लेखन चित्रकलामा घनवाद र अमूर्तको समतुल्य हो। यसको
सैद्धान्तिक
पक्ष अझ कत्तिले ग्रहण गरेका छैनन् तर यसको प्रभाव, विशेषत:
आजको भाषामा स्पष्ट लक्षित छ। आधुनिक चित्रकलाका प्रविधिहरूको
साम्यको लेखन प्रणाली बनायौं, चित्रकलाको समसामर्थी भाषा समेत
बनायौं। यो आयामिक लेखन नामकृत छ। आयामिक साहित्य तर लेखन - पद्धति
सामित होइन यसको समर्थन
रमीमांसा प्रतिपादित छ।
के साहित्यकारका निम्ति
व्यवस्थाको विरोधी हुनु आवश्यक छ?
देशका सामाजिक, आर्थिक,
राजनीतिक अवस्था आफ्नो लेखनको प्रत्यक्ष विषय राख्नेहरूले
साहित्यलाई सामाजिक साधन मान्नेहरूले व्यवस्थाको अन्मूलन खोज्छन्
पनि। कृतिको अभीष्ट उच्चतर थोक - दार्शनिक दृष्टि वा सौन्दर्यगत
अनुभूति देख्ने सर्जकहरू, साहित्यलाई ललितकला मान्नेहरू पनि, यो
आवश्यकता अनुभव गर्दैनन्।
वर्तमान नेपाली साहित्यमा
आलोचना एवं मूल्याङ्कनको कुनै समस्या तपाईंले अनुभव गर्नुहुन्छ?
नेपालीमा रसवादी
नैतिकतावादी मनोविश्लेषणवादी, प्रगतिवादी राम्रा समालोचना प्रशस्तै
भएका छन्। रूपवादी (अमेरिकन न्यू क्रिटिसिज्मको तुल्य) समालोचना
आउँदैछन्।
के लेखक आफ्नो संस्कृतिलाई
छाडेर रचना गर्न सक्छ?
लेख्नु नै सांस्कृतिक कार्य
हो। संस्कृतिको संचेतना नलिई लेखे पनि लेखनमा संस्कृति प्रगटित
भइहाल्छ।
'संस्कृति:
देशकालको सचेततामा' - मा उनले लेख्नुभएका
पङ्क्तिहरू म दोहोऱ्याउँछु - संस्कृतिको बृहत् धारणाभित्र हाम्रा
मान्यता र दृष्टिहरू नै रहेका हुन्छन्, रचनात्मक माध्यम पाएर ती
अभिव्यक्त हुन्छन् हाम्रा कलाहरूमा, आध्यात्मिकतामा, रीति -
थितिहरूमा, घरका बनौट र भाँडा - कुँडाहरूमा, अक्षरहरूको लेखाइमा,
विचारहरूमा, दैनिक व्यवहारका धेरै विधाहरूमा। अभिव्यक्ति सबै
कलात्मक हुँदैन तर सधैँ मौलिक हुन्छ, कलात्मक अनि व्यक्ति
संस्कृतिका लक्षण मान्छौं। संस्कृति अभिव्यक्तिमा छ, माध्यममा छैन।
वर्तमान राजनीतिक
परिस्थितिहरूको नेपाली साहित्यमाथि कस्तो प्रभाव परेको छ?
भारतीय नेपालीहरूको
राजनीतिक अवस्थिति भारतीय राजनीतिक अवस्थाकै अनुरूपी भने हुन्छ।
तापनि साहित्यमा निजी स्वत्वको संरक्षणको धारणा बढ्ता क्रियावन्त
छौं।
के स्थायी मूल्यहरूलाई
ध्यानमा राखी आधुनिक संवेदनाले जुडिएको लेखन तथा केही नयाँ लेखन
नेपाली साहित्यमा भइरहेको छ?
मूल्यहरू स्थायी हुँदैन
रहेछन्, भोग मात्र स्थायी रहेछन् - देवत्वमा विश्वास (मूल्य) अब
प्राय: रहेन, तर फूल देख्ता सुन्दर र
हर्षित लाग्नु (भोग) सधैँ रहनेछ। स्थायित्व पछ्याउँदै यहाँ
आइपुगेका छौं। स्थायित्वलाई भोगमा लेख्छौं। नेपाली लेखक कतिलाई अब
भोगेको स्थायित्व प्रकृति पनि मान्य छैन।
आफ्ना कृतिहरूबारे के
भन्नुहुन्छ?
सम्भवत:
मेरा कृतिहरू पाठकवर्ग प्रियभन्दा अधिक नेपाली लेखकवर्गप्रिय छन्।
आजको नेपाली लेखकलाई आफ्नो
अभिव्यक्तिलाई व्यक्त गर्नुमा कुनै बाधा छ?
नेपालीमा हामी
लेखनजीवी लेखक होइनौं। धेर
मेरो र सुसमय
बाँच्नलाई आलुको खेती गर्दै स्कूल र अफिसतिर दौडँदै
बित्छ। लेख्ने समय थोरै पाउँछौं, हाम्रो समस्याको विकटता यै छ।
नेपालको आधुनिक साहित्यबारे तपाईंको
प्रतिक्रिया?
नेपालका कवि लेखकहरूले विश्व साहित्यको
आधुनातन स्थितिसित अवगत भएर लेख्तछन्।
पौर्व्य वाङ्गमायिक पारस्पर्यको एत्कालीन स्थितिसंग म संयुक्तिलाई
पनि अनन्यून यत्नवान छन्।
बीच - बीचमा हामी अर्को विषयतिर पनि
लाग्छौं। विशेषत: कुराकानी साहित्य र
चित्रकलाबारे हुन्छ। समालोचनामा गुमानसिंह चामलिङको अध्ययनशीलताको
उनी प्रशंसा गर्नुहुन्छ। कविता र चित्रकलामा वीरेन्द्रको।
आज रमिता छ - मा तपाईंले के भन्न खोज्नुभएको
छ?
आधारकयिता यो समस्यामूलक उपन्यास होइन तर
पनि दार्जिलिङमा
स्थित भारतीय नेपालीहरूको प्रथमत:
आर्थिक उत्थान, चिया कमानका नेपाली श्रमिकहरूको संघबद्ध संघर्षले
अविलम्ब आवश्यक यसले भन्छ।
लेखनको प्रारम्भिक कालदेखि लिएर वर्तमान
कालसम्म तपाईंले आफ्ना रचना प्रक्रियामा कुनै परिवर्तन अनुभव
गर्नुभएको छ?
प्रारम्भिक कथा लेखन पद्धति छोड्न चाहें, नव
शक्तिमत् लघु कथाहरूलाई पुनर्परिभाषित गर्न चाहें। नेपाली कथाकारले
आज नयाँ बाटो खोजेकैमा मेरो प्रयत्न पनि सम्मित छ।
के तपाईं कथा परम्पराको निर्वहनमा विश्वास
राख्नुहुन्छ? नेपाली कथाको प्रमुख
प्रवाहसित तपाईं कतिसम्म बेग्लै वा सम्पृक्त हुनुहुन्छ?
अघि हार्दिक अधिक लेख्थें, अहिले बौद्धिक
अधिक लेख्दैछु। विषय वस्तु सधैँ तर वास्तविक बाँचेको जीवनबाट लिएको
छु।
पाँच बजिसकेछ। समय यति छिटो
बितेछ थाहै भएन। म कागजपत्र बटुल्छु, उनीदेखि बिदा लिन्छु र हजारौं
सहृदयता, उनको संसर्गको आत्मीयता हृदयभरि बोकेर चौरस्तातिर
हिंडिरहेको हुन्छु।
( दीयो, अप्रिल 1973 - बाट साभार)
नोभेम्बर 2011
डा. शोभाकान्ति थेगिम लेप्चा
नेपाली साहित्यमा विद्यावारिधि
गर्ने प्रथम सिक्किमे नारी
सुवास दीपक
सुवास दीपक: यहाँलाई भारतीय नेपाली राष्ट्रिय परिषदद्वारा प्रकाशित भइरहेको
भारतीय नेपालीहरूको पत्रिका आधारको तर्फबाट नेपाली
साहित्यमा विद्यावारिधि उपाधि प्राप्त गर्नुभएबापत् बधाइ दिन्छु।
नेपाली साहित्यमा विद्यावारिधिको प्रतिष्ठित उपाधि प्राप्त गर्ने
तपाईं प्रथम सिक्किमे नारी हुनुभएकोमा हामीलाई गर्वको अनुभव
भइरहेछ। आधारको यस अङ्कका लागि यहाँलाई केही प्रश्न सोध्न
आएको हुँ।
डा. शोभा थेगिम लेप्चा:
भाइ, धन्यवाद, अन्तर्वार्ता लिन आउनुभएकोमा।
सुवास दीपक: आफ्नो
पारिवारिक पृष्ठभूमि, जन्ममिति, जन्मथलो आदिबारे जानकारी दिनुहुन्छ
कि?
डा.. शोभाकान्ति थेगिम लेप्चा: मेरो
जन्म पाक्योङ (पूर्व सिक्किम) - मा भएको हो यस्तै 1951 - को
दिसम्बर महिनामा। मेरो दुर्भाग्य हो मैले पिताको प्यार र ममताको
आभास पाइनँ तर सुनेको भरमा - उहाँले मलाई असाध्यै माया
गर्नुहुन्थ्यो रे। पारिवारिक पृष्ठभूमिको चर्चा गर्नुपर्छ भने भाइ,
म लालबहादुर सुब्बाकी छोरी हुँ जसलाई इतिहासले भुल्न नपर्ने तर
भुलिसकेको छ अनि म पम्फावती राईकी छोरी हुँ जो र जसको कारणले यो
इतिहासमा एउटा पाना जोडिएको छ।
सुवास दीपक: यहाँले प्रारम्भिक शिक्षा र उच्च शिक्षा कहाँ - कहाँबाट प्राप्त
गर्नुभयो र यस अवधिमा हासिल गरेका उपलब्धिहरूबारे केही प्रकाश
पार्नुहुन्छ कि?
डा. शोभाकान्ति थेगिम लेप्चा:
मैले प्रारम्भिक शिक्षा र उच्च शिक्षा पीएनजी स्कूलबाट प्राप्त
गरें। स्व. पार्वती थापाको विश्लेषणात्मक ढङ्गबाट म अत्यधिक
प्रभावित थिएँ। सम्झन्छु, उहाँ नै मेरो गन्तव्यको पहिलो खुड्किलो
हुन्। उहाँको आत्माले शान्ति पाऊन्।...छैटौं श्रेणीमा हुँदा एउटा
कविता लेखेकी थिएँ - 'पहाडी खोला'।
कविता त म लेख्थें नै तर आफ्ना कविताहरूलाई मैले धेरै साथीहरूलाई
सम्भागी पनि बनाएँ। यो सायद मेरो कलिलो रहर थियो। आज तर यी व्यक्ति
- विशेषहरू पनि झस्कन्छन् मैले केही नभने तापनि। यहाँ प्राप्ति र
उपलब्धिकै कुरा आउँछ भने दार्जीलिङ सरकारी महाविद्यालयमा नेपालीमा
'अनर्स'
खोल्न, त्यसको निम्ति पसिना बगाउन र त्यस क्षणको सानो युद्धमा साथ
दिँदैको क्षण कहिले - काहीँ सम्झन्छु - मैले तिलभरको योगदान त
अवश्यै दिएँ, सङ्घर्ष गर्दा धेरैले मलाई 'भिक्टिमाइज'
गरे तर रजत पदक प्राप्त गरें।
सुवास दीपक: लेखनकार्य कहिलेदेखि सुरु गर्नुभयो?
तपाईंका प्रेरणा को हुन्?
डा. शोभाकान्ति थेगिम लेप्चा:
मेरो लेखनकार्य म 12 वर्ष हुँदा नै सुरु भयो र
'पहाडी खोला' - को रचना
गर्नसकें।
सुवास दीपक: तपाईंको जीवन - दर्शनबारे केही बताइदिनुहुन्छ कि?
यस सन्दर्भमा यहाँको साहित्यिक मान्यता के हो?
डा. शोभाकान्ति थेगिम लेप्चा:
भाइ, जीवन छ र दर्शन छ। जीवन नै नभई दर्शन कहाँ?
जीवन पनि छ, दर्शन पनि छ। जीवनलाई जुनै तहबाट सेवामा लाउनुपर्छ।
त्यही नै दर्शन हो, होइन र?
सुवास दीपक:
'समालोचनाको परम्परा - विश्लेषण र
मूल्याङ्रन' विषयमा यहाँले विद्यावारिधि
प्राप्त गर्नुभयो - यस व्यापक र जटिल विषयको छनौट गर्दा विशेष
आग्रह अथवा रुचि थियो कि? यस शोध -
प्रबन्धका विभिन्न पक्षहरूमाथि प्रकाश पार्दै यस गहन विषयमा
अध्ययनसम्बन्धी भोग्न परेका कठिनाइँहरूमाथि केही टिप्पणी
गर्नुहुन्छ कि?
डा. शोभकान्ति थेगिम लेप्चा:
भाइ, प्रश्न साह्रै आह्लादक लाग्यो। अनि मलाई पनि मन पऱ्यो। हो,
यस्तै प्रश्नहरूले मलाई छेकारो मारेर जवाबदेही हुनसकें भने मेरे
भावी पिंडी पनि यता - उति नहेरी डरलाग्दा पहाड, आँधी - हुरी, भीर -
पहरातिर लुकामारी खेल्नसक्थे कि? सक्छन्
अवश्यै पनि।
यी त भए मेरा भावनात्मक
गन्थनहरू। हो भाइ, 'समालोचनाका परम्परा
- विश्लेषण तथा मूल्याङ्कन' एउटा जटिल
विषय हो। मेरा गुरु डा. डिल्लीराम तिमसिनाले एउटा सूची तयार गरी म
अघि राखिदिँदा मैले यही शीर्षक छानें। उहाँले यो औधी व्यापक र
विस्तृत क्षेत्र हो, सम्हाल्न गाह्रो पर्ला कि भन्ने शङ्का जाहेर
गर्दा मैले आफ्नो प्रयास एवं प्रयत्नको आभास दिएँ। कुन्नि किन हो
मलाई जटिलभन्दा जटिल समस्याहरूसँग भिड्न र लड्न मेरा अघि आएका
पहाडहरूसँग जुझ्न नै मन पर्छ - आक्रोश पनि होइन, माया पनि होइन। यी
दुइको माझमा के छ - अर्को रिसर्च गर्नुपर्छ होला। कि कसो भाइ?
सुवास दीपक:
नेपाली साहित्य - समालोचनाको वर्तमान स्थितिसित तपाईं सन्तुष्ट
हुनुहुन्छ?
डा. शोभाकान्ति थेगिम लेप्चा:
नेपाली साहित्य - समालोचनाको वर्तमान स्थितिको प्रश्न उठाउनुभयो
भाइ! के भनौं र?
यहाँ कवि, उपन्यासकार, निबन्धकार र लेखकहरू धेरै छन् तर बाँझो
रहेको समालोचनाको क्षेत्रमा पाइला चाल्ने औंलामा गने हुन्छ। कारम
पनि धेरै छन्। यी कारणहरूलाई मैले आफ्नो थीसिसमा पहिल्याएकी छु।
सुवास दीपक:
समग्र नेपाली साहित्य सिर्जनाको
पृष्ठभूमिमा आज भारतीय नेपाली साहित्य - सिर्जनाको स्थिति के कस्तो
छ? यसै सन्दर्भमा सिक्किमले गरेको
प्रगतिबारे तपाईं सन्तुष्ट हुनुहुन्छ?
डा. शोभाकान्ति थेगम लेप्चा:
भारतीय नेपाली साहित्य सिर्जनाको कदर र सम्मान नेपालीले गर्नुपर्छ
भनी मैले आँशु र रगत हत्केलामा लिएर चिच्च्चाएकी थिएँ - यो त आज
कथाजस्तो लाग्छ। राजनीतिले भारतीय नेपाली साहित्य निम्ठ्यो तर धरती
कहिल्यै बाँझो रहंदैन। कोही न कोही र कहिले न कहिले त्यहाँ
मौलाउनेछन् नेपाली साहित्यका टुसाहरू र मुस्कराउने छन् फूलहरू।
सुवास दीपक: नेपाली साहित्यमा विद्यावारिधिको उपाधि प्राप्त गर्ने कपाईं प्रथम
सिक्किमे नारी हुनुहुन्छ। यस उपलब्धिबाट तपाईं कस्तो अनुभव
गर्नुहुन्छ?
डा. शोभाकान्ति थेगिम लेप्चा:
प्रथम सिक्किमे नारी जसले साहित्यमा विद्यावारिधिको उपाधि प्राप्त
गर्दाको मेरो प्रतिक्रिया जान्न जागरूक हुने मेरो भाइ!
आफ्नै व्यक्तिगत सन्दर्भमा भनूँ भने मलाई गर्व लाग्यो, सामाजिक
सन्दर्भमा भनूँ भने मलाई मेरा भावी पिँढीहरूलाई प्रोत्साहित गर्न
इच्छा जाग्यो, अनि अझ पनि एउटा रहर जाग्यो - म अझ पनि अर्को
विद्यावारिधि गर्न सकूँ भन्ने (शिक्षाको सीमा हुन्न भन्ने मेरो
विवेकले भन्छ)।
सुवास दीपक: अन्य भारतीय साहित्यको वर्तमान समालोचनाको तुलनामा नेपाली
समालोचनालाई कहाँ राख्नुहुन्छ?
डा. शोभाकान्ति थेगिम लेप्चा:
अन्य भारतीय साहित्यको वर्तमान समालोचनाको तुलनामा नेपाली
समालोचनालाई केही कम देख्दिनँनँ। किनभने समालोचना गर्नलाई
पुस्तकहरूको प्रकाशनको आवश्यकता पर्छ। यस क्षेत्रमा हेरौं भने अन्य
भारतीय भाषामा लिखित कति साहित्यिक पत्र - पत्रादि र पुस्तकहरू
प्रकाशित हुन्छन् भने हाम्रा नेपाली पुस्तकहरूका प्रकाशन
लङ्गडोजस्तो देखिन्छन्। यस्तो वातावरणमा समालोचना कहाँ र कता गर्ने?
समालोचनाको जन्म त्यहाँ र त्यसबेला हुन्छ - जब समालोचना गर्ने
काव्य - कृतिहरू जन्मन्छन्। कृतिहरूले गर्भाधारण गर्छन् -
समालोचनाको।
सुवास दीपक:
वर्तमान समालोचकहरूमद्ये तपाईंलाई कसले बढी प्रभावित गरेको छ?
डा. शोभाकान्ति थेगिम लेप्चा:
भाइ, प्श्न अप्ठेरो छ किनभने म धेरैबाट प्रभावित छु र छुइनँ
पनि। यसैले नाम किटान गर्न सक्तिनँ - माफ पाऊँ।
सुवास दीपक: (1) सत्साहित्यको निर्माणमा
प्रोत्साहन गर्नु, र (2) असत् साहित्यको निराकरण गर्नु - यी
समालोचनाका उद्देश्यहरू हुन् भनिन्छ। तपाईंको धारणा?
डा. शोभाकान्ति थेगिम लेप्चा:
साहित्यको निर्माणमा सत् र असत्को प्रश्नै उठ्दैन। निर्माण अथवा
निर्माणकर्ताहरूले जुन रचना गर्छन् - त्यसलाई हेर्ने आँखाहरू अलग -
अलग हुन्छ्न्। आँखाहरू पो राम्रा र नराम्रा पनि, दृष्टिहरू पो अलग
हुन्छन् - कृतिकला त हेर्ने, देखिन् र आत्मसात गरी पोख्याउने
वस्तुहरू हुन्। पोख्याउनका साधनहरू अनेक छन्। पोख्याउने मौका, साहस
बेग्लै वस्तुहरू हुन्। जुनसुकै साहित्यले पनि सृजनात्मक
प्रक्रियाबाट अभिव्यक्ति पाइएको हुन्छ। म भन्छु - तिनको कदर
गर्नुपर्छ।
सुवास दीपक:
नेपाली भाषाको संवैधानिक मान्यताका लागि सिक्किमले चालेका पाइला र
खेलेको भूमिकाबारे तपाईंको टिप्पणी?
डा. शोभाकान्ति थेगिम लेप्चा:
नेपाली भाषाको संवैधानिक मान्यताका लागि सिक्किमले चालेका
पाइलाहरूको म कदर गर्छु किनभने आवाज नेपाली भाषा बोल्नेहरूको हो।
भाषा कसैको पेवा होइन। सहजता सम्प्रेषणनीयता नै भाषाको अर्को नाम
हो। तपाईंहरू शुभचिन्तकका प्रेरणा, उत्साह, सहयोग र स्नेह नै मेरा
जीवनका सहारा हुन् भने म पनि तपाईंहरू र तपाईंहरूका सहभागीहरूको
सेवा कुनै पल गर्न सकूँ भन्ने इच्छा मुटुको सानो केन्द्रमा राख्न
चाहन्छु।
अनि अन्तमा भाइप्रति धन्यवाद
ज्ञापन गर्न चाहन्छु। अङ्ग्रेजीमा भनिन्छ -
Eternal vigilance is the price of liberty. हामी जागरूक
हौं - यही वरदान मागौं - मेरा पिँढीहरूलाई मेरो भनाइ यति नै छ
किनभने मृत्यु जीवनको किनार हो र त जीवन छँदै केही गरौं - मेरो
शुभकामना सबैप्रति।
(आधार 1991 - बाट साभार)
सितम्बर 2011
प्रबुद्ध चिन्तक/लेखक
चन्द्रदास राई
सुवास दीपक
सात दिसम्बर सिक्किमको इतिहासको एउटा
सुनौलो दिन हो भनी तपाईंले धेरै अघाडि लेखिसक्नुभएको छ एउटा लेखमा।
यसबारे अझ बढी प्रकाश पारिदिनुहुन्छ कि?
1947 सालको 7 दिसम्बर सिक्किमको इतिहासमा
एउटा सुनौलो दिन हो किनभने पहिलोपल्ट सिक्किमे दुखी दलित जनताले
गान्तोकको पोलो ग्राउन्डमा एउटा विशाल जनसभा गरेर काजी ठिकादारी
प्रथाको अन्त गर्ने आवाज उठाएका थिए। काजी लेन्डुप खाङसार्पाको
अगुवाइमा खोलिएको सिक्किम प्रजामन्डल, स्वर्गवासी डी.बी. तिवारी र
गोबर्धन प्रधानको नेतृत्वमा खोलिएको सिक्किम प्रजा सम्मेलन र
गान्तोकमा गठन गरिएको सिक्किम प्रजा सुधारक - यी तीनै पार्टीहरूको
गान्तोकमा भएको संयुक्त सभामा छलफल गरी एउटै पार्टीमा मिलाएर नयाँ
राजनैतिक पार्टी सिक्किम स्टेट कांग्रेसको जन्म भयो। सिक्किम स्टेट
कांग्रेसलाई संगठन राम्ररी गरेर, युवाहरूले चलाएर सिक्किमे जनताका
आसा र आकाङ्क्षा पूरा गर्ने भार एउटा कामचलाइ कमिटिलाई सुम्पियो।
यो कामचलाउ कमिटिका कार्यक्रताहरू निम्नलिखित गणमान्य
व्यक्तिहरू थिए - सभापति - टासी छिरिङ, उपसभापतिहरू - सोनाम छिरिङ
(भूतपूर्व विधानसभा अद्यक्ष) र रघुबीर बस्नेत, संयुक्त सचिवहरू -
भीमबहादुर राई र कप्तान दिमिकसिंह लेप्चा। सिक्किम स्टोट
कांग्रेसले तीनवटा मागहरू सिक्किम दरबारको अगि राखे - (क).
सिक्किममा जमीन्दारी प्रथाको अन्त्य, (ख). सिक्किममा
प्रजातान्त्रिक सरकारको गठन र (ग). सिक्किमको भारतमा विलय। यसरी
गुखी दलित जनताका बचाउ र भलाइका निम्ति बोलिदिने एउटा सुनौलो दिन
हो भनी किटेर भन्न सकिन्छ।
म गत 15/20
वर्षदेखि तपाईंका कतिपय भाषण सुन्ने सुअवसर पाएको हुँ। विशेष गरी
युवा साहित्यकारहरूलाई तपाईंले सधैँ 'विस्फोटक'
हुने अर्ती दिनुहुन्छ साथै स्वगत एवं जातिगत उत्सर्गको निम्ति
इजराइलको उदाहरण दिनुहुन्छ। एकपल्ट तपाईंले युवा कविहरूलाई
सम्बोधित गर्दै भन्नुभयो, 'आँटीका
छोरालाई बाघले खाँदैन' तर प्राय;
विचार र कर्ममा एउटा ठूलो अन्तराल हामीमाझ छ। यस स्थितिमा
युवाहरूलाई विचार र कर्मको अन्तराललाई पुरेर कसरी
उक्त मार्गतिर
डोऱ्याउने?
भारतका महान नेता र स्वाधीन भारतका
भूतपूर्व प्रधानमन्त्री पन्डित जवाहरलाल नेहरू सधैँ भन्नुहुन्थ्यो
- 'खतरनाक भएर जिउनु।'
यस वाक्यको सारांश मैले बुझेको यति नै हो कि 'मानिस
भएपछि मानिसजस्तो जिउनसक्नु पर्छ।'
अर्कालाई अत्याचार गर्नुहुँदैन, साथै अर्काको अत्याचार सहनु पनि
हुँदैन। हाम्रा युवा कविहरूमा कवितामा धेरै - धेरै दुक्ख - दर्द,
वेदना र बिलौना छन् साथै कति ठाउँमा
निराशा पनि प्रशस्तै पाइन्छ।
यी सबै विचारहरू हाम्रा समाजका वर्तमान वातावरणले जन्माएका हुन्।
कतिका आशा - आकाङ्क्षा फक्रन नपाई ओइलाएको छ, कतिलाई हातमुख जोर्ने
हम्मे परिरहेको छ। यस्तो विषम परिस्थितिमा के गर्ने, यही प्रश्न
सबैको सामुन्ने उभिएको छ। सम्भवत: यस्तो
सङ्कटको सामना आफैले गर्नसक्नु पर्छ र समस्याको हल गर्नुपर्छ। यदि
सङ्कटमय स्थिति आफैले हल गर्न नसके, साथी - भाइहरूसित सर - सल्लाह
गरे, जस्तै कठिन समस्यालाई पनि सजिलै हल गर्न सकिन्छ। सबैलाई थाहा
भएकै कुरा हो - 'मानव जीवन एउटा निरन्तर
सङ्घर्ष हो।' यो कठिन सङ्घर्षको सामना
खुशीले गर्न हामीले आदत बसाल्नुपर्छ। जीवन दर्शनमाथि लामो गन्थन
गरिबस्नुभन्दा, उदाहरण दिनसके असल भनेर मैले इसराइलको उदाहरण
राखेको थिएँ र भविष्यमा पनि राख्नेछु। अल्पसङ्ख्यक साथै टुहुरा
भएको बेला बहुसङ्ख्यक सरकारले थिचोमिचो र हेलाहोचो गरेको बेला,
विश्व इतिहासमा नजर दौडाउन कर लाग्छ। भारतभरी नजर दौड़ाउँदा हामीले
प्रत्येक पाइलामा अत्याचार सहन गर्न परेको छ, र यस परिस्थितिको
निम्ति हामीले नै धेरै मात्रामा आफै दोषी हौं। हामी भारतका विभिन्न
राज्यहरूमा पस्यौं, बस्यौं लाहुरेको रूपमा र गोठाला - खेतालाको
रूपमा। ब्रिटिश पल्टनमा जाने दाज्यू - भाइले मान पाएर, पैसा कमाएर
पनि आफ्ना छोरा - छोरीलाई उचित शिक्षा दिने दिशामा ध्यान दिएनन्,
गोठाला - खेतालाको त कुरा नगरे पनि भयो। अशिक्षित भएको हुनाले
भविष्यमा परिआउने स्थितिको कसरी सामना गर्ने, उनीहरूले केही योजना
बनाउन सकेनन्। फलस्वरूप आज पछितो गर्न परिरहेछ।
बितेका दिनहरू सम्झेर घोरिएर
नबसे, अब भविष्य कसरी सुधार्नुपर्छ, त्यसपट्टि कदम बढाउन
सर्वश्रेष्ठ ठहरिनेछ। हामीले निरन्तर मिहिनेत गर्नुपर्छ, आफ्नो
उन्नति गर्नलाई, आफ्नो परिवारको उन्नति गर्नलाई, शिक्षा लिनलाई र
शिक्षा दिनलाई। आफु र आफ्ना सन्तानका बचाउ र सुरक्षाका निम्ति
सामाजिक संगठनको आवश्यकता पर्छ, त्यस दिशापट्टि पनि ध्यान
दिनुपर्छ।
हाम्रा मनमा उठेका दुक्ख -
सुखका कल्पना वर्तमान सामाजिक स्थितिमाथि सोरै आना निर्भर गर्छ।
शिक्षित र धनी मानिससित दँजाउँदा आफैलाई कमजोर र आफुभन्दा गरीबसित
दँजाउँदा आफैलाई बलियो लाग्नु स्वाभाविक हो। यस कारण हामीले यस्तो
'मोडेल'
खोज्न पऱ्यो जसबाट हामीले शिक्षा र उत्साह पाउन सकौं। अहिले मेरो
नजरमा भएको देश इजराइल मात्र हो - सानो देश, कम जनसङ्ख्या भएको तर
ठूलो र शक्तिशाली देशहरू टक्कर लिनसक्ने। यो एउटा ऐतिहासिक सत्य हो
कि यहूदीहरूले हजार वर्षसम्म सारा संसारमा अर्काको चुटाइ खाँदै घर
न थर भएर घुमिबस्न पऱ्यो। 1947 को नोभेम्बर महीनामा संयुक्त
राष्ट्र संघका भोटमा जितेपछि यहूदीहरूले पेलिस्टाइनको आधी भागमा
आफ्नो स्वतन्त्र राष्ट्र कायम गरे र त्यो राष्ट्रको नाम इजराइल
राखे। इजराइलीहरूले यति दुक्ख - तकलिफ सहे, त्यतिका कष्टहरू यो
संसारमा कुनै जातिले सहनु परेन। यसै कारण इजराइलले गरेर देखाएको छ
कि 'आँटी छोरालाई बाघले खाँदैन।'
प्रजातान्त्रिक मूल्यहरूको
खोजीमा तपाईंको वैचारिक आग्रह मात्र होइन तर तपाईंले सिक्किममा यी
मूल्यहरूको प्राप्तिका लागि जेल पनि जानु भएको छ, यो एउटा ऐतिहासिक
तथ्य हो। के तपाईं आजको विश्वको 'प्रजातन्त्र'
प्रति सन्तुष्ट हुनुहुन्छ?
प्रजातन्त्र एउटा स्वस्थ असल
पद्धति हो। विश्वमा पनि प्रजातन्त्र चलिरहेको छ, प्रजातान्त्रिक
शासनसित सन्तोष वा असन्तोष हुनु हाम्रो आफ्नो विचार हो।
प्रजातन्त्रको विरोध गरे हामीले कि ता साम्यवाद अपनाउनु पऱ्यो कि
ता फौजी तानाशाही। म व्यक्तिगत स्वतन्त्रताप्रेमी छु, तर साम्यवाद
र तानाशाहीमा व्यक्तिगत स्वतन्त्रता खोसिन्छ।
सिक्किममा आएको राजनीतिक
परिवर्तनको सबभन्दा ठूलो उपलब्धि?
राजतन्त्रदेखि प्रजातन्त्र, यो
एउटा गजबको परिवर्तन हो।
गत दुइ दशक र आजका सिक्किमे
युवामाझ तपाईंले वैचारिक दृष्टिकोणमा कस्तो भिन्नता पाउनुहुन्छ?
पहिलेका युवकहरूले शिक्षाका
क्षेत्रमा उन्नति गर्ने सुविधाहरू र मौकाहरू पाएनन्। फलस्वरूप
दार्जिलिङ जिल्लाका युवाहरूसित धक फुकाएर बातचीत गर्न, विचारको
आदान - प्रदान गर्न हिचकिचाउने आजका हाम्रा युवाहरूले शिक्षाको
क्षेत्रमा प्रशस्तै मौका पाएका छन्. उन्नति गर्दैछन् र हामीलाई
पूरा आशा मात्र होइन भरोसा पनि छ कि सिक्किमको भविष्य उनीहरूका
हातमा रहनेछ।
के प्रत्येक लेखक - कविमा
ऐतिहासिक दृष्टिकोण हुनु आवश्यक छ?
म सम्झन्छु, प्रत्येक लेखक र
कविमा ऐतिहासिक दृष्टिकोण हुनु नितान्त आवश्यक छ।
गान्तोकमा आएको पत्र -
पत्रिका (विशेष गरी समाचार पत्र) को बाढ़ी र यहाँको पत्रकारितामा
अवसरवाद र स्तरबारे तपाईंको प्रतिक्रिया?
समाचार पत्र र पत्रिका
प्रकाशनको बाढी आएको म स्वागत गर्छु, आन्तरिक हृदयले। कुनै पनि
भाषामा पहिले पहिले खबरकागज वा पत्र - पत्रिका छापिन्दा स्तर उति
असल नहोला। तर स्तर राम्रो भएन, भाषा शुद्ध भएन भन्दैमा समाचार
पत्र वा पत्रिका छापिनु हुँदैन भन्नु नकारात्मक विचार मात्र हो।
नेपाली भाषामा समाचार, पत्र - पत्रिका प्रकाशनको बाढी आएको
उन्नतिको चिनो हो। कुन समाचार पत्र वा पत्रिका असल, कुन कमअसल, कुन
पढ्न लायक, कुन बेलायक, पाठकहरूलेले आफै छुट्याउनेछन्।
नेपाली भाषाको संवैधानिक
मान्यताबारे तपाईंको विचार?
नेपाली भाषाले मान्यता
पाउनुपर्छ, भविष्यमा मान्यता पाउनेछ, यसमा कुनै शङ्का छैन।
( 1984 मा लिइएको यो
अन्तर्वार्ता निर्माण
प्रकाशनद्वारा 1987 मा
प्रकाशित
साक्षात्कार मा
संकलित गरिएको छ - सुवास
दीपक।)
- अगस्त 2011
उपन्यासकार/कथाकार
लालबहादुर बस्नेत
सुवास दीपक
तपाईं स्वयं एक सिद्धहस्त र
सृजनशील पत्रकार हुनुहुन्छ र यसै सन्दर्भमा सिक्किमको वर्तमान
पत्रकारिता (नेपाली र अङ्ग्रेजी) सित तपाईं कति सन्तुष्ट हुनुहुन्छ?
कुनै स्तर छैन तर लेख्ने
अर्थात् पत्रकारहरूलाई दोष पनि दिन सुहाएन। भर्खर भर्खर थालिएकाहरू
कसरी अरूको दाँजोमा आउन सक्छन्?
पत्रकारिता पूर्ण रूपले स्वतन्त्र हुनुपऱ्यो, यो यहाँ हुन सक्दैन।
राम्रो चाँजो नभएर होला। राम्रो अवसर र सुविधा पाए मान्यता पाउला।
पाँच - दश वर्षपछि अलिक राम्रो होला भन्ने आशा छ।
पत्रकारहरूलाई सरकारबाट सहयोग
हुनुपऱ्यो, किनभने पत्रकारहरूसित आर्थिक टेवाको अरू कुनै स्रोत छैन
र यस सन्दर्भमा सरकारले पक्षपात नगरेर राज्यको पत्रकारिताको
विकासमा सघाउ पुऱ्याउनसक्छ। यसरी पत्रहरूको स्तर पनि बढ्नसक्छ।
पत्रकारहरूमध्ये
'क्रिटिकल अप्रोच'
भएको एउटा पनि देखेको छुइनँ यहाँ। मैले त यहाँ सिक्किममा
तीनवटा प्रशासनको अनुभव प्राप्त गरिसकेको हुँ। यहाँका
समाचारपत्रहरूका समाचार कम्ति हुन्छ, विज्ञापन बेसी। सरकारले आफ्नो
आलोचना सहने हुनुपर्छ। राज्यको पत्रकारिताको विकासमा निकै गुञ्जाइस
छ यदि उपर्युक्त कुराहरूको ठिक तवरले चाँजो मिल्यो भने।
के तपाईं प्रजातन्त्रको वर्तमान
स्वरूप (जुन भारतले ब्रिटिश र अमेरिकाली पद्धतिबाट अप्नाएको हो)
सित सन्तुष्ट हुनुहुन्छ? यदि हुनुहुन्छ
भने तपाईंको विचारमा वर्तमान स्थितिमा एउटा आदर्श प्रशासनिक पद्धति
कुन होला?
प्रजातन्त्रमा कुनै दोष छैन तर
हाम्रो नेतृत्वमा कुनै स्तर छैन।
म प्रजातन्त्रलाई दोष दिन्नँ। नेतृत्वमा 'क्वालिटी'
छैन भने ती नेताहरू यसमा सुधार कसरी ल्याउनसक्छन्?
इतिहास पल्टाएर हेऱ्यौं भने प्रजातन्त्रमा जति व्यक्ति
स्वातन्त्र्य छ, अरू कुनै शासन पद्धतिमा छैन। कम्युनिस्ट शासन
प्रणालीमा खाना पाउँछ, बेरोजगारी हुँदैन तर व्यक्ति - स्वातन्त्र्य
भने हुँदैन। म व्यक्ति स्वतन्त्रतालाई ठूलो महत्व दिन्छु। एउटा
यस्तो शासन - पद्धति होस् जसमा मानवका दुवै मूलभूत समस्याहरूको
समाधान होस् - रोटी पनि पाओस् र व्यक्ति स्वतन्त्रता पनि। चीनमा
त्यस्तो हुन्छ कि? उनीहरूले आफ्ना
मान्छेहरूलाई रोटी पुऱ्याइदिए, सांस्कृतिक स्वतन्त्रता दिए भने र
व्यक्ति स्वतन्त्रतालाई बाटो दिएछन् भने पाँच/दश
वर्शभित्र उनीहरूले एउटा आदर्श शासन पद्धति आफ्नो देशलाई दिन
सक्छन्। यसबाट भारतले निकै सिक्नसक्छ। भारतले प्रजातन्त्रलाई नाश
हुन दिएको छैन, यो एउटा गर्व गर्ने कुरा हो। तर उन्नति गरेर मूलभूत
अधिकारहरूको जगेरा गर्नुपर्दछ र व्यक्ति स्वतन्त्रताको अहिलेसम्म
जगेरा गरेको उदाहरणबाट भारतले चीनलाई बाटो देखाउन सक्छ। हुन त
भारतले देखाउँदै आएको छ तर दुक्खको कुरा के छ भने हाम्रो नेतृत्व,
हाम्रो लिडरशिपको स्तर एकदम निम्न छ, फित्लो छ। अब हेर्नोस्,
राष्ट्रपति शासन - पद्धतिको व्यवस्था भयो भने अहिलेभन्दा राम्रो
स्थिति हुने थियो होला किनभने हामीलाई एउटा बलियो प्रशासन चाहिएको
छ। भारतका कतिपय नेताहरू यसबाट निकै हो - हल्ला मचाउँदैछन्।
भोलिको सिक्किम तपाईंको
परिकल्पनामा?
शुभकामना छ मेरो। जनता राम्रो छ
हाम्रो। राजनीतिज्ञहरूद्वारा उचित नेतृत्व भयो भने राम्रो बाटोमा
लाग्छ होला। आर्थिक अनुदान मान्छेहरूसम्म राम्ररी पुगोस्।
मान्छेहरूका जीवनमा मूल परिवर्तन ल्याउनका लागि शिक्षामा आमूल
परिवर्तन ल्याउन पर्छ तर यसमाथि कसैले विचार गरेका छैनन्।
आधुनिक नेपाली साहित्यसित तपाईं
कतिको परिचित हुनुहुन्छ? समग्र नेपाली
साहित्यको परिप्रेक्ष्यमा सिक्किमे नेपाली साहित्यलाई कुन स्थितिमा
राख्नुहुन्छ?
सिक्किमे नेपाली साहित्य अहिले
गर्भावस्थामा छ। नानी जन्मेकै छैन। तुलना गर्न चाहँदिनँ।
भारतीय नेपालीमाझ अङ्ग्रेजीमा
मौलिक उपन्यास लेख्ने तपाईं पहिलो र एकलो हुनुहुन्छ (अरू छन् कि?)।
यसै सन्दर्भमा तपाईंको प्रकाशित उपन्यास 'His
Majesty's Paying Guest' मा तपाईंले के भन्नु चाहनुभएको छ
अर्थात् यसलाई लेख्नुमा तपाईंको उद्धेश्य?
हेर्नोस् है!
यो कुरो अलिक विवादको छ किनभने मेरो जानकारीअनुसार म
भन्थें भारतीय
नेपालीमाझ कुनै पनि आई.ए.एस. छैनन् तर म गलत रहेछु। उता असमतिर एक
दुईजना छन् भनी थाहा लागेको छ। तर अङ्ग्रेजीमा मौलिक
लेख्नेहरूमध्ये
कोही छन् वा छैनन् मलाई थाहा छैन। पढ्न पनि पाएको छुइनँ।
His Majesty's Paying Guest मेरो
व्यक्तिगत अनुभवमाथि आधारित छ। म नेपालको जेलमा राजनीतिक बन्दीको
रूपमा थुना परेको थिएँ। दश महीनाको अवधिसम्म जेलभित्र जे जस्तो
देखें, त्यही धेर जसो तथ्यमाथि आधारित लेखेको हुँ।
नेपाली लेखकहरूमाझ तपाईं कसलाई
आदर्शको रूपमा लिनुहुन्छ? साथै विस्व -
साहित्यमा तपाईंलाई मन परेका लेखक कुन कुन होलान्?
मेरो अध्ययन कम्ति छ। आफ्नो विचार पोखाएँ भने
धृष्टता हुनेछ, फेरि पाठकहरू हाँस्ने छन्। प्रशस्त कृतिहरू पढ्ने
अवसर नै पाएको छैन। धेर जसो अङ्ग्रेजी साहित्य पढेको छु। तर बी.पी.
कोइरालालाई पढ्दा निकै चाख लाग्छ। 'मुना
- मदन' पनि चाखलाग्दो छ, मुटु छुने छ,
यसको लेखाइ, भाषा उत्कृष्ट छ। अहिले त यस काव्यमा लय पनि हालिएको
छ। गुमानसिंह चामलिङको 'मौलो'
पढ्दा केही बुझिएन तर चामलिङलाई दोष दिन्नँ, आफ्नै अल्पज्ञानलाई
दोष दिन्छु। शिवकुमार राईका कथा राम्रा छन्। रूपनारायण सिंहको
'भ्रमर'
पढेको थिएँ निकै अघाडि।
(यसै सिलसिलामा मैले उहांलाई स्व. अगमसिंह
गिरीको 'युद्ध र योद्धा'
- माथि उठेको विवाद (चन्द्रदास राईले पनि निकै अघाडि यस काव्यलाई
'विवादास्पद'
भनेका थिए) र भारतीय ब्रिटिश फौजहरूमा नेपालीहरूको भर्तीबारे कुरा
झिकें। उहांले भन्नुभयो, 'यो त
परिस्थितिको कुरा हो! हेर्नोस्, म
गोर्खा फौजमा नगएको भए आज नाजिताममा हलो जोतिरहेको हुने थिएँ।')
विश्व - साहित्यको कथा साहित्यमा समरसेट मम
घत्लाग्दा छन्। उपन्यासकारमा पर्ल एस. बक, टालस्टाय, दस्तोवस्की र
शोलोखोव मन पर्छन्। जासूसी साहित्य पनि मन पर्छ।
भारत र नेपालको नेपाली
साहित्यको 'आइडेन्टिटि'
कसरी छुट्याउने?
के जरुरी छ र?
अङ्ग्रेजी साहित्य इङ्गल्यान्ड अमेरिका आदि देशहरूमा सबैमा
छ। नेपाली साहित्यको सिलसिलामा 'आइडेन्टिटि'
- को समस्या छ जस्तो मलाई लाग्दैन। यो समस्या बनाएर बन्ने होइन।
सेक्सपियर कुनै एक देशका साहित्यकार हुन् र?
के भानुभक्त नेपालका मात्र हुन्?
साहित्यलाई राजनीतिक सीमानाभित्र राख्ने पक्षमा म छुइनँ। मोरारजी
देसाईले दार्जिलिङमा जो - जस्तो भने तर दार्जिलिङले उनलाई जवाफ
दिने आँट गरेन। यो विचारधारालाई उठाउने मूल प्रेरणा राजनीतिले
प्रेरित छ।
यसै सन्दर्भमा उहाँले 'नेपाली'
भन्नेबित्तिकै शङ्काको दृष्टिले हेर्ने (मोरारजी देसाईकै
सन्दर्भमा) प्रवृत्तिकै सिलसिलामा भन्नुभयो, 'नेपाली
शब्दले निकै अन्योल स्थिति उत्पन्न गर्छ। केहीअघाड़ि मकहाँ
हरियाणाका केही विधायक आएका थिए। नेपालीहरूको प्रसङ्ग उठ्दा एकजना
विधायकले भने, 'सिक्किम में ये नेपाली
कहाँ से आ गये?'
यसकारण छुट्टै चिन्नुका लागि भारतीय
नेपालीहरूलाई गोर्खा भन्नुपर्छ।
के तपाईं सुरुदेखि नै अङ्ग्रेजी
भाषामा लेख्तै आउनुभएको छ, अथवा?
लेखक भनेर साहित्यिकहरूको श्रेणीमा स्वयंलाई
राख्नुमा मलाई सङ्कोच लाग्छ। परिस्थितिले गर्दा लेख्न थालें।
गिफ्टिड लेखक भने म हुँदै होइन। लेख्नु मैले अङ्ग्रेजीबाट थालेको
हुँ, त्यो पनि पत्रकारिताबाट। 1964 मा म नेपालमा थिएँ। पहिलोपटक
Nepalese Perspective (साप्ताहिक), जो
गोरखापत्र प्रकाशनबाट प्रकाशित (अहिले यो
Rising Nepal नाउँले दैनिकपत्रमा परिणत गरिएको छ)
हुन्थ्यो, त्यसमा मैले सह - सम्पादकको हैसियतले पत्रकारितामा
प्रवेश गरें। 1967 मा कालिम्पोङबाट प्रकाशित अङ्ग्रेजी साप्ताहिक
Himalayan Observer मा लेख्थें। त्यसमा
सिक्किम विषय लिएर एक दुइ सम्पादकीयबाहेक अन्य समस्त सम्पादकीय
मैले नै लेखेको हुँ। अधिकांश काम म नै गर्थें।
साहित्यमा तपाईंले कुन
विचारधारालाई लिनुहुन्छ? 'कला कलाको
निम्ति' अथवा 'कला
जीवनको निम्ति' ?
म साहित्यमा कुनै रिजिडिटि - को पक्षमा छुइनँ।
'कला कलाको निम्ति'
वा 'कला जीवनको निम्ति'
- यी दुइ विचारधारामध्ये कुनै
एकप्रति विशेष आग्रह नभएर बीचको स्थितिलाई अँगाले ठिक होला।
साहित्य र राजनीतिको सम्बन्ध
कस्तो हुनुपर्ने?
राजनीति र साहित्यको क्षेत्र बेग्ला - बेग्लै छ।
साहित्यमा समसामयिकता झल्काउनु पऱ्यो। आखिर साहित्य समाजकै
प्रतिबिम्ब हो। पिकासोको 'गुएर्निका'
1 यसको उदाहरण छ। आर्टले यस्तो व्यापक प्रभाव पार्नसक्छ भने
साहित्यमा त्यसको अभिव्यक्ति अनिवार्य हुन जान्छ।
(1.'गुएर्निका'
- मा चटख रङ्गहरूको प्रयोग गर्नुको सट्टा कालो, खैरो र सेतो रङ्गको
माध्यमद्वारा पिकासोले स्पेनी जनतामाथि गरिएका अत्याचारद्वारा
उत्पन्न आतङ्क, निराशा र दुक्ख व्यक्त गर्न कोसिश गरेका छन्। विशाल
क्यानभासमा अङ्कित छन् आतङ्कले तन्किएका अनुहार भएका, चिच्च्चाउँदै
गरेका मानवाकृतिहरू, असाध्य आतङ्कित भएर हिनहिनाउँदै गरेका घोडा,
भुइँमा लडिरहेका मानिसका हातमा खण्डित तरवार, पशुजस्तो दैत्यका
खुट्टामुनि कुल्चिएका मानव शरीर र बिजुलीको चम्काहटलाई एउटा
पारस्पारिक ल्याम्पपोस्टको सहयोगले चुनौती दिने एउटा असफल प्रयास।
यी समस्त रूपाकार आक्रमणहरूको निर्दयताका साथ - साथै निरीह जनताको
विवशतालाई अभिव्यक्ति दिन्छन्। - सुवास दीपक )
( अन्तर्वार्ता 1986 - मा लिइएको हो।
साक्षात्कार (अन्तर्वार्ता सङ्ग्रहमा
निर्माण प्रकाशन, सिक्किमद्वारा 1987 - मा प्रकाशित)
- जुलाई 2011
नेपाली भाषा साहित्य पहिलेको भन्दा धेरै
अघि बढेको छ : तारापति उपाध्याय
वैद्यनाथ उपाध्याय
(श्रीमान् तारापति उपाध्याय
भारतीय नेपाली समाजका एक स्तम्भकै रूपमा चिनिँदै आउनुभएको छ।
हालसम्म उहाँका दर्जनौं पुस्तकहरू प्रकाशमा आइसकेका छन्। 6 अप्रिल
1934 सन्मा चेजपुर नजिकको बाटूले बिल भन्ने ठाउँमा जन्मनुभएको श्री
तारापति उपाध्याय नेपाली भाषा साहित्य र समाजको विकासमा निरन्तर
आफ्नो मिहिनेत लगाउँदै आउनुभएको छ। सन् 2010 को साहित्य अकादेमीको
अनुवाद पुरस्कारले सम्मानित हुनुभएकोमा उहाँलाई हार्दिक बधाइ छ।
बङ्किमचन्द्र चट्टोपाध्यायको आनन्दमठ नामक उपन्यास नेपालीमा अनुवाद
गरेबापत् उहाँलाई यो सम्मान प्रदान गरिएको हो। यसै उपलक्ष्यमा
उहाँसंग लिइएको अन्तर्वार्ताको सङ्क्षिप्त रूप यहाँ प्रस्तुत
गरिएको छ।)
असम प्रान्तमा नेपाली भाषा साहित्यको
वर्तमान स्थिति के - कस्तो छ?
सङ्क्षेपमा भन्दा नेपाली भाषा साहित्यको
स्थिति असम राज्यमा सारै ठीटलाग्दो छ।
सन् 1971 सम्म यहाँका न्पाली अधिवासी नेतृस्थानीय
मानिसहरूलाई नेपाली भाषासाहित्यको महत्व त्यति उपलब्ध थिएन। त्यसको
कारण थियो असमिया छात्र संगठन, असम साहित्य सभा आदि संगठनहरूको
तत्कालीन अन्य भाषा - साहित्यप्रति रहेको असहिष्णु मनोभावको
प्रभाव। जो होस्, रतनलाल ब्राह्मणले संसद् थर्काएपछि अनि अखिल
भारतीय नेपाली भाषा समितिले भारतव्यापी छेडेको सशक्त आन्दोलनपछि
भने क्रमश: यहाँको समाज र संगठनहरू केही
जागरूक भएका छन्। तर जबसम्म विद्यालय, महाविद्यालयहरूमा नेपाली पठन
- पाठनको व्यवस्था नियमित रूपले हुँदैन, जबसम्म भाषा - साहित्यको
स्थितिमा सुधार आउँदैन।
नेपाली साहित्यको प्रकाशन र
वितरणको व्यवस्थाको विषयमा के भन्नुहुन्छ?
भाषासाहित्यको उन्नति र प्रचार
- प्रसारसित सम्पर्कित अति आवश्यकीय तथा असमिया नेपालीका लागि
जरुरी विषय हो यो। प्रकाशन र वितरण एक सशक्त सामाजिक व्यवस्था हो।
दार्जिलिङमा पारसमणि प्रधानजस्ता जातिप्रेमी, भाषासाहित्यानुरागी
विद्वान नजन्मेका भए, मणि प्रिन्टिङ प्रेस भन्ने थिएन र भारतीय
नेपाली भाषाको उत्थान र विद्यालयहरूमा चाहिंदा पाठ्यपुस्तकहरू
समयमा प्रस्तुत गरी छात्र - छात्राहरूमा वितरण गर्नु सम्भव हुने
थिएन। 'भारती'
आदि पत्रिकाले भाषासाहित्यको प्रचार - प्रसार नेपाली जगतमा गर्ने
सुविधा पाउने थिएनन्। अहिले गोर्खा डेभलपमेन्ट काउन्सिल गठन पनि
भयो। सबै संगठन र जनताको सहमतिमा यो कार्य त्यहाँबाट शुरु गर्दै
प्रकाशित पुस्तकहरूको वितरणको कार्यभार जिल्लाहरूलाई दिँदा यो
कार्य सजिलै सफल हुनेछ भन्ने मेरो विचार छ।
आफ्नो आजसम्मको साहित्यिक आकलन
कसरी गर्नुहुन्छ?
भाषासाहित्य र संस्कृतिको जगेडा
र उन्नति नै एउटा जातिको जगेडा, विकास र उन्नति हो भन्ने विश्वास
चाहिँ असमका असमिया जातिले आफ्नो भाषिक आन्दोलनद्वारा यहाँ बसोबासो
गर्ने प्राय: सबै जाति - गोष्ठीलाई
पढाएका छन्। हामी नेपालीले पनि सिक्यौं, कर लाग्यो। सानो उमेरमा
घरमा भएका कृष्ण चरित्र र महाभारत आमा, दिदीहरूले भात खाएपछि
फुर्सदमा दिनमा र साँझमा स्वर तानेर पढ्ने गर्थे। त्यहाँ भएका
लडाईं, प्रेमालापहरूले र स्वर ध्वनिले पनि मन प्रभावित पार्थ्यो।
मनमनै श्लोक रचना गरी लेख्ने जमर्को गर्थें। पछि महाविद्यालयमा
दार्जिलिङमा पढ्दा गोर्खा पत्रिकामा 1954 - तिर अनि तेजपुरबाट
निस्कने दरंग नेपाली छात्र संघको प्रभावमा पहिलो 1956 - तिर पहिलो
लेख र कविता छापियो। उदालगुडीमा आएपछि सन् 1958 - देखि मातृभाषा
नेपाली विद्यालयहरूमा प्रचलित हुनुपर्छ र मात्र भाषासाहित्यको
जगेडा हुन्छ भनेर लेख्न र प्रकाश गर्न थालें। असममा बसेर असमिया
माध्यममा पढेर नेपाली भाषासाहित्यको विकास गर्नुपर्दा
भाषासाहित्यका सङ्गठनहरू धेरै सक्रिय हुनुपर्दछ। सेमिनार,
गोष्ठीहरू भइरहनुपर्दछ। प्रकाशन व्यवस्था सशक्त पार्ने र वितरण
व्यवस्था पनि जिल्लाहरूमा कार्यालय खोलेर अथवा पसल राखेर गर्ने
चाँजो मिलाउनुपर्छ।
भाषासाहित्यको स्तर वर्तमान
अतीतभन्दा धेरै स्तरीय हुनु थालेको छ - स्वर ध्वनि, शैली, शब्द -
विन्यासहरूले रूप फेर्न लागेका छन्। हाम्रो भाषा शैलीमा आधुनिकता
आएको छ - कविता होस् वा वाक्य - निर्माण पद्धतिहरूमा। यो कुरा
अनुभूत हुन्छ अन्य विकसित भाषाका ग्रन्थ वा रचनाहरू पढ्दा।
त्यसतर्फ हाम्रा साहित्यिकहरूले ध्यान दिनु उचित ठहर्छ।
साहित्यमा अनुवादको महत्व?
भाषासाहित्यको अनुवाद यो आधुनिक
विश्वायनको युगमा धेरै बढेको छ। अन्तर्राष्ट्रिय एवं राष्ट्रिय
तहमा विभिन्न भाषिक जनगोष्ठीमा सूझबूझ, मिला - प्रीति र
भ्रातृत्वबोध जगाई मानविक गुणहरू उजागर गर्नका निम्ति अनुवादको
भूमिका सर्वोपरि ठहर्छ; कसैले नकार्न
सक्दैन। त्यसमा पनि भारत एउटा यस्तो देश हो जहाँ हजारौं भिन्न -
भिन्न भाषा, धर्म र आचरण - विधि मान्ने, पालन गर्ने जाति,
समुदायहरूले आदिकालदेखि बसोबासो गरिआएका छन्। यो देश इङ्ग्ल्याण्ड,
क्यानाडा अथवा अनेरिका होइन जहाँ एउटा भाषा अङ्ग्रेजी भाषाले प्राय:
सबै कार्य हुन्छ। पारस्पारिक समाजमा सद्भाव सृष्टि गर्दै देशमा
शान्ति र प्रगति ल्याउन पनि यहाँ अनुवादको माग अत्यधिक छ;
सारै प्रयोजनीय छ।
वङ्किमचन्द्रको अनन्दमठलाई नै
अनुवादको निम्ति किन चुन्नुभयो?
कारण यो पुस्तक स्वाधीनता
आन्दोलनको युगको क्रान्तिकारी स्फुलिङ्ग हो;
वन म्यान आर्मी हो। यस पुस्तकमा रहेको वन्दे मातरम गीत अथवा
ध्वनिले तत्कालीन बृटिश प्रशासनलाई निद्रामा पनि ऐंठन गर्थ्यो रे।
बृटिश प्रशासकले 1871 - 73 - तिर भारतवर्षमा उनीहरूको राष्ट्रिय
गीत गड सेभ द क्विनलाई राष्ट्रिय गीतका रूपमा प्रचलित गर्ने चेष्टा
गरेको देखी वङ्किमचन्द्रले वन्दे मातरम गीत लेखेका हुन् देशका
निम्ति। यी सबै कुरा अनि आफू जन्मिएको देखका सन्तान हौं, हामी
सबैकी साझा आमा हुन् या जन्मभूमि भारत - माता, यो कुरा वन्दे मातरम
गीतले स्पष्ट पार्दछ। यसो हुँदा मात्र भारतवर्षको ऐक्य अटूट रहन्छ,
रहनमा ठूलो मदत मिल्दछ। योभन्दा ठूलो कुरा भारतीयहरूका निम्ति अरू
के हुन्छ र? यसै विचारले, यो ऐतिहासिक
पुस्तक अनुवाद गर्ने इच्छा जागेको थियो।
उमेरको यो पडावमा आएर आज आफ्नो
समग्र जीवनलाई कुन दृष्टिले हेर्नुहुन्छ?
मानिसलगायत् सबै प्राणी
जन्मन्छन् अनि मर्छन्। तर मानिस चाहिँ विवेकी र भाषा भएको प्राणी
हो। यसैले सांसारिक जीवन उसको बढी महत्वको रहेको छ र सबैको हितकारी
र त्यागी कर्ममय जीवन बिताउने प्रयास गर्नुपर्ने रहेछ। नत्र जीवन
निष्फल जान्छ - यही विचार अथवा दृष्टिकोण मानिस जीवनप्रति रहेछ।
नयाँ पिढीलाई कुनै सन्देश?
देश र समाजको हित मनमा राखी
कर्मी जीवन बिताउनु नै जीवनको उद्देश्य हो।
(जून 2011)
पन्ध्र प्रश्नका घेराभित्र
पदमसिंह सुब्बा अपतन
वार्ताकार -
गोपालप्रसाद दाहाल
प्रश्न 1 - सिक्किमका नयाँ पिंढीका साहित्यप्रेमीहरूलाई यहाँका
बारेमा केही थाहा छैन।
आफ्नै विषयमा आफैले
आफ्नो व्यक्तिगत एवं
साहित्यगत परिचय दिनुहुन्छ कि?
उत्तर - मेरो व्यक्तिगत र साहित्यगत परिचय सोधेर मलाई लज्जित
गराउनु हुँदैछ।
आफ्नो कृतिद्वारा - प्रत्यक्ष रूपमा होस् वा
अप्रत्यक्ष रूपमा परिचित हुनसके पो उत्तम हुन्छ, तर तपाईंले
सोधिहाल्नुभयो।
(क) व्यक्तिगत परिचय - नाम पदमसिंह सुब्बा, जन्म - 11 सितम्बर,
1923, जन्मस्थान - टिम्बरबुङ गाउँ, पश्चिम सिक्किम;
शिक्षा - बी.ए., बी.टी., वृत्ति - प्राय:
चालीस वर्षसम्म सिक्किम सरकारमा कार्यरत। 1 अप्रिल, 1984
देखि घरेलु कामकाजमा व्यस्त।
(ख) साहित्यगत परिचय
मलाई कतिले कवि, कतिले लेखक औ कतिले साहित्यकार भनेर लज्जित
गराउँछन्। वास्तवमा यी सबमा म कुनै पनि होइन। साँचो हो - अपतन
कालमा अपतन साहित्य परिषद्को संचालनार्थ केही कालसम्म मैले एक
स्वयं - सेवकको रूपमा कार्य सम्हालेको थिएँ तर मबाट साहित्यिक
कार्य केही भएन। अर्ध - दशकभन्दा पनि लामो समयमा तीनचारवटा कविता
कोरें हुँला औ त्यसभन्दा पनि कम संख्यामा लेख लेखें हुँला। एक
दुइवटा कविता लेख्दैमा कवि तथा साहित्यकार हुन सकिन्छ र?
अपतन कालभरि शिवनाथ मिश्र, अगमसिंह तामाङ, तुलसी बहादुर तथा
रामदत्तलाल ठाकुरजस्ता साहित्यिक साथीहरूको संसर्गमा रहेर पनि म
साहित्यिक हुन सकिनँ। मैले स्वीकार्नैपर्छ यो मेरै कमजोरी हो।
प्रश्न 2 - "अपतन कालमा तुक्कै जोडेर
प्रशस्त कविता बनाइन्थ्यो" भन्छन्, के
यसमा तपाईं सहमत हुनुहुन्छ?
उत्तर - तुक्का होइन तर शब्द तथा वाक्यांश जोडेर अपतन साहित्य
परिषद्का सदस्यहरूले कहिले काहीं सामूहिक रूपमा कविता लेख्ने
गर्थे। यस्ता कविताका छन्द र शीर्षक पहिले नै निर्णय गरिन्थे।
प्रारम्भ गर्दा कुनै एक सदस्यले निर्धारित छन्द र शीर्षकलाई
मध्यनजरमा राखेर एक शब्द वा एक वाक्यांश भन्थ्यो औ अरू सदस्यहरूले
आफ्नो - आफ्नो पालो आएपछि उही निर्धारित नियम पालन गर्दै पहिलो
शब्द तथा वाक्यांश जोडेर केही कविताहरू लेखिएका थिए। यसरी लेखिएका
कविताहरू तिनताक दार्जीलिङ, कालिम्पोङबाट प्रकाशित पत्र -
पत्रिकामा छापिन्थे। एक दुइपटक परिषद्का सदस्यहरूले तुक्का जोडेर
पनि कविता सृजना गर्ने प्रयास गरेका थिए किन्तु तुक्का, भाव र
छन्दमा मेल नखाने हुनाले त्यो प्रयासबाट कविता बनिन सकेन।
प्रश्न 3 - सहमत हुनुहुन्न भने अपतन साहित्य परिषदमा जो जति
सदस्यहरू थिए के ती सबै कवि थिए? सहमत
हुनुहुन्छ भने 'केही टुक्रा - टाक्री
जोडेर बनाइने रचनाको नाम नै कविता हो?'
उत्तर - विभिन्न व्यक्तिहरूले केही शब्दहरू जोडेर बनिएको वस्तु
कविता हुन पनि सक्छ औ नहुन पनि सक्छ। शब्दहरूलाई प्रबन्धात्मक
रूपमा मिलाएर केही निश्चित लक्ष्यतिर संकेत गर्दै सुविचार तथा
सुसन्देश आदिको भान निहित गर्दै राख्नसके त्यसलाई कविताको संज्ञा
दिनुमा केही आपत्ति नहोला भन्ने मेरो विचार छ। अपतन कालमा यस
प्रकारले रचना गरिएका कविताहरूका बारेमा पहिलो प्रश्नको उत्तरमा
स्पष्ट गर्ने प्रचेष्टा गरेको छु तर शब्दहरूलाई शब्दहरूकै निम्ति
जोडेर सृजना गरिएको वस्तुलाई कविता भन्नुमा म हिच्किचाउँछु।
अपतन साहित्य परिषद्का सदस्यहरू जम्मै कवि थिए भन्नुमा आफ्नो
असामर्थ्य प्रकट गर्छु।
प्रश्न 4 - साहित्य र कवितालाई एउटै मान्नुहुन्छ?
उत्तर -
साहित्य र कवितामा कति गुण - विशेषता र वस्तु सामान्य भए पनि यी
दुइ भिन्न - भिन्न वस्तु हुन्। साहित्यको क्षेत्र कविताको भन्दा
धेरै विस्तृत हुन्छ। साहित्यले कुनै जाति तथा समाजको सभ्यता,
संस्कृति, धर्म,
भाषा औ जीवनको प्रत्येक अङ्गलाई अङ्गाल्दै विभिन्न
काल तथा साधनामुसार परिवर्तन हुंदै आएका विभिन्न स्थितिलाई छर्लङ्ग
पार्ने प्रचेष्टा गर्छ भने दैनिक जीवनको कदम कदममा संवेदनशील
मानिसले विभिन्न परिस्थितिमा अनुभव गरेका परिस्थितिका तीता -मीठा -
अमिला भावनाहरूको सहज अभिव्यक्तिलाई कविताको संज्ञा दिइन्छ।
साहित्यको विशाल रूप हुनाले यसका अनेक विधाहरू छन् औ
साहित्यकारहरूले कवितालाई साहित्यको एउटा प्रमुख विधा मानेका छन्।
साहित्यका विभिन्न विधाहरू चाहे ती गद्यमा लेखिएका हुन् वा पद्यमा
- सबै केही मात्रामा कविताका आभासले व्याप्त भएका हुन्छन्।
खण्डकाव्य र महाकाव्य साहित्यका भिन्दा - भिन्दै विधा भए पनि प्राय:
कविताले नै भरिएका हुन्छन् किन्तु यी जम्मै सामान्य भएर पनि कविता
साहित्य होइनन्। कविता कविता नै औ साहित्य साहित्य नै।
प्रश्न 5 - 'चोङ'
शब्द र 'लिम्बू'
शब्दको अर्थ एउटै हो? लिम्बूहरूले
आफूलाई 'सुब्बा'
पनि लेख्छन् नि, किन?
उत्तर - प्राचीन चीन देशको
सुचुवाङ्ग नामक प्रदेशबाट तिब्बत देश
हुँदै वर्तमान
नेपालको लिम्बुवान प्रदेशमा आएर बसोबासो गर्ने
मानिसहरूलाई भोटे जातिले "चोङपा"
भनेर सम्बोधन गर्थे। चोङ शब्द चोङपाकै अपभ्रंश हो।
लोकमणि दाहालले
आफ्नो "आर्य संस्कृति"
नामक पुस्तकमा महाभारत कालका "लाम्बाक"
जाति नै अचेल "लिम्बू"
जाति हुन् भनेका छन्। इमानसिंह चेम्जोङको भनाइअनुसार चीन देशबाट
सेनवंशी एक दल चिनियाँहरूले उत्तर बर्मा र वर्तमान आसाम हुंदै
नेपालको पूर्व
खण्ड देशलाई धनु काँडको सहायताले जितेर लिएको
हुनाले
विजित देशको नाम "लिम्बुवान"
औ आफैलाई लिम्बू भनेका हुन् भन्ने मत प्रकट गरेका छन्।लिम्बू
र चोङ शब्दका आदि मूल रूपमा अर्थ भिन्दा - भिन्दै भए पनि अचेल
सिक्किम राज्यभरि यी दुइ शब्दलाई पर्यायवाची सरह प्रयोग गर्छन्।
सिक्किमदेखि बाहिर 'चोङ'
शब्द प्रयोग गरिँदैन। लिम्बू जातिलाई "सुब्बा"
पनि भन्दछन्। सुब्बा वास्तवमा जाति होइन, पद मात्र हो। पन्ध्रौ -
सोह्रौं शताब्दीतिर लिम्बुवानको राजधानी विजयपुरमा राजवंशी
लिम्बूहरूले राज गर्थे। यी राजाहरूले राज्य - शासन सुविधाका लागि
लिम्बुवान राज्यलाई सत्र थुमहरूमा विभक्त गरेर प्रत्येक थुममा
"शुभा"
नियुक्त गरे। पछि सत्रौं शताब्दीमा लिम्बूवान राज्य मकवानपुरका सेन
राजाहरूको अधीनस्थ हुँदा पनि विभिन्न थुमका शुभाहरूलाई मासेनन्।
अठाह्रौं शताब्दीमा गोर्खा नरेश पृथ्वीनारायण शाहले लिम्बूहरूको
शुभाङ्गी पाइल्याउने शुभाहरूले र उनीहरूका शाखा - सन्तानहरूले
आफुलाई शुभा भन्दै आए। पछि अरू लिम्बूहरूले पनि आफुलाई शुभा भन्न
थाले। हिजोआज यही शुभाबाट लिम्बूहरू आफुलाई 'सुब्बा'
भन्दछन्। यसरी 'चोङ',
'लिम्बू' र
'सुब्बा' तीन
शब्दहरू पर्यायवाची भएका छन् तर लिम्बूहरू परस्परमा कुरा गर्दा यी
तीनै शब्द प्रयोग गर्दैनन्। उनीहरू परस्परमा आफैलाई
'याकथुङबा'
भन्दछन्, जसको अर्थ हुन्छ - वीरतापूर्वक लडेर किल्ला रक्षा गर्ने।
प्रश्न 6 - 'चोङ भाषा',
'लिम्बू भाषा',
'सुब्बा भाषा'
- जस्ता पारिभाषिक शब्दहरूले यस भाषाको जानकारी नहुनेहरूलाई एक
प्रकारको अन्योलमा पारेको छ। यहाँले स्पष्टीकरण दिनुभए शायद त्यो
अन्योल हराउने थियो!
उत्तर - 'चोङ','लिम्बू',
'सुब्बा'
तीनै शब्द पर्यायवाची मानिएकाले 'चोङ
भाषा', 'लिम्बू भा।'
तथा 'सुब्बा भाषा'
पनि पर्यायवाची सरह भएका छन् तर चोङ भाषा र सुब्बा भाषा सीमित
औ मौखिक रूपमा मात्र प्रयोग गरिन्छन्। वास्तवमा
'सुब्बा जाति',
'सुब्बा भाषा'
भन्नु उचित ठहरिँदैन तर मानिसहरूले भनिहाल्छन्। जाति र
भाषालाई व्यापक रूपमा बुझाउने शब्द 'लिम्बू'
र वाक्यांश 'लिम्बू भाषा'
नै हुन्। यसैले सिक्किम राज्य सरकारले लिखित रूपमा लिम्बू भाषालाई
राज्य - भाषाको मान्यता दिएको छ, चोङ भाषा र सुब्बा भाषालाई होइन;
सिक्किम सरकारबाट लिम्बू भाषामा पाठ्यपुस्तकहरू प्रकाशित हुँदैछन्,
चोङ र सुब्बा भाषामा होइन औ दिल्ली केन्द्रिय उच्चतर शिक्षा
संस्थानले लिम्बू भाषालाई बाह्रौं श्रेणीसम्म स्वीकृति दिएको छ,
चोङ र सुब्बा भाषालाई होइन। चोङ भाषा र सुब्बा भाषाका मौखिक रूप
मात्र छन्; लिखित रूप छैनन्। फेरि यी
दुवै सीमित स्थान र व्यक्तिमा मात्र प्रयोग गरिन्छन्। लिम्बू
भाषाको विषयमा यस प्रश्नको उत्तर दिँदा नेपाली भाषाका विभिन्न
नामहरू पनि भनुँ भनुँ लागेर आयो। प्राय:
सात दशक वर्षअघिसम्म नेपाली भाषालाई गोर्खाली भाषा, पर्वते भाषा,
खस कुरा इत्यादि नामले पुकारिन्थ्यो। गोर्खाली भाषाको रूप लिखित र
प्रयोग व्यापक थियो भने पर्वते भाषा र खस कुराका रूप मौलिक र
सीमित थिए। आदिमा हिन्दी भाषाका पनि धेरै नाम थिए। भाषालाई
'हिन्दुस्थानी
भाषा' भन्दारहेछन्। कुनै पनि
भाषा साहित्य नलेखिञ्जेलसम्म विभिन्न नामले पुकारिनु स्वाभाविकै
हो। लिम्बू भाषामा अब मात्र साहित्य लेख्न थालिएको छ। यसैले मौलिक
र सीमित रूपमा प्रयोग भइरहेका 'चोङ'
र 'सुब्बा'
नामहरू प्रयोगबाट लोप होलान् भन्ने अनुमान लाउन सकिन्छ।
प्रश्न 7 - "आधुनिक कविता छन्दमा
लेखिएको छैन, यसैले गर्दा जनमानसबाट टाढिँदै गएको छ।"
यस भनाइप्रति यहाँको सहमति वा असहमति जान्न सकिन्थ्यो कि?
उत्तर - छन्दमा लेख्दा कविता हुने औ छन्दमा नलेख्दा कविता
नहुने, यस्तो नियम केही छैन। कविता सृजन हुनुको लागि भाव, लक्ष्य र
सन्देशको आवश्यकता पर्छ, छन्दको होइन। लक्ष्मीप्रसाद देवकोटाका कति
गद्य रचनाहरू कविता भएका छन्। फेरि छन्दमा लेखिएका जम्मै रचना
कविता हुन्छन् भन्ने पनि केही तोक छैन। पद्यमय र गद्यमय कवितामा के
अन्तर हुन्छ भने छन्दमा लेखिएको कविता लयात्मक हुन्छ र पाठ गर्नमा
सुललित सहजपर्छ भन्ने कुरा प्रत्यक्ष रूपमा देखिन्छ। तर यसको अर्थ
यो होइन कि गद्य कवितामा संगीतात्मकताको आभास नै छैन। गद्य कवितामा
पनि संगीत हुन्छ। गद्य कविता पाठ गर्दा जत्तिकै आनन्द अनुभव गर्न
सकिन्छ, जतिको छन्दबद्ध कविताबाट प्राप्त हुन्छ। यसैले आधुनिक
कविता जनमानसबाट टाढिँदै घए जस्तो मलाई लाग्दैन, बरू अरू लोकप्रिय
र समयानुकूल हुँदैगएको अनुभव गर्छु। गद्य - कवितावृत्तिमा त्यसमा
निहित भावसन्देश र लक्ष्यानुसार पाठ गर्ने व्यक्तिको स्तर भाव -
भङ्गीसहित कहिले चर्को कहिले नरम हुंदै परिवर्तन भइरहन्छ। फेरि
कहिले - काहीँ एउटै शब्द तथा एउटै सन्देशलाई दुइ - दुइ, तीन - तीन
पटकसम्म दोहोऱ्याइन्छ र पनि झिंझटलाग्दो वा अस्वादिष्ट हुँदैन बरू
त्यस दोहोऱ्याइबाट अरू सन्तोषको आनन्द अनुभव गरिन्छ। यी सब गद्य
कविताका विशेषता हुन् जो पद्यमय कवितामा पाइँदैनन् वा यसो भनौं -
छन्दबद्ध कवितामा छन्दले निर्धारण गरेको नियमदेखि बाहिर जान
पाइँदैन, एउटा श्लोकमा रहेका चार पदबाट जति लय निस्कन्छन्,
त्यसभित्र नै पाठ गर्ने व्यक्ति बाँचिनु पर्छ, स्वतन्त्रता छैन।
गद्य कवितामा कविको आत्माभिव्यक्ति एकदमै सहज र स्वाभाविक हुन्छ
जुन चाँहि छन्दबद्ध कवितामा हुनैसक्दैन। यसैले गद्य कविताको
लोकप्रियता प्रतिदिन बढ्दै गएको अनुभव गर्छु।
गत तीन दशकदेखि नेपाली साहित्यमा गद्य कविताअन्तर्गत आयामिक
कविता लेखिँदैछन्। साधारणत: आयामिक
कविताका गहिऱ्याइको अन्त: तहसम्म पुगेर
त्यसमा अन्तर्निहित रस, भाव, लक्ष्य, सन्देश तथा आदर्शादिलाई
हृदयंगम गर्नमा सक्षम हुनु आम पाठकवृन्दको लागि एक जटिल समस्या
भएको छ। यसैले आधुनिक कविता छन्दमा नलेखिएकोले होइन तर आयामिक
ढाँचामा ढल्किँदै गयो भने जनमानसबाट अवश्य टाढिंदैजानेछ भन्नुमा म
अलिकति पनि हिच्किचाउँदिनं।
अहिले नेपाली साहित्यको आयाम गद्य कवितासम्म मात्र पुगेको छ वा
यसो भनौं नेपाली साहित्यको आयाम प्रारम्भिक अवस्थामै छ। नेपाली
साहित्यमा विभिन्न विधाहरूमा आयामिकता पुगेको खण्डमा यसको रूप
कस्तो हुनजान्छ म कल्पनासम्म गर्न सक्तिनँ।
प्रश्न 8 - सुब्बाज्यू, 'अरे'
- को कुरा है, म पनि केही जान्दिनँ। त्यो के भने सिक्किमबाट दिइने
भानु पुरस्कारका निम्ति एक पटक पदमसिंह सुब्बा भन्ने मान्छेको नाम
पनि प्रस्तावित भएको थियो रे! तर
पुरस्कार समितिको कुनै एकजना 'प्रभावशाली'
- ले सुब्बाको नामलाई (रातो मसीले) चट्ट काटेर उसलाई को मन पर्थ्यो
त्यसको नाम फट्ट लेख्यो रे! खास कुरा के
भने, यो कुरा यहांले चाल पाएको होस् या नहोस् किंवा
'अरे' असत्यै
होस् - यहाँले एउटै जवाब दिनुहुनेछ होइन - "त्यस
विषय मलाई केही थाहा छैन।" मैले ठीकै
भनें होइन?
उत्तर - भानु पुरस्कारको निम्ति मेरो प्रस्तावित नाम काटिएको
कुरा चाहे सत्य होस् वा असत्य, मैले थाहा नपाएको खण्डमा मबाट
निस्कनुपर्ने तपाईंको अनुमानित उत्तर "त्यस
विषय मलाई केही थाहा छैन" शत - प्रतिशत
ठीक ठहरिने थियो तर मैले थाहा पाएपछि त्यो केवल अनुश्रुति ठहरिएको
भए "त्यो अनुश्रुति मात्र हो"
भन्ने मेरो उत्तर हुने थियो अनि त्यो सत्य ठहरिएको भए मेरो उत्तर
अलिक लामो र यस प्रकारको हुने थियो - "भानु
पुरस्कारको निम्ति मेरो प्रस्तावित नाम काटेर "प्रभावशाली"
- ज्यू धन्यवादका पात्र बनेका छन्, कारण "प्रभावशाली"
ज्यूले मेरो नाम काटेर न्यासङ्गत काम गरेका छन्। पुरस्कार
प्राप्तिको लागि कुनै पनि व्यक्ति, चाहे उ कवि होस्, कथाकार,
निबन्धकार, जो होस्, एक विशिष्ट साहित्यिक हुनुपर्छ।"
यसरी उत्तर दिएर माथि प्रश्न (ख) को उत्तर मेरो साहित्यगत परिचय
फेरि दोहोऱ्याइदिने थिएँ।
प्रश्न 9 - अब अपतन साहित्य
परिषद्को
एउटा रोचक संस्मरण सुनाइदिनोस्।
उत्तर
- 1948 साल, जून महिना, एक शनिवार।
अपतन साहित्य परिषद्को साप्ताहिक बैठक छविलाल सेन्चुरीको सरकारी
निवासगृहमा भएको थियो। सेन्चुरीज्यूको सो निवासगृह आजतक वर्तमान
विधानसभा भवनको क्षेत्रको छेउमा छ। परिषद्को नियमानुसार
सभाध्यक्षको निम्ति, मैले कसैको नाम प्रस्ताव गर्नुभन्दा पहिले नै
कसैबाट मेरो नाम प्रस्तावित र अनुमोदित भइहाल्यो। त्यस दिन मैले
सभाध्यक्षको भार नसम्हाली धर पाइनँ। चुपचापसित आसनमा बसें।
सभा प्रारम्भ भएर पहिलो सदस्यले आफ्नो
लेख सुनाउन लागेको थियो। चारजना अन्य परिचित मित्रहरू सभास्थानमा
आइपुगे। सभाका हामी तीन - चारजना
सदस्यले प्राय:
एकैसाथ अभिवादन गऱ्यौं र नव आगन्तुक साथीहरूलाई अघिदेखि रिक्त
रहेका आसनमा बस्ने आग्रह गऱ्यौं। तर ती साथीहरू आसनमा नबसी मेरो
अगाडि राखिएको टेबलको छेउमा आएर एकजनाले टेबलमाथि मुड्की बजार्दै
रिसले थरर काम्दै भन्न थाल्यो, "तिमीहरू
कप्टीहरू, अस्ति दु:ख निवारक सम्मेलनको
मिटिङमा के राय पास भएको थियो?
तिमीहरूको चाला यही हो?"
साँचो हो, अपतन
साहित्य परिषद्को यो गोष्ठी बस्नुभन्दा चार - पाँच दिन अगाड़ि
गान्तोकका धेरै युवक - युवतीहरू मिलेर एउटा सभा राखेका थियौं।
सभामा दार्जीलिङको सरह गान्तोकमा पनि एउटा दु:ख
निवारक सम्मेलन स्थापित गर्नुपर्छ भन्ने प्रस्ताव पास भएको थियो र
त्यस सभाले नै एक अस्थायी कार्यकारिणी समिति गठन गरेको थियो। त्यस
कार्यकारिणी समितिमा अपतनका कति सदस्यहरू पनि चुनिएका थियौ औ
उपस्थित सबैजना सम्मेलनको साधारण सदस्य भएका थियौं। अहिले
सम्मेलनको यही प्रसङ्गमा चारजना मित्रहरू हामीमाथि विश्वासघातको
आरोप लगाउँदै रिसले काँपिरहेका थिए। मैले भने,
"यहाँ हामीले सम्मेलनको विरुद्धमा केही कुरा गरेका छैनौं।
तपाईंहरू यसरी किन रिसाउनुहुन्छ? यो त
एक साहित्यिक संस्था हो औ यसको स्थापना सम्मेलनको भन्दा पहिले भएको
हो।" परिषद्का कति सदस्यहरूले मेरो
कुरामाथि सही थपे तर रिसाएका साथीहरू किन मान्थे?
अरू जोडले कराउँदै टेबलमाथि हिर्काउंदै र मतिर हेर्दै अर्को एकजना
साथी बोल्यो, "तिमीहरूले यो सभा अहिले
नै बर्खास्त गर, होइन भने हामी आफैले जो गर्नुपर्छ गरौंला।"
"यो सभा राखेर
हामीले सम्मेलनको के नराम्रो गरेका छौं?"
मेरो उत्तरमा उनीहरूको प्रश्न थियो, "सम्मेलनको
विरुद्ध नभए किन यसरी लुकी लुकी
एकलासको ठाउँमा मिटिङ राख्नुपऱ्यो?"
अर्को एकजनाले मेरो प्रश्नमाथि प्रश्न नै राख्यो। परिषद्का
एकदुइजना गन्यमान्य सदस्यहरूले पनि उनीहरूलाई यथासक्य सम्झाउने
कोशिश गरे तर दुइजना गन्यमान्य सदस्यहरूले पनि उनीहरूलाई यथाशक्य
सम्झाउने कोशिश गरे
तर केही सीप लागेन। "सम्मेलन
हुँदाहुँदै यसरी लुकेर मिटिङ गर्नेहरूलाई बनाउनुपर्छ।"
अर्को साथी कराए।
तिनताक कुट्नु - पिट्नुलाई
"बनाउनुपर्छ"
भन्ने चलन गान्तोकमा प्रचलित थियो। "अस्ति
सम्मेलनको सभा पनि हुन नपाएर यहाँ लुकेर सभापति भएको हो नि।"
अर्को एकजनाले ममाथि छेड हान्यो।
"होइन, लातको
मान्छेलाई बातले कहाँ हुन्थ्यो?" भन्दै
पहिलोले एउटा खाली चौकी उचालेर ममाथि आइलाग्यो। तत्कालै अपतनका कति
सदस्यहरू म र चौकी उचाल्ने साथीको माझमा आइलागे औ उचालिरहेको
चौकीलाई समात्न पुगे। डाङडाङ - डुङडुङ शुरू भइहाल्यो तर पन्ध्र बीस
सेकेन्डपछि नै स्थिति शान्त भयो अनि थाहा लाग्यो चौकीको एउटा
खुट्टा भाचिएछ, शारीरिक धक्का कसैलाई केही लागेन रहेछ।
परिषद्का पन्ध्र - सोह्रजनाका विरुद्धमा
केही गर्न नसक्ने लख काटेर हो वा घरका धनीले उनको घरभित्र अनाधिकार
प्रवेशको मुकदमा लगाउने धम्की दिएकोले हो ती चार मित्रहरू आफै
बाहिरिए औ फत्फताउंदै बाटो लागे। त्यसपछि सभा नियमित रूपमा
सञ्चालित भयो।
अर्को शनिवार परिषद्को साप्ताहिक गोष्ठी
अन्य स्थानमा भयो। गोष्ठी आरम्भ हुनुभन्दा
अघि अघिल्लो हप्ताको
घटनाको टीका - टिप्पणी गर्दै हामी सबै खुब हांसेका थियौं। गोष्ठी
आरम्भ भएपछि एक दुइ सदस्यहरूले अघिल्लो हप्तामा घटेको घटनामा कविता
तथा लेख सुनाएका थिए, एक सदस्यले हँसेउली बनाएर सुनाएका थिए, तर जब
अर्को सदस्यले आफ्नो रचना सुनाउने पालो आयो, उनले आफ्नो कोटको
बाहुलाबाट आफिसमा चलाइने कालो रोल निकालेर सबैले देख्नसक्ने गरी
उचालेर यस प्रकारले भन्न थाले, "साथीहरू
हो! मलाई अघिल्लो हप्तादेखि यस्तो अनुभव
भएको छ कि आपातकालीन समयमा तपाईंहरूको लेख, कहानी, कविता केही काम
लाग्दैनन्..." सदस्यले बोल्न समाप्त
नगरी सबै सदस्यवर्गबाट करतल ध्वनिको साथ हांसेको फोहोरा धेरै
बेरसम्म छुटिरह्यो। सदस्यले रोल घुमाउंदै फेरि भन्न शुरू गऱ्यो,
"साथी हो, तपाईंहरू सबैलाई मेरो हार्दिक
सुझाव छ कि तपाईंहरू पनि म जस्तै हर्दम तयार रहनुहोस्, कति बेला के
हुन्छ के हुन्छ जानिँदैन। यसैले हरेक समस्याको सामना गर्न तयार
रहनुहोस्, धन्यवाद।" फेरि करतल ध्वनि र
हाँसोको फोहोरा।
म आफैले चाहिँ गोष्ठीमा कथा - कहानी,
कविता केही सुनाउन सकिनँ न त कालो रोल नै घुमाउँदै देखाउन सकें।
मैले त केवल एउटा छोटो संस्मरण मात्र चढाउन सकें अनि यो त्यै
संस्मरणको एउटा धमिलो अनुरूप मात्र हो। यसैले यो रोचक होला भन्ने
केही तोक छैन।
प्रश्न 10 - सेवा - निवृत्त भएपछि के
गरेर समय बिताउनुहुँदैछ?
उत्तर - सेवा - निवृत्त भएपछि गाउँमा गएर
पिता - पुर्खाहरूले छोडिराखेका एक - दुइ टुक्रा जमीनको स्याहार -
सम्हार कार्यमा लागेको छु। म सरकारी सेवा - कार्यमा रहुञ्जेल मैले
न त भूमि माताको सेवा सुश्रुषा गर्न सकें न मेरो स्वास्थ्य नै
तन्दरुस्त रहन्थ्यो। साँचो भनौं भने म सेवा - निवृत्त नभइञ्जेलसम्म
भूमि - माता स्याहार - सम्हारबाट वञ्चित रहेकी थिइन्, बाँझी भएर
त्यसै रहेकी थिइन्। तर म उनको सेवा - सुसारमा लागेपछि श्यामला -
सुफलामा परिवर्धित भएकी छिन् औ मेरो स्वास्थ्यमा पनि धेरै सुधार
आएको छ। मलाई पूर्ण विश्वास छ, यो भूमि - माताकै आशीर्वाद हो। कृषि
- कार्यको साथसाथै लिम्बूमा, लिम्बूको साहित्यको इतिहास लेख्ने
प्रयास पनि गरिरहेको छु।
कहिले काहीँ गान्तोकमा आएर बस्दा कृषि -
कार्य केही हुँदैन तर मनोरञ्जनार्थ सामग्रीहरूको केही अभाव हुँदैन।
डेञ्जोङ, वज्र तथा टिभी त पहिलेदेखि नै थिए तर हिजो - आज त
पब्लिकमा लोकप्रिय पब्लु प्रचलित रहेछ, त्यसमाथि रमणीय रम्य रमीको
रमिता त छँदैछ। दाहालज्यू! सावधानी
गर्नुहोला, यो कुरा सरकारका कानमा नपरोस्।
प्रश्न 11 - लामो समयसम्म सरकारी सेवामा
लगातार रहेर अचानक सेवा - निवृत्त हुनुपर्ने समय आउँदा त्यस सेवाको
'मोह' पनि
बसेको हुन्छ, होइन?
उत्तर - सरकारी कर्मचारी सेवा - निवृत्त हुने समय पहिले नै
तोकिएको हुन्छ जसमा निवृत्ति हुने साल, महिना र दिनाङ्कसमेत
जनाइएको हुन्छ। अन्यथा केही भएन भने, हाम्रा देशभरिका सम्पूर्ण
सरकारी कर्मचारीहरूको निम्ति यही नियम लागू हुन्छ। यसैले कुनै
कर्मचारी आफ्नो सेवा कार्यबाट निवृत्त हुँदा अकस्मात तथा
अप्रत्याशित भन्ने केही प्रश्नै उठ्दैन। म पनि अचानक निवृत्त भएको
होइन। म निवृत्त हुने दिन धेरैअघिदेखि निश्चित भएको थियो।
अब मोहको कुरा गरौं। मोह व्यक्तिगत विषय हो। कति मानिसलाई मोह
अधिक मात्रामा होला, कतिलाई कम मात्रामा औ एकाध - एकाधलाई शून्य
बराबर नै मोह होला। सरकारी सेवा कार्यको सम्बन्धमा अहिले चर्चित
तीन समूहका व्यक्तिहरूमा म आफैलाई तेस्रो समूहमा राख्दछु। ममा
सरकारी सेवाको मोह बसेको थिएन औ अहिले पनि बसेको छैन। साँचो हो -
कहिले काहीँ कामबिना सिथ्यैं बसेको बेला मात्र होइन तर भ्याइ -
नभ्याई काममा व्यस्त हुँदा पनि सरकारी सेवाकालमा सम्पन्न गरिएका
कार्यहरू अथवा व्यतीत अतीतका अनुभवहरू सम्झनामा आउँछन्। तर ती सब
मोह होइनन्, केवल सम्झना हुन् जो स्मृतिपटमा सञ्चित भएर रहेका
हुन्छन्। औ वर्तमानका विभिन्न परिस्थिति र अनुभवहरूको सन्दर्भमा
सजीव भएर आउँछन्। यिनै अतीतका विभिन्न अनुभवहरूलाई सम्झेर त्यसैमा
आनन्दित भएर मस्त भइरह्यो - भइरह्यो भने तिनै सुखद सम्झनाहरू मोहमा
परिणत हुन्छन्। मोह भ्रमात्मक, सारहीन तथा हानिकारक हुन्छ। मोहलाई
माया पनि भनिन्छ। मायाले काया थाम्दैन भन्ने उक्ति सुन्नुभएकै
होला।
प्रश्न 12 - कुनै खास काम नभएर खाली - खाली, खोक्रो -
खोक्रो, न्यास्रो - न्यास्रो र एकलो अनुभव हुनु के मोह होइन र?
यहाँले त्यस्तो अनुभव गर्नुहुंदैछ?
उत्तर - कुनै खास काम नभएर एकलो अनुभव हुनु मोह होइन। मोह भन्ने
वस्तु मनको स्थितिमा आधारित हुन्छ। निद्रा,
तन्द्रा तथा अचेतन
अवस्थाबाहेक सचेत अवस्थामा मानिसको मन निरन्तर चञ्चल भइरहन्छ। यस
अवस्थामा मन एउटै केन्द्रबिन्दुमा क्षणभर पनि अढिरहन सक्दैन। एक
पलभरिको मुहूर्त्तमा चञ्चल मन विश्व ब्रह्माण्डको कुना काप्चा
घुमेर फेरि आइपुग्न सक्छ। यही चञ्चल मनलाई
आफू एकलो हुँदा स्वशासन,
आत्मसंयम तथा आत्म बलले केन्द्रिभूत गराएर आत्म - चिन्तन गर्नसक्ने
सामर्थ्य भएका व्यक्तिलाई महात्मा,
महर्षि तथा महान् दार्शनिक
भनिन्छ। केही काम नभएर
एकलै बसिरहंदा जुन व्यक्तिले नराम्रो सोच्छ, कुविचार गर्छ वा
अरूलाई फंसाउनलाई अनेक षड्यन्त्र रच्दछ, त्यसलाई दुरविचारी,
व्यभिचारी तथा षड्यन्त्रकारीको संज्ञा दिइन्छ। यस प्रसङ्गमा
अङ्ग्रेजी कवि तथा नाटककार विलियम शेक्सपियरले
"क्रियारहित खाली - खाली, खोक्रो रहेको मस्तिष्क
षड्यन्त्रको गुँड हो" (An
idle brain is devils workshop) भनेका छन्। यस भनाइमा
सत्यता छैन भन्न सकिँदैन। फेरि कुनै व्यक्ति केही काम नभएर अतीतका
मधुर यादहरूमा, वर्तमान समयका मनमोहक सौन्दर्यहरूमा अथवा भावी
समयका मनोरम सपनाहरूमा आकर्षित भएर सोचिरहन्छ भने उमाथि माया मोहको
प्रभाव पऱ्यो भनी अनुमान लाउन सकिन्छ। महाकवि देवकोटाले यस्ता
सोचाइहरूलाई अस्वस्थ कल्पनाको संज्ञा दिएका छन्। उनी भन्दछन्,
"यस्तो अस्वस्थ कल्पनाले मानिस पागल
हुन्छ।"
ईश्वरीय कृपा तथा तपाईंहरूका शुभकामनाका कारण मैले अहिलेसम्म
कुनै खास काम नभएर खाली - खाली, खोक्रो - खोक्रो, न्यास्रो -
न्यास्रो, एकलोपन अनुभव गर्नुपरेको छैन, मोह बस्ने कुरा त धेरै
परको हो।
प्रश्न 13 - सिक्किममा नेपाली साहित्यका गतिविधिबारे एउटा छोटो
कहिरन बताइदिनु हुन्छ कि?
उत्तर - यस शताब्दीको चौथो दशाब्दीसम्म सिक्किममा नेपाली
साहित्यका गतिविधि शून्य बराबर थियो भन्दा केही अतिशयोक्ति र
सिक्किमेली पुराना कविहरूप्रति अकृतज्ञता प्रकट गरिएको नमानिएला
भन्ने हार्दिक विश्वास राख्छु। तिनताक सिक्किममा एकाध - एकाध
कविहरू प्रादुर्भाव भएका देखिन्छन्। किन्तु उनीहरूको अभिव्यक्ति
पुरानै जमानाको थियो औ लेखाइ पनि केही शिक्षाप्रद कविताहरू
(शोकहरू) र भजनादिमा नै सीमित थियो। चिट्ठी - पत्र, हात - चिट्ठा,
तमसुक, बण्डापत्र र सरकारी कागजपत्रमा सिवाय अन्य विषयमा गद्य
लेखिँदैन थियो वा यसो भनौ तिनताक सिक्किम साहित्यिक क्षेत्रमा
सुशुप्त अवस्थामै थियो र यस शताब्दीको पाँचौं दशाब्दीदेखि सिक्किम
पनि जागृत भएको छ र सिक्किमेली नेपाली साहित्यको इतिहासमा एउटा
नयाँ तथा प्रगतिशील सर्गको प्रारम्भ भएको छ। त्यसैको परिणामस्वरूप
हिजोआज सिक्किमेली नेपाली साहित्यमा पनि विभिन्न विधाहरू
लेखिँदैछन् औ नयाँ लेखक - लेखिका पनि प्रादुर्भाव हुँदैछन्। यो एक
आनन्दको विषय भएको छ।
यस प्रश्नोत्तरको सन्दर्भमा अप्रसाङ्गिक भए तापनि
यहाँ एउटा
कुरा स्पष्ट गर्न आवश्यक ठान्दछु। दार्जीलिङ जिल्लाको हाराहारी
छँदा पनि साहित्यिक उत्थानमा सिक्किम धेरै पिछडिएको थियो। जसका मूल
कारमहरू हुन् - अल्प शिक्षा र ठिकादारी प्रथा। 1934 सालसम्ममा
बालकहरूका लागि एउटा सरकारी उच्च विद्यालय र बालिकाहरूका लागि एउटा
मिशेनरी माध्यमिक विद्यालय मात्र गान्तोकमा स्थापित थिए। सारा
सिक्किमभरि दस - बाह्र जति निम्न र तीन चारवटा उच्च प्राथमिक
स्तरका स्कटिश मिशन स्कूलहरू थिए। सिक्किममा शिक्षाको यो हीन
अवस्था देखी स्वर्गवासी फाक छिरिङ (गेलजी
नामकरण एस.के. जिनोरसा)
काजीले 1934 - 43 - सम्ममा च्याखुङ, नाम्ची, गेजिङ, सोसिङ, ही,
कलुक र टिम्बरबुङ स्कूलहरू स्थापित गरे। तिनले दार्जीलिङ भोटे
बस्तीमा सिक्किमका छात्रहरूका लागि एउटा निवास
गृह (Boarding
House) पनि स्थापना गरेका थिए तर ती सब आवश्यकताअनुसार धेरै
कम थिए। सिक्किममा यसरी शिक्षाको कमी हुनुको विशेष
कारण ठिकादारी
प्रथा नै थियो। प्राय: नै ठिकादारहरू
चाहन्थे - शिक्षाको प्रचार र प्रसार नहोस्, सारा रैतीहरू अशिक्षित
नै रहून् तर भाग्यवश 1947 सालमा भारत स्वतन्त्र भयो। र त्यसबाट
सिक्किम पनि प्रभावित नभई रहन सकेन। त्यही सालदेखि नै सिक्किममा
पनि विभिन्न स्थानमा राजनैतिक संस्थाहरू स्थापित हुन थाले र 1948
सालकै अन्त्यतिर यी विभिन्न राजनैति संगठनद्वारा संगठित सिक्किम
स्टेट कांग्रेसले एक विशाल जन - आन्दोलन गऱ्यो। सिक्किमको यो
आन्दोलन नै सर्वप्रथम जन - आन्दोलन थियो जसको परिणामस्वरूप
सिक्किममा ठिकादारी प्रथा सधैंका लागि उन्मूलन भयो।
यही जन - आन्दोलनले सिक्किमवासीहरूमा सच्चा जागृतिको चेतना ल्यायो।
कैंयौं वर्षसम्म ठिकादारी प्रथामा थिचिएर बसेका सिक्किमेलीहरूले
आफै मुक्त भएको अनुभव गरे। सबैले निर्भीकतापूर्वक हृदयका कुरा
अभिव्यक्ति गर्ने अवसर पाए। कति शिक्षित तर भावुक हृदयका
मानिसहरूले आफ्नो अभिव्यक्ति लिखित रूपमा व्यक्त गर्न थाले। यस्तै
वातावरणमा चार दशकअघाडि सिक्किम गान्तोकमा शायद सिक्किमको
सर्वप्रथम साहित्यिक संस्था अपतन साहित्य परिषद् स्थापित भयो।
यसैले आधुनिक सिक्किमेली नेपाली साहित्यको उत्थान अपतन कालदेखि नै
प्रारम्भ हुन्छ भन्दा कसैको द्विमत होला भन्ने मलाई लाग्दैन।
अपतन कालका लेखक - कविहरू - अगमसिंह तामाङ, तुलसी बहादुर
क्षत्री, शिवनाथ मिश्र, रामदत्तलाल ठाकुर, सन्तबीर लिम्बू तथा
चन्द्रदास राई हुन्। तुलनात्मक दृष्टिले हेर्दा कम्ति कविता लेखे
पनि तथा आजतक तिनका कविता संग्रह प्रकाशित नभएको भए पनि अगमसिंह
तामाङलाई नै अपतनका प्रतिनिधि कविका रूपमा मान्न सकिन्छ, कारण
कविताको महत्व परिमाण तथा विशालकायमा होइन तर गुण, भाव र
अभिव्यक्तिमा हुन्छ। तिनताक ठिकादारी प्रथा गरीब स्तरका
मानिसहरूमाथि गरिएका अत्याचार, अन्याय, शोषण र तिनीहरूका दीनहीन
अवस्थाहरू चित्रित गरिएकाले अगमसिंह तामाङका कविताहरू सजीव,
हृदयस्पर्शी र समयानुकूल भएका छन्। तुलसी बहादुर क्षत्रीका
कविताहरू शिक्षाप्रद र उत्साहवर्धक छन्। प्रकृति चित्रणमा पनि
क्षत्रीज्यू सफल भएका छन्। तिनको 'बापू
वन्दना' सिक्किमेली नेपाली साहित्यमा
लेखिएको सर्वप्रथम खण्डकाव्य भन्नुपर्ला। तिनले
'कमल' शीर्षक एक नाटक पनि लेखेका
छन्। रामदत्तलाल ठाकुर र शिवनाथ मिश्र दुवै अनेपाली भए पनि
उनीहरूको नेपालीप्रतिको पवित्र प्रेम, प्रगाढ श्रद्धा र नि:स्वार्थ
सेवा सराहनीय छ। शिवनाथ मिश्र संस्कृत भाषाका पण्डित भएका हुनाले
उनका कविताहरू पुरातन सम्बन्धका प्रसङ्गहरूले भरमार छन्। अपतनका
सदस्यहरूका निम्ति उनी प्रेरणाका मूल स्रोत थिए। रामदत्तलाल ठाकुर
सहज प्रकृतिका कवि हुन् र उनले अझैसम्म विभिन्न पत्र -
पत्रिकाद्वारा अपतनको प्रतिनिधित्व गरिरहेका छन्। उनले अहिलेसम्म
लेखेका कविताहरूको संग्रह प्रकाशित भयो भन् त्यो नेपाली साहित्यको
एउटा निधि हुनेछ। सन्तबीर लिम्बूका कविताहरू प्राय:
हास्यरसका छन्। तिनको 'मावल गाउँ'
शीर्षकको एक खण्डकाव्यले ज्योति नपाई पाण्डुलिपिकै अवस्थामा
बेपत्ता हुनुपऱ्यो। चन्द्रदास राई पद्यभन्दा गद्यमा लेख्न
रुचाउँथे। अचेल पनि कहिले काहीँ तिनका लेखादि प्रकाशित हुँदैछन्।
यी बाहेक तर म सहित अपतनका अरू - अरू सदस्य पनि थियौं तर हाम्रो
साहित्यिक योगदान शून्य बराबर थियो।
अपतन कालपछि प्राय: एक दशकसम्म समय -
समयमा 'कञ्चनजङ्घा'
र दार्जीलिङ - कालिम्पोङबाट प्रकाशित पत्र - पत्रिकाहरूमा
सिक्किमेली साहित्यकारहरूका रचनाहरू फट्याक - फुटुक देखिन्छन्। यस
अवधिका साहित्यकार तथा कविहरूमा तुलसीराम शर्मा (तुलसी कश्यप),
देवी प्रसाद कौशिक, सानु लामा, बी. एस. राई, लाल बहादुर बस्नेत,
चन्द्रबहादुर सुवेदी तथा महानन्द पौड्याल हुन्। तुलसी कश्यपका
कविता तथा कथा 'कञ्चनजङ्घा'
र अन्यान्य पत्र - पत्रिकातिर 1957 - 58 सालदेखि नै देखिन थालेका
थिए। 1965 - मा तिनको 'आँकुरा'
कविता संग्रह प्रकाशित हुन्छ। फेरि 1967 - मा तिनको खण्डकाव्य
'कला - कमल'
प्रकाशमा आउँछ।
यसपछि प्राय: दुई दशकपछि तिनी
'जन्मभूमि'
महाकाव्य लिएर आउँछन्। अक कोरी वर्षअघि नै 'संसार
यस्तै रहेछ' नामक कथा लेखेर
गद्य रचना
क्षेत्रमा कश्यपज्यू सक्षम भइसके पनि यिनको स्वाभाविक झुकाउ कविता
क्षेत्रतिर नै छ। हिजो आज प्राय:
नै कविहरू आफ्नो अभिव्यक्तिको निम्ति गद्यको माध्यम - सामग्री लिन्छन्
भने कश्यपज्यूले छन्दमा नै कविता लेख्ने पुरानो नियम छोडेका छैनन्।
छन्द रोजाइमा पनि तिनले सजिलो मात्रिकलाई पर राखेर जटिल वार्णिकलाई
नै अँगालेका छन् र पनि आप्नो मनको भाव सहजसित अभिव्यक्त गर्न तिनी
सफल भएका छन्। तिनका आँकुरा, कला कमल, जन्मभूमि तथा अन्यान्य
कविताहरूमा चरित्र - चित्रण, प्रकृति - वर्णन तथा कुनै घटनाक्रमका
विषय - वस्तुलाई कश्यपज्यूको यो खूबी स्वीकार्नुपर्छ। तर यो सब भएर
पनि कश्यपज्यूका कविताहरूमा रस, भाव, कल्पना तथा अरू साहित्यिक
आभूषणहरूको कमीको कारण तिनका प्राय: नै
कृतिहरू साह्रै स्तरीय हुनसकेका छैनन्। जन्मभूमि - जस्तो बृहत्
महाकाव्य लेख्दा कश्यपज्यूले यी कुराहरूमा ख्याल दिएका भए धेरै असल
हुने थियो तर मलाई विश्वास छ - मेरा यी वचनहरूले कश्यपज्यू
हतोत्साही बन्ने छैनन् र अब उसो निस्कने तिनका कृतिहरूलाई कसीको
आवश्यकता पर्दैन, सबै अकबरी नै ठहरिनेछन्।
बी.एस. राई पत्र - पत्रिकातिर 1957 - 58 देखि नै प्रादुर्भाव
हुन्छन्।
गद्यात्मक रचनाहरू नै तिनका क्षेत्र हुन्। व्यापक अध्ययन र
गहन चिन्तनको पृष्ठभूमिमा लेखिएका तिनका
कथा, निबन्ध र अरू गद्य
रचनाहरू सिक्किमेली नेपाली साहित्यको स्तर बढाउनमा अरू बढ्दै
जानेछन् भन्ने
आशा राखिन्छ। राईज्यूको 'ज्वाला
र खरानीहरू' एक
उत्तम उपन्यास हो। अनुवाद
साहित्यमा पदार्पण गर्ने प्रथम सिक्किमेली साहित्यिक पनि राईज्यू
नै हुन्। यस क्षेत्रमा राईज्यूको प्रवेशले सिक्किमेली नेपाली
साहित्यको एउटा अभाव पूर्ति भएको छ तर न्यून मात्रामा मात्र। यस
क्षेत्रतिर तिनको साहित्यिक क्रियाको मुहान फर्कियो भने सिक्किमेली
नेपाली साहित्य अरू
भाग्यसाली बन्ने छ।
सानु लामाज्यूको जन्म, संस्कारिक नाम अरू केही हुनसक्छ तर तिनी
साहित्यिक जगतमा 'सानु लामा'
नाउँले परिचित छन्। तिनी पनि पत्र - पत्रिकाबाट धेरैअघिदेखि परिचित
भइआएका हुन् तर 'कथा - सम्पद्'
कथा संग्रहको प्रकाशनले तिनलाई साहित्य जगतमा अरू व्यापक रूपमा
परिचित गराएको छ। लामाज्यू एक विशिष्ट नेपाली साहित्यकार हुन्
भन्ने कुरो 'कथा - सम्पद्'
- ले नै प्रमाण गरिसकेको छ। कथाका विषय - वस्तुलाई प्रस्तुत गर्नमा
र तिनका शीर्षक छान्नमा आफ्नै स्वतन्त्र, रोचक, आकर्षक विधि
अपनाउनमा लामाज्यू निपुण कलाकार भइसकेका छन्। यहाँ विषय - वस्तुको
विषय छोडेर केवल एउटा शीर्षक 'फुर्बाले
गाउं छोड्यो' उदाहरणस्वरूप राख्छु। यस
शीर्षकको एक झलकमा फुर्बाले किन गाउँ छोड्यो?
उसलाई कोहीसित बात लाग्यो? अथवा आर्थिक
चेपारोमा परेर उसले गाउँ छोड्यो इत्यादि अनेक चित्रहरू आँखाका सामू
नाच्छन्। यसरी नै
'पैंयूँ फुलेको दिन'
- ले पनि अतीतका जीवनका विभिन्न चित्रहरू कोरिन्छन्। यो सब
लामाज्यूका आफ्नै विशेषता हुन्। यी सबका कारण लामाज्यू नेपाली
साहित्य संसारमा एक विशिष्ट कथाकारका रूपमा चिनिइसकेका छन्।
लामाज्यूको गीति - कविता र संगीत क्षेत्रमा पनि दखल जमिसकेको छ।
लालबहादुर बस्नेत इतिहासकार भए पनि तिनको कथा संग्रह
'धर्मछाडा'
केवल 1983 - तिर प्रकाशित भयो। तिनी इतिहासकार भएकाले इतिहासका कति
वास्तविक घटनाहरूलाई रोचक कथाका ढाँचामा ढालेर बस्नेतज्यू एक सफल
कथाकार बनिसकेका छन्। कथाभित्र अन्तरनिहित रहस्यलाई लुकाइराखेर
कथाको अन्त्यमा मात्र खुलस्त गरिदिनु बस्नेतज्यूको लेखनकलाको एक
विशेष तकनीक भएको छ।
अपतनका उत्तरार्ध कालदेखि नै विभिन्न पत्र - पत्रिकाबाट
साहित्यिक क्षेत्रमा उत्रिसकेका महानन्द पौड्याल एक अनुभवी र सक्षम
साहित्यकार हुन्। तिनको कुनै रचना संग्रह प्रकाशमा आएको देख्ने
अवसर मैले पाएको छुइनँ तर नेपालका रणवीर सेनापतिहरूले टिस्टा नदीमा
खाँडो पखालेका विषयमाथि प्रकाश हाल्दै सत्यतापूर्ण, रोचक एवं
ऐतिहासिक लेख छोग्यालको राजत्वकालमा नै प्रकाश गर्ने सामर्थ्य भएका
एक साहसिला साहित्यकार हुन् महानन्द पौड्याल। हिजो आज पनि तिनका
रचनादि समय - समयमा प्रकाशित हुँदैछन्।
देवी प्रसाद कौशिक र चन्द्रबहादुर सुवेदी होनहार कवि थिए।
अल्पायुमै तिनीहरू सिक्किमेली नेपाली साहित्यको बेदीमा एक एकवटा
पवित्र फूलका थुङ्गा - कौशिकबाट कविता संग्रह 'सुस्केराहरू'
र सुवेदीबाट 'हारेको कर्म'
- चढाउनमा सफल भए तर तिनीहरूको असामयिक निधनले सिक्किमेली नेपाली
साहित्य तिनीहरूबाट सम्भावित सेवा योगदानबाट वञ्चित रहनुपऱ्यो।
'हारेको कर्म'
सिक्किमेली नेपाली साहित्यमा लेखिएको प्रथम औ एकमात्र गीति - काव्य
हो।
सिक्किमको पाँच - वर्षे विकास - कार्यक्रम र सिक्किमेली नेपाली
साहित्यको उत्थान हेतु र परिणामसरह भएका छन्। 1950 सालमा
सिक्किमलाई भारतको एक संरक्षित राज्य बनाइयो औ त्यसको तीन वर्षपछि
सिक्किममा पनि भारतमा सरह पाँच वर्षे आर्थिक विकास कार्यक्रम
प्रारम्भ गरियो र अहिलेसम्म पनि विकास कार्यक्रम अनिच्छिन्न रूपमा
सम्पन्न भइरहेको छ। यस अविच्छिन्न विकास कार्यक्रमको फलस्वरूप
अहिले सिक्किममा चार दशकअघाडि भएका स्कूलहरूभन्दा एक सय गुणा बेसी
स्थापित भएका छन् औ विद्यार्थीवर्गको संख्या पनि उही मात्रामा
बढेको छ। वास्तवमा 1960 - 65 सालदेखि नै उच्च र उच्चतर स्कूलहरूबाट
उत्तीर्ण भएका छात्र - छात्राहरूको संख्या बढ्दै गएको थियो र
अहिलेसम्म प्रतिवर्ष यो संख्या बढ्दै जाँदैछ। यसरी नै सिक्किममा
शिक्षाका प्रचार र प्रसार द्रुत गतिमा भएका हुनाले कति शिक्षितहरू
साहित्यिक क्षेत्रमा अवतरण हुन थाले औ हुँदैछन्। फेरि पाँच वर्षे
विकास कार्यक्रमको प्रारम्भिक कालदेखि नै विकास योजनालाई
कार्यान्वित गर्नलाई बाहिरबाट सक्षम व्यक्तिहरूलाई सिक्किममा
आमन्त्रित गरियो। यसैले दार्जीलिङ, कालिम्पोङ तथा नेपाली आबादी
भएका अन्यान्य स्थानहरूबाट कति नेपाली साहित्यिकहरू सिक्किममा पसे
औ सिक्किमेली साहित्यिक भएर लेख्न थाले वा लेख्दैछन्। सिक्किम
पूर्ण रूपले भारतमा सम्मिलित भएपछि सिक्किम पस्नेहरूको संख्या अरू
तीव्र गतिमा बढ्यो र अझै बढ्दैछ। यसैले हिजो आज सिक्किममा
साहित्यिकहरूको संख्या धेरै छ। यी साहित्यिकहरूमा कतिलाई चिन्दछु,
कतिजनाका नाम जान्दछु तर व्यक्तिहरूलाई चिन्दिनँ औ कति यस्ता पनि
होलाने, जसका नाम मैले सुनेको छुइनँ। सिक्किममा साहित्यिकहरूको
संख्या यसरी बढेको नेपाल, दार्जीलिङमा सरह सिक्किमेली नेपाली
साहित्य पनि एकरूपदेखि बहुरूपमा ढल्किसकेको मलाई लाग्छ किन्तु यो
अत्यन्त खुशीको विषय भएको छ कि सिक्किमेली नेपाली साहित्यको उत्थान
द्रुत गतिमा भइरहेको छ।
सन् 1965 - 70 सालदेखि यता सिक्किमेली नेपाली साहित्यमा उत्रिने
कवि, कथाकार, निबन्धकार तथा अन्यान्य साहित्यिकहरू हुन् - केदार
गुरुङ, गिर्मी सेर्पा, सुवास दीपक, सन्तोष बरदेवा, उपमान बस्नेत,
गंगा कप्तान, जीवन थिङ,
रुद्र पौड्याल, शोभा थेगिम, राधाकृष्ण
शर्मा, चुनिलाल घिमिरे, शान्ति छेत्री, जगत बी. सुब्बा, पूर्ण राई,
पवन चामलिङ किरण, अरुण राई, राज के. श्रेष्ठ, सानुभाइ शर्मा, कमला
खप्तावली, रघुनन्द सापकोटा, भूपेन्द्र अधिकारी, गोपालप्रसाद दाहाल,
एम.. खुलाल, राजेन्द्र भण्डारी, मटिल्डा राई, घनश्याम नेपाल, सरला
राई, पुरुषोत्तम प्रधान, गहर उदासी, हरिकुमार निरौला, जीवन
नेम्बाङ, भीम दाहाल, गोपाल गाउँले, मिक्खोले आदि हुन्। यी
साहित्यिकहरूमा प्राय: धेरैले नै आफ्ना
कृतिहरू प्रकाशमा ल्याइसकेका छन्। कतिले त दुइवया - तीनवटासम्म पनि
कृतिहरू प्रकाशित गरिसकेका छन्। जसजसका कृति संग्रहीत भएका छैनन्,
तिनीहरूका पनि अनेक रचनाहरू विभिन्न पत्र - पत्रिकामा प्रकाशित
भइसकेका छन्। केदार गुरुङ, उपमान बस्नेत, जगत बी. सुब्बा, गिर्मी
सेर्पा, सन्तोष बरदेवा, एम.बी. खुलाल, पुरुषोत्तम प्रधान आदि कविता
विधातिर बढिरहेका छन् भने राधाकृष्ण काफ्ले, हरिकुमार निरौला, गंगा
कप्तान उपन्यास क्षेत्रमा उत्रिसकेका छन्। सानुभाइ शर्मा, शान्ति
छेत्री, पूर्ण राई सिक्किमेली नेपाली साहित्यका निबन्धकार हुन्
भने, कवि राजेन्द्र भण्डारी, गोपालप्रसाद दाहाल समालोचनात्मक
लेखहरू लेख्छन् औ रुद्र पौड्याल, राज के. श्रेष्ठ र अरू कति लेखहरू
कथा साहित्यमा अघि बढिरहेका छन्। सिक्किममा साहित्यिकहरूलाई यसरी
भिन्न - भिन्न विधाका तहमा राख्नु एक हास्यप्रद प्रयत्न सिवाय अरू
केही ठहरिँदैन किनभने कविता लेख्नेहरूले कथा तथा अरू गद्य रचनाहरू
पनि लेख्छन् औ निबन्धकारहरूले कविता पनि कोरेका छन्। यो त केवल
लेखाइ परिमाणमा धेरथोर भएको मात्राको भिन्नता मात्र हो। फेरि यी
साहित्यिकहरू जीवनपर्यन्त साहित्यिक भएर बस्छन् भन्ने कोही तोक छैन
कति सावन भदौका भेल पनि हुनसक्छन्।
अहिले उल्लेखित सिक्किमेली साहित्यिकहरूमा जीवन थिङ नै सबैभन्दा
सर्वश्रेष्ठ साहित्यकार हुन् भन्दा अरूहरूमाथि मैले अन्याय गरेको
ठहरिँदैन भन्ने विश्वास राखेको छु। जीवन थिङ सिक्किम माताले
जन्माएका एक विशिष्ट उत्कृष्ट र प्रभावशाली साहित्यिक थिए। गद्य
रचनामा रत्नश्री पुरस्कारले सम्मानित भए पनि तिनी वास्तवमा कवि नै
थिए। तिनका गद्य रचना कम र पद्य रचना बेशी मात्रामा छन्। तिनका
पद्य रचनामा कविता, गीति कविता, मुक्तक र एक खण्ड - काव्य
"नार्सिसस"
सामेल छन्। जीवन थिङका प्राय: प्रत्येक
रचनामा तिनका नेपाली जाति, भाषा, साहित्य, संस्कृति र विशेष
जन्मभूमि सिक्किमप्रतिको प्रेम, श्रद्धा एवं कृतज्ञता प्रतिबिम्बित
हुन्छन्। सिक्किमलाई विलाएर भारतमा मिलाउँदा कवि थिङलाई असह्य आघात
हुन्छ र तिनका हृदयका
भक्काना यसरी फुट्दछन् -
यहाँ निदाउनेहरूका निम्ति जाग्नलाई अब बिहानहरू छैनन्
यहाँ मर्नेहरूका निम्ति स्वाभिमानसित दबाउन चिहानहरू छैनन्
यहाँ मान्छेको मृत्युमा मान्छेले आँसु चुहाउने छैन
चोखो मुटु भएकालाई यो धरती सुहाउने छैन।
फेरि त्यही कवितामा तिनताकका पथ - प्रदर्शक तथा देशका
नेताहरूमाथि आफ्नो रिस यसरी पोखाउँछन् -
के तिमीहरूका आफ्नै खोला नाला छैनन् र
?
जनताका निम्ति शक्ति तयार गर्न जानुपर्छ सागरलाई पुज्न?
के तिमीहरूका आप्नै आँटिला हिमाल छैनन् र?
यी कविताहरू एउटै शीर्षक कविताका पदहरू हुन्। यस प्रकारका
गहकिला भनाइहरू कवि थिङको प्रत्येक रचनामा पाइन्छन्। तिनी सम्मानित
भएको कथामा तिनको स्वप्नमा प्रतिबिम्बित भएर देखिएका गान्तोकका
नामनाम, लालबजार, छोर्तेन, डियर पार्क आदिका बिहानीपख सूर्यको
स्वर्णिम किरण पर्दा सृजन हुने साधारण सुन्दर वर्णनहरू छन्। तर
थिङको विषय - वस्तु प्रस्तुत गर्ने विधि सहज भाव अभिव्यक्ति तथा
सुन्दर शैली चमत्कारपूर्ण छन्। यसरी साधारण वस्तुलाई सजीव र
सर्वाङ्ग सुन्दर बनाउने प्रतिभा कवि थिङको विशेषता हो। यस्ता
प्रतिभायुक्त कवि जीवन थिङले केवल आफ्नो विद्यार्थी जीवनसम्म आफ्ना
भाषा, साहित्य र जन्मभूमि सिक्किमको सेवा गर्ने अवसर पाए। तिनको
असामयिक निधन सिक्किमको मात्र नभएर नेपाली साहित्य जगतको पनि
अभाग्य हो।
चार दशक अघिसम्म टाक्सिएर रहेको सिक्किमेली नेपाली साहित्य
अहिले झाँगिएको छ। यसको सर्वतोमुखी विकास भइरहेको छ। कविता, कथा,
निबन्ध, समालोचना, खण्डकाव्य, महाकाव्य प्राय:
सबै विधामा सिक्किमेली नेपाली साहित्यको विकास भइरहेको छ। कविता
विधाअन्तर्गत मुक्तक र गीति - कवितामा पनि सिक्किम साह्रै पिछडिएको
छैन तर यो जम्मै भएर पनि नाटक विधामा भने सिक्किम अझै पिछडिएको छ
जस्तो मलाई लाग्छ। अपतन कालमा "कमल"
शीर्षक एउटा नाटक लेखिएको थियो। यस बाहेक अरू नाटक सिक्किमेली
साहित्यकारहरूबाट लेखिएको मलाई थाहा छैन। रघुनन्द सापकोटाले यस
दिशातिर कदम चालेका छन् भन्ने सुनेको छु तर तिनीबाट लिखित दृश्य -
काव्य पुस्तक मैले अझसम्म देखेको छुइनँ। लेखेका छन् भने खुशीको
विषय हो। यहाँका साहित्यकारहरूले लोक साहित्यतिर पनि ध्यान राख्नु
आवश्यक छ। फेरि नेपाली सांस्कृतिक तथा सिक्किमेली ऐतिहासिक मूल
आधारका रचनादिको पनि म कमी देख्छु। मलाई विश्वास छ सिक्किमेली
नेपाली साहित्यलाई विकलाङ्ग बनाइने छैन।
अघि अविच्छिन्न पाँच वर्षे आर्थिक विकास
कार्यक्रम र सिक्किमेली नेपाली साहित्यको उत्थान हेतु र परिणामसरह
छन् भनियो। तर विकास कार्य नै मूल कारण हो भन्नु सरासर
झुट्टा
सिद्ध हुन्छ। विकास कार्यलाई
केवल एक गौण तथा द्वितीयक हेतु मात्र
मान्न सकिन्छ। मूल तथा प्राथमिक हेतु 1948 सालको जन आन्दोलन र
त्यसबाट सिक्किमवासीमा उमारिएको जागृति भावनालाई नै मान्नुपर्छ
जसको फलस्वरूप अपतन कालपछि नै साहित्य प्रचार र प्रसारका प्रमुख
साधन नेपाली साहित्यिक पत्रिकाहरू प्रकाशित हुन थालेका थिए र अहिले
पनि सिक्किमेली नेपाली साहित्यको उत्थानमा यी पत्रिकाहरूले एक
महत्वपूर्ण भूमिका निभाइरहेका छन्।
मैले जाने - बुझेअनुसार सिक्किम गान्तोकमा 1951
सालमा शान्ति राई (हाल डाक्टर), गीता शर्मा (हाल प्रिन्सिपल),
मानवीर सुब्बा (हाल डी.ई) र साथीवर्गले
"फूलबारी"
नामक एउटा हस्तलिखित पत्रिका एकै अङ्कसम्म प्रकाश गरेका थिए।
अहिलेसम्म यसभन्दा अगाडि प्रकाशित कुनै पत्रिका नपाइएकोले यसैलाई
सिक्किमेली नेपाली साहित्यको सर्वप्रथम नेपाली साहित्यिक पत्रिका
मान्नुपर्छ तर हस्तलिखित र न्यून मात्रामा निकालिएको हुनाले
साहित्यिक प्रचार र प्रसार कार्यमा यसको असर नगण्य थियो। यसको
महत्व प्रथम सिक्किमेली नेपाली साहित्यिक पत्रिका हुनुमा नै सीमित
छ।
1952 सालतिर गणेशमान राईद्वारा
"मानव
निर्वोध" शीर्षकको नेपाली साहित्यिक
पत्रिका प्रकाशित भयो भन्ने कता कता सुनेको थिएँ तर यो पत्रिका
अवलोकन गर्ने अवसर पाउन सकिनँ। 1957 सालको सितम्बर महीनादेखि
काशीराज प्रधानको सम्पादनमा "क़ञ्चनजङ्घा"
मासिक पत्रिका प्रकाशित हुन थालेपछि मात्र सिक्किममा नेपाली
साहित्यिक पत्रिकाको वास्तविक काल प्रारम्भ हुन्छ। तिनताक काशीराज
प्रधान सिक्किम सरकारका एक्जिक्यूटिभ
काउन्सिलर र तत्कालीन सिक्किम
स्टेट कांग्रेसका सभापति थिए, तर पनि "कञ्चनजङ्घा"
- लाई स्टेट कांग्रेसको मुख - पत्र हुनु नदिनु र पाठकवृन्दमा
लोकप्रिय बनाउनमा तिनी सफल भए। कुनै पनि स्थानीय समाचार - चाहे
त्यो सामाजिक वा साहित्यिक होस् अथवा त्यो राजनीतिक नै किन नहोस् -
"कञ्चनजङ्घा" - ले
प्रमुख स्थान दिएर आफूदेखि समाजमा प्रतिबिम्बित गरे पनि यसले आफ्नो
साहित्यिक उद्देश्य र कर्तव्यलाई कहिले भुलेन। प्राय:
नै अङ्कमा कथा, कविता तथा अरू साहित्यिक रचना हुन्थे नै। यसैले
कञ्चनजङ्घा लोकप्रिय भएको थियो। कञ्चनजङ्घा लोकप्रिय हुनुको अर्को
हेतु थियो, यसको सरल र सबैले सजिलोसित बुझ्नसक्ने भाषा। यो पत्रिका
शहरवासीहरूमा मात्र होइन तर गाउँ - गाउँमा पनि खूब प्रचार भएको
थियो। सिक्किमबाहिर पनि कञ्चनजङ्घा - को
लोकप्रियता कम्ति थिएन।
1957 - मा प्रकाशित हुन प्रारम्भ भएर बीचमा दुइ वर्षसम्म हराएर
1970 सालसम्ममा धेरै लेखक लेखिकावर्गलाई प्रोत्साहन दिँदै
साहित्यिक क्षेत्रमा उतार्न कञ्चनजङ्घा सफल भएको थियो। अपतन कालमा
काशीराज प्रधान अपतनका एक प्रमुख सल्लाहकार थिए, पछि कञ्चनजङ्घाको
सफलतापूर्वक सम्पादन गरेर सिक्किमेली नेपाली साहित्यमा एक विशिष्ट
साहित्यकार तथा साहित्यिक पत्रकार बनेका छन्।
कञ्चनजङ्घा - को साथसाथै नयन छिरिङ लेप्चाले
"तीन तारा"
मासिक पत्रिका केवल एक अङ्कसम्म निकाले। पछि यो पत्रिका त्यतिकै
लोप भयो। त्यस समयतिर नै पश्चिम सिक्किम गेजिङबाट महानन्द
पौड्यालद्वारा "दि पोल स्टार"
केवल एकैपल्ट प्रकाशित भएको थियो। यसरी नै 1957 - देखि 1987
सालसम्म सिक्किमेली नेपाली साहित्यमा मासिक, द्वैमासिक, त्रैमासिक,
हस्तलिखित र साइक्लोस्टाइल गरेका साहित्यिक पत्र - पत्रिकाहरू
प्राय: दुइ कोरीभन्दा बेसी संख्यामा
सिक्किमका विभिन्न स्थान र सम्पादकहरूका सम्पादनमा देखापरे तर यी
पत्र - पत्रिकाहरूमा कति एकै अङ्कसम्म प्रकाशित भएर बन्द भए। फेरि
कति तीन या चार अङ्कसम्म प्रकाशमा आउन सके र एक दुइ पत्रिका एक
वर्ष, दुइ वर्ष अथवा छ, सात वर्षसम्म फुलेर पनि ओइलिएर गए। यी
बाहेक 1965 सालदेखि यतातिर दार्जीलिङ, कलकत्ता, बम्बई, दिल्ली आदि
स्थानबाट अध्ययनार्थ गएका सिक्किमेली छात्र - छात्राहरूले पनि समय
समयमा नेपाली पत्रिकाहरू फट्याक - फुटुक निकाल्दै छन्। सिक्किम
भारतको अङ्ग नभइञ्जेलसम्म भारत सरकार सूचना प्रचार र प्रसार विभाग,
गान्
|