Gangtok, Sikkim,
Editor: Subhash Deepak

 

सुक्खिममा आधुनिक शिक्षाको सूत्रपात तथा प्रसार

रश्मिप्रसाद आले, सभापति, सिक्किम साहित्यकार सम्पर्क समिति।

स्वर्गीय महाराजा सर थोतुब नामग्याल, के. सी. एम. आई. अत्यन्त प्रगतिशील शासक होइबक्सनाले देशको उन्नतिमा तथा प्रजाका कल्याणमा निरन्तर दत्तचित्त होइरहन्थे। गान्तोकस्थित " सर थोतुब नामग्याल मेमोरियल हस्पिटल" उहाँकै पुण्यस्मृतिमा निर्माण गरिएको हो। आधुनिक शिक्षाको उपकारिता उहाँले पूरै हृदयङ्गम गरेर युग सुहाउँदो शिक्षाको प्रवर्त्तन तथा प्रचार राज्यमा हुनु नितान्त वाञ्छनीय छ भनीठानेर आफ्ना सुयोग्य परामर्शदाता च्याकुंका मालिक श्री शिव देवानसँग सर्वप्रथम यस विषयमा चर्चा गर्नुभयो।

भारतमा सम्राट् विक्रमादित्यको पालाझैं महाकवि कालिदास वररुचि आदि नवरत्नका जमघट हुन नसके तापनि सुक्खिमको सौभाग्यले त्यस बेला यहाँ दूरदर्शी, उदारचेत्ता त्रिरत्नका समागम दैवात् हुनगएको थियो। स्वनामधन्य मिस्टर जे. सी. ह्वाइट त्यस समय त्यहाँका पोलिटिकल अफिसर हुनुहुन्थ्यो। उहाँले प्रजाका उन्नति कल्पना अनेक जनहितकर कार्यहरू गरेका हुनाले उहाँकै गुणग्राही प्रजावर्गले पनि राजधानी गान्तोकमा "ह्वाइट मेमोरियल हल" नामक एक भव्य स्मारक बनाइदिएर उहाँको कीर्ति अमर तुल्याएका छन्। सुक्खिमका सच्चा हित चिन्तक हुनाले महाराजा साहेबका विचारधाराले ह्वाइट साहेबको पूर्ण समर्थन पाउँदथे। आफ्ना प्रजालाई शिक्षित तथा सभ्य पार्न महाराजाको आग्रहलाई हार्दिक समर्थन गर्दै उहाँले भारतबाट श्री रामधन पाण्डे नामधारी जनैक बिहारी महोदयलाई प्रधान अध्यापक पदमा तुरन्त झिकाइदिनुभयो औ 1894 सालमा "हिन्दी स्कूल" नामक एक सानो पाठशालाको गान्तोकमा सर्वप्रथम उद्घाटन भो। काशी बाबु (काशीराज प्रधान) सहायक शिक्षक नियुक्त हुनुभो। यो शुरूको पाठशाला वर्तमान जेल र इञ्चे गुम्बा जाने दोबाटोको छेवैमा एक सानो कटेरामा सर्वश्री ग्यालछेन काजी, आपत काजी, डुग्दा काजी, शेराब (तुम्लो) काजी औ साक्योंग काजी नाम भएका पाँचजना विद्यार्थीहरू लिएर खोलियो। स्कूल जनप्रिय हुँदै गयो औ छात्र संख्या क्रमश: बढ्नथाल्यो।

प्राय: तीन वर्षपछि उक्त पाठशाला वर्तमान टी. एन. एकादेमी मनि भएको मूलबाटाको मास्तिर सऱ्यो। त्यसपछि हालको पुरानो बजारमाथि पिन्छो नेडुपको (हाल अविद्यमान) घरको एउटा सानो कोठा किरायामा लिई त्यसै चल्न थाल्यो।

शुभ साल 1897 - मा स्कूलको लागि बल्ल एउटा स्थायी घर दरबारमा बनाइदिएर "हिन्दी स्कूल" - को नाम परिवर्तन गरी " स्टेट स्कूल" राखिदिएर सम्भवत: त्यसै वर्ष मात्र यो स्कूल सरकारद्वारा स्वीकृत भयो। स्कूल हाल लाल बजार बनिएको ठाउँमा थियो। पहिले यो स्कूल खोल्दा अनुमानित पच्चीस, तीसजना विद्यार्थी थिए औ सर्वश्री हर्कध्वज प्रधान, बाक्सिंग कार्थक र श्रीदल शिक्षक हुनुहुन्थ्यो। विद्याको मोल प्रजाले बुझिल्याउँदा टाढा टाढाबाट पनि मानिसले आफ्ना बालकहरू गान्तोकमा पढ्न पठाउन थाले औ दिनदिन यसरी छात्र संख्या बढ्दैगयो।

1902 सालमा "स्टेट स्कूल" विभक्त भएर "नेपाली बोर्डिंग स्कूल""भोटिया बोर्डिंग स्कूल" बनिए। पहिलो स्कूल चाहिं आफ्नै पुरानो ठाउँमा रह्यो औ पछिल्लोको लागि शहरदेखि प्राय: दुइ माइल उत्तरमा नयाँ घरहरू बनिए। अब दुइ भिन्न भिन्न स्कूलका लागि पृथक् पृथक् शिक्षकवर्गको आवश्यक पर्नाले राजशाही विभागका कमिश्नरका दोभाषे तिब्बते र अंग्रेजीका धुरन्धर विद्वान काजी दावा साम्डुपज्यू भोटिया बोर्डिंग स्कूलका हेडमास्टर पदमा नियुक्त हुनुभो। जातका डुक्पा भए तापनि उहाँलाई टिबेटन भाषाको विलक्षण ज्ञान थियो। लब्धप्रतिष्ठित तिब्बत पर्यटक राय बहादुर शरच्चन्द्रदास, सी. आई. ई. - का सहयोगले अमूल्य "अंग्रेजी - टिबेटन कोश" पनि  उहाँले अथक परिश्रम गरी बनाउनुभो। स्थानीय पोलिटिकल अफिसर आदि अनेकौं नामी अंग्रेजहरू टिबेटन भाषा सिक्न उहाँका चेला बन्न आउँथे।

उहाँका सहायक शिक्षकहरू सर्वश्री ग्यालछेन छिरिंग, दोर्जी वांगदी, चेलनाम छिरिंग, लामा ढोण्डुप, छिरिंग ढोण्डुप, हर्कध्वज राई, फुर्बा वांगदी इत्यादि हुनुहुन्थ्यो। शुरूमा 20/25 जनामात्र विद्यार्थी थिए। पछि प्रधान अध्यापकको सुख्याति देशव्यापी फैलिंदा छात्र संख्या बढ़ेर धेरै भएको थियो।

तीक्ष्ण मेधासम्पन्न स्वर्गीय महाराजकुमार शिट्क्योंग टुल्कुले तथा सद्य दिवंगत सर्वश्री महाराजा सर टाशी नामग्याल, के. सी. आई ई., के. सी. एस. आई. धरि छात्र बनिदिएर यस स्कूललाई गौरवान्वित पारिबक्सिएको थियो। जसरी नेपालबाट सर्वप्रथम बिलायतको सफरमा जाने श्रेय महाराजा चन्द्रशमसेरलाई छ, त्यसरी नै सुक्खिमबाट बिलायत जाने अग्रणी पुरुष महाराजकुमार शिट्क्योंग टुल्कु नै होइबक्सिन्छ (1907 - 1908)।

पानसको मन्तिर अन्धकार रहे तापनि प्रदीपको उज्जवल प्रकाश दूर दूरसम्म पुग्दछ भन्ने बात स्वयंसिद्ध छ। तदरूप हाम्रा प्रसिद्ध काजी दावा साम्डुपको गुण यस देशका अधिकारीवर्गले कदर गर्न नजाने तापनि उहाँको सुख्याति देश - देशान्तरव्यापी फैलिँदैगो। जौहरीले हीराको मोल बुझेझैं कलकत्ता विश्वविद्यालयले उहाँको गुणको कदर गरी उहाँलाई 1919 सालमा टिबेटनको लेक्चरर पदमा सादर अभ्यर्थना गरेर लगे। सुक्खिमलाई तिमिराच्छन्न विशेषत: स्कूललाई सद्दे अनाथ पारी सदाको लागि उहांले गान्तोकबाट प्रस्थान गर्नुभयो। सेकेण्ड मास्टर बाबु दोर्जी वांगदीको निरीक्षणमा येनतेन प्रकारेण स्कूल सन् 1924 सम्म चलिरह्यो। अन्त्यमा 1925 सालको प्रारम्भमा यो स्कूल "नेपाली बोर्डिंग स्कूल" साथै " सर टाशी नामग्याल बोर्डिंग स्कूल" - सँग विलीन भयो।

 माथि उल्लेख गरेअनुसार 1902 सालमा नेपाली बोर्डिंग स्कूल प्रथम स्थापित हुँदा श्री हर्कध्वज प्रधान हेडमास्टर हुनुहुन्थ्यो। दीगो गरिबस्ने योग्य प्रधान अध्यापकको अभावले स्कूल सुचारू रूपले चल्न सकेको थिएन। सुयोग पर्नासाथ अन्यत्र फालहाल्ने खुट्किलोस्वरूप गरेर भए तापनि सर्वश्री बुद्धिमान प्रधान, ऐतसिंह, हर्षलाल दीक्षित, भीमबहादुर प्रधान (राय साहेब), काजी सोनाम तोपदेन (राय बहादुर) इत्यादि महोदयहरूले अस्थायी हेडमास्टर बनिदिएर यो स्कूलको सञ्चालनमा अपूर्व सहायता गर्नुभएको थियो।

त्यस समयमा सारा सुक्खिममा विश्वविद्यालयको शिक्षा प्राप्त गर्ने स्थानीय सज्जन दुष्प्राप्य हुनाले विज्ञापनको माध्यमले 1920 सालको प्रारम्भमा खर्सांगबाट लेखकलाई विशेष प्रोमोशन देखाएर हेडमास्टर पदमा झिकाउन बाहेक सुक्खिम सरकारले गत्यान्तर देखेन। अयाचित प्रशंसापत्रहरूका निम्न उद्धरणहरूबाट शिक्षित मानिस तदानीम् कतिका दुर्लभ थिए, त्यो स्पष्ट झल्कन्छ। स्वर्गीय बी. के. प्रधान, सिक्किम स्टेट काउन्सिलर तथा जमान्दार ता0 24.03.1922 - मा लेख्नुहुन्छ - "I find no man in Sikkim more qualified than Mr. R.P. Alley in Education among the hillmen." ता0 23 मई, 1922 सालमा तदानीन्तन जुडिसियल सेक्रेटरी उन्नतमना श्री कुमार डब्ल्यू0 पोल्देन, जसद्वारा शिक्षा विभाग पनि सञ्चालित भऐ रहेको थियो, उहाँले लेखकको विषयमा भन्नुहुन्छ - "I have found in him the best Headmaster we have had for several years. The school has improved wonderfully since he took charge of it." आत्मश्लाघाको दोष नछोए यहाँ यति भन्न सकिन्छ, लेखकको नेतृत्वमा चल्न थालेको नेपाली बोर्डिंग स्कूल सर्वप्रिय हुंदैगयो। राष्ट्रभरको गण्यमान्य काजी जमिन्दार सम्पूर्णले आफ्ना सन्तानको भविष्य सुधार्नलाई किञ्चित् द्विधाबोध नगरी सहर्ष आफ्ना नानीहरू नेपाली स्कूलमा भर्ना गरिदिएर निश्चिन्त भएर रहनथाले। भोटिया स्कूल रित्तिन थाल्यो। विद्यार्थी संख्या घटेर 40/50 पुग्यो। पक्षान्तरमा नेपाली स्कूलका छात्र बढ़ेर डेढ सयभन्दा अधिक भए।

अंग्रेज सरकारको कुटिल भेदनीति अपनाएर सानो गान्तोक शहरमा पनि जातीय भेदभाव स्पष्टै झल्काएर वर्गीय स्तरमा पवित्र जन - शिक्षा विभागलाई पनि कलुषित पार्दै समकक्षका भोटिया बोर्डिंग र नेपाली बोर्डिंग स्कूल खोलेकोले राष्ट्रिय एकतामा ठूलो विघ्न पर्ने शंकाले तथा आर्थिक दृष्टिकोणले हेर्दा पनि एकै स्तरका दुइ भिन्न स्कूलका सञ्चालनमा लागेका खर्चले एक हाई स्कूल चलाउन सकिने सम्भावना हुँदा हेडमास्टरले दिनुपर्ने वार्षिक रिपोर्टहरूमा मैले (लेखकले) यी दुइ स्कूल मिलाएर एक हाई स्कूल बनाउने सत् परामर्श अधिकारीलाई निरन्तर पर्सनल एसिस्टेन्ट मिस्टर एफ. पी.  बाक्यर एक पाका बहुदर्शी सज्जन हुनाले लेखकसंग व्यक्तिगत आलोचना गरी उत्थापित प्रस्ताव अनुमोदन गरेर नेपाली तथा भोटिया बोर्डिंग स्कूलहरू मिलाएर प्राय: दुइ सय विद्यार्थीले "सर टाशी नामग्याल हाई स्कूल" उदघाटन गर्ने सिद्धान्तमा उपनीत हुनुभो। त्यसबेला शिक्षा विभागमा वार्षिक प्राय: नौ हजार रुपैया मात्र खर्च हुन्थ्यो। अब भावी स्कूलको लागि उपयुक्त घर तथा शिक्षकवर्गको प्रबन्ध मिलाउने जटिल समस्या आइपऱ्यो। गान्तोकस्थित भारतका सैन्य ग्यान्सी (तिब्बत) - मा अपसारित गरिएका हुनाले यहाँ पल्टन बस्ने ब्यारेकहरू अव्यवहृ. भऐरहेका थिए। ती घरहरू बाह्र हजार रुपैयामा सुक्खिम दरबारले किन्ने बन्दोबस्त भयो। पछि हालको पोष्ट आफिस मास्तिर भएको "मेस घर" तथा स्कूल मनिको एसिस्टेन्ट पोलिटिकल अपिसरहरू बस्ने गरेको कोठी भारत सरकारलाई नै प्रयोजन हुँदा साँड़े तीन हजार रुपैया घटाएर सौदा चुक्त्तभो। मूल सेना निवास ढुंगाका दुइ ठूला तले घरले बनिएको थियो। एउटालाई छात्रावासमा परिणत गरियो औ दोस्रोलाई कोठा कोठामा बाग गरेर विद्यार्थी पढाउने कमरायोग्य बनाइयो। यी जम्मै कामको भार लेखकमै व्यस्त हुनाले दिउँसो पढाउँदै बिहान बेलुकी दुइ पटक पी. डब्ल्यू.डी. - का कर्मचारीहरूलाई निर्देश दिँदै काम हेर्न माथि ब्यारेकमा आउनुपऱ्थ्यो। यथा समयमा ब्यारेक पाठसाला योग्य बनाइयो।

त्यसपछि रह्यो शिक्षकको बन्दोबस्त गर्ने दुरूह व्यापार। स्थानीय प्रभावशाली अभिजात सम्प्रदायमा अंग्रेज हेडमास्टर ल्याए आफ्ना वंशधरलाई शुद्ध उच्चारण, अंग्रेजी रहन - सहन, रीति - रिवाज जस्तै दिवा अथवा नैश भोजमा कस्ता पोशाकमा डटिनु पर्छ, टाई कसरी बाँध्नु पर्छ, काँटा - चम्चा कसरी चलाउनु पर्छ, बल डान्समा पाउ कसरी चाल्नु पर्छ, इत्यादि इत्यादि सिकाउने छन् भन्ने धारणा त्यस बेला बद्धमूल हुँदैगएको थियो र तदानीन पोलिटिकल अफिसर कर्नेल एफ. ए. बेइलीको सौजन्यले डब्लिन युनिभर्सिटीका जनैक स्नातक मिस्टर सी. ई. डाडलीलाई हेडमास्टर पदमा झिकाइयो। हिन्दुस्थानका स्कूलहरू चलाइने प्रणालीका अनभिज्ञ हुनाले कतिपय यहाँ अप्रचलित तथा असंगत पद्धति प्रवर्त्तन गर्दा शिक्षकमण्डलीमा अशान्ति तथा गण्डगोल मच्चियो। अत: स्कूल परिचालन कार्यमा लेखकको परामर्श उपेक्षा गर्न नसकिने ठहरियो। पछि यहाँसम्म भयो - एसिस्टेन्ट हेडमास्टर नै स्कूलका सर्वेसर्वा हुन् भन्ने अवधारणा समेत मानिसमा पैदा हुनगयो। कालक्रममा सबैका सहयोगले स्कूल सन्तोषजनक रूपले चल्न थाल्यो। चार वर्षसम्म नवम् औ दशम् श्रेणीका पाठ्यपुस्तकहरू दार्जीलिंग हाई स्कूलमा पढेर यहाँका विद्यार्थीहरूले म्याट्रिक परीक्षा दिन थाले।

1928 सालतिर बंगाल प्रदेशका डी.पी.आई. (मि.बटम्ली) - लाई स्कूल परिदर्शन गरिदिने अनुरोध गरियो औ उहाँ गान्तोक आएर शिक्षकवर्गका लागि प्रोभिडेन्ट फण्ड खोलिदिने अनिवार्य सर्त पूरा भएपछि कलकत्ता विश्वविद्यालयले स्कूललाई स्वीकृति दिने सुपारिस गरिदिनुभयो। 1929 सालमा शिक्षकका तलबको रुपैयामा दुइ पैसा दरबारले थपिदिएर प्रोभिडेन्ट फण्ड खोलेपछि युनिभर्सिटीद्वारा स्कूल स्वीकृत भयो। अब छात्रहरूलाई म्याट्रिक पढ्न दार्जीलिंग पठाउने काम हरायो। यहाँ परीक्षाको केन्द्र नखोलिएसम्म केवल अन्तिम परीक्षा दिने विद्यार्थीहरूलाई दार्जीलिंग पठाउनु पऱ्थ्यो। परीक्षाफल अत्यन्त प्रशंसनीय हुन्थे। कोही वर्ष ता साराका सारा परीक्षार्थी प्रथम विभागमा उत्तीर्ण हुन्थे। दार्जीलिंग हाई स्कूलका वर्तमान उप - प्रधान शिक्षक श्री एस. लामाले ता विशेष सम्मान चिह्न सहित म्याट्रिक पास गरिदिएर पछिपरेकी सुक्खिम माताको मुख प्रोज्जवल पारिदिएका थिए।

'सेक्रेटीश! सेक्रेटीश! सेक्रेटीश!" दिनरात यो नाम सुन्दा वाक्क लागिसक्यो भनेर सुप्रसिद्ध ग्रीक दार्शनिक सक्रेटीशलाई विष पान गर्न लगाई मारे झैं मि. डाडली महाराजा साहेबका स्नेहभाजन भएर उहाँलाई जेनेरल सेकेरेटरीको थप काम समेत अर्पित हुँदा तथा अन्यान्य कतिपय कारणले क्षमताका लोलुप परश्रीकातर स्थानीय अधिकारीवर्गले उनीप्रति विद्वेषभाव पोषण गर्न थाले। सेक्रेटेरियटका अफिसरहरू राष्ट्रपिताका निकटतम संस्पर्शमा रहनाले राजकाजमा उहाँहरूको ठूलो हात हुनु स्वाभाविकै हो। जघन्य कूटनीतिमा अनभिज्ञ शिक्षकले यस्ता परिस्थितिमा पश्चाद्पद हुनु कुनै अलौकिक घटना थिएन। हेडमास्टर साथै अन्य कतिपय शिक्षक पनि आग्नेय - गिरिका थाप्लीमा बसेझैं हुनगए। फलत: विगत विश्वव्यापी महायुद्धमा मि. डाडली तथा अरू केही अनुभवी शिक्षकले सैन्यमा योगदान गरे। अन्य कोही प्रवीण शिक्षकलाई स्थानान्तरित गर्नाले स्कूलको अपरिमित क्षति भयो। पछि स्कूलमा प्रशस्त खर्च गरी निकै भव्य अट्टालिका निर्माण भएपछि स्कूलको बाह्यिक रमक - झमक धेरै बढेको छ।

प्रौढ अवस्थामा पुग्नलाई बयालिस वर्षको उमेरैमा सर टाशी नामग्याल हाई स्कूलले 1966 सालको प्रारम्भमा दुइ खण्डमा विभक्त हुनुपऱ्यो। मुख्य अंगको निमित्त गृहहरू निर्माण गरी " टी.एन. हायर सेकेन्डरी स्कूल" नाम राखेर यसलाई गान्तोकै पायोनियर रिजार्भमा सारिएको छ। बाँकी अंगले "टी.एन. एकाडेमी" नाम धारण गरी पब्लिक स्कूलको ढाँचामा ढालिएर शहरको माझमा आफ्नो पुरानै ठाउँका सुरम्य हर्म्यहरू ओगटेर डटी बसेको छ; यद्यपि हाम्रा प्रतिवेशी दार्जीलिंग जिल्ला तथा अन्यान्य ठाउँका पब्लिक स्कूलहरूले नगरदेखि निकै टाढाका शान्त वातावरणमा रहन अधिकतर रुचाउँछन्।

राष्ट्रको जुन सर्वप्रथम हाई स्कूल निर्माण पसिनाका अजस्रधारा बहाएर तथा जसको सेवा प्राय: तीस वर्ष निष्कपट भावले गरियो औ जुन पाठसालाको स्थापन तथा उदघाटन हाम्रा सर्वप्रिय स्वर्गीय महाराजा साहेबक पवित्र बाहुलीबाट भएको थियो औ जसको कण - कणमा दिवंगत पुण्यात्माको पावन पदरेणु मिसिएर रहेका छन्, त्यस विद्यापीठले भेल्कीवालाका भेल्कीमा परेर क्रीडा पुत्तिलिका उलटपुलट नाचे झैं भएर अवशेषमा निर्वासित समेत भएको देख्ता दुर्बल हृदय भक्तको मन खिन्न हुनु स्वाभाविकै हो। परन्तु अवतार फेरेकोमा ठूलो सन्तोष छ। सन्ध्या तारा फटाकफुटुक गरी क्रमान्वय उदाउँदै जानाले आकाश जाज्वल्यमान भै तिमिराच्छन्न रजनीमा प्रकाश हाले झैं हामी प्रिय मातृभूमिमा पनि एक दुइ गर्दै स्कूल कलेज खोलिएर देशका कुना - काप्चासम्मको अज्ञानान्धकार दूर भै ज्ञानको दिव्यज्योति अनति विलम्ब चारैतिर झिलमिलावस् भन्ने क्षुद्र लेखकको एकान्त प्रार्थना छ।

निर्मल उच्चतम ज्ञान प्रदान गर्ने कलेज विश्वविद्यालय प्रगति निर्माण कार्यलाई अग्रगम्यता नदिएर दाम्भिक फतुरा साहेब (snobs) पैदा गर्ने कारखाना हो भनी कहलाइने बहुव्यग्र सापेक्ष पब्लिक स्कूल अहिले नै खोल्नाले सुक्खिमवासी अकिञ्चन जनसाधारणको कल्याण साधनमा कहाँसम्म कार्यकारी हुने हो, त्यो भविष्यको निबिड़ अन्धकार गर्भमा निहित रहेको छ। पर्याप्त उच्चशिक्षा प्राप्त गर्ने ज्ञानी पुरुषले मात्र अर्धशिक्षितको उच्छृँखलतालाई नियन्त्रण गर्न सक्तछन्। अल्पविद्या भयङ्करी हुनाले अर्धशिक्षितका संख्या बढ्न साथै देशमा बेकार समस्या जटिलतर हुँदै जान्छ औ त्यसको दुष्परिणामस्वरूप नाना प्रकारका अशान्ति र उपद्रवादि चारैतिर फैलिन्छन्। सौभाग्यले यी महाब्याधिदेखि आजपर्यन्त हाम्रो यो हिमाली छायाँ, गौरीको माया पाएको रमणीय स्वाधीन देश मुक्त छ। (सुनाखरी, 1967, सिक्किम साहित्यकार सम्पर्क समिति,सिक्किम - बाट साभार) अप्रिल 2011

विख्यात हारमोनियम वादक - श्यामलाल क्षेत्री

उदय ठाकुर

हारमोनियम 19औं शताब्दीको अन्तमा सङ्गीतज्ञहरू अनि धार्मिक मिशनरी अथवा पश्चिमी व्यापारीहरूद्वारा भारतमा ल्याइएको वाद्य हो। मेसर्स द्वारिका एन्ड सन्स्, कलकत्ताका द्वारिकानाथ घोषले वर्ष 1887 मा यस वाद्यलाई भारतीय सङ्गीतज्ञहरूका आवश्यकताअनुसार यस वाद्यको पुनर्निर्माण गरे। वर्ष 1910 मा यस वाद्यलाई भारतका दूरस्थ स्थानहरूमा प्रवेश गराइयो। आजभोलि हारमोनियमले सङ्गीतका सबै विधाहरूमा - फोक, सुगम, उपशास्त्रीय वा उच्चस्तरीय शास्त्रीय सङ्गीतसम्ममा आफ्नो स्थान बनाएको छ। हारमोनियमको सर्वप्रथम उल्लेख कृष्णधन वन्द्योपाध्यायको वर्ष 1985 मा प्रकाशित पुस्तक 'गीतासूत्र - सार' - मा भएको छ। हारमोनियम मात्र एउटा यस्तो वाद्य हो, जसले अद्यतन रूपान्तरमा स्वरसम्बन्धी श्रेष्ठतालाई पूर्ण रूपमा प्रस्तुत गर्ने क्षमता छ।

वर्ष 1918 को कुरा हो, गणपतरावका शिष्य श्यामलाल क्षेत्रीको नाम विख्यात हारमोनियम वादकको नामले प्रसिद्ध थियो। उनी विख्यात सङ्गीतज्ञ उस्ताद अल्लाउद्दीन खाँ अनि नेपालको ओखलढुङ्गाको लामिछाने गुरुङ परिवारकी सङ्गीतकी उपासिकी मेलवादेवीका समकालीन थिए। उनी त्यस बेला दिग्गज सङ्गीतज्ञ बीनकर लक्ष्मीप्रसाद, करामतुल्ला सरोदिया, इमदाद खां, विश्वनाथ राव, दानी बाबू, राधिका गोसाईं अनि रोशनआरासित आफ्नो कलाको प्रदर्शन गर्दथे। श्यामलाल क्षेत्रीको बारेमा मशहूर थियो कि जब तिनी हारमोनियम वादन गर्थे, सङ्गीतप्रेमीहरू तिनको प्रतिभालाई देखेर छक्क पर्थे। तिनी आफ्नो वादक चापल्यमा श्रोताहरूलाई मींड, खटका, मुर्कीको आभास गराइदिन्थे। सुर रसिक अनि सुरवादक तिनको यस प्रतिभाको मुग्ध - कण्ठले प्रशंसा गर्थे।

विख्यात सङ्गीतज्ञ उस्ताद अल्लाउद्दीन खाँ शिष्य अनि निजी सचिव पण्डित ज्योतिन भट्टाचार्यले आफ्नो पुस्तक Ustad Allauddin Khan and His Music अनि बङ्गला भाषाको पुस्तक 'उस्ताद अल्लाउद्दीन खाँ औ आमरा' - मा विशेष रूपले चर्चा गरेका छन् कि कलकत्तामा गणपतरावका शिष्य श्यामलाल क्षेत्रीले नै मलाई मैहर जाने अनुरोध गरेको थिए। मैहर मध्यप्रदेशको एउटा सानो रियासत थियो जसका राजा ब्रिजनाथ सिंह श्यामलाल क्षेत्रीका घनिष्ठ मित्र अनि सङ्गीतप्रेमी थिए। श्यामलाल क्षेत्रीको आग्रहमा नै तिनी मैहर गए। स्मरण रहोस्, उस्ताद अल्लाउद्दीन खाँ जीवनपर्यन्त मैहरमा ना रहेर सङ्गीत साधनामा रत रहे।

अफशोचको कुरा के छ भने हामीलाई विख्यात सङ्गीतज्ञ श्यामलाल क्षेत्रीको बारेमा धेरै जानकारी छैन। (दिसम्बर 2010)

बालेन्दु शर्मा दाधीच

सामान्य कम्प्यूटर उपभोक्ताहरूलाई यस कुराको अनुभूति नभए पनि ग्लोबल वार्मिङको समस्यामा उनीहरूले पनि केही न केही योगदान दिइरहेका छन्। तर कसरी?

सामान्य वेबसाइटलाई सर्च गर्दा प्रति सेकेन्ड 20 मिलीग्राम कार्बन डाइअक्साइड उत्सर्जन हुन्छ। जटिल वैबसाइटहरू भिडियो एनीमेशन, एप्लिकोशन आदिमा यो प्रति सेकेन्ड 300 मिलीग्रामसम्म पुग्छ।

गूगलमा गरिने जटिल सर्चले (डा. एलेक्स विजरनर ग्रासअनुसार) लगभग सात ग्राम कार्बन डाइअक्साइड पैदा गर्दछ।

तपाईंको सुस्त कम्प्यूटरले चालू स्थितिमा प्रति घन्टा 40 देखि 80 ग्रामसम्म कार्बन डाइअक्साइड पैदा गर्छ।

'बिग स्विच' का लेखक निकोलस कारअनुसार सेकेन्ट लाइफजस्तो वर्चुअल रियालिटी गेम वेबसाइटमा तपाईंको स्वरूप (ग्राफिक प्रतिरूप) अवस्थित छ भने त्यसबाट वर्षेनी करीब 1752 किलोवाट घन्टा बिजुली खर्च भइरहेको छ।

अन स्थितिमा तपाईंको कम्प्यूटरले करिब 175 वाट बिजुली खर्च गर्दछ। अन तर निष्क्रिय स्थितिमा तपाईंको कम्प्यूटरमा 60 देखि 250 वाट बिजुली खर्च हुँदछ, त्यै पनि मनिटरको स्विच बन्द छ भने।

यदि तपाईंहरू कम्प्यूटर एवं अन्टरनेटको माध्यमबाट पर्यावरणलाई हुने क्षतिलाई सीमित पार्न चाहनुहुन्छ भने निम्न उपायहरू अपनाउनुहोस् -

 - बीस मिनटभन्दा अदिक कम्प्यूटर प्रयोग गर्नु आवश्यक छैन भने तपाईंले मनिटर बन्द गरिदिनुहोस्। रङ्ग - बिरङ्गी स्क्रिन सेवरबाट बिजुलीको बचत हुँदैन, जबकि कैयौं अवसरहरूमा त यो अझ बढेर जान्छ।

 - यदि दुइ घन्टा वा अधिक समयका लागि कम्प्यूटरबाट टाढा बस्न चाहनुहुन्छ भने मनिटर, सीपीयू एवं ब्राडबैंड कनेक्शन, प्रिन्टर स्कैनर आदि बन्द गर्नुहोस्। त्यसबाट बिजुली मात्र खर्च हुँदैन, वातावरणलाई पनि तातो बनाउँछ।

 - काम बाहेक अन्य समयमा ब्राडबैंड कनेक्शनलाई बन्द गर्नु नभुल्नुहोस्, कैयौंपल्ट तपाईंको अनभिज्ञताको कारणले कम्प्यूटरमा इन्टरनेटसँग सम्बन्धित प्रक्रियाहरू चलिरहन्छन् जसले ऊर्जा नष्ट बनाउनको साथै इन्टरनेट बिल पनि बढाउँछ।

- जुन वेबसाइटको स्क्रिन कालो वा गहिरो रङ्गको हुन्छ, त्यसलाई हेर्नका लागि पुरानो सीआऱटी मनिटरहरूमा अपेक्षाकृत बिजुली कम खर्च हुन्छ। यदि तपाईं गूगल सर्च गर्न चाहनुहुन्छ भने ब्लैकल, काम आदिको प्रयोग गर्न सक्नुहुन्छ जसमा परिणामस्वरूप गूगलका सर्वरहरूको माध्यमबाटै आउँछ तर कालो स्क्रिन भएको कारणले बिजुलीको खपत कम हुन्छ।

 - अनावश्यक रूपले वेबसाइटहरूलाई कुल्ला नछोड्नुहोस्, विशेष गरेर विडियो, अडियो, ग्राफिक्स वा एनिमेशन आधारित वेबसाइटहरूलाई।

 - यदि तपाईंको ब्राउजरमा होमपेडको रूपमा आठ - दस वेबसाइटहरू दर्ता छन् भने नेटबाट कनेक्ट हुनासाथ ती सबै एकै साथ खोलिन्छन्। यो सुविधाजनक भए पनि पर्यावरणअनुकूल भने छैन। यदि आवश्यक छैन भने एउटा मात्र पेजलाई तपाईंले होमपेजको रूपमा सेट गरेर राख्नुहोस्।

 - बिनाकारण डाउनलोडबाट बाँच्नुहोस् तथा डाउनलोड गरिने सामग्रीलाई सुव्यवस्थित फोल्डरहरूमा राख्नुहोस् ताकि कम्प्यूटरमा पहिलेबाटै सामग्रीलाई पटक - पटक डाउनलोड नगरियोस्। (पीआईबी) - (नोभेम्बर 2010)

वन्य जीवन सप्ताहको अवसरमा सिक्किमका मुख्यमन्त्रीको सन्देश

हाम्रो देश भारतको संविधानको धारा 51 ए (जी) - का अनुसार वनयप्राणी, पर्यावरण र सम्पूर्ण जीवाणुको संरक्षण गर्नु भारतीय नागरिकको नैतिक कर्तव्य हुन्छ। यसर्थ पर्यावरणको संरक्षण गर्ने विषयमा हामी सबै कानुनी तथा बौद्धिक रूपमा कटिवद्ध छौं, यसैले हामीले हाम्रा वन्यप्राणीको सामूहिक रूपमा, नि:स्वार्थ भएर समर्पित भई प्रेमपूर्वक एवं सहृदय संरक्षण गर्नुपर्दछ। महात्मा गान्धीको शान्ति एवं अहिंसाको ईश्वरीय आदर्शवाद र सिद्धान्तले वनयजीवनलाई सदैव समृद्ध प्रभाव पारिरहनेछ। यस धरतीमा विविध प्रजातिका स्तनपेयी पशु - पक्षी, पुतली, उभयचर र घस्रेर हिँड्ने जीव - जन्तु छन्। मानवप्राणी झैं पशुप्राणीलाई पनि यस धरतीमा समान रूपले जिउने अधिकार छ। यसकारण जीव जगतको संरक्षण गर्नु हाम्रो नैतिक कर्तव्य हुन्छ।

सिक्किम जीव विविधताको समृद्ध राज्यको रूपमा स्थापित छ। राज्य सरकारले विगत एक दशकदेखि गौचरण, वनयप्राणीको हत्यामाथि प्रतिबन्ध, हरित अभियान तथा स्मृतिवन साथै पृथ्वीका लागि 10 मिनटजस्ता विविध कार्यक्रमहरू प्रारम्भ गरेर पर्यावरण संरक्षणको दिशामा काम गर्दै आएको छ। राज्य सरकारले वन एवं पर्यावरण संरक्षण गर्ने दिशामा प्रभावकारी नीति अवलम्बन गरेको छ।

म यस 56 औं वन्यप्राणी सप्ताह 2010 का अवसरमा राज्यको प्रत्येक नागरिकले वन्यप्राणी एवं पर्यावरणको संरक्षण गर्ने दायित्व आफ्नो काँधमा लिने आह्वान गर्दछु। राज्यका समस्त स्कूल, समुदाय, ग्रामीण तथा शहरी निकायका प्रतिनिधिहरूलगायत् सबै तहका नागरिकहरूले यस वन्यप्राणी सप्ताहमा सहभागी बनेर पर्यावरण एवं वन्य सम्पदाको संरक्षण गर्ने विषयमा सबैलाई जागरूक गराउँदै यसलाई भावी सन्तानका लागि सुरक्षित राख्नुपर्ने आह्वान गर्दछु।। (गान्धी जयन्ती 2010)

'गङ्गालालको चिता' र सुम्बुक

शैलेश प्रधान

मानपुर र रोलो खोलामा पानी कति बगिसक्यो। भविष्यमा पनि मानपुर र रोलो खोलाको पानी आफ्नो गतिमा सधैँ बगिरहनेछ। प्रकृतिको यो गतिलाई सधैँ बग्न दिनुपर्छ, नत्र यसमा गतिरोध आयो भने प्राकृतिक प्रकोप आएर सुम्बुकको सुन्दर र स्वच्छ पर्यावरणलाई तहस-नहस पार्छ।

सिक्किम राज्यको सानो, सुन्दर गाउँ सुम्बुक। सुम्बुकको अधिकांश क्षेत्र पानीको अभावले प्राय: खडेरीग्रस्त क्षेत्र हो। यहाँका रैथानेहरूले साह्रै परिश्रम गरेर विभिन्न प्रकारका साग-सब्जी, पुष्पखेती, अदुवा इत्यादि उत्पादन गर्ने प्रयास गरे तापनि परिश्रम गरेको जस्तो फसल उठाउन सक्दैनन् तर जे जस्तो भए तापनि  सुम्बुक भेकका बासिन्दा उज्याला छन्, स्वच्छ छन्, अर्काका कुरामा साह्रै विश्वास गर्छन्। सुम्बुकबाट रङ्गीत र टिस्टापारिको क्षेत्र नजिक परेकोले यहाँ र यहाँका बासिन्दाहरूको गहिरो आत्मीय सम्बन्ध छ, यो सम्बन्धले सुम्बुके समाजमा राजनैतिक, सामाजिक, शैक्षिक, सांस्कृतिक जनचेतना सिक्किमको अरू ठाउँ हेरी धेरै वर्ष अघाड़िदेखि नै आएको हो। सुम्बुकमा राजनैतिक - चेतनाको क्रमबद्ध रूपमा विकास भएर आयो। धर्मको आधारमा समाजबाट कुसंस्कार हटाउने, छुवाछुतको प्रथा निर्मूल पार्ने जस्ता लक्ष्यहरू राखेर हिन्दु समाजबाट धार्मिक पन्थहरू खड़ा भए - मन्दिर र कुटीहरूको निर्माण भयो - समाजलाई, गाउँलाई सभ्य, शिक्षित र जागरूक बनाउन यो क्रियाकलापले सुम्बुके समाजमा राम्रो प्रभाव पऱ्यो। विस्तारै विस्तारै राजनैतिक चेतनाको विकास भयो, अन्याय र अत्याचारको मर्म बुझे। पुरानो चम्पा पुलको (यो पुल तरेर सुम्बुकबाट टिस्टा पुग्न थोरै समय लाग्थ्यो) घटनाले सुम्बुक क्षेत्रका गाउँलेमा एक प्रकारको अन्याय र अत्याचारको विरुद्ध अघि सर्ने मनोवृत्ति आइसकेको पुष्टि गर्छ। खाएर उब्रेको आफ्नो उब्जनीलाई पारिको बजारमा लगेर बिक्री गर्नु निषेध गरिएको थियो, कानूनलाई तोड़ेर चम्पा पुलको पुलिस बललाई नटेरी स्व. आनन्द राई (गाउँमा प्रचलित नाम सिपाही) - को नेतृत्वमा गएको अभियान दलले टिस्टा बजारमा लगेर मकै बेचेर बजारमा घरको सौदापात गरेर सकुशल घर फर्कन सकेको घटनाले सुम्बुके समाजमा गहिरो प्रभाव पाऱ्यो।

सुम्बुकका जनता-जनार्दन सधैं प्रजातन्त्रप्रेमी, प्रजातन्त्रका कट्टर पक्षधर, अलैंची, सुन्तला र धानका मालिक भए तापनि सुम्बुके जनताले मान्छेको जात मान्छे मात्र हो भनेर बुझेको छ, न्याय र अन्यायको अर्थ बुझेको छ. आत्मसम्मानको कदर गरेको छ। सिक्किममा भएको प्रत्येक जन-आन्दोलनमा सुम्बुकका जनताले उत्साहपूर्वक अंश ग्रहण गरेर राजनैतिक चेतनाको परिचय दिएका छन्।

सिक्किम भारतको एउटा राज्य भएपछि केही समयसम्म यहाँ संक्रान्तिकालको परिवेश थियो। सिक्किममा प्रजातन्त्रको साँचो अर्थ सविस्तार जनतामा पुऱ्याउने खाँचो थियो, यसै प्रसङ्गमा सन् 1976-77-तिर सुम्बुक निम्न माध्यमिक विद्यालयको प्राङ्गणमा (सुम्बुक माध्यमिक विद्यालयमा बढ़ोत्तरी 1984-को शैक्षिक सत्रमा भएको हो) एउटा प्रजातन्त्रमा आधारित नेपाली नाटक साहित्यको उच्चकोटिको नाटक मञ्चन गर्ने सल्लाह भयो। हुन त सुम्बुकमा 1984-तिर नै नृत्य साथै अरू सांस्कृतिक कार्यक्रमको आयोजन हुँदैआएको हो तर ती कार्यक्रमहरू विशेष हिन्दी गीत, हिन्दी फिल्महरूको प्रभाव परेकोले समाजमा उस्तो प्रभावकारी हुनसकेनन्।

स्व.हृदयचन्द्र सिंह प्रधानको नाटक 'गङ्गालालको चिता'-लाई मञ्चित गर्ने निधो भयो। सुम्बुक निम्न माध्यमिक विद्यालयमा तिनताक नेपाली साहित्यका विशिष्ट लेखक एवं बुद्धिजीवी नन्दकिशोर प्रसाईं र च्याखुङ - सुम्बुक निवासी युवा कलाकार टी.बी. राईजस्ता शिक्षकहरू थिए। सामाजिक जागरणमा गाउँको उन्न्तिमा सधैं हौसला र जोश दिने सु.नि.मा..वि.- का तत्कालीन प्रधान अध्यापक स्व. एस.एम. लामा थिए। यो पङ्क्तिकार ग्राम पञ्चायत र सुम्बुक स्कूल प्रबन्धन समितिको सभापति भएको नातामा सबैको सल्लाह, परिश्रम, जाँगर लगाएर 'गङगालालको चिता' -मा मञ्चन गर्ने निधो भएको सन्दर्भमा नाटकका निर्माता नन्दकिशोर प्रसाईं, निर्देशकमा टी.बी.राई (निर्देशक टी.बी. राईले सङ्गीत, नृत्य, ध्वनि, मञ्चको अतिरिक्त अभिभारा पनि वहन गरेका थिए) एवं यो पङ्क्तिकार, स्व. एस.एम. लामा, आर.बी. राई, स्व. आनन्द राई सल्लाहकारमा समावेश भएर 'गङ्गालालको चिता' प्रस्तुत गरियो। यो बृहत कार्यक्रममा मुख्य सहयोगीहरूमा वीरबहादुर दर्नाल (गाउँमा प्रचलित नाम प्रताप), चक्रबहादुर गौतम, स्व. धनबहादुर राई उर्फ सुम्तेल साधु, स्व. लालबहादुर राई उर्फ हरि केशव, शेरबहादुर राई उर्फ घुमाउने कान्छाहरूका नाम उल्लेखयोग्य थिए।

'गङ्गालालको चिता' नेपाली नाटक साहित्यको एउटा अमूल्य कृति हो। नेपालको राणा शासनको एकतन्त्री निरंकुशवादी व्यवस्थालाई ध्वस्त गराएर नेपालमा प्रजातन्त्र स्थापना गराउने संघर्षको एउटा दिउँदो चित्रण स्वय हृदयचन्द्र सिंह प्रधानले 'गङ्गालालको चिता' नाटकबाट उतारेका छन्। यो प्रजातान्त्रिक आन्दोलनमा कैंयन् नेताहरू मारिए, अपाङ्ग बनाइए, कति कालकोठरीमा थुनुवा परे, कतिको सर्वस्व जफत भयो, छोरी-चेलीको सतीत्व लुटियो - यस्तो करुण घटनाको कथा लामो छ, इतिहासका पृष्ठहरूमा बिर्सन नसकिने घटनाक्रमको विस्तृत विवरण समावेश छ। नेपालको प्रजातान्त्रिक आन्दोलन घात-प्रतिघात, शान्ति-अशान्ति, रगत र बलिदानको मिश्रित संघर्ष थियो। कुनै नकुनै उपायले राणा शासनको अन्त्य गराएर प्रजातन्त्र ल्याउने संकल्पमा नेपाल माटोमा भूमिपुत्र युवाहरूले जनक्रान्तिको नेतृत्व गरे। विभिन्न काण्डमा सामेल भएको अभियोग लगाएर ती नेताहरू पक्रा परे, नेताहरूको पक्राउमा कतिले पैसाको लोभमा फँसेर राणा शासनलाई षडयन्त्रको पूर्व सूचना दिएका घटनाहरूले मान्छेको शत्रु नजिकको, छिमेकको र नाता पर्नेहरू हुन्छन् भन्ने भनाइ सत्य साबित भएको थियो। शुक्रराज शास्त्री, धर्मभक्त, गङगालाल र दशरथचन्द्र साथै अरू क्रान्तिकारी नेताहरू वीर गणेशमान सिंह, टङ्कप्रसाद आचार्यहरूलाई राज मुकुट विरुद्धमा षडयन्त्र रचेको महाअभियोग लगाएर पक्राउ गरियो र नाम मात्रको छानबीन गरेको स्वाङ गरेर शुक्रराज, धर्मभक्त, गङगालाल र दशरथचन्द्र चारजनालाई मृत्युदण्ड र अरू नेताहरूको सर्वस्व जफत गरी आजीवन कारावासको सजाय दिइएको कुरा प्रजातान्त्रिक आन्दोलनलाई अघि बढ्न थप ऊर्जा प्राप्त भयो। 'गङ्गालालको चिता'-को प्रमुख पात्र गङ्गालाल जसलाई राणा शासकहरूले डर, धप्की, शारीरिक, मानसिक याचना दिएर फेरि पैसा र सम्पत्तिको लोभ इत्यादि देखाएर माफी माग्न वाध्य गराउने अभिप्रायमा गङ्गालालले नेताको साँचो चिनारी, देश र माटोको माया, अत्याचारमा पिल्सिएका जनताको पक्षमा सबै कष्ट, यातना हाँसी-हाँसी स्वीकार मात्र गरेनन् तर आफ्नो बलिदानले आफ्नो रगतले एक दिन निश्चय पनि नेपालमा दर्जनौं गङगालालहरूले जन्म लिएर प्रजातन्त्र आउनेछ, यो विश्वास राखेर फाँसीमा चढ़ेर नेपाल आमाको काखमा आफ्नो जीवन बलिदान दिए। नाटकमा विभिन्न करुण दृश्यहरू, युद्धका भीषण दृश्यहरू, गङ्गालालको परिवारको मार्मिक चित्रण, गङ्गालालको दर्शकलाई गहिरोभन्दा गहिरो असर पारेको थियो। यस्तो ऐतिहासिक नाटकका सम्पूर्ण कलाकारहरू सु.नि.मा.वि.-का छात्र-छात्राहरूले मात्र अंशग्रहण गर्न लगाएर निर्माता नन्दकिशोर प्रसाईं र निर्देशक टी.बी. राईले एउटा नौलो उदाहरण समाजअघि देखाइदिनुभयो। राम्रो विचार, स्वस्थ सुझाउ, आत्मीय र स्नेही सम्बन्धले कुनै पनि गाउंको कुनै पनि व्यक्तिले जस्तै कठिन अभिनय पनि सफलतापूर्वक गर्न सक्षम हुन्छ। हामीले जस्तै ठूलो नाटक, संगीत, संस्कृति विषयका कार्यक्रमहरू आयोजना गर्दा, हाम्रै गाउंका स्थानीय कलाकार, गायक-गायिका, संगीतमा राम्रो ज्ञान भएकाहरूलाई मञ्चमा ल्याएर उनीहरूमा लुकेर बसेको कलालाई फस्टाउने र प्रकाशमा ल्याउने अठोट गर्नुपर्छ। आफ्नै घर-आंगनका कलाकारहरूले प्रस्तुत गरेका कार्यक्रमहरू गाउंको जनताले आफ्नै कार्यक्रमजस्तो अनुभव गर्छन् - त्यहां गाउँको आफ्नै पर्न आउंछ, नन्दकिशोर प्रसाईं र टी.बी. राई सुम्बुकका स्थानीय बासिन्दा नभए पनि सुम्बुके विद्यार्थी कलाकारहरूलाई 'गङ्गालालको चिता' जस्तो बहुआयामिक नाटकमा चाहिँदो अभिनयको प्रशिक्षण दिएर सफलतापूर्वक अंशग्रहण गर्न लगाएर आत्मीयता एवं गाउँको विकासमा ठूलो योगदान हो। जुन समयमा 'गङगालालको चिता' मञ्चित गरियो त्यो बेला धेरै कुराको, जस्तै - यातायात, सञ्चार, विद्युत प्रणाली इत्यादिको कमी हुँदा-हुँदै पनि यस्तो बृहत् काम सबैको सहयोग र सल्लाहले चाहेको जस्तो प्रकारले सफल भयो।

'गङ्गालालको चिता' नाटक सुम्बुकमा मञ्चित गर्नु अर्को तात्पर्य के थियो भने प्रजातन्त्र आफै कुदेर आउँदैन - साँचो प्रजातन्त्र ल्याउनु सजिलो छैन - साँचो प्रजातन्त्र ल्याउनु हो भने कवि भूपी शेरचनका शब्दमा -

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए,

बन्दैन मुलुक दुइ-चार सपूत मरेर नगए।

उपर्युक्त उदगारलाई व्यवहारमा ल्याउन खाँचो पर्छ। सिक्किमको एउटा सुन्दर गाउँ सुम्बुक र अन्य छिमेकी गाउँमा साँचो प्रजातन्त्र ल्याउन नेताले आफ्नो परिवार, धन-सम्पत्ति, सबै सबै बिर्सेर षड्यन्त्र, अत्याचार, दमन, यातना सहेर अन्त्यमा देशका लागि, जनताका लागि र प्रजातन्त्रका लागि आफ्नो जीवनको बलिदान दिनुपर्छ भन्ने राजनैतिक मार्गदर्शन प्रस्तुत गरेर ग्रामीण जनतामाझ राजनैतिक चेतना जगाउनु थियो। सुम्बुकमा 'गङगालालको चिता' नाटक प्रस्तुत भएपछि विभिन्न तहमा बेग्ला-बेग्लै रूपमा टीका-टिप्पणी, क्रिया-प्रतिक्रिया देखापऱ्यो। कहाँसम्म भने भारत सरकारको एसआईबी-का अधिकारीहरू पनि यो नाटकको खोजखबर सङ्ग्रह गर्न सुम्बुक गाउँमा पसेका थिए।

'गङ्गालालको चिता' नाटक सुम्बुकमा मञ्चन गरिएको लगभग 30 वर्ष नाघिसक्यो, समयले धेरै कोल्टे फेरिसक्यो, थरी थरीका राजनैतिक, सामाजिक परिवर्तनहरू देखा परे। सरकारी भौतिक पूर्वाधारहरूले सुम्बुकको अनुहार फेरिएको छ तर यति परिवर्तन हुँदा-हुँदै पनि गाउँको, समाजको लागि साझा उन्न्ति र गाउँको चाहिँदो समस्या सुल्झाउन एकजुट भएर अघि आउने आंट र जाँगरको कमी आयो। गाउँको सानो समस्या पनि सरकारद्वारा सरकारी कोषबाट नै समाधान हुनुपर्छ भन्ने मऱ्च्याँसे मानसिकता देखा पऱ्यो। सामाजिक परिवर्तन आए तापनि कायर मनोवृत्ति अझ घएको छैन, चाकरी गरेर व्यक्तिगत फाइदा लिने लाल फेटे बानी गएको छैन।

सुम्बुकमा आजसम्म अन्तरे साहेब - अन्तरी मेम साहेब भन्ने दास मनोवृत्ति गएको छैन अनि सुम्बुकबाट राजधानी गान्तोकमा रोजी रोटीको समस्याले पलायन हुन कर लाग्ने जनता कहिल्यै कुनै राज्यस्तरीय संस्थाको अगुवा गर्न आँट र आत्मविश्वास नभएर कसैको नेतृत्वमा लाम लाग्नुपरेका निराशावादी दृश्यहरू खोज्नु धेरै समय खेरो फाल्नुपर्दैन। कसैले गाउँका लागि केही ठोस काम गर्ने सुझाउ राख्दा सधैँ नकारात्मक विचार राख्ने नेता र बुद्धिजीवीहरू गाउँमा हराएर गएका छैनन्।

तर यस्ता नकारात्मक र कमी-कम्जोरी प्रवृत्तिका साथमा राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक स्तरमा अघि बढ़ाएर एवं पर्यटन (ग्रामीण पर्यटन-धार्मिक पर्यटन) आधारित बृहत् एकाइहरू र उच्च शिक्षण एवं अत्याधुनिk स्वास्थ्य संस्थाहरू स्थापना गराएर सुम्बुक गाउँलाई बहुआयामिक स्तरमा विकास गर्ने र सुम्बुकलाई सिक्किम राज्यको नमूनाको रूपमा आदर्श गाउँ बनाउने उत्तरदायित्व अब स्थानीय शिक्षित-उच्चशिक्षित भाइ-बहिनीहरू, स्थानीय बुद्धिजीवी-चिन्तकको काँधमा आइपरेको छ। यस अभियानमा सबै पक्षबाट शंका-उपशंका, जात-थर र स्थानीय राजनीतिलाई पर राखेर अघि आए जनताको वेगलाई कुनै शक्तिले, कुनै विचारले रोक्न सक्दैन। तर चाहिन्छ आँट र आत्मविश्वास। आत्मविश्वासको सन्दर्भमा बैरागी काइँला (तिलविक्रम नेम्बाङ) लेख्छन् -

'आत्मविश्वास त्यो हिमालय हो, जहाँ ब्रह्माण्डका यावत दु:ख, कम्जोरी, असामर्थ्य र असाफल्य सधैँ नतमस्तक हुन्छन्।'

आजको बद्लिँदो विस्व उदारीकरणको समयमा आफ्नो विचार, आफ्ना योजनाहरू पनि उदार र पारदर्शी हुनुपर्छ नत्र हामीलाई सु.नि.मा.वि.-का पूर्व प्रधान अध्यापक स्व. एस.एम. लामाले भन्नुभए झैं हामीलाई समय र परिस्थितिले पछिबाट लात लाउँछ। लात खाँदा मात्र चेत आयो भने बेला र मौका बितिसकेको हुन्छ। सुम्बुकको विकास सुम्बुकका जनताले नै गर्नुपर्छ, सुम्बुकको विकास गर्न बाहिरबाट खेतालाहरू आउँदैनन्। पङ्क्तिकारको यो पक्षपाती दृष्टिकोण चाहिं होइन।

(मेरा दृष्टिकोणहरू - मेरा अवधारणाहरूबाट साभार, प्रथम संस्करण 2009)

पुस्तक चर्चा

अरण्य रोदन पढेपछि

 डा. घनश्याम नेपाल

स वर्ष मैले पढ्न भ्याएका राम्रा किताबहरूमध्ये दुइवटा उपन्यास पनि पर्दछन् - 'अलिखित''अरण्य रोदन'। (नामलाखि पनि अकै रहेछ) - अघिल्लो उपन्यास एकजना मानिएका लेखक ध्रुवचन्द्र गौतमले लेखेका हुन्, पछिल्लो सिक्किमवासी लेखक सुवास दीपकले। अघिल्लाको विशेषता स्वैरकल्पना र प्रतीकहरूको कलात्मक संघटनाबाट यथार्थको प्रतिभासमा बढी निहित छ भने पछिल्लो पूर्णत:  यथार्थवादी भएर सफल र पठनीय छ। यथार्थलाई विस्थापित तुल्याएर होइन, अपितु यथार्थलाई यथार्थकै रूपमा आँतदेखि चिनेर मूर्तता दिने प्रयास नै सुवास दीपकको उपन्यासकार खुसाएको छ। आफूले सामान्य जीवनमा देखेका - भोगेका जति मात्रै कुरा नढाँटी स्पष्टसित प्रस्तुत गरिदिँदा मात्र पनि कति महान कलाकृति, कति उत्कृष्ट साहित्य जन्मिन सक्तोरहेछ भन्ने हामीलाई यो 'अरण्य रोदन' - ले दिन्छ।

मानिस हिंडडुल गर्ने उद्भिद् हो। जङ्गल (अरण्य) अचर रूख-पातभन्दा चलायमान मानवतामा उद्भिदहरूको जङ्गल बढी विकट हुन्छ किनभने यसका बाक्लोपन र विकटता पनि चलायमान हुन्छन् - ख्याक् जस्तै - कुन बेला कुन घुम्तीमा कसलाई ड्याक्ने हो कसले भन्न सक्छ र! हो यस्तै जङ्गलभित्र विचल्नी परेर रोई-कराई रहेको निरीह एउटै शिशुवत सरल प्राणी - उपन्यासकार सुवास दीपक। एउटा सङ्लो वेतनजीवी शिक्षकले आफ्नो जीवनका एघारवटा वैंशालु वर्षहरू सुम्पेर (द्रष्टव्य पृ0 94) किनेका अनुभूति, हिक्का र चिमोटाइहरू नै यस उपन्यासका केन्द्रिय वस्तु हुन्। सयौं शिक्षक आफ्ना सम्पूर्ण जीवनको आधाभन्दा बढी भाग शिक्षणमा बिताउँछन्, शिक्षकीय जीवनका विडम्बनाहरू भोगे आफ्नो जीवन उत्सर्ग गर्दछन् - देशको नाउँमा, शिक्षाको नाउँमा, सरलता, साधुता र इमान्दारीको नाउँमा, आफ्नो जावन र जहान - छोरा - छोरीका पेटका नाउँमा। तर ती विडम्बनाहरूका विरुद्ध, उनीहरू निश्चित रूपमा केही भन्न सक्दैनन्, के भन्नु पर्ने हो सो थाहा नपाउँदैमा जीवन बितिसक्छ। तर कोही मानिस कतिसम्म संवेदनशील हुन्छन् भने अरूले सारा जीवन खर्चेर पनि देख्न नसकेका सम्बन्ध सूत्रहरू उनीहरू एकै झलकमा आँखाले समात्दछन्। सुवास दीपकमा यही तीव्र संवेदनात्मकता छ। 'अरण्य रोदन' सुवास दीपकले सन् 1966 - देखि 1977-सम्मका एघार वर्षमा सिक्किममा विभिन्न ठाउँका स्कूलहरूमा जागिरे भई बिताएका जीवनांशको इतिहास हो, उनको आत्मकथाको एउटा परिच्छेद हो, यो एउटा शिक्षकले सिक्किमको संकीर्ण नोकरशाही मनोवृत्तिबाट खप्नु परेको विडम्बनाको आवृत्ति हो, यो वर्तमान सिक्किमको तह नमिलेको शिक्षा व्यवस्था र पद्धतिको नाङ्गो चित्र हो - अत: प्रत्येक शिक्षकको जीवनी हो। यो वर्तमान भारतवर्षको रूढिग्रस्त शिक्षा प्रणालीको नक्शा हो। भारत स्वतन्त्र हुनुभन्दा अघिदेखि अङ्ग्रेजहरूले बसाएको शिक्षा - सिद्धान्तका लिकै लिकै यन्त्रवत चलिरहेको हाम्रो शिक्षा - व्यवस्था नै वस्तुत: यस पुस्तकको जनक हो। त्यसैले यो पुस्तक सुवास दीपकको मात्र होइन, अपितु वर्तमान भारतवर्षको कुनै पनि एकजना शिक्षकको आत्मकथा हो। यसो भन्नाले यो यतिमै सीमित हैन - सम्पूर्ण प्रशासनमा चलेको ब्लड क्यान्सर झैं छाएका - भ्रष्टाचार, अनैतिकता, असभ्य जङ्गली प्रवृत्तिको नक्सा पनि यहाँ पाइन्छ। अत: "अरण्य रोदन" उपन्यासको कथ्य प्रतिवादनले अभिव्यञ्जयताका मूलत: तीन तह समातेको छ - (क) सुवास दीपकको जीवन कथाको एउटा अंशको चित्र, (ख) राज्यका सम्पूर्ण शिक्षकका जैविक अवस्था र शिक्षा संस्थानहरूका गतिविधिको चित्रण, (ग) राष्ट्रिय शिक्षा - पद्धति र व्यवस्थाको चित्रण। शिक्षकसित दिने मात्र हुन्छ, लिने हात हुँदैन। शिक्षक देशका निम्ति समर्थवान नागरिकहरू जन्माउँछ, अरूमा शक्ति मात्र हालिदिन्छ, आफूसित कुनै शक्ति हुँदैन. वर्तमान नोकरशाही व्यवस्थामुनि सबैभन्दा शक्तिहीन कर्मचारी खोज्नुपर्दा शिक्षक नै भेटिन्छ। शक्तिहीन शिक्षकले कसैको केही खति गरिदिन सक्दैन। त्यसैले समाजमा कसैलाई उसको कुनै त्रास पनि हुंदैन। शिक्षा विभागको वा लेखा विभागको ढोकाबाट लुते कुकुरसम्मले पनि उसलाई डुक्रेर लघारिदिने सामर्थ्य राख्दछ। त्यसैले, वर्तमान 'अरण्य' - मा सबैभन्दा टिठलाग्दो 'उद्भिद्'  खोज्न परे त्यो शिक्षक हो। उद्भिद्, किनभने उसको जीवनमा एकनासेपनबाहेक केही छैन। यस एकनासेपनबाट निवृत्त हुनलाई 'सेठी साहब' हुनुपर्छ अथवा 'नबाब साहब''मैडम' - जस्ताहरू खुल्दुली मच्चाउँछन्, तर यो खुल्दुलीको जमाना होइन, यो जमाना त घासघुस...खासखुसको युग हो। त्यसैले 'मैडम' - को संघर्ष मात्र रहिरहन्छ। 'डोंगरे र 'लोकनाथ' l  त बिचरा पाठाहरू हुन् - युगको ब्वाँसोका अघिल्तिर नदीको पानीसम्म शान्तिले पिउन पाउंदैनन्। सेठी साहब प्रधानाध्यापकबाट उठेर उहिल्यै कहिल्यै माथि पुगी आज सरकारका कुनै उच्च पदाधिकारी भइरहेका होलान्, नबाव साहब पनि शिक्षक नै छन् भन्ने कुरामा पत्यार लाग्दैन किनभने यस्ता व्यक्तिहरूका खुट्टामा यस्ता पाङ्रा ज़ड़िएका  हुन्छन् जो खाली उकालैतिर मात्र गुड्न जान्दछन्। तर डोंगरेजसले (सायद 1977 - को कुनै दिन) - "मैकाले साहब को अंतिम प्रणाम किया और दूसरे दिन शुभ मुहूर्त में शिक्षा विभाग के नाम - सेठी साहब के नाम, जो अब उसके जिले के शिक्षा अधिकारी थे, अपना इस्तीफा लिखा और इस 'अरण्य रोदन' को लिखने के लिए कलम उठा ली।" (अन्तिम पृष्ठ) आजसम्म पनि यस मानवारण्यमा उसरी नै रोइरहेको छ। अक्षरखोरहरूको दुनियाँबाट उ कहिल्यै बाहिर आउन सकेन, तर त्यहाँभित्र बसेर उ साहित्यमा 'ह्याभी वेट' पनि कहिलाइन पनि सकेको छैन। उसले 'अरण्य रोदन'  निकाल्यो, तर उ अब यसलाई कोटको खल्तीमा च्यापेर अकादेमी पुरस्कारका लागि 'धावन्ती' गर्न सक्तैन (किनभने उसँग यो पुस्तक अटाउने खल्ती भएको कोट नै छैन)।

जे होस्, उपन्यासको रूपमा मात्र हेर्दा पनि यो एउटा सफल र जीउँदो अभिव्यक्ति एवं रूप - विधान बोकेको आधुनिक उपन्यास हो - जसको सम्पूर्ण संरचना व्याजोक्तिले भरिएको छ। भनूँ, व्याजोक्ति नै यसको रगत हो, व्याजोक्ति नै यसको ढुकढुकी हो। कुन्तक आचार्य अहिले हुँदा हुन् त, अस्ति नै डोंगरेजीलाई श्याबाशीका सय धाप दिइसक्ता हुन् तर हामी रोबोटहरूले स्वार्थ र सत्ताको लोभले दम दिइराखेको छ र दम रहिञ्जेल स्याँ स्याँ फूँ फूँ गरिरहेछौं,'हामीलाई यस्ता साहित्यकारहरूसित के मकलब छ र?'

                                                                      ( विचारको 2 जुलाई, 1985को अंकमा प्रकाशित)

अरण्य रोदन (सिक्किमको प्रथम हिन्दी उपन्यास), लेखक - सुवास दीपक, प्रकाशक - संबावना प्रकाशन, हापुड़, उत्तर प्रदेश, 1985) (मई 2010)

यात्रा संस्मरण
प्राचीन नगर रोम र अर्को सानो देश

डा. शान्ति छेत्री
त्यो धरहरा अब ओझेल भइसक्यो - म भने दिल्लीको कुतुब मिनार, काठमाडौको धरहरा र बनारस हिन्दु विश्वविद्यालयको विश्वनाथ मन्दिरका भव्य उँचाइहरू सम्झनु पुग्छु। झ्यालबाहिर विदेशी हावा, विदेशी दृश्य र मनभित्र स्वदेशी सम्झना सङ्गालेर बससितै दगुरिरहेछु। तमिल सहयात्रीहरू गठ्याङ-मठ्याङ कुरा गर्दैछन्। ड्राइभर फ्रयाङ्कले हामी दुइका बाकस बसभित्र राखिदिने, होटेलसम्म पुऱ्याइदिने गरेको नि:स्वार्थ सेवाबारे हामी पनि कुरा गर्दैछौं। खुसरो र ड्राइभर दिनभरि र शायद रातको लागि पनि योजना मिलाउँदैछन्। म फेरि सम्झन पुग्छु - "फल अफ् द रोमन एम्पायर, बेनहर र एल्सीद अङ्ग्रेजी सिनेमाका दृश्यहरू। यतातिरका सजिलै चढ्न सकिने होचा पहाड़ देख्छु र उत्तर सिक्किमका अग्ला र सुन्दर चट्टानहरूका चित्र मानसपटमा आइरहन्छन्। हामी अब गर्मीको अनुभव गर्न थाल्छौं।
चिताएभन्दा केही पहिले नै एउटा रेस्तुराँअघि बस रोकिन्छ। घड़ी हेरेकी त ठिक्क लञ्चको समय भएको रहेछ। एकतले भवन हेर्दा सानो भए पनि पस्दा अन्डर-ग्राउन्ड हुनाले ठूलो हलमा परिणत भएको रहेछ। भित्र मानिसै-मानिस। तताले भन्नुभयो, "आज त अलिकति भए पनि भात खाऊँ है!" मैले "हुन्छ" भनेर उहाँलाई हौसला दिन हात समाएँ। उहाँको नाड़ी त लुलो भएको रहेछ। सानो काउन्टरअघि हामी क्यूमा उभियौं। खाने कुरा पस्किएर ऐनाभित्रको आल्मारीमा राखिएका हुँदा रहेछन्। 'ट्रे"-मा आफूले मन परेका भोजन टिप्दै राख्नुपर्ने अनि 'पे-काउन्टर"-मा ठीक दाम तिर्नुपर्ने रहेछ। एउटा जिनिस बिर्सियो भने फेरि फर्केर 20/25 जनाको लाइनपछाड़ि उभिनुपर्ने। नभन्दै त्यहाँ तातो र कम्लो भात पाइँदो रहेछ तर भातसित खाने सब्जी वा तरकारी चाहिं छैन। तताले निस्तो भात लिएर आउनुभयो, मसित ह्यामबर्गर मात्र थियो, बाँड़ेर खानु पनि नमिल्ने। यसो टोबलमा हेरेकी त नौनी घिउ क्यूब रहेछन्। 'घिउसित भात खाँदै गर्नोस्, म तातो कफी लिएर आउँछु' भनेर उठें। भाषा बुझ्नु छैन - सेल्स गर्लले 'शप देयर' भनेर बाहिर देखाई। एकजना पर्यटकले 'कफी देयर' भन्यो। कफी बेच्ने कोही छैन तर सबैजना धमाधम कफी पिउँदैछन्। म अक्क न बक्क परें- तता उताबाट 'छिटो आऊ' भन्नुहुन्छ। मेरै छेउबाट एकजनाले कफी लिएर गएको देखेर 'कहाँ पाउँछ' भनी सोधें। उसले टोकन माग्यो र कफी मेसिनमा छिराएर कफी थापिदियो। मैले मुसुमुसु हाँसेर 'मैक्सी' भनिदिएं। खाना खाँदै ततालाई त्यो किस्सा सुनाउँदा उहाँ मरिमरि हाँस्नुभयो र भन्नुभयो, "त्यस्तो नाथे मेसिन ! कफी भनेर त लेखिदिनुपर्छ नी।" मलाई उहाँको आलोचना उपयुक्त लाग्यो। उहाँले फेरि भन्नुभयो, "भात त मिठो रहेछ। थप्नु जौं भने 15/20 मिनट लाइनमा उभिनुपर्ने रहेछ।" म लाइनमा पुन: उभिएँ र 5 मिनटभित्रै भात ल्याइदिएँ। 'कसरी छिटो भयो?" उहाँले सोध्नुभयो। मैले सबैजना कफी लिन गएका रहेछन् भनें। उहाँले 'ए.... खाना खाएपछि पो कफी लिन जानुपर्ने रहेछ नी' भन्नुभयो। त्यसरी दुइ प्लेट भात खानुभएपचि उहाँमा भिन्दै स्फूर्ति देखेर मलाई ढुक्क लाग्यो।
बाटामा एकैनासे चिन्डा र होचा पहाड़हरू - कुनै गाउँ छैन, मान्छेहरू प्राय: देखिँदैनन् - छन् त केवल हाई-वेमा रफ्तारले कुदिरहेका चम्किला कारहरू, ठूला-ठूला कन्टेनर ट्रक र यात्रु बोकेका कोचहरू। ठाउँको नाम पनि उति थाहा भएन एक जग्गामा पुराना गाड़ीहरूको राश लगाइएको रहेछ. एक्सीडेन्ट भएका गाड़ीहरू फिर्ता लिनुभन्दा नयाँ गाड़ी किन्नु सजिलो मान्नेहरूले माया मारेका गाड़ीका राश रे तिनीहरू।
केहीपछि 4/5 माइलसम्म फैलिएको चट्टानबीचबाट कोच कुद्न थाल्यो। हामीले छक्क परेर खुसरोलाई सोध्यौं - उसले सुस्त चालमा भन्यो - "यो ढुङ्गाको कारखाना हो। यसै ठाउँबाट नामी र दामी सङ्गमर्मर (मार्बल) निकालिन्छ। रोमको शहर यिनै ढुङ्गाबाट बनिएको हो। चर्चहरूमा यहींको मार्बल जड़िन्छन्। भारतको नर्बदाको सङ्गमर्मरजस्तै। त्यहाँ सेता मार्बल पाइन्छन् भने यहाँ चाहिँ रङ्ग-बिरङ्गी पाइन्छन्। पछि चर्चहरूमा अवश्यै देख्नुहुनेछ।" हुन पनि ठूल्ठूला चापटका ढुङ्गा ट्रकहरूमा डोरी क्रेनले लोड गर्दै थिए। म पुन: बी टु-का पातला चापटी ढुङ्गा सम्झन्छु - खोला गड़तिर बड़ेमाका गोलो-गोलो ढुङ्गा सम्झन्छु र ईश्वरको वरदान सम्झेर मुस्मुसाउँछु।
साँझ हुनअघि हामी रोम शहरभित्र पसिसकेका हुन्छौं। हामीले सोचेजस्तो भव्य हैन यो शहर। रङ्ग उड़ेका पुराना भवनहरू, पुराना सड़क र पुरानो चहल-पहल। यहांको होटेल प्रिन्सेस पनि शहरको बीचमा रहेछ। थाकेर लखतरान भएका हामी पनि नुहाइ-धुहाइ गरेर कोठामा टीभी हेर्दै बस्यौं। डिनर खाएपछि पो थाहा भएछ - गरम ठाउँ भएको हुनाले राति आठ बजेदेखि बत्तीका रमझममा रोम नगरको रोम-रोम रमाउँदो रहेछ, रेस्तुराँहरू गमक्क गम्किँदा रहेछन् र सङ्गीतहरू गुञ्जिँदा रहेछन्। मन थाम्न नसकी हामी दुइजना मात्र राति नौ बजेतिर बाहिर निस्कन्छौं - होटेलकै दायाँ-बायाँ यसो रेखी गर्नलाई, आँखालाई आनन्द दिनलाई।
सडकका दुवै किनारमा नाङ्लो पसलेहरू खुद्रा जिनिस जस्तै लकेट, कन्तुर, भिउ कार्ड बेच्दारहेछन्। ठूल्ठूला ऐनाको शोभित्र दामी दामी सूटकेस किन्ने मन थियो, पैसा बोकेका थिएनौं - भोलि बिहान किन्ने सल्लाह गऱ्यौं। अलि परतिर राम्रो रेस्तुराँ रहेछ - बाहिर बसेर ठाँटसित डिनर खाइरहेका जोड़ा-जोड़ी अनि बाटामा हात समाएर मग्न हिंडिरहेका बृद्ध-दम्पत्ति। हाम्रो साड़ी देखेर बटुवाहरू फर्की-फर्की हामीलाई हेर्दैथिए। एकजनाले सोधिहालिन् -'ब्यूटिफुल ड्रेस, इन्डिया?' मैले 'यस, थ्याङ्क यू' भनें। मुसुमुसु मुस्काएर आ-आप्नो बाटो लाग्यौं।
बिहान आठ बजे तयार भएर घुम्न निस्कँदा मिस एनी, त्यस दिनका गाइड बसमा परिखिरहेकी रहिछिन्। हिजोको सूटकेस पसल खोलिएकै थिएन। उसले सूचना दिइन् - "आज हामी तपाईंहरूलाई भेटिकन सिटी, रोमन फोरम, सेन्ट एन्जेलो क्यासल इत्यादि ठाउँमा लानेछौं। कृपा गरी आ-आफ्ना साथी नछोड्नुहोला। अनि होटेलको ठेगाना र पास-पोर्ट आफैसित सुरक्षित राख्नुहोला। मेरो यो खबर-कागज हातमा उठाएको ठाउँमा सबैजना भेला भइदिनुहोला। कुनै एक ठाउँमा 10/15 मिनटभन्दा बढ़ी हेर्नेछैनौं - सबैले घड़ी मिलाउनुहोस्। तपाईंहरूको सहयोग पाएं भनें तपाईंहरूलाई राम्ररी घुमाउन सक्नेछु।"
उसको धाराप्रवाह अङ्ग्रेजी र मीठो स्वरले हामी मक्ख पऱ्यौं। प्रौढ़ा मिस एनी खुबै फुर्तिली र अनुभवी थिइन्। कोच केही परसम्म गुडेपछि दाहिनेतिर देखाउँदै भन्न थालिन् - 'ऊ... त्यो रूख भएको ठाउँका प्रथम सम्राट रेमू र रेमुलासलाई बाघले दूध कुवाएको हो - अर्थात् त्यो जानिकुलस हिल हो। पछि भाइले दाजुलाई युद्धमा जितेपछि तिनी राजा भएका थिए। त्यो हिलको वरिपरि सातवटा स-साना पहाडहरूलाई सेभेन सिस्टर्स भनिन्छ जहाँ उनीहरू दुइको बाल्यकाल बितेको थियो।
चौकका दुवैतिर भव्य प्रस्तर मूर्तिहरू थिए अनि फराकिला लामा सिड़ीहरूबाट फटाक-फुटुक यात्रीहरू ओर्लिँदै थिए। शहर तङ्ग्रिसकेको थिएन। घाम भने एक हात माथि मिर्मिराइरहेको थियो। मिट्टेरो बेनेटो, औरिलियन बाल्स हुँदै रोमन फोरममा पुग्यौं। त्यस ऐतिहासिक स्थलका वरिपरि शहर छैन रहेछ। आजकलका ओलम्पिक स्टेडियमजस्तो पुरानो ठाउँ रहेछ - कति त दोस्रो विश्व युद्धमा ध्वस्त भयो रे। एक हूल माग्ने केटा-केटीलाई उसले हपारिन्। आप्नो मुलुकलाई गरीब देखाउन नचाहने उनीहरूको आत्मसम्मानपूर्ण सिद्धान्तलाई मैले मन-मनै सर्काएँ।
पियाजा नाभोना-मा निक्कै भीड़ भइसकेको थियो, उसले ट्रेभी फाउन्टेनतिर लगिन्। त्यहाँ पनि उतिकै भीड़ रहेछ। त्यो फाउन्टेनमा सेतो रङ्ग लगाउंदैरहेछ, पानी सुकाइएको रहेछ। तैपनि मानिसहरू पछिल्तिर फर्केर आँखा चिम्म गर्दै रेजकी पैसा फ्याँक्दैरहेछन्। त्यस फाउन्टेनलाई विशिङ फाउन्टेन भनी पनि भन्दोरहेछ। मनमा चिताएर पैसा फ्याँक्दा अभिलाषा पूरा हुन्छ भन्ने लोक-विश्वास रहेछ।
हामी फेरि गुटुटुटु बसतिर लाग्यौं - भेटिकन सिटी हेर्न। गाइड बताउँदै थिइन् - संसारको सबभन्दा सानो देश हो यो। यहाँको जनसङ्ख्या एक लाख मात्र छ। पावन पोप पावेल यहाँका सर्वेसर्वा हुन्। पासपोर्ट चेक भएपछि हामी सानो देशभित्र पस्यौं। सेन्ट पिटरको बासिलिकाभित्र भ्रमणार्थीहरूको घुइँचो-घुइँचो रहेछ त्यहाँ पनि। हामी गाइडको खबरकागज पछ्याउँदै घुइँचोभित्रै पस्दैछौं। तल र माथिका साँगुरा सिंढ़ीहरू ओर्लँदै-उक्लँदै सिस्टेन च्यापेलको ठूलो हलमा पुग्छौं। सिलिङभरि माइकल एञ्जेलोको भव्य कृति साक्षात देख्न पाइन्छ - भर्खर थप रङ्ग-रोगन भएकोले होला, एकदम नयाँ लाग्थ्यो। पोपको चुनाउ गर्ने प्रथाबारे टेपद्वारा सुनाउँदै थियो - बाहिरका मानिस त्यो चुनाउ हुँदा पस्न नपाउने र चुनाउ सिद्धिएपछि धुवाँ फ्याँकेर सम्पन्न भएको सूचना दिने प्रथा अझैसम्म रहेछ। त्यस विशाल भवनका दलिन, भित्ता, खाँबा जताततै माइकल एञ्जेलो, राफल बर्निनीका प्रसिद्ध चित्रकलाहरू सुरक्षित थिए।
अर्को सानो हलमा सेन्ट पिटरको मूर्ति रहेछ। उसका खुट्टामा भक्तहरूले म्वाई खानुपर्दोरहेछ। त्यस्तो हुँदा-हुँदै दाहिने खुट्टाका बुढ़ी औंला त चिल्लै भएको रहेछ। केही वरतिर मानिसहरू झुम्मिएका रहेछन् - त्यहाँ मदाम मरियमले यीशु ख्रीष्टको पार्थिव शरीर काखमा लिएर शोक मुद्रामा भावशून्य बसिरहेकी सेतो संगमर्मरको विशाल मूर्ति रहेछ। कुनै पगलाले तरवारले मूर्तिमा चोट पुऱ्याएको हुनाले हालमा मूर्ति वरिपरि ऐना लगाइएको रहेछ र वरिपरि गार्डहरू पनि राखिएका रहेछन्। त्यो प्रख्यात मूर्ति कलाकार बर्निनीले 100 वर्षअघि बनाएका हुन् रे। त्यस मूर्तिमा एक शोकग्रस्त आमाका समस्त पीड़ा र विशादका भावहरू अङ्कित छन् अनि यीशु ख्रीष्टका पार्थिव शरीरबाट पनि क्षमा, दया, प्रेमकै सन्देशहरू प्रस्फुटित भइरहेजस्ता लाग्दछन्।
पूर्ण रङ्-बिरङ्गी संगमर्मरद्वारा निर्मित त्यो भव्य चर्च नै भेटिकन सिटीको प्रमुख आकर्षणको केन्द्र रहेछ। त्यहाँबाट बाहिर निस्केपछि त्यसको विशालता झन् मुखरित हुँदोरहेछ र हामीले पनि ठूलो राजभवनबाट निस्केका अनुभव गऱ्यौं। चारैतिर सजिसजाउ सैनिकहरू, पोपका अङ्गरक्षकहरू र सुरक्षाको कड़ा व्यवस्था देख्दा इटालीभित्रको त्यो सानो देश निक्कै महत्वपूर्ण ठाउँ रहेछ भन्ने बुझियो। अझ धर्म, संस्कृति र कला-कृतिको संरक्षण अति आवश्यक रहेछ भन्ने थाहा पाइयो। गदगद हुँदै फर्कंदा एउटा क्यूरियो शपबाट मदाम मरियम र यीशु ख्रीष्टको सानो सेतो संगमर्मरको मूर्ति 12000 लिरा तिरेर किनें। सन्तोष लागेर आयो। तमिल दम्पति र हामीले ठण्डा पियौं, फोटो खिँच्यौं अनि फेरि फर्केर त्यो विशाल अट्टालिकालाई एकपल्ट हेऱ्यौं। अर्कै बाटो भएर उकालै-उकालो लाग्यौं। त्यहाँ चौरकै उतापट्टि ठूलो किल्ला रहेछ र छेउकै विश्राम गर्ने भव्य चौतारा। त्यहाँबाट भेटिकन सिटीको त्यो सानो सुन्दर र पवित्र देशको राम्रो दृश्य देखिँदोरहेछ - शान्त र सन्तुष्ट।
दिउँसोको खाना खान जाँदा दुइ बजिसकेको थियो। खुसरोले 'आजको लञ्च ट्रेभल कर्पोरेशनले खुवाउनेछ' भन्यो। एउटा चिटिक्क परेको लाम्चे रेस्तुराँभित्र पसायो। त्यहाँ भारतीय खाना पाइँदोरहेछ तर छान्न नपाइने। एक जोड़ा इटालीवासी र दुइ युरोपेलीहरूले भारतीय खाना खाँदैथिए. मसालादार खाना अरूले मीठो मानेर खाए, हामी कुख्राको 1/1 वटा फिला र पराँठा खाएर अघायौं। आइसक्रीम पनि खानैपर्ने रे। जिनिभामा आइसक्रीम खान हामी पल्किसकेथ्यौं। यहाँको जस्तो खल्लो र चिसो मात्र होइन त्यहाँ त फूल-बुट्टा भरिएर मगमग वासना छर्दै आइदिन्छ आइसक्रीम - मुखमा पर्नासाथ बिलाइहाल्ने। हाम्रा मिस्टर चीफले आइसक्रीमको साटो कफी मागे। कफीको दाम चाहिं तिर्नै पर्ने रे। उनले एक कप कफी र एक प्याकेट सिग्रेट मागे। भारतीय रुपियाँ 100/- पऱ्यो रे। उनी धाकसित कफी र सिग्रेट सँगसँग पिउँथे, हामी चकलेट आइसक्रीम खान्थ्यौं।। बाहिर निस्केर तिनी मरिमरि हाँस्न थाले - आफ्नो देशमा पैसा जोगाएर विदेशमा धाक देखाउने पनि खर्च गरिदिएँ - क्या मज्जा आयो। हामी पनि उसको जीवन-दर्शनमा एकछिन मुछिएर मज्जाले हाँसिपठाऔं। होटेलमा आपुगेर मिस एनीलाई धन्यवाद भनौं भनेको त उनी त भेटिकन सिटीबाटै बिदा भइसकिछन् - कस्तो बिस्वाद।
साँझपख हामी पुन: बाहिर निस्क्यौं। चहल-पहल बढ़्दै गयो - नाङ्लो पसलेबाट केही भिउ-कार्ड र स-साना चिनाहरू किन्यौं। अलिक मास्तिर स्टुडियो रहेछ - फोटोहरू धुन दियौं - राति 9 बजे लिन जानु रे। फल र कोल्डड्रिंक्स किन्यौं। केही बेर यता-उति बरालियौं। सड़कहरू उति फराकिला होइनन् तर सफा रहेछन् - अलकत्रा नलाइएका, ढुङ्गा मात्र छापिएका घोड़ा र रथ हिंड्नेजस्ता सडकहरू। बिहान 9 बजे अफिस लागेर 12 बजे बन्द हुँदोरहेछ। फेरि 3 बजे खुल्दोरहेछ, बेलुकी 6 बजेसम्मको लागि। रोमवासीहरू जिउँसोको भोजनपछि एकछिन निदाउँछन् रे - यो उनीहरूको सभ्यता, संस्कृति जसो भने पनि। अनि 6 बजे अफिस सकेपछि बाहिर-बाहिरै रमाएर जति बेला घर फर्के पनि हुने. वाह जिन्दगी!
धेरै युद्ध झेलिसकेको, जीवन-दर्शनले विभिन्न ऋतुहरूको स्वाद लिइसकेका तथा कला, सभ्यता, संस्कृतिलाई पराकाष्ठामा पुऱ्याइसकेका रोमवासीहरूले दुइ दिनको जीवनको मोल निश्चय बुझेका रहेछन् - उनीहरू कमाउँछन् पनि तर जीवन जिउन पनि जान्दारहेछन्. मृत्युपछिको सोचाइ कम गर्दारहेछन् र आफ्नो भव्य इतिहासबारे गर्व मान्दारहेछन्। चाहिंदो परिश्रम र चाहिँदो उपभोग गरेर अरू झञ्झटमा फँस्न नचाहने साधारण रोमवासीहरूको जीवन शैली शान्तिप्रिय र सभ्यलाग्दो रहेछ।
( यूरोप भ्रमण - केही संस्मरण, 1996, निर्माण प्रकाशन-बाट साभार)

चामलिङको संस्थागत नेतृत्वलाई मूल्याङ्कन गर्ने मापदण्ड जात हुनसक्दैन

भीम दाहाल
बेलायतमा सयकडौं वर्षअघिको एउटा कथन छ, भनिन्छ - "आइरिसहरू कम्ति बोले भने र अङ्ग्रेजहरू अलिक खुलेर बोलिदिए आयरल्याण्ड देशको समस्या सुल्झिन्छ।" जान्नेहरू भन्छन् कि त्यहाँको आम गरीबी र स्वतन्त्रताको खोजमा आइरिसहरू अत्यन्त चिडचिडे स्वभाव, आक्रोशित भइहाल्ने किसिमका हुन्छन्। तर्कको पडावमा आक्रोशित व्यक्ति र आक्रोशित नेतृत्वबीचको भिन्नता केलाउन मन भएको छ। परिवारमा अभिभावक आक्रोशित भएपछि त्यहां शान्ति भङ्ग हुनजान्छ भने नेतृत्वको आक्रोशबाट समाजको शान्ति भङ्ग हुन् सम्भावना रहन्छ। नेतृत्वको आक्रोशले सामूहिक आवाजलाई प्रतिनिधित्व गर्ने वा गर्नसक्ने हुनाले प्रख्यात नेताहरूले सुललित र सुसंस्कृत भाषामा आफ्नो आक्रोश अभिव्यक्त गर्दछन्। गान्धीले भन्नुहुन्थ्यो,"म सिधा-सिधा (स्पष्ट) कुरा गर्ने मान्छे हुँ।" अथवा गान्धी चाहनुहुन्थ्यो कि उहाँको वरिपरिका अन्य नेतृत्व तहका व्यक्तिहरूले गलत ढङ्गले उहाँको सरलतालाई प्रयोग गर्न नसकून्।
हामी सिक्किममा वर्गीय चिन्तामा छौं। हाम्रो नेतृत्व त्यही गर्दछ जुन वचन जनतालाई दिएको छ। 16 मई, 1994-मै सिङताम बजारमा आयोजित एसडीएफ पार्टीको महासभामा अध्यक्ष पवन चामलिङले भन्नुभएको छ कि सिक्किमे नेपाली, सिक्किमे भोटिया र सिक्किमे लेप्चामाझ कुनै अर्घेलो निकाल्नेलाई माफ गरिनेछैन। त्यसबेलाको ज्वालामुखी बनेको राजनीतिक अवस्थामा शान्तिको सशक्त हिमशिखा फाल्दै उहांले भन्नुभयो,"यदि सिक्किमबाट नेपाली खेद्ने कोही भए पहिले मलाई खेद, यदि भोटे काट्ने कोही भए पहिले मलाई काट।"
हामी सिक्किमेलीहरूलाई भारतीय समाज, त्यो भारतीय समाज होस् वा बिहारी, बंगाली होस् वा कुनै पनि समाजले भोटे-लेप्चा-नेपाली र समग्रमा सिक्किमेली समाजको रूपमा हेर्नुपर्दछ। हामी नेपाली मात्र अलग्ग, भोटिया वा लेप्चा वा रैथाने व्यापारी मात्र अलग्ग छैनौं। हामी विरासत र इतिहासका सन्तान हौं। हामी सिक्किमेली समाजको मूलस्रोतमा, इतिहास र विरासतको समग्रतामा संगठित समाज हौं। हामी चाहन्छौं हामीलाई हाम्रो राष्ट्र वा विश्वले भारतीय नागरिकको रूपमा सिक्किमेली समाज भनेर मूल्याङ्कन गरोस्। हामी सिक्किमेली हुनुमा गर्वबोध गर्दछौं। हामी भारतीय नागरिक हुनुमा गौरवान्वित छौं।
सिक्किम डेमोक्रेटिक फ्रन्ट घोषित नीति र प्रशस्त प्रकाशित पार्टी, नियम, दस्तावेज, मुखपत्र र पार्टी साहित्य भएको संस्था हो। पार्टीले सरकारमा आउनअघि नै राज्यका प्रत्येक तह र तप्काका जनताको सुरक्षा र विकासको कार्यक्रम तय गरेको छ। त्यो कार्यक्रमकै आधारमा पार्टी चौथोपल्ट सत्तामा काबिज भएको छ। पार्टीले सस्तो प्रचार र क्षणिक वाहवाहीको निम्ति काम गर्दैन। त्यही कारण हो सिक्किम दीर्घमियादी विकासको पथमा छ अनि आर्थिक स्वनिर्भरता हासिल गर्न चाहन्छ। हाम्रो पार्टी राष्ट्रिय वा चुड़ान्त समाधानमा हुनुपर्दछ र त्यही वैज्ञानिक सोच पनि हो। ठोस समस्याहरू भावनात्मक वा हृदयग्राही अपीलहरूबाट पुरा हुनसक्दैनन् किनभने देश यसको संविधान र विद्यमान नियमले चल्दछ। विद्यमान नियम बदल्नलाई वैज्ञानिक, व्यावहारिक र सर्वसम्मत उपायहरूको खोज हुनुपर्दछ। सिक्किमले आफ्नो प्रत्येक राजनीतिक समस्या केन्द्र सरकारसमक्ष पेश गर्दा यस्तै वैज्ञानिक र व्यवहारिक प्रकारले पेश गर्दछ। कति माग पूरा भए कति पूरा हुने क्रममा छन्। हामी हाम्रो नेताको वैज्ञानिक कामगराइको प्रशंसा गर्दछौं।
यहाँसम्म सिक्किम डेमोक्रेटिक फ्रन्टको आधारभूत सिद्धान्तको उल्लेख गर्ने सङ्क्षिप्त प्रयास भयो। अब एक बौद्धिककर्मीको रूपमा आफ्नो मातृजाति, मातृभाषा र मातृसंस्कारबारे केही भन्नुपर्दछ। यो लेखक एक स्थापित कलमजीवी हो यद्यपि राजनीतिमा संयोगवश छ। जातमा नाम काड़ेर हेर्ने हो भने यो मान्छे बाहुन हो। बाहुनको थर र गोत्र नै केलाउनुपर्दा धेरै बाहुनको थर र गोत्रबीचमा यो बाहुन पर्दछ कि यो वैश्वीकृत युगमा यो व्यक्ति "मान्छे" - मात्र रहन गाह्रो पर्दछ। आजभन्दा 30 वर्षअघिकै नियम हेर्ने हो भने पनि बाहुनको त्यस बेलाको नियमअन्तर्गत अहिले बाँच्न सम्भव छै। एउटा व्यक्ति जो मिहनती लेखक र साधारण तर सफल राजनीतिज्ञ भएर रहेको छ त्यो व्यक्ति वर्ण व्यवस्थाप्रदत्त उच्च जाति भनेर आफूलाई गौरवान्वित ठान्न चाहंदैन। राजनीतिक संस्था सिक्किम राज्यको डेमोक्रेटिक फ्रन्ट भए पनि राष्ट्रकै संयुक्त प्रगतिशील गठबन्धन भए पनि सत्ता सङ्घर्ष नै हो। सत्ताका राजनियम र राजनीतिका नियमितता र आकस्मिक नियमितता हुन्छन्। राजनीतिक सङ्घर्षमा धेरै रात बत्ती ननिभाई बित्छन्। धेरैपल्ट मनमा आगो र आँखामा पानी लिएर बांच्नुपर्दछ। तर राजनीतिलाई त्यसको नियमबाट झारेर सम्प्रदाय, संस्कार वा ठाड़ो भाषामा जातीय सोचमा लैजाने चेतना वा अवचेतना पाल्न मिल्दैन। यो पवन चामलिङले हामीलाई दिएको वर्गीय सोच हो। वर्गीय सोचभन्दा ठूलो मानवीय सोच अरू हुनसक्दैन। अध्यात्म, अलौकिक, अदृश्य शक्तिहरूको खोज र संसाधनभन्दा सधैँ वर्गीय सोच नै समाजको रूपान्तरण गर्न सफल भएको छ।
देश-देश, राज्य-राज्य र इलाका-इलाकाबीचका सम्बन्धहरू तब-तब नै सफल, प्रगाढ़ र प्रेममय भएका छन् जब जब पनि औपचारिक आपसी आदरमा आधारित भएका छन्। युद्धहरू अन्त्यमा गएर बैठक कोठामा शान्तिमा परिणत हुन्छन्। अनि युद्ध तब तब नै भएका छन् जब जब सहनशीलता र गम्भीर आत्मचिन्तन हुनुपर्ने अवस्थाहरू आक्रोशमा परिणत भए। वास्तवमा समस्याको समाधान उपस्थित हुन्छ तर त्यसलाई प्राप्त गर्ने प्रयासहरूको वैज्ञानिकता र रणकौशलमाथि चिन्तन हुनुपर्दछ।
इतिहासमा यस्तै लछेप्रै उदाहरणहरू पाइन्छन् जब पत्रकार सम्मेलन, जनसभा र ऱ्यालीहरू भन्दा पनि लगातार पक्षप्रेषण, तथ्यपरक बहस र कूटनीति प्रयासहरू सफल हुन्छन्। यहाँ अतिरिक्त तर्क यो पनि राख्नुपर्दछ कि सिक्किमेली वा समग्र भारतेली समाज नै वास्तवमा एउटा जातिपुञ्ज हो। नेपाली जातिभित्र अनेकौं उपजातिहरू छन् र समग्रमा एक भएर नेपाली जाति बनेको छ। यस जातिभित्र र विशेष गरेर सिक्किमेली जातिगोष्ठीलाई इङ्गित गरेर कुरा गर्ने हो भने पवन चामलिङलाई यस राज्यका जनताले नेताको रूपमा संस्थागत गरिसकेका छन्। उहांको "राई" जात j "चामलिङ" उपजात मानेर उहाँलाई आक्षेप गर्न मिल्छ भने उहाँको जन्म चामलिङले खुद छानेको होइन। जात छानेर जन्मिने कोही छैन। यसकारण पवन चामलिङ झैं संस्थागत भएको नेतृत्वलाई मूल्याङ्कन गर्ने विधि र मानदण्ड उहांको जात हुनसक्दैन। यसमाथि बहसको गुञ्जाइस राख्न चाहन्नं म। यस अड़ानको निम्ति के कति व्यक्तिगत बलिदान गर्नुपर्छ म तयार छु।
नेता भनेको सपना र त्यसलाई पूरा गर्ने कर्मले बन्दछ, जन्मले होइन। पवन चामलिङले भारतीय नेपाली समाजका विभिन्न समस्याबारे देशको सर्वोच्च राजनीतिक र प्रशासनिक सभामा वक्तव्य दिनुभएको छ। 21 मार्च, 2007-का दिन यूपीए गठबन्धनको सभामा प्रधानमन्त्री मनमोहन सिंह, यूपीए अध्यक्षा सोनिया गान्धीलगायत् समग्र नेताहरूसमक्ष राज्य पुनर्गठन आयोगसितै दार्जिलिङको "गोर्खाल्यान्ड राज्य"-को मागबारे उहाँले दिएको वक्तव्य 'सिक्किम फोस्टरिङ अफ अ हेल्थी फ्युचर ( भोल्युम न. 4-को पृष्ठ 186-मा 2008 सालमै प्रकाशित भएको छ। यसकारण उहाँको नियत र सौहार्दमाथि उहाँको जन्मकुन्डली खोलेर हेर्न आवश्यक छैन। एउटा पारदर्शी र स्पष्ट नेतृत्व छ उहाँको र हामी यस नेतृत्वसँग निश्चित छौं। हामी चाहन्छौं हाम्रो सम्बन्ध र आपसी सदभावका पुलहरूमा अज फलेकहरू थप्न सक्छौं। अझै बाँधबुँध गर्नसक्छौं। हामी संविधानको शिष्टाचारभित्र रहेका यस महान प्रजातान्त्रिक मुलुकका सहोदर हौं। तर हाम्रो सिक्किमेली हुनुको अस्मितामाथि हुने आकेरोश-वाणी र वक्तव्यहरू हाम्रा सहोदर प्रिय सिक्किमेहरूले पनि निश्चयै मन पराउँदैनन् मन हामीसँग पनि छ। यसमा कहीं कतै कुनै भ्रम नहोस्। पवन चामलिङ हाम्रा प्रिय र आदरणीय नेता मात्र होइनन्। हामी प्रत्येक सिक्किमेली जातिको पहिचान, सुरक्षा र विकासका अभिभावक भएर निर्बाध रूपमा दुइ दशकसम्म हाम्रो राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक क्षेत्रका पारदर्शी र प्रबल नेतृत्व दिइरहनुभएको पवन चामलिहको व्यक्तित्व र शालीनताका समर्थक जनताका हामी मित्रशक्ति हौं। हाम्रो पनि मन छ र त्यसमा ठेस पुगदछ।

असमिया विश्वकोशमा ज्ञानबहादुर क्षेत्रीको योगदान

इन्दिरा शर्मा,तेजपुर, असम

तेजपुर केन्द्रिय विश्वविद्यालयको लाइब्रेरीमा असमिया भाषाको विश्वकोश हेर्ने मौका परेको थियो। असम साहित्य सभाको प्रचेष्टामा छापिएको विश्वकोशमा नेपाली भाषा-साहित्य विषयका निकैवटा लेखहरू समावेश गरिएका छन्। विश्वकोशको चतुर्थ खण्ड भारतीय भाषा सम्बन्धमा छ। असमिया विश्वकोशमा लेख्नेहरूमा नेपालीहरू पनि रहेछन्। यो देखेर म अभिभूत भएँ। प्रा. गीता उपाध्याय, दुर्गाप्रसाद उपाध्याय, खेमराज नेपाल, जयन्तकृष्ण शर्मा, नवसापकोटा, दलबहादुर छेत्री, लीलबहादुर छेत्री र ज्ञानबहादुर क्षेत्रीले लेखहरू लेखेका छन्। सबैभन्दा बेसी ज्ञानबहादुर क्षेत्रीका जम्मा तेइसवटा लामा-छोटा निबन्धहरू प्रकाशित भएका छन्।
विश्वकोशमा लेख्ने सबै नेपालीहरू असमिया साहित्यमा सुपरिचित छन्। एउटा कुरा उल्लेखित देखेर गर्वले छाती फुलेर आयो। असमिया विश्वकोश चतुर्थ खण्डको प्रकाशनमा ज्ञानबहादुर क्षेत्रीको ठूलो योगदान रहेछ। चतुर्थ खण्डका मुख्य सम्पादक डा. योगेन्द्र नारायण भुइयाँले आफ्नो कलममा यस कुराको कृतज्ञता प्रकाश गर्नुभएको छ। आसाममा ज्ञानबहादुर क्षेत्री चर्चित लेखक हुन्। उहाँका असमिया भाषामा लेखहरू गुवाहाटीबाट प्रकाशित हुने असमिया दैनिक खबरकागतहरू जस्तै "आमार असम", खबर आदि र अन्य पत्रिकामा नियमित रूपमा छापिन्छन्। उनी नेपाली तथा अङ्ग्रेजी भाषामा पनि लेख्ने गर्छन्। ज्ञानबहादुर क्षेत्रीले असमिया, नेपाली र अङ्ग्रेजी भाषामा पत्रिका सम्पादन गरेका छन्। क्षेत्रीले नेपाली भाषामा लेखेका पुस्तकहरूको सङ्ख्या पाँच छ। मैले कुनै पनि उहाँका नेपाली किताब पढ़ेकी छैन तर असमिया विश्वकोशमा उहाँको विशेष योगदानको कुरा असमको असमिया समाजमा खुबै चर्चित भएको छ। त्यसरी नै असमको नेपाली समाजले पनि ज्ञानबहादुर क्षेत्रीको काममा गर्व गरेको छ, कति ठाउँमा उनलाई यसका लागि सम्मानित पनि गरेको छ। असम बाहिरका नेपाली समाजले पनि एउटा नेपालीले गरेको महत् कार्यका लागि गर्व गर्नसकोस् भन्ने उद्देश्य लिएर यो लेख लेखेकी हुँ।
ज्ञानबहादुर क्षेत्रीको ठूलो गुण के छ भने उनले नेपाली साहित्य र साहित्यिकहरूका विषयमा असमिया भाषामा लेखेर असमिया र नेपालीहरूका सम्बन्धलाई अझ नजिक पुऱ्याएका छन् अनि सो सम्बन्धलाई सुदृढ़ पार्नमा कोशिश गरेका छन्। यसरी नै नेपालीहरूले भोग्नुपरेका समस्याका विषयमा समेत असमिया भाषामा निर्भीक भएर उनले लेखेर समाधान खोजेका छन्।
ज्ञानबहादुर क्षेत्रीद्वारा असमिया विश्वकोश चतुर्थ खण्डमा कतिपय लेखहरू यस प्रकार छन् -
1) नेपाली अनुवाद साहित्य,2) नेपाली भाषाको प्रथम भ्रमण साहित्य, 3) लहरी साहित्य, 4)तेस्रो आयाम, 5) गोर्खा सेवक, 6) सुनाखरी, 7) आमा महाकाव्य, 8) तुलसीराम कश्यप, 9) सानु लामा, 10) विक्रमवीर थापा, 11) जीवन नामदुङ, 12, ठाकुर चन्दन सिंह, 13) बीशौं शताब्दीको मोनालिसा, 14) मनप्रसाद सुब्बा, 15) नगेन्द्रमणि प्रधान आदि।
नेपाली भाषामा शब्दकोश छापिएको छ कि छैन मलाई थाहा छैन। असमका केही नेपाली विद्वानहरूलाई सोधे उनीहरूलाई पनि थाहा रहनेछ। यदि छैन भने सिक्किमका माननीय मुक्यमन्त्री श्री पवन चामलिह, जो आफू पनि कवि साहित्यिक हुनुहुन्छ, उहाँबाट नै यो महत काम सम्पन्न होस् भन्ने चाहन्छु किनभने हामीले जान्दा भारतभरि ठूला-ठूला राजनेता धेरै छन् तर साहित्यको मोल बुझ्ने तथा जम्मै भारतवासी नेपालीहरूलाई नेतृत्व दिनसक्ने अथवा सबैले विश्वास राख्नसक्ने एकमात्र सिक्किमका मुख्यमन्त्री पवन चामलिङ मात्र छन्।

भारतीय वन्य प्राणी तथा वन्य प्राणीको संरक्षण

श्रीमती कल्पना पाल्कीवाला
वन्य प्राणीको अवैध व्यापार यस समय वैश्विक समस्याको रूपमा अघि आएको छ। वन्य जन्तुका अङ्ग-प्रत्यङ्ग, जस्तै बाघका हड्डी, कस्तुरी, घिस्रेर हिँड्ने जीव-जन्तु, चार-चुरुङ्गी तथा हात्तीका दाँतको अवैध रूपमा शिकारी तथा तस्करहरूले व्यापार गर्ने गर्दछन्। व्यापार गरिने मुख्य दुइ वर्गमा वन्यप्राणी र उत्पादनशील वन्य प्रजाति पर्दछन्।
अहिले अवैध व्यापारको रूपमा वन्यप्राणीहरू, कस्तुरी, हात्तीका दाँत, गैंड़ाका सिङ, बाघ र चितुवाका छाला अनि हड्डी, सर्प र छेपाराका छाला, घर पालुवा पशु-पक्षीका बेच-बिखन तथा सजावटका निम्ति प्वाँखको प्रयोग, मासु तथा सूपका लागि समुद्री कछुवा पक्रिने अनि तिब्बती बाह्रसिङ्गाको विशेष रूपमा व्यापार गरिन्छ।
वन्य प्राणीको अवैध व्यापारमा फँस्ने जनावर -
बाघ -
शिकारमा सबैभन्दा बढी लोकप्रिय शिकार बाघको शिकार हो किनभने बाघका छाला, हड्डी र अन्य शरीरका अङ्ग-प्रत्यङ्ग अन्य देशमा लगेर बेचिन्छन्। बाघका अङ्गले बढी मूल्य पाउँछन् जो औषधिमा प्रयोग गर्ने गरिन्छ।
हात्ती -
हात्तीका दाँत कुंद्ने काम दक्षिण भारतमा पारम्परिक कुटीर उद्योगको रूपमा प्रचलित छ। हात्तीका दाँतबाट धेरै रुपियाँ कमाए तापनि हात्तीको हत्यामाथिको जिम्मावारी पनि वहन गर्नुपर्छ। भनाइ छ, पाँच वर्षभन्दा मुनिको उमेर भएको हात्तीलाई गोली प्रहार गर्न हिच्किचाउनु पर्दैन। यस उमेरका हात्तीका दाँतको एउटा टुक्रा 2.5 किलोग्रामसम्मको हुन्छ। यस प्रकारको तरिकाबद्ध अनि दीर्घ रूपमा शिकारका कामले वन्य प्रजातिको आनुवंशिक विकास र यौन अनुपातमा धेरै अलर पर्न जान्छ।
तिब्बती बाह्रसिङ्गा अर्थात् चिर -
यस जनावरको ऊनबाट प्रख्यात साहतुस शाल बुन्ने गरिन्छ। यस प्राणीलाई मारेर त्यसको ऊन निकालिन्छ। यो यायावर प्राणी हो जो वर्षाको समयमा लद्दाखको पूर्वोत्तर क्षेत्रमा धेरै मात्रामा पाइन्छ भने कतिपय त्यहाँदेखि तलतिर झर्ने पनि गर्छन्।
जिउँदो पक्षी - जिउँदो पक्षी पाइने भारतको कुनै विसेष टाउंमा एकैपल्ट लगभग 250 चराहरू पासोमा पर्छन् अनि तिनीहरूलाई भोजन, चिडियाखाना, औषधिमा प्रयोग गरिन्छ। करोडौं चरा-चुरुङ्गीहरूलाई पिञ्जरामा बन्द गरेर बेचिन्छ। यीमध्ये पक्रिने समयमा र ओसारपसार गर्दा धेरै सङ्ख्यमा चराहरू मरेर पनि जान्छन्।
गैंडा -
यो जनावर धेरै खतरनाक हुन्छ, जसको लिङको व्यापार गरिन्छ। भारतमा गैंडाको सिङको मूल्य 2 लाखदेखि 3 लाखसम्म छ भने अन्य देशमा यसको मूल्य अझ बढी पनि छ। यसको मासु, हड्डी अनि अन्य अङ्ग औषधिमा प्रयोग गरिन्छन्। भारतमा गैंडाको सङ्ख्याले शिकारीहरूलाई खतरा उत्पन्न गरेको छ, किनभने यसको लिङ र यसको अन्तराष्ट्रिय बजारमा ठूलो मूल्य नै यसको पौराणिक सम्पत्तिको विशेषता रहेको छ। गैंडाको सिङले आर्थिक प्रोत्साहन त दिएको छ, प्रत्येक वर्ष धेरै सङ्ख्यामा गैंडा मार्ने काममा सरकारको तर्फबाट पनि सहयोग प्राप्त छ।
वन्य जन्तुहरूको सङ्ख्या सधैं बढिरहन्छ भन्ने छैन। वन्य जन्तुको सङ्ख्यामा घटी-बढी हुनु प्राकृतिक तथ्य हो तथा बायोटिक र एबायोटिक दुवै क्षेत्रमा रहनु यसको विशेषता हो।
- बायोटिक क्षेत्रमा उनीहरूको आयु प्रतिस्पर्धा, जङ्गलमा आगलागी आदिका कारण उनीहरूको प्राकृतिक मृत्यु हुने गर्छ।
- एबायोटिक क्षेत्रमा उनीहरूको अप्राकृतिक मृत्यु हुने गर्छ:
- मानिस रहने स्थानमा गएर मारिनु अथवा अन्जानमा मर्नु अथवा सड़क, रेलको लीकमा दुर्घटनाग्रस्त भएर मर्नु।
- पैसा हासिल गर्ने, पोषक तत्व प्राप्त गर्ने र जनावरको प्रतिकारको रूपमा वन्य जन्तुको जानीजानी हत्या गरिन्छ
क्षतिबाट रोकथाम र संरक्षणका लागि संरक्षित क्षेत्र
जीव विविधताको संरक्षणका लागि भौगोलिक क्षेत्रलाई भिन्नै संरक्षित क्षेत्र बनाइएको छ। जहाँ जीव विविधताको मुख्य रूपमा संरक्षणको व्यस्थापन गरिएको छ। वन्य जीवका संरक्षण ऐन 1972 - अन्तर्गत संरक्षित क्षेत्रलाई चारवर्गमा विबाजित गरिएको छ। त्यसमा पवित्र क्षेत्र राष्ट्रिय पार्क, रोकथामका लागि आरक्षित एवं सामूहिक आरक्षित छन्।
यसमा 606 राष्ट्रिय पार्क र वन्यजीवनका लागि पवित्र स्थान छन् जहाँ 93 राष्ट्रिय पार्क र 510 वन्य प्राणीका निम्ति पवित्र स्थान छन्। अन्डामान र निकोबार तथा मध्य प्रदेशमा शीर्ष 9-वटा राष्ट्रिय पार्क पर्छन् भने पश्चिम बंगाल, महाराष्ट्र तथा केरलमा 6-6वटा राष्ट्रिय पार्कहरू छन्। आन्ध्र प्रदेश, गुजरात, जम्मू-काश्मिरमा तीन-तीनवटा राष्ट्रिय पार्कहरू छन्।
प्रोजेक्ट टाइगर 1 अप्रैल 1973-मा शुरु गरिएको थियो जसलाई भारतको वन्यजीवन बोर्डको विशेष कार्यदलले सिफारिश गरेको थियो। प्रोजेक्ट एलिफेन्ट स्किमअन्तर्गत 12-वटा राज्यमा 24 हात्ती आरक्षित गरी हात्तीको सङ्ख्यालाई संरक्षित गर्ने निर्णय गरियो। यो 1991-92-मा शुरु गरिएको थियो। यी 12-वटा राज्यहरूमा असम, अरुमाचल प्रदेश, बिहार, आन्ध्र प्रदेश, कर्नाटक, केरल, मेघालय, नागाल्यान्ड, उडिसा, तमिलनाडु, उत्तर प्रदेश तथा पश्चिम बंगाल सामेल छन्। (पीआइबी फीचर)

बागवानी मिशनद्वारा आत्मनिर्भरका पहल
"कम्जोरीलाई सफलतामा परिणत गर्ने" उद्देश्य बोकेर तकनीकी अभियानले बागवानी क्षेत्रको दुवै मौसमी तथा गैर मौसमी फसलमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य राखेको छ। प्रगतिशील कृषकहरूलाई आधुनिक खेती प्रविधि, गुणस्तरीय बिउ-बिजन साथै तालिम प्रदान गर्दै सिक्किम सरकारको बागवानी विभागले बागवानी फसलको खेती गर्न इच्छुक कृषकहरूका लागि मार्ग प्रशस्त गरिदिएको छ। बागवानी फसलको खेतीद्वारा आर्थिक प्रगति अनि अन्य राज्यमाथिको निर्भरता कम गर्न पारम्परिक खेती प्रणालीदेखि पर आधुनिक अनि धेरै फसल दिने यो प्रणालीले आम कृषकलाई नयाँ आयाम प्रदान गरेको छ।
विभागले यस दिशामा केही गम्भीर पहल गरेको एक वर्ष नबित्दै मागभन्दा धेरै उत्पादनले स्थानीय बजारहरू भरिभराउ बनाउन सफलता हासिल गरेको छ भने अतिरिक्त उत्पादनलाई अब राज्य बाहिर लगेर बेच्ने चाँजो पनि मिलाउने काम भइरहेको छ।
राज्यका अधिकांश कृषकसित त्यति धेरै भूमि नरहेको कुरालाई ध्यानमा राख्दै कृषि, बागवानी तथा नगद बाली विकास विभागले प्रति वर्ग मिटर क्षेत्रमा धेरैभन्दा धेरै उत्पादन गर्ने अवधारणा साथै समूहगत रूपमा खेती गर्न कृषकहरूलाई प्रेरित गरिरहेको छ ताकि सानाभन्दा साना जमीन हुने कृषकले पनि तकनीकी मिशनको फाइदा बढीभन्दा बढी उठाउन सकून्।
प्रगतिशील कृषकहरूलाई फसल रोप्ने अनि हुर्काउने तालिमका साथमा धेरै फसल दिने उच्च गुणस्तरीय बिउ-बिजन प्रदान गर्ने काम विभागले गर्दै आएको छ भने नियमित रूपमा ती लाभार्थी कृषकहरूको प्रगतिको जाँचबुझको काम पनि विभागका कार्मिकहरूले गर्दै आएका छन्।
हाल राज्यका हाट-बजार आदि स्थानीय उत्पादले भरिभराउ बनाइसकेको हुँदा विभागले विशेष रूपमा रामभेंडा वा टमाटरको सही बजार व्यवस्थापनका लागि कृषकहरूलाई गाउँले स्तरीय विपणन कनिटिहरू गठन गर्न पनि प्रोत्साहित गरिरहेको छ। उनीहरूलाई आफ्नो उत्पाद बजार पुऱ्याउनअघि मूल्य अभिवृद्धिका लागि उत्पादको छनौट र वर्गीकरण गर्न पनि विभागले सिकाइरहेको छ।
कृषि तथा बागवानी अब नगद बाली विकास विभागका अधिकारीहरूले जानकारी गराएअनुसार कृषकहरूलाई आफ्नो फसलको मुनासिब मूल्य प्रदान गर्न एकीकृत प्याकेजिङ र शातानुकूलित भम्डारण एकाइ स्थापित गर्ने काम पनि युद्धस्तरमा भइरहेको छ।
सिक्किम राज्यमा मौसमको विविधता रहिआएको भए तापनि यसलाई फाइदामा परिणत गर्ने काम भइरहेको छ। कृषकहरूलाई आर्थिक रूपमा स्वनिर्भर र स्वसम्पन्न बनाउने दिशामा तकनीकीहरू अफ्नाइँदैछन्। उदाहरणका लागि दक्षिण अनि पश्चिम जिल्लाका कम वर्षा क्षेत्रलाई विशेष रूपमा रामभेंड़ा खेतीका लागि चयनित गरिएको छ। यसअन्तर्गत पश्चिम जिल्लामा मात्र लगभग 361 प्रगतिशील कृषकहरूलाई 56.67 हेक्टर भूमिमा रामभेंडा खेतीको निम्ति चयन गरिएको छ। औसत एउटा बोटबाट 35 केजी बराबर फसल उत्पादनको लक्ष्यसहित 11 लाख 33 हजार 4 सय रामभेंडाका बिरुवा प्रदान गरिएको छ जसबाट अनुमानित 3966.90 टन उत्पादन हुने आशा गरिएको छ।
राज्यमा औसत प्रति दिन 25 टन रामभेंडा खपत हुने गरेको भए तापनि उत्पादन अवधिमा 125 टन रामभेंडा प्रतिदिन उत्पादन गरिने सम्भावित लक्ष्य राखिएको छ भने राज्यमा खपत भएर उब्रेको फसललाई राज्य बाहिर निर्यात गर्ने चाँजो पनि विभागले मिलाइरहेको छ। यसै गरी मूला, फूलकोपी, बकोली, बन्दकोपीलगायत् करेला, लौका अनि बैंगुन, भेन्डी, काँक्रा आदिका साथमा खरिफ फसलमाथि तकनीकी अभियानले विशेष बल दिँदै आएको छ।
विशेष रूपमा सिक्किमलगायत् पूर्वोत्तर राज्यका मानिसहरूमा बागवानी फसलको खेतीद्वारा यसको उत्पादन 2020 सालसम्म दोब्बर बनाउने उद्देश्य लिएर भारत सरकारले बागवानीको एकीकृत विकासका लागि तकनीकी अभियान शुरु गरेको छ। यो अभियान मूल रूपमा क्रमागत पहलमा केन्द्रित छ जहाँ बागवानीको विकासलाई अग्रगामी अनि पश्चिमी आधार प्रदान गर्दै समग्रता प्रदान गर्ने कोशिश गरिएको छ।
तकनीकी अभियानको सहयोगका साथै राज्य सरकारको सिक्किमलाई जैविक राज्यको रूपमा स्थापित गर्ने अवधारमाले यहाँका प्रगतिशील कृषकहरूलाई स्वनिर्भरता प्रदान गर्ने आशा गरिएको छ। यी कृषकहरूलाई विपणन् सहयोग प्रदान गरिएसम्म यसले राज्यको बागवानी उत्पादनको परिप्रेक्ष्यमा नयां आयाम उप्ने परिलक्षित छ। (पीआइबी)


भाषा विज्ञान
'भाषा भासिन जान्छ भासहरूमा...'


घनश्याम नेपाल
अहिले म विशाल आर्य-युरोपेली (भारोपेली) परिवारमा जन्मेको यस्तो एउटा भाषाको माध्यमबाट लेख्न लागिरहेछु, जुन भाषालाई धेरै मानिसहरू माया गर्छन् तर यसलाई कसरी लेखे ठीक पर्ला वा यसको कल्याण होला भन्ने कुराबारे थोरै (साह्रै थोरै)-ले मात्र विचार गरिरहेका छन्।
यस्तो कुरा सम्झन लागेको बेलामा जहिले पनि म केही विद्वान् नेपाली लेखकहरूका नाउँ सम्झन पुग्छु र मेरो शिर आफै-आफ गहिरो श्रद्धाले उनीहरूसमक्ष निहुरिन पुग्छ - पारसमणि प्रधान, गोपाल पाँडे 'असीम', महानन्द सोपकोटा, पादरी गङ्गाप्रसाद प्रधान, चूड़ीमणि बन्धु, तारानाथ शर्मा - नेपाली भाषा प्रयोग गर्ने मात्र होइनन्, भाषाको स्वभाव र चाला-माला चिनेर प्रयोग गर्न खोज्ने ठूला मानिसका नाउँ हुन् यी। यहाँनेर म 'टिपेका टिप्पणीहरू'- का इन्द्रबहादुर राई र आजसम्मका राजनारायण प्रधानलाई पनि पटक्कै बिर्सन सक्तिनँ।
आज हामी जुन भाषालाई 'नेपाली' भनेर लेख्तछौं - त्यो कतिसम्म नेपाली छ? हामीले वास्तविक जीवनमा (भन्नाले दैनिक व्यवहारमा) प्रयोग गर्ने नेपाली भाषासित यो कतिसम्म मिल्छ? यहाँ 'दैनिक व्यवहार'-को कुरा गर्दा मेरा आँखाका अघाडि ती नेपाली भाषीहरू छन् जसले दार्जीलिङ, गान्तोक शहरहरूतिर बोलिने अपभ्रंश नेपाली बोल्दैनन्, जलको नेपाली यी शहरियाहरूको झैं भोट-बर्मेली परिवारका भाषा बोलीका ध्वनि र उच्चारणहरूले गाँजिएर बाटो हराई बिखलबन्दमा परेको छैन, जुन भाषामाथि हाम्रो व्याकरण अडिएको छ।
साँच्चै भनूँ भने, भाषा भनेको विभिन्न प्रकारका भाषिका र व्यक्तिबोलीहरूको गुच्छा हो। जसरी थुँगा-थुँगा मिलेर माला बन्दछ, उसरी नै भाषिका-भाषिका मिलेर भाषा बन्दछ। ढुङ्गाको ताल चिने पर्खाल लाए मात्र पर्खाल चिटिक्क परेको पनि हुन्छ, दिगो पनि हुन्।। धेरै यस्ता छौं हामीमध्ये जो भाषाको स्वरूपअनुसार नै लेख्छौं तर व्याकरणका नियमहरू (म्युनिसिप्यालिटीका घर बनाउने विषयका नियमजस्तै)-तिर हामी ध्यान दिँदैनौं। अनि अरू जो व्याकरण पहिल्याएर लेख्तछौं, हामी भाषाको अनुहार, ताल चिन्दैनौं। मलाई लाग्छ, जताबाट हेरे पनि हाम्रो देवल कच्चा बन्दैछ। भाषाका नियम, व्याकरणका नियमहरू मानेर लेख्ताखेरि कसैको पनि हानि हुँदैन, कोही पनि सानो हुँदैन। बरू ता साँचो भाषा-सेवी हामी त्यसबेला मात्र हुन्छौं जुन बेला हामी आफ्नो भाषाको मौलिक अनुहार चिन्न र त्यसअनुसार लेख्न-बोल्न बल गर्छौं।
हामी आफू व्याकरण पढ्दैनौं, भाषा जान्दैनौं, अनु जान्नेहरूले, पढ्नेहरूले शुद्ध तरिकासित लिङ्ग, वचनहरू छुट्याएर-खुट्याएर बोलेको सुन्दा हामीलाई हाँस उठ्छ, हामी खिसी गर्छौं। नजान्नुमा नै हाम्रो महानता छ, जान्न् खोज्नुमा नै विद्वता छ, लिँढेढिपीमा नै सैद्धान्तिक कट्टरता छ। सुँगुरले स्वर्ग मन नपराएको जस्तो छ हाम्रो आनीबानी। यदि फोहोर नै आधुनिकता हो भने, भैगो, हामीलाई आधुनिकता चाहिएन। हामी पुरानियाँ भएर बाँचौं। टि.एस. इलियटले कतै लेखेको सम्झन्छु - "असल कविता लेख्न चाहनेले, कमभन्दा कम, असल गद्य लेख्न जानेकै हुनुपर्छ। यो उसको निम्ति सबैभन्दा पहिलो र न्यूनतम आवश्यकता हो।" राम्रो गद्य त्यस बेलासम्म लेख्न सकिंदैन जबसम्म हामी आफ्नो भाषाको स्वरूप र त्यसको व्याकरणको अध्ययन राम्ररी गर्दैनौं। अनि, जबसम्म हामी राम्रो गद्य लेख्न सक्तैनौं जबसम्म हामी आफूले भन्न चाहेको कुरा कहिल्यै पनि ठिकसित, कुरो पुऱ्याएर भन्न सक्दैनौं।
('प्रतीक', सम्पादन - सुवास दीपक, रबिन गुरुङ, जनवरी 1987-बाट साभार)

दास्ताबाट मुक्तिको परिकल्पना गरेका थिए डार्विनल
विकासको सिद्धान्तको प्रतिपादन गर्ने ब्रिटिश प्रकृति वैज्ञानिक चार्ल्स डार्विन (जन्म - 1808, निधन - 1882)-को अनुसन्धान वास्तवमा दासता समाप्त गर्ने इच्छाले प्रेरित थियो। डार्विन्स सेकेन्ड कज् (डार्विनको पवित्र उद्देश्य) पुस्तकमा यस कुराको प्रमाण छ। यो प्रमाणले डार्विन दासताको विरुद्ध थिए भन्ने कुरा स्पष्य गर्छ। तिनले विश्वलाई दासताबाट मुक्त गर्नका लागि प्राकृतिक चुनाउ (नेचुरल सेलेक्शन)-माथि अनुसन्धान गरेका थिए।
दैनिक डेली टेलिग्राफमा प्रकाशित एउटा समाचारअनुसार डार्विनले बाँदरदेखि मानवको विकासको सिद्धान्तलाई प्रतिपादित गर्न यसकारण जरुरी ठाने ताकि तिनी यो प्रदर्शित गर्नसकून् कि सबै प्रजातिहरू समान छन्। तिनी ती व्यक्तिहरूका कुरा काट्न चाहन्थे जसले भन्थे कि श्वेत प्रजातिका मानिसहरूको तुलनामा अश्वेत मानिसहरू भिन्दै र हीन छन्। डार्विन्स सेकेन्ड कजका लेखक र विज्ञान इतिहासकार एड्रियन डेसमन्ड र जेम्स मूरले यो निष्कर्ष डार्विनका निजी पत्र र नोट्सहरूको विश्लेषणका आधारमा निकालेका हुन्। यसले के प्रमामित हुन्छ भने दासताका बारेमा तिनका विचार अघिको तुलनामा कतै बढी सशक्त थिए। एमएमएस बीगलको पाँच वर्षको यात्राको अवधिमा डार्विनले प्राकृतिक चुनाउलाई लिएर आफ्ना प्रसिद्ध सिद्धान्तहरूलाई आकार दिनु थालेका थिए। यात्राको अवधिमा तयार गरिएका डार्विनका नोट्समा दासतालाई लिएर तिनका विचारको पत्तो लाग्छ। तीन जुलाई 1832-का दिन ब्राजीलको यात्रापछि तिनले लेखे - ब्राजीलमा प्रवेश गर्ने कुनै पनि व्यक्ति यहाँको विशाल दास आबादीलाई देखेर आश्चर्यचकित हुन्छ। मलाई आशा छ, एक दिन यिनीहरू आफ्ना अधिकारका लागि उठ्ने छन्। एक ठाउँ तिनले लेखे - अश्वेत मानिसहरूलाई पराइ मान्ने प्रवृत्तिबाट बाँच्नुपर्छ। हामी एउटै साझा पूर्वजबाट जन्मेका हौं.। यस प्रकारले हामी सबै एकार्काका सन्तान र आफन्त हौं। ( विचार डेस्क)
एनिमल फार्म र जर्ज अरवेलको जन्मथलो

गान्धी, चम्पारण र अरवेल। 20 औं शताब्दीको उत्तरार्धमा यी तीनै नामहरूको अभ्युदय एकास्सि र एउटै समयमा भयो तथा तीनैको एकार्कासित कुनै नकुनै सम्बन्ध रहेको छ। एनिमल फार्म र 1984 - यी दुई उन्यासहरूले अङ्ग्रेजी साहित्यमा स्थापित भएर एरिक अर्थर उर्फ जर्ज अरवेललाई 20 औं शताब्दीको सर्वश्रेष्ठ लेखक घोषित गराइदिए. यसपछि शुरु भयो जर्ज अरवेलको जन्मलाई लिएर विवाद र शोधहरूको सिलसिला।
अन्तमा के थाहा लाग्यो भने जर्ज अरवेलको जन्म मोतिहारी, बिहारमा नै 25 जून, 1903-मा एउटा माटोको टाइलको घरमा भएको थियो। यसलाई संयोग नै भन सकिन्छ कि महात्मा गान्धी 1917-मा मोतीहारी आएर जुन घरमा बसेका थिए, त्यहाँदेखि अलिक पर ज्ञान बाबु चोक मुहल्लामा अरवेलको किशोरावस्था बित्दै थियो। अरवेलको त्यो टाइलवाला घर वर्तमानमा खण्डहरमा परिवर्तित भइसकेको छ। मरमतीप्रति कसैको ध्यान छैन।
एनिमल फार्म-मा उनले समस्त जीवजन्तुहरूमा सहअस्तित्वको अभिव्यक्ति मानव-सभ्यता एनिमल फार्म होइन भन्ने भावनालाई अभिव्यक्ति दिएका थिए। मानवमा संवेदना छ, करुणा छ, दया छ - त्यो सबै प्राणीहरूमा सन्तुलनका लागि विद्यमान छन् - आज त्यही घर वास्तवमा एनिमल फार्म-मा परिणत भइसकेको छ। त्यही कारणले जर्ज अरवेलको जन्मस्थल यस प्रकार उपेक्षित छ। तिनको स्मृतिको कुनै चिनो बाँचेको छैन। तिनको जन्मस्थल अतिक्रमणको शिकार भई कथित छात्रावासमा परिवर्तित भइसकेको छ। यस सम्बन्धमा विदेशी शोध विद्यार्थीहरूले सरकारी अधिकारीहरूको ध्यान आकर्षित गरे तापनि केही भएन। 2005-मा ब्रिटेनदेखि आएको ब्रियान प्याटन नामक एकजना लेखक - पत्रकारले जर्ज अरवेलको जन्मस्थल देखेपछि प्रतिक्रिया व्यक्त गर्दै भनेका थिए - द होल बिहार सिम्स टु बी द एनिमल फार्म व्हेयर...
जे होस्, गान्धी, चम्पारण र अरवेलका अन्तर्सम्बन्धहरूलाई जान्न अत्यन्त आवश्यक छ। महात्मा गान्धीसरह अरवेल पनि अहिंसाका पक्षधर थिए, जसको उदाहरण तिनका अनेक लेखहरूमा पाइन्छ। अरवेलको स्पष्ट धारणा थियो, विश्वका विसङ्गतिदेखि अलग अर्धनग्न अवस्थामा गुन्द्रीहरूमाथि बसेको जुन व्यक्तिले ब्रिटिश साम्राज्यलाई ध्वस्त गरेर एउटा राष्ट्रको निर्माण गऱ्यो - ती साधारण व्यक्ति ता थिएनन् नै।
अरवेलका पिता मोतीहारीमा अफिम विभागमा प्रहारीको पदमा तैनाथ थिए। मोतीहारीमा जन्मपछि त्यहींकै नर्सले अरवेलको स्याहार-सुसार गरिन्। आज ती नर्स वा तिनको पिंढीको कुनै अत्तो-पत्तो छैन। पछि अरवेल आफ्ना पितासित ब्रिटेन गए र पुलिस विभागको उच्चाधिकारी बने, तर साहित्याकाशमा विचरण गर्ने अरवेलले पदको परित्याग गरी साहित्यमा डुबेका थिए। - प्रस्तोताः सुवास दीपक

 

पर्यावरण संरक्षण र हामी

- सुवास दीपक
सामान्य तौरमा पर्यावरणको अर्थ हामी रूख-पात, वन-जङ्गल, हावा-पानी, ओजोज होल, भूमण्डलीय तापक्रममा वृद्धि, आणविक अस्त्र-शस्त्र, ठूला-ठूला बाँधहरूको निर्माण आदिको परिभाषाभित्र निकाल्ने गर्छौं। यो अन्धाहरूले हाती छामेजस्तो हो। तर मेरो आफ्नो पर्यावरण, मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी र पदार्थहरूको उपस्थितिको मेरो समग्र जीवन, मेरो जीवन-यापन र स्वास्थ्यमाथि प्रत्यक्ष र परोक्ष, अल्पकालीन अथवा दीर्घकालीन प्रभाव पर्छ। त्यस्तै प्रकारले मेरो उपस्थितिले मेरो वरिपरिका समस्त सजीव र निर्जीव प्राणी र पदार्थहरूमाथि कति र कस्तो प्रभाव पर्छ, त्यस वास्तविक तथ्यबारे पनि हामीले अवगत हुनु जरुरी छ।
एक्काइसौं शताब्दीमा पाइला टेकिसकेको मानवले आज यहाँ आफ्ना ज्ञान र कौशलले प्रकृतिका रहस्यहरूबारे असीमित जानकारी प्राप्त गरेर ती रहस्यहरूमार्फत् आफ्नो जीवनलाई सुखमय बनाउनमा सफलता प्राप्त गरेको छ, त्यहाँ मानवले आफ्ना कतिपय भूल र अज्ञानले प्रकृतिको सनातन क्रमलाई असन्तुलित बनाइदेकोले आज मानव अस्तित्वमाथि गम्भीर सङ्कट उत्पन्न भएको छ।
पृथ्वीमाथि आज पाँच अर्बभन्दा ज्यादा मानिसहरू बसोबासो गर्छन्। जीवविज्ञानअनुसार मान्छे सृष्टिको सबभन्दा डरलाग्दो परजीवी प्राणी अर्थात् प्यारासाइट हो जसको सबभन्दा कम उपयोगिता छ। सृष्टिको सन्तुलन यति व्यवस्थित छ, यति विराट रूपमा यसको अस्तित्व एकार्कासित जुडेको छ कि कतै पनि छुँदा समस्त ब्रह्माण्ड कम्पित हुन जान्छ। कुनै पनि प्राणीको वध गर्नाले कुनै अर्को जीव-वंश आफैआफ नष्ट भएर जान्छ। सुन्दा यो एउटा शब्द-विन्यासजस्तो लाग्छ तर यो आजको युगको वैज्ञानिक सत्य हो कि जब पनि कुनै एउटा रूख ढल्छ, कतै कुनै ठाउँमा बादललाई पर खेदिएको हुन्छ, असङ्ख्य चरा-चुरुङ्गी, किरा- फटेङ्ग्राहरूका आश्रय खोसिएका हुन्छन्। एउटा पुतली समात्दा त्यो मरिहाल्छ तर त्यसको मृत्युका साथसाथै कतै कुनै फूलको फक्रिने सम्भावना सधैँ-सधैँका लागि समाप्त भइसकेको हुन्छ।
यो पृथ्वी अपार संसाधन र सम्पदाहरूको अक्षय भण्डार हो। शुरुदेखि नै मानव र अन्य प्राणी पृथ्वीमा उपलब्ध पदार्थहरूको उपभोग गर्दै आएका छन्। यी पदार्थ अर्थात् संसाधनहरूको उपभोग शुरुमा मानव तथा अन्य प्राणीहरू जीवित रहनका लागि गर्थे तर सभ्यताहरूका विकासका साथसाथै यी संसाधनहरूको अनियन्त्रित तथा अनावश्यक उपभोगले पृथ्वीमा जीवनदायी संसाधनहरूको कमी हुन गइरहेको छ।
समग्र परिप्रेक्ष्यमा हेर्दा पर्यावरण असन्तुलनका उत्तरदायी तत्वहरूमध्ये वायु प्रदूषण, ध्वनि प्रदूषण र परमाणु विखण्डन प्रदूषण हुन्। थर्मल कोलआधारित विद्युत संयन्त्रहरूबाट फ्याँकिएको फ्लाइ-ऐश, रसायनिक कीट नाशक, पोलिथिनजस्ता पदार्थहरू, जो जैविक रूपमा नष्ट हुँदैनन् र माटो, पानी आदिमा प्रतिकूल प्रभाव पार्छन्, आणविक रिएक्टरहरूबाट निकालिएका खतराजनक कचरा, इलेक्ट्रोनिक तथा माइक्रोवेभबाट विषाक्त ग्यास तथा रसायनहरू, रेडिएसन आदि वायुमण्डलमा बढ्दै गइरहेकोले पर्यावरणमा अत्यधिक असन्तुलन उत्पन्न भइरहेको छ। पर्यावरणको परिभाषामा यस्ता तत्वहरू पनि छन् जसमाथि प्राय उति ध्यान दिँइदैन। ती हुन्, नैतिक, सांस्कृतिक र समाजगत आयामहरूसित सम्बन्धित गरीबी, निरक्षरता, सार्वजनिक जीवनमा व्याप्त भ्रष्टाचार, मूल्य र जीवन-स्तरमा ह्रास, राजनीतिको अपराधीकरण, दोषपूर्ण जीवन-प्रणालीले उब्जाएका विसङ्गतिहरू, कालो धनको समानान्तर अर्थ-व्यवस्था, महिलाहरूमाथि अत्याचार, विचारधारा, धर्म र लिङ्गका नाममा पक्षपात, सामाजिक प्रतिभा विकासमा दमन, उचित वातावरणको अभाव आदि अवरोधक तत्वहरू।
कुनै पनि राष्ट्रको समग्र पर्यावरणमाथि बाह्य तत्वहरूको प्रभाव पर्छ - जसरी राष्ट्रिय सुरक्षा र भौगोलिक अखण्डतामाथि आइपर्ने खतरा, ठूला राष्ट्रहरूले लगाएका आर्थिक, व्यापारिक र तकनीकी प्रतिबन्ध, स्वायत्त निर्णय लिने क्षमतामाथि खतरा तथा बढ्दो आतङ्कवादजस्ता समस्याहरू पनि पर्यावरण असन्तुलनमा सहायक सिद्ध भइरहेका छन्। प्रकृतिका कार्यकलापमा हस्तक्षेप बढ्दै गइरहेको छ। वेद, पुराण, बौद्ध, जैन शास्त्रहरूमा समस्त जड-चेतन प्राणीहरूसित, सृष्टिको प्रत्येक प्राणीसित सम्मानको भावना राख्ने सिद्धान्तहरूको उल्लेख पाइन्छ। प्राकृतिक संसाधनहरूको उपभोग पोषणका लागि हुनुपर्छ, शोषणका लागि होइन. रूख-पात, उद्भिद्, जीव-जन्तुको सुरक्षाबिना पर्यावरणको कुरा व्यर्थ छ। उपभोग र पर्यावरणमाझ एउटा सार्थक सन्तुलनको आज हामीले पुनर्रचना गर्ने समय आएको छ। बितेको शताब्दीको आठौं दशकमा प्रथमपल्ट अन्तराष्ट्रिय स्तरमा पर्यावरण र पारिस्थितिकीको विघटनमाथि चिन्ता व्यक्त गरियो। 1982-मा संयुक्त राष्ट्र मानव पर्यावरण सम्मेलनमा पर्यावरणीय चुनौतीहरू र प्राकृतिक संसाधन प्रबन्धनका बारेमा विचार गरियो। विश्व पर्यावरण र विकास आयोगले 1987-मा अवर कमन फ्युचर शीर्षकमा एउटा रिपार्ट जारी गरेको थियो जसमा स्थायी विकासका सिद्धान्तहरूलाई लागु गर्ने अपील गरियो. 1989-मा ग्रुप अफ् सेभन राष्ट्रहरूको सहयोगले विश्व मौसम विज्ञान संगठन र संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमले संयुक्त रूपमा जलवायु परिवर्तनका बारेमा एउटा अन्तर्सरकारी समितिको गठन गऱ्यो। 1990-मा यस समितिको प्रथम रिपोर्टमा 21 औं शताब्दीको अन्तसम्म विश्वमा जलवायु परिवर्तनका सामाजिक र आर्थिक परिणामहरूका विभाषिकाको वर्णन गरिएको छ। परिणामस्वरूप 1992-मा रियो दि जेनेरियोमा पृथ्वी र विकासका बारेमा संयुक्त राष्ट्र सम्मेलन डाकियो जसमा 180 राष्ट्रहरूले भाग लिएका थिए। 21 औं शताब्दीमा विश्व समस्याहरूको सामना गर्न रियो घोषणा, विचारणीय विषय जलवायु परिवर्तनमाथि ढाँचागत सम्मेलन, जैव विविधता र वन घोषणाजस्ता ऐतिहासिक दस्तावेजहरूमाथि हस्ताक्षर गरिए।
भारत सरकारले पर्यावरण संरक्षणको दिशामा कैंयन् कानुनहरू बनाए तापनि यस दिशामा जनसाधारणमा बढी जागरुकता उत्पन्न गर्ने काम हुनसकेको छैन। यद्यपि मिडिया र जनसाधारणद्वारा तत्सम्बन्धी विषयहरूको उठान गरी ध्यान आकर्षित गरिएको परिणामस्वरूप देशका विभिन्न भागहरूमा कतिपय कोर्ट-कचहरीमा प्रदूषणसम्बन्धी जनहित याचिकाहरू दर्ता भइरहेछन्। प्रदूषणविरोधी अभियानलाई सफल बनाउन सरकारी नियम र कानुनहरूका अतिरिक्त जनसहभागिता पनि आवश्यक हुन्छ। संसाधन संरक्षण र संसाधनहरूको न्यूनतम उपभोगबाट प्रदूषणमा कमी मात्र हुँदैन तर उत्पादकतामा पनि सुधार हुन्छ भन्ने कुरा प्रमाणित भएको छ। पर्यावरण संरक्षणसित उत्पादकताको अवधारणा पनि यही हो।

मानवाधिकार: वैश्विक स्थिति

विश्वभरिका देशहरूमा मानवाधिकारको स्थिति अति विकट र शोचनीय रहँदै आएको छ। विश्व स्तरमा मानवाधिकारको संरक्षण सुनिश्चित गर्ने संयुक्त राष्ट्रमा नागरिक अथवा बन्दीहरूलाई विभिन्न देशका सरकारहरूद्वारा दिइने यातनाका विरोधमा अनेकौं प्रस्ताव पारित गरिए, कति कानून बनाइए तर पनि आज पनि विश्वभरिका देशहरूले यस सिलसिलालाई त्याग्न सकेका छैनन्, भनौं सरकारी तन्त्रले नै नागरिक एवं बन्दीहरूमाथि यातनाको क्रम जारी राखेका छन्. यी देशहरू आफ्ना नागरिकहरूमाथि नियन्त्रण राख्नका लागि यातनाका प्रपञ्च रच्ने गर्छन्। भारत आज स्वाधीन राष्ट्र भए तापनि डेढ़ यस वर्षअघि अङ्ग्रेज शासकहरूले बनाएका दण्डसंहिता र कानूनहरू, जो तिनीहरूले शासकका रूपमा भारतमाथि शासन गर्न र आफ्ना औपनिवेशिक हित रक्षाका लागि बनाएका थिए, आज पनि लागू छन्। भनौं, अङ्ग्रेज शासकका ठाउँमा आज पनि पुलिस जति मानवीय हुने प्रयत्न गरे तापनि कानूनहरू त अङ्ग्रेजहरूकै छन्। त्यसैले अपराधीहरू आफ्ना धन-बलका भरमा निर्दोष भएर निस्कन्छन् र निर्दोषी दोषी भएर। मानवाधिकारको ढोल-ढ्याङ्ग्रो पिट्ने अमेरिकाका जेलहरूको स्थिति पनि विश्वसमक्ष उदाङगो नभएको होइन। आम नागरिक हर क्षेत्रमा कि त सरकारी तन्त्रको यातनाको शिकार छ अथवा आतङ्ककारी र समाजविरोधी तत्वहरूको। यद्यपि कुनै पनि देशका कानूनमा त्यसका नागरिकहरूलाई यातना दिने अनुमति छैन। भारतमा संविधानमा सबै नागरिकहरूको सुरक्षाको प्रत्याभूति छ तर पनि आम नागरिक असुरक्षित छ। मानवाधिकार संगटन र अदालतहरूका लचिला व्यवहार पनि यस स्थितिलाई यखावत् राख्ने मुख्य कारक हो भनी विशेषज्ञहरूको भनाई छ। यो स्थितिमा विशेष गरी भारतजस्ता देशमा शताब्दियौं पुराना पुलिस कानूनहरूमा परिवर्तन अवश्यमंभावी भएको छ, जब मात्र स्थितिमा परिवर्तन आउनसक्छ तर भारत र अमेरिकाले यातना विरोधी सन्धिमा हस्ताक्षर गरेका छैनन्। विश्वका कमसेकम 123 देशहरू आफ्ना नागरिकहरूमाथि नियन्त्रण राख्नका लागि यातनाको उपयोग गर्ने गर्छन्। विडम्बना के छ भने संयुक्त राष्ट्र 1945-मा आफ्नो स्थापनाकालदेखि नै यातना समाप्त गर्ने कार्य गर्दै आएको छ तर आजसम्म असफल छ। यो निष्कर्ष निकालेको छ - 'टर्चर सर्भाइभल नेटवर्क'-ले। 10 दिसम्बर, 1964-का दिन संयुक्त राष्ट्र महासभाले प्रस्ताव 39-46-अन्तर्गत 'कन्भेन्सन अगेन्स्ट टर्चर (सीएटी)' सन्धिलाई स्वीकार गऱ्यो। यो सन्धि 26 जून, 1997-मा डेनमार्कको प्रस्तावमाथि संयुक्त राष्ट्र महासभाले प्रत्येक वर्ष 26 जूनलाई यातना पीड़ितहरूका समर्थनमा अन्तराष्ट्रिय दिवस मनाउने घोषणा गऱ्यो। सीएटी सन्धिको अनुच्छेद 1 का अनुसार निद्रादेखि वञ्चित गर्नु, बिजुलीको झटका दिनु, पानीमा टाउको डुबाउनु, चिकित्सा आधारमा बलजफ्ती मनोरोगी अस्पतालमा भर्ना गर्नु, मादक पदार्थ खानु दुनु, भोको राख्नु, अत्यधिक गरम र चिसो ठाउंमा उभ्न लगाउनु र नियमित रूपमा पिटाइजस्ता सबै कुरा यातनाको परिधिमा आउँछन्। 2002-मा सीएटी-अन्तर्गत छवटा थप अन्तराष्ट्रिय मानवाधिकार महासनिधिहरूमा 128-वटा देशहरूले हस्ताक्षर गरे तर पाकिस्तान, भूटान, ब्रुनेई, लाओस्, मलेसिया, म्यानमार, उत्तर कोरिया, सिंगापुर, थाइल्यान्ड र भियतनाम यी सन्धिमा सामेल भएका छैनन्।
यी सन्धिहरूको अस्तित्वको बावजूद पश्चिम र युरोपसहित समस्त विश्वमा यातना दिने क्रम जारी छ। एसियामा चीन, जापान, भारत, श्रीलङ्का, बाङ्गलादेश, पाकिस्तान र उत्तर कोरिया, म्यानमार, इन्डोनेसिया, मलेसिया र फिलपिन्सका मान आफ्ना नागरिकहरूलाई यातना दिने देशहरूको सूचीमा सामेल छन्।

राष्ट्रिय शिक्षा प्रणालीमा परिवर्तन

हालैमा केन्द्र सरकारले राष्ट्रिय स्कूली र उच्च शिक्षामा आमूल परिवर्तन ल्याउने एउटा व्यापक कार्यक्रमको घोषणा गरेको छ। नयाँ दिल्लीमा मानव संसाधन विकास मन्त्री कपिल सिब्लले यस आशयको घोषणा गर्दै परीक्षाको चापले विद्यार्थीहरूमा आत्महत्याका बढ़्दै गइरहेका घटना र अभिभावकहरूमाथि बढ़्दै गइरहेका दबावलाई मध्येनजरमा राख्दै सम्पूर्ण परीक्षा पद्धतिको समीक्षा गरिनेछ भनी बताएका छन्। सिब्बलका अनुसार सरकार दशौं कक्षाको बोर्ड परीक्षालाई ऐच्छिक बनाउने र बाह्रौं कक्षाको परीक्षाका लागि समस्त देशमा एउटा बोर्ड बनाउने पक्षमा छ। यसका अतिरिक्त प्रधानमन्त्रीका सय दिनका कार्यसम्बन्धी विषय सूचीअन्तर्गत बालबालिकाहरूलाई पर्याप्त, गुणवत्तापूर्ण, नि:शुल्क र अनिवार्य शिक्षा सुनिश्चित गर्नका साथसाथै उच्च शिक्षाका मामिलामा यशपाल समिति एवं ज्ञान आयोगका सिफारिशमाथि कार्यान्वयन गर्न तथा व्यवस्थाका त्रुटिहरू हटाउनका लागि विभिन्न कानून बनाइने छन् भनी सिब्बलले बताएका छन्।
स्कूली शिक्षामा प्रस्तावित परिवर्तनबारे सिब्बलले खुलासा गर्दै भने - अङ्क आधारित परीक्षामा परिवर्तन ल्याएर देशमा यस्तो शिक्षा नीति हुनुपर्दछ जो भयमुक्त शिक्षा प्रदान गर्नसकोस्। सरकारले ग्रेडमाथि आधारित प्रणालीको कार्यान्वयन गरिनेछ भनी बताउँदै यो प्रणाली नवौं र दशौं कक्षाका परीक्षाका लागि हुनेछ भनी सिब्बलले बताए। बोर्ड परीक्षाको पाठ्यक्रमका अतिरिक्त विद्यार्थीहरूलाई अन्य ज्ञान प्रदान गरिने कुरामाथि बल दिइने र समस्त देशमा एउटै बोर्ड बनाउने प्रस्ताव रहेको बताए। विद्यार्थीहरूलाई परीक्षा दिएर विश्वविद्यालय चयन गर्न छूट दिइने छ। देशभरिमा कैंयन् बोर्डहरू छन् जहाँ परीक्षाहरूमा अङ्क दिने व्यवस्था भिन्दा-भिन्दै रहेको छ। सय दिनको कार्यसूचीअन्तर्गत यशपाल कमिटि एवं राश्ट्रिय ज्ञान आयोगका सिफारिशका आधारमा उच्चतर शिक्षा एवं अनुसन्धानका लागि एउटा स्वायत्त प्राधिकरणको स्थापना गरिनेछ। यसका अतिरिक्त शैक्षणिक कदाचारको रोकथाम र दण्डको व्यवस्था स्वतन्त्र निमायक प्राधिकरणको माद्यमद्वारा उच्च शिक्षामा अनिवार्य मूल्याङ्कनको व्यवस्था तथा विदेशी शैक्षणिक संस्थाद्वारा देशको पाठ्यक्रम सञ्चालन गर्ने दिशामा कानून बनाइने छ।
उच्च शिक्षामा शिक्षक, विद्यार्थी, कर्मचारी र प्रबन्धनजस्ता विभिन्न घटकहरूसित सम्बन्धित विवादहरूको त्वरित निपटाराका लागि प्राधिकरणको व्यवस्थाका लागि कानून बनाइनेछ। अल्पसङ्ख्यक शिक्षालाई व्यापक र आधुनिक बनाउनका लागि राष्ट्रिय अल्पसङ्ख्यक शैक्षिक संस्था आयोग अधिनियममा पुन: संशोधनका लागि कानून बनाइनेछ। शिक्षाका विभिन्न अंशधारकहरूका कपीराइट र अधिकारसित सम्बन्धित मामिलाका निपटाराका लागि कपीराइट अधिनियम 1957-मा संशोधनका लागि पनि कानून बनाइनेछ। सरकारद्वारा उठ